काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को थप निष्कासन (एफपीओ) संस्थागत लगानीकर्ताले पनि खरिद गर्न पाउने भएका छन् ।
मागअनुसार पर्याप्त आवेदन नपरेपछि शुक्रबारदेखि संगठित संस्थाले पनि एफपीओ किन्न पाउने भएका हुन् । अझै ३८ प्रतिशत एफपीओ बिक्री हुन बाँकी भएपछि संस्थालाई पनि खुला गरिएको सेयर निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडका प्रमुख सञ्चालन अधिकृत कमल नेपालले बताए । उनका अनुसार ६२ प्रतिशतका लागि आवेदन परेको छ ।
माघ १५ गतेदेखि बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेकोमा बुधबारसम्म १ अर्ब २० करोड १६ लाख रुपैयाँको मात्र आवेदन परेको छ । हालसम्म एफपीओका लागि ८२ हजार ११ वटा आवेदन परेका छन् । अझै ८४ करोड रुपैयाँको एफपीओ बिक्री हुन बाँकी छ । २३ लाख ९८ हजार ४०३ कित्ता एफपीओ खरिदका लागि आवेदन परेको छ ।
बीपीसीले प्रिमियमसमेत गरी प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि एफपीओ ल्याएको हो ।२ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ ।