काठमाडौं । विश्वव्यापी कारोना भाइरस (कोभिड-१९) को महामारीका कारणले २०७६ चैत १० गतेदेखि धितोपत्र बजार बन्द भयो । लकडाउनको अवधि लम्बिँदै गयो ।
महिना दिन बित्यो । लकडाउन थपिँदै गएपछि नेपाल सरकारले धितोपत्र बजार खुलाउने निर्णय गर्यो । यससँगै धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि बजारका सबै सरोकारवालाहरुसँग छलफल गरी सेयर बजार खुलाउने निर्णय गरेको थियो । र, बन्द रहेको बजार लकडाउनकै बीच अर्थात ५०औं दिनपछि खुल्यो पनि । तर मात्र दुई दिन ।
विभिन्न व्यवस्था गरेर खुलाइएको दुबै दिनको बजारमा नेगेटिभ सर्किट लाग्यो । बजार दिनमा २ घण्टा खुलाउने र २ प्रतिशत भन्दा तलमाथि भएमा सो दिनको लागि कारोबार बन्द गरिने बोर्डको नयाँ व्यवस्था रहेको थियो । उक्त व्यवस्था अनुसार कारोबारको अवधि नसकिँदै दुबै दिनको बजार २ प्रतिशतभन्दा बढी प्रतिशतले ओरालो लाग्यो ।
पहिलो दिन अर्थात वैशाख ३० गतेको बजार २.०२ प्रतिशत (अर्थात २५ अंक) ले र दोश्रो दिनको बजार २ प्रतिशत (अर्थात २४.५८ अंक)ले घट्यो । दुई दिनमा ४९.५८ अंकले बजार घट्यो । सो अवधी (दुई दिन) मा कूल १० करोड ७९ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो । पहिलो दिन ८७ कम्पनी र दोश्रो दिन ७४ कम्पनीको गरी एक लाख १६ हजार ८ सय ३८ कित्ता सेयर किनबेच भयो । जसमध्येअधिकांश कारोबार अनलाइन प्रणालीबाट नै भएका थिए ।
केही क्षेत्रको लागि लकडाउन असरको रुपमा मात्र नभई अवसरको रुपमा पनि प्रस्तुत हुँदै थियो । सेयर बजारको लागि राम्रो अवसर थियो । अनलाइनमा आवद्ध नभएकाहरुलाई उक्त प्रणालीमा आवद्ध हुने मौका मिल्यो । यससँगै, अनलाइन कारोबारको लागि युजरनेम र पासर्वड लिनको संख्या वृद्धि भएको नेप्सेले आधिकारिक जानकारी दियो । जसका अनुसार बैशाख मसान्तसम्ममा २७ हजार एक सय एक लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका थिए ।
तर, बजारले यो अवसरलाई राम्रोसँग समात्न सकेन । मतलब जति लिनसक्थ्यो त्यति लिन पाएन । कारण बजार बन्द हुनु ।
बैशाख महिना बित्दै गर्दा कारोनाको संक्रमण पनि बढ्दै गयो । काठमाडौंमा पनि कोरोना संक्रमित भेटियो । यससँगै, सरकारले लकडाउनलाई थप कडाई गर्ने निर्णय गर्यो ।
धितापत्र बोर्डले पनि कोरोनाको संक्रमित बढ्दै गएको र लकडाउन पनि थप कडा भएकोले बजार बन्द गराउन नेप्सेलाई निर्देशन दियो । त्यसपछि बिहीबार अर्थात जेठ १ गतेबाट बजार पुनः बन्द भयो ।
दुई दिन खुलेको बजारमा नियमित सर्किट ब्रेक लागेसँगै केही लगानीकर्ताहरुले बजार बन्द गराउनु पर्छ भनेर चर्को विरोध गरेको थिए । त्यसैले पनि बजार बन्द गराइएको करिब स्पष्ट थियो ।
संक्रमितको संख्या बढ्दै गयो । सरकारले पनि लकडाउन अवधि जेठ ३२ गतेसम्म लम्बायो । बोर्डले पनि लकडाउन अवधिभर बजार बन्द गर्ने नै निर्णय लियो । अन्ततः बजार पनि जेठ ३२ गतेसम्म बन्द भयो ।
लकडाउनको अवधि सकिने समय आउँदै गर्दा सरकारले आर्थिक गतिविधि चलायमान गर्न सरकारी तथा निजी कार्यालयहरु खुलाउने निर्णय गर्यो । रोगले भन्दा भोकले मरिने चिन्ता बढ्दै गएपछि सरकारले असार १ गतेदेखि अधिकांश कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गराउने निर्णय गर्यो । सोही निर्णय बमोजिम बैंक, बीमा तथा वित्तीय संस्थाहरुलेबिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खुलाउने व्यवस्था मिलाए । र, खुलाए पनि ।
यता सेयर बजार पनि खुल्छ भन्ने प्रायः सबै लगानीकर्तामा परिसकेको थियो । लकडाउनको शुरु शुरुमा बजार बन्द गर्नुपर्छ भन्ने तर्क दिनेहरु पनि अब त लकडाउन बढेपनि बजार खुलाउनु पर्छ भन्नेमा पुगेका थिए । त्यहि माथि लकडाउन खुकुलो भए पछि त बजार खुल्छ भन्ने सोच्नु कुनै आश्चर्यको कुरा थिएन ।
तर, आश्चर्य के भयो भने सूचीकृत कम्पनीहरुको सेयर कारोबार हुने सेयर बजार भने बन्द नै हुने भयो । नेप्सेले जेठ ३२ गते साँझ एक सूचना मार्फत सेयर बजार थप चार दिन अर्थात असार ४ गतेसम्म बन्द गराउने जानकारी गरायो । यससँगै, असारको पहिलो साताभर धितोपत्र बजार पूर्णरुपमा नखुल्ने भयो ।
बैंक तथा वित्तीय संस्था जस्तै, लकडाउनमा पनि खुलाउनु पर्ने बजार लकडाउन खुकुलो हुँदा पनि नखुलाउनु कत्तिको जायज हो ? के भन्छन् त बजारका सरोकारवालाहरु ?
अन्य क्षेत्रभन्दा सेयर बजार बढी सम्बेदनशील रहेछ त्यहि भएर नखुलाउने भएको होला भनेर एक लगानीकर्ताले व्यङ्ग गरे ।
‘सबै सरकारी कार्यालयहरु खुले । नियमन निकायहरु खुले । वित्तीय व्यवस्था सञ्चालन गराउने व्यवस्था पनि सरकारले गर्यो । तर नेपालको सेयर बजार असाध्यै संक्रमित रहेछ । बढी मान्छे जम्मा हुने ठाउँ रहेछ । त्यसैले कारोनाले सबैभन्दा बढी संक्रमित क्षेत्र भनेको सेयर बजार रहेछ भन्ने बुझ्नु पर्यो । र, हामीले त्यसैगरी बुझेका छौं,’ नाम नखुलाउने शर्तमा विकासन्युजसँग भने ।
‘पहिलो कुरा त बन्द गर्नै नहुने बजार बन्द गराइएको थियो । तर, अब लकडाउन खुलिसकेपछि पनि बजार बन्द गराउनुले लकडाउन त एउटा बहाना मात्रै रहेछ भन्ने प्रष्ट भएको छ,’ सेयर विश्लेषक एवं लगानीकर्ता प्रकाश तिवारीले भने ।
‘मार्केट बन्द गराउनुको केही कारण नै छैन । मार्केट खोल्ने बेलामा हेरेर खोल्नुपर्छ भन्ने सोच्नेले बन्द गर्ने बेलामा किन केही सोचेनन् ? त्यसबेलामा मार्केट भनेको लिक्विडिटिको लागि हो यत्तिकै बन्द गर्नुहुँदैन, केही दिनमा बन्द हुन सक्छ । त्यसैले पैसाको आवश्यक परेको वा बेच्न इच्छा हुनेले बेच्नु भनेर किन भनेन्,’ उनले भने ।
‘बजार सिद्धान्तमा चलेको छैन । पुँजीबजार कसरी चलाउने र कसरी विकास गर्ने भन्ने उद्देश्य नभएपछि बजार बन्द गरे पनि खोले पनि केही फरक पार्दैन । यस्तै हो भने बजार घट्न नमिल्ने जहिल्यै बढ्ने मात्रै सिष्टम बनाएर छोड्दा पनि हुन्छ । कमसेकम नेपालको नयाँ रेकर्ड त बन्छ,’ तिवारीले थपे ।
सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल बजारको विषयमा के कस्तो छ ? के गर्दा उपयुक्त हो भन्ने विषयमा बोर्डसँग छलफल भएको बताउँछन् । जसमा बजार बन्द रहेको अवधिमा के के सुधारका कामहरु भए भन्ने लगानीकर्ताले प्रश्न राखेको र बोर्डले लगानीकर्तालाई अनलाइनमा जाने तयारीको लागि २/३ दिन समय दिने जस्तो कुरा भएको उनले बताए । तर, यो दिनदेखि खुल्छ भन्ने आफूहरुलाई जानकारी नभएको उनको भनाइ छ ।
‘पूर्ण रुपमा खुला नभई सकेको र उपत्यका बाहिर रहेका स्टाफलाई आउनदेखि अनलाईनमा जाने तयारीका लागि दुई तीन दिन समय दिने भन्ने कुरा भएको छ । त्यसपछि खुलेन भने हामी नै प्रेसर गर्ने छौं,’ अध्यक्ष अर्यालले भने ।
‘बजारमा लगानीकर्ताले कारोबार गर्न पाउने नैसर्गिक अधिकारलाई धेरै दिन बन्धक बनाएर राख्नु हुन्न, बजारलाई छिटो भन्दा छिटो लगानीकर्ताको पहुँच पुग्ने हिसावमा खोल्नु पर्छ,’ उनले थपे ।
बजार के कसरी खोल्ने ? कहिलेदेखि खोल्ने भन्ने विषयमा बोर्डसँग छलफल हुँदा लकडाउन पूर्ण रुपमा खुलिनसकेको अवस्थामा केही समस्या आउन सक्ने भन्ने धारणा आफूले राखेको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले जानकारी दिइन् ।
