प्राइम बैंकको लोभलाग्दो प्रगति, नाफा २८ प्रतिशत बढेर ७१ करोड ५१ लाख

काठमाडौं । प्राइम कमर्शियल बैंकको खुद नाफा २८ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकले नाफा बढाएर ७१ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकले ५५ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले मंगलबार चालु आवको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, कर्जा लगानी र निक्षेप परिचालन विस्तार भएको जानकारी दिएको छ । बैंकको निष्क्रिय कर्जा १.४३, निक्षेप लागत ८.१६, सीडी रेसियो ७७.५० र आधार ब्याजदर १०.७६ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८० पैसा छ । ६ महिनामा बैंकले कर्जाको ब्याजबाट ३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै ब्याज खर्च २ अर्ब ८० करोड ४७ लाख रुपैयाँ भएको बैंकले जानकारी दिएको छ । बजारमा लगानीयोग्य पुँजीको संकट गहिरिदा पनि निक्षेप परिचालन र कर्जा लगानी विस्तार गर्न बैंक सफल भएको छ । समीक्षा अवधिमा बैंकले निक्षेप २९.१९ प्रतिशत बढाएर ७१ अर्ब ६ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकले ५५अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको थियो । यस्तै कर्जा लगानी पनि ३५.९४ प्रतिशत विस्तार भई ६२ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कर्जा लगानी ४६ अर्ब ५ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर २ अर्ब ११ करोड ६९ लाख रुपैयाँ पुगेको छ । चुक्तापुँजी बढेर ८ अर्ब ३ करोड रुपैयाँ भएको छ ।

चूडामणि शर्माविरुद्ध विशेष अदालतमा अर्को आरोप, गैरकानुनी रुपमा ४ करोड २९ लाखको सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सहसचिव चूडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको दावीसहित विशेष अदालतमा आरोपत्र दायर गरेको छ । अख्तियारले ४ करोड २९ लाख ५४ हजार १२४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दे सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनको ३ करोड ६३ लाख ७२ हजार ९६१ रुपैयाँ बराबरको सम्पत्तिको मात्रै स्रोत खुलेको अख्तियारले जनाएको छ । शर्माले आम्दानीको ठूलो हिस्सा पुस्तक लेखन र निजामती विद्यार्थीको तयारी कक्षा प्रशिक्षणको आम्दानी भनी दाबी गरेका छन । विभागको महानिर्देशक रहँदा पक्राउ परी निलम्बनमा परेका शर्मा्विरुद्ध अख्तियारको दोस्रो आरोपत्र हो । गत साउन १ मा अख्तियारले शर्मासहित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँ मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तीनै जनासँगको एकमुष्ट मागदाबी करिब ३० अर्ब ६ करोड रुपैयाँको गरिएको छ । यसका अतिरिक्त शर्माले सार्वजनिक सेवाको पदमा रहेर गैर कानूनी रुपमा आर्जन गरी, स्रोत पुष्टी हुन नसकेको सम्पत्तिहरू श्रीमती कल्पना उप्रती शर्माको नाममा राखेको तथा लुकाए/ छिपाएको देखिएको दावी अख्तियारको छ ।

राष्ट्र बैंकले निक्षेप लिन बोलायो, बैंक तथा वित्तीय संस्थालाई १ अर्ब ९२ करोड दिदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफनो विभिन्न कोषहरुमा रहेको झण्डै २ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई दिने भएको छ । केन्द्रीय बैंकले १ अर्ब ९१ लाख ९९ हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थामा एक वर्षका लागि मुद्धतिमा लगानी गर्न लागेको हो । केन्द्रीय बैंकले फागन २ गतेदेखि माघ २९ गतेसम्मका लागि बैंक तथा वित्तीय संस्थाको मुद्धति निक्षेपमा राख्ने भएको हो । जसअनुसार वाणिज्य बैंकले १ अर्ब ५३ करोड ५९ लाख, विकास बैंकले २८ करोड ८० लाख र वित्त कम्पनीहरुले ९ करोड ६० लाख रुपैयाँ पाउने भएका छन् । सो रकम लिनका लागि आउदो शुक्रबार आफुले दिने ब्याजदर समेत खुलाई बोलपत्र पेश गर्न राष्ट्र बैंकले भनेको छ । मुद्धति निक्षेप लिन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ बर्ष पुरा गरेको, न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनु पर्ने केन्द्रीय बैंकको शर्त छ । यस्तै कर्जा÷स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको, अघिल्लो आवमा सञ्चालन नाफामा रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई यस बैंकले जरीवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको र सीघ्र सुधारात्मक कारवाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पुरा भएका र सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरीसकेको हुनुपर्ने छ ।

सस्तो कर्जाको खोजीमा हुनुहन्छ ? सम्झनुस् स्ट्याण्डर्ड चाटर्डदेखि राष्ट्रिय वाणिज्य र नविलसम्म

काठमाडौं ।  वाणिज्य बैंक मध्ये सबैभन्दा सस्तो कर्जा स्ट्याण्डर्ड चाटर्ड बैंकको रहेको छ । यसअघि राष्ट्रिय वाणिज्य बैंकको सस्तो ब्याज रहेकोमा चालु आर्थिक वर्षको ६ महिनामा स्ट्याण्डर्डले उसलाई उछिनेको छ । स्ट्याण्डर्डले सोमबार सार्वजनिक गरेको चालु आवको ६ महिनाको वित्तीय विवरणमा आधार ब्याजदर ५.८० प्रतिशत मात्र रहेको जानकारी दिएको छ । चालु आवको पहिलो त्रैमाशमा उसको आधार ब्याजदर ६.४७ प्रतिशत थियो । ३ महिनाकोबीचमा स्ट्याडर्डको आधार ब्याजदर ०.६७ प्रतिशत घटेको छ । स्ट्याण्डर्डलाई ६ प्रतिशत ब्याजमा कर्जा प्रवाह गर्दा फाइदा हुने देखिन्छ । यस्तै राष्ट्रिय वाणिज्यको आधार ब्याजदर ५.९८ प्रतिशत छ । चालु आवको पहिलो त्रैमाशमा उसको आधार दर पनि यही नै थियो । यस्तै सस्तो ब्याजदर दिनेमा नविल बैंक रहेको छ । नविलको आधार दर ६.९२ प्रतिशत छ । त्यसपछि नेपाल बैंक रहेको छ । नेपाल बैंकको आधार दर ६.९३ प्रतिशत छ । स्ट्याण्डर्ड, राष्ट्रिय वाणिज्य नविल र नेपाल बैंकको कर्जा लिदा ब्याजदर सस्तो हुने देखिएको छ । यस्तै एभरेष्ट बैंकको ७.८४ र नेपाल इन्भेष्टमेन्ट बैंकको ९ प्रतिशत रहेको छ । सबैभन्दा महंगो कर्जा कृषि विकास बैंकको देखिएको छ । कृषि विकासको आधार ब्याजदर ११.५३ प्रतिशत रहेको छ । कृषि विकासबाट कर्जा लिदा ब्याजदर १२ प्रतिशत भन्दा बढी पर्छ । स्ट्याण्डर्डको भन्दा कृषि विकासबाट ऋण लिदा ब्याजदर दोब्बर महंगो हुन्छ । आधार दर ११ प्रतिशत बढी हुनेमा सिभिल बैंकको ११.५०, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको ११.४५, सिटिजन्स बैंकको ११, कुमारी बैंकको ११.१७, जनता बैंकको ११.३५, नेपाल बंगलादेश बैंकको ११.३९ र सेन्चुरी बैंकको ११.४३ प्रतिशत रहेको छ । अधिकाँश बैंक तथा वित्तीय संस्थाले माघ १ गतेदेखि नयाँ ब्याजदर लागु गरेका छन् । बजारमा लगानीयोग्य पुँजीको अभाव हुन थालेपछि अधिकाँश वाणिज्य बैंकले महंगो दरमा निक्षेप उठाउदा लागत बढ्न गई यसको असर आधार ब्याजदरमा परेको हो । केही बैंकले मुद्धति निक्षेपको ब्याजदर बढाएर १३ प्रतिशत पु¥याएपछि यसको असर आधार दरमा परेको छ । नेपाल बैंकर्स एसोसियसनको पहलमा बैंकले मुद्धतिमा दिने ब्याजदर ११ प्रतिशत भन्दा नबढाउने आन्तरिक भद्र सहमति गरेका छन् । पछिल्लो समयमा बैंकले मुद्धति निक्षेपको ब्याजदर ११ प्रतिशतसम्म दिने गरी नयाँ मुद्धति योजना पनि सार्वजनिक गरेका छन् । अन्य वाणिज्य बैंकले मुद्दतीको ब्याजदर १३ प्रतिशत पुर्याउदा स्ट्याण्डर्ड चाटर्ड र नेपाल बैंकको १० प्रतिशत छ । अधिक तरलता भएपछि राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर भने बढाएन । मुद्दति निक्षेपको ब्याजदर बढाएपछि अन्य बैंकको कर्जाको ब्याजदर पनि महंगो देखिएको हो ।  

केपी ओलीले भने-लगानीकर्ता नआत्तिनुस्, सेयरमा भ्याट लाग्दैन(भिडियोसहित)

काठमाडौं । एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीले सेयर बजारका लगानीकर्तालाई नआत्तिन अनुरोध गरेका छन् । नेपाल चेम्बर अफ कमर्शको नव निर्वाचित नेतृत्वलाई स्वागत गर्न पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बामपन्थी सरकारसँग सेयर बजारका लगानी कर्ता आत्तिनु नपर्ने बताएका हुन् ।-भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ओलीले बापमन्थी सरकार गठन हुनै लाग्दा सेयरमा भ्याट लगाउने षडयन्त्र भैरहेको आरोप पनि लगाए । ‘बामपन्थी सरकार गठन हुनै लाग्दा सेयरमा भ्याट लगाउने षडयन्त्र भैरहेको छ, आजसम्म सेयरमा भ्याट लगाउन आवश्यक किन ठानिएन, हामी गम्भिर भएका छौं’, ओलीले भने । उनले बामपन्थी सरकारलाई देखाएर लोकतन्त्र मासिने, खुल्ला बजार अर्थतन्त्र नासीने तथा लगानीकर्ता निरुत्साहित हुने अफवाह फैलाईएकोमा आपक्ति समेत जनाए । ‘नेपालका बामपन्थीहरुले आफ्नो जीवन नै लोकतन्त्र प्राप्तीका लागि समर्पण गरेका छन्, जसले लोकतन्त्र ल्यायो उसैले लोकतन्त्र मास्छ भन्ने हल्ला चलाईएको छ, तपाईहरु त्यस्ता अफवाहको पछि नलाग्नुस’, ओलीले भने । उनले बामपन्थी सरकार गठन भएपछि सेयर बजारमा उछाल आउने दावी पनि गरे । ‘तपाईहरु ढुक्क हुनुस, नयाँ सरकार आएपछि सेयर बजारमा उछाल आउँछ, नयाँ सरकारले लिने नितीका कारण सेयर बजार उकालो चढ्छ’, ओलीले भने । उनले सेयरमा भ्याट लाग्न नदिने पनि स्पष्ट पारेका छन् । ओलीले काम चलाउ वर्तमान सरकारले राज्य ढुकुटीको दोहन गरिरहेको आरोप पनि लगाए । काँग्रेसले आफुले राज्यको ढुकुटी भरेकाले मास्ने अधिकार पाउनुपर्ने तर्कको गरेको आरोप लगाउँदै नयाँ सरकारले त्यस्ता गलत निर्णय सबै खारेज गर्ने पनि स्पष्ट पारे ।

