आशा लघुवित्तले फिल्ड सहायकलाई दियो कर्जा जोखिम व्यवस्थापन तालिम

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले आफ्ना फिल्ड सहायक कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुइदिने कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । पुस २९ र ३० गते कोहलपुरमा सम्पन्न तालिममा संस्थाको ५, ६ र ७ नम्बर प्रदेशमा संचालित १८ वटा शाखा कार्यालयमा कार्यरत झण्डै ६० जना फिल्ड सहायक कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस प्रकारका तालिमहरुले फिल्ड कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहन ेविश्वास व्यक्त गरे । तालिम कार्यक्रममा आरएमडीसी लघुवित्त वित्तीय संस्था लि., कोहलपुर शाखाका प्रबन्धक भरतकुमार सिंहले कर्जा विश्लेषण, सदुपयोगिता निरीक्षण, कर्जा जोखिम व्यवस्थापन, पहिचान तथा समाधानका उपायहरु सम्बन्धमा प्रशिक्षण दिए । कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु रबिन खतिवडाले तथा दिपेन्द्र खनालले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धमा प्रस्तुति गरेका थिए ।

अपर तामाकोशी सहित ७ कम्पनीको करोडौँको सेयर कारोबार, सबैभन्दा बढी कसको ?

काठमाडौं । आइतबारको सेयर बजारमा विभिन्न ७ कम्पनीको करोडौँ बढीको सेयर कारोबार भएको छ । सो दिन नेपाल बैंक, एनआईसी एशिया बैंक, बैंक अफ काठमाण्डू, नेपाल लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष, अपर तामाकोशी हाइड्रोपावर र कुमारी बैंकको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । जसको एकैदिन ११ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ३०० रुपैयाँ रहेको छ । त्यस्तै, एनआईसी एशिया बैंक र बैंक अफ काठमाण्डूको २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष, अपर तामाकोशी हाइड्रोपावर र कुमारी बैंकको एक करोड बराबरको सेयर किनबेच भएको छ । आइतबारदेखि नेपाल स्टक एक्स्चेञ्जमा कारोबार खुल्ला गरिएको अपर तामाकोशी एकैदिन करोडौँको सेयर कारोबार भएको छ । जसको आइतबार मात्रै एक करोड १६ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । सो दिन हाइड्रोको सेयर मूल्य प्रतिकित्ता २२४ रुपैयाँ रहेको छ । २२४ मा कारोबार भएसँगै आईपीओका लगानीकर्ताले केही महिनाभित्रै १२४ प्रतिशत नाफा कमाएका छन् । हाइड्रोपावरको सेयरका लागि नेप्सेले ७४.८९ रुपैंया देखि २२४.६७ रुपैंयासम्मका कारोबार गर्न सकिने गरी प्रारम्भिक रेञ्ज तोकिदिएको थियो । जसमा उच्चतम मूल्यमा कारोबार भएको छ । समग्रमा आइतबारको बजारमा कुल १५८ कम्पनीको ३७ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिनको नेप्से परिसूचक ५.७८ अंकले घटेर ११७५ अंकमा झरेको छ । बजारमा उत्पादनमूलक र अन्य समूह बाहेक बाँकी समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ७१.२७ अंकले घटेको छ ।

नेपाल इञ्जिनियरिङ कलेजमा भएको करोडौंको घोटालाबारे छानविन गर्न शिक्षा समितिको निर्देशन

काठमाडौं। संसदको शिक्षा तथा स्वास्थ्य समितिले नेपाल इञ्जिनियरिङ कलेज भएको करोडौंको घोटालाबारे छानविन गर्न निर्देशन दिएको छ । २२ सय भन्दा बढी विद्यार्थी अध्ययनरत र २०० भन्दा बढी कर्मचारी कार्यरत भक्तपुरको नेपाल इञ्जिनियरिङ कलेजमा २५ वैशाख २०७४ मा तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेले निजी कम्पनीका रुपमा दर्ता गरेपछि विवाद सुरु भएको थियो। सबैतर्फबाट प्रयास गर्दा पनि कलेजको समस्या कुनै पनि हालतमा नसुल्झिएको कारणले विद्यार्थीको भविष्य डामाडोल हुनाले कलेजलाई अब गैरनाफामुलुक सामजिक संस्थाको रुपमा चलाऊनु पर्ने र अर्कोतर्फ कलेजमा करोडौ रुपैया हिनामिना भएको देखिएको कारण भ्रष्टाचारबारे छानविन गर्न चार्टर्ड एकाउन्टेन्टको अध्यक्षमा ५ सदस्यीय कार्यदल बनाउन सांसद योगेश भट्टराई नेतृत्वको उपसमितिले आइतबार पूर्ण समितिमा पेश गरेको प्रतिवेदनमा प्रस्ताव गरेको थियो। शिक्षा समितिको बैठकले दुबै प्रस्ताव पास गरेको छ ।

