
जनकपुर । जनकपुरमा आयोजना गरिएको वाउ फेस्टिभलको मेडिकल पार्टनरका रुपमा नेपाल मेडिसिटी अस्पतालको मेडिकल टोलीले मिथिलाका महिलाहरुको पाठेघरको जाँच गरेका छन् ।
मंसिर २० र २१ मा आयोजना गरिएको वाउ अर्थात विश्वका महिलाहरु नाम दिइएको फेस्टिभलमा स्वास्थ्य संगै विभिन्न विधामा अन्तरक्रिया, विचार गोष्ठि, सडक नाटक समेत प्रस्तुत गरिएको थियो । नेपाल मेडिसिटीको मोबाइल क्लिनिक सहितको चिकित्सकिय टोलीले महिलाहरुलाई स्तन क्यान्सर, पाठेघर तथाआंग खस्ने समस्या, र पाठेघरको मुखको क्यान्सर बारे मैथिली भाषामा जनचेतना मूलक समाग्री प्रस्तुत गरेका छन् ।
करिब १०० महिलाहरुको पाठेघरको मुखजाँच गरी क्यान्सरको लक्षण रहेको या नरहेको भन्ने बारे परिक्षण गरिएकोमा केहिमा क्यान्सरको सम्भावना देखिएको मेडिकल टिमको प्रतिक्रिया रहेको छ ।
नजिकको अस्पतालमा थप जाँचका लागि परामर्श गरिएको नेपाल मेडिसिटी अस्पतालको स्त्री तथा प्रसुति रोग विभागकि डा. यास्मिन पर्वीनले बताएका छन् । उनकाअनुसार आफ्नो स्वास्थ्यकाबारेमा महिलाहरु पहिलेभन्दा धेरै सजग रहेको र जाँचको लागी राम्रो संख्यामा उपस्थित भएका छन् ।
नेपाल मेडिसिटी अस्पतालले देशका विभिन्न स्थानमा स्वास्थ्य सम्बन्धि जनचेतना अभिवृद्धि गर्दै निःशुल्क परामर्श शिविरहरुको आयोजना गर्दै आएको छ । विभिन्न स्थानिय निकाय तथा अन्य संस्था एवं स्थानियहरुसँगको सहकार्यमा यस किसिमकाे शिविर आयोजना गर्दै जाने इच्छा राखेको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताएका छन् ।