काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले लाभकर सम्बन्धी नयाँ व्यवस्था फिर्ता नभएसम्म सेयर कारोबारमा सहभागी नहुने घोषणा गरेका छन् ।
उनीहरुले संयुक्तरुपमा विज्ञप्ति प्रकाशित गर्दै सेयर कारोबारमा सहभागी नहुन सम्पूर्ण लगानीकर्ताहरुलार्ई आग्रह गरेका हुन् ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेल, सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेख र नेपाल पूँजी बजार लगानीकर्ता संघकी उपाध्यक्ष राधा पोखरेलले संयुक्त विज्ञप्ति निकालेर लाभकर सम्बन्धी व्यवस्था फिर्ता नभएसम्म सेयर कारोबारमा सहभागी नहुने घोषणा गरेका हुन् । उनीहरुले आजै नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउँदलाई भेट गरेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीलाई भेट्दै छन् । उनीहरुले आजै अर्थमन्त्री डा. युवराज खतिवडालाई समेत भेट्दै छन् ।