अधिकांश बैंकले राष्ट्र बैंकको पैसा लिएनन्, २० अर्ब दिदा ७ बैंकले लिए ८ अर्ब ४० करोड

काठमाडौं । विभिन्न ७ बैंकले नेपाल राष्ट्र बैंकबाट ८ अर्ब ४० करोड रुपैयाँ उठाएका छन् । बजारमा तरलता कम हुनगइ अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले आइतबार रिपो वित्तीय उपकरण मार्फत बजारमा २० अर्ब रुपैयाँ पठाएर बजारमा हस्तक्षेप गरेको थियो । आइतबारसम्म बैंकिङ प्रणालीमा २२ अर्ब ४२ करोड रुपैयाँ अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । आइतबार राष्ट्र बैंकबाट सिटिजन्स बैंक, मेगा बैंक, कैलाश विकास बैंक, लक्ष्मी बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक र सिद्धार्थ बैंकले ५ प्रतिशत ब्याजमा १४ दिनका लागि पैसा उठाएका छन् । रिपोको पैसा निक्षेपमा गणना गरेर थप लगानी गर्न नपाउने भएपछि अधिकाँश बैंकले लिएन । तरलताको अवस्था कसिलो भएका कही बैंकले मात्र रिपो खरिद गरेका हुन् । एक साताअघि अन्तरबैंक ब्याजदर ३ प्रतिशत भएकोमा एक साताका बीचमा बढेर ५ प्रतिशत नाघेको छ । अल्पकालिन तरलताको समस्या समधान गर्न केन्द्रीय बैंकले दुई साताका लागि बजारमा पैसा पठाएको हो । रिपो रकम माघ २८ गते फिर्ता हुनेछ । अन्तरबैंक ब्याजदर स्थिर भएका कारण डेढ महिनादेखि राष्ट्र बैंकले रिपो जारी गर्न पाएको थिएन् । चालु आर्थिक वर्ष सुरु भएयता राष्ट्र बैंकले ७ पटक रिपो गरी बजारमा ५२ अर्ब ४५ करोड रुपैयाँ बजारमा पठाएको छ । यता बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी) रेसियो ७९ प्रतिशत बढी रहेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८०ः२० कायम गरेको छ । वित्तीय विवरणमा सीसीडी रेसियो कसिलो अवस्थामा पुगेपछि अधिकांश बैंकले थप कर्जा लगानी गर्न छाडेका छन् । चालु आवको पुससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने  बैंकहरुको सीसीडी रेसियो ८० नजिक पुगेकाले थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् ।  

हिमालयन बैंकको नाफा एक अर्ब १० करोड

काठमाडौं । हिमालयन बैंकले एक अर्ब १० करोड नाफा कमाएको छ । बैंकले २०७४ पुस मसान्तसम्ममा ८ करोडले नाफा बढाएको हो । २०७४ पुस मसान्त अवधीमा एक अर्ब २ करोड नाफा गरेको थियो । हिमालयन बैंकले ९२ अर्ब निक्षेप संकलन गरेर ८२ अर्ब कर्जा लगानी गरेको छ । बैंकले ४ अर्ब ५० करोड ब्याज आम्दानी गर्दा २ अर्ब ६३ करोड ब्याज खर्च गरेको छ । बैंकको सीडी रेसियो भने ७९.३० प्रतिशत पुगिसकेको छ । ०.९४ प्रतिशतबाट १.३२ प्रतिशत खराब कर्जा पुगेको बैंकले २८ करोड प्रोभिजन गरेको छ भने २७ करोड रुपैंयाँ राइट ब्याकबाट प्राप्त गरेको देखिन्छ । ८ अर्ब ११ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ६९ करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २७.२६ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १५७.८८ रुपैंयाँ रहेको छ ।

नेपाल बैंकको नाफा २६ करोडले घट्यो

काठमाडौं । नेपाल बैंकको नाफा २६ करोडले घटेको छ । बैंकले २०७४ पुस मसान्तसम्ममा एक अर्ब ६३ करोड मात्रै नाफा कमाउन सफल भएको छ । जबकी २०७३ पुस मसान्तमा बैंकको नाफा १ अर्ब ८९ करोड रहेको थियो । नेपाल बैंकले ९१ अर्ब निक्षेप संकलन गरेर ७८ अर्ब कर्जा लगानी गरेको छ । बैंकको ब्याज आम्दानी ४ अर्ब २४ करोड छ भने ब्याज खर्च एक अर्ब ३० करोड मात्रै रहेको छ । ८ अर्ब ४ करोड चुक्ता पुँजी रहेको नेपाल बैंकको जगेडा कोषमा ५ अर्ब ४ करोड रुपैंयाँ रहेको छ । ३.२३ प्रतिशत खराब कर्जा रहेको नेपाल बैंकले २३ करोड प्रोभिजन गरेको छ । बैंकको खराब कर्जा गत आवको पुस मसान्तमा जम्मा २.८५ प्रतिशत मात्रै थियो । बैंकले २३ करोड रुपैंयाँ नै राइट ब्याकबाट प्राप्त गरेको देखिन्छ । बैंकको सीडी रेसियो ७५.३० प्रतिशत मात्रै रहेको छ । बैंकको प्रति सेयर आम्दानी ४०.७४ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १७२.७६ रुपैंयाँ रहेको छ ।