‘यो सँगसँगै जुन अवस्थामा बजार बन्द भएको थियो त्यहि स्थितिमा बजार खुलाउने अवस्था छैन । देश नै संक्रमण कालमा छ । आर्थिक स्थिति डामाडोल छ । यो अवस्थामा लगानीकर्ता प्रवेश गर्दा उनीहरुलाई यस्तो प्याकेज होस् कि उनीहरुलाई सुरक्षित छौं भन्ने होस् । त्यसैले त्यो तरिकाबाट बजार खुलाउनु पर्छ भन्ने हाम्रो माग रहेको थियो,’ उनले भनिन् ।
‘यतिका समय त बजार बन्द भइसक्यो । फेरि यथास्थितिमा नै बजार खोल्ने हो भने त बजार किन बन्द गर्नुपर्थो र । त्यसैले अब खुलिसकेपछि चलिनै रहनु पर्छ । पुनः बन्द गर्नुपर्ने अवस्था नआवोस् । यतिका दिनमा केहि नभएको कामहरु अब २/४ दिन मै हुन्छ भन्ने विश्वास त छैन । तर पनि पुँजीगत लाभकर अन्तिम हो कि होइन भन्ने विषयलाई फलो गरेर स्पष्ट लगानीकर्तालाई बनाउन सकिन्छ । कम्तिमा बजार खुल्दै गर्दा यो यो काम गर्यौ, यो यो काम हुँदै छ । ढुक्कले बजारमा प्रवेश गर्नुहोला भनिदिए अहिलेको समयमा लगानीकर्ताको मनोबल उच्च हुने थियो । उनीहरु बजारबाट आत्तिने अवस्था आउने थिएन ।’- भन्ने धारणा रहेको उनले जनाइन् ।
‘छलफलमा यो यो काम हुन्छ, त्यसपछि खोल्छौ त भन्नु भएको थिएन । तपाईंहरुको सुझाव लिउँ अनि छलफल गर्छौ भन्नु भएको थियो । साँझ अब असार ४ गतेसम्म बन्द गर्ने समाचार आयो । सायद, यो बीचमा केहि कामहरु हुँदै छन् कि,’ उनले भनिन् ।
अनलाइन सिष्टमको अवस्था के रहेछ भनेर वाईकोसँग बुझ्दा पहिले भन्दा धेरै सुधार आईसकेको रहेछ । तर अनलाइन सिष्टम पूर्णरुपमा हुनको लागि बैंक इन्टिग्रेसन भइसकेको छैन । यससँगै हामीले माबोइलमा पनि चल्ने सिष्टम थप्नु र रियल टाइम सेटलमेन्ट हुनु पर्यो भन्ने जस्ता सुझाव दिएको उनले बताइन् ।
के भन्छ त नेप्से ?
धितोपत्र बोर्डबाट बन्द गराउन निर्देशन प्राप्त भएकाले बन्द गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले बताए ।
त्यसमा पनि केही कारण होला खुलाई दिनुस् न भन्ने विकासन्युजको प्रश्नमा उनले भने- ‘त्यसमा कारण त केही छैन । एक हप्ता तयारीको लागि हो, लगानीकर्ता कनेक्ट आईपीएसमा जानुपर्यो । ब्रोकरका कर्मचारीहरु पनि बाहिर हुनुहुन्छ । उहाँहरुलाई पनि आउने समय दिनु पर्यो । त्यसैले सबैलाई तयारी अवस्थामा रहनको लागि तथा लगानीकर्ताको सुविधाको लागि ध्यानमा राखेर ४ दिनको लागि बजार बन्द गरिएको हो । सम्भवतः आइतबारदेखि बजार खुल्छ ।’
यसाे भन्छ धिताेपत्र बाेर्ड
धितोपत्र बोर्डका भीष्मराज ढुंगानाले बजार खुलाउनको लागि गर्नुपर्ने केही नीतिगत र प्राविधिक तयारी नपुगेकोले यो साता बजार बन्द भएको बताए । लगानीकर्तालाई सहज हुने केही काम गरी सकेर अर्काे सातादेखि बजार खुल्ने उनको भनाइ छ ।
‘अनलानइन कारोबारका केही काम बाँकी छन्, ती काम यो साताभित्रमा सकिन्छ, यस्तै नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयसँग सम्बन्धित केही विषय पनि बाँकी छन्, लगानीकर्ताले उठाएका ती विषय पनि सम्बोधन गरेर बजार खोल्न लाग्दा केही ढिलाइ भएको हो,’ अध्यक्ष ढुंगानाले भने ।