सिन्धुली सडक बनाउन जापानले एक अर्ब ८५ करोड रुपैयाँ सहयाेग गर्ने

काठमाडौं । जापान सरकारले भूकम्पबाट भत्केकोे सिन्धुली सडक मर्मतसम्भार गर्न एक अर्ब ८५ करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौता तथा समझदारीपत्रमा बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरेका हुन् । पूर्वी तराइलाई राजधानी काठमाडौंसँग जोड्ने एकसय ६० किलोमिटर लामो सिन्धुली सडक जापानी अनुदानमा निर्माण भएको हो । बीस वर्षमा पूरा भएको उक्त सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको एक महिनापछिको भूकम्पले प्रभावित भएको थियो । आगामी एक वर्षमा मर्मतसम्भारको काम पूरा गर्ने लक्ष्यका साथ आगामी माघदेखि कार्यसञ्चालन हुने अर्थ मन्त्रालयले बताएको छ । कार्यक्रममा सक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत साइगोले नेपालको कृषि उत्पादनलाई बजारसम्म पुर्याउने, बालबालिकालाई विद्यालय तथा पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण सिन्धुली सडक पुनर्निर्माणमा जापानले पुनः सघाएको बताए । सचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासमा जापानबाट निरन्तर सहायता प्राप्त भएकामा हार्दिक आभार व्यक्त गरेका छन् । रासस

१८ कम्पनीको ६ अर्ब १४ करोड बोनस सेयर दर्ता, (कसको कति सूचिसहित )

काठमाडौं । साउनयता ३ महिनामा विभिन्न बैंक तथा वित्तीय संस्था र जलविद्युत कम्पनीका गरी डेढ दर्जन कम्पनीको बोनस सेयर सुचिकृत भएका छन् । १८ कम्पनीको ६ अर्ब १४ करोड ७४ लाख रुपैयाँ सुचिकृत भएको छ । एक जलविद्युत बाहेक सबै बैंक तथा वित्तीय संस्था रहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । (सूचिहेर्न यहाँ क्लिक गर्नुहोस) सबैभन्दा बढी बोनस सेयर हिमालयन बैंकको छ । बैंकको १ अर्ब ६२ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड ६२ लाख २९ हजार कित्ता रहेको छ । सबैभन्दा कम सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको छ । सुर्यौदयको ७६ लाख रुपैयाँ बराबरको ७६ हजार कित्ता दर्ता भएको बोर्डले जनाएको छ । यस्तै बैंक अफ काठमाण्डु लिमिटेडको ८२ करोड ७५ लाख रुपैयाँ बराबरको ८२ लाख ७५ हजार १३३ कित्ता बोनस सेयर सुचिकृत भएको हो । मेगा बैंकको ९९ करोड ८६ लाख ९५ हजार रुपैयाँ बराबरको ९९ लाख ८६ हजार कित्ता, सिद्धार्थ बैंकको ९५ करोड ५६ लाख ५६ हजार रुपैयाँ बराबरको ९५ लाख ५६ हजार कित्ता सेयर दर्ता भएको छ । देव विकास बैंकको २४ करोड ७० लाख ९२ हजार रुपैयाँ बराबरको २३ लाख ७० हजार कित्ता, कामना सेवा विकास बैंकको १३ करोड ४ लाख रुपैयाँ बराबरको १३ लाख ४ हजार, समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको २ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । सेन्चुरी कमर्शियल बैंकको ३८ करोड ३९ लाख रुपैयाँ बराबरको बोनस सेयर सुचिकृत भएको बोर्डले जनाएको छ । गण्डकी विकास बैंकको ४४ करोड ५० लाख र सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ करोड १२ लाख रुपैयाँ बराबरको बोनस सेयर सुचिकृत भएको बोर्डले जानकारी दिएको छ ।

