काठमाडौं । कुमारी बैंकले ‘फोन लोन’ योजना ल्याएको छ । बैंकले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘बाई नाउ, पे लेटर’ भन्ने नाराका साथ यो योजना सार्वजनिक गरेको हो ।
ग्राहकको दैनिक रुपमा हुने खर्च व्यवस्थापनमा मद्दत पुर्याउने उद्धेश्यले यो योजना सार्वजनिक गरेको बैंकको भनाई छ ।
यो योजना नेपाली बैंकिङ क्षेत्रमै पहिलो पटक सार्वजनिक भएको बैंकको दाबी छ । यद्यपि, गत वर्ष कुमारी बैंकले नै यो योजना ल्याएको थियो । तर, त्यसको भुक्तानी अवधि १ महिना मात्रै राखिएको थियो । अहिले भने १ वर्ष सम्मका लागि भुक्तानी अवधि तोकिएको छ ।
फोनलोन इएमआई प्रडक्ट
कुमारी बैंकको फोनलोन ईएमआइ योेजना नेपाली बैंकिङ क्षेत्रमै पहिलो प्रडक्ट हो । बैंकले यसअघि यो योजना ल्याएको भएपनि छाटो अवधि भएकोले अब यसको समायवधि एक वर्षसम्मका लागि कायम गरेको छ ।
कुमारी बैंकमा तलब खाता भएका ग्राहकले यो सुविधा पाउनेछन् । ग्राहकले न्यूनतम १ हजारदेखि २ लाख रुपैयाँसम्मको कुमारी स्मार्ट मोबाइल बैंकिङबाट यो सुविधा लिन सक्नेछन् ।
ग्राहकले आयस्रोतको हिसावमा १, ३, ६, ,९ र १२ महिनामध्ये कुनै एक अवधि छनोट गरी भुक्तानी गर्न सक्नेछन् । कर्जा भएपनि यस प्रडक्ट अन्तर्गत कुनै पनि कागजी प्रक्रिया अर्थात लालपुर्जा वा धितो राख्नु पर्ने बाध्यता रहने छैन ।
ग्राहकले आफ्नो खातामा सामान किन्ने बराबरको रकम नभएपनि फोनपेमा आवद्ध विभिन्न मर्चेन्ट आउटलेटमा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवा सुविधा उपभोग गर्दा क्यूआर स्क्यान गरी सोको बाई नाउ, पे लेटर अवधारणामा किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् । बैंकले एफवान सफ्टसँगको सहकार्यमा यो योजना ल्याएको हो ।
बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले नेपाली बैंकिङ क्षेत्रमै कुमारी बैंकले नयाँ योजना ल्याएकोले ग्राहकले यो योजनालाई मन पराउने विश्वास व्यक्त गरे ।
उनका अनुसार यसले उपभोगमा बढी सहयोग गर्ने भएकोले खातामा पैसा नभएपनि अब सेवाग्राहीले कुनै चिन्ता लिनु नपर्ने बताए ।
‘अहिले हामी सबै लोन बेसमा काम गरिरहेका छौं, कुनै ठाउँ घुम्न गयौं, तर खातामा पैसा छैन भने पनि चिन्ता लिनु पर्दैन, त्यतिखेरै १ मिनेटमै १ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म लोन लिन पाइन्छ, कर्जा लिन बैंकमा आउनु नपर्ने र मोबाइलबाटै कति महिनाको लागि चाहिन्छ, त्यसबाटै पैसा लिन सकिन्छ, अब कुनै पनि सपिङका लागि त्यही समयमा पैसा चाहिँदैन, कुमारी बैंकले पैसा दिन्छ,’ उनले भने ।
फोनलोन लिँदा शुल्क लाग्छ ?
कुमारी बैंकका ग्राहकले फोनलोन लिन चाहेमा केही सेवा शुल्क भने अवश्य तिर्नु पर्छ । बिनाधितो कर्जा भएपनि बैंकले आफ्नो कर्जालाई सुरक्षित पार्नका लागि केही शुल्क सँगै किस्ता वा कर्जा भुक्तानीमा ढिलाई भएमा केही जरिवानाको लिन सक्ने मापदण्ड पनि बनाएको छ ।
बैंकले लोन प्रोसेसिङ चार्ज अन्तर्गत कुल कर्जाको ०.७५ प्रतिशत तोकेको छ । यदि ग्राहकले २ लाख रुपैयाँ कर्जा लिन चाहेमा २ लाखको ०.७५ प्रतिशत फोनलोन चार्ज अन्तर्गत १ हजार ५ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
यस्तै, बैंकले जरिवानाको पनि मापदण्ड राखेको छ । कुनै किस्ता छुट्ने वित्तीकै ३ सय रुपैयाँ जरिवाना शुल्क राखेको छ । यस्तै, बैंकले १५ प्रतिशत व्याजदर तोकेको छ ।
यस्तो छ फोनलोन लिने प्रक्रिया
बैंकका अनुसार फोनलोन लिन धेरै समय लाग्दैन । बैंकले फोनलोन लिनका लागि अधिकतम ५ मिनेट समय तोकेको भएपनि १ मिनेटमै प्रक्रिया सकिन्छ ।
१. फोन लोन लिन तपाईंसँग कुमारी बैंकको बचत खातासँगै मोबाइल बैंकिङ हुनुपर्नेछ । सुरुमा मोबाइल बैंकिङ खोल्नु (लगइन) पर्नेछ ।
२. मोबाइल एपमा देखिएको सर्टटम लोनमा क्लिक गरेर आफ्नो इमेल राख्नुपर्नेछ । सोही इमेलमा बैंकले तपाईंलाई एउटा इमेल पठाउनेछ । सोही इमेलमा क्लिक गर्नु पर्नेछ ।
३. कुमारी फोनलोनमा क्लिक गर्ने ।
४. त्यहाँ देखिएको ऋणको रकम आफुले राख्ने ।
५. कर्जा तिर्ने समायवधि राख्ने । बैंकले कर्जा भुक्तानीको समायवधि १, ३, ६, ,९ र १२ महिनामध्ये कुनै एक महिना राख्नु पर्ने विकल्प राखेको छ ।
६. त्यसपछि बैंकले उल्लेख गरेको केही सर्तहरु र मासिक किस्ता सहितको विवरण दिन्छ । ती सबै सर्त स्वीकार गर्दै प्रक्रिया अगाडि बढाउनु पर्छ ।
७. बैंकले तपाईंको मेसेज बक्समा ४ नम्बरको सीभीभी कोड पठाउँछ । सो कोडलाई त्यसमा उल्लेख गरेपछि कन्र्फम गर्नु पर्छ ।
८. त्यसपछि तुरुन्तै कर्जा लिने प्रक्रिया समाप्त हुन्छ । र, तपाईंले कुमारी बैंकबाट फोनलोन पाउनु हुनेछ ।
बैंकका डिजिटल बैंकिङ प्रमुख अनिश ताम्राकारले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि यो योजनाले महत्वपूर्ण भूमीका खेल्ने बताए । गुड बैंकिङको अभ्यास गर्ने ग्राहकका लागि यो राम्रो योजना रहेको बताउँदै उनले यो सुविधा लिने ग्राहकको खाता भने चलायमान भएको हुनु पर्ने धारणा राखे ।
भिडियाे: