डिजिटल बैंकिङमा ‘नम्बर वान’ बन्ने कुमारीको रणनीति, ग्राहकलाई बैंक आउनै नपर्ने पूर्वाधार बनाउँदै

<p>काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल बैंकिङ क्षेत्रमा तीव्रताका साथ काम गरिरहेका छन् । बैंकहरूले विभिन्न प्राविधिक पाटर्नरहरूसँग सहकार्य गरेर डिजिटल बैंकिङमा एकपछि अर्को फड्को मारिरहेका छन् । यही रफ्तारमा रहेको बैंक हो कुमारी बैंक । हुन त नेपाली वाणिज्य बैंकहरूमध्ये सबैभन्दा अगाडि, उत्कृष्ट र प्रभावकारी रुपमा काम गर्नेमध्ये कुमारीले आफूलाई नम्वर [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल बैंकिङ क्षेत्रमा तीव्रताका साथ काम गरिरहेका छन् । बैंकहरूले विभिन्न प्राविधिक पाटर्नरहरूसँग सहकार्य गरेर डिजिटल बैंकिङमा एकपछि अर्को फड्को मारिरहेका छन् । यही रफ्तारमा रहेको बैंक हो कुमारी बैंक ।

हुन त नेपाली वाणिज्य बैंकहरूमध्ये सबैभन्दा अगाडि, उत्कृष्ट र प्रभावकारी रुपमा काम गर्नेमध्ये कुमारीले आफूलाई नम्वर वान बैंकका रुपमा दावी गर्छ । कुमारीले विभिन्न समयमा ग्राहकहरूलाई लक्षित गरी डिजिटल बैंकिङसम्बन्धी आकर्षक इन्सेन्टिभ तथा योजना ल्याउन सक्नु पनि बैंकको अर्को सफलता हो ।

चाडपर्वको समयमा डिजिटल दक्षिणा होस् वा बैंकिङ क्षेत्रमै नयाँ प्रडक्ट सार्वजनिक गरेर बैंकिङ क्षेत्रलाई नै सरप्राइज पार्नु कुमारीका लागि नयाँ विषय होइन । उसो त नेपालमा सर्वप्रथम इन्टरनेट बैंकिङ सेवाको सुरुवात गर्ने बैंक नै कुमारी हो । त्यसैले पनि बैंकिङ क्षेत्रमा प्रविधिसँग सम्बन्धित नयाँ–नयाँ प्रडक्ट तथा योजनाहरू ल्याउने बैंकका रुपमा कुमारीले आफूलाई चिनाएको छ ।

डिजिटल बैंकिङमा एकपछि अर्को, नयाँ–नयाँ र आकर्षक प्रडक्टहरु ल्याएर ग्रााहकलाई सहज सेवा दिनतर्फ बैंकले ध्यान दिएको कुमारी बैंकका कार्ड तथा डिजिटल पेमेन्टका प्रमुख मन्दिप भट्टराई बताउँछन् ।

‘कुमारी बैंकले क्यूआर, टपअप तथा पानी, बिजुली, इन्टरनेट, टीभी भुक्तानीलगायत स्कुल/कलेजको शुल्क तथा मर्चेन्टको बिल भुक्तानी समेतमा प्राथमिकता दिइरहेको छ, भिसा डेविट, क्रेडिट तथा इन्टरनेशनल कार्ड जारी गरेर ग्राहकलाई सेवा दिइरहेका छौं, कुमारीको सेवाप्रति ग्राहकहरू पनि सन्तुष्ट हुनुहुन्छ,’ भट्टराईले भने ।

डिजिटल बैंकिङमा अभ्यास

कुमारी बैंक आफूलाई काममा अभ्यास्त पार्न चाहन्छ । विदेशी बैंकिङ क्षेत्रमा भइरहेको अभ्यास र प्रयोग भइरहेका नयाँ–नयाँ प्रविधिहरु नेपाल भित्र्याएर नेपाली ग्राहकहरूलाई सरल र सहज बैकिङ सेवा दिने प्रयत्नमा कुमारी बैंक छ ।

‘नेपाली बैंकिङ इन्ड्रस्टी अहिले नै आफ्नै पूर्वाधार निर्माण गरेर आफ्नै जनशक्तिबाट काम गर्न सक्ने अवस्थामा छैन, ग्राहकलाई नयाँ सरल र सहज बैंकिङ सेवा दिनका लागि विदेशी पाटर्नरहरुसँग मिलेर जान आवश्यक नै छ, त्यसका लागि कुमारी बैंक एक कदम अगाडि छ, विदेशी बैंकिङ क्षेत्रमा भइरहेको अभ्यास नेपालमा पनि ल्याउन हामी प्रयास गरिरहेका छौं, त्यसका लागि काम पनि भइरहेको छ,’ भट्टराईले भने ।