२१ करोड लागतमा दिक्तेल–खानीडाँडा सडक कालोपत्रे हुँदै

काठमाडौं । तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक कालोपत्रेको काम थालिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजारको लागतमा दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकको १० दशमलव ७९ किलोमिटर खण्ड कालोपत्रे गर्ने गरी काम थालिएको हो । आगामी १८ महीनाभित्र कालोपत्रे सम्पन्न गर्ने गरी याक्तुहाङ साप सिरुवा जेभीले उक्त सडक जिम्मा लिएको छ । सडकको विस्तृत सर्भेक्षणको काम सकिएको राष्ट्रिय पुनःनिर्माण कार्यान्वयन एकाइ जिल्ला आयोजना कार्यान्वयन एकाइ आवास व्यवस्थापन तथा पूर्वाधार कार्यालय खोटाङका प्रमुख सागर आचार्यले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अस्पताल चोकबाट हलेसी तुवाचुङ नगरपालिकाको राजापानी जोडिने सडक कालोपत्रेका लागि प्रारम्भिक चरणको काम तिहारलगत्तै शुरु हुने निर्माण कम्पनीका निर्देशक कल्याण खत्रीले बताए । नाली, रिटेनिङ वालसहित छ दशमलव २५ मिटर चौडा हुने सडकको तीन दशमलव ७५ भागमा कालोपत्रे गर्ने गरी काम अघि बढाइएको हो । नगरपालिकासँगको सहकार्यमा पहिलो चरणमा दिक्तेलबाट आहालेसम्मको खण्ड मात्र कालोपत्रे गरिने एकाइले जनाएको छ । सो सडकलाई प्राधिकरणले प्राथमिकताको आयोजनाका रुपमा राखेर काम अगाडि बढाएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले जानकारी दिए। गत असोज १ गते सम्झौता भएको सडकको कालोपत्रेको काम २०७६ साल चैत मसान्तसम्ममा पूरा गर्नुपर्ने प्राधिकरण र निर्माण कम्पनीबीच भएको सम्झौतामा उल्लेख छ । जिल्लाका आन्तरिक सडकमध्ये दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक कालोपत्रे गर्न लागिएको सबैभन्दा पहिलो हो । दिक्तेलबाट आहालेसम्म र राजापानीतर्फबाट केही मार्ग खोलिए पनि बीचमा जोडिन बाँकी छ । मार्ग खोल्न बाँकी भाग नगरपालिकासँगको सहकार्यमा खुल्ने र बाँकी खण्ड कालोपत्रेका काम अघि बढाइने जनाइएको छ । सडक कालोपत्रे भएपछि सबैभन्दा बढी जिल्ला अस्पतालबाट सिफारिश भएका बिरामीलाई खानीडाँडा विमानस्थल पु¥याउन सहज हुनेछ । अहिले हिउँदमा मात्र सडक सञ्चालन हुँदा सिफारिश गरिएका बिरामीलाई स्ट्रेचरमार्फत खानीडाँडा विमानस्थल पु¥याउनुपर्ने बाध्यता रहेको आफन्तले बताएका छन् । सगरमाथा लोकमार्गसँग जोडिने उक्त सडकको रेग्मीटार–फोक्सिङ्टार र रेग्मीटार–महुरे कालोपत्रे भइरहेको छ । फोक्सिङ्टारमा पक्की पुल बनेपछि उक्त सडक तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग बन्नेछ ।

कैलालीमा १ अर्ब ३८ करोड लगानीमा ९०३ नयाँ उद्योग खुल्दै

काठमाडौं । कैलाली जिल्लामा गएको आर्थिक वर्ष २०७४/७५मा दर्ता भएका ९०३ नयाँ उद्योगमा झण्डै रु एक अर्ब ३८ करोड लगानीको प्रस्ताव गरिएको छ । दर्ता भएकामध्ये साना उद्योगमा झण्डै रु एक अर्ब पाँच करोड र लघु उद्योगमा रु ३३ करोड लगानीको प्रस्ताव गरिएको छ । दर्ता भएका साना उद्योगको स्थिर पूँजी रु ६८ करोड र चालु पूँजी रु ३७ करोड रहेकामा लघु उद्योगको स्थिर पूँजी रु २१ करोड र चालु पूँजी रु १२ करोड रहेको छ । घरेलु तथा साना उद्योग कार्यालय कैलालीका अनुसार गत आवमा सेवामूलक ३२९, उत्पादनमूलक १९२ कृषिसम्बन्धी २९६, पर्यटनसम्बन्धी नौ र लघु ७७ वटा नयाँ उद्योग दर्ता भएका छन् । वार्षिक उत्पादन क्षमता करीब रु सात अर्ब रहेको यी नयाँ उद्योगबाट चार हजार ६२ पुरुष र १८४ महिलाले रोजगारी पाउन लागेको तथ्याङ्कमा जनाइएको छ । अघिल्लो आव २०७३÷७४ मा दर्ता भएका ८९० वटा उद्योगमा रु एक अर्ब तीन करोड लगानीको प्रस्ताव गरिएको थियो । यस्तै कार्यालयले गएको आव २०७४÷७५ मा ४३० उद्योगको नवीकरण गरेको छ । सम्बन्धित उद्योगीबाट काम नगर्ने जानकारी आएपछि ५८ वटा उद्योगको लगत कट्टा गरिएको छ । कार्यालयमा वर्षेनी उद्योग दर्ता हुने गरेको भएपनि दर्तापछि उद्योगको वस्तुस्थिति, ती उद्योगले दिएको रोजगारी, मापदण्डअनुसार सञ्चालन भए नभएको, उद्योग सञ्चालन हुँदा समाजलाई परेको प्रभाव लगायतका विषयमा अनुगमन निरीक्षण गर्ने पाटो भने कमजोर रहेको छ । उद्योगको अनुगमन निरीक्षण नहुँदा तोकिएको मापदण्ड विपरीत कतिपय ठाउँमा सञ्चालन भइरहेका उद्योगबाट समाजमा वातावरणीय प्रभाव परेको गुनासो सर्वसाधारणवाट सुनिन थालेको छ । कार्यालयका प्रमुख दिलीप चन्द कार्यालयसँग प्रर्याप्त जनशक्ति र साधन स्रोतको अभावको कारण सबै उद्योगको निरीक्षण गर्नसक्ने अवस्था नरहेको बताउछन् । दर्ता भएकामध्ये झण्डै ४५ प्रतिशत उद्योग मात्र सञ्चालनमा रहेको कार्यालयको अनुमान छ । कार्यालयले सम्बन्धितले उद्योग दर्ता गराउन आउँदा भरिने फारम र नवीकरण गर्दा भरिने फाराममा उल्लेखित विवरणलाई तथ्याङ्को आधार मान्ने गरेको छ । बैंकबाट ऋण लिने र विभिन्न निकायबाट अनुदान लिने प्रयोजनका लागि पनि उद्योग दर्ता गर्ने प्रवृत्ति बढ्न लागेको देखिएको कार्यालय प्रमुख चन्दले बताए । घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा हालसम्म जम्मा दर्ता भएका साना उद्योग छ हजार ११० र लघु उद्योग २५३ पुगेका छन् । यी उद्योगले झण्डै ४५ हजार व्यक्तिलाई रोजगारी दिएको अनुमान गरिए पनि यसको यकिन तथ्याङ्क भने कसैसँग छैन । उत्पादन क्षमता झण्डै रु ३३ अर्ब रहेको यी सबै उद्योगको जम्मा लगानी प्रस्ताव रु सात अर्ब २१ करोड रहेको कार्यालयको तथ्याङ्कमा छ । रासस

मध्यभोटेकोशी जलविद्युतले १ अर्ब ४४ करोडको आइपीओ बिक्री गर्दै

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई साधारण शेयर आइपीओ बिक्री गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा स्थापित सो कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाले रु एक अर्ब ४४ करोड बराबरको एक करोड ४४ लाख कित्ता सीमित साधारण शेयर बिक्री गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले गत असोज २९ गते सीमित साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको हो । उक्त शेयरमा आयोजनाका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीले आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३७ प्रतिशत शेयर रहेको छ । यस्तै नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत लगानी रहेको छ । यस्तै सिन्धु भोटेकोशी हाइड्रोपावर कम्पनी, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी र सिन्धु इन्भेस्टमेन्टको समान एक÷एक प्रतिशत शेयर रहेको छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, स्थानीयवासी र आम सर्वधारणको गरी कूल ४९ प्रतिशत शेयर रहनेछ । यस्तै लगानीकर्ता संस्थाको कूल ५१ प्रतिशत शेयर रहनेछ । आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण लगानी गरेको छ । आयोजनाको हाल कूल भौतिक प्रगति ४५ प्रतिशतको हाराहारीमा रहेको छ । रासस

सामान्य अंकले घटेको बजारमा युनाईटेड फाइनान्सका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । कारोबार शुरु हुँदा उकालो लागेको बजार बन्द हुँदा ३.४८ अंकले घटेर १२४१ अंकमा पुगेको छ । सामान्य अंकले घटेको बजारमा युनाईटेड फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । एकैदिन यस कम्पनीका सेयरधनीले ९.८२ प्रतिशत कमाएका छन् । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७९ रुपैयाँ रहेको छ । त्यस्तै, अरुण काबेली पावरका सेयरधनीले ५.१७ प्रतिशत कमाएका छन् । दिनभरको बजारमा कुल १५५ कम्पनीको कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी प्रभु बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन ३ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । समग्रमा कुल ८ लाख ४२ हजार कित्ता सेयर १९ करोड ८७ लाख रुपैयाँमा कारोबार भएको छ । बजारमा उत्पादनमूलक र फाइनान्स समूह क्रमशः ३१ र ४ अंकले उकालो लागेका छन् । होटल समूह स्थिर रहेको छ भने बाँकी समूह ओरालो लागेका छन् ।

१५ रुपैयाँमा स्मार्ट लाइसेन्स छाप्ने जिम्मा मालिका इन्कर्पोरेटलाई, ४५ दिनमै ६ लाख कार्ड छापी सक्ने

काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई दिएको छ । विभागले छरितो रुपमा लाइसेन्स छाप्न नसकेपछि मालिका इन्कर्पोरेट लिमिटेडलाई जिम्मा दिएको हो । एक वर्षदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षा गरिरहेकालाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले निजी कम्पनीलाई छाप्ने जिम्मेवारी दिएको विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्ययले बताए । उपाध्ययका अनुसार ट्रायल परीक्षा उत्तीर्ण गरी प्रतीक्षा सूचीमा बसेका सेवाग्राहीलाई चालक अनुमति पत्र दिने उद्देश्यले विभागले यो सम्झौता गरेको हो । पाँच लाख बढी सेवाग्राहीले हाल परीक्षा उत्तीर्ण गरी अनुमति पत्र लिन प्रतीक्षा सूचीमा बसेको विभागका प्रवक्ता उपाध्यायले जानकारी दिए। लिमिटेडले ४५ दिनमा पाँचदेखि छ लाख स्मार्ट कार्ड लाइसेन्स छापी सक्ने गरी सम्झौता भएको हो । कार्ड छापेवापत कम्पनीले एउटा बराबर रु १५ पाउँछ । कार्ड, विद्युत लगायत भौतिक साधन भने विभागले नै उपलब्ध गराउनेछ । कार्ड विभागको मीनभवनस्थित कार्यालयमै छापिने छ । दुई महीनामा प्रतीक्षा सूचीमा बसेका सबै लाभग्राहीले कार्ड पाइसक्ने व्यवस्था मिलाउन लागिएको विभागले जनाएको छ । प्रतीक्षा सूचीमा बसेकाको समस्या समाधान भएपछि विभागले अत्याधुनिक यन्त्रमार्फत दैनिक आठ हजार कार्ड छाप्ने तयारी गरेको जनाएको छ । त्यसका लागि बोलपत्र आब्हान भइसकेको छ ।

नवीकरणीय ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, करीब २१ देशको सहभागी

ललितपुर । ग्रामीण तथा सहरी विकासका लागि नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन अर्को साता राजधानीमा आयोजना हुँदैछ । बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र त्रिभूवन विश्वविद्यालय, इन्जिनिरिङ अध्ययन संस्थानको आयोजनामा यही कात्तिक १२ देखि १४ गतेसम्म काठमाडौंमा हुन लागेको सो सम्मेलनमा नेपाललगायत करीब २० देशको सहभागिता रहने जनाइएको छ । सम्मेलनमा ऊर्जा र दिगो विकास, ऊर्जा सुरक्षा, जलवायु परिवर्तन र कार्बन व्यापार, हरित आर्थिक वृद्धि, नवीरकणीय ऊर्जा प्रविधि, लैंगीक मूलप्रवाहीकरण र ऊर्जा, मिनी ग्रीड, ऊर्जा दक्षता, विद्युुत् सम्झौता, स्वच्छ ऊर्जा प्रविधिमा लगानी, दिगो ऊर्जा पहुँचलगायतका विषयमा कार्यपत्र प्रस्तुत हुने इन्जिनिरिङ अध्ययन संस्थानका डीन प्रा त्रिरत्न ब्रजाचार्यले जानकारी दिए । आर्थिक–सामाजिक विकास र वातावरणीय संरक्षणका लागि नवीकरणीय ऊर्जाको भूमिका महत्वपूर्ण हुने भन्दै विश्वव्यापीरुपमा यसतर्फ जोड दिइरहेको सन्दर्भमा नेपालमा पनि यस किसिमको सम्मेलनको आयोजनाबाट अन्तर्राष्ट्रिय ज्ञान, अनुभव र प्रविधिका बारेमा जानकारी पाउन सकिने र सहयोगमा नयाँ सम्भावनाको खोजी गर्न मद्दत पुग्ने उनले बताए । दिगो ऊर्जा विकासबाट सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने नेपाल सरकारको लक्ष्य हासिल गर्न नीतिगत सुझाव, प्राविधिक ज्ञान तथा लगानीको सम्भावनाले सम्मेलन महत्वपूर्ण अवसर भएको बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कामु कार्यकारी निर्देशक नबराज ढकालको भनाइ छ । यसअघि नवीकरणीय ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सन् १९९८, सन् २००३ र २०११ मा काठमाडौंमा सम्पन्न भएको थियो । सन् २००९ मा नवीकरणीय ऊर्जा प्रविधि र दिगो विकाससम्बन्धी अन्तराष्ट्रिय सम्मेलन र सन् २००६ मा राष्ट्रिय सम्मेलनको आयोजना भएको थियो । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा देश र विदेशका गरी करीब ८० वटा कार्यपत्र प्रस्तुत हुने र झण्डै २५० जना ऊर्जाविद्को सहभागिता रहने ऊर्जा अध्ययन केन्द्रका निर्देशक डा श्रीराज शाक्यले जानकारी दिए । रासस