कृषि विकास बैंकको नाफा एक अर्ब २ करोड

काठमाडौं । कृषि विकास बैंकको नाफा एक अर्ब २ करोड पुगेको छ । बैंकले चालु आर्थिक बर्षको दोश्रो त्रैमासिक अवधीमा १२ करोडले नाफा बढाएर १ अर्ब २ करोड पुर्याएको हो । बैंकले गत आवको पुस मसान्त अवधीमा ९० करोड नाफा गरेको थियो । कृषि विकास बैंकले ९८ अर्ब निक्षेप संकलन गरेर ९२ करोड कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो ७९.५९ प्रतिशत पुगेको छ । बैंकले ६ अर्ब १५ करोड ब्याज आम्दानी गरेर ३ अर्ब ५० करोड ब्याज खर्च गरेको छ । १३ अर्ब ९३ करोड चुक्ता पुँजी रहेको कृषि विकास बैंकको जगेडा कोषमा ८ अर्ब ९२ करोड रुपैंयाँ रहेको छ । ९६ करोड रुपैंयाँ राइट ब्याकबाट प्राप्त गरेको बैंकले एक अर्ब ११ करोड रुपैंयाँ प्रोभिजन गरेको छ । बैंकको प्रति सेयर आम्दानी २०.३७ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ २०२.९७ रुपैंयाँ रहेको छ ।

सनराइज बैंकको नाफा २ करोडले घट्यो

काठमाडौं । सनराइज बैंकको नाफा २ करोड २२ लाख रुपैंयाँ घटेको छ । बैंकले चालु आवको पुस मसान्तसम्ममा जम्मा ५८ करोड ७५ लाख मात्रै नाफा कमाउन सफल भएको छ । जबकी गत आवको सोही अवधीमा बैंकले ६० करोेड ९७ लाख नाफा आर्जन गरेको थियो । ६३ अर्ब निक्षेप संकलन गरेको बैंकले ५६ अर्ब कर्जा लगानी गर्दा सिडी रेसियो ७८.६४ प्रतिशत पुगेको छ । बैंकले ३ अर्ब ५७ करोड ब्याज आम्दानी गर्दा २ अर्ब २८ करोड ब्याज खर्च गरेको देखिन्छ । ८ अर्ब १५ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १३ करोड रुपैंयाँ मात्रै रहेको छ । खराब बर्जा वापत २३ करोड प्रोभिजन गरेको बैंकले २३ करोड नै राइट ब्याकबाट प्राप्त गरेको देखिन्छ । सनराईज बैंकको खराब कर्जा १.६५ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १४.४१ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १२५.७७ रुपैंयाँ रहेको छ ।

एनआईसी एसिया बैंककाे निक्षेप ४१ अर्ब र कर्जा ३५ अर्बले वृद्धि

काठमाडौं । आक्रामक बजार विस्तार गरिरहेको एनआईसी बैंकले विगत १ वर्षमा ४१ अर्व ४० करोड रूपैयाँ निक्षेप वृद्धि गरेको छ । २०७३ पुस मसान्तमा ७९ अर्ब निक्षेप भएको यस बैंकले २०७४ पुस मसान्तसम्ममा एक खर्ब २० अर्ब निक्षेप संकलन गरेर छ । कर्जा लगानी पनि एक वर्षमा ३५ अर्बले वृद्धि गरी १ खर्ब २ अर्ब रूपैयाँ बनाएको छ । यो वृद्धिलाई बैंकले ‘नेपाली बंैकिङ्ग ईतिहासमा कुनै पनि बैंकले वार्षिक विन्दुका आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च वृद्धि’ भनेको छ । धेरै बैंकहरूले निक्षेप र कर्जा लगानी विस्तार गर्न नसकिरहेको समयमा यस बैंकले उच्च दरको वृद्धि हासिल गरेको छ । बैंकको कर्जा तथा निक्षेप अनुपात ७८.१९ प्रतिशत रहेको छ । जुन नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले तोकेको ८० प्रतिशत सीमा भित्र रहेको छ । बैंकको खुद नाफामा भने गिरावट देखिएको छ । एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा जम्मा ५७ करोड १७ लाख रूपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ७२ करोड १४ लाख रुपैंयाँ कमाएको थियो । गत वर्षको सोही अवधिमा कर्जा नोक्सानी व्यवस्थाबाट ३२ करोड ८३ लाख रुपैयाँ फिर्ता भएकोले खुद नाफामा बढी योगदान गरेको बैंकले जनाएको छ । साधारणतया, कर्जा नोक्सानी व्यवस्थामा हुने घटबढ तथा उक्त व्यवस्थाबाट फिर्ताले बैंकको खुद मुनाफामा उल्लेख्य प्रभाव पार्ने गर्दछ । बैंकको सञ्चालन नाफामा भने २५ प्रतिशतले वृद्धि देखिएको छ । ‘चालु आ.व. २०७४/७५ को दोस्रो त्रैमासिकमा सम्भावित नोक्सानी अघिको सञ्चालन मुनाफामा २५ प्रतिशतको वृद्धि हासिल गरेको छ’ बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ–बैंकले गतवर्षको सोही अवधिको ८९ करोड सञ्चालन नाफा आर्जन गरेकोमा चालु वर्ष ११२ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।’ सञ्चालन मुनाफाले उक्त संस्थाले आफ्नो मुख्य सञ्चालन कारोवार मार्फत आर्जन गरेको नाफा तथा उक्त मुनाफाको स्वस्थ वृद्धिले संस्थाको दीर्घकालीनात्मक सञ्चालनको प्रत्याभूतिप्रति बिम्बित गर्दछ । चालु आ.व. मा बैंकको सञ्चालन नाफामा भएको स्वस्थ वृद्धि तथा कर्जामा उल्लेख्य वृद्धिका कारणले असल कर्जाको कर्जा नोक्सानी व्यवस्थामा ३६ करोडको वृद्धिका वावजुद पनि बैंकले दोस्रो त्रैमासिकमा आर्जन गरेको खुद मुनाफा उत्साहजनक रहेको छ । बंैकको चुस्त कर्जा असुली प्रणाली तथा अभ्यासका कारण गतवर्ष ०.७२ प्रतिशत रहेको खराब कर्जामा उल्लेख्य सुधार आई यस वर्ष ०.२६ प्रतिशत कायम राख्न सफल भएको छ । साथै, बैंककोे पूँजी पर्याप्तता अनुपात १३.५९ प्रतिशत रहेको छ । बैंकले देशभर आफ्नो विस्तारित शाखा सञ्जाल, १५९ शाखातथा १४७ एटीएम मार्फत आफ्ना ग्राहकहरु सेवा तथा सुविधा प्रदान गर्दै आएको छ । साथै, बैंक आफ्नो दीर्घकालीन रणनीति अनुरुप थप शाखा सञ्जाल तथा सेवा केन्द्रहरु विस्तार गरी भौगोलिक उपस्थितिका हिसाबले देशकै अग्रणी बैंक बन्ने लक्ष्य प्राप्तिका लागिनिरन्तर प्रयासरत रहेको बैंक व्यवस्थापनले जनाएको छ । बैंकको प्रति सेयर आम्दानी १४.२४ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १३३.०७ रुपैंयाँ रहेको छ । बैंकको सिडी रेसियो भने ७८.१९ प्रतिशत पुगेको छ ।  

