दसैँ अवधिमा एक करोड बढीको खाद्यान्न बिक्री
कर्णाली । कर्णाली प्रदेशस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतले दसैँ अवधिमा एक करोड रुपैयाँ बढीको खाद्यान्न बिक्री गरेको छ । भदौ ३० गतेदेखि सुपथ मूल्य पसल राखेर बिक्री सुरु गरेको व्यापार कम्पनीले दुई सातामा एक करोड १३ लाख पाँच हजार ७९१ रुपैयाँ मूल्य बराबरको खाद्यान्न बिक्री गरेको हो । यस अघि हरेक दिन करिब एक लाख रुपैयाँको दरले बिक्री गरेकोमा दसैँ अवधिमा दैनिक १५ लाख रुपैयाँ बराबरको खाद्यान्न बिक्री गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश सुर्खेतका प्रादेशिक प्रमुख केशवराज बुढाले जानकारी दिए । उनका अनुसार दसैँ तथा तिहारलाई लक्षित गरेर सहुलियत दरमा खाद्यान्न बिक्री सुरु गरेपछि दश गुणाले कारोबार वृद्धि भएको छ । बुढाले भने, 'दसैँ तथा तिहारका लागि १५ हजार ५०० क्विन्टल चामल, १७ हजार क्विन्टल चिनी र २२ हजार लिटर तेलको कोटा निर्धारण गरिएको छ । आइरन, जिङ्क, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन र पाइरिडक्सिनलगायत पौष्टिक तत्वयुक्त सुदृढ चामलमा पछिल्लो समयमा नागरिकहरुको आकर्षण बढ्दै गएको छ ।' सरकारले कर्णालीका नागरिकहरुको कुपोषण घटाउने उद्देश्यका साथ फोर्टिफाइड (सुदृढ) चामल वितरणमा जोड दिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कर्णालीका नौ जिल्लामा पुग्ने गरी एक लाख क्विन्टल खाद्य अनुदान कोटा छुट्याएको उनले बताए । व्यापार कम्पनीका सूचना अधिकारी शोभा रेग्मीले भदौ ३० गतेयता ८३५ क्विन्टल चामल, १३१ दशमलव ११ क्विन्टल चिनी र अठार हजार ६६० लिटर तेल बिक्री भएको बताए । नागरिकका लागि सहुलियत दरमा खाद्य वितरण सेवा आगामी कात्तिक १० गतेसम्मका लागि प्रवाह गरिने कम्पनीले जनाएको छ ।
सगरमाथा नजिकै फसेका करिब हजार पर्वतारोही सकुशल उद्धार
बेइजिङ । विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको तिब्बती पठारमा सप्ताहन्तमा परेको भीषण हिमपातपछि फसेका करिब एक हजार पर्वतारोही र सहयोगी कर्मचारीलाई सकुशल उद्धार गरिएको चिनियाँ राज्य मिडियाले जानकारी दिएको छ । हालका वर्षहरूमा चीनको पश्चिमी उच्चभूमि क्षेत्रमा पर्यटन तीव्र गतिमा बढ्दै आएको छ । यो वर्षको आठ दिने राष्ट्रिय बिदाका अवसरमा हजारौँ पर्यटक र बाहिरी खेलप्रेमीहरू यस क्षेत्रका प्रसिद्ध ट्रेकिङ मार्गहरूमा पुगेका थिए । तर सप्ताहन्तमा परेको तीव्र हिमपातले धेरै शिविरहरू पुरिँदा यात्रुहरू फस्न पुगेका थिए । त्यसपछि उद्धारकर्मीहरूले अग्निशामक, घोडा, याक र ड्रोनसम्म प्रयोग गरी ठूलो मात्रामा उद्धार अभियान सञ्चालन गरेका थिए । राज्य समाचार एजेन्सी सिन्ह्वाका अनुसार पाँच सय ८० जना पर्वतारोही र तीन सयभन्दा बढी स्थानीय गाइड, कर्मचारी र याक गोठालाहरू सुरक्षित रूपमा नजिकैको बस्तीमा फर्किएका छन् । उद्धार टोलीहरूले लगभग एक दर्जन थप पर्वतारोहीहरूलाई आपूर्तिसहित नजिकैको बस्तीमा पु¥याएका छन् । सबैजना सुरक्षित रूपमा फर्किएपछि सगरमाथा नजिकको उद्धार अभियान औपचारिक रूपमा समाप्त भएको बताइएको छ । यद्यपि अप्रत्याशित चरम मौसमका कारण नजिकका अन्य क्षेत्रमा क्षति पुगेको जनाइएको छ । छिमेकी किङ्घाई प्रान्तमा एक हाइकरको हाइपोथर्मिया र उचाइ रोगका कारण मृत्यु भएको राज्य मिडियाले सोमबार पुष्टि गरेको छ । यसैबीच, नेपाल र भारतको सिमानामा भारी वर्षाले निम्त्याएको बाढी र भूस्खलनबाट ७० जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । उद्धारकर्मीहरूले दुर्गम पहाडी बस्तीहरूमा पुग्न अहिलेसम्म पनि कठिनाइ भोगिरहेका छन् । रासस
सुनको मूल्यमा लगातार रेकर्ड ब्रेक, तोलाको २ लाख ३८ हजार पुग्यो
काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुन २ हजार ६ सय रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँमा पुगेको छ । यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो । मंगलबार प्रतितोला सुन २ लाख ३५ हजार ४ रुपैयाँमा कारोबार भएको थियो । लगातारको वृद्धिसँगै नेपाली बजारमा सुनको मूल्यले यसअघि सबै रेकर्ड तोडेको हो । त्यसैगरी, चाँदीको मूल्य भने आज सामान्य रूपमा घटेको छ । बुधबार प्रतितोला चाँदी ५ रुपैयाँले घटेर २ हजार ९५५ रुपैयाँमा झरेको छ।
रातो नदीले तटबन्ध भत्काउँदा १५ करोड क्षति
जलेश्वर । रातो नदीको हालैको बाढीले तटबन्ध भत्काउँदा रु १५ करोड बराबरको क्षति भएको छ । नदीका दुवै किनारमा बनाइएका एक हजार ६१० मिटर तटबन्धमा क्षति हुँदा उक्त रकम बराबरको हानि भएको हो । करिब रु १५ करोड बराबरको तटबन्ध बगाएको जनकपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका इञ्जिनियर सुरेश मण्डलका अनुसार रातो नदीले बञ्चौरीको दुई स्थानमा ७० र ८० मिटर, लोहारपट्टीको दुवैतर्फ तीन सय मिटर डाम्हीमा १५० मिटर तटबन्ध भत्काएको छ । नदीले तटबन्ध भत्काएपछि जिल्ला सदरमुकाम जलमग्न भएको थियो । बाढीबाट जलेश्वरका एक हजार ५०० परिवार विस्थापित भएका छन् भने जिल्लाको एकडारा, महोत्तरी गाउँपालिका, पिपरा गाउँपालिका, मटिहानी नगरपालिका, बलवा नगरपालिकासहित १० नगरपालिका र पाँच गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन् ।
मनसुन क्रमशः कमजोर हुँदै, कोशी, कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश तथा गण्डकी प्रदेशका पश्चिमी भागका केही स्थानमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भेगमा मनसुनी एवं स्थानीय वायुको कमजोर प्रभाव रहेको जनाएको छ । आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली हुने छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ । कोशी, मधेस वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले आज बिहान जारी गरेको दैनिक मौसम बुलेटिनमा उल्लेख छ ।
एम्बार्क अनम्याथ ग्लोबल म्याथ डिबेटको दोस्रो संस्करण हुने, हजारौं विद्यार्थीलाई जोड्दै
