चीनले अमेरिकासँग लियो बदला, ६० अर्ब डलरको अमेरिकी सामानमा करवृद्धि
चीन । अमेरिकाले करिब २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा करवृद्धि गरेकोे बदलास्वरूप चीनले पनि मङ्गलबार ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमा आगामी हप्तादेखि कर बढाउने घोषणा गरेको छ । करिब पाँचदेखि १० प्रतिशत अमेरिकी सामान अर्थात् करिब पाँच हजार २०० अमेरिकी सामानमा सोमबारदेखि नै लागु हुनेगरी कर बढाएको थियो । अमेरिकाले चिनियाँ सामानमा कर बढाएकै दिन उक्त घोषणा गरिएको चिनियाँ वित्त मन्त्रालयले बताएको छ । यदि अमेरिकाले यसभन्दा पनि बढी कर बढाउँदै गएमा चीनले यथोचित प्रतिक्रिया दिनेछ, मन्त्रालयद्धारा सोमबार जारी वक्तव्यमा भनिएको छ । अमेरिकाले चीनबाट आउने सामानमा नयाँ दुई अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने भनी सञ्चारमाध्यममा आएका निर्णयहरू कार्यान्वयनमा ल्याएमा बेइजिङले पनि यसको यथोचित जवाफ दिने चीनको विदेश मन्त्रालयले सोमबार जनाएको थियो । “यदि अमेरिकाले चीन पठाउने थप सामानमा नयाँ करको वृद्धिको घोषणा गरेमा बेइजिङले यसविरूद्ध नयाँ उपायको घोषणा गरी आफ्नो कानुनी अधिकार र चाहनालाई प्रत्याभूत गर्नेछ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले सञ्चारकर्मीसँगको नियमित भेटका क्रममा बताए । विश्वका यि दुई शक्ति राष्ट्रहरूबीच विगत केही महिनादेखि व्यापार युद्ध चलिरहेको छ जसका कारण दुबै मुलुकका ग्राहकलाई प्रभावित तुल्याएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसपहिलेदेखि नै चीनबाट अमेरिका आयात हुने ५० अर्ब अमेरिकी डलर बराबरको सामानमा २५ प्रतिशत कर बढाएको थियो । बदलामा चीनले पनि अमेरिकाबाट चीन ल्याउने सामानमा कर वृद्धि गरेको थियो । हालै वासिङटनले व्यापार विवादबारे नयाँ वार्ता गर्न गरेको आह्वानलाई चीनले गत हप्ता स्वागत गरेको थियो । यस बिषयमा दुई पक्षबीच छलफल चलिरहेको थियो जसले विश्वका दुई शक्तिशाली अर्थतन्त्र भएका मुलुक व्यापार युद्धबाट फिर्ता हुने आशा पलाएको थियो । तर मङ्गलबार अमेरिकी प्रशासनले गरेको निर्णयपछि चीनको यो प्रतिक्रिया आएको हो । ट्रम्प प्रशासनले थप २०० अर्ब डलर बराबरका चिनियाँ सामानमा करवृद्धि गर्ने घोषणा गरेको छ । अर्को सातादेखि लागू हुने यस करवृद्धिका कारण विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई मुलुकबीच व्यापार युद्ध निम्त्याउने खतरा बढेको छ । अमेरिकाको पछिल्लो करवृद्धिका कारण हाते झोलादेखि साइकलका टायरसम्मको मूल्य वृद्धि हुनेछ । अमेरिकाले चीनबाट बार्षिक करिब ५०० अर्ब अमेरिकी डलर बराबरको सामान आयात गर्छ । रासस/एएफपी
दुरसञ्चार प्राधिकरणले युटीएललाई दियो चेतावनी, काम शुरु नगरे कारवाही
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटीएल) लाई सेवा शुरु गर्न पत्राचार गरेको छ । टेलिफोनको एकिकृत (युनिफाइड) लाइसेन्स लिएको लामो समय बितिसक्दा पनि काम शुरु नगरेपछि प्राधिकरणले पत्र काटेको हो । प्राधिकरणले सोमबार नै युटीएललाई पत्र काटिसकेको अध्यक्ष दिगम्बर झाले बताए । विकासन्युजसँगको कुराकानीमा झाले युटिएललाई समयमै सुध्रिन चेतावनी दिएको बताए । “कुनै पनि कम्पनीले लाइसेन्स लिएर सेवा प्रदान नगरी बस्न मिल्दैन” झाले भने “ त्यसैले पत्राचार गरिएको हो ।” पछिल्लो दिनमा युटीएल तल्लो दर्जामा खस्केको छ । उनका अनुसार युटिएललाई कानून बमोजिम कारबाही भैसकेको छ । जसअनुसार ५ लाख जरिवाना भैसकेको छ । प्राधिकरणले स्पष्टीकरण लिइसकेको छ । एक वर्षअघि प्राधिकरणले युटीएलसँग अप्टिकल फाइबर बिछ्याउने सम्झौता गरेको थियो । फाइबर बिछ्याउने सम्झौतामा प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा र युटीएलका प्रमुख कार्यकारी अधिकृत एसपी पचौरीले सम्झौतामा हस्ताक्षर गरेका गरेका थिए । युटीएलले २ अर्ब १ करोड रुपैंयाँ खर्चेर प्रदेश नम्बर ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउने सहमति गरेको थियो । तर हालसम्म कुनैपनि कार्य प्रगति नभएको अध्यक्ष झाले बताए । युटीएल पछिल्लो १३ बर्षदेखि नोक्सानीमा रहेको कम्पनी हो । युटीएलले सीडीएमए प्रविधिबाट टेलिफोन सेवा शुरु गरेको थियो । हाल सो सेवालाई जीएसएमले प्रतिस्थापन गरेपछि उसलाई प्राधिकरणले एकिकृत लाइसेन्स दिएको थियो ।
फास्ट ट्रयाकको डीपीआर बनाउन कोरियाली कम्पनी छानियो, १० करोड लागतमा ४ महिनाभित्रै
