धितोपत्र बोर्डले माथिल्लो तामाकोसीलाई आईपीओ निष्कासन गर्न दियो अनुमति, २६४ करोडको आउने

काठमाडौं । धितोपत्र बोर्डले निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बिहीबार आयोजना प्रभावित दोलखावासी र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । केही दिनभित्रै प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दालाई १० प्रतिशत अर्थात १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता र सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता सेयर निष्कासन गरी ०७२ जेठ २९ गते बाँडफाँड भइसकेको छ । तामाकोसीमा कर्मचारी संचय कोष, नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषको लगानी छ । ४५६ मेगावाटको सो आयोजना १ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

विदेश पढ्न जाने विद्यार्थीलाई १४ प्रतिशत कर थपियो

काठमाडौं । सरकारले उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यर्थीहरुमा कर थपिदिएको छ । आगामी आर्थिक बर्षको बजेटले मार्फत उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीहरुलाई भ्याट र २ प्रतिशत शिक्षा सेवा शुल्क लगाएको हो । यस अघि विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले विदेशी मुद्रा सटही गर्दा १ प्रतिशत सेवा शुल्क मात्र लिइन्थ्यो । ‘विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क बापत विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो सटही रकममा दुई प्रतिशत शिक्षा सेवा शुल्क लगाइने र असुल उपर गरिनेछ ।– आर्थिक बिधेयक २०७५ मा लेखिएको छ । त्यस्तै, अब शैक्षिक परामर्श उपलब्ध गराउने कन्सल्ट्यान्सीहरु भ्याटको दायरामा तानिएका छन् । उनीहरुले विद्यार्थीसँग असुल्ने सेवा शुल्कमा १३ प्रतिशत भ्याट तिर्नुपर्नेछ । सो भ्याट समेत विद्यार्थीहरुबाटै असुलिेनछ । ‘कन्सल्ट्यान्सीहरुले विद्याथीबाट लिने सेवा शुल्कमा १३ प्रतिशत भ्याट लिने व्यवस्था गरिएको हो, एक प्रतिशत शिक्षा सेवा शुल्क पनि वृद्धि गरेका छौं’, अर्थमन्त्रालयका राजश्व सचिव शिशिर ढुंगानाले भने । विदेश पढ्न जाने नेपाली विद्यार्थीहरुले सटही गरेको विदेशी मुद्राको २ प्रतिशत शिक्षा सेवा शुल्क तिर्नु पर्छ । त्यस्तै, कन्सल्ट्यान्सीलाई बुझाएको सेवा दस्तुरमा १३ प्रतिशत भ्याट तिर्नुपर्छ । हाल युरोपियन देशहरुमा उच्च शिक्षा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुबाट कन्सल्ट्यान्सीहरुले एक हजार डलर सेवा शुल्क लिँदै आएका छन् । युरोपियन देशका शैक्षिक संस्थाहरुले उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी पठाउँदा कमिसन नदिने भएकाले एक हजार डलरसम्म सेवा शुल्क उठाउँदै आएका छन् । अन्य देशहरुका हकमा भने २५ हजारसम्म सेवा शुल्क तोकिएको छ । विद्यार्थीहरुले युरोपियन मुलुकमा अध्ययनका लागि जाँदा १३ डलर भ्याट वापत १३० डलर बुझाउनुपर्छ । त्यस्तै, ती देशमा जाँदा लाग्ने १२।१५ लाखको रुपैंयाँको २ प्रतिशत शिक्षा सेवा शुल्क तिर्नुपर्छ । त्यस बाहेक भाषा अध्ययनका लागि तिरिएको रकममा पनि भ्याट भने तिर्नुपर्नेछ ।

सेयर बजार २५ अंक घट्यो, लगानीकर्तामा अर्थमन्त्री डा. खतिवडाको त्राश कायमै

काठमाडौं । सरकारले बोनस र हकप्रद सेयरको आधार मूल्यमा लगाएको लाभकर हटेपनि लगानीकर्ता विश्वास नबढ्दा बिहीबारको सेयर बजार २५ अंक घटेको छ । बुधबार लाभकर तत्कालका लागि हटेपछि १३ अंकले बढेको बजार बिहीबार भने घटेको छ । बजार पुनः घट्न थालेकाले लगानीकर्तामा लाभकरको त्राश अझै कायम रहेको देखिन्छ । अर्थ मन्त्रालयले लाभकरको विषयमा अध्ययन गर्न सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । अध्ययन समितिले कस्तो सुझाव सरकारलाई दिन्छ ? र त्यसपछि सरकारले लाभकरको विषयमा लिने निर्णको विषयमा लगानीकर्तामा मनोवैज्ञानिक त्रास अझै कायम रहेको एक ब्रोकरले बताए । समितिले दिने सुझाव र त्यसपछि सरकारले लिने निर्णयलाई बजारले पर्खेर बसेको अवस्था रहेको ती ब्रोकरको भनाई छ । लगानीकर्ताले भनेको जस्तै गरी सरकारले लाभकार हटाउँछ की हटाउँदैन भन्ने त्राश लगानीकर्तामा रहेको ती ब्रोकरको भनाई छ । समग्रमा बिहीबारको बजार २५.६८ अंकले घटेर १२५७ अंकमा झरेको छ । कुल १६६ कम्पनीको ४६ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मेगा बैंकको सबैभन्दा बढी २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् । बीमा समूह १७४ अंकले घटेको छ । त्यस्तै, फाइनान्स समूह ५ अंकले घटेको छ भने बाँकी समूहको सूचक दोहोरो अंकले घटेको छ । बिहीबार सबैभन्दा बढी नागबेली लघुवित्त विकास बैंकको सेयर मूल्य ७.६६ प्रतिशतले घटेको छ । अघिल्लो दिनको तुलनामा समता माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा बढी ३.९६ प्रतिशतले बढेको छ ।

सडक विभागको प्रष्टिकरणः काम नगर्ने ठेकेदारलाई पक्राउ गर्न भनेका छैनौं

काठमाडौं । सडक विभागले काम नगर्ने ठेकेदारलाई पक्राउ गर्न सिफारिस नगरेको स्पष्ट पारेको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मार्फत समयमै सम्पन्न नगर्ने ठेकेदारहरुलाई पक्राउ गर्न आजै प्रहरीलाई पत्राचार गरेका बेला विभागको यस्तो प्रतिकृया आएको हो । सडक विभागले भने काम नगर्ने ठेकेदारहरुलाई पक्राउ गर्न आफुहरुले सिफारिस नगरेको स्पष्ट पारेको हो । सोमबार सडक विभागमै आयोजित पत्रकार सम्मेलनमा विभागका प्रवक्ता मुक्ति गौतमले काम नगर्ने ठेकेदारलाई पक्राउ गर्न कसैलाई पत्राचार नगरेको बताएका हुन् । ‘ठेकेदारसँग सडक विभागले सम्झौता गर्ने हो, काम गरे पुरस्कार गर्ने र नगरे कारवाही गर्ने हाम्रो आफ्नै नियम छ, हामी त्यहि अनुसार गरिरहेका छौं, कुनै ठेकेदारलाई पक्राउ गर्न भनेका होइनौं’, सडक विभागका प्रवक्ता गौतमले भने । उनले काम नगर्ने ठेकेदारहरुलाई हर्जना तिराउनेदेखि ठेक्का रद्ध गर्नेसम्मको अधिकार विभागसँग रहेको र त्यस्ता ठेकेदारलाई कारवाही गर्ने काम विगतदेखि नै जारी रहेको तर पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयलाई नभनेको स्पष्ट पारेका हुन् । ‘जिल्ला प्रशासनहरुले व्यवसायीहरुको कामको अवस्था के छ ? विवरण दिनुस भन्नुभयो, मातहतमा भएको कामको प्रगति विवरण पठाएका मात्रै हौं, त्यो भन्दा बढि केहि पनि गरेका छैनौं, प्रगति विवरण पठाइएको छ मात्रै भनेका छौं’, प्रवक्ता गौतमले भने । बालाजु त्रिशुली सडकको निर्माण ठेक्का पाएको आल्भाली सैलुङ निर्माण सेवासँग १८ लाख ६८ हजार जरिवाना तिराएको र अब प्रतिदिन एक लाख ५० हजार जरिवाना असुल्ने निर्णय भएको बताए । नगरकोट भक्तपुर सडकमा ७ लाख जरिवाना तिराएको जानकारी पनि दिए । पप्पु कन्स्ट्रक्सनसँग कोहलपुर नेपालगञ्ज सडकमा ४ करोेड जरिवाना लिएको पनि बताए । विभागले काम नगर्ने ठेक्का तोड्ने काम पनि भैरहेको बताए । उनले ठेक्का सम्झौता अनुसार मात्रै कारवाही गर्न सकिने समेत स्पष्ट पारे । ‘सडक विभागले केहि गरेकै छैन भन्ने जस्तो देखिन आयो, ठेक्का सम्झौतामा जे व्यवस्था छ, ऐनमा जे व्यवस्था छ, त्यो भन्दा बाहिर जान सक्दैनौं, त्यो अनुसार हामी कारवाही गरिरहेका छौं ।’, प्रवक्ता गौतमले भने । भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठले रुग्ण ठेकेदारहरुलाई कारवाही प्रक्रिया पनि अघि बढाएको बताए ।

