बैंककाे ब्याजदर अझै बढ्छ : गभर्नर अधिकारी (भिडियोसहित)

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर बढ्ने बताएका छन् । बुधबार चार्टर्ड एकाउन्टेन्ट्स संस्था अफ नेपाल (आईक्यान)ले आयोजना गरेको लेखा व्यवसायी सम्मेलनमा बोल्दै उनले ब्याजदर बढ्ने बताएका हुन् । उनले ब्याजदर वृद्धिको सामनाका लागि तयार रहन आग्रह पनि गरे । ‘अझै पनि प्रणालीमा तरलता अभाव छ, अझै ब्याजदर बढ्ने देखियो, त्यसका लागि [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर बढ्ने बताएका छन् । बुधबार चार्टर्ड एकाउन्टेन्ट्स संस्था अफ नेपाल (आईक्यान)ले आयोजना गरेको लेखा व्यवसायी सम्मेलनमा बोल्दै उनले ब्याजदर बढ्ने बताएका हुन् ।

उनले ब्याजदर वृद्धिको सामनाका लागि तयार रहन आग्रह पनि गरे । ‘अझै पनि प्रणालीमा तरलता अभाव छ, अझै ब्याजदर बढ्ने देखियो, त्यसका लागि सबै तयार हुनु पर्छ,’ उनले भने ।

उनले वाह्य क्षेत्रमा देखिएको समस्या समाधान पनि चुनौतिको विषय रहेको बताए । उनले अहिलेको अर्थतन्त्र सुधारका लागि ब्याजदर वृद्धि आवश्यक रहेको धारणा राखे ।

तर, अर्थतन्त्रमा केही सुधार भने देखिएको उनको भनाई छ । कोभिड पश्चात चलायमान भएको अर्थतन्त्रले आर्थिक वृद्धि बढाउने अनुमान भएपनि लक्ष्य अनुसार हुन नसकेको उनको धारणा छ । वैदेशिक रोजगारीमा गएका नेपालीको विप्रेषणले आयातलाई सधै धान्न नसक्ने पनि उनले बताए ।

गभर्नर अधिकारीले चालु आर्थिक बर्षको मौद्रिक नीतिमार्फत् निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पुरा नहुने बताए ।

उनले आर्थिक बर्षको सुरुवातमा कर्जा बिस्तार ३२ प्रतिशतसम्म पुगेको र बैकिङ प्रणालीमा तरलता अभावका कारण कर्जा विस्तार हुन नसकेको कारण निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पुरा नहुने बताए ।

उनले १९ प्रतिशतको कर्जा विस्तारको लक्ष्य पुरा गर्न थप २ खर्ब ऋण बैंकहरुले बिस्तार हुनु पर्ने बताए । बजारमा तरलता अभाव तथा अर्थतन्त्र चुनौती पूर्ण रहेकाले पछिल्लो दुई महिनामा दुई खर्ब लगानी विस्तार हुन नसक्ने उनले स्पष्ट पारे ।

गभर्नर अधिकारीले मुलुकमा चालु आर्थिक वर्षमा अत्याधिक रुपमा आयात बढेकाले विदेशी मुद्रा सञ्चितिमा चाप परेको पनि बताए । उनले मुुलुकमा भएको पैसा सबै आयातबाट मुलुक भन्दा बाहिर गएकाले बजारमा तरलता अभावको समस्या देखिएको बताए ।

‘हामीले जुन किसिमको पोलिसी लिएका छौँ, त्यसले आषाढ मसान्तमा गएर १९ प्रतिशत पुग्नेवाला छैन, १९ प्रतिशत तल नै रहन्छ, १९ पुग्नलाई अब लगभग लगभग २ खर्ब क्रेडिट फ्लो हुनुपर्छ,’ उनले भने ।

त्यस्तै, गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा तरलता अभावको कारण व्याजदरमा असर परेको बताए । उनले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा समेत २ प्रतिशतले रेट बढाएको बताए ।

उनले व्यापार घाटा बढ्दै गएमा आयातका नीतिहरुमा सोच्नु पर्ने अवस्था रहेको बताए । अहिले पनि सरकारले केही वस्तुको आयातमा रोक लगाउने नीति प्रयोग गरिरहेको उनको भनाइ छ । उनले सरकारले आयातमा रोक लगाएको नीति संधैको लागि नभएर छोटो समयको लागि भएको बताए ।

उनले विदेशीबाट आउने रेमिटेन्स औपचारिक क्षेत्रबाट ल्याउने प्रयास गर्दा गर्दै पनि नसकिएको बताए । अनुदान तथा सहुलियत दिएर रेमिटेन्स बढाउने कुरा गरे पनि अहिले नेपाल जस्तै विदेशी मुलुक पनि विदेशी मुद्रा दिन नसक्ने अवस्थामा रहेकाले सोचे जस्तो रेमिटेन्स आउन नसक्ने उनको भनाइ छ ।

पछिल्लो समय नेपालमा डलर तिरेर सामान ल्याए पनि नेपालमा प्रयोग भएको नभएको भन्दै गभर्नर अधिकारीले त्यो वस्तु कहाँ प्रयोग हुन्छ, कसरी हिसाव मिल्छ लेखापरीक्षकहरुले राष्ट्र बैंकलाई जानकारी दिन आग्रह गरे ।

गभर्नर अधिकारीले नेपालबाट डलर तिरेर सामान ल्याउने तर अन्य देशमा निर्यात तथा त्यो सामान नेपालमा कतै प्रयोग भएको नदेखिनुले देशलाई नै अफ्ठ्यारो परिरहेको बताए । उनले नेपालमाबाट कहीँ कतै सामान आयात नभइकन डलर पेमेण्ट त गरिरहेका छौकी शंका रहेको बताए ।

भिडियो 

Share News