पञ्चकन्यामाई हाइड्रोपावर आईपीओ निष्कासन गर्न पुग्यो बोर्डमा, ११ करोडको ल्याउने

काठमाडौं । पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । यसअघि आयोजना प्रभावित स्थानीयबासिन्दालाई ११ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरिसकेको छ । निष्कासन तथा बिक्रीप्रवन्धक सनराइज क्यापिटल लिमिटेड छ ।

कार्यालय सहयोगीको तलब २५ हजार ! बढाउला त ओली सरकारले कर्मचारीको तलब ?

काठमाडौं । तीब्रगतिको आर्थिक विकास र ठुला पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । यीनै महत्वकांक्षा पुरा गराउने प्रमुख हतियारका रुपमा रहेका कर्मचारीहरुको तलब वृद्धि एजेण्डा भने सरकारका लागि पेचिलो बन्दै गएको छ । यतिबेला आधिकारीक कर्मचारी युनियनको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी निकटको छ । त्यसमा पनि पुर्व एमाले निकट कर्मचारीका नेताले आधिकारीक कर्मचारी युनियनको नेतृत्व गरिरहेका छन् । उनीहरु यतिबेला तलब बढाउनुपर्ने मागसहित अर्थमन्त्री, सामान्य प्रशासनमन्त्री र स्वंय प्रधानमन्त्रीलाई दबाव दिईरहेका छन् । ‘हामीले कार्यालय सहयोगीको तलब १५ हजारबाट बढाएर २५ हजार रूपैयाँ पुर्याउन माग गरेका छौं, सोही अनुपातमा सबैको तलब बढ्नुपर्छ, सरकारले लिएको विकास र समृृद्धिको आकांक्षा पुरा गराउने अभियानका प्रमुख अस्त्र कर्मचारीको मनोबल बढाउनुपर्छ’, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष केदारप्रसाद देवकोटाले भने । उनले सामान्य प्रशासन मन्त्री, अर्थमन्त्री र प्रधानमन्त्रीलाई तलब वृद्धिका लागि आग्रह गरिसकेको जानकारी पनि दिए । ‘हामीले तलब बढाउन आग्रह गरेर आफ्ना कुरा राखिसकेका छौं, अर्थमन्त्रीले केहि बोल्नु भएको छैन, तलब बढाउने भन्ने कुरा अन्तिम समयमा गरिने हो, समृद्धिको सपना देखेको सरकारले त्यसलाई पुरा गराउने कर्मचारीको माग सम्बोधन गर्ने आश छ’, देवकोटाले भने । आधिकारीक कर्मचारी युनियनका केन्द्रिय सदस्य लेखनाथ कोइरालाले पनि कर्मचारीको तलब बढाउनेबारे आफुहरुले सबैतर्फ पहल गरेको बताए । ‘कानुनले नै प्रत्येक २ बर्षमा कर्मचारीको तलब पुनरावलोकन गर्नुपर्ने उल्लेख छ, आशा छ सरकारले कर्मचारीको तलब बढाउनेछ’, पोखरेलले भने । अर्थमन्त्रालय श्रोतले पनि तलब बढाउन कर्मचारीहरुको ब्यापक दबाव आईरहेको बतायो । ‘यो बर्ष कर्मचारीको तलब पुनरावलोकन गर्नुपर्ने समय पनि हो, समृद्धिका सच्चा वाहक पनि कर्मचारी नै हुन, तर तलब वृद्धिको बिषय अन्तिम दिनमात्रै तय हुँदै आएको छ, यसपाली पनि अन्तिम दिनमा मात्रै तलबबारे निर्णय हुन सक्छ’, अर्थमन्त्रालय उच्च श्रोतले भन्यो । सामान्य प्रशासन मन्त्रालयले पनि तलब बढाउनेबारे कर्मचारीहरुको दबाव आईरहेको स्वीकार गरेको छ । केपी ओलीले अघिल्लो कार्यकाल प्रधानमन्त्री हुँदा पनि कर्मचारीको तबल वृद्धि गरेका थिए । त्यसकै प्रभाव स्वरुप आधिकारीक कर्मचारी युनियनको निर्वाचनमा तत्कालिन एमाले निकट कर्मचारी युनियनले देशभर विजय प्राप्त गरेको थियो । यतिबेला भने सिमित श्रोत र अधिक काम गर्नुपर्ने बाध्यतामा सरकार छ । अर्थमन्त्री डा. युवराज खतिवडा आफैं आर्थिक सुशासन र मितव्ययीताका पक्षपाती देखिएका छन् । यो सरकारले कर्मचारीलाई मनाएरै आफ्ना लक्ष्यहरु पुरा गराउनु पर्नेछ ।  

बैंक र ऋणीबीचको विवाद चुलिँदै, एकै महिना २० मुद्दा दायर, दुई बैंकको उठ्यो १० करोड १५ लाख

काठमाडौं । बैंक र ऋणीहरु बीचको विवाद बढ्दै गएको देखिएको छ । एकै महिना ३ वटा बैंकले ऋणीहरु विरुद्ध २० वटा मुद्दा दायर गरेको हो । मुद्दा दायर गर्नेमा सबैभन्दा धेरै नेपाल क्रेडिड एण्ड कमर्श बैंकले ११ जना ऋणीहरु विरुद्ध मुद्दा दायर गरेको छ । यस्तै, एनआइसी एशिया बैंकले ९ जना, महालक्ष्मी बैंकले २ जना र प्रभु बैंकले २ जना विरुद्ध मुद्दा दायर गरेको हो । पछिल्लो समय ऋण असुली न्यायधिकरणको व्यस्थता लेखा प्रमुख प्रकाश कोइरालाले बताए । बैंकहरुले आधिकारीक धितो बिना नै ऋण दिनाले समस्या बढ्ने गरेको कोइरालाले बताए । उनले भने-‘अहिले ऋणीहरुले धितो लिलामी हुने डरले ऋण तिरिरहेका छन्, केहि बैंकहरुले बढी मुल्याङकन गरी ऋण प्रभाह गर्दा असुलीमा समस्या परिरहेको छ ।’ बैशाख महिनामा मात्रै न्यायाधिकरणले ३ थान मुद्दाको फैसलाबाट किनारा लगाएको छ । न्यायधिकरणले नविल बैंकको २ र हिमालयन बैंकको १ मुद्दा फैसला गरेको हो । यसैगरी, फैसलाबाट नै एनआइसी एशिया बैंकको ८ करोड र एनसीसी बैंकको २ करोड १५ लाख ९८ हजार असुली भएको छ । चालु आर्थिक वर्षमा न्यायधिकरणले ७६ वटा मुद्दाको फैसला गरेको छ । न्यायधिकरणले साउनमा २, भदौमा ३, कात्तिकमा १३, मंसिरमा ७, पुसमा १९, माघमा १०, फागुनमा ९, चैत र बैशाखमा ३ मुद्दाको फैसला गरेको हो । न्यु अनिल टेक्सटाइलले अझै तिरेन एनआइसी एसियाको ९ करोड न्यु अनिल टेक्सटाइल प्रालीले एनआईसी एसिया बैंकको ९ करोड रुपैयाँ कर्जा तिरेको छैन । कर्जा नतिरेपछि न्यायधिकरणले सञ्चालक मधुसुधन अग्रवाल र विनोदकुमार अग्रवाललाई गत चैत ७ गते पक्राउ गरेको थियो । टेक्सटाइललाई न्यायधिकरणले २०७३ माघ १० गते को एनआईसी एशियाको ९ करोड २१ लाख १० हजार रुपैयाँ भुक्तानी गर्न आदेश दिएको थियो । तर १५ महिनासम्म पनि कर्जा नतिरेपछि बैंकले अग्रवालको पक्राउ परेका थिए । पक्राउ परेका टेक्सटाइल प्रालीका सञ्चालकले रकम तिर्न नसक्ने कागज गरिसकेले उनीहरुलाई २०७५ चैत ६ गतेसम्म प्रहरीले थुनामा राख्न सक्ने श्रेस्तेदार कोइरालाले बताए ।

कारोबार रकम बढ्ने क्रम जारी, मंगलबार ५३ करोडको सेयर किनबेच

काठमाडौं । केही दिनयता सेयर बजारमा कारोबार रकम बढ्ने क्रम जारी रहेकाे छ । नेपाल धितोपत्र बोर्डले केवाईसीमा कडाई गरेपछि एक्कासी घटेको कारोबार रकम पुनः सुधारतर्फ लागेको छ । मंगलबारको सेयर बजारमा ५३ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । अघिल्लो दिनको बजारमा कुल ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कुल १६० कम्पनीको कारोबार भएको बजारमा १० लाख ४७ हजार कित्ता सेयर बिक्री भएका छन् । कारोबार संख्या र रकम दुबैको आधारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर किनबेच भएको छ । कम्पनीको ३ लाख ८५ हजार कित्ता प्रमोटर सेयर २२ करोड २४ लाख रुपैयाँमा कारोबार भएको छ । अन्ततः मंगलबारको बजार ४.३१ अंकले घटेर १३३२.८२ अंकमा झरेको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको सूचक २४ अंकले घटेको छ । उत्पादनमूलक, माइक्रोफाइनान्स र होटल समूह उकालो लागेका छन् भने बाँकी समूह ओरालो लागेका छन् ।

सुन तस्करीका नाइके गोरेलाई आजै जिल्ला अदालत मोरङमा उपस्थित गराइदै, उच्च प्रहरी अधिकारी र नेता पर्ने संभावना

काठमाडौं । सुन तस्करीका प्रमुख नाइके गोरे भनिने चुडामणि उप्रेतीलाई आजै मोरङ जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । गोरेलाई प्रहरी आज राजधानीको गौरीघाटस्थित एक होटलबाट पक्राउ गरेको हो । आजै अदालतमा उपस्थित गराएर छानविन थालिने छानविन समितिका संयोजक ईश्वरी पौडेलले जानकारी दिए । उनले गोरे ३ दिन अघि भारतबाट काठमाडौं आएका थिए । जेरी जस्तै जेलिएको यो काण्डमा उच्च प्रहरी अधिकारीका साथै नेता पनि पर्ने संभावना छ ।

३८ क्वीन्टल सुन तस्करीका प्रमुख नाइके गोरे पक्राउ

काठमाडौं । नेपाल प्रहरीले सुन तस्करीका प्रमुख नाइके गोरे भनिने चुडामणि उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपछि गोरेलाई अहिले साढे १२ बजे गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराउने भएको छ । गोरेलाई कहाँबाट पक्राउ गरिएको हो भन्ने प्रहरीले खुलाएको छैन ।

‘गतिशिल पूँजी बजार’ले लगानीकर्ता अन्योलमा

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा पूँजी बजारबारे ‘पूँजी बजारको विस्तार गरि आन्तरिक लगानी परिचालनलाई गतिशिल बनाइनेछ ।’, लेखिएको छ । पूँजी बजार सम्बन्धी सरकारको आधिकारीक धारणाबारे लगानीकर्ताले भने मिश्रित प्रतिक्रिया दिएका छन् । त्यति मात्रै होइन, गतिशिल पूँजी बजारबारे सेयर बजारका पण्डितहरु नै अन्यौलमा देखिएका छन् । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले उत्साह व्यक्त गरे । सरकारले ल्याएको निती तथा कार्यक्रमले पूँजी बजारको दिर्घकादिन विकास र विस्तारलाई समेटेको दावी गरे । उनीले अब सेयर बजारमा स्वर्णिम युग सुरुहुने दावी समेत गरे । ‘पहिलो पटक सरकारले नीति तथा कार्यक्रममा पुँजी बजारलाई यति प्रष्ट भाषामा समेटेको छ, यसले अब सेयर बजारमा स्वर्णिम युगको आरम्भ हुने अपेक्षा गरेका छौं’, नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले भने । उनले अनलाईन कारोबार सुरु हुनै लागेको, एनआरएनहरुको प्रवेशबारे गृहकार्य भैरहेको र सरकारले नीति तथा कार्यक्रमबाटै सेयर बजारको विकास र विस्तारमा ठोस काम गर्ने बताउनुलाई निकै सकारात्मक रुपले लिएको बताए । सेयर बजारका जानकार ज्योति दाहालले भने गतिशिल बनाउने भन्ने शब्दावली नै बहुअर्थी रहेको बताए । उनले सरकारको निती तथा कार्यक्रमबाट सेयर बजारका लगानीकर्ता उत्साहित हुनुपर्ने तात्विक कारण नरहेको पनि बताए । यद्यपी रियल सेक्टरका कम्पनीलाई पूँजी बजारमा प्रवेश गर्न प्रोत्साहन गर्ने र ऋण पूँजी संकलन(डिबेञ्चर र बण्ड) जारी गर्ने तर्फ नीति तथा कार्यक्रमले संकेत गरेको उनको बुझाई छ । इन्भेष्टर्स फोरमकै महासचिव राजन लम्सालले पनि नीति तथा कार्यक्रमबाट सेयर बजारका लगानीकर्ता उत्साहित हुनुपर्ने कारण नभएको बताए । ‘गतिशिल बनाउने भनेको के हो ? पुँजी बजार त सधै गतिशिल नै हुन्छ, यो अमुर्त कुरा भयो, लगानीकर्ता उत्साहित हुनुपर्ने ठोस कारण छैन, अब हामी बजेटलाई कुर्नुको विकल्प छैन’, महासचिव लम्सालले भने ।

साढे २८ करोड रुपैयाँ राख्न बैंक खोज्दै नेपाल ट्रष्ट

काठमाडौं । नेपाल ट्रष्टले आफुसंग भएको साढे २८ करोड रुपैयाँ वचत रकम मुद्धति निक्षेपमा राख्ने भएको छ । कार्यालयले मुद्धति निक्षेपमा रकम राख्नका लागि १५ दिनभित्र प्रस्ताव पेश गर्न भनेको छ । कार्यालयले निष्क्रिय कर्जा अनुपात ६ प्रतिशत भन्दा कम भएकालाई मात्र निक्षेप राख्न दिने भएको छ ।  मुद्धति निक्षेको ब्याजदर, मासिक, द्धैमाशिक, त्रैमाशिक, चौमासिक र ६ महिना र वर्ष दिनका लागि दिन सक्ने ब्याजदर तोकेर प्रस्ताव पेश गर्न भनेको हो ।

५ करोडसम्मको घर किन्ने/बनाउने योजनामा हुनुहुन्छ ? असार १ गते भृकुटीमण्डप आउनुस्

काठमाडौं । तपाई घरजग्गा किन्न वा बेच्न चाहानु हुन्छ ? तपाईले अझैसम्म उपयुत्त घरजग्गा बेच्न र किन्न पाउनु भएको छैन ? अब चिन्ता नगर्नुस तपाईको समस्या समधान गर्न राजधानीको भृकुटीमण्डपमा सातौ घरजग्गा मेलाको आयोजना हुने भएको छ । मेलामा ५ लाखदेखि ५ करोड रुर्पैयाँ सम्मको घरजग्गा किन्न, बेच्न र बनाउन चाहनेलाई लक्षित गर्दै घर जग्गा मेला शुरु हुन लागेको हो। मेलाले आधुनिक घर निर्माण परामर्श दिने छ । मेलामा घर निर्माण कसरी गर्ने ? कुन सामाग्री प्रयोग गर्ने सस्तो घर कसरी निर्माण गर्ने महंगो घर कसरी निर्माण गर्ने लगायत विषयमा परामर्श हुनेछ । घर किन्ने, बेच्ने र बनाउन चाहने सबैलाई मेला महत्वपुर्ण हुने नेपाल जग्गा तथा आवास विकास संघका महासचिव मीनमान श्रेष्ठले बताए । उनले सरकारले सरकारले जग्गा कित्ताकाटमा रोक लगाएकाप्रति असन्तुस्टी व्यक्त गर्दै उनले प्रश्न गरे अग्ला भवन पनि बनाउन नदिने जग्गा कित्ताकाटमा पनि रोक लगाउने यसरी जनताको आवास सपना कसरी पुरा हुन्छ ? श्रेष्ठले मेलामा हाउजिङदेखि जग्गाका सबै प्रकारका कारोबारमा बैंकको सेवा सुविधाबारे पनि परामर्श हने जानकारी दिए । कार्यक्रममा नेपाल इन्जिनियर एशोसियसनका अध्यक्ष हरिराम श्रेष्ठले नेपाली इन्जिनियरले पनि ठुला बहुतले भवन निर्माण गर्न सक्ने बताए । मेला असार १ देखि ५ सम्म हने आयोजकले जनाएको छ । मेलामा करिब १ लाख जनाले अबलोकन गर्ने अनुमान गरिएको छ ।

नागरिक लगानी कोषको लाभांशमा लगानीकर्ता लोभिए, सबैभन्दा बढी सेयर कारोबार

काठमाडौं । सोमबारको सेयर बजार घटेपनि लगानीकर्ता नागरिक लगानी कोषको लाभांशमा लोभिएका छन् । लगानी कोषले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २२.०६ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको हो । काेषले साेमबार बिहान मात्रै सो मात्राको लाभांश दिने घोषणा गरेको थियो । लाभांश घोषणा गरेकै दिन कम्पनीको सबैभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । दिनभर १०१ चोटी कारोबार भएको यस कम्पनीको २ करोड ४१ लाख ९३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २ हजार ७२५ रुपैयाँ रहेको छ । समग्रमाः नेप्से परिसूचक २.०६ अंकले घटेर १३३७.१३ अंकमा झरेको छ । सो दिन १६३ कम्पनीको ८ लाख ७ हजार सेयर ३५ करोड ५४ लाख रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले करिब ६ प्रतिशत गुमाएका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको सूचक ओरालो लागेको छ । बीमा ७६ अंकले ओरालो लागेको छ भने माइक्रोफाइनान्स समूह ३५ अंकले उकालो लागेका छन् । बजारमा होटल, उत्पादन र अन्य समूह सामान्य अंकले उकालो लागे पनि बाँकी समूह भने सामान्य अंकले ओरालो लागेका छन् । सोमबार नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्य ९.७१ प्रतिशतले बढेको छ । त्यस्तै, स्वरोजगार वित्तीय विकास बैंक र नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले क्रमशः ६.९४ र ६.७६ प्रतिशत कमाएका छन् ।

पुनर्बीमा कम्पनीको माइन्यूट गैर कानुनी, संस्थागत लगानीकर्ता बीमा समितिको शरणमा

काठमाडौं । नेपाल पुर्नबीमा कम्पनी लिमिटेडमा लगानी गरेका बीमा कम्पनीहरुको सेयर हिस्सा खोसिएको छ । सेयर हिस्सा खोसेर संस्थागत लगानीकर्तालाई अल्पमतमा पार्ने र सरकारले एकपक्षीय निर्णय गर्ने काम भएपछि संस्थागत लगानीकर्ताहरुले बीमा समितिमा गुहार मागेका छन् । त्यस्तै, पुर्नबीमाको साधारणसभामा भएको निर्णय विपरित अध्यक्ष महेश गुराँगाईले सत्ताको दुरुपयोग गर्दै निर्णय पुस्तिकामा फरक निर्णय लेखाएपछि यस कम्पनीमा २ अर्ब ८४ करोड रुपैयाँ लगानी गर्ने लगानीकर्ताहरु झस्किएका छन् । ‘पुर्नबीमा कम्पनीमा प्रतिनिधित्व गर्न सरकारी प्रतिनिधिहरुले साधारणसभामा भएको छलफल र निर्णय विपरित निर्णय पुस्तिका बनाएका छन् । सरकार आफैले आफ्ना साझेदार लगानीकर्ताहरुको अधिकार खोसेको छ । सरकारी प्रतिनिधिहरुले एकपछि अर्को बलजफ्ती एकपक्षीय निर्णय गर्दै आएका छन्’ सेयरधनी समेत रहेको एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने । साधारणसभाको निर्णय विपरित निर्णय पुस्तिका तयार गरिएको, बीमा कम्पनीहरुको सेयर हिस्सा खोसिएको, सञ्चालक समितिमा बीमकहरुलाई अल्पमतमा पर्ने र एकपक्षीय निर्णय सरकारले लिएको भन्दै बीमा कम्पनीहरुको संगठन नेपाल बीमक संघले बीमा समितिको ध्यानाकर्षण गराएको छ । चिरञ्जीवी चापागार्इं ‘साधारणसभामा भएको निर्णय भन्दा फरक निर्णय पुस्तिका बनाइयो, सरकारी सेयर हिस्सा यथावत राखेर बीमा कम्पनीहरुको सेयर हिस्सा घटाउने गरि प्रबन्ध पत्र र नियाबलीमा संशोधन गरियो भन्ने गुनासो बीमक संघका प्रतिनिधिहरुबाट आएको छ’ बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले भने–‘यथार्थ के भएको हो, लिखित रुपमा ल्याउनु भनेको छु ।’ यसअघि कम्पनीको प्रबन्ध पत्र र नियाबलीमा सरकारको सेयर ४३.५५ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरु, जीवन बीमा कम्पनीहरु तथा अन्य स्थापित कम्पनीहरुको ५६.४५ प्रतिशत सेयर रहने व्यवस्था थियो । सोही अनुसार कम्पनीमा ५ अर्ब रुपैयाँ लगानी भएको थियो । नयाँ कम्पनी ऐन अनुसार पब्लिक कम्पनीमा साधारण सेयर जारी गर्नै पर्ने भएपछि पुर्नबीमा कम्पनीको साधारणसभाले १६ प्रतिशत सेयर सर्बसाधारणलाई निष्काशन गर्ने निर्णय गरेको छ । गत चैत ३० गते सम्पन्न कम्पनीको साधारणसभामा सहभागी सेयरधनीहरुको अनुसार सर्वसाधारणको लागि १६ प्रतिशत सेयर जारी गर्दा सरकारको र संस्थागत लगानीकर्ता दुबैको सेयर हिस्सा समानुपातिक रुपमा घटाउने निर्णय भएको भएको थियो । तर निर्णय पुस्तिकामा अर्कै लेखियो । माइन्यूटमा सरकारी सेयर हिस्सा ४३.५५ प्रतिशत यथावत राखिएको छ भने संस्थागत लगानीकर्ताको हिस्सा ५६.४५ प्रतिशतबाट १६ प्रतिशत घटाएर सर्वसाधारणका लागि दिने र संस्थागत लगानीकर्ताको हिस्सा ४०.४५ प्रतिशतमा झार्ने गरी तयार गरिएको छ । कस्तो असर पर्छ ? महेश गुरागार्इं पुरानो सेयर संरचना अनुसार पुर्नबीमा कम्पनीमा संस्थागत लगानीकर्ताको तर्फबाट २ जना, सरकारको तर्फबाट २ जना र स्वतन्त्र १ जना गरी ५ जनाको सञ्चालक समिति बन्थ्यो । प्रबन्ध पत्र नियावली संशोधनपछि सञ्चालक समितिमा सरकारको तर्फबाट ३ जना, बीमा कम्पनीहरुको तर्फबाट २ जना, सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना र स्वतन्त्र सञ्चालक १ जना गरी ७ जनाको हुने पुर्नबीमा कम्पनीका अध्यक्ष महेश गुरागाईँले बताए । ‘सरकारको २ जना, संस्थागत लगानीकर्ताको २ जना र विज्ञ सदस्य गरी ५ जनाको सञ्चालक समिति हुँदा त यस कम्पनीमा सरकारले चाहेको निर्णय मात्र हुन्थ्यो, प्रोफेशनल निर्णय हुँदैन थियो । अब सरकारको ३ जना, संस्थागत लगानीकर्ताको २ जना मात्र सञ्चालक हुँदै कसरी प्रोफेशनल निर्णय हुन्छ ?’ एक जानकारले गम्भिर प्रश्न उठाए । साधारणसभा भन्दा क्याविनेट ठूलो साधारणसभाको निर्णयभन्दा निर्णय पुस्तिका फरक हुने गरी सेयर संरचना परिवर्तन गरिएको पुर्नबीमा कम्पनीका अध्यक्ष महेश गुरागाईले पनि स्वीकार गरे । अध्यक्ष गुरागाईँका अनुसार सरकारी सेयर र संस्थागत सेयर बराबर अनुपातमा घटाई कम्पनी ऐन २०७४ अनुसार १६ प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्ने निर्णय साधारणसभामा भएको हो । तर कुनै पनि कम्पनीमा सरकारको सेयर हिस्सा घटाउन वा बढाउन क्याबिनेटको निर्णय अनिवार्य रहेछ जगदीश दाहाल । साधारणसभाको निर्णय भन्दा क्याविनेटको निर्णय ठूलो हुने र क्याविनेटको निर्णय सबैले मान्नुपर्ने भएकोले माइन्यूटमा नयाँ कुरा लेखिएको हो । साथै, सरकारकाे सेयर संरचना घटाउनकाे लागि नेपाल सरकारसँग अनुराेध गर्ने निर्णय पनि भएकाे उनले बताए । कम्पनीको लागि साधारणसभा ठूलो कि क्याविनेट ठूलो ? अधिवक्ता जगदीश दाहालका अनुसार कुनै पनि कम्पनीको साधारणसभा निर्णय उसको कार्यक्षेत्रभित्रको लागि सर्वोपरि र अन्तिम निर्णय हो । कार्यक्षेत्र वाहिर वा कानुन विपरित साधारणसभाले निर्णय गरेको छ भने त्यसलाई अदालतले मात्र बदर गर्न सक्छ । कम्पनीको साधारणसभाको निर्णयलाई कुनैपनिनियामक निकाय वा क्याविनेटले उल्ट्याउन सक्दैन । सरकारी सेयर भएको कम्पनीको साधारणसभामा सरकारी प्रतिनिधि सहभागी भएको छ, निर्णयमा सहमति जनाएको छ भने त्यो नै सरकारको सहमति हो । यस्ता कम्पनीले साधारणसभामा पेस गर्ने प्रस्तावबारे मन्त्रालय वा मन्त्रिपरिषद्को पूर्व सहमति वा निर्णय आवश्यक भए सरकारी प्रनितिनिधिले साधारणसभा पूर्व सरकारी तहमा निर्णय गराई सोही अनुसार साधारणसभामा सेयरधनीको हैसियतले आफ्ना भनाई राख्नुपर्छ, निर्णय गराउनुपर्छ । अम्बिका पाैडेल थप सेयर निष्काशन गर्ने प्रस्ताव साधारणसभामा जाँदै गर्दा सरकारको तर्फबाट कति थप सेयर लगानी गर्ने वा नगर्ने निर्णय सरकारको तर्फबाट साधारणसभा पूर्व नै भईसक्नु पर्ने उनको भनाई छ । साधारणसभामा छलफल भई सहमति भएको विषयभन्दा वाहिर गएर माइन्यूट गर्ने अधिकार कसैसँग पनि नभएको अधिवक्ता दाहालको भनाई छ । सरकारी लगानी भएका कम्पनीहरुमा साधारण लगानीकर्ताको अधिकार पटक पटक खोसिएको र यस्ता कम्पनीहरुप्रति सार्वसाधारणको विश्वास गुम्दै गएको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताए । ‘नेपाल बैंकमा पनि सरकारले एकपक्षिय रुपमा सेयर हिस्सा ४२ प्रतिशतबाट ६४ प्रतिशत बनायो । फेरी एफपीओ जारी गरेर सरकारी हिस्सा घटाउने काम गरिदैछ । सरकारी हिस्सा बढाउँदा पनि र अहिले सरकारी हिस्सा घटाउदा पनि साधारण सेयरधनीले हकप्रद सेयर किन्ने पाउने अधिकार खेसियो । पुर्नबीमा कम्पनीमा पनि संस्थागत लगानीकर्ताको अधिकार खोसियो’ पौडेलले भने–‘यस घट्नाले सरकारसँग साझेदारीमा अगाडि बढेका र बढ्न चाहेका लगानीकर्तालाई नराम्रो सन्देश दिएको छ ।’