काठमाडौँ । राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं निजगढ फाष्ट ट्रयाकको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ । यसअघि उक्त भारतीय कम्पनी आइएल एण्ड एफएसले डिपीआर तयार गरेकोमा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले अर्को परामर्शदाताको छनोट गरेको हो । सेनाको फाष्ट ट्रयाक आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खाँणले डिपीआरका लागि छनोट भएको कोरियाको सुसुङ कम्पनीसँग यही महिनाको दोस्रो साताभित्रै निर्माणसम्बन्धी सम्झौता हुने जानकारी दिए । उक्त डिपीआर करीब १० करोड १५ लाखको लागतमा तयार हुने छ जुन भारतीय कम्पनी आइएल एण्ड एफएस्को मागभन्दा ५१ करोड सस्तो हो । खरीद सम्झौता भएको चार महिनाभित्रै उक्त कम्पनीले डिपीआर तयार गर्ने विश्वास दिलाएको छ । औपचारिकरुपमा द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको १३ महिनापछि सेनाले डिपीआरका लागि परामर्शदाताको छनोट गर्न सफल भएको हो । एशियाली विकास बैंकले २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर अहिले सेनाले निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक कार्य गर्दै आएको छ । सडक निर्माण गर्ने क्रममा आवश्यक पर्ने ९० प्रतिशत जग्गा अधिग्रहण र द्रुतमार्ग क्षेत्रमा पर्ने २० हजारको सङ्ख्यामा रुख कटान भइसकेको छ । यसअघिको रेखाङ्कन परिवर्तन हुँदै आयोजना अघि बढाउने सिलसिलामा छोक्रेडाँडादेखि बाँदरे खोल्सीसम्मको करीब १२ किलोमिटर क्षेत्रमा तीन वटा सुुरुङ निर्माण गर्ने गरी द्रुतमार्गको यसअघिको रेखाङ्कन परिवर्तन गर्ने निष्कर्षमा सेना पुगेको छ । सेनानी विनोद श्रेष्ठका अनुसार, छोक्रेडाँडादेखि महादेवखोल्सीसम्म (३.३), सीमपानीबेँसीदेखि चालिसे खोल्सीसम्म १.३७ र घट्टेपाखादेखि बाँदरेखोल्सीसम्म १.४ किलोमिटर दूरीका तीन वटा सुरुङ निर्माण गरिने छ । ती सुरुङ समानान्तर दूरीमा आवतजावत गर्नसक्ने दुईवटा मुख भएका ९.५ मिटर चौडाइ र ५.५ मिटर अग्ला हुने छन् । उक्त रेखाङ्कन परिवर्तन गरी सुरुङ निर्माण गर्दा ठूला १० वटा पुल र आधा दर्जानभन्दा बढी कल्भट बनाउन नपर्ने सेनाले बताएको छ । उक्त सुरुङ निर्माणपछि यसअघि प्रस्तावित ७६.२ किलोमिटरको उक्त मार्गको दूरी झण्डै साढे तीनकिलो कम हुनेछ भने छ अर्ब ८० करोड लागत मूल्य बढ्ने छ । विसं २०७४ साल वैशाख २१ गते मन्त्री परिषद्ले नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने निर्णय गरेको उक्त द्रुतमार्गको प्रारम्भिक अनुमानित लागत रु १११ अर्ब रहने अनुमान गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ । रासस
संविधान दिवसमा उद्योगीदेखि बैंकरसम्म सुप्रवल जनसेवा श्रीबाट विभूषित
काठमाडौँ । सरकारले संविधान दिवस अवसरमा विभिन्न उद्योगी व्यवसायीलाई मानपदवी, अंकार र पदकद्धार विभूषित गरेको छ । सुप्रवल जनसेवा श्रीबाट नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभत्त श्रेष्ठ विभूषित भएका छन् । सुप्रवल जनसेवाबाट विभूषित हुनेमा गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छा, आइएमई ग्रुपका उपाध्यक्ष हेमराज ढकाल, व्यवसायी मीनबहादुर श्रेष्ठ र देविप्रकाश भट्टचन र राजेन्द्र मल्ल विभूषित भएका हुन् । चन्द्रागिरी हिल्स लिमिटेका महाप्रवन्धक अभिषेक बिक्रम शाह, प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, वाणिज्य बैँकका सीईओ किरणकुमार श्रेष्ठ पनि विभूषित भएका छन् ।
याे वर्ष २१ अर्ब १० करोड खर्च गर्दै त्रिभुवन विश्वविद्यालय
काठमाडौ । त्रिभुुवन विश्वविद्यालय सभाको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि २१ अर्ब १० करोड ८० लाख १३ हजार रुपैयाँको बजेट पारित गरेको छ ।मङ्गलबार बसेको त्रिविसभाको बैठकले ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार रुपैयाँ सरकारबाट अनुदानका रूपमा माग गर्ने र बाँकी ९ अर्ब ७९ करोड ६ लाख २८ हजार रुपैयाँ आन्तरिक स्रोतबाट व्यहोर्ने प्रस्ताव पारित गरिएको रजिस्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए। उहाँले उक्त बजेट पूर्वाधार निर्माण, सेमेस्टर प्रणालीको सुदृढीकरण, शिक्षण क्रियाकलापमा प्रविधि प्रयोगको विस्तार, अनुसन्धान, प्राविधिक शिक्षाको विस्तार र पाठ्यक्रम परिमार्जनमा खर्च गरिने बताए । सभामा प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीले बजेट जुन क्षेत्रमा पनि न्यून रहेको भन्दै त्रिविलाई आफ्नो स्रोत र साधन अनुकूल आफ्ना नीति कार्यक्रम निर्धारण गरी सञ्चालन गर्न सुझाव दिए। त्रिविका उपकुलपति प्रा.डा तीर्थराज खनियाँले विकासका लागि त्रिवि भिजन २०३० तयार गरी कार्यान्वयन गर्न लागिएको भन्दै सम्पूर्ण अध्ययन संस्थान, सङ्काय, केन्द्रीय विभाग तथा आङ्गिक क्याम्पसलाई उत्कृष्ट केन्द्रका रुपमा विकास गर्ने बताए । सभाले त्रिवि कार्यकारी परिषद्को सदस्यमा वनस्पतिशास्त्रका प्रा डा मोहनप्रसाद पन्थी र शिक्षाशास्त्र सङ्कायका डिन प्रा डा कृष्णप्रसाद गौतमको नामसमेत अनुमोदन गरेको छ । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) का कार्यकारी निर्देशक डा अरुण ठाकुर, सामुदायिक क्याम्पस सङ्घका सभापति भोलानाथ ओझा, जनप्रशासन क्याम्पसका स्ववियु सभापति पङ्कज क्षत्री, नेपाल प्राध्यापक सङ्घका सभापति रामेश्वर उपाध्याय, नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक डा मिर्गेन्द्रबहादुर कार्की, पूर्व शिक्षाध्यक्ष प्रा डा राममान श्रेष्ठलगायतले त्रिविको बजेट बढाउनुपर्नेमा जोड दिएका थिए। रासस
एक वर्षमा ४ अर्ब ३९ कराेडको काठ आयात
मेलेसियन काठ काठमाडौं । नेपालमा वार्षिक ५ अर्ब रुपैयाँको काठ आयात हुने गरेको छ । एक समयमा हरियो वनको धनी नेपालले पछिल्लो समयमा विदेशबाट काठ आयात गर्न थालेको हो । नै प्रति गत आर्थिक वर्षमा ४ अर्ब ३९ करोड ८९ लाख ८४ हजार ९३ रुपैँयाको काठ आयात भएको निकासी व्यापार प्रवद्र्धन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार तथ्याङक अनुसार २०७४/०७५ मा भारत, चीन, इण्डोनेशिया, मलेशिया, म्यान्मार, सिंगापुर र युक्रेनबाट काठका गोलिया, चिरान, प्लाई, झ्याल ढोकामा प्रयोग हुने फ्रेमलगायत काठजन्य वस्तु आयात भएका छन् । गोलिया, चिरान, प्लाई, झ्याल ढोकामा प्रयोग हुने फ्रेमलगायत काठजन्य सामान गरी १४ लाख ३३ हजार ८१७ किलो, ७ लाख ९१ हजार १०५ क्युफीट मिटर, ७६ करोड ६० लाख ६४ हजार ६६३ क्युफिट मिटर र २ हजार ३२६ वटा आयात भएको छ । नेपाल फर्निचर एसोसियसनका अध्यक्ष राजेश अग्रवालले भने ‘ काठको आपूर्ति व्यवस्था झण्झटिलो भएर जङ्गलमा काठ सडेर खेर जाने अवस्था छ ।’ व्यवसायीले काठ खरिद गर्दा नै महंगो मूल्य तिर्नुपर्ने मात्र हैन, खरिद प्रक्रिया नै झण्झटिलो तथा प्रक्रियामुखी भएको पनि उनले बताए । वन तथा भू–संरक्षण विभागका अनुसार नेपालका तराई र भित्री मधेशका जङ्गलमा २०० देखि ५०० वर्ष पुराना सालका रुखहरु छन् । सालका रुखबाट सबैभन्दा बढी उत्पादन लिने समय भनेको ८० वर्षमा हो ।
दुई कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले उकालो लागेको छ । सोमबार केही अंकले घटेर थामिएको बजार मंगलबार भने २.४१ अंकले बढेर १२५८.८१ अंकमा पुगेको छ । बजार समान्य अंकले बढेपनि दुई कम्पनीको सेयर मूल्य भने ९ प्रतिशत बढीले बढेको छ । सबैभन्दा बढी अरुण काबेली पावरका लगानीकर्ताले ९.८४ प्रतिशत कमाएका छन् । संस्थाको सेयर मूल्य प्रतिकित्ता २६६ रुपैयाँ रहेको छ । त्यस्तै, अघिल्लो दिनको तुलनामा भार्गव विकास बैंकको सेयर मूल्य ९.२७ प्रतिशतले बढेर प्रतिकित्ता १६५ रुपैयाँ पुगेको छ । दिनभरको बजारमा कुल १६९ कम्पनीको सेयर कारोबार भएको छ । सो दिन १५ लाख ४४ हजार कित्ता सेयर ४५ करोड ८६ लाख रुपैयाँमा किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीको ३ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७३ रुपैयाँ रहेको छ । त्यस्तै, बजारमा होटल, बैंकिङ र फाइनान्स समूह ओरालो लागेका छन् भने अन्य बाँकी समूह उकालो लागेका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक ७३ अंकले बढेको छ ।
गुहेश्वरी मर्चेण्टले ४ करोड २१ लाख रुपैयाँ नगद लाभांश दिने, सेयर मूल्यमा गिरावट
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले सेयरधनीलाई ४ करोड २१ लाख ५ हजार ६०० रुपैयाँ नगद लाभांश दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट कर सहित सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव असोज १ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । नगद लाभांशको घोषणा गरेसँगै मंगलबार संस्थाको सेयर मूल्यमा गिरावट आएको छ । संस्थाले बाेनस सेयर नदिने भएपछि लगानीकर्ताहरुमा निरासा छाएकाे सेयर मूल्यबाटै बुझ्न सकिन्छ ।
सरुवापत्र उपलब्ध नहुँदा बैतडी जिल्लाका स्वास्थ्यकर्मी समस्यामा
काठमाडौं। सङ्घीय सरकार र प्रदेश सरकारबीच समन्वय नहुँदा जिल्लाका स्वास्थ्यकर्मी समस्यामा परेका छन् । गत भदौ १७ गते कर्मचारी जिल्लाबाट सरुवा भएपनि हालसम्म उनीहरुलाई जिल्ला स्वास्थ्य कार्यालयले सरुवापत्र उपलब्ध गराएको छैन । कार्यालयले सरुवापत्र दिन नमान्दा २२ स्वास्थ्यकर्मीलाई समस्या भएको छ । स्वास्थ्य सेवा विभागले सरुवा गरेपनि स्वास्थ्य कार्यालयले सरुवापत्र दिन नमानेको कर्मचारीको आरोप छ । “सरुवा भएपनि अन्योलमा छौँ,” दोगडाकेदार गाउँपालिका–३ श्रीकोट स्वास्थ्यचौकीका अहेव प्रेम चन्दले भने। गाउँपालिकाले समेत सहमति दिएको अवस्थामा जिल्लाले रोकेको उनको गुनासो छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जगदीशचन्द्र विष्ट विभागबाट सरुवा गरिएकोबारे आधिकारिक पत्र प्राप्त नभएको बताउनुहुन्छ । उनले भने, “प्रदेश नं ७ सरकारले सरुवापत्र नदिनु भन्ने निर्देशन दिएको छ ।” प्रदेश नं ७ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका प्रमुख, स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बैतडीमा मात्र नभइ प्रदेशभरिका सबै जिल्लाका सरुवा भएका स्वास्थ्यकर्मीलाई सरुवापत्र नदिन निर्देशन दिएको बताए। तीन हजार १७७ स्वास्थ्यकर्मीको दरबन्दी भएको प्रदेश नं ७ मा झण्डै २०० पद रिक्त रहेको छ । उनले भने, “यही प्रदेशबाट १५० स्वास्थ्यकर्मीको सरुवा गर्दा स्वास्थ्य संस्था बन्द हुन्छन् ।” डा अवस्थीका अनुसार सङ्घीय सरकारले प्रदेश नं ७ बाट सरुवा मात्रै गरेको र अन्यत्रबाट यहाँ स्वास्थ्यकर्मी नपठाएको बताए। सङ्घीय सरकारले अन्य प्रदेशबाट प्रदेश नं ७ मा स्वास्थ्यकर्मी नपठाउँदासम्म सरुवापत्र नदिइने उनले बताए। रासस
अमेरिका चीन प्रति झनै आक्रमक, २ खर्ब डलर बराबरको चिनियाँ वस्तुमा कर लगाउने डोनाल्ड ट्रम्पको घोषणा
बीबीसी । अमेरिकाले चीनसँगको व्यापार युद्धलाई झनै चर्काउने संकेत दिँदै २ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर लगाउने घोषणा गरेको छ।अहिले सम्मकै सबैभन्दा धेरै भनिएको अमेरिकी कर करिब ५ हजार सामानमा लागु हुने बताइएको छ। यसअघि चीनले अमेरिकी करको बदला लिने चेतावनी दिँदै आएको थियो। चीनमा उत्पादित हाते झोला, कपडा लगायतका सामानमा अमेरिकाले कर लगाउने घोषणा गरेको छ। तर स्मार्ट वाच र अग्ला कुर्सी जस्ता समानमा कर लगाइएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको नयाँ कर नीतिको चीनले प्रतिकार गरे त्यसलाई अझ बढाएर २० प्रतिशत पुर्याइदिने चेतावनी दिएका छन्। पछिल्लो कर अहिले सम्म अमेरिकाले चिनियाँ सामानमा लगाएको कर मध्ये सबै भन्दा धेरै हो। नयाँ कर आउने सातादेखि लागु हुने बताइएको छ। राष्ट्रपति ट्रम्पले नयाँ करले अमेरिकाको कोषमा धेरै पैसा ल्याउनेू बताएका छन्। उनले त्यसका अतिरिक्त थप २ खर्ब ६० अर्ब डलर बराबरका चिनियाँ आयातमा कर लगाउने चेतावनी दिएका छन्। उनले बेइजिङलाई उनले ठान्ने गरेका असमान व्यापारिक अभ्यासहरूलाई बदल्न धेरै मौकाहरू दिइएको बताएका छन्। ट्रम्पले देशको अर्थतन्त्र जोगाउने काम आफ्नो काँधमा आएको बताएका छन्। पछिल्लो घोषणा सँगै करिब २ खर्ब ५० अर्ब डलर बराबरका चिनियाँ समानमा अमेरिकी कर लाग्ने भएको छ। यसअघि अमेरिकी करको बदलामा चीनले ५० अर्ब डलर बराबरको अमेरिकी सामानमा कर लगाइदिएको थियो। त्यतीबेला चीनले अमेरिकाको राजनैतिक प्रभाव क्षेत्र मानिने किसानका उत्पादनलाई निशाना बनाएको थियो। व्यापार युद्ध रोक्न दुई पक्षबीच मे महिनामा वार्ता भए पनि त्यो फलदायी भएन।
वायुसेवा निगमका कर्मचारी सबैभन्दा धेरै तलब खाने छन: मदन खरेल
काठमाडौं । नेपाल वायु सेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष मदन खरेलले सोमबारदेखि कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्दै खरेलले निगमका कर्मचारीहरुलाई सबैभन्दा धेरै तलब खाने वातावरण बनाउने बताएका छन् । खरेलले निगममा काम गर्ने सबै जनाको हैसियत समान रहको र संस्था विकासका लागि एकजुट भएर अघि बढ्नु पर्ने बताए । उनले भने एनएसीको कर्मचारी सबैभन्दा धेरै तलब सुविधा खाने कर्मचारी हुनेछ त्यसका लागि मैले काम गर्नेछु । उनले अब एनएसीले जहाज थप्दै जानु पर्ने र आफ्नो कार्यकालमा कर्मचारीहरुले सहयोग गर्ने विश्वास व्यक्त गरे । खरेललाई स्वागत गर्दै प्रवन्ध निर्देशक सुगतरत्न कंशाकारले आफु खरेलको सल्लाहकार बन्न तयार रहेको बताए । नेपाल विश्वमै सबैभन्दा हवाई भाडा महंगो भएको देश भएको बताउँदै यसमा एनएसीले भाडा घटाउन हिम्मत गर्नुपर्ने बताए । खरेल एनएसीको नयाँ सदस्य भएर आउनुमा कुनै विवाद नरहेको र मन्त्रालयले गरेको निर्णय सबै कर्मचारीले सम्मान गर्नुपर्ने बताए । स्वागत कार्यक्रममा बोल्दै आधिकारीक ट्रेड युनियनका अध्यक्ष सुभाष डाँगीले नयाँ जहाज थप्ने विषयले वर्षेनि विवाद थपेको बताउँदै एकै वर्ष धेरै जहाज थप्ने निर्णय गर्नु पर्नेमा जोड दिए । उनले नव नियुक्त अध्यक्षले कर्मचारीलाई खुशी पारेर काम गर्ने वातावरण बनाउने विश्वास व्यक्त गरे ।
गण्डकी विकास बैंकले १५ लाखसम्मको विना धितो कर्जा दिने, बचत खातामा दैनिक ७ प्रतिशत व्याज
