नेपाल टेलिकमको नाफा घट्यो, ६ महिनामा ७ अर्ब ४८ करोड मात्र
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाल टेलिकमको नाफा घटेको छ । गत पुससम्म टेलिकमले ७ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा टेलिकमको नाफा ७ अर्ब ९१ करोड रुपैयाँ थियो । चालु आवको दोस्रो त्रैमाशमा टेलिकमले २२ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा टेलिकमको नाफा २२ अर्ब ४७ करोड रुपैयाँ थियो । नाफा घटेपछि टेलिकमको प्रतिसेयर आम्दानी (ईपीएस) ९९ रुपैयाँ ७७ पैसामा झरेको छ ।
सिद्धार्थ इन्स्योरेन्सको नाफा ८ करोड ७८ लाख
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आवको ६ महिनामा ८ करोड ७८ लाख नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधीमा ८ करोड ३३ लाख नाफा कमाउन सफल भएको थियो । कम्पनीको जगेडा कोषमा ७ करोड ९० लाख रुपैंयाँ रहेको छ । सिद्धार्थले ७६ हजार ७ सय २१ बीमालेखबाट ८७ करोड १२ लाख बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले पुस मसान्त अवधीमा २ हजार ५ सय २८ वटा दावीका लागि ४६ करोड ३८ लाख रुपैंयाँ भुक्तानी गरेको देखिन्छ । सिद्धार्थको प्रति सेयर आम्दानी १३.६९ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १९२.७३ रुपैंयाँ रहेको छ ।
जगदम्बा मोटर्सको एक्टिभेसन अभियान भोलिसम्म, सहभागी आकर्षक गिफ्ट ह्याम्पर जित्न सक्ने
काठमाडौं । जगदम्बा मोटर्स, टिभिएस स्कूटर र मोटरसाइकलका नेपालका लागि एक मात्र आधिकारिक बितरकले टिभिएस जुपिटर क्लासिकको लागि एक्टिभेसन कार्यक्रम शुरु गरेको छ । यो एक्टिभेसन कार्यक्रम यहि माघ २६ देखि फागुन १ गतेसम्म विभिन्न सपिङ्गमलहरुमा आयोजना भइरहेको छ । एक्टिभेसन कार्यक्रम यस अघि नै बिजी मलमा माघ २६ गते र सिटी सेन्टरमा माघ २७ र २८ गते आयोजना गरियो । यसैगरि, सहभागीहरुले लाबीम मलमा यहि माघ २९ र फागुन १ गते सहभागी हुन र क्लासिक स्टाईलको बारेमा आफ्ना अनुभव सुनाउन सक्ने कम्पनीले जनाएको छ । सहभागीहरुले सो मल भ्रमण गरेर क्लासिकसँगको आफ्नो सम्बन्ध क्लासिक फोटोसुटका साथमा दर्शाउन सक्नेछन् र आकर्षक गिफ्ट ह्याम्पर जित्न सक्नेछन् । खिचिएको फोटो पश्चात जगदम्बा मोटस– टिभिएसको फेसबुक पेजमा अपलोड गरिने छ र सर्वाधिक लाइक पाउने फोटोले सिंङ्ग ब्याग तथा वालेट फागुन ८ गते सम्ममा प्राप्त गर्नेछन् ।
बैंकर्सले भने-मध्यावधी समिक्षाले राहत दियो
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समिक्षा मार्फत राहत दिएको प्रतिक्रिया बैंकर्सहरुले दिएका छन् । बैंकर्स एसोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सीसीडी रेसियो गणनाको सुबिधाले बैंक तथा वित्तिय संस्थाहरुले राहत महसुश गरेको बताए । ‘समसामयिक रुपले मौद्रिक नीति आएको छ, सीसीडी रेसियोको दैनिक गणना तर मासिक हर्जनाको सुबिधाले राहत पाएका छौं’, नेपाल बंगलादेश बैंकका सिईओ समेत रहेको बैंकर्स संघका अध्यक्ष ढुंगानाले विकासन्युजसँग भने । उनले सरकारी संस्थानहरुले बाणिज्य बैंकमा खाता खोलेर रकम जम्मा गर्ने व्यवस्थाबारे अध्ययन अघि बढाउने कुराले पनि बैंकिङ क्षेत्रमा उत्साह थपेको प्रतिक्रिया पनि दिए । गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले पनि मौद्रिक नीतिको मध्यावधि समिक्षाबाट राहत नै मिलेको बताए । उनले लगानी योग्य पुँजीको अभावले बैंक तथा वित्तिय संस्थाहरु निरुत्साहित भैरहेको अवस्थामा मध्यावधि समिक्षाले केहि उत्साह थपिदिएको प्रतिक्रिया दिए ।
मुद्दति निक्षेपकर्तालाई राष्ट्र बैंकको संरक्षण
काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दति खातामा निक्षेपकर्ताहरुलाई बिशेष संरक्षणको नीति अघि सारेको छ । केन्द्रिय बैंकले मौद्रिक नीतिको मध्यावधि समिक्षा मार्फत मुद्दति खातामा रकम जम्मा गर्ने निक्षेप कर्तासँग बैंकले निक्षेप लिनु पुर्व निक्षेप रसिद धितोमा दिने कर्जा रकम र सोको ब्याजदर तोक्नुपर्नेछ । सो भन्दा बढि ब्याजदर पछि लिन पाइने छैन। पछिल्लो समय बैंकहरुले मुद्दति खातामा राखिएको निक्षेपको रसिद लिएर ऋण दिँदा पहिला गरिएको प्रतिवद्धता भन्दा बढि ब्याजदर लिन थालेका थिए । केन्द्रिय बैंकको नयाँ व्यवस्थासँगै अब निक्षेप कर्ताहरुले निक्षेपको रसिद धिता राखेर ऋण लिँदा ब्याजदर बढ्ने समस्याबाट छुटकारा मिलेको छ ।
पञ्चकन्या माईद्धारा ५० करोड सेयर संकलन
इलाम । जिल्लामा सञ्चालित पञ्चकन्या माई हाइड्रो पावर कम्पनीले ५० करोड रुपैयाँ मूल्य बराबरको सेयर संकलन गरेको छ । प्रभावित क्षेत्रका बासिन्दाका लागि आह्वान गरेको सेयरका लागि इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाका बासिन्दा बाट मात्रै सो रकम संकलन गरिएको हो । गत माघ ५ गतेदेखि २३ गतेसम्म शेयर आह्वान गरेको उक्त हाइड्रोमा लक्ष्यभन्दा बढी सेयर रकम संकलन भएको उक्त आयोजनाका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले जानकारी दिए । आयोजनाले ११ लाख कित्ता अर्थात रु ११ करोड सेयर निष्काशन गरेको थियो । आयोजनाले अति प्रभावित र प्रभावितका लागि छुट्टाछुट्टै गरेर ११ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । अति प्रभावित सन्दकपुर गाउँपालिकाका लागि छ लाख ६० हजार कित्ता (६० प्रतिशत) अर्थात रु छ करोड ६० लाख तथा प्रभावित इलाम नगरपालिकामा चार लाख ४० हजार कित्ता (४० प्रतिशत) अर्थात रु चार करोड ४० लाख सेयर निष्काशन गरेको थियो । सन्दकपुर गाउँपालिकामा चाहिएभन्दा बढी सेयर रकम संकलन भएको छ । सो गाउँपालिकामा छ लाख ६० हजार कित्ता सेयर निष्काशन गरेकोमा रु १७ करोड सेयर रकम संकलन भएको आयोजनाका कार्यकारी निर्देशक प्रधानले बताए। यस्तै इलाम नगरपालिकामा चार लाख ४० हजार कित्ता सेयर निष्काशन गरेकोमा रु ३३ करोड शेयर रकम संकलन भएको छ । आयोजनाले जिल्लाका तीनवटा बैंक सनराईज, प्रभु र लक्ष्मीसहित सन्दकपुर गाउँपालिकाको कार्यालय र माबु हाइड्रोको कार्यालयबाट सेयर रकम संकलन गरेको थियो । सेयरमा न्यूनतम २० कित्तादेखि अधिकतम पाँच हजार ५०० कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था गरिएको थियो । कम्पनीले सन्दकपुर गाउँपालिकास्थित माबु, माईमझुवा र सुलुबुङमा अप्पर माई जलविद्युत् आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई आयोजना सञ्चालनमा ल्याएको छ भने ६ दशमलव १ मेगावाटको क्यास्केड आयोजना निर्माण सम्पन्न भएको छ । १२ मेगावाटको माथिल्लो माई र ६ दशमलव १ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि १० प्रतिशत शेयर निष्काशन गरिएको प्रधानले जानकारी दिए । उक्त आयोजना सन्दकपुर गाउँपालिकाको माबु र सुलुबुङबीचमा रहेको माइखोलामा सञ्चालन भइरहेको छ । रासस
शिभश्री हाइड्रोपावरले १४ करोड ७६ लाखको आईपीओ निष्कासन गर्ने, ३ महिनामा २२ मेगावाट बिजुली थपिदै
काठमाडौं । शिभश्री हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले पहिलो चरणमा १४ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको १४ लाख ७६ हजार ४ सय कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले स्थानियबासिन्दा र दोस्रो चरणमा सर्वसाधरणलाई गरी कुल ३५ करोड रुपैया बराबरको ३५ लाख कित्ता आईपीओ निष्कासन गर्ने सञ्चालक उमेश कसजुले बताए । उनकाअनुसार स्थानियबासिन्दालाई निष्कासन गरेपछि सर्वसाधारणलाई २० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीमा ७० प्रतिशत संस्थापक र २५ प्रतिशत सर्वसाधारणको लगानी हुने भएको छ । ३ महिनामा २२ मेगावाट बिजुली उत्पादन हुने प्रवद्र्धक शिवश्रीले आउदो ३ महिनाभित्र २२ मेगावाटको माथिल्लो चाकुखोला ए आयोजनाबाट बिजुली उत्पादन गर्ने भएको छ । हाल आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ । बाँकी काम सम्पन्न गरी ढिलोमा आउदो जेठसम्म बिजुली उत्पादन गर्ने लक्ष्य रहेको कसजुले जानकारी दिए । आयोजनाको लागत ४ अर्ब ३ करोड रुपैयाँ छ । आयोजना सिन्धुपाल्चोकमा पर्छ । चालु आर्थिक वर्षमा निजी र सर्वसाधारण गरी प्रणालीमा १३९ मेगावाट बिजुली उत्पादन हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
लुम्बिनी विकास बैंकद्धारा सरसफाई अभियान सम्पन, ७० कर्मचारीहरु सहभागी
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती सफाई अभियान सम्पन्न गरेको छ । बैंकले उक्त महाअभियानको सहकार्यमा आफ्ना करिव ७० कर्मचारीहरु सहित शनिवार काठमाडौंको रुद्रमतीनदीको कालोपूलदेखि सेतो पूलसम्मको क्षेत्रमा सरसफाई गरेको थियो । उक्त कार्यक्रममा लूम्विनी विकास बैंकका तर्फबाट सरसफाइ सम्बन्धी विभिन्न सामाग्रीहरु वितरण गरिएको थियो ।
३ बैंकको ४ करोडको संस्थापक सेयर किनबेच, सबैभन्दा बढी ओम डेभलपमेन्टको
काठमाडौं । आइतबार सबैभन्दा बढी ३ वटा बैंकको संस्थापक (प्रमोटर) सेयर कारोबार भएको छ । ओम डेभलपमेन्ट बैंक, नविल बैंक र कामना सेवा विकास बैंकको गरी कुल ४ करोड १ लाख ४६ हजार ६७३ रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएका छन् । सबैभन्दा बढी ओम डेभलपमेन्ट बैंकको प्रमोटर किनबेच भएको छ । ओमको एकैदिन प्रतिकित्ता २४० रुपैयाँमा १ करोड ७४ लाख ६० हजार रुपैयाँ बराबरको ७२ हजार ७५० कित्ता संस्थापक सेयर किनबेच भएको छ । ओमको संस्थापक सेयर एउटै लगानीकर्ताले खरिद गरेको पाइएको छ । यस्तै नबिल बैंकको १ करोड २६ लाख १६ हजार ६७३ कित्ता प्रमोटर सेयर किनबेच भएको छ । नविलको प्रतिकित्ता ८५० रुपैयाँमा १५ हजार ७६३ कित्ता प्रमोटर सेयर किनबेच भएको छ । कामना सेवा विकास बैंकको प्रतिकित्ता १०६ रुपैयाँ १ करोड ७० हजार रुपैयाँ बराबरको ९५ हजार कित्ता प्रमोटर सेयर किनबेच भएका छन् । कामनाको पनि एउटै व्यक्ति तथा संस्थाले संस्थापक सेयर किनेको पाइएको छ । सेयर बजारमा निरन्तर गिरावट आईरहेका बेला संस्थापक सेयर बढी कारोबार हुने गरेको छ । त्यसैगरी, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको पनि प्रतिकित्ता १ हजार ६६३ रुपैयाँमा १करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबारको बजारमा कुल १५९ कम्पनीको २४ करोड ४२ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन ६ लाख ७० हजार ५८९ कित्ता सेयर बिक्री भएका छन् । साताको पहिलो दिनको बजार कारोबार खुलेदेखि बन्द हुँदासम्म निरन्तर ओरालो लागेको छ । दिनभर निरन्तर ओरालो लागेको नेप्से परिसूचक बजार बन्द हुँदा ६.३२ अंकले झरेर १३८४.७१ अंकमा अडेको छ । आइतबारको बजारमा ट्रेडिङ समूह स्थिर रहेको छ भने अन्य कारोबारमा आएका सबैसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको सूचक ४० अंकले ओरालो लागेको छ । बजारमा सबैभन्दा बढी कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंककै सेयर मूल्यमा वृद्धि भएको छ । अघिल्लो कारोबारको तुलनामा कम्पनीका लगानीकर्ताले ६.९५ प्रतिशत कमाएका छन् । उता आरएसडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने करिब १० प्रतिशत गुमाएका छन् ।
हिमाल पावरको साढे ४९ करोड लाभांशले बीपीसीको नाफा ३५७ प्रतिशत बढ्यो
काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को चालु आर्थिक वर्षको ६ महिनामा नाफा ३५७ प्रतिशतले बढेको छ । बीपीसीले गत पुससम्म ५९ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अधिमा १३ करोड ९ लाख रुपैयाँ मात्र नाफा गरेको थियो । हिमाल पावर लिमिटेडबाट गत आर्थिक वर्षमा गरेको नाफाबाट ४९ करोड ६० लाख रुपैयाँ लाभांश प्राप्त गरेपछि नाफा बढेको बीपीसीले जानकारी दिएको छ । ६० मेगावाटको खिम्ती आयोजनामा बीपीसीको १७ प्रतिशत स्वामित्व छ । समीक्षा अवधिमा कम्पनीले हिमालबाट प्राप्त हुने लाभांश बाहेक आफैले सञ्चालन गरेका आयोजनाबाट उत्पादन भएको बिजुली बिक्री २ प्रतिशत बढेर ४० करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ४० करोड २४ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ छ । संचित कोषमा २ अर्ब ८६ करोड रुपैयाँ वचत रहेको कम्पनीले जनाएको छ । बीपीसीले सहायक कम्पनीमार्फत ३७.६ मेगावाटको कावेली ए, ३० मेगावाटको न्यादी आयोजना निर्माण गरिरहेको छ । यस्तै चिनियाँ कम्पनीसंगको सहकार्यमा एससीआईजी इन्टरनेसन हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनीमार्फत १०० मेगावाटको तल्लो मनाङ मस्र्याङदी र २ सय मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजनाको सर्वैक्षण अनुमति पाएको छ ।