विदेशबाट ३७ अर्ब ९६ करोड पेन्सन आयो

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा विदेशबाट आप्रवाह हुने पेन्सन १३.९ प्रतिशत बढेको छ । गत बैंशाखसम्म विभिन्न मुलुकबाट नेपालले ३७ अर्ब ९६ करोड २२ लाख रुपैयाँ पेन्सनवापत प्राप्त गरेको छ । गत आवको सोही अवधिमा ३३ अर्ब ३१ करोड ९७ लाख रुपैयाँ पेन्सन आप्रवाह भएको थियो । गत आवमा ४५ अर्ब ५९ करोड रुपैयाँ पेन्सन नेपाल भित्रिएको थियो । यो वर्ष अझै बढ्ने देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । पेन्सन विशेष गरी वेलायत, भारतलगायत मुलुकमा काम गरेको सेनाले अवकासपछि पाउदै आएको रकम हुने ।

रुवायो लगानीकर्तालाई यूनाईटेड इन्स्योरेन्सले, बोनस पनि दिएन, हकप्रद सेयर निष्काशन गर्ने प्रयास असफल

काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई निरास बनाएको छ । कम्पनीले जेठ २७ गते साधारणसभा बोलाएको छ तर लगानीकर्तालाई लाभांश नदिने भएको छ । अघिल्लो वर्ष पनि यस कम्पनीले १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेर पछि रद्द गरेको थियो । पुर्नबीमा कम्पनीबाट आउनु पर्ने रकम कम्पनीले लिन नसकेपछि बीमा समितिले प्रोभिजन राख्न निर्देशन दिएपछि कम्पनी ३५ करोड रुपैयाँ नोक्सानमा गएको थियो । यस कम्पनीको उच्च व्यवस्थापन समिति भ्रष्ट छ भने सञ्चालक समिति पुरै अस्थिर छ । प्रवद्र्धकहरुको बीमा दावीमा भएको विवादका कारण बीमा दावी भुक्तानी, पुर्नबीमा दावी भुक्तानीमा अनेक विवाद र मुद्दाहरु चलिरहेका छन् । १ बराबर २.४ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने यस कम्पनीको नयाँ प्रयास पनि विफल भएको छ । बीमा समितिको निर्देशन पालना नगरेको, अदालतको फैसला लागू नगरेको लगायत गम्भिर विषय उठाउँदै कम्पनीले हकप्रद सेयर निष्काशनमा रोक लगाईदिएको हो । प्रमोटरले चोरबाटोबाट कमाउने तर सर्वसाधारण लगानीकर्तालाई लाभांश नदिई थप पुँजी लगानी गर्न बाध्य तुल्याउने कम्पनीको प्रयास गलत भएकोले हस्तक्षेप जरुरी भएको बीमा समिति स्रोतले बतायो । कम्पनी नियमविपरित चलेको भन्दै बीमा समितिले यस कम्पनीको अग्नी बीमा व्यवसाय रोकिदिएको छ । बीमा समितिको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीहरुले २०७५ असार मसान्तसम्म चुक्ता पुँजी १ अर्ब बनाउनु पर्नेछ । यस कम्पनीको चुक्ता पुँजी ३० करोड रुपैयाँ मात्र छ । नाफा गरेर बोनस सेयर दिने सम्भावना शुन्य रहेको यस कम्पनीका लागि हकप्रद सेयर निष्काशन गर्ने बाटो पनि बीमा समितिले बन्द गरिदिएपछि कम्पनी थप संकटतर्फ धकेलिएको छ । सीजी इलेक्ट्रोनिक्ससँग सम्बन्धित विवादमा बीमा समितिको निर्देशन तथा त्यसैलाई सदर गर्ने उच्च अदालतको फैसला कार्यान्वयन नभएसम्म हकप्रद सेयर निष्काशन अनुमति दिन नसकिने बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईको भनाई छ । हकप्रद सेयर निष्काशनको लागि बीमा समितिको अनुमतिको प्रतिक्षा गरिरहेको यूनाईटेड इन्स्योरेन्सका अध्यक्ष उदयकृष्ण उपाध्यायले बताए । बीमा समितिबाट अनुमति पाएपछि विशेष साधारणसभा गर्ने सोचसहित नियमित साधारणसभा गर्न लागिएको उनले बताए । कम्पनीको आगामी वार्षिक साधारणसभा जेठ २७ गते हुने भएको छ । सो प्रयोजनको लागि जेठ १३ देखि जेठ २७ गतेसम्म कम्पनीको बुक क्लोज हुने कम्पनीले जनाएको छ ।

सन्दिपले चट्काए सुर्यसंकरको विकेट

काठमाडौं । नेपाली बलर सन्दिप लामिछानेले मुम्बई इन्डियान्सका सुर्यसंकर यादवको विकेट लिएका छन् । तेस्रो पटक आइपिएल खेलिरहेका सन्दिपले तेस्रो विकेट लिएका हुन् । यसअघि उनले चेन्नै सुपर किगसका सुरेश रैना र ब्यङलोर विरुद्ध पनि विकेट लिएका थिए ।