काठमाडौं । गण्डकी विकास बैंकले विना धितो १५ लाख रुपैयाँसम्मको प्रोफेसनल कर्जा बजारमा ल्याएको छ । उक्त कर्जा डाक्टर, इन्जिनियर, प्राध्यापक, वकिल, चाटर्ड एकाउन्टेन्ट लगायत ख्याती प्राप्त संघ संस्थामा कार्यरत कर्मचारीहरुलाई प्रदान गरिनेछ । बैैंकले बचत खातातर्फ दैनिक ७ प्रतिशत व्याज तथा अन्य आर्कषक सेवा सुविधा सहितको साधारण बचत खाता बजारमा ल्याएको छ । उक्त खातामा एटीएम, एबीबीएस, मोबाइल बैंकिङ, आश्वा सेवा लगायत ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा समावेश गरिएको छ । त्यसैगरी, बैंकले कर्मचारीहरुलाई लक्षित गरी दैनिक मौज्दातमा ७ प्रतिशत व्याज प्रदान गर्ने गरी कर्मचारी तलब खाता पनि बजारमा ल्याएको छ । जसमा निशुल्क एटीएम, एबीबीएस, मोबाइल बैंकिङ, आश्वा लगायतका थुप्रै सेवा प्रदान गर्नुको साथै ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा पनि समावेश गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी दिए । यी सेवाहरु बैंकका ७६ वटै शाखाहरुबाट प्रदान गरिनेछ । ग्राहकहरुले जुनसुकै शाखा कार्यालयबाट पनि यी सेवा लिन सक्नेछन् । कर्मचारी बचत खाता शैक्षिक तथा विभिन्न संघ संस्थामा कार्यरत कर्मचारीहरुको लागी उपयुक्त रहेको छ ।
मेगा बैंकको शाखारहित सेवा उदयपुरमा, जग्गा धितोमा १० लाखसम्मको कर्जा दिने
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिकाको देउरीमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । उक्त बैंकिङ सेवाको उद्घाटन त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्दवकुमार थापा र मेगा बैंक रौतामाई शाखाका प्रबन्धक रैसुल आजमले संयुक्त रुपमा गरेका हुन् । त्रियुगा नगरपालिकामा रेमिट्यान्सबाट भित्रिएको लाखौँ रकम उपभोग र विलासितामा खर्च भइरहेको भन्दै वडाध्यक्ष थापाले मेगा बैंकको शाखारहित बैंकिङ सेवामार्फत घरदैलोमा बचत गर्न देउरीबासीलाई सजिलो भएको बताएका छन् । साथै, आगामी दिनमा शाखारहितमा मात्र सीमित नभई बैंकको शाखा नै विस्तार गर्न उनले आग्रह गरेका छन् । शाखा प्रबन्धक आजमले ग्रामीण क्षेत्रको आर्थिक अवस्था उकास्न मेगा बैंकले गाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपैयाँसम्मको सरल कर्जा प्रदान गर्दै आएको बताएका छन् ।
कात्तिक भित्रै पूर्ण अनलाइन कारोबार, लगानीकर्ता आफैले सेयर अर्डर गर्न सक्ने
काठमाडौं । पूर्ण अनलाइन सेयर कारोबार आउदो २ महिनापछि मात्र सञ्चालनमा आउने भएको छ । यसअघि दशैअघि नै सञ्चालनमा ल्याउने तयारी भएकोमा प्राविधिक काम अझै बाँकी रहेपछि २ महिनापछि धकेलिएको हो । आउदो कात्तिकभित्र पूर्ण अनलाइन सेयर कारोबार सञ्चालनमा आउने नेपाल स्टक एक्सचेन्ज लिनिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले बताए । मंगलबारदेखि अनलाइन प्रणाली ल्याउनका लागि ननलाइभ ट्रेडिङ सुरु हुने जानकारी दिदै उनले भने “यसलाई थप सुधार गरी २ महिनाभित्र पूर्ण रुपमा सेयरको अनलाइन कारोबार हुने छ । यसपछि घरमा बसेर सेयर खरिदबिक्री गर्न सकिने छ ।” अनलाइन कारोबार आउदैन भन्ने हल्ला सकिएको बताउदै उनले कसैले रोक्न नसक्ने जानकारी दिए । नेपाली कम्पनी वाईको नेपाल प्राइभेट लिमिटेडले सोमबार एक कार्यक्रमका दशैअघि कार्यान्वयनमा नआउने बताएको छ । कम्पनीले दोश्रो चरणको नमुना परीक्षणको काम ४ देखि ६ हप्तामा सकेपछि मात्रै पुर्ण कार्यान्वयन हुने बताएको छ । उक्त प्रणाली लागु भएपछि लगानीकर्ता आफैले लगईन गरेर सेयर अर्डर गर्न सक्नेछन् । तर लगानीकर्ताले कम्प्युटरबाट मात्रै अर्डर गर्न सक्ने कम्पनीले जनाएको छ ।
लाभांशकाे पर्खाईमा रहेका सेयर लगानीकर्ताको कस्तो छ मनोबल ?
काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा काराेबारका लागि सूचिकृत कम्पनीहरुले लाभांश घोषणा गर्ने समय भएको छ । लामो समय ओरालो लागेको सेयर बजारमा यतिबेला केहि उत्साहका संकेतहरु देखिन थालेका छन् । प्रतिफलको आश, घट्दो ब्याजदर, बोनस र हकप्रद सेयरको नयाँ कर गणना हट्ने हल्ला लगायतका कारणले लगानीकर्तामा केही उत्साह थपिएको देखिन्छ । कम्पनीहरूले धमाधम लाभांशकाे घोषणा गर्न थालेका छन् । ब्रोकरहरुले पनि सेयर खरिदकर्ताहरुको चाप बढेको बताईरहेका छन् । यहि सन्दर्भमा हामीले केहि ब्रोकर कम्पनीहरुमा पुगेर लगानीकर्ताहरुको मनोबल बुझ्ने प्रयास गर्यौं । उनीहरुले सेयर बजारका लगानीकर्ताहरुको मनोबल बढेको भएपनि ढुक्क भने नभैसकेको बताए । सेयर किन्ने पोजिसनमा छु म अहिले सेयर किन्ने पोजिसनमा छु । विगत ३।४ दिनदेखि सेयर खरिद गर्ने सोँचमा छु । पर्ख र हेरको अवस्थमा छु । अहिले सेयर बजार न यता, न उताको अवस्थामा छ । बैंकहरुको सेयरमा कम जोखिम देखेर बैंककै सेयर किन्ने सोँच बनाएको हुँ । विगत ६।७ महिनादेखि सेयर खरिद गरेको थिईन् । अब केहि समय सेयर बजार बढ्छ । दशैं ताका भने बजार फेरी घट्न सक्छ । दशैं मनाउन पैसाको जोहो गर्नका लागि बेच्नेहरुको चाप बढ्छ । अनि बजार घट्छ । तर अहिले केहि समय भने बजार पक्कै पनि बढ्छ नै । किन्ने तयारीमा छु विनोद वाग्ले, लगानीकर्ता अहिले म किन्ने तयारीमा छु । लगानीकर्ताको मनोबल विस्तारै बढ्दै गएको छ । पछिल्लो डेढ बर्षमा सेयर बजार धेरै घट्यो । अहिले बढ्दा पनि धेरै बढिरहेको छैन् । केहि दिनदेखि ग्रीन सिग्नल देखिएको छ । म्युचुअल फण्ड र लगानीकर्ताहरुको लगानी केहि बढिरहेको छ । विगत बर्षहरुमा भन्दा यो बर्ष सेयर बजार केहि बढ्ने देखिन्छ । म पनि डेढ महिनादेखि सेयर खरिद गर्ने साेचमा छु । म करिब ५।