चिलिमे हाइड्रोपावरको नाफा घट्यो, ६ महिनामा ५२ करोड ४६ लाख मात्र
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको ६ महिनामा नाफा घटेको छ । गत पुससम्म चिलिमेले ५२ करोड ४६ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ५४ करोड ८१ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत आवको तुलनामा चालु आवमा साढे २ करोड रुपैयाँ नाफा घटेको छ । नेपाल विद्युत् प्राधिकरणले थप उत्पादन भएको बिजुली खरिद नगर्दा आम्दानी ३.३७ प्रतिशतले कमी आएपछि नाफा बढ्न नसकेको कम्पनीले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ । यस्तै ब्याज तथा अन्य आम्दानी ४६ प्रतिशतले बढेको कम्पनीले जानकारी दिएको छ । समीक्षा अवधिमा चिलिमेले बिजुली बिक्रीबाट ५७ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ६१ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४७ पैसा छ । संचित कोष ४ अर्ब ५६ करोड ८९ लाख रुपैयाँ वचत रहेको छ ।
सोलारको पीपीए नहुदा अपी पावर कम्पनीको २ अर्ब २७ करोडको हकप्रद सेयर रोकियो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सौर्यऊर्जा खरिदबिक्री सम्झौता (पीपीए) नगरेपछि अपी पावर कम्पनी लिमिटेडको २ सय प्रतिशत हकप्रद सेयर निष्कासन रोकिएको छ । नियामक नेपाल धितोपत्र बोर्डले सोलार पीपीए भएपछि मात्र हकप्रद निष्कासन गर्न दिने भनेपछि रोकिएको हो । गत पुसमा सम्पन्न अपीको साधारणसभाले सौर्यऊर्जा र जलविद्युत आयोजनामा लगानी गर्न २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न प्रस्ताव पारित गरेको थियो । अपीले विभिन्न स्थानमा १८ मेगावाट सोलार प्लाण्ट स्थापना गरी बिजुली उत्पादन गर्ने तयारी थालेको छ । कुल हकप्रद मध्ये कम्पनीले १ अर्ब २६ करोड ८० लाख रुपैयाँ विभिन्न सौर्यऊर्जा आयोजनामा लगानी गर्ने जानकारी दिएको छ । यस्तै १ अर्ब भने जलविद्युत आयोजनामा लगानी गर्ने अपीको तयारी छ । सोलार पीपीए नहुदा हकप्रद निष्कासन गर्न नपाएको अपीका सञ्चालक सतिश न्यौपाने बताउछन् । सौर्यऊर्जाको पीपीए नभएसम्म बोर्डले हकप्रदका लागि स्वीकृति नदिने भनेको उनले जानकारी दिए । प्राधिकरणले पीपीए गर्न नमानेको उनको भनाई छ । विद्युत प्राधिकरणले प्रतियुनिट अधिकतम् ९ रुपैयाँ ६१ पैसामा सोलार आयोजनासंग बिजुली किन्ने भन्दै निजी कम्पनीबीच प्रतिस्पर्धा गराएको थियो । प्रतिस्पर्धाबाट सोलार आयोजनाले प्रतियुनिट ८ रुपैयाँ ४५ पैसासम्म पीपीए दर पेश गरेका थिए । ऊर्जा मन्त्रालयले सोलार सम्बन्धित नयाँ कार्यविधी ल्याइ प्रतियुनिट ७ रुपैयाँ ३० पैसा पीपीए दर हुने भनेपछि प्राधिकरणले पीपीए गरेको छैन् । यता भारतमा सोलारको मूल्य घटेको भन्दै पीपीए गर्न अटेर गरेको छ । त्यसबेला २१ कम्पनीले ६३ मेगावाट बिजुली सोलारबाट उत्पादन गर्ने प्रस्ताव प्राधिकरणमा गरेका थिए । गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर जारी गरेपछि कम्पनीको सेयर संख्या १ करोड १३ लाख ४० हजार रुपैयाँ पुग्ने छ । कम्पनीले यसअघि २ अर्ब ११ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । सेयर पुँजी बढाएर हकप्रद निष्कासन रकम बढाएको छ । अपीले हाल ८ मेगावाटको नौगाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै ८.५ मेगावाटको नौगाड आयोजना निर्माण गरिरहेको छ । यस्तै ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना पनि निर्माणको तयारी थालेको छ । अपीको नाफा घट्यो चालु आर्थिक वर्षको ६ महिनामा अपि पावरको नाफा घटेको छ । गत पुससम्म कम्पनीले ३ करोड १३ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड ४५ लाख रुपैयाा नाफा गरेको छ । यो वर्षको ६ महिनामा अपीको नाफा ३२ लाख रुपैयाँ घटेको छ । अपीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिकक वित्तीय विवरणमा नाफा घटेपछि प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि गिरावट आएको जानकारी दिएको छ । ईपीएस घटेर ५ रुपैयाँ ९७ पैसामा झरेकोे छ । गत आवको सोही अवधिमा कम्पनीको ईपीएस ६ रुपैयाँ ५८ पैसा थियो । गत पुससम्म अपीले बिजुली बिक्रीबाट ८ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ८ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ । ६ महिनामा अपीको आम्दानी ७५ लाख रुपैयाँ घटेको छ । कम्पनीको संचित कोषमा १२ करोड १४ लाख रुपैयाँ छ ।