लगानीकर्तालाई डबल डिजीटमा लाभांश दिने छौं- अनुपमा खुञ्जेली

अनुपमा खुञ्जेली वाणिज्य बैंकमा पहिलो प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएकी छिन् । नेपाली बैंकिङ क्षेत्रमा महिला पनि सीईओ हुन सक्छन् भनेर प्रमाणित गर्न उनी सफल भएकी छिन् । स्ट्याण्डर्ड चाटर्ड बैंक, नविल बैंक हुँदै मेगा बैंकमा स्थापनाकालदेखि कार्यरत खुञ्जेलीले एक महिनाअघि मात्र सीईओको जिम्मेबार पाएकी हुन् । अवसर र चुनौती दुबै भएको बताउने उनले आगामी ५ वर्षमा बैंकलाई अझ सबल बनाउने प्रण गरेकी छिन् । बैंकको भावी योजनामा केन्द्रीत रहेर सीईओ खुञ्जेलीसंग विकास न्युजले गरेको कुराकानी : अनुपमा खुञ्जेली, सीईओ, मेगा बैंक महिला सीईओ बनाउन ब्रेक थ्रु मेगा बैंक र अनुपमा खुञ्जेली कसले गरेको हो ? सर्बप्रथम मेगा बैंकले गर्यो । हामीभन्दा ठुलो संस्था हो । हाम्रोभन्दा यसको आयु लामो हुन्छ । त्यसकारण संस्थाले नै ब्रेक थ्रु गरेको हो । महिलालाई नेतृत्व दिन अहिलेसम्म कुनै पनि बैंक बोर्डले निर्णय गर्न सकेको थिएन । यसमा मेगा बैंकले मलाई अवसर दिएको छ । तपाई भाग्यमानी हो कि मिहेनती ? मान्छेलाई बन्न भाग्य पनि चाहिन्छ । तर मिहेनत नगरी सफलता पाइन्दैन । मेरो लागि सफलताको शुत्र भनेको अवसरको साथै कडा परिश्रम हो । यहाँ भाग्यलाई पनि जोड्न सकिन्छ । पहिले अवसर र कडा मिहेनत नै हो । मौकामा मिहेनत गरेर देखाउन सक्नुपर्छ । मिहेनत निरन्तर हुनुपर्छ । नत्र सफलता हात लाग्दैन । बैंकमा सीईओ भएपछि यहाँले कस्तो अनुभव गर्नु भएको छ ? म धेरै खुसी भएको छु । मलाई अब अवसर र चुनौती दुबै छ । त्यसमा पनि जिम्मेवारीलाई सफल र उदाहरणीय बनाउन मलाई चुनौती छ । म बैंकिङ क्षेत्रमा काम गरेको २७ वर्ष भयो । करिब ३ दशकदेखिको अनुभव लिएर अघि बढेको कारण शुरुवातदेखि यस टिमलाई मैले नजिकदेखि हेर्ने मौका पाएको छु । म मेगा बैंकको लाइसेन्स प्रक्रियादेखि नै जोडिएको हुँ । त्यसैले मलाई यो टिमप्रति विश्वास छ । भोलिको दिनको मेरो सफलता भनेको मेगा बैंकको टिमको देन हो । अहिलेको टिम राम्रो छ । टिमको क्षमतालाई हामीले बुझेर अघि बढाउन सकियो भने सफलता हात पर्छ । ठुलो संस्थामा सिस्टम ड्राइभ गर्न अथवा बसाल्नका लागि बलियो खम्बा आवश्यक हुन्छ । आजको दिनमा मेगा बैंकको खम्बा कसलाई मान्नुभएको छ ? हाम्रो बैंकिङ क्षेत्रमा विभिन्न विभागहरु छन् । अहिलेको व्यवस्थापन सिद्धान्तले पनि आफ्नो डिपार्टमेन्टमा स्मुथ्ली रन गर्न सक्ने म्यानेजर्जहरु ल्याउनु पर्छ भन्छ । मेगा बैंकको बलियो खम्बा भनेको सिनियर म्यानेजमेन्ट नै हो । टुरिजम डेभलपमेन्ट बैंकसंग मर्ज भएको छ । त्यहाँबाट पनि दक्ष जनशक्ती आएका छन् । त्यसकारण पुरै म्यानेजमेन्ट टिमको दक्षतालाई नै बैंकको खम्बा मान्छु । विगतमा पनि त्यहि थियो, अहिले पनि छ । मेगा बैंकको खम्बा अनिलकेशरी शाह हुन् । बलियो मियोको रुपमा अनिलको भूमिका रह्यो र समकालिन बैंकहरुमा मेगा अगाडी नै रह्यो । यी तर्कहरुलाई कतिको मान्नुहुन्छ ? यो तर्कलाई पुर्ण विश्वास गर्छु । जतिखेर मेगा बैंक पुर्ण रुपमा स्थापना भइसकेको थिएन । त्यसबेला हामीलाई बलियो व्यक्तित्वको जरुरी थियोे । ती सम्पूर्ण भूमिकाको निर्बाह अनिल शाहजीले गरिदिनुभयो । उहाँले एउटा दह्रो फाउन्डेशन दिनु भएको छ । भोलिको दिनमा हामीले यो बलियो फाउन्डेशनमा घर बनाउदै जाने हो । त्यसलाई सफल पार्ने जिम्मा हाम्रो हो । उहाँले जुन धरोहर छोडेर जानु भएको छ । त्यसलाई सही दिशा र गतिमा दौडाउने जिम्मेवारी पनि हाम्रै हो । उहाँले एक समय हलोदेखि हाइड्रोसम्म भनेर चलाएको अभियानबाट मेगा बैंकलाई नचिन्ने कमै होलान् । मेगा बैंकलाई उहाँले त्यो फाउन्डेशन दिनु भएको छ । अनिल शाहजीको जतिको हाइट मलाई प्राप्त हुन्छ भनेर अहिले भन्न सक्दिन । मेरो आगामी चार वर्षको कार्यकालको समीक्षा तपाईहरुले नै गर्नु हुनेछ । किनभने हाम्रो फाउण्डर सीईओ शाहाजी व्यक्तित्व र बैंकिङ क्षेत्रमा उचाई भएको जगजाहेर नै छ । हामी त्यो आधार पाएर अघि बढ्न लागेको बैंक हो । आगामी दिनमा यसलाई राम्रो गर्दै जानेछौं । नयाँ उचाइमा लैजाने कुरामा कुनै दुविधा नै छैन । अनिलजीले स्ट्रोङ फाउन्डेशन बनाइसकेको बैंकमा सफल नेतृत्व गरे/गरिन भन्ने कुरा आउँदो चार वर्षको कार्यकालमा यहाँहरुले नै समीक्षा गर्नुहुनेछ । आगामी चार वर्षमा मेगा बैंक कुन स्तरमा पुग्छ ? हाम्रो बैंक अहिले ८ वर्ष पुगेको छ । समकालिन बैंकहरुले मर्ज गरिसकेका छन् । शुरुमा हामीले सानो मर्ज गरेका थियौं । अहिले टुरिजम डेभलपमेन्ट बैंकसंग मर्ज गरेका छौँ । अब शाखा नेटवर्किङ, ब्यालेन्स साइज अझ बढ्छ । अझ द्रुत गतिमा अगाडी बढ्छौं । आगामी दिनमा बलियो, सवल, समृद्ध हुँदै मेगा बैंक यहाँहरुको विश्वास जित्दै अघि बढ्नेछ । बैंकिङ व्यवसाय भनेको विश्वासको खेती हो । यसमा आफ्नो सबै स्टेकहोल्डर्सको विश्वास जित्नु पर्छ । मुख्य गरी प्रमोटर पब्लिक सेयर होल्डरहरुलाई प्रतिफल राम्रो दिनुपर्यो । कस्टमरहरुलाई सुविधा राम्रो दिनुपर्याे । कर्मचारीहरुलाई बेस्ट इम्प्लोइको आभाश दिनुसक्नु पर्याे । सोसाइटी एट लार्जबाटै हामीले नाफा कमाएका छौं । समाजलाई पनि सामाजिक उत्तरदायित्वको आधारमा केही दिन सक्नुपर्छ । अहिले स्थिर सरकार आएको छ । देशमा नयाँ राजनीतिको शुरुवात भएको छ । हाम्रो ५ वर्षको रणनीतिक योजना (स्ट्राटेजी प्लान) तयार भइसकेको छ । बोर्डले दिएको ५ वर्षको भिजनलाई अगाडी बढाउँदै लैजाने हो । ५ वर्षको रणनीतिक योजनाको गोल के हो ? म नाफाको कुरा मात्र गर्दिन । तैपनि अहिले हामी समकालिन बैंकहरुसँगको प्रतिस्पर्धामा सबैभन्दा अगाडी उभ्याउन चाहन्छौं । आगामी चार वर्षमा हाम्रो जस्ता बीचको बैंकहरुसँग प्रतिस्पर्धामा ती बैंकहरुको ‘क्याटोगोरी’मा एक नम्बरमा आउने प्रयास गर्नेछौं । हामीसँग भएको स्ट्राटेजीज प्लान अनुसार प्रत्येक वर्ष बैंकको ग्रोथ बढिरहेको छ । मार्केटमा धेरै उत्तारचढाव आउँछ । उत्तरचढावलाई हाम्रो स्ट्राटेजीज प्लानमा इनकर्पोरेट गरेर अगाडी लाने छौं । जनता, सिभिल, सेन्चुरी मेगासंगै आएका बैंक हुन् । यीमध्येमा हामी अगाडी छौं । सबै बैंकले आफुलाई अगाडी बढाउन लागि रहेका हुन्छन् । अब त्यस्ता बैंकहरुलाई उछिनेर अघि जानु छ । टुरिजमसंगको मर्जरसँगसँगै हाम्रो भोल्युम आधा खर्ब भएको छ । हामी चार वर्षको अन्तरालमा