६ महिनासम्म सेयर किन्ने र बेच्ने दुबै बन्द गरेर बसेको थिएँ । सेयर होल्ड गरेर बसेको थिएँ । लागत मूल्य भन्दा कममा गएर सेयर बेचिँन । अहिले भने लगानीकर्ताको मनोबल केहि बढेको छ । त्यसको कारण भनेको लाभांश घोषणा गर्ने समय हो । यो लगानीको प्रतिफल आउने समय हो । कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्छन् । स्थायी सरकार आएको छ, लगानी गर्ने विश्वसनिय आधार भएको क्षेत्र सेयर बजार नै हो । बोनस र हकप्रद सेयरमा लगाउने भनिएको कर हटाउन अर्थमन्त्रालय सकारात्मक देखिएको छ । त्यसकारण यतिबेला सेयर बजारमा उत्साह थपिएकै छ । अहिले सेयर बेच्ने मुर्खता गर्दिन कमल भारती, लगानीकर्ता म यतिबेला सेयर किन्ने वा बेच्ने अवस्थामा छैन् । सेयर होल्ड मात्रै गरिरहेको छु । यो लाभांश घोषणा गर्ने समय हो । किन्ने वा बेच्ने भनेको कात्तिकको पहिलो हप्तामा निर्णय गर्छु । त्यतिबेला बैंकहरुले घोषणा गर्ने नयाँ ब्यजदरपछि बजारमा के गर्ने भन्ने निष्कर्ष निकाल्छु । यतिबेला चाँही बजारमा खासै ठूलो परिवर्तन आईहाल्ने अवस्था देखिन्न । गत बर्ष पनि यहि बेला नविल बैंक, ज्योति र मुक्तिनाथ विकास बैंकले सेयर कर्जा निकालेका थिए । कात्तिकमा नयाँ ब्याजदर आयो । अहिलेका लागि बेचेर निस्कने निर्णय मुर्खतापुर्ण हुनसक्छ । यो होल्ड गरेर बस्ने समय हो । पर्ख र हेरको अवस्थामा छु कुमार फुँयाल, लगानीकर्ता म यतिबेला पर्ख र हेरको अवस्थामा छु । २ महिनादेखि सेयर किन्ने र बेच्ने दुबै काम गरिरहेको छैन् । बजार केहि बढ्यो भने बेच्ने सोँचमा छु । तत्काल सेयर किन्ने सोँच बनाएको छैन् । बजारमा धेरै पक्षले भूमिका खेलिरहेका हुन्छन्, त्यसमा धितोपत्र बोर्ड पनि स्पष्ट छैन् । बाणिज्य बैंकहरु २ अर्बबाट ८ अर्ब रूपैयाँमा पुगेका छन् । आम मानिसमा सेयरको पहुँच भने पुगेको छैन् । सेयरमा लगानी गर्दा भन्दा पनि बैंकमा राख्दा धेरै ब्याजदर पाउने अवस्था छ । त्यसकारण बजार माथी पुग्छ वा स्थिर हुन्छ भन्ने मलाई लागेको छैन् । दुई तिहाईको सरकार भनिएको छ तर पनि राजनीतिक स्थायीत्व चाँही देखिएको छैन् ।यद्यपी म बजारबाट भागिरहेको चाँही छैन् । पर्ख र हेरको अवस्थामा छु । अहिले कम्पनीहरुले लाभांश घोषणा गर्ने समय छ । साना लगानीकर्तालाई चाडबाड मनाउन सेयर बेच्नुपर्ने अवस्था छ । ठूला लगानीकर्ता यतिबेला नै खरिद गर्ने सोँचमा होलान् । बैंकले सेयर देला भन्ने अनुमान गरेर बजार बढेको हुन सक्छ तर बोनस दिन्छन की नगद लाभांश दिन्छन् एकिन छैन ।
संचयकर्तालाई आवासको व्यवस्था गर्दै संचय कोष, चितवनमा घर बनाउन खटिए प्राविधिक
काठमाडौं । कर्मचारी संचय कोषले संचयकर्तालाई आवासको पनि व्यवस्था गर्न लागेको छ । कोषले संचयकर्तालाई घर निर्माणका काम सुरु गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा कर्मचारी आवास योजना सञ्चालन गर्ने योजना ल्याएपछि कोषले आफनो लगानीमा संचयकर्तालाई आवास बनाउने योजना ल्याएको हो । कुल ६ लाख संचयकर्ता रहेका छन् । संचयकर्तालाई आवास निर्माण गर्न प्राविधिक टोली खटिइसकेको कोषका प्रशासक तुलसी गौतमले जानकारी दिए । कोषले चितवनमा आफनै स्वामित्वमा रहेको ४ विगाह १० कठ्ठा जग्गामा नमुना आवास बनाउने तयारी भएको उनले बताए । कोषले आवास ईपीसी मोडलमा बनाउने छं । सो क्षेत्रमा १५० वटासम्म आवास बन्न सकिने देखिएको छ । आवास निर्माणको काम यो वर्षदेखि सुरु हुने छ । चितवनमा आवास बनाउन हाम्रो एउटा प्राविधिक टिमले काम गरिरहेको छ उनले भने विस्तारै आवास बनाउदै जानेछौं । संचयकर्तालाई घडेरी खोज्ने, घर बनाउने र सारा कुरा आफैले जुटाउनु पर्ने जस्ता जटिलताको अन्त्य हुने उनको भनाई छ । कोषले आवास किन्न घर सापटी पनि दिने छ । कोषले बनाउने आवास अन्य कम्पनीको भन्दा सस्तो हुने छ । मूल्यमा कर्मचारीका लागि आवास योजना ल्याउन लागेको हो । लागतमा बढीमा १० प्रतिशत थपेर संचयकर्तालाई आवास बिक्री गर्ने उनले जानकारी दिए । यसबाट संचयकर्तालाई घडेरी खोज्ने, घर बनाउने र सारा कुरा आफैले जुटाउनु पर्ने जस्ता जटिलताको अन्त्य गर्ने छ । कोषले घर सापटीका लागि केही रकम दिने छ । आवास निर्माणका लागि कोष् आफैले लगानी गर्ने भएको छ । कर्मचारीलाई सेवा निवृत्त भएपछि डेरामा बस्नुपर्दैन भन्ने कुराको सुनिश्चित गर्न कर्मचारी आवास योजनाको व्यवस्था हुनुपर्ने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई छ । कर्मचारी आवास व्यवस्था न्यून वैतनिक व्यवस्था भएकालाई प्राथमिकता दिइनुपर्छ, जोखिमपूर्ण आवासमा बसेकालाई यस्तो सुविधा दिनु पर्ने उनको तर्क छ । न्युनतम लागतमा निश्चित मापदण्डका आधारमा आवास निर्माण गरिने उनले जानकारी दिए । कोषले चालु आर्थिक वर्षका लागि घरकर्जाको ब्याजदर बढाएर ९.७५ प्रतिशत पुर्याएको छ । कोषले आफुसंग भएको पुँजी काठमाडौं उपत्यकामा ठुला भवन निर्माणमा लगानी गरिरहेको छ ।