लाभकर व्यवस्था फिर्ता भएपछि लगानीकर्ता उत्साहित, नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं । सरकारले लाभकरकाे नयाँ व्यवस्था फिर्ता गरेपछि सेयर बजारका लगानीकर्ता उत्साहित भएका छन् । जसकारण बुधबारको सेयर बजार दोहोरो अंकले बढेको छ । लगातार दुई दिन पछि खुलेको बजारमा नेप्से परिसूचक १३.९१ अंकले उकालो लागेर १२८२ अंकमा पुगेको छ । दिनभर करिब २ घण्टा खुलेको बजारमा १३८ कम्पनीको २३ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको ३ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अर्थ मन्त्रालयका अधिकारी र लगानीकर्ताबीच बुधबार भएको वार्तामा तत्काल लाभकर नलगाउने सहमति भएको हो । उक्त सहमतिपछि लगत्तै खुलेको बजारमा एकाएक हरियाली छाएको थियो । करिब आधा घण्टामै २३ अंकले उकालो लागेर १२९५ अंकमा पुगेको बजार त्यसपछि घटेर बजार बन्द हुँदा १२८२ अंकमा पुगेको छ । बजारमा अन्य समूह बाहेक कारोबारमा आएका सबै समूह हरिया भएका छन् । ९ समूहमध्ये सबैभन्दा बढी बीमा समूह १४४ अंकले उकालो लागेको छ । सरकारले आइतबारदेखि बोनस र हकप्रद सेयरको आधार मूल्यमा कर लगाउने भएपछि लगानीकर्ता आन्दोलनमा उत्रिएका थिए । उनीहरुले सोमबार र मंगलबारको सेयर कारोबार ठप्प पारेका थिए ।

लाभकर सम्बन्धित नयाँ व्यवस्थाबाट सरकार पछि हट्यो, अाजै सेयर काराेबार हुने

काठमाडौं । सरकारले बोनस सेयर र हकप्रद सेयरको आधार मूल्यमा लगाएको लाभकर सम्बन्धी नयाँ व्यवस्था फिर्ता लिएको छ । अर्थ मन्त्रालयका अधिकारी र लगानीकर्ताबीच भएको वार्तामा तत्काल लाभकर नलगाउने सहमति भएको हो । सरकारले लाभकर सम्बन्धित नयाँ व्यवस्था फिर्ता लिन सहमत भएको नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले बताए । अर्थमन्त्रालयले आइतबारदेखि लगाएको नयाँ लाभकर फिर्ता लिनका लागि आन्तरिक राजश्व कार्यलयलाई पत्राचार गरिसकेको छ । अर्थले मंगलबार सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदन आएपछि नयाँ व्यवस्था गर्ने सहमति भएको हो । अहिले बोनस र हकप्रदमा लागेको लाभकर फिर्ता गर्न अर्थ सहमत भएको उनले जानकारी दिए । मन्त्रालयबाट औपचारिक रुपमा पत्राचार भएपछि कारोबार खुल्ने रौनियारले बताए । उनकाअनुसार बजार आजै खुल्ने संभावना रहेको छ ।

लगानीकर्ताको आन्दोलनलार्ई काँग्रेसको साथ, सेयर बजारमा लागेको कम्युनिष्ट कर फिर्ता लिन दवाव

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बोनस सेयर र हकप्रद सेयरको आधार मूल्यमा लाभकर लगाउने निर्णको विपक्षमा उभिएको छ । काँग्रेस प्रवत्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै नाफा कमाउदा मात्र कर तिर्नुपर्नेमा नाफाघाटाको यकिन नभई कर तिर्नुपर्ने नीति गलत भएको टिप्पणी गरेका छन् । सेयर मार्केटमा कम्युनिस्ट कर लागु भएको उनको तर्क छ । “नाफा कमाउंदा कर तिर्नु पर्छ । तर नाफाघाटा टुंगो हुनु अघिनै कर तिर्नुपर्ने, सेयर मार्केटमा पसेको जनवादी बौद्धिकताको यो नितिले समृद्धिको यात्रालाई किमार्थ सघाउ पुर्याउदैन” उनले भने । बोनस सेयर र हकप्रद सेयरको आधार मूल्यमा लाभ कर लागेपछि सोको विरुद्धमा लगानीकर्ता आन्दोलित भएका छन् । लगानीकर्ताले सेयर कारोबार समेत बन्द गराएका छन् ।

सेयर कारोबार खुला : ब्रोकर एसोसियसन

काठमाडौं । लगानीकर्ताले सेयर बजार बन्द हुने बताइरहेका बेला ब्रोकरले कारोबार खुला रहेको जानकारी गराएका छन् । स्टक ब्रोकर एसोसियसन अफ नेपालले आज बिहान प्रेश विज्ञप्ति जारी गरी सेयर कारोबार खुला रहेको जानकारी गराएको हो । एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मी र महासचिव सन्तोष मैनालीद्धार हस्ताक्षरित विज्ञप्तिमा मंगलबार पनि कारोबार खुला भएको जानकारी गराइएको छ ।  सरकारले बोनस सेयर र हकप्रद सेयरमा लगाएको लाभकरको विरुद्धमा आज वुधबार पनि लगानीकर्ताले सेयर कारोबार ठप्प पार्ने बताएका छन् ।