दशैंमा कर्मचारीले तलब पाएनन्

जुम्ला । नेपालीको महान चाड बडादशैंमा पनि तलब नपाएको कर्मचारीले गुनासो गरेका छन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय, जुम्लाका कर्मचारीले गत असारबाट तलब नपाएको भन्दै गुनासो गरेका हुन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख टेक हितानका अनुसार सङ्घीय संरचनापछि कर्मचारी तथा कार्यसम्पादनमा निकै उथलपुथल भएको छ । दशैं जस्तो चाडमा थप रकम त परै जाओस्, तीन महिनादेखि तलब नपाएको उनले बताए । “आजभोलि भन्दाभन्दै आशैआशमा दशैं बित्यो’’ उनले भने, “जिल्लाका धेरै कर्मचारी अन्यौलमा छन् दरबन्दी कहाँ, हाजिर कहाँ हुने, काम के गर्ने भन्ने कुराले निकै अन्यौलमा छन् ।” प्राविधिक खगेन्द्र भण्डारीका अनुसार तत्कालीन जिल्ला प्राविधिक कार्यालयका सातजना कर्मचारीले गएको असारदेखि तलब पाएका छैनन् । तलब आउँछ, भन्ने आशमा दशैँ पनि बित्यो तर पाइएन । उनले भने, “खर्च व्यवस्थापन गर्न निकै गाह्रो भयो अझै कहिले आउने हो निश्चित छैन । सम्बन्धित निकायमा पटकपटक पहल गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ ।” रासस

२५ कम्पनीले ७ अर्ब ८६ करोडको आईपीओ निष्कासन गर्दै, कसको कति (सूचिसहित)

काठमाडौं । जलविद्युत र वित्तीय क्षेत्रका गरी २५ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । २५ मध्ये १९ वटा जलविद्युत कम्पनी रहेका छन् । ७ अर्ब ८६ करोड ७६ लाख ५७ हजार रुपैयाँ बराबरको ७ करोड ८६ लाख ७६ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् । सबै कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । (सूची हेर्न यहाँ क्लिक गर्नुहोस) अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले १ अर्ब ७१ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेका छन् । यस्तै मध्यभोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले कर्मचारी संचय कोषका संचयकर्ता, संस्थापक लगानीकर्ता र आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई गरी १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाटको मध्यभोटेकोसी आयोजना निर्माण गरिरहेको छ । यस्तै युनिभर्सल पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी ९६ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको ९६ लाख ६१ हजार कित्ता आईपीओ निष्कासन हुदैछ ।सीईडीबी हाइड्रो फण्ड लिमिटेडले पनि सर्वसाधारणलाई २२ करोड ८९ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । पछिल्लो समयमा आईपीओ निष्कासन गर्नेमा जलविद्युत कम्पनीको संख्या बढेको छ । न्युनतम १० प्रतिशत आईपीओ जारी गर्नुपर्ने कानूनी व्यवस्थाले गर्दा जलविद्युत कम्पनी सर्वसाधारणमा जान लागेका हुन् । आईपीओ निष्कासन माग गर्नेमा पाँचथर पावर कम्पनी, सयपत्री हाइड्रोपावर, घलेम्दी हाइड्रो, शुभश्री हाइड्रोपावर, जोशी हाइड्रोपावर, ग्रिन लाइफ हाइड्रोपावर, सीबीआइएल क्यापिटल, चौतारी लघुवित्त वित्तीय संस्था, हिमालय ऊर्जा विकास कम्पनी, मैलुङखोला जलविद्युत, युनिक हाइडेल, गज्र्याङ उपत्याका हाइड्रो र लाफिङ वुद्ध पावर कम्पनी रहेका छन् ।

भरतपुरको पाँच प्रतिशत व्यावसायिक कर उद्योग वाणिज्य संघलाई

काठमाडौं। भरतपुर महानगरपालिका क्षेत्रभित्रबाट सङ्कलन भएको व्यावसायिक करमध्ये ५ प्रतिशत उद्योग वाणिज्य सङ्घ चितवनले पाउने भएको छ । महानगरपालिका र सङ्घबीचमा यसै आर्थिक वर्षबाट लागू हुने गरी सोसम्बन्धी सम्झौता भएको हो । दुई संस्थाको बीचमा भएको सम्झौतामा सङ्घले व्यवसाय दर्ता गर्न उत्प्रेरित गर्ने, कर सम्बन्धी ऐन, नियम तथा मापदण्डका सम्बन्धमा व्यवसायीलाई जानकारी गराउने, बक्यौता कर उठाउने लगायतका कार्यमा सहयोग गर्नेछ । सङ्घले सो उद्देश्य प्राप्तिका लागि महानगरसँग सहकार्य गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार चार वर्षका लागि उद्योग वाणिज्य सङ्घसँग यो सम्झौता गरिएको हो । यसबाट महानगरमा व्यावसायिक कर बढ्ने अपेक्षा गरिएको छ । गत आर्थिक वर्षमा महानगरले व्यावसायिक कर बापत रु पाँच करोड सङ्कलन गरेको थियो । चालु आर्थिक वर्षमा रु १० करोड सङ्कलन गर्ने लक्ष्य राखेको छ । दायरा फराकिलो बनाउँदै लक्ष्यअनुरुप कर उठाउने उद्देश्यसाथ महानगरपालिका अघि बढेको उनले बताए। उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधानले नयाँ व्यवसायीलाई करको दायरामा ल्याउन र कर नतिरेका पुराना व्यवसायीलाई कर तिर्न उत्प्रेरित गर्ने खालका कार्यक्रम सङ्घले गर्ने बताए। करबापत आएको रकमबाट सार्वजनिक सरोकारका विकास निर्माण, व्यावसायिक हित र व्यवसायीलाई करको दायरामा ल्याउन खर्च गरिने सङ्घले जनाएको छ । महानगरपालिकामा दश हजार हाराहारी व्यवसाय रहेका छन् । तीमध्ये आधा मात्रै करको दायरामा आएको महानगरपालिकाले जनाएको छ । यसअघि नगरपालिका हुँदा २०५७ सालदेखि १० वर्षसम्म उद्योग वाणिज्य सङ्घलाई उठेको करको १५ प्रतिशत दिने गरी सम्झौता भएको थियो । तर २०६७ साल यता सम्झौता नवीकरण हुन सकेको थिएन । जनप्रतिनिधि आएपछि पुनः सम्झौता भएको हो । महानगरपालिकाले चालु आर्थिक वर्षमा व्यवसाय करसहित आन्तरिक आम्दानी रु ५५ करोड उठाउने लक्ष्य लिएको छ । गतवर्ष रु ३० करोड रुपैयाँ सङ्कलन गरेको थियो । रासस