कोशी करिडोर प्रसारण लाइनमा समस्या, समाधानका लागि कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कोशी करिडोर प्रसारण लाइन आयोजनाको धरानक्षेत्रमा देखिएको समस्या देखिएकाे छ । उक्त समस्या समाधान गर्न कार्यदल गठन भएकाे छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा गठन गरिएको उक्त कार्यदले एक सातामै प्रतिवेदन तयार पारी प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई पेश गरेका छन् । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत सोही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरीद सम्झौता गरिसकेको छ । सो करिडोरको पहिलो खण्डमा इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार १०५ किलोमिटर २२० केभी डबल सर्किटको प्रसारण लाइन निर्माण भइरहेको छ । त्यसको अनुमानित लागत तीन करोड ७५ लाख अमेरिकी डलर छ । दोस्रो खण्डमा इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २२० केभीको सब स्टेसन निर्माण फेबु्रअरी २०२० मै सक्ने लक्ष्यका साथ काम भइरहेको छ । यो खण्डको अनुमानित लागत दुई करोड ५३ लाख अमेरिकी डलर छ । तेस्रो खण्डमा वसन्तपुर–ढुङ्गेसाँघु (ताप्लेजुङ) ३३ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम शुरु भइसकेको छ । दुई करोड २० लाख डलर अनुमानित लागत रहेको आयोजनाको काम डिसेम्बर २०२०मा सक्ने लक्ष्य छ । धरान उपमहानगरपालिका–२० मा देखिएको विवाद समाधान समाधानको उपाय खोज्न सो कार्यदल गठन गरिएको हो । सो क्षेत्रमा स्थापित, निर्माणाधीन र पहिचान भएका पर्यटकीयस्थललाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने जिकिर धरान उपमहानगरपालिको छ । उक्त वडाले करीब २०० मिटर पश्चिमबाट प्रसारण लाइन लैजान नेपाल विद्युत् प्राधिकरणलाई लिखित रुपमै आग्रह गरेकाले आयोजनाको काम अवरुद्ध भएको हो । मुख्यमन्त्री राईले कोशी करिडोर प्रसारण लाइनलाई हेरेर प्रदेश नं १ मा जलविद्युत् क्षेत्रमा लगानी भित्र्याउनु पर्ने उल्लेख गर्दै यसको निर्माण जसरी भए पनि समयमै गरिनुपर्नेमा जोड दिने बताएका छन्। प्रभावित बासिन्दालाई दिन सकिने जीविकोपार्जन तथा अन्य लाभका विषयमा छलफल गर्ने तर आयोजनाको निर्माणमा अवरोध नगर्न जनाएका छन् । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनलाई कोसी नदी पार गराउन नदीभित्र ४० मिटर खनेर ७ वटा टावर खडा गर्नुपर्ने जोखिमयुक्त काम भए पनि नदीभित्र टाबर खडा गर्न पनि विरोध भइरहेको भनाइ थियो । उपमहानगरपालिकाले भनेजस्तै प्रसारण लाइनको मार्ग परिवर्तन गर्न प्राविधिक रुपमा नमिल्ने कार्यकारी निर्देशक घिसिङले बताएका छन् । प्रभावितलाई दिन सकिने सामाजिक सुरक्षाका विषयमा छलफल गर्न तयार छौँ तर मार्ग परिवर्तन गर्ने प्राविधिक विषयमा प्रवेश नगर्न आग्रह गर्दै कार्यकारी निर्देशक घिसिङले नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा एक नम्बर प्रदेशमा भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङसम्म पुग्ने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोर निर्माणमा लागेको हो । रासस