आज पनि सेयर कारोबार ठप्प पार्ने, लगानीकर्ता धर्ना दिन धितोपत्र बोर्डमा

काठमाडौं । सरकारले बोनस सेयर र हकप्रद सेयरमा लगाएको लाभकरको विरुद्धमा आज वुधबार पनि लगानीकर्ताले सेयर कारोबार ठप्प पार्ने भएका छन् ।  सरकारले लाभकर नहटाएसम्म कारोबार ठप्प पार्ने नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले बताए । उनले बुधबार पनि सेयर कारोबार नहुने र ब्रोकर कार्यलयमा अनुगमनमा जाने उनले बताए । लगानीकर्ताले बिहान धितोपत्र बोर्डमा धर्ना दिने भएका छन् । मंगलबार कारोबार ठप्प पारे थिए । माग पुरा नभएसम्म सेयर कारोबार हुन नदिने लगानीकर्ताको भनाई छ । यता सरकारले लाभकरको अध्ययन गर्न समिति गठन गरेपनि लगानीकर्ताले यसलाई अस्वीकार गर्दै आन्दोलन चर्काउनले बताएका छन् । अर्थमन्त्रालयका राजश्व सचिव शिशीर ढुङानाले प्रतिवेदन नआएसम्म लाभकरको निर्णय फिर्ता नहुने स्पष्टपारेका छन् ।

मर्चेन्ट बैंकर सीबीआईएल क्यापिटल आईपीओ निष्कासन गर्न धितोपत्र बोड पुग्यो

काठमाडौं । सीबीआईएल क्यापिटल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । चुक्तापुँजी बढाउन सीबीआइएलले आईपीओ निष्कास गर्न लागेको हो । १५ प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । सीबीआईएलको गत बैशाख ११ गते सम्पन्न विशेष साधारणसभाले आईपीओमा जाने प्रस्ताव पारित गरेपछि प्रक्रिया अघि बढेको हो । धितोपत्र बोर्डले मर्चेन्ट बैंकरको चुक्तापूँजी बढाएर २० करोड रुपैयाँ पुर्याउनु पर्ने वाध्यकारी व्यवस्था गरेपछि आईपीओमा जान लागेको हो । आईपीओ निष्कासन गर्नेमा सीबीआईएल पहिलो मर्चेन्ट बैंकर भएको छ । मर्चेन्ट बैंकरलाई आईपीओमा जान वाध्यकारी गराइएको छैन् । हाल सीबीआइएलको चुक्तापुँजी १७ करोड रुपैयाँ छ । सीबीआइएलमा सिटिजन्स बैंकको ६८.९४ प्रतिशत स्वामित्व रहेको छ । बाँकी व्यवसायी घरनाको लगानी छ । सीबीआईएलको आईपीओ निष्कासनको बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकर लिमिटेड रहेको छ । कम्पनीले २० प्रतिशत आईपीओ निष्कासनका लागि स्वीकृति मागेकोमा धितोपत्र बोर्डले १५ प्रतिशत मात्र दिएको छ ।

युनिभर्सल पावर कम्पनीले २१ करोडको आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित यूनिभर्सल पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डबाट स्वीकृति पाएपछि आईपीओ निष्कासन हुनेछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । यूनिभर्सलले आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकका लागि सिद्घार्थ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । प्रथम चरणमा जारी पूँजीको १० प्रतिशत आयोजना प्रभावित दोलखा जिल्लाका स्थानिय बासिन्दाका लागि २१ करोड रुपैयाँ बराबरको २१ लाख ३५० कित्ता सेयर निष्कासन गर्नेछ । यसैगरी दोस्रो चरणमा सर्वसाधारणका लागि ७५ करोड रुपैयाँ बराबरको ७५ लाख ६१ हजार ३६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ । कम्पनीले १० प्रतिशत आयोजना प्रभावित दोलखा जिल्लावासी र ३० प्रतिशत सर्वसाधारणलाई सेयर निष्कासन गर्नेछ । युनिभर्सलमा ४० प्रतिशत सर्वसाधारण र ६० प्रतिशत संस्थापक सेयर हुने गरी लगानी संरचना तयार पारिएको छ । युनिभर्सलले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । आयोजना बनाउन २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कम्पनीमा ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ । सीईडीबी माउ कम्पनी हो । सीईडीबीले पनि साढे २२ करोड रुपैयाँ बराबरको २२ लाख कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ

लाभकर असुल्ने पत्र फिर्ता हुन्न, १५ दिन कुर्नुसः राजश्व सचिव ढुंगाना

काठमाडौं । अर्थ मन्त्रालयका राजश्व सचिव शिशीर ढुंगानाले बोनस सेयर र हकप्रद सेयरको कारोबारमा लाभकर असुल्ने निर्णय फिर्ता नहुने स्पष्ट पारेका छन् । विकासन्युजसँग कुरा गर्दै सचिव ढुंगानाले अध्ययन समितिको निर्णय नआउँदासम्म कर असुली जारी रहने बताएका हुन् । ‘१५ दिन कुर्नुस, छलफल गरौं अनि निचोड निकाल्छौं भनेर लगानीकर्तालाई भनेका छौं’, ढुंगानाले भने । मन्त्रालयले सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा १५ दिने म्याद तोकेर लाभकरबारे अध्ययन गर्न समिति बनाएको छ । सोही समितिले दिने प्रतिवेदनका आधारमा बोनस तथा हकप्रद सेयरको कारोबारमा लाभकर लगाउने वा नलगाउने निर्णय गर्ने मन्त्रालयको तयारी छ । समितिमा मन्त्रालयको राजश्व महाशाखा प्रमुख रामशरण पुडासैनी, आन्तरिक राजश्व बिभागका महानिर्देशक बिष्णुप्रसाद नेपाल, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र सिडिएस क्लियरिङ हाउस लिमिटेडका प्रतिनिधी समेत सदस्य रहनेछन् । उनीहरुले विद्यमान कानुनी प्रावधान र नेपालको पूँजी बजारमा त्यसले पार्ने प्रभावका बारेमा अध्ययन गर्नेछ । समितिले सेयर बजारका लगानीकर्ता र जानकारहरुसँग आवश्यक छलफल समेत गरेर प्रतिवेदन तयार पार्नेछ ।

कर असुल्ने निर्णय फिर्ता नभएसम्म आन्दोलन रोकिन्नः लगानीकर्ता

काठमाडौं । बोनस र हकप्रद सेयरमा लाभकर असुल्ने पुर्व निर्णय फिर्ता नभएसम्म लगानीकर्ताहरुले आन्दोलन नरोक्ने स्पष्ट पारेका छन् । इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले आन्तरिक राजश्व विभागले काटेको पत्र फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम नरोक्ने स्पष्ट पारेका हुन् । उनले भने–अध्ययन समिति गठन भयो भन्ने अनौपचारिक खबर आएको छ, हामी छलफल गर्न सक्छौं तर कर असुल्ने पत्र फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम भने रोकिन्नन’, लम्सालले भने ।

बोनस र हकप्रद सेयरमा लाभकर प्रकरणः उत्तरकुमार खत्रीको नेतृत्वमा अध्ययन समिति

काठमाडौं । अर्थ मन्त्रालयले बोनस सेयर र हकप्रद सेयरमा लाभकर असुल्ने निर्णयमाथि अध्ययन गर्न एक समिति गठन गरेको छ । मन्त्रालयले मंगलबार वित्तिय व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा अध्ययन समिति बनाएको हो । समितिमा मन्त्रालयको राजश्व व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव रामशरण पुडासैनी, आन्तरिक राजश्व विभागका महानिर्देशक बिष्णुप्रसाद नेपाल, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिडिएस क्लियरिङ हाउस लिमिटेडका प्रतिनिधी सदस्य रहनेछन् । समितिले आगामी १५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने समय पाएको मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले जानकारी दिए । समितिले आवश्यकता अनुसार सेयर बजारका लगानीकर्तालाई समेत बोलाएर छलफल गर्नेछ । लाभकरको विरोध गर्दै लगानीकर्ताले मंगलबार सेयर कारोबार ठप्प पारेपछि सरकारले समिति गठन गरेर सम्बोधनको प्रयास गरेको छ ।