निक्षेप परिचालन १ खर्ब रुपैयाँ पुर्याउने छौँ । हामी १० अर्ब रुपैयाँ भन्दा बढीको क्यापिटलमा जान्छौं । त्यसपछि १ खर्ब भन्दाबढीको भोल्युम जेनेरेट गर्न सक्छौँ । यो हाम्रो लक्ष्य हो । त्यतिगर्दा सेयर होल्डरलाई डबल डीजीटमा रिटर्न दिने छौँ। हाम्रो शाखा १०२ वटा बन्छ । बैंक भनेको प्रोफिट ओरिन्टेड अर्गनाइजेशन पनि हो । शाखालाई विस्तारसँगै प्रोफिट पनि जेनेरेट गर्ने छौं । मेगाको नेतृत्व र नीतिमा अस्थिरता छ भन्ने आशंकाहरु आइरहेका छन् । यसलाई तपाईले कसरी हेर्नुभएको छ ? पोलेसी लेखनमा म पहिलो दिनदेखि नै संलग्न हुनुका साथै सचेत पनि छु । सिस्टमको कुरा गर्ने हो भने हामीसँग स्ट्रोङ अप्रेशन छ । हामीसँग बलियो रिक्स युनिट छ । सरकारी इसुमा पनि वीथ कम अ लङ वे । राष्ट्र बैंकको अडिटरीमा पनि वीथ कम अ लङ वे । पहिलेभन्दा प्रगति भइरहेको छ । अडिटहरुमा पनि रिक्सको पोलिसी लगाएर अघि बढिरहेको अवस्था हो । अर्गनाइजेशनमा व्यक्तिले फरक पार्न हुँदैन भन्ने सोचबाट म अघि बढेको छु । यो अर्गनाइजेशन सिष्टम पोलीसी र प्रोसिडूयरले ड्रिभेन हुनुपर्छ । कुनै एउटा व्यक्ति परिवर्तन भएर अर्गनाइजेशन ह्याम्पर हुने, अर्गनाइजेशनमा ह्रास आउने किसिमको काम हुनुहुँदैन । त्यसैले म सिस्टमलाई विश्वास गर्छु । लिडरशिप रोलमा हामीले गर्नुपर्ने हाम्रो मुख्य दायित्व सिस्टम बलियो बनाउनु हो । सिस्टम अहिले पनि सवल छ । त्यसमा हाम्रो मिहेनत छ । त्यसको लागि हामी डे वानदेखि नै लागिपरेका छौं । मेगा बैंकका स्टेक होल्डरबाट, मुख्यगरी इन्भेस्टरहरुको तर्फबाट तीब्र आक्रोस आएको सुन्छौं । बैंकको परफरमेन्समा सन्तुष्टि छैन । बैंकले राम्रो गरेन भनेर सेयर बेच्न पाएको छैनन् । यहाँ के भन्नु हुन्छ ? म उहाँहरुको आक्रोशलाई बुझ्छु । किनभने हाम्रो शेयर ट्रेडिङ रोकेको वर्ष दिनभन्दा बढी भइसक्यो । त्यसैले पनि मेरो सबैभन्दा पहिलो दायित्व मर्जर गराउनु थियो । यो पुरा भएको छ । अब केही दिनमा सेयर कारोबार खुल्ने छ । त्यसमार्फत हाम्रो सेयरधनीको ठुलो आक्रोसलाई मत्थर गर्दै जान्छौं । कतिपय राम्रो बैंकहरुको पनि ५ सय पुगेको सेयर मूल्य घटेर ३ सय, साढे ३ सयमा कारोबार भइरहेको छ । त्यसैले पनि सेयर होल्डरहरु आत्तिएको हुन सक्छन् । तर मेगा बैंकले ८ वर्षमा दिएको रिटर्नलाई राम्रो मान्नु पर्दछ । कारोबार खुलेपछि मेगाको सेयर कति रुपैयाँमा किनबेच होला ? अहिलेको हिसाबले जाँदैन होला । किनभने सबैको सेयर मूल्य झरेको छ । देशको सेयर इन्डेक्स नै तल झरेको छ । यस्तो अवस्थामा मेगा बैंकको सेयर बढ्ने कुरा आउँदैन । आगामी दिनमा सेयर मार्केट पनि राम्रो हुँदै जाला र असारको रिजल्ट हेरेपछि विश्वास जगाउने अवस्था रहन्छ जस्तो लाग्छ । चैत मसान्तमा लोलेबल क्राइसीस र केही प्रोभिजिङले यो क्वाटरलाई मैले त्यस्तो राम्रो मानेको छैन । तर असारसम्ममा यो सबै कुरालाई पछाडि राख्दै अगाडी बढ्छौं । बैंकको जस अबजस मैले लिनुपर्छ । आगामी दिनमा पनि लिन्छु । यो परीक्षामा म खरो रुपमा उत्रिने छु । पछिल्लो अनटाइम मर्जर नहुनुमा हामी नै जिम्मेवार हौं । यसको डिलको जिम्मा पनि मैले लिनु पर्दछ । मर्जर दुई जनाबीचको विवाह जस्तो हो । जसमा फरक प्रकृतिमा आएका अर्गनाइजेशनको मान्छे मिलेर यसलाई मूर्त रुप दिने अवस्था हो । मर्जर टाइममै सक्न पाएको भए हाम्रो अर्गनाइजेशनलाई नै राम्रो हुन्थ्यो । मर्जरको दुखको दिन सबै पार गरेर हामी निस्कियौं । लगानीयोग्य पुँजीको अभाव भएपछि राष्ट्र बैंकले बाहिरबाट पैसा ल्याउन बाटो खुलाएको छ । मेगा बैंकले के गर्दै छ ? बाहिरबाट पैसा ल्याउन हामीले पनि तयारी थालेका छौ । परिवत्र्य विदेशी मुद्रामा ऋण लिएर हामीले दिने त नेपाली रुपयाँमा नै हो । त्यसको हेजीङ कस्ट पनि लाग्छ । अहिलेसम्म नेपालमा करिब ५ वर्षसम्म हेर्दा हेज गर्ने ठाँउ र संस्था पनि कमी छन् । हामीले त्यसलाई पनि विकास गर्नुपर्छ । हामी हेजमा जानुपर्छ । विदेशी मुद्रा विनिमय लिएर हिड्न सकिन्दैन । त्यसैले गर्दा हामीले पनि प्रयास गरिरहेका छौं । हेजीङ गर्ने कम्पनीहरुसँग पनि कुरा गरिरहेका छौं । बाहिरबाट परिवर्त्य विदेशी मुद्रामा ऋण लिन बाटा खुलेका छन् । यो धेरै राम्रो हो । मान्छेलाई मोटिभेशन हुनुको लागि धेरै फ्याक्टर मध्ये पैसा पनि हो । एक कमर्शल बैंकको सीईओ भइसकेपछि कति पैसा कमाइ हुन्छ ? सबै जना कमर्शियल बैंकको सीईओ हुन चाहन्छन् । राष्ट्र बैंकको मापण्डअनुसार अघि बढ्छौंं । त्यसलाई मिचेर हामी अगाडी बढ्दैनौं । बैंकका रेगुलेशन भित्रै बसेर निर्णय गरेका छौं । खाइपाई आएको घटाउन हुँदैन भन्ने वातावरणमा चल्यो । अब नयाँ सीईओ निर्धारण गर्दा तलब घट्छ । तलब निकै घट्नेछ । राष्ट्र बैंकको नियमअनुसार कति हुनुपर्छ मेगा बैंकको सीईओको तलब त्यसमै आधारित गरेर अबको तलब निर्धारण हुनेछ । एउटा बैंकको उच्चस्तरिय जिम्मेवारी लिँदै गर्दा महिलाप्रतिको तपाईको धारणा के छ ? हामी महिला पुरुषभन्दा कम छैनौं । देशमा महिलाले अवसर नपाएको हैन । अब महिलाको विकासमा महिलाकै हातमा छ । आफुले मिहेनत गर्नु सक्नुपर्यो । लगनशीलताकासाथ भिजन, मिशन र गोललाई पुरा गर्न सक्नु पर्छ । अहिले पनि हाम्रो समाजमा केही त फरक छ । जसरी घरबाट हामीले काम गर्न पठाउँदा छोरालाई सयम दिइरहेका हुन्छौं । त्यही अनुसार बुहारीलाई बिहानदेखि बेलुकासम्म घरको काम हेर्नु पर्दैन ? भनेर सोध्ने बच्चाको जिम्मेवारी वहनमा प्रश्न आउने गरिएको छ । त्यो वातावरण हुँदाहुँदै पनि अहिले अधिकांश परिवारले श्रीमान् र श्रीमती दुबैले काम गर्नुपर्छ । दुबै जना आफ्नो खुट्टामा उभिनु पर्छ । अर्थिक दृष्टिकोणले पनि परिवारलाई सहयोग हुन्छ भन्ने कुरा बुझ्दै आएको छ । अबको दिनमा महिला भएर म पछि परे भन्नुको सट्टा इक्वेल फिटीङमा आएर काम गरेर अगाडी बढ्नुपर्छ जस्तो लाग्छ । मेगा बैंकमा इक्वेल फिटीङ ट्रिटमेन्ट अहिले छ ? मेगा बैंक ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषबाट शुरु गरिएको हो । अहिले अलिकति आँकडाहरु फरक भए होला । सिनियर म्यानेजमेन्टमा हेरे पनि रविना जी, प्रज्ञा पान्डे जी हुनुहुन्छ । त्यस्तै सिनियर म्यानेजमेन्टमा हेर्ने हो भने डेनी जी हुनुहुन्छ । जेनु जीले डीपोजिट हेरिरहनु भएको छ । आउँदा दिनहरुमा धेरै महिला आउँदैछन् । हाम्रोमा मात्रै होइन ग्लोवल र सनराइजमा पनि त्यस्तै छ ।

गाउँका युवालाई स्वरोजगार बनाउन सहकारीलाई एक करोड लिन सरकारले बोलायो

काठमाडौं । सरकारले वेरोजगार युवालाई स्वरोजगार बनाउन विभिन्न सहकारी संस्थामार्फत कर्जा दिने प्रक्रिया अघि बढाएको छ ।  युवा तथा साना व्यवसायी स्वरोजगार कोषले युवालाई स्वरोजगार बनाउन सहकारी संस्थामार्फत कर्जा दिने व्यवस्था गर्न लागेको हो । कोषले १ करोड रुपैयाँसम्म थोक कर्जा लिन सहकारी संस्थालाई बोलाएको छ । कोषले सहकारी संस्थालाई आउदो असार ९ गतेसम्म थोक कर्जा लिन प्रस्ताव पेश गर्न भनेको छ । कोषबाट लिएको थोक कर्जा वेरोजगार व्यक्तिलाई व्यक्तिगत वा सामूहिक रुपमा प्रवाह गर्नुपर्ने कोषले जनाएको छ । महानगरपालिका भित्र सञ्चालन भएका सहकारीको सेयर पुँजी न्युनतम ८ लाख र सेयर सदस्य ४०० जना, सञ्चालनमा आएको २ वर्ष र नाफामा रहेको हुनुपर्ने छ । यस्तै उपमहानगरपालिकामा सेयर पुँजी ५ लाख, ३०० जना सेयर सदस्य, नगरपालिकामा सेयर पुँजी ३ लाख र सेयर सदस्य २००, गाउँपालिकामा २ लाख सेयर पुँजी र १०० सेयर सदस्य हुनुपर्ने कोषले जनाएको छ । यसैगरी नगरपालिकामा उत्पादनमुलक २ लाख, गाउँपालिकामा उत्पादनमुलक १ लाख र दुर्गमा जुम्ला, हुम्ला, कालिकोट, मुगु, अछाम, बझाङ, बाजुरा र जाजरकोटमा सञ्चालनमा रहेका सहकारीको सेयर पुँजी १ लाख रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको हो । गत असारसम्म नोक्सन नभएको, भाखा नाघेको ऋण कुल लगानीको ५ प्रतिशत बढी नभएको हुनुपर्ने छ ।    

अब मर्चेन्ट बैंकरको पनि आईपीओ, सीबीआईएल क्यापिटलले निष्कासन गर्दै

काठमाडौं । सीबीआईएल क्यापिटल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । चुक्तापुँजी बढाउन सीबीआइएलले आईपीओ निष्कास गर्न लागको हो । १५ प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको सीबीआईएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहालले बताए । उनले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको जानकारी दिए । सीबीआईएलको गत बैशाख ११ गते सम्पन्न विशेष साधारणसभाले आईपीओमा जाने प्रस्ताव पारित गरेपछि प्रक्रिया अघि बढेको दाहालले बताए । धितोपत्र बोर्डले मर्चेन्ट बैंकरको चुक्तापूँजी बढाएर २० करोड रुपैयाँ पुर्याउनु पर्ने वाध्यकारी व्यवस्था गरेपछि आईपीओमा जान लागेको हो । आईपीओ निष्कासन गर्नेमा सीबीआईएल पहिलो मर्चेन्ट बैंकर हुने छ । मर्चेन्ट बैंकरलाई आईपीओमा जान वाध्यकारी गराइएको छैन् । हाल सीबीआइएलको चुक्तापुँजी १७ करोड रुपैयाँ छ । सीबीआइएलमा सिटिजन्स बैंकको ६८.९४ प्रतिशत स्वामित्व रहेको छ । बाँकी व्यवसायी घरनाको लगानी छ । सीबीआईएलको आईपीओ निष्कासनको बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकर लिमिटेड रहेको छ । कम्पनीले २० प्रतिशत आईपीओ निष्कासनका लागि स्वीकृति मागेकोमा धितोपत्र बोर्डले १५ प्रतिशत मात्र दिएको छ । सीबीआईएलले अघिल्लो वर्ष सेयरधनीलाई १० र यो वर्ष ५ प्रतिशत लाभांश दिएको छ । नागरिक लगानी कोषको ७५ हजार कित्ता संस्थापक सेयर बिक्री भएपछि मात्र सीबीआईएलले सेयर निष्कासनको अनुमति पाउने छ । कोषको ७५ हजार कित्ता सेयर किन्न कर्मचारी संचय कोष तयार भइसकेको छ । धितोपत्र निष्कासन नियमावलीमा एउटा मर्चेन्ट बैंकरको सेयर लगानी अर्को मर्चेन्ट बैंकरमा नहुने व्यवस्था गरेपछि कोषले स्वामित्व संचय कोषलाई बेच्न लागेको हो ।      

नक्कली स्टिकर प्रकरणः कुलेश्वरका तीन जना व्यापारीलाई पक्राउ गर्न सीआइबीलाई राजश्वको पत्र

वीरगञ्ज । मदिराको बिर्कोमा टाँस्ने राजश्वको नक्कली स्टिकर प्रकरणमा थप तीन जना अनुसन्धानको दायरामा आएपछि उनीहरुमाथि छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सिआइबी) लाई अनुरोध गरेको छ । उक्त प्रकरणमा थप तीन जना अनुसन्धानको दायरामा आएपछि उनीहरुमाथि छानबिन गर्न आन्तरिक राजश्व कार्यालय पर्सा वीरगञ्जले सिआइबीलाई अनुरोध गरेको हो । नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका अन्य अभियुक्तसँगको बयानका आधारमा काठमाडौं कुलेश्वरका थप तीन जनालाई पक्राउ गरी आवश्यक छानबिन गर्न सिआइबीलाई पत्राचार गरेको आन्तरिक राजश्व कार्यालय पर्साले जनाएको छ । ती व्यक्तिहरुको नाम सार्वजनिक गरिए फरार हुने भएकोले नाम सार्वजनिक नगरिदिन आन्तरिक राजश्व कार्यालय पर्साले आग्रह गरेको छ । सो प्रकरणमा हाल चारजना आवश्यक कारबाहीका लागि वीरगञ्ज कारागारमा राखिएका छन् भने प्रमोद दवाडी, सुगम सापकोटा तथा प्रकाश सापकोटालाई बयान गरी छाडिएको बताइएको छ । बयान दिने व्यक्तिले अन्य व्यक्तिको नाम समेत सार्वजनिक गर्ने गरेकाले अनुसन्धान लम्बिदै गएको हो तर आउँदो असार मसान्तभित्र नक्कली स्टिकर प्रकरणको मुद्दा छिनोफानो हुने प्रमुख कर अधिकृत गोपिकृष्ण कोइरालाले बताए । नक्कली स्टिकर छाप्ने भारतीय कम्पनीको नामसमेत खुली सकेकाले ती कम्पनीलाई छानबिनको दायरामा ल्याउन राजश्व विभागलाई पत्राचार गरेको भन्दै प्रमुख कर अधिकृत कोइरालाले भने, “विभागले परराष्ट्र मन्त्रालयमार्फत अघि बढ्ने छन् ।” विसं २०७४ भदौ १९ गते राजधानीको हरिओम ट्रेडिङ प्रालिले भारतको कलकताबाट करिब तीन करोड ५० लाख मूल्य बराबरको ८६ हजार ४७० थान नक्कली स्टिकर वीरगञ्ज भन्सारको वैधानिक च्यानलबाट नेपाल भित्र्याइरहेको बेलामा पक्राउ परेको थियो । हिमालय रोडबेज नामक ढुवानी कम्पनीका कर्मचारी छिमेकी भारत रक्सौलका वीरेन्द्रकुमार महतो नक्कली स्टिकरसहित पक्राउ परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सिआइबी) ले अनुसन्धानको क्रममा स्टिकर आयातकर्ता कम्पनीका सहयोगी विराटनगरका प्रकाश घिमिरे, धादिङ धुनीबेँसीका राजकुमार भण्डारी, हरिओम ट्रेडिङ कम्पनीका सञ्चालक कूलप्रसाद राजभण्डारी, हिमालयन कार्गोका सञ्चालक विनोदकुमार गुप्तालाई पक्राउ गरेका थिए । आन्तरिक राजश्व विभागले प्रायः गरी ग्लोबल टेण्डरमार्फत इण्डोनेसियाबाट मदिराको स्टिकर छपाउने गरे पनि यस प्रकारको स्टिकर पहिलो पटक भारतको कलकतामा छपाएको फेला परेको हो । आन्तरिक राजश्व विभागले हालसम्म भारतबाट यस प्रकारको कुनै स्टिकर नछपाएकाले पक्राउ परेका उक्त स्टिकर नक्कली भएको बताइएको छ । पक्राउ परेकासँग बयान पश्चात जनही सात करोडको धरौटी माग गर्दा धरौटी बुझाउन नसकेपछि विनोदकुमार गुप्ता बाहेक सबैलाई पूर्पक्षका लागि वीरगञ्ज कारागारमा राखिएको जनाएको छ । गुप्ता भने सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि तत्कालीन प्रधानन्यायधीश गोपाल पराजुलीको इजलासको आदेशबाट रिहा भएका थिए । पक्राउ परेकासँग पटक÷पटक बयान लिने क्रममा थप तीन जनाको नाम आएकाले उनीहरुको खोजी भइरहेको बताइएको छ । सो नक्कली स्टिकर बजारमा गएको भए सरकारलाई करीब चार करोड राजश्व घाटा हुने थियो ।

करको दर र दायरा बढाउन अर्थमा तीन वटा गोप्य समूह सक्रिय, कहाँ कहाँ बढ्दैछ ?