सिभिल बैंकको नाफा ३१ प्रतिशतले वृद्धि, खराब कर्जा ४.५० प्रतिशत

काठमाडौं । सिभिल बैंकको नाफा ३१.२५ प्रतिशतले वृद्धि भएको छ । बैंकले २०७४ पुस मसान्तमा आफ्नो नाफा ५ करोडले बढार २१ करोड पुर्याएको हो । २०७३ पुस मसान्तसम्मा सिभिल बैंकको नाफा जम्मा १६ करोड रुपैंयाँ मात्रै थियो । बैंकले २६ करोड राइट ब्याकबाट आम्दानी गरेको छ भने ३९ करोड प्रोभिजन गरेको छ । सिभिल बैंकको खराब कर्जा ४.५० प्रतिशत रहेको छ । बैंकले ६ महिनामा ३७ अर्ब निक्षेप संकलन गरेर ३३ अर्ब कर्जा लगानी प्रवाह गरेको छ । सिभिलले २ अर्ब २ करोड ब्याज आम्दानी गर्दा एक अर्ब ४२ करोड ब्याज खर्च गरेको देखिन्छ । बैंकको सिडी रेसियो ७६.१२ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी ८.३४ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३३.५६ रुपैंयाँ रहेको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा १ अर्ब १ करोड

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा स्ट्याण्डर्ड चाटर्ड बैंकले नाफा बढाएर १ अर्ब कटाएको छ । गत पुससम्म बैंकले १ अर्ब १ करोड रुपैयाँ खुदनाफा गरेको छ ।   गत आवको सोही अवधिमा बैंकले ७४ करोड रुपैयाँ गरेको थियो । यो वर्षको ६ महिनामा बैंकले २७ करोड रुपैयाँ नाफा बढाएको सोमबार सार्वजनिक गरेको वित्तीय प्रतिवेदनले देखाएको छ । बैंकको निष्क्रिय कर्जा ०.१७, निक्षेप लागत २.४२, सीडी रेसियो ७८.९७, आधार ब्याजदर ५.८०, स्पेड दर ६.९ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३० पैसामा झरेको छ । समीक्षा अवधिमा बैंकले ६६ अर्ब ७ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप ६१ अर्ब ९८ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानीमा पनि विस्तार भएको छ । गत पुससम्म बैंकले ४२ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३५ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको संचित कोष बढेर ४ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

नविल बैंकको नाफा एक अर्ब ८३ करोड, खराब कर्जा बढ्यो

काठमाडौं । नविल बैंकले २०७४ पुस मसान्तसम्ममा एक अर्ब ८३ करोड नाफा कमाएको छ । २०७३ पुस मसान्तसम्ममा बैंकले एक अर्ब ७४ करोड नाफा कमाएको थियो । बैंकले चालु आवको दोश्रो त्रैमासमा गत वर्षकाे साेही अवधिकाे तुलनामा आफ्नो नाफा ९ करोडले बढाएको हो । नविल बैंकले ६ महिनामा एक खर्ब २१ अर्ब निक्षेप संकलन गरेर एक खर्ब कर्जा लगानी गरेको देखिन्छ । ८ अर्ब ४ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ९० करोड रहेको छ । बैंकको ब्याज आम्दानी ५ अर्ब २४ करोड रुपैंयाँ गर्दा २ अर्ब २८ करोड ब्याज खर्च गरेको छ । बैंकको खराब कर्जा भने ०.९० प्रतिशतबाट बढेर १.१३ प्रतिशत पुगेको छ । बैंकको सिडी रेसियो ७६.४९ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी ४५.४९ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १९८ रुपैंयाँ रहेको छ ।

छ महिनामा प्रभु बैंकको नाफा ६३ करोड

काठमाडौं । प्रभु बैंकको नाफा ६३ करोड ४९ लाख रूपैयाँ भएकाे छ । गत आर्थिक बर्षको पुस मसान्तसम्ममा एक अर्ब ११ करोड नाफा कमाएको थियाे । गत आवको पुस मसान्तमा एक अर्ब १३ करोड राइट ब्याक पाएकाले बैंकको नाफा धेरै देखिएको थियो । प्रभु बैंकको खराब कर्जा ४.८८ बाट घटेर ४.१२ प्रतिशत भएको छ । ६ अर्ब ५३ करोड चुक्ता पुँजी रहेको प्रभु बैंकको जगेडा कोषमा ३ अर्ब ११ करोड छ । बैंकले ८५ अर्ब निक्षेप संकलन गरेर ७१ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो ७५.२४ रहेको छ ।