युनिग्लोव कलेजमा स्वास्थ्य शिविर सम्पन्न, करिब १७५ पाउण्डको रक्तदान

काठमाडौं । युनिग्लोव कलेजको आयोजनामा वृहत स्वास्थ्य शिवीर तथा उद्यमशिलता प्रदर्शनी सम्पन्न भएको छ । उक्त स्वास्थ्य शिविरमा रक्तदान, आँखा शिविरको साथ साथै दन्त शिविरको पनि आयोजना गरियो । कार्यक्रममा यस कलेजका बीबीए र एमबीएमा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी, अविभावक तथा समुदायका व्यक्तित्वहरुबाट रक्तदान एवं स्वास्थ्य जाँच गरिएको छ । कार्यक्रममा झण्डै १७५ पाउण्डको हाराहारिमा रक्तदान भएको कलेजले बताएको छ । कार्यक्रममा झण्डै ४०० जनाको आँखा परीक्षण गरियो भने ३८० जनाको दन्त जाँच गरिएको छ । सो कार्यक्रममा समाज डेन्टल हस्पिटल तथा दृष्टी आँखा अस्पतालको चिकित्सकहरुको उपस्थिति रहेको थियो । त्यसैगरि, युनिग्लोव कलेजकै प्रांगणमा बृहत उद्यमशिलता प्रदर्शनी गरियो र जस अन्तर्गत एमविएमा अध्ययनरत विद्यार्थीहरुद्धारा १४ वटा भन्दा बढी व्यवसायहरु सञ्चालन गरि सो व्यवसायको स्टल राखि प्रदर्शनी गरिएकाे थियो । कलेजले विद्यार्थीमा उद्यमशिलताको भावना र यस प्रतिको सोच विकास गर्ने हेतुले राष्ट्रसेवामा विद्यार्थीका विभिन्न व्यपार व्यवसायहरु मार्फत राज्यलाई टेवा पुगोस् भन्ने अभिप्रायले उक्त कार्यक्रमको आयोजना गरिएको क्याम्पस प्रमुख डा.नर बहादुर बिष्टले जानकारी गराएका छन् । विद्यार्थीहरुलाई व्यवसायप्रति प्रोत्साहान स्वरुप कलेज मार्फत १० हजार ऋण प्रति व्यवसाय प्रदान गरिएको कलेजद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

कर्मचारी सञ्चय कोषको शाखा जनकपुरमा, एक लाख सञ्चयकर्ता लाभान्वित हुने

काठमाडौं । कर्मचारी सञ्चय कोषले जनकपुरको पेठीया बजारस्थित आफ्नो शाखा कार्यालयबाट सेवा प्रारम्भ गरेको छ । उक्त शाखाको उद्घाटन कोषका प्रशासक तुलसीप्रसाद गौतमले गरेका हुन् । जनकपुर शाखा कार्यालयले सिरहा, सप्तरी धनुषा, महोत्तरी, उदयपुर, सर्लाही, सिन्धुली, ओखलढुँगा तथा उपयुक्तता र सहजताको आधारमा आसपासका अन्य जिल्लाहरुका सञ्चयकर्ताहरुलाई समेत सेवा प्रवाह गर्ने छ । शाखा कार्यालयबाट त्यस भेगका लगभग एक लाख सञ्चयकर्ता लाभान्वित हुन सक्ने कोषको अनुमान छ । शाखा कार्यालयबाट विशेषतः विशेष सापटी भुक्तानी, परिचय पत्र समर्थन, फाँटवारी सँकलन लगायत सञ्चयकर्तासँग सम्बन्धित अन्य सेवा समेत प्राप्त हुने प्रशासक गौतमले बताए । कोषले घर सापटी, शैक्षिक सापटी र सरलचक्र कर्जा जस्ता ऋण सुविधा र सामाजिक सुरक्षण अन्तर्गत दुर्घटना क्षतिपूर्ति, सुत्केरी स्याहार, काजक्रिया अनुदान र औषधि उपचार जस्ता सुविधा सञ्चयकर्तालाई प्रदान गर्दै आएको छ । सामाजिक सुरक्षणको क्षेत्रमा अग्रणी मानिएको कर्मचारी सञ्चय कोषले जनकपुर सहित सातै प्रदेशमा शाखा कार्यालय मार्फत आफ्नो सेवा प्रवाह गर्दै आएको छ । हाल कोषमा ५ लाख ५० हजार सञ्चयकर्ता सदस्य रहेका छन्, भने आ.व. २०७३/०७४ सम्म कोषले २ खर्व २५ अर्व रुपैयाँ बराबरको स्रोत परिचालन गर्दै आएको छ ।

