काठडमाडौं । बैंकहरुले सुन व्यापारीहरुलाई सुनको आयातका लागि माग नगर्न आग्रह गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई अत्यावश्यकबाहेकमा कर्जा लगानी नगर्न निर्देशन दिएसँगै बैंकहरुले सुन व्यापारीलाई फोन नै गरेर आयातका लागि माग नगर्न आग्रह गरिरहेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर शाक्यले बैंकहरुले आफुहरुलाई फोन नै गरेर सुनको माग नगर्न भनेको बताए ।
राष्ट्र बैंकले दैनिक १० केजी मात्रै आयात गर्ने व्यवस्था गरेका थियो, अहिले त आयात नै भइरहेको छैन, बैंकहरुले आयात नै गरिरहेका छैनन्, स्वयम् बैंकहरुले हामीलाई फोन नै गरेर सुनको माग नगर्नु भनिरहेका छन्, यसले हाम्रो व्यवसाय नै चौपट भयो,’ महासचिव शाक्यले विकासन्युजसँग भने ।
राष्ट्र बैंकले अब सुन आयात नै नगर्ने व्यवस्था गर्न लागेको विषय बैंकरहरु समक्ष पनि पुगेको छ । केही बैंकरहरुले राष्ट्र बैंकले अब आयात नै नगर्नु भनेर आफुलाई जानकारी दिएको उनको भनाई छ ।
‘अहिले पनि नीतिगत व्यवस्था नभए पनि सुनको आयात शुन्य नै छ, व्यापार नै छैन, अब केही दिनमा हामी राष्ट्र बैंक गएर गभर्नरसँग छलफल गर्दैछौं, यही अवस्था एक दुई महिना कायम रह्यो भने पेट पाल्न पनि समस्या हुने अवस्था छ,’ उनले भने ।
केही साता अगाडि मात्रै नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको थियो । राष्ट्र बैंकले गत फागुन २२ गते दैनिक १० किलो मात्रै सुन आयात गर्न सकिने व्यवस्था गरेको थियो । यसअघि दैनिक २० किलो आयात गर्न सकिने व्यवस्था थियो ।
राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ को सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ को दफा ४ (क) लाई देहायबमोजिम संशोधन गर्दै सो व्यवस्था गरेको थियो ।
सुन आयातमा कडाइ गरिँदै
नेपाल राष्ट्र बैंकले पनि सुन आयातमा कडाइ गर्ने तयारी थालेको छ । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार सुनलाई ‘निल’ मा झार्न लागिएको हो । ‘अहिले विदेशी मुद्रा सञ्चितिमा चाप परिरहेको छ, व्यापार घाटा बढिरहेको छ, हामीले कुन-कुन वस्तु आयातमा कटौती गर्ने भन्ने विषयमा सोचिरहेका छौं, सुनलाई निलमा झार्ने कि भन्ने बहस पनि भइरहेको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।
बजारमा सुन बिक्री हुन छाडेपछि सुनको आयातमा कडाइ गर्न राष्ट्र बैंकलाई सहज भएको छ । बैंकहरुबाट सुन खरिद गर्ने व्यापारीहरु नै अहिले सुनको माग गरिरहेका छैनन् ।
केही साता अगाडि नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाई गरपछि सुनचाँदी व्यवसायीहरुले आपत्ति जनाएका थिए । उनीहरुले राष्ट्र बैंकले अनेक कारण देखाएर सुन आयातमा कडाई गरेर व्यवसाय नै चौपट पार्न खोजको आरोप पनि लगाउँदै आएका थिए । तर, अहिले व्यापार नै हुन छाडेपछि उनीहरु निराश बनेका छन् ।
‘सुनमा बढी कर लगाऔं’
नेपाल राष्ट्र बैंकको एक अध्ययन कार्यदलले सुन आयातमा कर बढाउनु पर्ने राष्ट्र बैंकलाई सुझाव दिएको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठको संयोजकत्वमा बनेको समितिले नेपालको बाह्य क्षेत्रको विद्यमान अवस्था, समस्या/चुनौती तथा सुधारका उपाय विषयमा गरेको अध्ययन प्रतिवेदनले सून, चाँदी जस्ता विलासिताका सामानमा भन्सार लगायतका करको दर बढाउनु पर्ने निश्कर्ष निकालेको हो ।
सो समितिले वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सून, चाँदी जस्ता विलासिताका सामानमा भन्सार लगायतका करको दर तत्कालै बढाउनु पर्ने सुझाव राष्ट्र बैंकलाई दिएको हो ।
सम्बन्धित सामग्री: ‘राष्ट्र बैंकले २५ हजार व्यवसायीको विजनेस चौपट पार्न खोज्यो, तस्कर मौलाउने भए’