काठमाडौं । कार्यभार सम्हाल्दा नै अर्थतन्त्रको मुहान सफा गर्ने घाेषणा गरेका अर्थमन्त्री डा. युवराज खतिवडाले तीन वटा गोप्य समूह बनाएर अध्ययन तीब्र पारेका छन् । आगामी आर्थिक बर्षको बजेट निर्माणमा जुटेका अर्थमन्त्री डा. खतिवडाले तीन वटा गोप्य समूह बनाएर करको दर र दायरा वृद्धिबारे व्यापक अध्ययन थालेका हुन् । ‘बिभिन्न समूहहरु गठन गरेर करको दर र दायरा बढाउने बारे विस्तृत अध्ययन भैरहेको छ, आ-आफ्नो क्षेत्रका विज्ञहरुले क्षेत्रगत काम गरिरहनु भएको छ’, अर्थमन्त्रालय उच्च श्रोतले भन्यो । अर्थमन्त्रालयले भन्सार विन्दुमा कडाईको उपाय, करका नयाँ क्षेत्र पहिचान, दर बढाउन सकिने क्षेत्रबारे अध्ययन गर्न छुट्टा छुट्टै समूह बनाएको हो । अत्यन्त गोप्य रुपमा अध्ययनको काम भैरहेको अर्थमन्त्रालय श्रोतले बतायो । ‘संघियता कार्यान्वयन र बामपन्थी सरकारको घोषणा पत्रका महत्वकांक्षी विकासे योजना अघि बढाउन राजश्व संकलनको आधार बढाउनै पर्ने बाध्यता छ, त्यसका लागि अनौपचारिक अर्थतन्त्र नियन्त्रणको उपाय खोजी भैरहेको छ’, श्रोतले भन्यो । अर्थतन्त्रको मुहान सफा गरिन्छ, निजी क्षेत्रले जिम्मेवार करदाताको भूमिका निभाओस्-अर्थमन्त्री अब मेन पावर व्यवसायी, जग्गा दलाल, शैक्षिक परामर्श दिने कन्सल्टेन्सी, वकिलको फर्म, इञ्जिनियरिङ फर्म, सञ्चार माध्यमहरुलाई करको दायरामा ल्याउने तयारी थालेको श्रोतले बताएकाे छ । भन्सारमा हुने चुहावट नियन्त्रण, न्युन बिजिकरण, भ्याटको सफल कार्यान्वयन, आयकरको दायरा विस्तार, अन्तशुल्कको स्टिकर लगायतका क्षेत्रमा व्यापक कडाई गर्ने तयारी अघि सारेको छ । हरेक घन्टा मेरो आँखा भन्सार बिन्दुमा पुगेको छ, त्यहाँको गतिविधी सीसी टीभीबाट हेरिरहेको छु : अर्थमन्त्री खतिवडा प्रा.डा. मदन कुमार दाहालले २५ प्रतिशत आयातलाई मात्रै विद्यमान कर प्रणालीले फेला पार्ने गरेको बताए । ‘आयातको २५ प्रतिशत समानलाई मात्रै भन्सारले ट्रयाक गर्छ, अब आफैं बुझ्नुस् हाम्रो अर्थतन्त्र कस्तो छ ?’, प्रा.डा. दाहालले भने । अर्थमन्त्रालयको राजश्व महाशाखाका प्रमुख रामशरण पुडासैनीले संघियताको कार्यान्वयन र नागरिकको तीब्र विकासको आकांक्षा पुरा गराउन करको दायरा फराकिलो बनाउनुपर्ने अवस्था रहेको बताए । ‘हामी अथाह दायित्व बोकेर बसेका छौं, खर्च बढेको छ र विकासको महत्वकांक्षा पनि थपिएको छ, यस्तो अवस्थामा राजश्वको दायरा व्यापक बढाउनुपर्ने चुनौती छ’, राजधानीमा आयोजित एक कार्यक्रममा पुडासैनीले भनेका थिए ।

मर्चेन्ट बैंकरको दबावमा एफपीओको मूल्य घटाउँदै नेपाल बैंक, ३१० कि २८० ?

काठमाडौं । मर्चेन्ट बैंकरहरुको दबावमा नेपाल बैंकले थप निष्कासन (एफपीओ)को मूल्य आफँैले घटाउन लागेको छ । मर्चेन्ट बैंकरहरु मिलेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीको प्रत्याभूति (अण्डरराइटिङ) दवाव दिएपछि नेपाल बैंकले बिहीबार पुनः दोस्रो पत्र पठाइ उनीहरुसंग नयाँ दररेट मागेको हो । यसअघि गत बैंशाख २१ मा प्रस्ताव आव्हान गर्दा सीबीआईएल क्यापिटल लिमिटेडले कमिशन र शुल्क कटाएर २९७ मा अण्डराइटिङ गर्न प्रस्ताव गरेको थियो । शुल्क, कमिशन हटाउँदा एफपीओको मूल्य प्रतिकित्ता ३१० रुपैयाँ हुन्छ । सिद्धार्थ क्यापिटल लिमिटेडको अगुवाइमा मर्चेन्ट बैंकरले प्रतिकित्ता २८० रुपैयाँ भन्दा बढीमा अण्डरराइटिङ नगर्ने अडान लिएपछि घटाउनका लागि दोस्रो पटक प्रस्ताव मागेको बैंक स्रोतले बतायो । सिद्धार्थको अगुवाइमा अहिले एउटै प्रस्ताव बनाएर बैंकमा पेश गर्ने तयारी भएको स्रोतले जानकारी दियो । प्रतिकित्ता ३१० रुपैयाँसम्ममा किन्ने प्रस्ताव गरेको सीबीआईएलले एफपीओको मूल्य घटाउन कार्टेलिङमा भाग लिन नमानेको स्रोतको भनाई छ । धितोपत्र बोर्डले निर्धारण गरेकोे बैंकको पुँजीकृत भएको आम्दानी, प्रति सेयर खुद सम्पत्तिको बजार मूल्य, १८० दिनको औसत बजार मूल्य र भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य समेतलाई आधार मान्दा बैंकको एफपीओको मूल्य प्रतिकित्ता ३१० हुने स्रोतले बतायो । बैंकले प्रस्ताव गर्दा सोही दरमा १०० प्रतिशत अण्डरराइटिङ गर्न भनेपछि बैंकले मर्चेन्ट बैंकसंग प्रस्ताव मागेको थियो । बोर्डले नै सोही दरमा १०० प्रतिशत अण्डरराइटिङ गर्न भनेपछि उसले स्वीकार गरेको स्रोतको भनाई छ । यद्यपी औपचारिक रुपमा स्वीकृति भने दिन बाँकी छ । साधारण सेयर (आईपीओ) को ५० प्रतिशत मात्र अण्डरराइटिङ गरे पुग्छ । तर एफपीओको भने सीमा तोकिएको छैन् । सीबीआईएलले ४ प्रतिशत कमिशन शुल्क घटाउँदा प्रतिकित्ता २९७ रुपैयाँमा एफपीओ अण्डरराइटिङ गर्ने भनेको छ । सीबीआईएलको भन्दा कम मूल्यमा एफपीओको प्रत्याभूति गर्न नपाइने बैंक स्रोतको भनाई छ । बैंकको एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले चुक्तापुँजी बढाउन १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँको एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । गत फागुन २५ गते सम्पन्न बैंकको ५८औं वार्षिक साधारणसभा पुँजीगत रुपमा अझ मजबुत बन्नका लागि एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने गरी एफपीओ सेयर संरचना सभाले पारित गरेको छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व रहनेछ । बैंकले गत चैतसम्म २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।