अवकासपछि कर्मचारीलाई पेन्सन दिन नसक्ने मुलुकको औचित्य के ?- भीम उपाध्याय

भीम उपाध्याय राज्यले दिने सेवाको मुटु भनेको निजामती हो । त्यसको दिमाग भनेको अधिकृत कर्मचारी हुन् । यो मुलुक कति टाट पल्टिन पुगेको होला जसले आफ्नो मुटु र दिमाग सम्हाल्न पनि सक्ने अवस्था छैन भनेर हरेश खादैछ । जीवनभरी सेवामा बिताएर बाहुबल तथा जवानी गुमाएर कमजोर बनेपछि बाँकी जीवन राज्यले हेर्देला भन्ने उमेरमा निवृत्त हुदा पेन्सन पनि दिन सक्दिन भन्छ भने त्यो मुलुकको औचित्य नै के होला र ? अनि दिमाग र मुटु कमजोर रहेको राज्यसंयन्त्रले अन्य हात खुट्टा कान नाक जस्ता सेवाप्रदायक समुहको स्याहार सुसार सम्भार कसरी गर्ला ? यसले मुलुक समृद्ध कसरी बनाउला ? अहिले २ लाख ४० हजार ७१९ जना सेवानिवृत्त सरकारी कर्मचारीले पेन्सन पाईरहेका छन् । यसमध्ये सेनाका ७३ हजार ६२८ अर्थात ३१ प्रतिशत, प्रहरीका ४८ हजार ४३ जना अर्थात २० प्रतिशत र निजामतीका ७६ हजार ५४६ जना अर्थात ३२ प्रतिशत र शिक्षक ३८ हजार ५०२ जना १६ प्रतिशतले पेन्सन पाउछन् । हाल सरकारी पेन्सन पाउनयोग्य करिब १ लाख सेना, १ लाख प्रहरी, ८० हजार निजामती र १ लाख ५० हजार शिक्षक कार्यरत छन् ।  

सेयर कारोबार नगर्न ब्रोकरलाई लगानीकर्ताको दवाव

काठमाडौं । सरकारले बोनस सेयर र हकप्रद सेयरमा लगाएको लाभकर नहटाएसम्म कारोबार नगर्ने लगानीकर्ताले ब्रोकरलाई दवाव दिएका छन् । सेयर लगानीकर्ता संघलगायत अन्य लगानीकर्ताका संस्थाले सेयर कारोबार नगर्ने दवाव दिएका हुन् । लाभकरको निर्णय फिर्ता नभएसम्म सेयर कारोबार नगर्ने ब्रोकरलाई अनुरोध गरिएको सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुलेलले बताए । “सबै ब्रोकर कम्पनीलाई सेयर कारोबार नगर्न भनेका छौ” उनले भने “हेरौ उहाँहरुले कतिको सहयोग गर्नुहुन्छ ?” यस्तै स्टक ब्रोकर एसोसियसनका पुर्वअध्यक्ष तथा कालिका सेक्युरिटिजका प्रवन्ध सञ्चालक नरेन्द्र सिजापतिले लगानीकर्ताबाट कारोबार रोक्न औपचारिक पत्र नपाएको बताए । उनले सामाजिक सञ्चालबाट मात्र यस्तो जानकारी पाएको बताए । विकास न्युजसंग कुरा गर्दै सिजापतिले भने “लगानीकर्ताले किनबेचको आदेश दिएपछि कारोबार गर्नुपर्छ नत्र भने नियामक निकायले कार्वाही गर्ने छ ।” कसैले किन्न र बेच्न आदेश दिएन भने कारोबार स्वत बन्द हुने उनको भनाई छ । आइतबारदेखि लाभकर लागु भएको विरुद्धमा लगानीकर्ताहरुले सोमबार सेयर कारोबार बन्द गर्न अनुरोध गरेका थिए । सोमबार ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । नियामक धितोपत्र बोर्डका सहायक प्रवत्ता निरन्जय घिमिरेले यस विषयमा अहिले नबोल्ने भन्दै पन्छिए ।

सेयर बजारप्रति अनुदार अर्थमन्त्री खतिवडा लचक, आज हट्ला त लाभकर ?