रसुवाका सांसद मोहन आचार्यले सडक खन्न १ करोड ७० लाखका स्काभेटर र डोजर दिए
काठमाडौं । निर्वाचनका बेला जनतासामु गरिएका प्रतिबद्धताअनुसार रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले आफ्नै लगानीमा जिल्लाको सडक निर्माण कार्यलाई अगाडी बढाएका छन् । समृद्ध रसुवा निर्माणको मुद्धा लिएर निर्वाचनमा गएका सांसद आचार्यले सडक सञ्जालले नछोएका गाउँटोलमा बाटो पुर्याउन व्यक्तिगत लगानीमा १ करोड ७० लाख रुपैयाँका स्काभेटर र डोजर उपलव्ध गराएर सडक पुर्याउने कार्यको शुरुवात गरेका हुन । रसुवाको सबै ठाउँमा बाटो नपुग्दासम्म आफुले उपलव्ध गराएको स्काभेटर र डोजरले निःशुल्क सेवा प्रदान गर्ने सांसद आचार्यले बताए । बाटो नभएर गाउँघरमा अहिले पूननिर्माण कार्य गर्दा ढुवानीलागत बढी रहेकाले कम गर्ने उदेश्यले पनि बाटो निर्माण कार्यलाई प्राथमिताका साथ अगाडी बढाईएको आचार्यले जानकारी िदए । रसुवाको कालीकास्थान गाउँपालीकाको लामाटोलमा शनिबार आयोजित एक कार्यक्रममा सांसद आचार्यले स्थानिय गाउँपालीकाको अधिनमा रहने गरी स्काभेटर र डोजर हस्तान्तरण गरे।जिल्लाको गोसाँईकुण्ड गाउँपालिको लाङटाङ ,नौकुण्ड गाउँपालिकाको केही गाउँ ,पार्व्तिकुण्ड गाउँपालिकाको हाकु,सानो हाकु,नेसिङ लगायतका ठाउँहरुमा अहिले पनि मोटर बाटो पुग्न सकेको छैन । कार्यक्रममा रसुवाका प्रदेश सासंद प्रेम तामाङले आफ्नो व्यक्तिगत लगानीमा जिल्लाको विकास गर्न अगाडी सर्ने सासंद आचार्यका कारण संमृद्ध रसुवा निर्माण अभियानले छिटै सार्थकता पाउने बताए ।यसका अतिरिक्त भुकम्पबाट विस्थापित खाल्टेका विस्थापितहरुलाई एकिकृत बस्ती निर्माण गरेर पार्व्तिकुण्ड गाउँपालिकाको तिरमापूनस्थापित गर्न सासंद आचार्य लागी परेका छन् । यसका लागी पूननिर्माण प्रधिकरणबाट प्राविधिक लागत स्टिमेट तयार सम्पन्नभै रकम निकासा हुनेक्रममा छ । रसुवाको दुर्गम भेगका नागरिककालागी नियमितरुपमा स्वास्थ्य सेवा पुर्याउने हाललाई हप्ताको एक दिन पार्वतीकुण्ड गाउँपालिकाको गोल्जुङबाट यो सेवा शुरु गरिएको छ ।
६ कम्पनीको एक करोड ९७ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, कसको कति ?
काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न ६ वटा बैंक तथा वित्तीय संस्थाको करिब दुर्इ करोड कित्ता सेयर सूचिकृत भएका छन् । सो अवधिमा उक्त कम्पनीको बोनस, हकप्रद र एफपीओ गरी एक करोड ९७ लाख ५९ हजार ४८९ कित्ता सेयर सेयर सूचिकृत भएका छन् । कुल सूचिकृत सेयर मध्ये एक करोड १३ लाख एक हजार ४२२ कित्ता बोनस सेयर, २३ लाख कित्ता हकप्रद र ६१ लाख ५८ हजार ०६७ कित्ता एफपीओ सूचिकृत भएको छ । साताभर ४ कम्पनीको बोनस, १ को हकप्रद र बाँकी एकको एफपीओ नेप्सेमा थपिएका छन् । सेयर सूचिकृत हुने ६ कम्पनी, कसको कति ?
सगरमाथा इन्स्योरेन्सले वरुण डेभलपर्सलाई दियो ३१ करोड भुक्तानी, भूकम्पको २८०० दावी फर्छ्योट
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले बरुण डेभलपर्सलाई ३१ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ । ०७२ सालमा गएको भूकम्पबाट भएको क्षतिको कारणबाट परेका मध्ये सबैभन्दा ठूलो दाबीको भुक्तानी गरेको हो । राजधानीको धापासीमा रहेको पार्क होराइजन एपार्टमेन्टको क्षति सम्बन्धी दाबीवापत सो रकम भुक्तानी गरेको सगरमाथाले जनाएको छ । भुकम्पबाट भएको क्षतिको कारणबाट परेका दावी मध्ये एउटै बीमालेखमा गरिएको यो नै सबैभन्दा ठुलो भुक्तानी भएको कम्पनीले जनाएको छ । योसँगै कम्पनीले भूकम्पको समयमा परेका करिब २ हजार ८ सय दाबी फर्छ्योट गरेको छ । कम्पनीले १ करोड रुपैयाँ भन्दा माथिका २५ वटा दाबीको भुक्तानी गरेको छ । जसमा वेस्टार प्रपर्टिज प्रालिलाई १९ करोड ७६ लाख ५ हजार, सांग्रिला हाउजिङ्ग प्रालिलाई ६ करोड ८७ लाख ७८ हजार, युनिक हाईडेल कम्पनीलाई ५ करोड ९६ लाख २६ हजार, कृष्णबहादुर गुरुङलाई ५ करोड ५५ लाख ६६ हजार र बज्र एण्ड साँग्रिला रेसिडेन्सी प्रालिलाई ५ करोड रुपैयाँ दावी भुक्तानी गरेको कम्पनीले जानकारी दिएको छ । त्यसैगरी रोयल आर्किड डेभलपर्स प्रालिलाई ४ करोड ८७ लाख ६४ हजार, कान्तिपुर पब्लिकेशन प्रालिलाई ३ करोड ३१ हजार, भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई २ करोड ५ लाख ४८ हजार र कोङ्गदी होटललाई २ करोड रुपैयाँ भुक्तानी गरेको हो । हिमालयन डिकोर रगसलाई १ करोड ९९ लाख ९९, पवन फुँयाललाई १ करोड ८९ लाख ९९ हजार, शेर्पा साँग्रिला रिसोर्टलाई १ करोड ८० लाख, सिभिल स्टेट प्रालिलाई १ करोड ६० लाख, सिभिल बिजनेश कम्प्लेक्स प्रालिलाई १ करोड ५९ लाख ५० हजार, ट्रान्सट्रिप गार्मेन्ट इन्डष्ट्रिज प्रालिलाई १ करोड ५० लाख, बैंक अफ काठमाण्डूलाई १ करोड १८ लाख ५८ हजार रुपैयाँ दावी भुक्तानी भएको छ । बरुण बेभरेज नेपाललाई १ करोड १७ लाख ८५ हजार, प्लाटिनम डेभलपर्सलाई १ करोड १५ लाख ३१ हजार, निमा मोक्तान र कान्छिनानी तामाङनीलाई १ करोड १३ लाख ५० हजार, दिपज्योति शैक्षिक प्रष्ठिानलाई १ करोड ९ लाख ७४ हजार र जगतलाल शाहीलाई १ करोड ४ लाख २१ हजार भुक्तानी गरेको हो । सगरमाथाले सह–बीमाअन्तर्गत अन्यबाट पर्न आएका दावी मध्ये हिमालयन जनरल इन्स्योरेन्स सँगको डाउन टाउन हाउजिङलाई २ करोड ३६ लाख ११ हजार र नेको इन्स्योरेन्ससँगको अश्विनी मेडिकल कलेज एण्ड हस्पिटललाई १ करोड ८३ लाख ६२ हजार हजार भुक्तानी गरेको छ ।
बीपीसीको एफपीओ संस्थागत लगानीकर्ताले पनि किन्न पाउने
काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को थप निष्कासन (एफपीओ) संस्थागत लगानीकर्ताले पनि खरिद गर्न पाउने भएका छन् । मागअनुसार पर्याप्त आवेदन नपरेपछि शुक्रबारदेखि संगठित संस्थाले पनि एफपीओ किन्न पाउने भएका हुन् । अझै ३८ प्रतिशत एफपीओ बिक्री हुन बाँकी भएपछि संस्थालाई पनि खुला गरिएको सेयर निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडका प्रमुख सञ्चालन अधिकृत कमल नेपालले बताए । उनका अनुसार ६२ प्रतिशतका लागि आवेदन परेको छ । माघ १५ गतेदेखि बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेकोमा बुधबारसम्म १ अर्ब २० करोड १६ लाख रुपैयाँको मात्र आवेदन परेको छ । हालसम्म एफपीओका लागि ८२ हजार ११ वटा आवेदन परेका छन् । अझै ८४ करोड रुपैयाँको एफपीओ बिक्री हुन बाँकी छ । २३ लाख ९८ हजार ४०३ कित्ता एफपीओ खरिदका लागि आवेदन परेको छ । बीपीसीले प्रिमियमसमेत गरी प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि एफपीओ ल्याएको हो ।२ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ ।
नयाँ लगानीकर्ता प्रवेशपछि कर्पोरेट डेभलपमेन्ट बैंक समस्याग्रस्तबाट मुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्पोरेट डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त अवस्थाबाट मुक्त गरेको छ । नयाँ लगानीकर्ता प्रवेश गरी संस्थालाई संचालन गर्ने प्रतिबद्धता जनाएपछि संस्था सुधारोन्मुख देखिएको भन्दै केन्द्रीय बैकले समस्याग्रस्तबाट मुक्त गरेको हो । केन्द्रीय बैंकको माघ १८ गतेको निर्णय बमोजिम जारी भएका निर्देशन र शर्तको पालना गर्ने प्रतिवद्धताका आधारमा कर्पोरेटलाई समस्याग्रस्त अवस्थाबाट मुक्त गरिएको राष्ट्र बैंकले जनाएको छ । बैंक संचालक समितिको पुस १० को बैठकबाट प्रतिवद्धता व्यक्त गर्दै व्यवसायिक कार्ययोजना राष्ट्र बैंकमा पेश गरेको छ । वित्तीय अवस्था खराब भएपछि राष्ट्र बैंकले २०७१ पुस ४ मा बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो । कर्पोरेटले चुक्तापुँजी २ वर्ष अर्थात ०७६ माघ १७ भित्र पु¥याउने गरी पुँजी बृद्धि योजना तयार गरी ३५ दिन भित्र पेश गर्न राष्ट्र बैकले भनेको छ । संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापन चुस्त दुरुस्त, हाल तोकिएको चुक्तापुँजी नपुगेको अवस्थासम्म एकल ग्राहक कर्जा सीमा प्राथमिक पुँजीको १० प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छन् । तोकिएको चुक्ता पुँजी पुरा भएको अवस्थामा हाल विद्यमान व्यवस्था अनुरुपको एकल ग्राहक कर्जा