बुटवल पावरको २ अर्ब ४ करोडको एफपीओ आजदेखि निष्कासन, एफपीओ किन्नेले लाभांश पाउदै

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले आजदेखि थप निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ । बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपीओ ल्याएको हो । एफपीओको मूल्य प्रतिकित्ता ५०१ रुपैयाँ तोकिएको छ । साधारण सेयरमा ४०१ रुपैयाँ प्रिमियम मूल्य थप गरेर ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन भएको छ । एफपीओ निष्कासन बन्द छिटोमा माघ १९ गतेसम्म तोकिएको छ । एफपीओ न्युनतम १० र बढीमा २० हजार ४ सय कित्तासम्म आवेदन दिन पाउने बीपीसीले जनाएको छ । एफपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर २ अर्ब २१ करोड ८६ लाख रुपैयाँ पुग्नेछ । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । साधारणसभा बस्ने मिति तय नभएकाले लाभांश घोषणा नगरिएको उनले जानकारी दिए । लाभांश गत वर्षको भन्द नघट्ने उनको भनाई छ । एफपीओबाट संकलन हुने रकम निर्माणधिन ३७.६ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी आयोजनामा लगानी गर्नेछ । गत आर्थिक वर्ष ०७३र७४ मा बीपीसीले ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । चालु आवको पहिलो त्रैमाशमा बीपीसीको नाफा २३५ प्रतिशतले बढेर ७ करोड २२ लाख रुपैयाँ पुगेको छ । धितोपत्र बोर्डले उत्पादनमूलक लगायत अन्य क्षेत्रका संगठित संस्थाले पनि एफपीओ निष्कासन गर्न पाउने नीतिगत व्यवस्था गरेपछि बीपीसीले एफपीओ निष्कासन गरेको हो ।सहायक कम्पनी कावेली इनर्जी लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडमार्फत निर्माण हुन लागेका २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । यी दुई आयोजनामा हालसम्म ९५ करोड ३६ लाख रुपैयाँ लगानी भैसकेको छ । १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ लगानी गर्न बाँकी छ । बीपीसीले कायम रहेको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँबाट बढाएर २ अर्ब २२ करोड पुयाउने तयारी छ । बीपीसीले ४ मेगावटको खुदी, ९ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्रुक आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्नेछ । आउदो ५ वर्षमा थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न बीपीसीले चीनका ३ कम्पनीसंग लगानी सम्झौता गरेको छ । यसका लागि एससीआईजी इन्टरनेसनल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालि नेपालमा स्थापना भइसकेको छ । एससीआईजीमार्फत चीनियाँ कम्पनीले खर्ब रुपैयाँ नेपाल भित्राउने छन् । कम्पनीमा सरकार, युनाइटेड मिसन टु नेपाल, एनआईडीसी डेभलपमेन्ट बैंक र नेपाल विद्युत प्राधिकरणको गरी १३ प्रतिशत, सांग्रिला इनर्जी लिमिटेड र आईकेएन नेपाल एसको ७५ र सर्वसाधारण र कर्मचारीको गरी १२ प्रतिशत स्वामित्व छ । आउदो ३ वर्षमा बीपीसीले नाफा बढाएर ६७ करोड ६१ लाख ९६ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।  

विद्युत प्राधिकरण र नेपाल वाटरबीच माथिल्लो त्रिशुली १ को बिजुली खरिद सम्झौता, ६० अर्ब कोरियन लगानी नेपाल भित्रिदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाको प्रवद्र्धकसंग अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ । प्राधिकरण र प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिबीच आइतबार पीपीएमा हस्ताक्षर भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक नेपाल वाटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वो सेक यीले पीपीएमा हस्ताक्षर गरेका हुन् । ३० वर्षसम्म लागि पीपीए भएको हो । सरकारले आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) ३५ वर्षका लागि दिएको छ । सुख्खायामको ६ महिनामा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षादमा ४ रुपैयाँ ८० पैसामा पीपीए भएको हो । आगामी १० वर्षसम्मका लागि मात्र डलरमा पीपीए भएको छ । प्राधिकरणले कुल पीपीए रकमको ८० प्रतिशत डलर र २० प्रतिशत नेपाली रुपैयाँमा भुक्तानी गर्ने सहमति भएको छ ।यो आयोजना निर्माणका लागि कोरियाबाट झण्डै ६० अर्ब रुपैयाँ लगानी आउने भएको छ । नेपाल वाटरले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म मूल्यवृद्धि पाउने छ । नेपाल वाटरले प्रतिफल १७ प्रतिशतसम्म मात्र पाउने छ । कोरियाली कम्पनीले विदेशबाट डलरमा लगानी ल्याउने भएपछि प्राधिकरणले डलरमा पीपीए गरेको हो । आयोजना बनाउन ५८ करोड डलर झण्डै ६० अर्ब रुपैयाँ नेपाली लाग्ने भएको छ । ९० प्रतिशत कोरिया र १० प्रतिशत जेड कन्सल्ट नेपालीको छ । आयोजना आगामी सन् २०२४ सम्म सम्पन्न गर्ने लक्ष्य प्रवद्र्धकको छ । नेपाल वाटरमा कोरियाको साउथ इष्ट कम्पनी लिमिटेड (कोसेप) को ५२, डेलियम इन्डिष्ट्रियल कम्पनी लिमिटेडको १६ र केर्योङ कन्ट्रक्सन कम्पनी लिमिटेडको १०, विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) को १२ तथा स्थानिय लगानीकर्ता जेड कन्सल्ट प्रालिको १० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार गरिएको छ । आयोजनामा विश्व बैंक अन्र्तगतको आईएफसी र जर्मनीको बैंक डीइजीलगायत अन्य अन्तराष्ट्रिय वित्तीय संस्थाले लगानीका लागि कम्पनीलाई आशयपत्र दिएका छन् । यसअघि ऊर्जा मन्त्रालय र नेपाल वाटरबीच आयोजना विकास सम्झौता (पीडीए) भइसकेको छ ।आन्तरिक खपतका लागि आयोजना निर्माण हुन लागेको हो । आफै निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) नीति अन्र्तगत सरकारले आयोजना कोरियाली कम्पनी नेपाल वाटरलाई दिएको हो । आयोजनाबाट वार्षिक १ अर्ब ४६ करोड ५० लाख युनिट बिजुली उत्पादन हुने छ । पीडीए सम्झौता भएको मितिले आउदो २ वर्षभित्र आयोजनाले लगानी जुटाउने र ५ वर्षमा आयोजना सम्पन्न गर्ने उल्लेख गरिएको छ । पीडीएमा पानीको प्रयोग अनुमति, रोयल्टी तथा कर, विद्युत खरिदविक्रि सम्झौता (पीपीए) को सिद्धान्त, नेपाली स्रोतसाधनको प्रयोग, कावु बाहिरको परिस्थिती जोखिम व्यवस्थापन लगायतका विषय समेटीएको छ ।विद्युत प्राधिकरणले ६० मेगावाटको खिम्ती, ३६ मेगावाटको माथिल्लो भोटेकोसी, ३७.६ मेगावाटको कावेली ए, ५० मेगावाटको माथिल्लो मस्र्याङदी ए, ८२ मेगावाटको तल्लोसोलु र १२० मेगावाटको रसुवाभोटेकोसी आयोजनाको प्रवद्र्धकसंग डलरमा पीपीए गरेको छ ।  