काठमाडौं । शिक्षाको क्षेत्रमा अग्रणी संस्था एम्बार्क अनम्याथले गणित सिकाउने र सिक्ने तरिकालाई नै बदल्दै आएको छ । गणितका कठिन कुराहरूलाई रचनात्मक र दैनिक जीवनसँग जोडेर सिकाउने यो संस्थाले अहिले आफ्नो सबैभन्दा नयाँ र रोमाञ्चक कार्यक्रम ग्लोबल म्याथ डिबेट लिग (जीएमडीएल) मार्फत नेपालमा पहिलो पटक गणितीय सोच र बहसलाई एकसाथ ल्याएको हो । यसको मुख्य उद्देश्य भनेको गणितको भाषालाई विश्वभर फैलाउनु हो । गणित शिक्षालाई नयाँ रूप दिँदै ग्लोबल म्याथ डिबेट लिगले गणितलाई विचार, तर्क र कुराकानीलाई बोल्ने र बुझाउने भाषा बनाउँछ । यो कार्यक्रमले विद्यार्थीहरूलाई गणितलाई समस्या समाधानको माध्यमको रूपमा मात्र नभई आफ्ना विचार व्यक्त गर्ने र नयाँ कुरा सिर्जना गर्ने माध्यमको रूपमा प्रयोग गर्न चुनौती दिन्छ । एम्बार्क अनम्याथका सह-संस्थापक दिवेश बठिजाले भने, ‘ग्लोबल म्याथ डिबेट लिगले हाम्रो दृष्टिकोणलाई झल्काउँछ कि गणित भनेको अङ्क र हिसाबभन्दा धेरै माथिको कुरा हो । यो लिग एउटा खास राष्ट्रिय मञ्च हो जहाँ विद्यार्थीहरूले देखाउन सक्छन् कि गणित भनेको तार्किक सोच र समस्या समाधानको रोमाञ्चक क्षेत्र हो, जुन परम्परागत कक्षाकोठाभन्दा धेरै उन्नत र गतिशील छ ।’ गणित र सोचको लागि राष्ट्रिय मञ्च यस वर्ष, ग्लोबल म्याथ डिबेट लिगले नेपाल भरका विद्यालयबाट ५ हजार भन्दा बढी विद्यार्थीहरूलाई एक संरचित, बहु-चरणको प्रतियोगितामा जोड्दैछ । जसले बहसमार्फत गणितीय तर्कको शक्ति देखाउँछ । प्रतियोगिता तीन चरण स्क्रीनिङ राउण्ड, क्षेत्रीय छनोट र राष्ट्रिय राउण्डमा हुनेछ । यसले सहकार्य, रचनात्मकता र आलोचनात्मक सोचको लागि मञ्च तयार गर्नेछ । यस प्रक्रियामा विद्यार्थीहरूले आफ्नो विचार शील सोच तीखो पार्छन्, सार्वजनिक स्थानमा बोल्ने क्षमता बढाउँछन् र गणितले वास्तविक जीवनका समस्याहरूमा कसरी लागू हुन्छ भन्ने कुरा गहिरो रूपमा बुझ्छन् । भविष्यको बारेमा सोचविचार गर्नेहरूलाई सशक्त बनाउँदै गणित र कुराकानीको कलालाई जोडेर, ग्लोबल म्याथ डिबेट लिगले अर्को पुस्ताका नेतृत्वकर्ताहरू तयार गर्दैछ । जसले विश्लेषणात्मक रूपमा सोच्न र प्रभावकारी रूपमा कुराकानी गर्न सक्छन् । यो कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक आधार बलियो बनाउनुका साथै गणितलाई रचनात्मकता, नवप्रवर्तन र नेतृत्वको माध्यमको रूपमा मनाउँछ । नेपालमा यस किसिमको पहिलो कार्यक्रमको रूपमा, ‘जीएमडीएल’ले युवा सोचविचार गर्नेहरू, बहस गर्नेहरू र समस्या समाधानकर्ताहरूको राष्ट्रव्यापी समुदाय सिर्जना गर्दैछ जसले गणितलाई विषय मात्र नभई जीवनको लागि एउटा सोचाइको रूपमा हेर्छन् । सन् २०१२ मा स्थापित उन्म्याथ स्कुल एउटा अग्रणी शैक्षिक संस्था हो जसले विद्यालयहरूमा गणित सिकाउने तरिकालाई नयाँ रूप दिइरहेको छ । एम्बार्क उन्म्याथ यसै विश्वव्यापी मिशनको विस्तार हो, जसले ग्लोबल म्याथ डिबेट लिग, म्याथ म्याराथन, र स्पेस म्याथ जस्ता कार्यक्रमहरू मार्फत सबै उमेरका विद्यार्थीहरूलाई गणितप्रति रोचक, अर्थपूर्ण र परिवर्तनकारी बनाउँछ ।
भारी उपकरणको सहयोगमा सिंहदरबार भित्रका जलेका सवारी हटाइँदै
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा राखिएका सवारीसाधन जलेपछि मंगलबारदेखि भारी उपकरण प्रयोग गरेर तिनलाई हटाउन प्रारम्भ भएको छ । आगजनीमा क्षतिग्रस्त एक हजार सवारीसाधन सडक विभागका चार वटा भारी उपकरण प्रयोग गरेर ती हटाउन थालिएको विभागले जनाएको छ । हालसम्म २०० वटा चारपाङ्ग्रे र ४०० दुईपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गरिएको छ । जलेका सवारीसाधनको व्यवस्थापन नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र परिसरमा गरिएको छ । सिंहदरबारभित्र जलेका सवारीको व्यवस्थापन पूरा भएपछि अन्य स्थानका जलेका सवारी उठाइने विभागका कर्मचारी विष्णुकुमार महर्जनले जानकारी दिए ।
जहिल्यै विपत् र प्रकोपको मारमा पर्यटन, लगानीकर्तामा निराशा
काठमाडौं । पर्यटन सधैं शान्ति, स्थायित्व र सुरक्षासँग जोडिएको क्षेत्रको रुपमा लिइन्छ । यो अति संवेदनशील क्षेत्र भएको हुँदा जब देशमा प्राकृतिक प्रकोप, राजनैतिक एवं सामाजिक अस्थिरता, आन्दोलनजस्ता घटना हुन्छन्, त्यसपछि सबैभन्दा छिटो प्रभावित हुने क्षेत्रका रुपमा पर्यटनलाई लिइन्छ । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले भ्रष्टचारविरुद्ध प्रदर्शन गर्दा ७२ जनाले ज्यान गुमाए । सयौं निजी र सार्वजनिक संरचना ध्वस्त भए । प्रर्दशनपछि देशभर कफ्र्यू जारी भयो । हिँडडुल गर्ने सहज परिस्थिति भएन । त्यसले प्रत्यक्ष असर पुग्यो पर्यटकमा । निश्चित गन्तव्यसम्म पुग्नलाई सहज यातायातको व्यवस्था हुन नसक्दा पर्यटकले सास्ती भोग्नुपर्यो । प्रदर्शनको क्रममा विश्वकै ठुलो चेन होटलमध्येको होटल हिल्टनमा आगजनी भयो । त्यहाँभित्र रहेका पर्यटकलाई सुरक्षित रुपमा उद्धार गरियो तर यो घटनाले भने विश्वमै नकारात्मक सन्देश सम्प्रेषण भयो । उक्त घटनापछि पर्यटन क्षेत्रमा ठूलो धक्का लागेको छ । पर्यटन बोर्डको तथ्यांकअनुसार जेनजी प्रर्दशनपछि नेपालमा ४० प्रतिशत विदेशी पर्यटक आगमन घटेको छ । पर्यटन व्यवसायीहरुका अनुसार जेनजी घटनाले पर्यटनलाई पुनः चार÷पाँच वर्ष पछि धकेलिएको छ । नेपालमा २०७२ सालमा महाभूकम्प गयो । महाभूकम्पमा परी ८ हजारभन्दा बढीले ज्यान गुमाए । कयौं संरचनाहरु ध्वस्त भए । भूकम्पका कारण पर्यटकीय स्थलहरुमा क्षति पुग्यो । भूकम्पपछि पनि नेपालबारे अन्तर्राष्ट्रिय जगत्मा नकारात्मक सन्देश पुग्यो, नेपाल पर्यटकको लागि सुरक्षित छैन भनेर । जसले गर्दा नेपालको पर्यटन क्षेत्रलाई ठूलो धक्का लाग्यो । भूकम्पले थला परेको पर्यटन क्षेत्र पुनः पहिलेकै अवस्थामा फर्किन केही वर्ष लाग्यो । भूकम्पले थला परेको पर्यटन क्षेत्र विस्तारै उठ्दै थियो फेरि कोभिड–१९ ले प्रभावित बनायो । यसरी एकपछि अर्को विभिन्न घटनाक्रमले नेपालको पर्यटन क्षेत्रलाई प्रभावित बनाइरहेको पर्यटन व्यवसायीहरु बताउँछन् । शान्ति नभई पर्यटन फस्टाउँदैन पर्यटन क्षेत्र शान्तिको अवस्थामा मात्रै फस्टाउने होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाह बताउँछन् । उनले भने, ‘पर्यटन क्षेत्र शान्तिको अवस्थामा मात्रै फस्टाउँछ । होलिडे मनाउन, रमाइलो गर्न मानिसहरू जहाँ शान्ति हुन्छ त्यहीँ जान्छन् । आन्दोलन, कर्फ्यू वा अशान्ति हुँदा पर्यटन स्वाभाविक रूपमा प्रभावित हुन्छ ।’ अध्यक्ष शाहका अनुसार राजनैतिक अशान्तिले मात्रै नभएर प्राकृतिक प्रकोप र विपत्तिले पनि पर्यटनमा ठूलो असर पार्छ । ‘एक ठाउँमा बाढी आयो, पहिरो खस्यो भन्ने घटनाले पनि पर्यटक आउन हिचकिचाउँछन् । यो नेपालमा मात्र होइन, विश्वभर हुन्छ,’ उनी थप्छन् । पर्यटन व्यवसायी तथा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे राजनैतिक, प्राकृतिक प्रकोपजस्ता विपद्जन्य घटनाले सबैभन्दा पहिले र बढी प्रभावित पर्यटन क्षेत्रलाई पार्ने तर्क राख्छन् । नेपालको पर्यटन क्षेत्र विदेशी पर्यटकमा आधारित छ । पर्यटकहरु यात्रा गर्नुअघि कुनै पनि ठाउँ राजनीतिक, प्राकृतिक हिसाबले सुरक्षित छ कि छैन भनेर चासो लिने गर्छन् । यदि असुरक्षित महसुुस भए पर्यटकहरु घुम्नको लागि नेपाल आउन चाहँदैनन् । जसको कारण नेपालको पर्यटन आगमनमा प्रत्यक्ष असर पर्ने गरेको पाण्डे बताउँछन् । कुनै पनि घटनाले छोटो समयको लागि होस् या दीर्घकालिन पर्यटनलाई प्रभावित बनाउँदै आएको उनको तर्क छ । ‘अहिलेको जेनजी आन्दोलन छोटो समयको लागि रह्यो, त्यसले पनि पर्यटक आगमनमा ठूलो असर परेको छ ।’ नेपालमा भएका हरेक प्राकृतिक होस् या मानवीय घटना । ती घटनाहरूबाट भने पर्यटकलाई कुनै क्षति नपुगेको तर्क पर्यटन व्यवसायीहरूको छ । ‘महाभूकम्प होस् या १० वर्षे जनयुद्ध । ती घटनाहरुमा पर्यटकलाई क्षति पुग्यो भन्ने सुनिएन, अध्यक्ष पाण्डे भन्छन्, ‘अस्ति भर्खर भएको जेनजी आन्दोलनमा पनि विदेशी पर्यटकलाई क्षति पुगेको त्यस्तो कुनै समाचार आएन, पर्यटकले त्यस्तो धेरै सास्ती पनि खेप्नु परेन ।’ विदेशी पर्यटकले सास्ती खेप्नु नपरेको भए पनि यस्ता घटनाहरुले विश्वमा राम्रो सन्देश नजाने उनको तर्क छ । नेपालमा मात्रै होइन, संसारमा भइहरने यस्ता घटनाहरुले विश्वमा राम्रो सन्देश जाँदैन, विश्व पर्यटकमाझ नेपाल पर्यटकको लागि सुरक्षित छ भन्नको लागि क्याम्पिएन नै बनाएर बढ्नुको अर्को विकल्प छैन ।’ लगानीकर्ता र व्यवसायी हतोत्साही पर्यटन व्यवसायी शिव अधिकारी कोभिड-१९ को असरबाट भर्खरै तंग्रिन थालेको अवस्थामा हालैको आन्दोलन र यसले निजी क्षेत्रलाई गरेको आक्रमणले यो क्षेत्र फेरी केही वर्ष पछि धकेलेको बताउँछन् । अधिकारीले जेनजीको आन्दोलनले निजी क्षेत्र हतोत्साही भएको बताए । व्यवसायी अधिकारी भन्छन्, ‘कोभिड–१९ पछि पर्यटन विस्तारै लयमा फर्कँदै थियो । अन्तर्राष्ट्रिय चेन होटलहरूले लगानी गर्न थालेका थिए । तर, पछिल्लो आन्दोलनले निजी क्षेत्रमा निराशा बढाएको छ ।’ भूकम्प, राजतन्त्रको उतारचढाव र कोभिडजस्ता चुनौतीबाट पार हुँदै अन्तर्राष्ट्रिय चेन होटलहरूले लगानी गरिरहेको अवस्थामा यो आन्दोलनले त्यही चेन होटलमा क्षति पु¥याउँदा विदेशी लगानीकर्ताको मनोबल घटेको उनी सुनाउँछन् । उनले भने, ‘विदेशीहरू नेपालमा लगानी गर्न पहिल्यै डराइरहेका थिए, नेपालमा लगानीको राम्रो वातवारण छैन भन्थे । अस्ति आन्दोलनले त्यत्रो ठूलो चेन होटल जल्दा त्यो कुरा उदाहरणकै रुपमा देखियो ।’ यो घटनाले अन्तर्राष्ट्रिय लगानीकर्ताहरू हतोत्साही भएको र अर्बौं रुपैयाँ लगानी गरिरहेका हिल्टनजस्ता होटलहरूको लगानी डुबेको अवस्था आएको अधिकारी बताउँछन् । जेनजी घटनाले नेपालमा सुरक्षा रहेनछ, आर्मी–पुलिसले पनि काम गर्न सक्ने रहेनछन्’ भन्ने गलत सन्देश प्रवाह भएको उनको भनाइ छ । पर्यटनलाई अति संवेदनशील क्षेत्रको रुपमा व्याख्या गर्दै अधिकारीले सुरक्षाको ग्यारेन्टी नभई कोही पनि पर्यटक रमाउन नआउनेमा थप प्रष्ट पार्छन् । त्यस्तै चुनावले पनि पर्यटन क्षेत्रलाई प्रभाव पार्ने उनको तर्क छ । ‘यो वर्ष चुनाव हुने घोषणा भइसकेको छ । चुनावमा पनि आन्दोलन र आतंक हुन्छ भनेर पर्यटक आउँदैनन् । चुनावको बेला पर्यटक एक्ससाइटिङ भएर आएको थाहा छैन,’ उनले भने । आन्तरिक समस्या नेपालको पर्यटन क्षेत्रमा विपद्जयन्य घटनासँगै आन्तारिक समस्याले पनि पर्यटन क्षेत्र प्रभावित हुने गरेको व्यवसायीहरुको तर्क छ । व्यवसायीहरुका अनुसार विश्वको तुलनामा नेपालमा एयरलाइन्सको टिकट धेरै नै महँगो छ । टिकट महँगो हुँदा पनि पर्यटकहरु नेपाल आउन नचाहने व्यवसायीहरुको भनाइ छ । एयरलाइन्सको संख्या सीमित हुँदा पनि टिकट महँगो भएको व्यवसायीहरु बताउँछन् । त्यस्तै पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको अभाव समेत रहेको औल्याउँछन् व्यवसायीहरु । यो क्षेत्रमा धेरैजसो ६ महिना काम पाउने र बाँकी ६ महिना बेरोजगार भएर बस्नुपर्ने अवस्थाले कामदारहरु विदेसिने गरेका छन् । व्यवसायीहरुका अनुसार नेपालमा वार्षिक ३६ लाख पर्यटकलाई सेवा दिन सक्ने होटल संरचना तयार भइसकेको छ । तर, हालसम्म आगमन १२ लाखको हाराहारीमा सीमित छ । नेपालमा आउने पर्यटकहरु पनि छोटो समयको लागि आउने बढी छन् । व्यवसायीहरु पर्यटकको संख्या र बसाई अवधि बढाउनेतर्फ ध्यान दिनुपर्ने औल्याउँछन् । त्यसका लागि यो क्षेत्रमा सुधार गर्नुपर्ने धेरै कुरा छन् । नेपालमा पर्यटनको सम्भावना धेरै छन् । एडभेन्चर, कल्चर, सातै प्रदेशमा पर्यटकीयस्थल छन् । पर्यटनका सम्भावना भएका ती ठाउँहरुलाई प्रचारप्रसार गर्न सके नेपालमा पर्यटकको अभाव नहुने व्यवसायीहरु बताउँछन् । यद्यपि सम्भावना मात्रै भएर नहुने यसका साथै देशमा शान्ति, स्थायित्व र भरोसा कायम हुनुपर्ने आवश्यकता रहेको विज्ञहरु औल्याउँछन् ।
उत्कर्षमा पुग्यो टेलिकममा कमिसन विवाद, सरुवाको डण्डा चलाइँदै
काठमाडौं । नेपाल टेलिकम, डिलर र खुद्रा बिक्रेताबीचको कमिसन विवाद दिनप्रतिदिन चर्किंदै गएको छ । टेलिकमले नमस्ते पे प्रणालीमार्फत कमिसन सिधै खुद्रा बिक्रेताको खातामा पठाउने तयारी गरेपछि असन्तुष्ट डिलरहरूले आन्दोलनमै उत्रिएका हुन् । टेलिकमले नयाँ प्रणाली ल्याएर पुरानो सम्झौता उल्लंघन गरेको आरोप डिलरवालाहरुको छ । यो निर्णयले टेलिकमसँगै आफ्नो आम्दानी घट्ने चिन्ता उनीहरुको छ । तर, नेपाल टेलिकमले भने नयाँ प्रणाली पारदर्शिता र कानूनी व्यवस्थाअनुसारै लागू गर्न लागिएको तर्क दिएको छ । के हो विवाद ? नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालनमा आएको नमस्ते पे भुक्तानी प्रणाली तयार भएपछि टेलिकमले अब कमिसन सिधै रिटेलरहरूलाई पठाउने योजना बनाएको छ । यसअघि भने कमिसन डिलरमार्फत वितरण हुन्थ्यो । खुद्रा बिक्रेताहरूका अनुसार पूरानो प्रणालीमा डिलरहरूले खुद्रा बिक्रेताको हिस्सा समेत आफैं राख्ने गर्थे, जसले गर्दा खुद्रा स्तरका व्यापारी र उपभोक्ता दुबै मारमा पर्थे । ‘टेलिकमले हाम्रो अधिकार खोस्न खोजेको छ । हामीलाई नमस्ते पेमा दर्ता गर्न नदिई खुद्रा बिक्रेतासँग सिधा सम्बन्ध बनाउने प्रयास भइरहेको छ, जुन ऐनविपरीत छ,’ एक डिलर सञ्चालकले भने । तर, निर्देशनालयले जारी परिपत्रमा भने करार ऐन, २०५६ खारेज भइसकेको भन्दै मुलुकी देवानी संहिता ऐन, २०७४ अनुसार सबै प्रक्रिया कानूनी भएको स्पष्ट पारेको छ । साथै, डिलर र खुद्रा बिक्रेतालाई भुक्तानी गर्ने तरिका सम्झौता अनुसार नै रहेको र कुनै गैरकानूनी कार्य नगरिएको दाबी गरिएको छ । बागमती निर्देशनालय घेराउ भुक्तानी प्रणाली परिवर्तनविरुद्ध बागमती प्रदेशअन्तर्गतका डिलरहरूले केही दिनअघि बागमती प्रदेश निर्देशनालय घेराउ गरेका थिए । टेलिकमका एक अधिकृतका अनुसार, ‘घेराउमा आएका धेरै व्यक्ति डिलर नभई बाह्य व्यक्ति थिए । केही लाठी बोकेर पनि आएका थिए, त्यसैले प्रहरीलाई बोलाउनुप¥यो ।’ उनका अनुसार, डिलरहरूको माग पुरानो भुक्तानी प्रक्रिया कायम राख्ने हो, तर त्यस्तो व्यवस्था अब कानुनी रूपमा सम्भव छैन । डिलरहरूले भदौ १६ गते दिएको निवेदनमा नमस्ते पेमार्फत खुद्रा बिक्रेतालाई सिधा भुक्तानी गर्नु कानुनविपरीत रहेको उल्लेख गरेका थिए । उनीहरूले कम्पनी ऐन र सम्झौता दुवै उल्लंघन भएको दाबी गरेका छन् । तर, टेलिकम बागमती निर्देशनालयले विस्तृत परिपत्र जारी गर्दै भन्यो, ‘करार ऐन, २०५६ खारेज भइसकेको छ । हाल मुलुकी देवानी संहिता, २०७४ अनुसार सबै प्रक्रिया कानूनी छन् । सम्झौताअनुसार नै भुक्तानी प्रक्रिया अघि बढाइएको हो ।’ निर्देशनालयका एक अधिकृतले थपे, ‘डिलरहरू अघिल्लो सम्झौतामा दोहोरो कमिसन खाइरहेका थिए, प्यान नम्बर बिना पोइन्ट अफ सेल (पोस) सिर्जना गरी खुद्रा र डिलर दुवैको हिस्सा आफैंले लिने गर्थे । नमस्ते पे प्रणालीमा प्यान नम्बर अनिवार्य भएपछि उनीहरू तिलमिलाएका हुन् ।’ फ्रड कार्ड र कालाबजारीको आरोप टेलिकमले प्रिपेड सिम कार्डको अधिकतम खुद्रा मूल्य ९० रुपैयाँ तोकेको छ । तर, उपभोक्ताबाट आएका उजुरीअनुसार धेरै स्थानमा डिलर र खुद्रा पसलहरूले बढी मूल्य लिने गरेको पाइएको छ । यसै सन्दर्भमा टेलिकमले चेतावनी दिंदै परिपत्र जारी गरेको थियो । तोकेको मूल्यभन्दा बढीमा सिम वा रिचार्ज कार्ड बिक्री गर्नेहरू कानुनी कारबाहीमा पर्न सक्ने चेतावनीसहितको परिपत्र टेलिकमले काटेको थियो । यही परिपत्रपछि विवाद अझ तीव्र भएको हो । त्यसैबीच, केही डिलरहरूले प्रयोग भइसकेका वा अवैध कोड भएका कार्ड पुनः बिक्री गर्ने गरेको गुनासो बढेपछि टेलिकमले केही ठाउँमा छापा मार्ने तयारी गरेको थियो । टेलिकमका एक अधिकारीले भने, ‘ग्राहकहरूले कार्ड खरिद गरेपछि कोड अमान्य देखिने उजुरी बढेको थियो । छानबिन गर्दा केही डिलरहरू मिलेमतोमा पुराना कार्ड पुनः बजारमा पठाइरहेको तथ्य पत्ता लाग्यो ।’ नेपाल टेलिकम डिलर संघका एक सदस्यका अनुसार टेलिकमले भुक्तानी प्रणाली मात्र बदलेको होइन, कमिसन दर पनि घटाएको छ । खुद्रा स्तरमा खर्च धान्न गाह्रो हुने गरी कटौती गरिएको छ । उनले थपे, ‘काठमाडौंमा कार्ड सजिलै पाइन्छ तर पहाडी जिल्लामा आपूर्ति सुस्त छ । टेलिकमले आपूर्ति सन्तुलनमा ध्यान नदिएर दोष हामीमाथि थोपरेको छ ।’ उपभोक्ता अधिकारकर्मी रामशरण महर्जन डिजिटल रिचार्ज बढ्दै गएको छ तर ग्रामीण क्षेत्रमा अझै भौतिक कार्डमै निर्भरता रहेको बताउँछन् । उनी बजारमा ठगी र कालाबजारी नियन्त्रण नभए उपभोक्ता नै सधैं मारमा पर्ने बताउँछन् । टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले टेलिकमको उद्देश्य डिलरको अधिकार कटौती नभई प्रणालीलाई पारदर्शी बनाउनु भएको बताएका छन् । अहिलेको विवादमा दुवै पक्षबीच समन्वय भइरहेको बताउँलै रीजिड भएर नभई वार्ताबाट समाधान खोजिने प्रयास भइरहेको बताए । सरुवाको डण्डा यो विवादपछि टेलिकमले सुरुवाको डण्डा चलाउने तयारी गरेको छ । प्रादेशिक निर्देशनालयका एक अधिकृतले डिलरको विपक्षमा रहेका पाँच जना अधिकृतलाई केन्द्रमा तान्ने तयारी भइरहेको बताए । ‘हामीले कानुनको आधारमा टेलिकमको हितमा निर्णय गरेका थियौं । तर, केन्द्रबाट अनौपचारिक रूपमा डिलरको पक्ष लिन निर्देशन दिइयो, हामीले त्यस्तो गर्न नमानेपछि सरुवाको डण्डा चलाउने तयारी भइरहेको छ ।’ ती अधिकृतका अनुसार डिलरहरूले उठाएको मागमा सहमत हुने हो भने प्यानमा दर्ता नभएका र बिल समेत नकाटिएका सिम र रिचार्जको कमिसन समेत टेलिकमले तिनुपर्ने हुन्छ । त्यस्तो भयो भने डिलर र पोसबाट टेलिकममा कर आम्दानी हुँदैन । तर, कार्ड भने बिक्री भएको हुन्छ । कार्ड र सिमकार्ड बेचिने तर आम्दानी नहुने हुँदा कुनै दिन राजस्व विभागले समाउन सक्छ । त्यो बेला त टेलिकम स्वतः फस्छ । प्रवक्ता मानन्धरले टेलिकमभित्र हुने सरुवा नियमित प्रक्रिया रहेको बताए । यसलाई विवादसँग जोडेर हेर्नु अनुचित हुने उनको भनाइ छ । मानन्धरले भने, ‘दशैंको बिदा सकिएपछि डिलरसँग छलफल सुरु हुनेछ, समस्या एकतर्फी समाधान हुँदैन, सबै पक्षले जिम्मेवारीपूर्वक अघि बढ्नुपर्छ ।’ नेपालको टेलिकम बजार अझै पनि कार्ड बिक्रीमा आधारित छ । डिजिटल रिचार्जको प्रयोग बढ्दै गए पनि ग्रामीण क्षेत्रमा वितरण, नियमन र आपूर्तिमा असमानता छ । यसले डिलर र खुद्रा बिक्रेता मात्र होइन, उपभोक्तालाई पनि असहज बनाएको छ । बजारमा सिम र रिचार्ज कार्डको मूल्य, आपूर्ति र वितरण प्रणालीबारे असन्तुष्टि बढ्दो छ । कमिसन विवाद, आपूर्ति असमानता र प्रशासनिक निर्णयका कारण नेपाल टेलिकमभित्रको असन्तोष खुलेर सतहमा आइरहेको छ । टेलिकम, डिलर र खुद्रा बिक्रेता बीचको संवाद समयमै भएन भने सिम र रिचार्ज कार्ड बजारमा थप अस्थिरता बढ्ने चेतावनी विज्ञहरूले दिएका छन् । ‘समस्या गहिरो भए पनि समाधान असम्भव छैन । पारदर्शिता, प्राविधिक सुधार र साझेदारीको भावना भएमा टेलिकम र डिलर दुवै लाभान्वित हुन्छन्’ प्रवक्ता मानन्धरले भने । अहिले नेपाल टेलिकममा निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारीमा सविना मास्के प्रधान छन् । बिलिङ प्रणाली खरिदमा भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १७ व्यक्ति र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि रिक्त पदमा प्रधानलाई गत जेठमा जिम्मेवारी दिइएको थियो । सम्बन्धित सामग्री : सिमकार्ड बेच्नेलाई ६१५ प्रतिशत कमिशन, शीर्षक बदलेर करोडौं कर छली