अहिले कुमारी बैंकले भिसा डेविट कार्ड, क्रेडिट कार्ड, भिसा इन्टरनेशनल कार्ड र डलर कार्ड पनि जारी गरिरहेको छ भने मोबाइल बैंकिङमार्फत पनि काम गरिरहेको छ । यी विभिन्न प्रडक्टहरुमार्फत कुमारी बैंकका ग्राहकले सरल सेवा लिइरहेका छन् । उनका अनुसार मोबाइल बैंकिङमा कुमारीको ६ लाखभन्दा बढी ग्राहकहरू छन् ।

‘डलर कार्डमार्फत नेपालीले विदेशको सामान खरिद गर्न सकिन्छ, नेपाल राष्ट्र बैंकका अनुसार एक जनाले वार्षिक ५ सय डलरको सामान खरिद गर्न सुकिने व्यवस्था छ, मोबाइल बैकिङमा पनि ग्राहकको राम्रो सहभागिता छ, इन्टरनेट बैंकिङमार्फत पनि ग्राहकले सेवा लिइरहनु भएको छ,’ भट्टराईले थपे ।

यस्तै, कुमारी बैंकले विभिन्न पसल, अस्पताल लगायतका संस्थाहरूमा क्यूआर कोड, पीओएस (प्वोन्इन्ट अफ सेल) राखेर पनि ग्राहकलाई भुक्तानीमा सहजीकरण गरिरहेको छ । भट्टराईका अनुसार हाल कुमारी बैंकले विभिन्न पसलहरुमा १५ हजार क्यूआर वितरण गरेको छ ।

नेपाल राष्ट्र बैंकले पनि डिजिटल बैंकिङलाई प्रोत्साहन गरेको छ । कुमारी बैंकले पनि डिजिटल बैंकिङलाई पहिलो प्राथमिकतामा राखेर काम गरिहरेको छ । हाल बैंकले भाइवर बैंकिङ, ब्रान्चलेस बैंकिङ, मिस्डकल बैंकिङ लगायतका योजना अभ्यास गरेर अगाडि बढिरहेको छ ।

कार्डहरूमा सुविधा

अधिकांश बैंकहरू अहिले क्रेडिट कार्डको सुविधा ल्याइरहेका छन् । जबकी कुमारी बैंकले २०७३ सालमै भिसा क्रेडिट कार्ड योजना ल्याएको थियो । प्रविधियुक्त सेवा भित्र्याउने अग्रणी बैंकको रुपमा आफ्नो परिचय कुमारी बैंकले विभिन्न समयमा विभिन्न किसिमका स्कीमहरु ल्याएर स्थापित गरिसेको छ ।

हाल बैंकसँग दुई प्रकारका क्रेडिट कार्डहरू प्रयोगमा छन् । ‘डोमेष्टिक कार्ड’ नेपाल तथा भारतमा प्रयोग गर्न सकिन्छ भने डलरमा सञ्चालन गरिने ‘इन्टरनेशनल कार्ड’ विश्वव्यापी प्रयोग गर्न सकिन्छ ।

स्वदेश तथा विदेशका भिसा कार्ड स्वीकार गर्ने सबै एटीएम र व्यापारिक केन्द्रहरूमा कुमारी भिसा क्रेडिट कार्ड सहज रुपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । नेपालका थोरै बैंकले मात्र प्रयोगमा ल्याएको चिप बेशमा आधारित कार्डमा उच्च सुरक्षा एवं न्यून जोखिमको कारण विदेशमा पनि यस्तो कार्डको प्रयोग बढ्दो क्रममा रहेको बैंकले जनाएको छ ।

डेविट कार्ड बैंक बन्द भएको अवस्थामा जुनसुकै एटीएमबाट पनि पैसा झिक्न मिल्छ भने क्रेडिट कार्डमार्फत खातामा पैसा नभए पनि निकाल्न मिल्छ । जुन सुविधाले बैंकलाई थप एउटा उचाईमा पुग्न मद्दत पुगेको छ ।

कुमारी बैंकका कार्ड तथा डिजिटल पेमेन्टका प्रमुख भट्टराईका अनुसार क्रेडिट कार्डमा बैंकले ५ लाख रुपैयाँसम्मको सुविधा दिने गरेको छ ।