चार कम्पनीको एक करोड ६७ लाख कित्ता बोनस सेयर सूचिकृत, क-कसको भयो?

काठमाडौं । आइतबार मात्रै विभिन्न चार वटा बैंक तथा वित्तीय संस्थाको एक करोड ६७ लाख ६२ हजार १४० कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । नेप्सेमा एकैदिन काबेली विकास बैंक, सिद्धार्थ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र लक्ष्मी बैंकको सो मात्राको बोनस सेयर सूचिकृत भएको हो । सो मध्ये काबेली विकास बैंकको एक लाख ४० हजार ३५२ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सको पनि १० लाख ६९ हजार ३५ कित्ता र ग्लोबल आईएमई बैंकको ८० लाख ८० हजार ३४१ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । त्यसैगरी, लक्ष्मी बैंकको पनि ७४ लाख ७२ हजार ४१२ कित्ता बोनस सेयर आइतबार मात्रै नेप्सेमा थपिएको छ ।

११ वटा विमानस्थलको कमाइ करोडमाथि

काठमाडौं । देशभर सञ्चालनमा रहेका कुल २९ विमानस्थलमध्ये ११ वटा विमानस्थलको मात्रै कमाइ एक करोड रुपैयाँभन्दा माथि छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १८ वटा विमानस्थलको कमाइ कम हुँदा सञ्चालन खर्च चलाउनसमेत नपुग्ने अवस्थामा रहेको छ । सरकार र राजनीतिक दलले मुलुकका विभिन्न स्थानमा नयाँ विमानस्थल खोल्ने तयारी गरिरहेका बेला सञ्चालनमा रहेका विमानस्थलको कमाइ नै कमजोर देखिएको हो । सञ्चालनमा नै रहेका विमानस्थलको कमाइ न्यून हुँदा सरकारलाई ती विमानस्थल सेतो हात्तीका रुपमा पालिराख्नुपर्ने बाध्यता आइलागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कमाइले नै अधिकांश विमानस्थल सञ्चालन गर्नुपर्ने र अन्य कामसमेत गर्नुपर्ने अवस्था देखिएको छ । प्राधिकरणले सार्वजनिक गरेको सन् २०१७ को प्रतिवेदनका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रु छ अर्ब ६२ करोड ८१ लाख २० हजार ६४ आम्दानी गरेको छ । चन्द्रगढी विमानस्थलले रु दुई करोड १९ लाख ६० हजार कमाइ गरेको छ । यस्तै विराटनगर विमानस्थलले रु पाँच करोड ६४ लाख ७७ हजार ७९७, तेन्जिङ हिलारी विमानस्थलले रु एक करोड ८६ लाख ९८ हजार ५७६, सिमराले रु एक करोड २३ लाख ३९ हजार २३२, भरतपुर विमानस्थलले रु दुई करोड, ३८ लाख १४ हजार १४ हजार ८८, पोखरा विमानस्थलले रु ६ करोड ३९ लाख १९ हजार ५०७, गौतमबुद्ध विमानस्थलले रु तीन करोड ७३ लाख ५१ हजार ७०६ कमाइ गरेका छन् । प्राधिकरणका अनुसार नेपालगञ्ज विमानस्थलले रु चार करोड ५६ लाख ९६ हजार २३९, सिमीकोटले रु एक करोड, ५४ हजार ११४, धनगढी विमानस्थलले रु एक करोड २१ लाख ११ हजार कमाइ गरेका छन् । प्राधिकरणका अनुसार थामखर्क विमानस्थलले रु १४ हजार ३४६ मात्रै कमाइ गरेको छ । चितवनको मेघौली विमानस्थलले रु २१ हजार ९७७ कमाइ गरेको छ । लामो समयदेखि व्यस्त मानिने जुम्ला विमानस्थलको कमाइ पनि रु आठ लाख ७६ हजार ८१० मात्रै कमाइ गरेको छ । भोजपुर विमानस्थलले रु १२ लाख कमाइ गर्दा लामीडाँडा विमानस्थलले भने रु ८६ हजारमात्रै आम्दानी गरेको छ । व्यस्त रहने जनकपुर विमानस्थलको कमाइसमेत रु ६१ लाखमा सीमित भएको छ । रामेछाप विमानस्थलको रु पाँच लाख ४० हजार ४६१, तुम्लिङ्टार विमानस्थलको रु २२ लाख २० हजार ५३३, रुम्जाटारले रु एक लाख २८ हजार ११७ मात्रै आम्दानी छ । मनाङको विमानस्थलले रु एक लाख २४ हजार ८५४, सुर्खेत रु ४८ लाख ९५ हजार ४६३, रुकुम सल्ले रु एक लाख ४३ लाख ७४१, रुकुम चौरजहारी रु एक लाख ११ लाख १०६, डोल्पा रु चार ८० हजार ३०८, बाजुरा विमानस्थलको रु छ लाख १७ हजार ८९८ कमाइ छ । रारा विमानस्थलले रु १७ लाख ३६ हजार ८२ कमाइ गर्दा फाप्लु विमानस्थलले रु २६ लाख ९० हजार आम्दानी गरेको छ । प्राधिकरणले गत पुसको