आशा लघुवित्तको दोश्रो साधारण सभा सम्पन्न, १ करोड १० लाख नाफा कमाउन सफल

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले नुवाकोटको ककनीमा दोश्रो साधारण सभा सम्पन्न गरेको छ । शनिबार भएको उक्त सभामा संस्थाका अध्यक्ष निर्गुणप्रसाद भट्टचनले संचालक समितिकातर्फबाट प्रतिवेदन पेश गरेका छन् । अध्यक्ष भट्टचनले चालू आर्थिक वर्षमा संस्थाले संचालन गर्ने कार्यक्रमहरु बारे पनि प्रष्ट पारेका छन् । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि रामबहादुर पाण्डेले संस्थाको कारोबार वृद्धि सँगै कर्जाको गुणस्तरीयतामा जोड दिनुपर्ने बताएका छन् । सभामा संस्थाका पूर्व अध्यक्ष रामेश्वर सापकोटाले अब संस्थाले व्यवसायिक दायरालाई अझ विस्तार गरी रेमिटेन्स तथा बीमा सम्बन्धी क्रियाकलापलाई पनि जोड दिनुपर्ने सुझाव दिएका छन् । साधारण सभाले आर्थिक वर्ष २०७५।७६का निम्ति बाह्य लेखापरीक्षकका रुपमा केजे एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्तिको प्रस्ताव पारित गरेको छ । २०७३ भदौ १५ गतेदेखि कारोबार शुरु गरेको संस्थाको गत असार मसान्तसम्ममा १ अर्ब २७ करोड रुपैयाँ कर्जा लगानीमा रहिरहेको तथा २५ करोड ७२ लाख निक्षेप संकलन रहेको प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले जानकारी दिएका छन् । आर्थिक वर्ष २०७५/७६मा १ करोड १० लाख नाफा आर्जन गरेको संस्थाले जनाएको छ ।

पुनर्निर्माण प्राधिकरणले तोक्यो आगामी जेठसम्म तेस्रो किस्ता लिने समय

काठमाडौँ । पहिलो र दोस्रो किस्ता लिइसकेका लाभग्राहीले तेस्रो किस्ताबापतको एक लाख रुपैयाँ आगामी जेठसम्म लिन समय तोकेको हो । पहिलो र दोस्रो किस्ता लिइसकेका लाभग्राहीले तेस्रो किस्ता बापतको एक लाख रुपैयाँ आगामी जेठसम्म लिन सक्ने समय तोकेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त अबधिभित्र सबै लाभग्राहीले तेस्रो किस्ता लिन आग्रह समेत गरेको हो । अहिलेसम्म झन्डै ३ लाखभन्दा बढी घर निर्माण भइसकेको प्राधिकरणले जनाएको छ । त्यस्तै साढे ५ लाख घर निर्माण भइरहेको छ । प्राधिकरणले पुनर्निर्माणका लागि स्थानीय तहलाई पनि जिम्मेवारी दिइएको छ । कुल ७ लाख २७ हजार कुल लाभग्राहीमध्ये ७ लाख १५ हजारले पहिलो किस्ता, ५ लाखले दोस्रो किस्ता र २ लाख ८२ हजारले तेस्रो किस्ता पाइसकेको प्राधिकरणले जनाकारी दिएको छ । प्राधिकरणले यस अगाडी माघसम्म दोस्रो किस्ता नलिनेका लागि समय तोकेको छ । त्यस्तैगरी आगामी २०७६ जेठ मसान्तसम्म तेस्रो किस्ता लिइसक्नु पर्ने गरी सूचना सार्वजनिक गरेको हो ।