सूर्यज्योति लाइफले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा सहयोग गर्यो डेढ करोड रुपैयाँ
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । इन्स्योरेन्सले राष्ट्र र समुदायका लागि आवश्यक परेको हरेक समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गर्दै आएको छ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा देशभरका सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोड हुँदा भएको ठूलो क्षतिपछि नेपाल सरकारले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरेको छ । राष्ट्र पुनर्निर्माणको यस महान अभियानमा सहभागी हुँदै सूर्यज्योति लाइफले उक्त कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोगको चेक कम्पनीका सञ्चालक चुडामणि देवकोटा र प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले मंगलबार अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेका छन् । कम्पनीले विगतमा पनि विशेष गरी शिक्षा र स्वास्थ्य क्षेत्रका लागि निरन्तर सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको छ । प्रमुख कार्यकारी अधिकृत खत्रीले हाल गरिएको यो योगदानले क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत कार्यमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता राष्ट्रिय अभियानमा सूर्यज्योति लाइफ सधैं अग्रसर रहने प्रतिबद्धता जनाएका छन् ।
जुम्लामा १० करोड रुपैयाँको खसी र भेडाको कारोबार
काठमाडौं । यस वर्षको दसैँको अवधिमा जुम्लामा करिब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सदरमुकाम खलङ्गा बजार लगायतका स्थानीय तहमा भएको खसी र भेडा खरिद बिक्रीबाट उक्त परिमाणमा कारोबार भएको हो । चन्दननाथ नगरपालिका पशुपन्छी विकास शाखाका प्रमुख वीर बहादुर रावतले भने, ‘तीमध्ये स्थानीय भेडा ९ करोड ३४ लाख ८८ हजार रुपैयाँ, खसी ३७ लाख ४० हजार रुपैयाँको खरिद बिक्री भएको हो । जिल्लाभर करिब २ करोड अन्य भेडा बिक्री भएको अनुमान गरिएको छ । यस्तै, नगरपालिका क्षेत्रबाट २६ लाख ७७ हजार रुपैयाँको राँगो, भैँसी खरिद बिक्री भएको छ ।’ यस वर्ष दसैँका लागि मात्र ५ हजार ८४३ भेडा, २५६ खसी र ६३ राँगो खरिद बिक्री भएको बिक्री भएको तथ्याङ्क छ । दसैँमा स्थानीय भेडाको अधिकतम मूल्य २३ हजार रुपैयाँ, न्यूनतम् मूल्य ९ हजार रुपैयाँ र औसत मूल्य १६ हजार रुपैयाँ तोकिएको पशुपन्छी विकास शाखा प्रमुख रावतले बताए । खसीको अधिकतम मूल्य २२ हजार रुपैयाँ, न्यूनतम् मूल्य ८ हजार रुपैयाँ, औसत मूल्य १५ हजार रुपैयाँ रहेको छ । यस्तै, राँगो भैँसीको अधिकतम मूल्य ६१ हजार रुपैयाँ, न्यूनतम् मूल्य २४ हजार रुपैयाँ र औसत मूल्य ४२ हजार ५०० रुपैयाँ रहेको छ । यहाँ मुगु, कालीकोट, दैलेख, बाजुरालगायत जिल्लाबाट खसी, भेडा र राँगो भैँसी ल्याइएको थियो । गत वर्षको दसैँमा १६ करोड ३२ लाख ३१ हजार रुपैयाँ मूल्य बराबरको काराेबार भएकाे नगरपालिकाले जनाएको छ । गत वर्षभन्दा यो वर्ष भेडा र खसीको मूल्य औषत रूपमा ३० प्रतिशतले घटेको यहाँका स्थानीय व्यापारीले बताएका छन् ।
मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग
काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध बनेपछि वैकल्पिक मार्गका रुपमा फिदिम-म्याङलुङ-धनकुटा-धरानको रुट प्रयोग गरिएको छ । ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रका यात्रुले पूर्वी तराई झर्न प्रयोग गर्ने मेची राजमार्ग र तमोर करिडोरका एक दर्जन स्थानमा बाढीपहिरोले अवरुद्ध हुँदा यात्रु महँगो भाडा तिरेर लामो दूरीको वैकल्पिक रुट प्रयोग गर्न बाध्य भएका हुन् । पाँचथर सदरमुकाम फिदिमबाट मध्यपहाडी लोकमार्ग प्रयोग गरेर तेह्रथुम सदरमुकाम म्याङलुङ पुग्दा मेची राजमार्ग हुँदै झण्डै झापाको बिर्तामोड पुगिन्छ भने तमोर करिडोर भएर धरान नै पुगिन्छ । यी प्रमुख सडकको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गरिएको हो । सोमबार दिउँसो तेह्रथुमको म्याङलुङ बसपार्कमा भेटिएकी काठमाडौंकी कमला पाठकले आफू पनि वैकल्पिक मार्ग प्रयोग गरी म्याङलुङ आइपुगेको बताइन् । उनले म्याङलुङबाट बसन्तपुर-हिले-धनकुटा-धरान हुँदै काठमाडौं फर्किने बताइन् । पाँचथर याङवरकका राजकुमार सेलिङले पनि वैकल्पिक मार्ग प्रयोग गरी झापाको बिर्तामोड हिँडेको बताए । पाथीभरा देवीको दर्शन गरेर फर्किने दर्शनार्थी, उपचारका लागि सुविधासम्पन्न अस्पताल खोज्दै तराई झर्ने सेवाग्राही र विशेष कामले पूर्वी तराई र राजधानी काठमाडौं फर्किनेका लागि वैकल्पिक मार्गले सहज भएको छ । म्याङ्लुङस्थित तेह्रथुम यातायात प्रालिका इञ्चार्ज मङ्गल बेघाका अनुसार ताप्लेजुङ र फिदिमिबाट झापा, मोरङ, सुनसरी जाने यात्रुवाहक सवारीसाधन म्याङ्लुङ हुँदै गइरहेका छन् । जिल्ला प्रहरी कार्यालय तेह्रथुमले दिएको जानकारी अनुसार यो मार्ग भएर सोमबार २ सय को हाराहारीमा सवारीसाधन आवतजावत गरेका छन् । तेह्रथुमको आठराई गाउँपालिकाको माझीटारदेखि लालीगुराँस नगरपालिकाको चित्रेसम्मको १२० किलोमिटर सडकमध्ये २४ किलोमिटरबाहेक सबै सडक पक्की छ । फेदाप गाउँपालिका-२ ओयाक्जुङदेखि वडा नं ५ इसिबुसम्मको १४ किलोमिटर खण्ड कच्ची छ भने फेदाप-२ स्थित खोरङ्वा-यावरा १० किलोमिटर कच्ची सडक छ । सवारी साधनको चाप बढ्ने अवस्थालाई मध्यनजर गर्दै यात्रुको सहजताका लागि फेदाप गाउँपालिकाले आइतबार कच्ची सडकको पनि मर्मत गरेको छ । तेह्रथुमको सडक अहिलेको अवस्थामा सुरक्षित रहेको र धनकुटा हुँदै धरानसम्म यातायात सञ्चालनमा कुनै समस्या नरहेकाले प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । पूर्वी पहाडलाई प्रदेश राजधानी विराटनगरसँग जोड्ने द्रुतमार्ग तमोर करिडोर सडक विभिन्न स्थानमा अवरुद्ध छ । ताप्लेजुङ, पाँचथर हुँदै झापा जोड्ने मेची राजमार्गको पनि इलाम र माइखोला लगायत स्थानमा अवरुद्ध रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईको भनाइ छ ।
