सेयर बजारबाट आर्जित नाफामा आयकर नलाग्ने, स्वेच्छाले आम्दानी विवरण बुझाउन सकिने

<p>काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक भएपछि सेयर बजारमा निरन्तर गिरावट आएको छ । दुई दिनमा नेप्से करिव ३० अंकले घटेका छ भने कारोबार रकममा पनि निराशाजनक गिरावट छ । लगानीकर्तालाई प्रत्यक्ष असर पर्ने गरी सरकारले पुँजीगत लाभकर ५ प्रतिशतबाट ७.५ प्रतिशत बनाएको छ । अंकमा हेर्दा लाभकर वृद्धि २.५ अंकले बढेको हो [&hellip;]</p>

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक भएपछि सेयर बजारमा निरन्तर गिरावट आएको छ । दुई दिनमा नेप्से करिव ३० अंकले घटेका छ भने कारोबार रकममा पनि निराशाजनक गिरावट छ ।

चन्द्रसिंह साउद

लगानीकर्तालाई प्रत्यक्ष असर पर्ने गरी सरकारले पुँजीगत लाभकर ५ प्रतिशतबाट ७.५ प्रतिशत बनाएको छ । अंकमा हेर्दा लाभकर वृद्धि २.५ अंकले बढेको हो तर प्रतिशतका आधारमा पुँजीगत लाभकरको दरमा भएको वृद्धि ५० प्रतिशत हो ।

पुरानो करको दर अनुसार एक लाख नाफा हुँदा ५ हजार रुपैयाँ पुँजीगत लाभकर सरकारलाई बुझाउनु पर्ने थियो । नयाँ करको दर लागू भएपछि एक लाख नाफा हुँदा ७ हजार पाँच सय रुपैयाँ कर बुझाउनु पर्छ, अर्थात ५० प्रतिशत बढी ।

बजेटपछि सेयर बजारमा गिरावट आउनुमा करको दरमा भएको वृद्धिलाई एउटा आधार मान्न सकिने नेपाल स्टक एक्स्चेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद बताउँछन् । तर बजेटसँगै वृद्धि गरिएको नयाँ करको दर साउनदेखि मात्र लाग्ने उनले बताए ।

दोहोरो करको त्रास

शिशिर ढुङ्गाना

सेयर कारोबारमा दोहोरो कर लाग्छ कि भन्ने चिन्ता लगानीकर्तामा देखिएको एक जना सेयर ब्रोकरले बताए । सेयर बेच्दा हुने नाफामा लाग्ने पुँजीगत कर ७.५ प्रतिशत तिरेपछि पनि नाफामा आयकर लाग्छ कि भन्ने चिन्ता र दुविधा लगानीकर्तामा देखिएको उनले बताए ।

कुनै पनि व्यक्तिले रोजगारी, लगानी वा व्यवसायबाट आर्जन गरेको आम्दानीमा सीमा अनुसार १ प्रतिशत, १० प्रतिशत, २० प्रतिशत, ३० प्रतिशत र वार्षिक २० लाखभन्दा बढी आम्दानी गर्नेलाई थप ३० प्रतिशत सहचार्जसहितको आयकर लाग्ने नयाँ व्यवस्था गरिएको छ । यस्तो कर सेयरबाट आर्जन गरेको आम्दानीमा पनि लाग्ने हो कि भन्ने चिन्ता र दुविधा लगानीकर्तामा देखिएको छ ।

राजश्व सचिवको भनाई

अर्थमन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुङ्गानाका अनुसार दोस्रो बजारमा सेयर कारोबार गर्दा भएको लाभमा व्यक्तिले ७.५ प्रतिशत पुँजीगत लाभकर तिरेपछि अन्य कुनै पनि प्रकारको कर तिर्नु पर्दैन । उनका अनुसार कर नीतिले सबैलाई प्यान नम्बर लिन र सबै प्रकारको आम्दानी विवरण बुझाउन प्रेरित गरेको छ तर अनिवार्य गरिएको छैन । ‘सेयर कारोबारमा हुने पुँजीगत लाभकर स्रोतबाट नै कट्टि गर्ने व्यवस्था भएकोले यस्तो आम्दानी विवरण नबुझाउदा पनि हुन्छ, बुझाए पनि त्यसमा थप कर लाग्दैन’ उनले भने ।

अम्बिका पाैडेल

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले पुँजीगत लाभकर तिरेपछिको नाफामा थप कर विगतमा पनि नलाग्ने गरेको र भविष्यमा पनि यस्तो लाग्ने आशंका गर्नु नपर्ने बताए । बजेटपछि बजारमा आएको सामान्य गिरावटलाई दोहोराे करको त्राससँग जोड्न नमिल्ने उनको भनाई छ ।

किन घट्दै छ बजार ?

वित्तीय बजारमा पैसाको कमी देखिएको बेलामा पूर्वाधार विकास बैंक खोल्न अर्बौ पैसा एक ठाउँमा केन्द्रित भएको, एक वर्षमा १२ वटा नयाँ बीमा कम्पनी खुलेकाले त्यता पनि धेरै पैसा गएको, नयाँ साधारण सेयर, एफपीओ, हकप्रद सेयरमा पनि ठूलो पूँजी लगानी भएकोले दोस्रो बजारमा सेयरको कारोबार र मूल्य दुबै कम भएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद बताउँछन् ।

दुई वर्षअघि १८ सय पुगेको नेप्सेसँग अहिलेको १३ सय विन्दुलाई तुलना गरेर बजार घटेको व्याख्या गर्न नमिल्ने उनको तर्क छ । दुई वर्षको अवधिमा धेरै कम्पनीले बोनस सेयर वितरण गरेका छन्, हकप्रद सेयर निष्काशन गरेका छन् । बोनस सेयर र हकप्रद सेयर निष्काशनपछि मूल्य समायोजन हुनाले पनि मूल्य घटेको देखिन्छ तर लगानीकर्ता नोक्सानमा नगएको उनको विश्लेषण छ । ‘सेयर बजारमा निरन्तर मूल्य घटबढ हुनु यसको सुन्दरता हो । आपूर्ति बढेको र लगानीकर्तालाई नयाँ लगानीको अवसरहरु सिर्जना भएको बेलामा मूल्यमा हुने साधारण गिरावटलाई सामान्य रुपमा लिनु पर्छ’ साउदले भने ।

सरकारले लिएको नीति, धितोपत्र बोर्ड लगायत नियामक निकायले लिएको नीतिका कारणले बजारमा कतै पनि नकारात्मक असर नपरेको उनले भनाई छ ।

Share News