सीमा कायम गर्नुपर्ने केन्द्रीय बैंकले निर्देशन दिएको छ । यस्तै कर्जा असुली र निक्षेप भुक्तानीलाई उच्च प्राथमिकता दिनुपर्ने, खराव कर्जालाई क्रमिक रुपमा घटाउदै लगि वाञ्छित सीमा भित्र ल्याउनु पर्ने, खराब कर्जा असुलीका लागि विशेष प्रयास गर्ने कर्पोरेटलाई राष्ट्र बैंकको निर्देशन छ । खराब कर्जा असुल हुन नसके छानविन समिति गठन गरी यस्ता कर्जा प्रवाहमा संस्थाका पूर्वपदाधिकारी तथा कर्मचारीको संलग्नता पाइएमा प्रचलित कानून बमोजिम कारवाही प्रकृया अगाडि बढाउन केन्द्रीय बैंकको निर्देशन छ । दुई महिना भित्र यस सम्बन्धमा भएको प्रगति विवरण पेश गर्नु पर्ने भएको छ । वित्तीय संस्थाको संचालक समितिको गत पुस १० को बैठकबाट प्रतिवद्धता व्यक्त गरे अनुरुपको कार्य तोकिएको समय भित्रै सम्पन्न गर्नु पर्ने र सोको प्रगति विवरण ३५ दिन भित्र पेश गर्नुपर्ने छ । समस्याग्रस्त घोषणा हुँदा र तत्पश्चात दिइएका निर्देशनहरुको कार्यान्वयन गर्नुपर्ने छ ।
विपन्नलाई श्रममा आधारित शेयर दिने प्राधिकरणकाे याेजना, लगानी गर्न जति नि पाइने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लगानी गर्न नसक्ने अति विपन्न परिवारलाई श्रममा आधारित शेयर दिने भएको छ । प्राधिकरणले निर्माण गर्न लागेका माथिल्लो अरुण, दूधकोशी, उत्तरगंगा, सुनकोशीजस्ता आयोजनामा श्रममा आधारित शेयर दिने तयारी गरेको हो । प्राधिकरणको प्रस्तावअनुसार अति विपन्न परिवारलाई न्यूनतम दुई प्रतिशदेखि अधिकतम पाँच प्रतिशतसम्म श्रममा आधारित शेयर दिनेछ । सरकारले अगाडि सारेको ‘जन जनमा शेयर घर घरमा विद्युत्’ नारालाई साकार रुप दिन पनि श्रममा आधारित शेयर वितरणको प्रक्रिया अगाडि बढाउन लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । कार्यकारी निर्देशक घिसिङका अनुसार विपन्न वर्गलाई आर्थिक रुपमा सम्पन्न सवल र सक्षम बनाउने लक्ष्यका साथ श्रममा आधारित शेयर वितरण प्रणाली अगाडि बढाउन लागिएको हो । “पैसा हुनेले पैसा लगानी गर्ने, नहुनेले श्रम गरेर आर्थिक रुपमा सम्पन्न हुन पाउनुपर्छ । त्यही भएर प्राधिकरणले श्रममा आधारित शेयर प्रणालीलाई व्यवस्थापन गर्न लागेको हो,” कार्यकारी निर्देशक घिसिङले भने । प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गर्ने सबै आयोजनामा त्यसखालको व्यवस्था गर्न लागिएको प्राधिकरणले जनाएको छ । हाल सरकारले ल्याएको रणनीतिअनुसार नै आयोजना प्रभावितलाई १० प्रतिशत र आमनेपालीलाई १५ प्रतिशतको दरमा शेयर उपलब्ध गराउँदै आएको छ । सोही प्रणालीले देशका धेरै जिल्लामा आर्थिक उपार्जनको ढोका खुलेको छ । चिलिमे जलविद्युत् आयोजनाकै कारण रसुवावासी धेरैको आर्थिक हैसियतमाथि पुगेको छ । माथिल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने काम शुरु भएको छ । सो आयोजनालाई कूल ७०० मेगावाट क्षमतामा निर्माण गर्न लागिएको छ । प्रतियुनिट दुई रुपैयाँ ७० पैसामा विद्युत् उत्पादन गर्न सकिने सो परियोजना प्राधिकरणले कम्पनी ढाँचामा अगाडि बढाउन लागेको छ । यस्तै प्राधिकरणले कम्पनी ढाँचामा नै दूधकोशी, सुनकोशी, उत्तर गंगाजस्ता आयोजना कम्पनी ढाँचामा नै अगाडि बढाउन लागिएको छ । जति पनि लगानी गर्न पाइने व्यवस्था गरिँदै प्राधिकरणले द्रुतत्तर रुपमा जलविद्युत् आयोजनाको विकास गर्न नागरिकलाई आफ्नो क्षमताअनुसार लगानी गर्न पाउने प्रबन्ध गर्न लागेको जानकारी दिएको छ । नेपाल धितोपत्र बोर्डले गरेको व्यवस्थाअनुसार माग गरेजति कुनै पनि कम्पनीले शेयर दिन सक्दैन । ऊर्जा क्षेत्रको विकासका लागि नागरिकको क्षमताअनुसार जे जति लगानी गर्न सक्छ सोही बराबरको शेयर दिने गरी कानूनी प्रबन्ध वा अरु कुनै विशेष व्यवस्था गर्नुपर्ने घिसिङको भनाइ छ । उनले भने, “कुनै जलविद्युत् कम्पनीमा सय कित्ता शेयर आवेदन गरियो भने १० कित्तामात्रै व्यवस्था छ । अब त्यसलाई संशोधन गरेर वा अरु कुनै विशेष व्यवस्था गरेर भए पनि जति आवेदन ग¥यो उति नै दिने प्रबन्ध गरिनुपर्छ । त्यसो हुन सके देशको ऊर्जा क्षेत्रले एकाध वर्षमा फड्को मार्न सक्छ ।” स्वदेशी लगानीमा नै ठूला परियोजना निर्माणका लागि यस प्रकारको