प्रदेश सरकारले साउनदेखि कर्मचारीको तलब दिएन

काठमाडौं । दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन् । दशैँको मुखमासमेत तलब नपाउँदा आफूहरूलाई निकै समस्या भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापना भएको कृषि ज्ञान केन्द्रका कर्मचारीले साउनदेखि तलब पाएका छैनन् । यस्तै भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन बैतडीका कर्मचारीले पनि तलब पाएका छैनन् । दशैँअघि तलब पाउने आश मरिसकेको भेटनरी अस्पताल तथा पशुुसेवा विज्ञ केन्द्रका पशुसेवा प्राविधिक बिसन विष्टले बताए । डिभिजन वन कार्यालय, साविकको भूसंरक्षण कार्यालयका कर्मचारीले पनि तलब पाउन सकेका छैनन् । प्रदेश सरकार मातहतका केही कार्यालयका कर्मचारीले तलब पाएको भए पनि चार कार्यालयको अख्तियारी नै नआएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सहायक सूचना अधिकारी पूर्णानन्द जोशीले जानकारी दिए । उनले भने, “अहिलेसम्म अख्तियारी नआएका कार्यालयको दशैँअघि अख्तियारी आउने सम्भावना कम छ ।” प्रदेश सरकार रहेका कार्यालयको तलब नपाउँदा मुख्य चाड दशैँ तिहार नै खल्लो हुने चिन्तामा कर्मचारी छन् । यसैबीच सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका बैतडीका सरकारी कार्यालय कामबिहीन बनेका छन् । नयाँ संरचनाअनुसार बैतडीमा स्थापना भएका कार्यालयले कार्यक्रम र अख्तियारी नपाउँदा कामबिहीन बनेका हुन् । रासस

बैतडीका विभिन्न कार्यलयका कर्माचारीले दशैँमा पनि तलब पाएनन्

काठमाडौं। दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन् । दशैँको मुखमासमेत तलब नपाउँदा आफूहरूलाई निकै समस्या भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापना भएको कृषि ज्ञान केन्द्रका कर्मचारीले साउनदेखि तलब पाएका छैनन् । यस्तै भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन बैतडीका कर्मचारीले पनि तलब पाएका छैनन् । दशैँअघि तलब पाउने आश मरिसकेको भेटनरी अस्पताल तथा पशुुसेवा विज्ञ केन्द्रका पशुसेवा प्राविधिक बिसन विष्टले बताए। डिभिजन वन कार्यालय, साविकको भूसंरक्षण कार्यालयका कर्मचारीले पनि तलब पाउन सकेका छैनन् । प्रदेश सरकार मातहतका केही कार्यालयका कर्मचारीले तलब पाएको भए पनि चार कार्यालयको अख्तियारी नै नआएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सहायक सूचना अधिकारी पूर्णानन्द जोशीले जानकारी दिए। उनले भने, “अहिलेसम्म अख्तियारी नआएका कार्यालयको दशैँअघि अख्तियारी आउने सम्भावना कम छ ।” प्रदेश सरकार रहेका कार्यालयको तलब नपाउँदा मुख्य चाड दशैँ तिहार नै खल्लो हुने चिन्तामा कर्मचारी छन् । यसैबीच सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका बैतडीका सरकारी कार्यालय कामबिहीन बनेका छन् । नयाँ संरचनाअनुसार बैतडीमा स्थापना भएका कार्यालयले कार्यक्रम र अख्तियारी नपाउँदा कामबिहीन बनेका हुन्। रासस

काष्ठमाण्डप पुर्ननिर्माणका लागि महानगरपालिकाले दियो पाँच करोड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले भत्किएको काष्ठमाण्डप पुर्ननिर्माण महानगरपालिककै खर्चमा गर्ने बताउनु भएको छ । हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मेयर शाक्यले काष्ठमाण्डप पुननिर्माण समितिलाई काष्ठमाण्डप पुर्ननिर्माणका लागि आज पाँच करोडको चेक हस्तान्तरण गर्दै बाँकी रकम विस्तारै दिदैँ जाने बताए । मेयर शाक्यले काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । काष्ठमाण्डप पुननिर्माणका लागि करीब १८ करोड लाग्ने भन्दै मेयर शाक्यले सो रकम कसैसँग पनि सहयोग नमाग्ने बताए । काष्ठमाण्डप पुननिर्माण तीन तलाको हुने काष्ठमाण्डप पुननिर्माण समितिले जानकारी दिएको छ । मेयर शाक्यले आगामी असार मसान्तासम्ममा कम्तीमा एक तला पुर्ननिर्माणको काम सम्पन्न गर्ने पनि दाबी गरे । ‘हामी आगामी असार मसान्तासम्ममा कम्तीमा एक तल्ला पुर्ननिर्माण सम्पन्न गर्नेछौँ,’ चेक हस्तान्तरणपछि मेयर शाक्यले भने, ‘काठमाडौँ हनुमानढोका दरबार क्षेत्र संघीय राजधानीमा रहेको ऐतिहासिक–सांस्कृतिक नगरी हो । मुलुककै सर्वाधिक सम्पदास्थलहरु रहेको यो क्षेत्रको संरक्षण गर्नु हामी सबैको दायित्व पनि हो ।’ उनले काष्ठमाण्डप पुर्ननिर्माणका लागि कसैसँग सहयोग नमाग्ने पनि दाबी गरे । धेरैले सहयोगका लागि तत्परता देखाए पनि आफूहरुले स्वीकार नगरेको उनको भनाई छ ।