नेपालीकाे क्रय क्षमता बढ्याे, ६ दिनमा १०० कराेड मूल्यकाे गाडी खरिद
नाडा अटाे शाे २०१८ मा प्रदर्शनीमा राखिएकाे विद्युतीय कार हुण्डाई इयोनिक काठमाडौं । नेपाल अटो मोबाइल्स डिलर्स संघले आयोजना गरेको ‘नाडा अटो सो २०१८’ मा करीब एक अर्ब रुपैयाँ बराबरको कारोवार भएको छ । यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको मेलामा नयाँ ब्राण्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे, ठूला सवारी साधनका साथै तीनका पार्टस्पूर्जाको कारोवार भएको छ । ६ दिनमा १०० कराेड रूपैयाँ मूल्यका सवारी एकै स्थानबाट खरिद हुनुले नेपालीहरूकाे क्रय क्षमता उच्च रहेकाे संकेत गरेकाे छ । तर यस्ताे क्रय क्षमता थाेरै नेपालीमा भएकाे अर्थविद् डा शंकर शर्मा बताउँछन् । नयाँ सवारी किन्ने भन्दा परिवार सदस्यका लागि अतिरिक्त सवारी किन्ने नेपालीकाे जमात बढेकाे उनले बताए । करिब ६० हजार दर्शकले अवलोकन गरेको उक्त मेलामा देशका विभिन्न स्थानबाट नयाँ मोडलका गाडी तथा विदेशी गाडीको बिक्रीका लागि स्वदेशमा रहेका सबै मुख्य ब्राण्डको सहभागिता थियो । अन्तर्राष्ट्रिय तहका नाम चलेका विभिन्न कम्पनी तथा ब्राण्डका सामग्रीमा सहुलियत तथा छुटको व्यवस्थासमेत गरिएको थियो । संघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालले यस क्षेत्रले मुलुकको राजश्वमा करीब १७ प्रतिशत योगदान पुर्याएकोे जानकारी दिँदै सो क्षेत्रको विकासका लागि स्वदेशमै उत्पादनको व्यवस्था, आयातित सामानमा कर सहुलियत हुनुपर्नेमा जोड दिए । चारपाङ्ग्रे साधन तथा कारको आयातमा करीब २५६ प्रतिशतसम्म भन्सार राजश्व तिर्नुपर्ने हुँदा यसको लागत धेरै हुने गरेको व्यवसायी बताउँछन् । यस क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा वार्षिक २५ प्रतिशत योगदान गरेको सङ्घले जनाएको छ । मेलामा विभिन्न कम्पनीका ७१ बिक्री कक्ष राखिएको थियो । व्यवसायीले सवारी साधनमा सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउन माग गरेपछि सरकारले सर्वसाधारणले आम्दानी गरेर सक्षम भएपछि मात्र सवारी साधन खरिद गर्न आग्रह गरेको थियो । विद्युतीय सवारी साधन, ठूला सार्वजनिक सवारी साधनको आयातमा कर छुट गर्ने जनाइएको छ ।
सञ्चय कोषको नाफा ३ अर्ब २० करोड
काठमाडौ । गत आर्थिक वर्षमा कर्मचारी सञ्चय कोषले ३ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ । सञ्चयकर्तालाई प्रदान गरिएको ब्याज तथा कोषको व्यवस्थापन खर्च कटाउँदा सो रकम बराबर नाफा भएको कोषका प्रशासक तुलसी गौतमले जानकारी दिए । उनले नाफा रकम ६ लाख सञ्चयकर्ताको सामाजिक सुरक्षा सुविधा र वितरणको माध्यमबाट उपयोग गरिने उनले जानकारी दिए । गत आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ५२ करोड रुपैयाँ आम्दानी भएको छ । २ खर्ब ८७ अर्ब ७८ करोड रुपैयाँ अर्थात् ९८.३४ प्रतिशत रकम विभिन्न क्षेत्रमा लगानी गरेको उनले जानकारी दिए । कोषको कूल लगानीमध्ये सञ्चयकर्ता सापटीमा ५८ प्रतिशत, परियोजना कर्जामा १६, वाणिज्य बैंकको मुद्दती निक्षेपमा १९ र बाँकी ७ प्रतिशत अन्य क्षेत्रमा प्रवाह भएको छ । कोषको स्रोतमा २ खर्ब ९२ अर्ब ६३ करोड रुपैयाँ जम्मा भएको आइतबार आयोजित ५७औँ वार्षिकोत्सवका अवसरमा जानकारी दिइयो । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कृषि, श्रमलगायत सबै क्षेत्रमा रोजगार गरिरहेकालाई कोषअन्तर्गत सामाजिक सुरक्षा प्रदान गर्न सरकारले गृहकार्य गरिरहेको बताए। “कर्मचारीलाई सेवा निवृत्त भएपछि डेरामा बस्नुपर्दैन भन्ने कुराको सुनिश्चित गर्न कर्मचारी आवास योजनाको व्यवस्था हुनुपर्छ, कर्मचारी आवास व्यवस्था न्यून वैतनिक व्यवस्था भएकालाई प्राथमिकता दिइनुपर्छ, जोखिमपूर्ण आवासमा बसेकाले यो सुविधा पाउनुपर्छ”, उनले भने । कर्मचारीले उत्पादकत्व बढाएर सुविधा लिनुपर्ने, कोष मध्यकालीन ब्याजदरको प्रणालीमा जानुपर्ने र पूँजी बजारलाई सञ्चालन गर्न सक्ने क्षमतामा कोष स्थापित हुनुपर्ने मन्त्री डा खतिवडाको भनाइ थियो । अर्थ मन्त्रालयका राजश्व सचिव शिशीरकुमार ढुङ्गानाले सबै किसिमका कोषलाई नियमन गर्ने निकाय स्थापनाको तयारीमा लागिएको बताए । “सामाजिक न्यायको सिद्धान्तअनुसार सञ्चयकर्तालाई सेवा सुविधा दिइन्छ, सञ्चयकर्ताको दिगोपनको लाभका बारेमा काम गर्ने विषयमा छलफल भइरहेको छ”, उनले भने। कोषका कर्मचारीलाई मासिक २ हजार रुपैयाँ महँगी भत्ता, घर सापटी कार्यक्रममा ५ लाख रुपैयाँ थप गर्नेजस्ता निर्णय आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको ढुङ्गानाले जानकारी दिए ।
