काठमाडौं । शुभम पावर लिमिटेडका लगानीकर्ताले लामो समयसम्म लाभांश नपाउने देखिएको छ । कम्पनीले बैंकको कर्जा तिर्न अवधी १६ वर्ष ८ महिना लाग्ने भएपछि लगानीकर्ताले लाभांश पाउन धेरै वर्ष कुर्नुपर्ने देखिएको हो ।

कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा लगानी फिर्ता हुने अवधि ७.८ र डिस्काउन्टेड पे व्याक पिरियड १६.८ वर्ष रहेको देखाएको छ ।
कम्पनीले ९९० किलोवाटको तल्लोपिलुवा खोला साना जल विद्युत आयोजना १४ करोड ३९ लाख ९० हजार रुपैयाँ खर्च भएको जानकारी दिएको छ । एक मेगावाट भन्दा साना आयोजना भएकोले यस आयोजनाको उत्पादन अनुमतिको बहाल रहने अवधि तोकिएको छैन ।
कम्पनीले आयोजनाबाट २०६८ साल साउन १ गतेबाट व्यापारिक रुपमा बिजुली उत्पादन थालेको हो । कम्पनी अझै ३ करोड ५४ लाख रुपैयाँ नोक्सानमा रहेको छ । शुभमले जेठ २० गतेदेखि आयोजना प्रभावित स्थानीयबासिन्दाका लागि २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको छ ।
आईपीओका लागि न्युनतम ५० देखि अधिकतम १ हजार कित्तासम्म दरखास्त दिन पाइने बिक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेडले जनाएको छ । आईपीओ निष्कासन बन्द छिटोमा असार ३ र ढिलोमा असार २४ गतेसम्म तोकिएको छ ।
कम्पनीले प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । २० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ सर्वसाधारणलाईै निष्कासन गरेपछि कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ पुग्ने छ । संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत लगानी हुने छ । आईपीओबाट ६ करोड र संस्थापकको १४ करोड रुपैयाँ स्वामित्व रहने छ ।