मनसुन बाहिरिए पनि कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भू-भागबाट यस वर्षको मनसुन बाहिरिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज मनसुन बाहिरिए पनि पश्चिमी वायुको प्रभावका कारण विशेष गरी आज र मङ्गलबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराईका भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको र ती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ । ती प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातसमेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेष गरी कृषि र पर्यटन क्षेत्रमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागका अनुसार ४ दिन ढिला गरेर नेपालबाट मनसुन बाहिरिन थालको छ । मनसुन सामान्यतया २ अक्टोबरमा बाहिरिने भए पनि चार दिनजस्तो ढिला गरी आजदेखि मात्रै बारिन थालेको विभागले जनाएको छ । ‘यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानबाट बाहिरिएको छ,’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले प्रायः मनसुन बहिर्गमन हुने समयमा सक्रिय हुने गरेको जानकारी दिए । ‘सामान्यतया अक्टोबर २ मा मनसुन बाहिरिने गर्छ, तर कहिलेकाहीँ मनसुन लम्बिन पनि सक्छ । यो वर्ष सरदर मितिभन्दा केही ढिला गरी मनसुन बहिर्गमन भएको छ,’ उनले भने ।
सिटिजन्स क्यापिटलद्वारा २८ करोडभन्दा बढी प्रतिफल वितरण
काठमाडौं । सिटिजन्स क्यापिटलले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सिटिजन्स म्युचुअल फण्ड र क्यापिटलमार्फत करिब २८ करोड ५ लाख २१ हजार २० रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार सिटिजन्स म्युचुअल फण्ड–२ अन्तर्गतका इकाइधनीहरूले करसहित ८.२५५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् । सोही योजना अन्तर्गतको लाभांश २०८२ भदौ २० गतेदेखि वितरण सुरु गरिएको छ । यस्तै, सिटिजन्स सुपर–३० म्युचुअल फण्डका इकाइधनीहरूले करसहित १२.७५५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् । सिटिजन्स म्युचुअल फण्ड–१ गत २०८१ माघ १९ गते परिपक्व भइसकेको छ । सो फण्डले खुद सम्पत्ति मूल्य ११.३० को दरले अन्तिम वर्षको १३ प्रतिशत लाभांश (१० करोड ६६ लाख ३ हजार ७२३ सहित) २०८२ जेठ २७ गतेदेखि वितरण गरिरहेको कम्पनीले जनाएको छ । यस्तै, कम्पनीले आफ्नै मुनाफाबाट आफ्ना सेयरधनीलाई ३ करोड २० लाख नगद लाभांश २०८२ भदौ २० गतेदेखि वितरण गर्न थालेको छ । सिटिजन्स क्यापिटलले विगतमा घोषणा गरिएका तर अझै नलिइएका लाभांश रकम लिन बाँकी रहेका इकाइधनीहरूले हितग्राही खाता तथा बैंक विवरण अद्यावधिक गरी सम्पर्क गर्न आग्रह गरेको छ । नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, अण्डरराइटिङ, सेयर रजिष्ट्रार तथा डिम्याट खाता सेवा गर्न अनुमति प्राप्त सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंकको सहायक कम्पनी हो । कम्पनीमा कर्मचारी सञ्चय कोषसहित प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ ।
जेनजी आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टले भुक्तानी गर्यो झण्डै २२ करोड
काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरूको दाबी भुक्तानी प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले हालसम्म २८७ वटा दाबीमध्ये २४५ वटा दाबीबापत २१ करोड ७४ लाख ४५ हजार ८३१ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । कम्पनीका अनुसार यो रकम आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरूको अग्रिम तथा अन्तिम दाबी भुक्तानी दुवै समेटिएको हो । दाबी विभाग प्रमुख रोज राज लुइँटेलले कम्पनी नियामकीय प्रावधानभित्र रही सरल र सहज दाबी भुक्तानीका लागि प्रतिवद्ध रहेको बताए । हिमालयन एभरेस्टले दाबी भुक्तानीलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेको र मंगलबार २१ गतेदेखि पुनः यथावत रूपमा दाबी भुक्तानी सुरु हुने जनाएको छ । कम्पनीले विषम परिस्थितिलाई ध्यानमा राखी बीमित ग्राहकलाई तत्कालीन राहतका लागि शीघ्र भुक्तानी प्रक्रिया अघि बढाएको स्पष्ट पारेको छ । कम्पनीले अझै बाँकी रहेका बीमित दाबीधारकलाई आवश्यक कागजात पूरा गरी नजिकैको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
सुनको मूल्यले आज पनि बनायो ऐतिहासिक रेकर्ड, तोलामै २ लाख ३३ हजार नाघ्यो
काठमाडौं । सुनचाँदीको भाउले आज सोमबार पनि नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । साेमबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले वृद्धि भएर ऐतिहासिक रेकर्ड कायम गरेको हाे । नेपाल सुनचाँदी व्यवसायी महास‌घका अनुसार आज सुनकाे मूल्य प्रतिताेला २ लाख ३३ हजार १ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । आइतबार सुन २ लाख ३० हजार ६० सय रुपैयाँमा कारोबार भएको थियाे । त्यस्तै साेमबार चाँदीकाे मूल्य प्रतिताेला ३० रुपैयाँले वृद्धि भएर चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । साेमबार चाँदी प्रतिताेला २ हजार ९ सय ६० रुपैयाँमा काराेबार भइरहेकाे छ ।
कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । यसैगरी कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू-भागका स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । आज राती कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
जोखिम न्यूनिकरणको कदम : ओलीको आलोचना, कार्की क्याविनेटको वाहवाही
काठमाडौं । अहिले सामाजिक सञ्जालमा एक वर्ष पूरानो अभिव्यक्ति भाइरल बनिरहेको छ । त्यो अभिव्यक्ति हो पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको । गत वर्ष बाढीले ठूलो धनजनको क्षति गरेपछि प्रधानमन्त्री रहेको बेला ओलीले दिएको ‘कहाँ-कहाँ पहिरो जान्छ भनेर सरकारलाई थाहा थिएन’ भन्ने अभिव्यक्तिलाई अहिले सेयर गरेर उनको आलोचना भइरहेको छ । गत वर्षको असोज १२ गतेको बाढी पहिरोमा सरकारले हेलचेक्राई र लापरवाही गर्दा ठूलो मानवीय र भौतिक क्षति बेहोर्नु परेको भन्दै अहिले तत्कालीन सरकारको आलोचना भइरहेको हो । अहिले असोज १७ र १८ गतेको बाढी पहिरोको तुलनामा गत वर्ष धेरै क्षति भएको र त्यसको प्रमुख कारण सरकारको रहेको टिप्पणी धेरैको छ । गत वर्ष पनि जल तथा मौसम विज्ञान विभागले पूर्वूचना दिएर रेड अलर्ट नै जारी गरेको अवस्थामा तत्कालीन सरकारले वेवास्ता गरेको टिप्पणी अहिले सामाजिक सञ्जालमा भइरहेको छ । त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई सञ्चारकर्मीले सो जिज्ञासा राख्दै उनले भनेका थिए, ‘कहाँ–कहाँ पहिरो जान्छ भनेर सरकारलाई थाहा थिएन, थाहा हुने कुरा पनि होइन, काठमाडौंमा यति धेरै डुबान हुन्छ भन्ने पनि आँकलन भएन । हामी कसैले नसोचेको घटना भएको छ ।’ उनले गैरजिम्मेवार जवाफ दिएको भन्दै त्यतिखेर पनि उनी विवादमा तानिएका थिए । अहिले पनि मौसम विभागले बाढी पहिरो सम्बन्धि पूर्वसूचना दिएको थियो । तर, वर्तमान सरकारले विभागको सूचनापछि पूर्वतयारी गर्दा ठूलो जनधनको क्षति हुनबाट बचेको अधिकांशको विश्लेषण छ । अहिले सरकारले गरेको कार्यको चौतर्फिरुपमा प्रशंसा पनि भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको सूचनापछि सरकारले गरेको पूर्व तयारी तथा सूचनालाई गम्भीर्यताका साथ लिएकै कारणले सम्भावित जोखिम टारेको भन्दै वर्तमान शुशीला कार्की नेतृत्वको सरकारको वाहवाही सामाजिक सञ्जालमा भइरहेको छ । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले पनि भिडियो सन्देश जारी गरेर सबैलाई सजग रहन र खतराबाट बच्न आग्रह गरेका थिए । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङ आफै फिल्डमा खटिएका थिए । गत वर्षको सरकारले घटना भएको तेस्रो दिनमात्रै मन्त्रिपरिषद् बैठक राखेर निर्णय गर्दा वर्तमान सरकारले भने अन दि स्पट एक्सनमा उत्रिँदा ठूलो जोखिम टरेको विश्लेषण धेरेको छ । लामो समयदेखि जलवायु तथ प्रकोपको जोखिम न्यूनिकरणको क्षेत्रमा कार्यरत ङमिन्द्र दाहालले यसपटकको ठूलो मौसमी विपद टार्ने विषयमा आफ्नो विश्लेषण राखेका छन् । गत वर्षको यस्तै मौसमी उतपातले ठूलो क्षति गरेको थियो, यस पटक त्यस्तो भएन, सन्तोष मान्नु पर्दछ,’ उनले भनेका छन् । उनले अहिले क्षतिका नहुनुको तीन वटा तर्क राखेका छन् । मौसमी आँधीको लय, मौसम पूर्वानुमान सूचनाको सम्प्रेषण र विपद न्युनिकरण प्रतिकार्यको प्रभावकारितालाई यस पटकको क्षति कम हुनुको कारण देखाएका छन् । जल तथा मौसम विज्ञान विभागले नियमित सूचना जारी गर्ने हुनाले उसले विशिष्ट शैलीले सूचना नदिएसम्म त्यसलाई सामान्य मानेर बेवास्ता गरिएका कारण देशले अनेकौं विपद भोग्नु परेको थियो, २०७८को कार्तिक महिनामा परेको अबिरल वर्षाले पुर्याएको क्षति यसको ज्वलन्त उदाहरण हो,’ उनले भनेका छन्, ‘उच्च प्रविधी, तालिम प्राप्त विज्ञ र विगतका अनुभवबाट सिकेर होला, यस पटक विभागले बढी आत्मविश्वासका साथ सूचनालाई प्रभावकारी ढाँचामा सम्प्रेषण र त्यसको निरन्तर अनुगमन गरेको पाइयो ।’ यस्तै, विपद् न्युनिकरण प्राधिकरणले सुरक्षा अंगलाई सतर्क रहन निर्देशन दिने परिपाटीबाट अलि माथी उठेर तीन दिन राजमार्गमा आवतजावत रोक लगाउने आँटिलो कामको सुरुवात गर्दा पनि क्षति कम भएको उल्लेख गरेका छन् । सुरक्षा निकायका ट्राफिक, ससस्त्र प्रहरी र नेपाली सेनाको उद्धार दस्ताको सक्रियताले धेरैलाई आस्वस्त पार्न उल्लेख भूमिका खेलेको र हेलिकप्टर सञ्चालक संघले आपत आइलागे उद्धारका लागि सहज उपलब्ध हुने गरी तयार छौ भनेर जारी गरेको विज्ञप्तीले पनि राहत मिलेको उनको धारणा छ । यस्तै, धेरै सर्वसाधारण तथा वर्सेनि बाढी पहिरोबाट प्रभावित स्थानीयहरुले पनि यस वर्ष सरकार भएको महसुस भएको प्रतिक्रिया दिएका छन् । उनीहरुले सामाजिक सञ्जालमा विगतका वर्षहरुमा बाढी आउँदा रातभर जागरम बस्नु परेको पीडा उल्लेख गर्दै यस वर्ष सरकारसँगै रहेको कारण त्यस्तो चिन्ता र तनाव लिनु नपरेको अनुभव राखेका छन् । १३ वर्षदेखि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सक्रिय प्रदिप खतिवडाले पहिलो पटक सरकारको प्रभावकारी समन्वय र निर्णायक नेतृत्वले कस्तो ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने कुरा देखाएको उल्लेख गरेका छन् । उनले यो विपद् समन्वय गर्ने सरकारसहित सबै निकाय तथा सरोकारवालालाई धन्यावद दिँदै भनेका छन्, ‘अझै चुनौती बाँकी छ वर्षा भोलिसम्म निरन्तर जारी रहने अनुमान छ, हामी सारा रातभर प्रभावकारी समन्वय र शीघ्र प्रतिक्रिया सुनिश्चित गर्न काम गर्दैछौं ।’ गत वर्ष १७ अर्बको क्षति गत वर्षको बाढी पहिरोले देशमा ठूलो जनधनको क्षति भएको थियो । तत्कालीन सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार गा वर्ष बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको तथ्यांक सार्वजनिक भएको थियो भने २४२ जनाको मृत्यु र २२ जना वेपत्ता भएका थिए । त्यतिबेला बाढी, पहिरो र डुवानबाट २१ जिल्ला प्रभावित भएका थिए । तत्कालीन सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्ष खानेपानीको संरचनामा ३ खर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको थियो भने उर्जातर्फ ४ अर्ब, सिँचाईतर्फ २ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको थियो । विभिन्न बीमा कम्पनीहरुमा गत वर्ष १२ अर्ब ७८ करोड रुपैयाँ दाबी परेको थियो । गतवर्षको तुलनामा यसपालीको वर्षा तुलनात्मक रुपमा कम भएपनि स्थानीय प्रशासन र सुरक्षा संयन्त्रले सक्रियता भने तारिफयोग्य छ । कति पर्यो पानी ? असोज १७ र १८ गतेको भीषण वर्षाले देशभरको जनजीवन प्रभावित गर्यो । आइतबार काठमाडौं उपत्यकामा वर्षा नभए पनि पूर्वतिर भने जारी नै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहानदेखि आइतबार बिहानसम्म २४ घण्टाको अवधिमा रौतहटको महेशपुरमा सबैभन्दा बढी ३५८ मिलिमिटर वर्षा भएको छ । इलाम जिल्लाको हिमाली गाउँ केन्द्र (३३२.६ मिलिमिटर) र कन्याम टि स्टेट केन्द्र (३१४.२ मिलिमिटर), पर्सा जिल्लाको मुडली केन्द्र ( ३२८.६ मिलिमिटर) र गौर केन्द्र ( ३१५.