काठमाडौं । धितोपत्र बोर्डको नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले मुख्य तीन वटा विषयहरु आफ्नो प्राथमिकतामा पर्ने बताएका छन् ।
उनले साना लगानीकर्ताको सुरक्षा तथा हकहित, बजारको स्थायीत्व र बजारलाई विविधिकरण (डाइभरसिटी) बनाउने आफ्नो मुख्य तीन वटा प्राथमिकता रहेको प्रतिक्रिया दिए ।
‘म साना लगानीकर्ताको पक्षमा सधैं हुनेछु, नेपालको सेयर बजारको विकास र विस्तारमा इमान्दार प्रयास गर्नेछु, बजारको विविधीकरण गर्न सक्दो प्रयास गर्नेछु,’ उनले विकासन्युजसँग भने ।
नेपालको सेयर बजारलाई बलियो र सक्षम बनाउँदै अन्तर्राष्ट्रियस्तरको बनाउने आफ्नो सपना रहेको उनले बताए । सामान्य झट्काले समेत प्रभाव पार्ने सेयर बजारलाई व्यवस्थित एवंम् मर्यादित बनाउने र प्राकृतिकरूपमा चल्ने बनाउन प्रयास गर्ने उनले बताए ।
उनले आफूले जानेको तथा सिकेको ज्ञान ताथ अनुभव नेपालमा नै प्रयोग गरौँ भन्ने उद्देश्यका साथ आफू नेपाल फर्किएको पनि बताए । उनले भोलि नै नियुक्ती पत्र बुझ्नेछन् ।
सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको संयोजकत्वमा बोर्ड अध्यक्ष छनौट समिति गठन गरेको थियो । समितिले तीन जनाको नाम प्रस्ताव गरेको थियाे । त्यसमा डा. गोपाल भट्ट, कृष्ण पोखरेल र हमालको नाम सिफारिस गरेको थियो ।
डोटीको सिलगढीमा जन्मेका हमालले एशियन इस्टिच्यूट अफ टेक्नोलोजी बैंककबाट एमबिए गरेका छन् ।
झण्डै २९ वर्षदेखि सार्वजनिक तथा निजी क्षेत्रमा सेवा गरेका हमालले २० वर्ष त व्यवस्थापन क्षेत्रमा नै काम गरेका छन् । सन् २००७ देखि सन् २०१० सम्म गैरआवासीय नेपाली संघ थाइल्याण्डको अध्यक्ष बनेका हमाल थाई–नेपाल चेम्बर अफ कमर्स बैंककको उपाध्यक्षसमेत बनेका थिए ।
सम्बन्धित सामग्रीः सेबोनको अध्यक्ष बने रमेश हमाल, को हुन् उनी ?