कर्मचारी सञ्चयकोषको ५७औँ वार्षिकोत्सव सम्पन्न, ३०० अर्बको वित्तीय स्रोत
काठमाडौं । कर्मचारी सञ्चयकोषले आइतबार स्थापनाको ५७औँ वार्षिकोत्सव कार्यक्रम मनाएको छ । उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी सञ्चयकोष सामाजिक सुरक्षण कोष समेत रहेको कारण सामाजिक सुरक्षाका कार्यक्रमलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताएका छन् । अर्थमन्त्री डा. खतिवडाले कोषमा रहेको लगानी योग्य रकमलाई एक वर्षभन्दा बढी अवधिको निक्षेपमा लगानी गरी पुँजी बजारको प्रमुख खेलाडीको रुपमा रहनु पर्ने बताए । उनले नेपाल सरकारको नीति अनुसार कर्मचारी आवसको लागि काम गर्न कोषलाई आग्रह गरेका छन् । यसैगरी सोही कार्यक्रममा बोल्दै नेपाल सरकारका राजश्व सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष शिशिर कुमार ढुंगानाले कोषलाई सुदृढ सामाजिक सुरक्षण संयन्त्रको रुपमा विकास गर्दै लैजाने नीति रहेको बताए । उनले कोषमा रहेको रकमको दीर्घकालिन व्यवस्थापन गर्न श्रोत व्यवस्थापन र लगानी विविधिकरणमा सुधार गर्नुपर्ने बताए । उनले कोषले निर्णय गर्दा जहिले पनि सञ्चयकर्ताहरुको बृहत्तर हितलाई हेरेर मात्र निर्णय गर्नुपर्ने बताएका छन् । सोहि कार्यक्रममा बोल्दै कोषका प्रशासक तुलसीप्रसाद गौतमले नेपाल सरकारले अघि सारेको एकिकृत सामाजिक सुरक्षाको अवधारणलाई सार्थक तुल्याउन कर्मचारी सञ्चयकोषलाई प्राप्त हुने भुमिका र जिम्बेबारी निर्वाह गर्न कोष प्रतिबद्ध रहेको बताएका छन् । उक्त कार्यक्रममा कोषमा २५ वर्ष र १५ वर्ष सेवा गर्ने ३ जना कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको थियो । त्यस्तै एसइइ परिक्षामा उत्कृष्ठ अंक ल्याउने कर्मचारीका सन्ततिलाई पुरस्कृत गरिएको थियो । कर्मचारी सञ्चयकोषमा हाल ६ लाख सञ्चयकर्ताहरुको करिव ३ सय अर्व बरावरको वित्तिय स्रोत रहेको छ । उक्त रकमबाट कोषले सञ्चयकर्ताको सामाजिक आवश्यकता पूर्ति गर्नको लागि विभिन्न सापटी सुविधाहरु प्रदान गरिरहेको छ भने मुनाफा रकमबाट कोष खडा गरी विभिन्न किसिमका सामाजिक सुरक्षणका सुविधाहरु प्रदान गर्दै आइरहेको छ । यसैगरी कोषले मुलुकको पूर्वाधार विकासको लागि विभिन्न जलविद्युत कम्पनीहरु माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत कम्पनीद्धारा प्रबर्धित विभिन्न जलविद्युत आयोजनामा ऋण लगानी गरिरहेको छ । नेपाल बायु सेवा निगमलाई विमान खरिद गर्न ऋण लगानी गरेको छ यस्तै कोषले सञ्चयकर्ताको बहुमत शेयर स्वामित्व रहने गरी ६८८ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजना निर्माणको प्रारम्भिक प्रकृयाको शुरुवात गरेको छ ।
बजारप्रति लगानीकर्ताको विश्वास बढ्दै, सेयर बेच्नेभन्दा किन्नेको भीड
काठमाडौं । लगानीकर्ताको विश्वास बढ्दै गएपछि विस्तारै सेयर बजार पनि उकालो लागेको छ । बैंकको ब्याजदर घट्न थालेको र लाभांशको लोभले गर्दा सेयर बजार बढेको हो । सेयर बजारमा देखिएको सुधारसंगै कारोबार रकममा पनि वृद्धि भएको छ । यता बैंकहरुले सेयर कर्जाका लागि योजना ल्याउन थालेका छन् । निरन्तर घटिरहेको बजार दुई साताअघिदेखि उकालो लागेपछि लगानीकर्ताहरु सेयर बजारप्रति आकर्षित भएका हुन् । हाल बजारमा सेयर बेच्नेको भन्दा किन्नेको भीड लागेको ब्रोकरहरुको भनाई छ । केही दिनयता बेच्ने भन्दा किन्नेको चाप बढेको ती ब्रोकरको भनाई छ । सेयर मूल्य सस्तो भएकाले लगानीकर्ताले किन्न थालेपछि बजार बढेको ती ब्रोकरको भनाई छ । बाणिज्य बैंकहरुको सेयर मूल्य सस्तो भएको र लाभांश पाउने लोभले गर्दा लगानीकर्ताहरु सेयर किन्नमा झुम्मिएका छन् । आइतबार मात्रै १६६ कम्पनीको ९१ करोड ५२ लाख ९२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा सेयर कारोबार लगायत परिसूचकमा पनि सुधार हुँदै गएको छ । आइतबारको सेयर बजार ११ अंकले उकालो लागेर १२५६.५३ अंकमा पुगेको छ । सो मध्ये सबैभन्दा बढी एनएमबी बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ७ करोड १४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने सेयर मूल्य प्रतिकित्ता ३५९ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंकको पनि ४ करोड रुपैयाँ बराबराको सेयर किनबेच भएको छ । नेपाल बैंकको थप निष्कासन (एफपीओ) को कारोबार हुने तयारीमा छ । आइतबार कारोबारमा आएका सबै समूहको सूचक हरिया भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ४८ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादमूलक २६, निर्जीवन बीमा र विकास बैंक २० र बैंकिङ समूह १३ अंकले बढेका छन् भने बाँकी समूह सामान्य अंकले उकालो लागेका छन् ।