‘हामीले ग्राहकको आम्दानी अनुसारको कर्जा दिन्छौं, मासिक आम्दानी मूल्यांकन गरेर ऋणको सीमा तोक्छौं, सो ऋणको मासिक न्यून्तम १० प्रतिशत भुक्तानी गर्दा पनि हुन्छ तर, यसमा ग्राहकको सुविधा पनि हुन्छ, कसैले ५० हजार रुपैयाँ लिएको छ भने त्यसको १० प्रतिशत अर्थात ५ हजार रुपैयाँ मासिक भुक्तानी गर्नु पर्ने हुन्छ,’ भट्टराईले भने ।

उनका अनुसार १५ दिनदेखि ४५ दिनसम्म्को अवधिमा भुक्तानी भयो भने व्याजदर निःशुल्क हुन्छ । ‘त्यसमा इएमआई सुविधा पनि हुन्छ, यदि तपाईंले ५० हजार रुपैयाँको मोबाइल किन्नुभयो भने ५० हजार बैंकले नै भुक्तानी गर्छ, तपाईंले कुल रकमको मासिक १० प्रतिशत किस्ता भुक्तानी गर्दा हुन्छ,’ उनले थपे ।

दैनिक कारोबार १५ करोड

कुमारी बैंकको डिजिटल बैंकिङ अन्तर्गतको विभिन्न प्लेटफर्महरूमार्फत दैनिक १५ देखि २० करोड रुपैयाँसम्मको कारोबार हुने गरेको छ । मोबाइल बैंकिङ, क्यूआर, पीओएस लगायतबाट ग्राहकले दैनिक १५ करोडभन्दा बढी कारोबार गर्ने गरेको भट्टराईको भनाइ छ ।

‘हामीसँग ६०० वटा पसलमा पीओएस छ, १५ हजार बढी पसल तथा अस्पताल लगायतका संस्थाहरुमा क्यूआर राखेका छौं, क्यूआरमार्फत नै प्रतिदिन १ करोड रुपैयाँको कारोबार हुन्छ,’ उनले भने । भट्टराई कुमारी बैंकसँग प्रस्पिर्धामा रहेका बैंकको तुलनामा कुमारी बैंकको डिजिटल बैंकिङमा भएको प्रगति सन्तोषजनक रहेको बताउँछन् ।

फोन लोन ईएमआईले ल्याएको तरंग

कुमारी बैंकले गत मंसिरमा ‘फोन लोन ईएमआई’ योजना ल्यायो । जुन योजना नेपाली बैंकिङ इन्ड्रष्टीमै पहिलो थियो । यसअघि कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूले यस्तो स्कीमसहितको सुविधा ल्याएका थिएनन् ।

बैंकले सुरु गरेको ‘बाई नाउ, पे लेटर’ स्कीमका साथ सुरु गरेको सो स्कीमले बैंकिङ क्षेत्रलाई नै तरंगित बनायो । परिणाम स्वरुप वाणिज्य बैंकहरु विभिन्न स्कीमहरु ल्याएर स्कीम ल्याउने पहिलो बैंक बन्ने प्रयासमा छन् । कुमारी बैंकमा तलब खाता भएका ग्राहकले न्युनतम १ हजारदेखि २ लाखसम्मको कुमारी स्मार्ट मोबाइल बैंकिङबाट यो सुविधा लिन सक्नेछन् ।

उक्त लोन १२ महिनाभित्रको अवधिमा तिर्न सकिने बैंकले जनाएको छ । बैंकले एफवान सफ्टसँगको सहकार्यमा यो योजना ल्याएको हो । ग्राहकलाई दिनानुदिन रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पुर्याउने उद्देश्यले यो योजना ल्याएको बैंकले जानकारी गराएका थियो । अहिले सो योजनामा सहभागी हुने ग्राहकको संख्या बढ्दै गएको बैंकको भनाइ छ ।

‘नेपाली बैंकिङ इन्ड्रस्टीमै फोन पे ईएमआई नयाँ स्कीम थियो, त्यसैले पनि यो स्कीम ग्राहकको रोजाईमा परेको छ, अन्य बैंकहरुमा भएको सुविधा हाम्रोमा पनि छ तर, कुमारी बैंक्मा भएको सुविधा र स्कीम अन्य बैंकमा छैन, अझै केही नयाँ स्कीम ल्याउने योजनामा छौं,’ भट्टराईले भने ।