सामाजिक सञ्जाल फेसबुक पनि ह्याकरको पहुंँचमा, ३ करोड प्रयोगकर्ताको विवरण चोरी

सानफ्रान्सिस्को । विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुक इंकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ ।फेसबुकले यसअघि साइबर आक्रमणका कारण ५ करोड प्रयोगकर्ताका एकाउन्टमा प्रभाव परेको जनाएको थियो । “अहिले हामीले के थाहा पाएका छौं भने सोचिएभन्दा केही कम व्यक्तिलाई असर परेको छ,” फेसबुकका उपाध्यक्ष गाए रोसेनले बताए । पहिचान अझै नखुलेका केही व्यक्ति (ह्याकर) ले करिब १ करोड ५० लाख फेसबुक प्रयोगकर्ताको नाम, फोन नम्बर र इमेल ठेगाना चोरेको उनले जानकारी दिए ।अरु १ करोड ४० लाख प्रयोगकर्ताका विवरण पनि जोखिममा रहेका छन् । फेसबुकले साइबर आक्रमणकारीले प्रयोगकर्ताका अरु विवरणहरु जस्तै लिङ्ग, धर्म, गृहनगर, जन्ममिति र स्थान तथा हालै भ्रमण गरेका ठाउँ पनि सङ्कलन गरेको जनाएको छ । यस आक्रमणबाट फेसबुकले सञ्चालन गरेका मेसेन्जर, मेसेन्जर किड्ज, इन्स्टाग्राम, ह्वाट्सएप, ओक्युलस, वर्कप्लेस, पेजेज, पेमेन्टमा असर नगरेको कम्पनीले बताएको छ ।क्यालिफोर्नियास्थित फेसबुक कम्पनीले यस घटनाका सम्बन्धमा अमेरिकी सङ्घीय जाँच ब्यूरो (एफबीआई), अमेरिकी सङ्घीय व्यापार आयोग, आइरिस डाटा प्रोटेक्सन कमिसन तथा अरु निकायसँग छलफल थालेको छ । रासस÷एएफपी

गरिमा विकास बैंकको १३ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी २ अर्ब ७८ करोड पुग्याे

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले प्रस्ताव गरेको १३.७५ प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको १२औँ वार्षिक साधारणसभाले कम्पनीको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले अब सेयरधनीलाई १० प्रतिशत बोनस र कर सहित ३.७५ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने भएको छ । त्यसैगरी, उक्त साधारणसभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । गत असोज १२ गतेसम्म कारोबार गरेका विकास बैंकका सेयरधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्नेछन् ।

वृद्धभत्ता पाँच हजार पुर्याएरै छाड्छौंः मन्त्री गोकर्ण बिष्ट

मेलम्ची । श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले आगामी पाँच वर्षभित्र वृद्ध भत्ता पाँच हजार पुर्याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक क्षेत्र नं २ ले मेलम्ची आयोजना गरेको विजया दशमी, दिपावली, छठ र ल्होछार पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले आगामी पाँच बर्षभित्र वृद्ध भत्ता पाँच हजार पुग्ने बताएका हुन् । उनले नेकपाको सरकार आएपछि छिमेकी देशसँगको सम्बन्ध राम्रो भएको दावी समेत गरे । मन्त्री बिष्टले शिक्षा, स्वास्थ्य तथा रोजगारी जस्ता विषयलाई सरकारले उच्च प्राथमिकतामा राखिएको जानकारी दिए । पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले मुलुकको विकास र समृद्धितर्फ सरकार अघि बढेको बताउँदै मेलम्चीस्थित जिरोकिलो जोड्ने बाटो यही वर्षभित्र कालोपत्रे गर्ने काम अघि बढाइने बताए । प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल शरदले प्रदेश सरकारलाई आवश्यक कानून निर्माणको काम सम्पन्न भइसकेको र अब चाडपर्व सकिने बित्तिकै सार्वजनिक गरिने बताए । नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटा, झम्क नेपाल, डम्बर अर्याल, बालकृष्ण, मित्रलालचौलागार्इंलगायतले मुलुकको वर्तमान राजनीतिक अवस्थाका विविध पक्षमाथि प्रकाश पारेका थिए । रासस

सिभिल बैंकले तालिम कार्यक्रम सञ्चालन गर्ने, कर्मचारीहरुको कार्यदक्षतामा विकास हुने

काठमाडौं । सिभिल बैंक लिमिटेड र नेशनल बैंकिङ् इन्ष्टिच्युट(एनबीआई) लिमिटेडबीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ् र नेशनल बैंकिङ् ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।