काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महासंघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचनको कार्यलाई के कसरी अगाडी बढाउने भन्ने सम्बन्धमा ढा“चा तथा प्रक्रिया तयार गर्न गठित समितिले महासंघका अध्यक्ष भवानी राणा समक्ष सोमबार सुझाव प्रतिवेदन पेश गरेको छ ।
प्रतिवेदनमा वार्षिक साधारण सभाको हकमा समुद्घाटन, बन्दशत्र र समापन कार्यक्रम भर्चुअल जुम मार्फत तथा निर्वाचन कम्प्युटराइज/ई–भोटिङ मार्फत सम्पन्न गर्न सकिने सुझाव दिएको महासंघकाे केन्द्रीय सचिवालयले जानकारी दिएकाे छ । निर्वाचन गर्नै पर्ने अवस्था रहेमा र केन्द्रमा वा प्रदेश तहमा निर्वाचन गर्न नसक्ने अवस्थामा यसरी जान सकिने सुझाव दिइएकाे सुझाव समितिका एक सदस्यले विकासन्युजलाई बताए ।
समितिले निर्वाचनको लागि अन्य २ वटा विकल्प पनि दिएको छ । जिल्ला/नगर क्षेत्रको निर्वाचन सम्बन्धित प्रदेशमा गर्न र बस्तुगत तथा एसोसिएटको काठमाडौंमा निर्वाचन गर्न सकिने पनि सुझाव उल्लेख गरिएको छ । यसरी निर्वाचन गर्दा सातै प्रदेशमा र बस्तुगत तथा एशाेसिएटकाे निर्वाचन एकै दिन, एकै समयमा हुनुपर्ने सुझाव पनि दिएकाे छ ।
समितिले स्वास्थ्यका सबै प्रोटोकल एवं सरकारका स्वास्थ्य निर्देशनहरू पालना गरी परम्परा शैलीमा सबै क्षेत्र (जिल्ला/नगर, वस्तुगत, द्विर्राष्ट्रिय, एसोसिएट) को प्रत्यक्ष काठमाडौंमा जमगट गराई निर्वाचन गर्न सकिने पनि उल्लेख छ ।
गएको साउन २१ गते सम्पन्न महासंघको कार्यकारिणी समितिको १७ औं बैठकले कार्यकारिणी समितिका ६ सदस्य सम्मिलित समिति गठन गरेको थियो । समितिलाई नेपाल सरकारका सम्बन्धित मन्त्रालय, निकायहरू, सीसीएमसी, स्वास्थ्य सम्बन्धी विज्ञहरूका साथै सरोकारवाला सबैसंग छलफल गरी प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको थियो । समितिले प्राप्त कार्यादेश अनुसार आफ्नो कार्य सम्पन्न गरी महासंघका अध्यक्ष राणा समक्ष प्रतिवेदन पेश गरेको हो ।
समितिमा जिल्ला/नगर उद्योग वाणिज्य संघ क्षेत्रबाट अरूणराज सुमार्गी र डीबी बस्नेत, वस्तुगत क्षेत्रबाट ई. बिनोद ढकाल र सुनिल गोपाल श्रेष्ठ र एसोसिएट क्षेत्रबाट भरतराज आचार्य र रंजितराज आचार्य थिए ।