० मिलिमिटर) वर्षा भएको छ । जसमध्ये १०५ वटा केन्द्रहरुमा ५० मिलिमिटर भन्दा बढी वर्षा भएको छ । ६८ वटा केन्द्रहरुमा १०० मिलिमिटरभन्दा बढी, २१ वटा केन्द्रहरुमा २०० मिलिमिटरभन्दा बढी र ५ वटा केन्द्रहरुमा ३०० मिलिमिटर भन्दा बढी वर्षा मापन भएको विभागले जानकारी दिएको छ । यो वर्षा गत वर्षको तुलनामा केही कम हो । अहिले १० करोड क्षति वर्तमान सरकारले क्षति कम हुनमा मात्रै तदारुकता देखाएको छैन, सूचना सम्पेषणमा पनि चनाखो र पारदर्शी बनेको छ । सरकारले देशभरको क्षति, सडकको अवस्था र जोखिमयुक्त ठाउँका विषयमा बारम्बार सूचना जारी गरिरहेको छ । विभागले शुक्रबार सूचना जारी गर्नेवित्तिकै सरकारले जोखिमयुक्त राजमार्गमा सवारी साधन आवतजावतमा रोक लगाएको थियो भने विभिन्न ठाउँमा होल्डिङ स्टेशन पनि बनाएको थियो । यसले राजमार्गमा हुने ठूलो सम्भावित क्षति टारेको छ । स्थानीय प्रशासनहरूले राजमार्गमा सवारी आवागमन रोकेर उनीहरुको खाना बस्नको व्यवस्था गरे । गतवर्ष सिमलताल र झ्याप्लेखोलामा पहिरोले बस पुरिएर ३५ जनाको मृत्यु भएको थियो । यस वर्ष यस्तो कहाली लाग्दो घटना नदोहोरिनुको कारण सरकारको पूर्वतयारी नै हो । ट्राफिक प्रहरीले पनि काठमाडौबाट बाहिर जान नदिनका लागि नागढुङ्गा नाका बन्द नै गरिदियो । जसले त्रिशुली र मुग्लिङ–नारायणगढ सडक आसपासमा हुने ठूलो घटना हुनबाट जोगायो । यी सडक खण्डमा प्रत्येक वर्ष माथिबाट पहिरो आएर ठूलो मानवीय क्षति गरेको छ । तर, यस वर्ष त्यो घटना दोहोरिन सकेन । सरकारले आपतकालीन अवस्थामा उद्दारका लागि हेलिकप्टरहरूलाई समेत तम्तयार अवस्थामा राखेको छ । यति हुँदा हुँदै पनि केही क्षति भने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार हालसम्म १० करोडको क्षति भएको छ भने हालसम्म ४९ जनाले ज्यान गुमाएका छन् । सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सबैभन्दा बढी इलाममा ३७ जनाको मृत्यु भएको छ । पाँचथरमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । रौतहटमा ३, उदयपुरमा २ र खोटाङमा १ जनाको बाढीपहिरोमा परी मृत्यु भएको छ । बाढीपहिरोमा परी ७ जना बेपत्ता छन् भने २० भन्दा बढी घाइते भएका छन् । सबैभन्दा ठूलो मानवीय क्षति भने इलामको पहिरोमा भएको छ । सो पहिरोमा परेर ३७ जनाको ज्यान गएको छ । रसुवामा खोलामा बगेर चार जना बेपत्ता भएका छन् । अहिले पनि अधिकांश सडक खण्डहरु अवरुद्द भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पश्चिम तर्फका सडक खण्डमा सवारी साधन सञ्चालनमा ल्याइसकेको बताएका छन् भने अन्य सडकलाई पनि छिट्टै सञ्चालनमा ल्याउने काम भइरहेको धारणा राखेका छन् । उनका अनुसार भौतिक पूर्वाधार मन्त्रालय तथा सडक विभागले यातायात यथाशीघ्र पुनः सुचारु गर्न आवश्यक सबै जनशक्ति, उपकरण र स्रोत परिचालन गरिएको छ । प्रमुख राजमार्गका अवरुद्ध खण्डहरूमा दिनरात मर्मत कार्य तीव्र रूपमा जारी राखेको र बाँकी सडकहरू पनि शीघ्र सञ्चालनमा ल्याउने उनले प्रतिबद्धता व्यक्त गरे । ‘हिजोदेखि नै मेसिन र जनशक्ति परिचालन गरी काठमाडौंबाट पश्चिम र मुग्लिङ हुँदै पोखरा र नारायणघाटतर्फ जाने पृथ्वी राजमार्ग, नारायणघाट–मुग्लिन राजमार्गका अवरोध हटाई सवारी साधन संचालन हुन सक्ने बनाई सकिएको छ भने अवरुद्ध बीपी राजमार्ग (भकुन्डेबेसी–नेपालथोक खण्ड) र मेची राजमार्ग यथाशक्य छिटो सञ्चालनमा ल्याउने गरी अवरोध हटाउने र डाइभर्सन बनाउने काम शुरु भइसकेको छ,’ मन्त्री घिसिङले भने ।
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार सन्देश शर्मा पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणका फरार रहेका दाङको तुलसीपुर उपमहानगरपालिका–१६ प्रतिवादी सन्देश शर्मालाई पक्राउ गरेको छ । निजलाई ललितपुरबाट पक्राउ गरी कारागार पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । फरार व्यक्ति गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेर फरार रहेका थिए ।
शनिबारको बाढीले १० करोडको क्षति, यस्तो छ क्षतिको विवरण
काठमाडौं । शनिबार परेको भारी वर्षाले विभिन्न ठाउँमा करोडौंको क्षति भएको छ । सरकारले उपलब्ध गराएको तथ्यांक अनुसार अबिरल वर्षाले गर्दा विभिन्न क्षेत्रमा नदी कटान, डुबान तथा बाढीले नदी नियन्त्रण तर्फ करिब १५०० मिटर तटबन्ध कटान भई जम्मा १० करोड क्षति पुर्याएको अनुमान गरिएकाे हाे । यस्तो छ क्षतिको विवरण - कन्काई नदीले गौरीगञ्ज २ झापामा हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्धन कटान गरी होकलबारी गाउँको करिब ११४ घर बारी डुबान भएको र ५०० हेक्टर धान खेतमा क्षति साथै झापा गाउँपालिका २ को कुवाडीमा अनुमानित २०० मिटर तटबन्ध कटान गरी करिब २५ हेक्टरमा क्षति भएको । अनुमानित क्षतिको लागत ७५ लाख रुपैयाँ। - मेची नदीले ठाउँ ठाउँमा रहेको स्परहरूमा क्षति पुर्याएको । अनुमानित क्षतिको लागत ५० लाख रुपैयाँ । - केशलिया नदीमा (बुढी खोला) आएको बाढीले विराटनगर महानगरपालिका ६ र १२ को बस्ती डुबान भई ७५ घर धुरी स्थानान्तरण भएको । - कमला नदीको पूर्वी किनार सिरहा १७ पटेरूवाको तटबन्धमा क्षति पुर्याएको । अनुमानित क्षतिको लागत २५ लाख रुपैयाँ । - लाल बकैया नदीको दायाँ किनार मौलापुर नगरपालिका १ मर्यादपुरमा करिब ६० मिटर तटबन्ध बगाई करिब १०० हेक्टर धान खेत र बौदीमाई गाउँमा करिब १२० मिटर तटबन्ध बगाई २०० हेक्टर धान खेतमा क्षति भएको र अनुमानित २०० वटा घर गोठ डुबान भएको । अनुमानित क्षतिको लागत ६० लाख रुपैयाँ । - महोत्तरीको रातो नदीले बलवा नगरपालिका २, १० र ११ को बन्चौरी, लेउरी, भल्नी तथा भगवतीपुर गरी ३९० मिटर तटबन्ध बगाएको, साथै लोहरपट्टी नगरपालिका ६ लोहारपट्टीका ४०० मिटर, महोत्तरी गाउँपालिका ६ रतबारामा २० मिटर, जलेश्वर नगरपालिका १, ४ र ७ को बखरी र खैरामा गरी ८० मिटर तटबन्ध बगाई क्षति भएको । रातो नदीले जम्मा ८९० मिटर तटबन्ध कटान भएको र साथै सदरमुकाम जलेश्वर समेत बाढीको जोखिममा रहेको । अनुमानित क्षतिको लागत ८ करोड रुपैयाँ । सिँचाई तर्फ - सिँचाई प्रणालीहरूको बाँध क्षेत्रमा नदीहरूमा आएको बाढीलाई सुरक्षित तवरले नदीमा फर्काउन हेड रेगुलेटर, अन्डरस्लुइस, मूल नहर र शाखा नहरहरूका गेटहरूलाई समयमा नै गेट अप्रेसन गरेको हुँदा सिँचाई प्रणालीहरूमा उल्लेख्य क्षति नभएको । - झाँज सिँचाई प्रणालीको ब्यारेज भन्दा २०० मिटर माथिल्लो तटिय क्षेत्रको दायाँ गाइड बण्डबाट ओभरफ्लो भई मोहमदपुर गाउँ डुबान भएको । - सुनसरी मोरङ, बागमती र नारायणी सिँचाई आयोजनाहरूको सिञ्चित क्षेत्र भित्र रहेका खोला खोल्साहरूले खेतीयोग्य जमिनमा कटान गरेको प्रारम्भिक आँकलन रहेको । - सुनकोशी नदीमा आएको बाढीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गतको निर्माणाधीन बाँध स्थल डुबान भएको । कफर ड्याम लगायत निर्माणाधीन संरचनाहरूको अवस्था एकिन हुन नसकेको । पहिरो तर्फ - इलाम, पाँचथर, ताप्लेजुङ लगायत कोशी र बागमती प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोका घटनाहरू भएको र सो को विवरण प्राप्त हुन बाँकी ।