विकल्प नै उत्तम विकल्प रहेको उनको दाबी छ । प्राधिकरणका विभिन्न सहायक कम्पनीले धमाधम साधारण शेयर जारी गरिरहेका बेला सबै जनताले जुनसुकै विकल्पबाट भए पनि शेयर पाउनुपर्ने र उनीहरुको आर्थिक उपार्जनको बाटो बन्नुपर्ने कार्ययोजना आफूले सारेको घिसिङ बताउँछन् । जति पनि लगानी गर्न पाइने प्रावधान कार्यान्वयनमा ल्याउन सकिएको खण्डमा दुई/चार वटा ठूला परियोजना निर्माणका लागि कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनुपर्ने अवस्थाको समेत अन्त्य हुने प्राधिकरणको विश्वास छ । यस्तै प्राधिकरणका सहायक कम्पनीहरु चिलिमे, माथिल्लो तामाकोशीजस्ता आयोजनाले पनि अरु आयोजनामा लगानी गर्दै लगानी विस्तार तथा विविधीकरण गर्ने योजनामा प्राधिकरण लागिपरेको छ । चिलिमेका सहायक कम्पनीले रसुवागढी, साञ्जेन, मध्य भोटेकोशी निर्माण गरिरहेको छ भने माथिल्लो तामाकोशीले तामाकोशी पाँचौँ तथा गौरीशंकर खोलाको पानीबाट २५ मेगावाट क्षमताको अर्को आयोजना निर्माणको तयारी गरेको छ । सरकारको प्रस्तावअनुसार चिलिमे र माथिल्लो तामाकोशीले बूढीगण्डकी जलविद्युत् आयोजनामा पाँच÷पाँच प्रतिशत शेयर लगानी गर्ने तयारी गरिरहेका छन् । रासस
बीपीसीको १ अर्ब २० करोडको मात्र एफपीओ बिक्री, लाभांशले पनि लोभ्याएन लगानीकर्तालाई, सेयर मूल्यमा निरन्तर गिरावट
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को थप निष्कासन (एफपीओ) बिक्री खुलेको १० दिनमा आधा भन्दा केही बढी रकमका लागि मात्र आवेदन परेको छ । माघ १५ गतेदेखि बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेकोमा बुधबारसम्म १ अर्ब २० करोड १६ लाख रुपैयाँको मात्र आवेदन परेको छ । हालसम्म एफपीओका लागि ८२ हजार ११ वटा आवेदन परेका छन् । अझै ८४ करोड रुपैयाँको एफपीओ बिक्री हुन बाँकी छ । २३ लाख ९८ हजार ४०३ कित्ता एफपीओ खरिदका लागि आवेदन परेको छ । एफपीओ खुल्ने बित्तिकै सामाजिक सञ्जालमा बीपीसीका विरुद्ध नकरात्मक टीकाटिप्पणी भएपछि यसको असर परेको हो । यस्तै १० कित्ता मात्र पाइने मनोवैज्ञानिक प्रभावले पनि एफपीओमा कम दरको आवेदन मात्र परेको देखिएको छ । धरै नपर्ने आशंकामा लगानीकर्ताले बढीमा २० कित्ता मात्र आवेदन हालेको पाइएको बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । बीपीसीले प्रिमियमसमेत गरी प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासन बन्द ढिलोमा फागुन १५ गतेसम्म तोकिएको छ । एफपीओ निष्कासनपछि बीपीसीको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । बीपीसीको सेयर मूल्य घटेर प्रतिकित्ता ५४९ रुपैयाँमा झरेको छ । बिहीबार मात्रै बीपीपीको सेयर मूल्य प्रतिकित्ता ९ रुपैयाँ घटेको छ । आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि सेयरको मूल्य बढेकोमा थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य घटेको छ । दुई महिना अघिसम्म बीपीसीको सेयर मूल्य प्रतिकित्ता ७४६ रुपैयाँ पुगेको थियो । बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि एफपीओ ल्याएको हो । २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक वर्षमा बीपीसीले ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।
आरएमडीसीको नाफा ११ करोड २१ लाख, ईपीएस ३० रुपैयाँ
काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडले नाफा बढाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा सेन्टरले ११ करोड २१ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा सेन्टरले ८ करोड ६६ लाख रुपैयाँ नाफा गरेको थियो । सेन्टरले बिहीबार चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्दै लगानी मौज्दात, आम्दानी र तरलताको अवस्था राम्रो रहेको जानकारी दिएको छ । संस्थाको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ८७ पैसा छ । १ अर्ब २८ करोड रुपैयाँ संचित कोषमा रहेको छ । हाल सञ्चालनमा रहेका कर्जा १४ करोड बढेर ६ अर्ब १४ करोड रुपैयाँ पुगेको सेन्टरले जनाएका छ । ६ महिनामा सेन्टरले ३८ करोड ३० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।