कुलमान घिसिङले मस्र्याङदी करिडोर पुगेर भने : एक युनिट विद्युत पनि खेर जान दिंदैनौ

<p>काठमाडौ । नेपाल विद्युत प्राधिकरणले मस्र्याङदी नदी करिडोरमा निजी क्षेत्रबाट निर्माणाधीन जलविद्युत आयोजनाले उत्पादन गर्ने विद्युत पनि खेर जान नदिने प्रतिबद्धता जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङको दोर्दी तथा न्यादी खोलामा निर्माणाधीन आयोजना सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने देखिएको र त्यस अवधिमा प्राधिकरणले सवस्टेसन तथा प्रसारणलाइन बनाइसक्ने बताए । उनले प्रसारणलाइन [&hellip;]</p>

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले मस्र्याङदी नदी करिडोरमा निजी क्षेत्रबाट निर्माणाधीन जलविद्युत आयोजनाले उत्पादन गर्ने विद्युत पनि खेर जान नदिने प्रतिबद्धता जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङको दोर्दी तथा न्यादी खोलामा निर्माणाधीन आयोजना सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने देखिएको र त्यस अवधिमा प्राधिकरणले सवस्टेसन तथा प्रसारणलाइन बनाइसक्ने बताए ।

उनले प्रसारणलाइन तथा सवस्टेसनको काम द्रुत गतिमा अघि बढाउन प्रसारण लाइनका आयोजना प्रमुखलाई निर्देशन दिएका छन् । ‘दोर्दी करिडोरमा निर्माणाधीन आयोजना सम्पन्न हुने तर प्रसारणलाइन नबनाइदिंदा विद्युत खेर जाने अवस्था रहेको गुनासो थियो, तर ती आयोजनाको निर्माण प्रगति हेर्दा त्यस्तो अवस्था नरहेको देखियो’,उनले भने,‘ती आयोजनाभन्दा पहिले प्रसारण लाइन बनाउँछौ, प्रसारणलाइन अभावमा विद्युत जोड्न नसकी खेर फाल्नु पर्ने अवस्था आउन दिंदैनौं ।’

प्राधिकरणले प्रसारणलाइन समयमा नबनाइदिंदा विद्युत खेर जाने अवस्था आउन लागेको सार्वजनिक भएपछि घिसिङ नेतृत्वको टोली निर्माणाधीन प्रसारण र जलविद्युत आयोजनाको अबस्था बुझ्न स्थलगत निरीक्षणमा गएको थियो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले समस्या समाधान गर्न निर्देशन दिएपछि कार्यकारी घिसिङ आयोजनाको अवस्था बुझ्न शनिबार र आइतबार स्थलगत निरीक्षणमा गएका हुन् ।

टोलीले लमजुङको उदिपुर, कीर्तिपुर तथा टारीकुना निर्माण हुने र तनहुँको मार्कीचोकमा निर्माणाधीन सव स्टेसनको निरीक्षण गरेको थियो । यसैगरी, हिमालय पावर पार्टनरले निर्माण गरिरहेको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ए, पिपल्स हाइड्रोपावरको ४९ मेगावाटको सुपर दोर्दी ख र वुटवल पावर कम्पनीको ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निरीक्षण गरेको थियो ।

दोर्दी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत जोड्नका लागि ११ किलोमिटर कीर्तिपुर–उदिपुर १३२ केभी डबल सर्किट प्रसारणलाइन बनाउन ठेक्का सम्झौता भइसकेको छ । निर्माण १८ महिनाभित्र भित्र सक्ने लक्ष्य राखिएको छ । अहिले टावरको डिजाइन भइरहेको आयोजनाले जनाएको छ ।

कीर्तिपुरमा सवस्टेसन बनाउने ४८ रोपनी जग्गामा २५ मेगावाटको माथिल्लो दोर्दी एले विद्युत गृह बनाउने ठाउँ खन्दा निक्लिएको ढुंगा माटो फालिदिएकाले प्राधिकरणले काम सुरु गर्न सकिरहेको छैन । यही कारण ठेकेदारलाई साइट दिन नसकिएको आयोजनाले बताएको छ ।

‘सवस्टेसन बन्ने जग्गामा ढुंगा माटो फालेर हामीलाई काम गर्न नदिने अनि उल्टै प्राधिकरणले प्रसारण लाइन बनाइदिएन, बिजुली खेर जाने भो भन्दै हल्ला गर्ने ?’घिसिङले आयोजनालाई निर्देशन दिंदै भने,‘तत्काल त्यसलाई हटाउनुहोस् नत्र तपार्इंहरुका कारण कति दिन काम ढिला हुन्छ गणना गरी जरिवाना तिराउँछौ ।’

आयोजनाको प्रवद्र्धक कम्पनीका प्रवन्ध सञ्चालक डा.आत्माराम घिमिरे र सञ्चालक रामबहादुर पाण्डेले दुई महिनाभित्र ढुंगा माटो फाल्ने प्रतिद्धता जनाएका छन् । आयोजनाको समग्र भौतिक प्रगति ७० प्रतिशत रहेको जानकारी दिंदै घिमिरेले डिसेम्बर २०१८भित्र निर्माण सक्ने दावी गरे ।
प्राधिकरणसँग भएको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) अनुसार आयोजनाको व्यावासायिकरुपमा विद्युत उत्पादन गर्नु पर्ने मिति (आरसिओडी) भने अगस्ट २०१९ छ ।

हिमालय पावर पार्टनरका कार्यकारी निर्देशक गुरु ढकालले आयोजनाको समग्र भौतिक प्रगति ६५ प्रतिशत रहेको जानकारी दिए । पीपीएअनुसार, आयोजनाको आरसिओडी पनि अगस्ट २०१९ नै रहेको छ ।
प्राधिकरणका प्रवक्ता एवं विद्युत ब्यापार विभाग प्रमुख प्रबल अधिकारीले स्थलगत निरीक्षणपछि दुवै आयोजनाको काम सक्न कम्तीमा पनि दुई वर्ष लाग्ने देखिएको बताए ।

दोर्दी करिडोरमा निर्माण भइरहेका आयोजनाको विद्युत प्रवाह गर्न उदिपुरमा सव स्टेसन बनाउनु पर्छ उदिपुर–मार्किचोक प्रसारण लाइन बन्नु पर्छ । सव स्टेसन निर्माणका लागि तीन महिनाभित्रमा ठेकेदार छनोट भइसक्ने आयोजना प्रमुख चिन्तन राणाले बताए ।

‘उदिपुर–मार्किचोक–भरतपुर प्रसारण लाइन निर्माणका लागि जनबरी २०१८बाट टेक्का कार्यान्वयनमा आइसकेको छ’, राणाले भने,‘१८ महिनाभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।’ खुदीमा सव स्टेसन निर्माणका लागि प्राधिकरणले जग्गा किनिसकेको छ ।

 

Share News