ह्याकरको त्यो त्रास

कुमारी बैंकले डिजिटल बैंकिङमा फड्को मार्दै गर्दा गत पुसमा बैंकलाई ह्याकरको एउटा इमेल आयो । ईमेलमार्फत् ह्याकरले कुमारी बैंकको बैंकिङ सिस्टम नै ह्याक गर्ने धम्की दियो । तर, कुमारी बैंकको डिजिटल बैंकिङ टिम सो धम्कीसँग डराएन ।

बरु उनीहरूले आफ्नो प्रविधिमाथि निगरानी बढाए । आफ्नो सिस्टम ठीक छ वा छैन ? सुरक्षित छ वा छैन ? भन्ने तर्फ बैंकले ध्यान दियो । परिणामस्वरुप कुनै दुर्घटना हुन पाएन । ह्याकरको धम्की धम्कीमै सीमित रह्यो । डिजिटल बैंकिङमा राम्रो काम गरिरहेको कारण नै ह्याकरको निशानामा कुमारी बैंक परेको हन सक्ने प्रक्ष्येपण बैंकको छ ।

कार्ड तथा डिजिटल पेमेन्ट प्रमुख भट्टराई डिजिटल बैंकिङमा अवसरसँगै चुनौती थपिएको बताउँछन् । ‘प्रविधि भनेकै नयाँ नयाँ कुरा सिकाउने हो, यउसमा सुरक्षाको कुरा पक्कै पनि चुनौती छ, चुनौतीसँगै अवसर पनि छ, त्यसमा हामी पनि सजक छौं, हाम्रो सिस्टमलाई स्तरोन्नति गरिनै रहेका छौं, ह्याकिङको धम्कीले पनि हामी थप सजक भएका छौं,’ उनले भने ।

अबको टार्गेट नम्बर वान

हुन त कुमारी बैंकलाई अहिले पनि बैंकिङ बजारमा डिजिटल बैंकिङमा नम्बर वान बैंकका रुपमा चिन्ने पनि गरिएको छ । तर, बैंक व्यवस्थापन भने अझै पनि केही काम गर्न बाँकी नै रहेकोले अहिले नै स्वघोषणा गर्ने पक्षमा छैन ।

अहिले पनि अन्य बैंकहरुमा नभएका सुविधा, स्कीम तथा प्रविधिहरू कुमारी बैंकमा छन् । तर, ठूलो स्केलका बैंकहरुको तुलनामा कुमारी बैंकले आफूलाई धेरै ग्राहकसामू पुर्याइसकेको छैन ।

‘हामी हाम्रो भोलुमका बैंकहरुका तुलनामा उत्कृष्ट नै छौं तर, ग्राहक धेरै भएका बैंक पनि यहाँ छन्, अब ग्राहकको संख्या बढाएर सबैसामु हाम्रो डिजिटल बैंकिङको सुविधा पुुुर्यानु पर्छ, अहिले भइरहेको कामप्रति हामी सन्तुष्ट छौं, अझै पनि सेवालाई थप परिस्कृत गर्ने योजनामा छौं,’ उनले भने ।

कुमारी बैंक डिजिटल बैंकिङमा नम्बर वान बैंक बन्ने रणनीतिमा छ । केही पूर्वाधार निर्माण गरेर ग्राहकलाई घरबाटै सेवा लिन सक्ने किसिमको योजना कुमारीले गरिरहेको छ ।

‘हुन त हामी अहिले पनि नम्बर वाननै छौं भन्दा फरक नपर्ला तर, केही सूचक अझै पनि विस्तार गर्नु पर्ने अवस्था छ, अब हरेक डिजिटल बैंकिङको हरेक सूचकमा नम्बर वान बन्ने योजनामा हामी छौं, हाम्रा ग्राहकको आवश्यकता अनुसार काम गरिरहेका छौं, विदेशी टेक्निकल पाटर्नरहरुसँग सहकार्य गरेर काम गरिरहेका छौं,’ उनले थपे ।

अहिलेको डिजिटल एज (प्रविधिको युग) भएकोले कुमारी बैंकको सम्पूर्ण ध्यान डिजिटल बैंकिङमा गएको उनको भनाइ छ । ‘सकेसम्म ग्राहकलाई बैंकमा नआउने वातावरण नै सिर्जना गरिरहेका छौं, संसारमै सबै काम डिजिटलमार्फत भइरहेको छ, अब बैंकहरु पूर्ण रुपमा डिजिटलाइज हुन आवश्यक छ,’ उनले भने ।

Share News