अन्तिम सातादेखि दाङको टरिगाउँ विमानस्थल सञ्चालनमा ल्याएको छ । निकट भविष्यमा नै बागलुङको बलेवा विमानस्थल पनि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । सप्तरीको राजविराजमा रहेको विमानस्थल पनि सञ्चालनमा ल्याउने तयारीमा छ । यस्तै प्रदेश नं ७ को कञ्चनपुर, बैतडीको गोकुलेश्वर विमानस्थल पनि सञ्चालनमा ल्याइने तयारीमा छ । कालीकोट, ओखलढुंगाको खिजी चण्डेश्वरी, गुल्मीको सिमीचौर, इलामको सुकीलुम्बा, अछामको कमलबजार, अर्घाखाँची र लम्जुङमा समेत विमानस्थल निर्माणमा रहेका र निकट भविष्यमा नै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । कालीकोट विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न भई गत वर्ष नै परीक्षण उडानसमेत भइसकेको छ । अरु विमानस्थल निर्माणको क्रममा छन् । सञ्चालनमा रहेकामध्ये २९ वटा विमानस्थल कालोपत्र छन् । लामीडाँडा, थामखर्क, राजविराज, डोटी दिपायल, बैतडी र साँफेबगर विमानस्थल कालोपत्र गर्ने क्रम जारी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले अन्तर्राष्ट्रिय विमानस्थल र अरु केही विमानस्थलमात्रै सञ्चालन नाफामा रहेको र धेरैजसो विमानस्थल घाटाको व्यापार गरिरहेको बताए । उनले भने, “अन्तर्राष्ट्रिय विमानस्थलको कमाइले मात्रै अरु विमानस्थल सञ्चालन गर्नुपरेको छ । त्यसले आर्थिक रुपमा समेत असन्तुलन कायम गरेको छ ।” विमानस्थल निर्माणको माग बढ्दै गएको र सञ्चालनमा समेत घाटा व्यहोर्नुपरेपछि प्राधिकरण पनि के गर्ने भन्ने मेसो पाउन सकेको छैन । राजनीतिक दबाबका आधारमा निर्माण हुने र सञ्चालन गर्नुपर्ने बाध्यतालाई प्राधिकरणले नकार्न सकेको छैन । प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले पूँजीगत लगानीका आधारमा सञ्चालनमा रहेका धेरै विमानस्थलले नाफा कमाउने सम्भावना नरहेको बताए । उनले भने, “कतिपय विमानस्थल सामाजिक उत्तरदायित्वका हिसाबले मात्रै चलिरहेका छन् । नाफाभन्दा पनि सेवामूलक ढंगले मात्रै चलिरहेका छन् ।” सरकारले जनतालाई सेवा दिने लक्ष्यका साथ सञ्चालनमा ल्याएका विमानस्थलको दायित्वसमेत प्राधिकरणको काँधमा रहेको उनको भनाइ छ । हाल पोखरा, गौतमबुद्ध विमानस्थल निर्माणका क्रममा छ । रासस

मेगा बैंकको नाफा ३९ करोड ३६ लाख

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पौष मसान्त(अर्थात दोस्रो त्रैमासिक)सम्ममा ३९ करोड ३६ लाख रुपैयाँ कमाएको छ । जुन पहिलो त्रैमासिकको तुलनामा ३८५ प्रतिशत वृद्धि हो । बैंकले पहिलो त्रैमासिक अवधिमा ८ करोड ११ लाख रुपैयाँ खूद मुनाफा गरेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा दोस्रो त्रैमासिकमा मेगा बैंकले हवात्तै नाफा बढाएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकको दोस्रोे त्रैमासिक अवधिमा निक्षेप ६ अर्ब १८ करोड रुपैँयाले वृद्धि भएको छ भने कूल कर्जा ५ अर्ब ४८ करोड रुपैँयाले बढेको छ । अघिल्लो त्रैमासिक अवधिमा यी दुबैमा बैंकको वृद्धि १ अर्ब भन्दा कम रहेको थियो । बैंकको निस्क्रिय कर्जा पनि घटेर १ प्रतिशत भन्दा कम रहेको बैंकले जनाएको छ । ६५ प्रतिशतको हकप्रद शेयर यसै त्रैमासिक अवधिमा बाँडफाँड भएका कारण बैंकको चुक्ता पुँजीमा पनि उल्लेख्य वृद्धि भएको छ । जसले बैंकको प्रतिशेयर आम्दानी अनुपातलाई प्रतिकूल असर गरेता पनि खूद मुनाफामा भएको वृद्धिले अघिल्लो त्रयमासको ६.८८ प्रतिशतको तुलनामा यो त्रयमासमा प्रति शेयर आम्दानी १०.६४ प्रतिशत कायम भएको छ । साथै, टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको प्रक्रियामा रहेको यस बैंकको वित्तीय आकार र सूचकहरुमा थप सुधार हुने देखिएको छ ।