काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) मार्फत सेयर धितोमा राखेर गरिने मार्जिन कारोबार सुबिधा लागू भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन), २०७७ लागू गरेको हो ।
२०७५ को उक्त कार्यविधि २०७७ मा पहिलो पटक संशोधन भएको थियो । सोही अनुसार उक्त संशोधित कार्यविधि लागू गरिएको नेप्सेले जनाएको छ ।
संशोधित कार्यविधि अनुसार ब्रोकरले सूचीकृत संस्थाको सेयरको १२० दिनको औषत मूल्य वा बजार मूल्यमध्य जुन कम हुन्छ त्यसको ३० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिन(इनिसियल मार्जिन) को रुपमा मार्जिन कारोबार सुविधा दिन सक्ने छन् । तर धितोपत्रको दोश्रो बजारको अवस्था र सम्बन्धित धितोपत्रमा हुन सक्ने जोखिमलाई ध्यानमा राखी सदस्य ब्रोकरले ३० प्रतिशतभन्दा बढी प्रारम्भिक मार्जिन लगानीकर्तासँग लिन सक्नेछ ।
त्यस्तै, मार्जिन कारोबार सुविधाको लागि सम्भार मार्जिन (मेन्टिनेन्स मार्जिन) २० प्रतिशत हुनेछ ।
ब्रोकरले बजारको अवस्था र जोखिम हेरी लगानीकर्ताबाट मार्जिन खातामा प्रत्येक दिन कारोबारको अन्तिम मूल्यको आधारमा न्यूनतम २० प्रतिशत वास्तविक मार्जिन कायम गर्नु पर्ने व्यवस्था छ ।
ब्रोकरले लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन २० प्रतिशतभन्दा कम हुन आएमा सम्बन्धित लगानीकर्तालाई मार्जिन कल गर्न सक्ने छ । उक्त कल गरेको दोश्रो कारोबार दिनभित्र सम्बन्धित लगानीकर्ताले नगद वा मार्जिन कारोबार योग्य सेयरहरु जम्मा गरी वास्तविक मार्जिन २० प्तिशतभन्दा बढी कायम गर्नुपर्ने व्यवस्था छ । र, २० प्रतिशत भन्दा माथिको वास्तविक मार्जिन कायम गर्न लगानीकर्ताको डिम्याट खाताबाट मार्जिन खातामा सेयर स्थानान्तरण गर्दा नियमानुसार शुल्क लाग्ने उक्त कार्यविधिमा उल्लेख छ ।
त्यस्तै, मार्जिन कल गरेको तेश्रो कार्य दिनभित्र सम्बन्धित लगानीकर्ताले वास्तविक मार्जिन २० प्रतिशतभन्दा बढी नपुर्याएमा वा मार्जिन खाता अन्तर्गतका सेयरहरुको बजार मूल्यमा आएको परिवर्तनले सो मार्जिन २० प्रतिशतभन्दा बढी हुन नसकेमा ब्रोकरले आवश्यक पर्ने मार्जिन खाता अन्तर्गतका जुनसुकै सेयर अर्थात धितोपत्र बिक्री गर्न सक्ने छन् । यदि चौथो कार्यदिनमा वास्तविक मार्जिन २० प्रतिशतभन्दा बढी नभएमा मात्र ब्रोकरले सो कार्य गर्न सक्ने छ ।
मार्जिन कल गरिसकेपछि वास्तविक मार्जिन १५ प्रतिशत वा सोभन्दा तल आएमा ब्रोकरले लगानीकर्ताको मार्जिन खातामा वास्तविक मार्जिन २० प्रतिशतभन्दा बढी कायम गर्न आवश्यक धितोपत्रहरु बिक्री गर्ने छ । उक्त सेयर बिक्री गर्न ब्रोकरलाई लगानीकर्ताको अनुमति नचाहिने उक्त कार्यविधिमा उल्लेख छ ।
त्यसैगरी, सम्भार मार्जिनभन्दा वास्तविक मार्जिन कम हुन आएमा ब्रोकरले ७ दिन (कार्य) को समय दिई निश्चित प्रतिशत मार्जिन कल गर्न सक्ने छ । सातौं दिनमा ब्रोकरले तोकेको सम्भार मार्जिन कायम नभएमा आठौं कार्य दिन पश्चात वा खाता बन्द (बुक क्लोज) हुनुभन्दा ५ दिन अघिनै सम्भार मार्जिनभन्दा वास्तविक मार्जिन बढी कायम गर्न लगानीकर्ताको धितोपत्रहरु बिक्री गर्न सक्नेछन् ।
त्यसैगरी, मार्जिन खाता अन्तर्गत रहेका सेयरहरुको कारोबार मर्जर, एक्विजिसन वा अन्य कुनै कारणले बन्द भएको अवस्थामा सो सेयरको समूहगत परिसूचक १५ प्रतिशतभन्दा धेरैले घटेमा ब्रोकरले लगानीकर्तालाई सूचित गर्नुपर्ने छ । ब्रोकरले उक्त सेयर बापतको मार्जिन ऋण तथा सोसँग सम्बन्धित अन्य दायित्व चुक्ता गर्न लगानीकर्तालाई ७ दिनको समय दिएर सूचित गराउनु पर्ने व्यवस्थामा उल्लेख छ ।
साथै, ब्रोकरले बजारको जोखिमलाई मध्यनजर गर्दै लगानीकर्तालाई लगानी विविधिकरण गर्न लगाउन सक्ने छ । र, मार्जिन कारोबारको लागि अनुमति लिएको ब्रोकरको संस्थापक, संचालक, कर्मचारी र आधिकारिक प्रतिनिधिले आफ्नो कम्पनीबाट ऋण वा सापटी लिन नपाउने कार्यविधिमा उल्लेख छ ।
यस्तो छ व्यवस्था
[pdf id=325507]