काठमाडौं । बोनस र हकप्रद सेयरमा लागेको लाभकरका विषयमा आज मंगलबार सरकार र लगानीकर्ताबीच वार्ता हुने भएको छ । सोमबार अर्थ मन्त्रालयमा राजश्व सचिव शिशीरकुमार ढुङानासंग नेपाल इन्भेष्टर्स फोरमबीच भएको वार्ता सकरात्मक नभएपछि आज पुनः बस्ने भएको हो । सेयर लगानीकर्ताले दवाव बढाएपछि सेयर बजारप्रति सधै अनुदार अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ लाभकरका विषयमा केही द्धिविधा देखिएको भन्दै यसलाई मिलाउने बताएका छन् । उनले लाभकर समस्या समधान गर्ने ग्रिन सिग्नल दिएका छन् । यद्यपी उनले लाभकर हटाउने भनेका छैनन् केवल द्धिविधा मात्र हटाउने भनेका छन् । कान्तिपुर टेलिभिजको फायरसाइडमा भुषण दाहालसंग कुरा गर्दै उनले लगानीकर्तामाझ केही अन्यौलता देखिएको भन्दै यसलाई तत्काल मिलाउने बताएका हुन् । यता सामाजिक सञ्जालमा लगानीकर्ताले अर्थमन्त्री खतिवडाप्रति तिब्र आक्रोश व्यक्त गरेका छन् । “लाभकरको विषयमा केही अन्यौलता हुनसक्छ, त्यसलाई आजै बसेर मिलाउने र बजारलाई सहज बनाउने छौं” उनले भने । उनले आफु सेयर बजार प्रति सकरात्मक भएको र बजारमा ठुलो लगानी परिचालन गर्न भेन्चर क्यापिटल, इक्विटी फण्ड र हेज फण्डको योजना समेत ल्याएको उनले सुनाए । सेयर बजारको विस्तार र व्यवस्थित गर्न चाहेको खतिवडाले स्पष्टपारेका छन् । करमा भएको द्धिविधा हटाउन चाहेको तर बजारमा केही व्यक्तिले लाभ लिन नदिने उनले स्पष्टपारेका छन् । आम नागरिक अप्ठेरोमा पर्ने भएकाले सुुसुचित नभइकन सेयरमा लगानी नगर्न उनले सुझाए । बोनस सेयर र हकप्रद सेयरमा थप लाभ कर लगाउन आन्तरिक राजश्व विभागले आइतबार धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सीडीएस क्लियरिग हाउस लिमिटेडलाई पत्राचार गरेपछि लगानीकर्ता आन्दोलित भएका छन् । आइतबारदेखि बोनस र हकप्रद सेयरमा थप लाभकर लागेको छ । सरकारले आइतबारदेखि बोनस र हकप्रद सेयरमा पुँजीगत लाभकर उठाउन थालेको छ । आन्तरिक राजश्व विभागले कर उठाउन पत्राचार गरेपछि आइतबारदेखि नै बोनस र हकप्रद शेयरमा ७.५ प्रतिशत पूँजीगत लाभकर लगाएको छ । यो व्यवस्था व्यक्तिगत लगानीकर्ताका लागि हो । संस्थागत लगानीकर्ताले भने १० प्रतिशत लाभकर तिर्नुपर्छ । वोनस र हकप्रदमा लाभकरको व्यवस्था गरेपछि आइतबारदेखि बजार ओरालो लागेको छ ।

सेयर बजारप्रति नरम हुदै अर्थमन्त्री खतिवडाले भने : लाभकरको विषयमा देखिएको द्धिविधा तत्काल हटाउछौ

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लागु भएको नयाँ लाभकरका विषयमा केही द्धिविधा देखिएको भन्दै यसलाई मिलाउने स्पष्टपारेका छन् ।उनले मूल्य अभिवृद्धि कर (भ्याट) नलगाएर सेयर बजारलाई करको दायरामा ल्याउनका लागि लाभ कर लगाएको स्पष्ट पारेका छन् । उनले लगानीकर्तामाझ केही अन्यौलता देखिएको भन्दै यसलाई तत्काल मिलाउने जानकारी दिए । कान्तिपुर टेलिभिजनको फायरसाइडमा भुषण दाहालसंग कुरा गर्दै उनले यो समस्या समधान गर्ने स्पष्टपारेका हुन् । उनले लाभकरको विषयमा केही अन्यौलता हुनसक्छ भन्दै त्यसलाई आजै बसेर मिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आफु सेयर बजार प्रति सकरात्मक भएको र बजारमा ठुलो लगानी परिचालन गर्न भेन्चर क्यापिटल, इक्विटी फण्ड र हेज फण्डको योजना समेत ल्याएको उनले सुनाए । सेयर बजारको विस्तार र कमोडिटी बजारलाई व्यवस्थित गर्न चाहेको अर्थमन्त्रीले स्पष्टपारे । करमा भएको द्धिविधा हटाउन चाहेको तर बजारमा केही व्यक्तिले लाभ लिन नदिने उनले स्पष्टपारे । आम नागरिक अप्ठेरोमा पर्ने भएकाले सुुसुचित नभइकन सेयरमा लगानी नगर्न उनले सुझाए । बोनस सेयर र हकप्रद सेयरमा थप लाभ कर लगाउन आन्तरिक राजश्व विभागले आइतबार धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सीडीएस क्लियरिग हाउस लिमिटेडलाई पत्राचार गरेपछि लगानीकर्ता आन्दोलित भएका छन् । आइतबारदेखि बोनस र हकप्रद सेयरमा थप लाभकर लागेको छ । सरकारले आइतबारदेखि बोनस र हकप्रद सेयरमा पुँजीगत लाभकर उठाउन थालेको छ । आन्तरिक राजश्व विभागले कर उठाउन पत्राचार गरेपछि आइतबारदेखि नै बोनस र हकप्रद शेयरमा ७.५ प्रतिशत पूँजीगत लाभकर लगाएको छ । यो व्यवस्था व्यक्तिगत लगानीकर्ताका लागि हो । यस्तै संस्थागत लगानीकर्ताले भने १० प्रतिशत लाभकर तिर्नुपर्छ ।वोनस र हकप्रदमा लाभकरको व्यवस्था गरेपछि आइतबारदेखि बजार ओरालो लागेको छ ।