काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वहुपक्षीय र द्विपक्षीय दातृ निकायका प्रमुख तथा प्रतिनिधिसँगको छलफल बढाएका छन् ।
कोरोना भाइरस (कोभिड १९) संक्रमण तथा सन्त्रासको कारण नेपाली अर्थतन्त्रले गम्भीर समस्या भोगिरहेको बेलामा मन्त्री खतिवडाले द्विपक्षीय र वहुपक्षीय सहयोगका बारेमा छलफल बढाएका हुन् ।
मन्त्री खतिवडाको कार्यकाल भदौ २० गते सकिदैछ । संघीय संसदको दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को सदस्य नभएको व्यक्ति पनि ६ महिनाको लागि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था अनुसार डा. खतिवडा अहिले मन्त्री छन् । उनी सांसद पदमा नरही मन्त्री बनेको कार्यकाल भदौ २० गते ६ महिना पूरा हुदैछ ।
त्यसपछि डा. खतिवडा मन्त्री पदमा वहाल रहनको लागि राष्ट्रपतिले राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुपर्छ । यसअघि पनि उनी राष्ट्रपतिबाट मनोनयन भएर नै राष्ट्रियसभा सदस्य भएका थिए । उनको साढे २ वर्षको कार्यकाल पूरा भएपछि फागुन २१ गतेदेखि उनी गैरसंसादको रुपमा मन्त्री बनिरहेका छन् ।
तर, नेकपा सचिवालयले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिफारिस गरेको छ । यद्यपि, प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सदस्य मनोनित गर्नको लागि राष्ट्रपति समक्ष कसैको पनि नाम सिफारिस गरेका छैनन् ।
अहिलेको अवस्थामा मन्त्री खतिवडाले अर्थमन्त्रीको रुपमा अब बढीमा ८ दिन मात्रै जिम्मेवारी वहन गर्न पाउँछन् । तर, पछिल्ला केही दिनयता उनले दातृ निकायका प्रमुख तथा प्रतिनिधिसँगको छलफललाई भने तिव्रता दिएका छन् ।
अर्थमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार उनले भदौ ५ गते विश्व बैंकको दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरसँग छलफल गरेका थिए ।
भदौ ५ गते विश्व बैंकसँग
अर्थमन्त्री खतिवडा र विश्व बैकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष सेफरबीच विश्वभर फैलिएको कोरोना भाइरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको एवं थप पार्न सक्ने प्रभाव, कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले हालसम्म चालेका कदमहरु तथा विश्व बैकको सहयोगमा सञ्चालित आयोजनाहरु बारे आज भिडियो कन्फरेन्स मार्फत छलफल भएको हो ।
मन्त्री खतिवडाले बिषम परिस्थितिमा पनि विश्व बैकको सहयोगमा सञ्चालित आयोजनाहरुमा प्रगति राम्रो रहेको र आईडा मुलुकहरुमा नेपालको कार्य सम्पादन उत्कृष्ट हुनुले द्धिपक्षीय सहयोग थप विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
वित्तीय दबाबका बावजुद नेपालले विश्व बैक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को सेयरमा नेपालको कोटा वृद्धि गरी नेपाल र विश्व बैकबीच समूहबीच लामो समयदेखि रहेको न्यानो सम्बन्धलाई जीवन्त राखिएको बताए ।
अर्थमन्त्रीले स्वास्थ्य र आर्थिक पुनरुत्थान सँगसँगै लैजानुपर्नेमा जोड दिदै नगद कोष व्यवस्थापनमा विश्व बैंकको बजेटरी सहायताले समेत सघाउ पुर्याएको र नीतिगत सुधारमा समेत विश्व वैंकको अनुभव र ज्ञान लाभदायी भएको जानकारी गराए । विश्व बैंकसँग हालै संझौता भएको रणनैतिक सडक आयोजना हाल सम्मकै ठूलो एकल आयोजना रहेको र गत बर्ष सोलगायत अन्य महत्वपूर्ण आयोजना संझौता भई करिव १ अर्व डलर थप प्रतिवद्धता प्राप्त भएको उनको भनाइ थियो ।
विश्व बैकका उपाध्यक्ष हार्टविग सेफरले पोर्टफोलियो कार्यान्वयनमा नेपालको प्रगति पूर्व निर्धारित लक्ष्यको तुलनामा राम्रो रहनुको साथै दक्षिण एशियाली क्षेत्रमै उत्कृष्ट भएकोमा धन्यवाद दिए । उनले कोभिड १९ को नकारात्मक प्रभावका बावजुद अर्थमन्त्रीको नेतृत्वमा नेपालको समग्र अर्थतन्त्र सकारात्मक रहेकोमा उच्च प्रशंशा गरेका मन्त्री खतिवडाको सचिवालयले पठाएको विज्ञप्तिमा उल्लेख छ ।
विभिन्न अवरोधका बावजुद नेपालले प्राप्त गरेको सफलता अनुकरणीय उदाहरणको रुपमा वोर्डमा प्रस्तुत गरिने योजना रहेको उपाध्यक्ष सेफरले जानकारी गराएका थिए ।
बैंकका उपाध्यक्षले नेपाल जस्ता कम विकसित मुलुकहरुले सामना गरिरहेको आर्थिक श्रोतका अभाव परिपूर्ति गर्न हालको आईडा श्रोत अपर्याप्त हुने र सो वृद्धि गर्न तथा वित्तीय ऋणको तिर्नुपर्ने साँवा व्याज स्थगनको अवधि सन् २०२१ सम्म बढाउन विश्व बैंकका अध्यक्ष डेभिड मालपासको सकृयतामा विभिन्न दाता सदस्य राष्ट्रहरुसँग पहल गरिरहेको जानकारी गराए ।
छलफलमा विश्व बैंकका कन्ट्री डाईरेक्टर फारिश हदाद जेरभोस, अप्रेसन म्यानेजर लाडा स्ट्रोलकोभा लगायत विश्व बैकका अन्य अधिकारीहरु, अर्थ सचिव शिशिर कुमार ढुंगाना र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिव श्रीकृष्ण नेपालको समेत उपस्थिति थियो ।
भदौ ११ गते वेलायती राज्यमन्त्रीसँग छलफल
मन्त्री खतिवडाले भदौ ११ गते संयुक्त अधिराज्य बेलायतका विदेश तथा कमवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमदसँग द्विपक्षीय सहयोग र हितका विषयमा भिडियो कन्फ्रेन्स मार्फत छलफल गरे ।
छलफलमा अर्थमन्त्रीले नेपाल र संयुक्त अधिराज्य बेलायतबीच दुई सय वर्षदेखि घनिष्ठ सम्बन्ध रहेको स्मरण गर्दै नेपालको आर्थिक विकास, स्वास्थ्य, शिक्षा, भूकम्पपछिको पुनर्निर्माण, वित्तीय पहुँच, सडक पूर्वाधार र लगानी जस्ता क्षेत्रमा बेलायत सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिए ।
मन्त्री खतिवडाले बेलायत सरकारले कोभिड १९ पछिको कठिन समयमा स्वास्थ्य क्षेत्र, सामाजिक सुरक्षा तथा पूर्वाधार क्षेत्रमा ठूलो सहयोग गर्ने गरी प्रस्ताव गरेकोमा खुशी व्यक्त गरे ।
छलफलमा बेलायतका मन्त्रीले कोभिड १९ ले सिर्जना गरेको कठिन अवस्थालाई सम्बोधन गर्न नेपाललाई ४५.८ मिलियन स्टर्लिङ्ग पाउण्ड (७ अर्ब १४ करोड रुपैयाँभन्दा बढी) को सहयोग प्याकेजको घोषणा गर्दै नेपालको आर्थिक सुधार, लगानीको वातावरण, वैदेशिक लगानीको सीमा, जलवायु परिवर्तनको असर न्यूनीकरण, सगरमाथा सम्बाद र हरित विकास जस्ता विषयमा नेपालसित थप सहयोग बढाउन र सहकार्य गर्न बेलायत सरकार ईच्छुक रहेको बताएका थिए ।
अर्थमन्त्रीले छलफलमा नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराए । उनले प्रत्यक्ष वैदेशिक लगानीको थ्रेसहोल्ड संशोधन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको, बेलायतसँग दोहोरो कर मुक्ति सम्झौताको प्रक्रिया अघि बढेको, लगानी आकर्षित गर्ने गरी सार्वजनिक निजी साझेदारी तथा लगानी वोर्ड ऐन लगायतका कानूनहरु निर्माण गरिएको बताए । उनले बेलायतका लगानीकर्तालाई अघिल्लो वर्ष लगानी सम्मेलनका सिलसिलामा बेलायत भ्रमण गरेको र त्यसको फलस्वरुप बेलायती लगानीकर्ताहरु उत्सुक भएको स्मरण गर्दै यसमा सहजीकरण गर्न बेलायत सरकारलाई अनुरोध गरे ।
भदौ १२ गते चिनियाँ अधिकारीसँग छलफल
दातृ राष्ट्र तथा निकायका प्रमुख तथा प्रतिनिधिसँग पछिल्लो समय छलफल चलाइरहेका अर्थमन्त्री खतिवडाले भदौ १२ गते चीनको अन्तराष्ट्रिय विकास सहयता एजेन्सी (सीआइडीसीए) का उपाध्यक्ष देङ बुइङसँग छलफल भिडियो कन्फरेन्समार्फत छलफल गरे ।
सो छलफलमा पनि आपसी सहयोग र द्विपक्षीय सहयोगमा संचालित परियोजनाका विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।