स्वास्थ्य बीमा प्रभावकारी केन्द्रबिन्दु बन्दै बागलुङ, करिब ३८ हजारबढी आवद्ध

काठमाडौं । नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य बीमामा बागलुङमा प्रभावकारी बन्दै गएको छ । जिल्लामा विसं २०७३ असारदेखि शुरुवात गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ३८ हजार २७३ स्वास्थ्य बीमामा आवद्ध भएको स्वस्थ्य बीमा बोर्र्ड कार्यालयका दर्ता अधिकारी जमुना शर्माले बताएका छन् । जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा बढी बागलुङ नगरपालिकामा बीमा गर्नेको सङ्ख्या रहेको छ ।सो बीमामा हालसम्म आठ हजार २०४ परिवार  आबद्ध भएर प्रभावकारी रुपमा स्वास्थ्य सेवा लिइरहेको बोर्डले जनाएको छ । सो कार्यक्रमले जिल्लामा आर्थिक रूपमा विपन्न र गरीब समुदायका बिरामीले औषधि उपचारमा ठूलो राहत महसुस गर्न थालेका छन् । धौलागिरि अञ्चल अस्पतालमा आउने बिरामी स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि उपचारमा आउनेको सङ्ख्यामा तेब्बरले वृद्धि भएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताएका छन् । अस्पतालमा स्वस्थ्य बीमा गराएका बिरामी दैनिक २०० को हाराहारीमा आउने गरेका भनाई रहेको छ । पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु दुई हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएको हकमा प्रतिसदस्य रु ४२५ का दरले शुल्क बुझाइ बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिक रूपमा रु ५० हजारसम्म उपचार खर्च निःशुल्क पाउने नीति छ । बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था रहेको छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने व्यक्तिले तोकिएको सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्यक्रिया लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको झण्डै ४८० प्रकारका निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य बीमाका लागि जिल्लाका ७२ जना दर्ता सहयोगीले घरघरमा पुगेर सेवा प्रदान थालेपछि नागरिकलाई स्वास्थ्य बीमा गराउन सहज भएको छ । रासस

टेलिकम कम्पनी हुवावेद्वारा पोल्याण्डमा पक्राउ चिनियाँ कर्मचारी वर्खास्त

काठमाडौं । चीनको टेलिकम कम्पनी हुवावेले पोल्याण्डमा जासुसी आरोपमा पक्राउ परेका वाङ वेजिङलाई कम्पनीको कर्मचारीबाट बर्खास्त गरेको छ । बेजिङको पक्राउले कम्पनीको विश्वव्यापी ख्यातिमाथि प्रभाव पर्नसक्ने देखिएकोले उनलाई पदबाट बर्खास्त गरिएको छ । चिनियाँ व्यवसायीलाई पोल्याण्डमा जासुसी गरेको आरोपमा गरिएको पक्राउप्रति चीनले शुक्रबार ‘उच्च चासो’ व्यक्त गरेको बताइएको थियो । पोल्याण्डको स्थानीय सञ्चारमाध्यमले विश्व प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी, हुवावेका पोल्याण्ड लागि पक्राउ गरेको जानकारी दिएको थियो । व्यवसायीको पक्राउ परेको समाचार प्रकाशित भएसँगै यसबारे चीनले उच्च चासो देखाएको छ, चिनियाँ विदेश मन्त्रालयले फ्रान्सको राज्य सञ्चालित समाचार समिति (एएफपी) लाई फ्याक्समार्फत जनाएको छ । हुवावेले एक संक्षिप्त विज्ञप्ति जारी गरी कम्पनी ‘पछिल्लो अवस्थाबारे सचेत बनेको’ र ‘यसलाई हेरिरहेको छ’ तर कम्पनीसँग थप प्रतिक्रिया नरहेको बताएको थियो । हुवावेले आफूले कारोबार गरेका मुलुकहरूको नियम तथा कानूनलाई पालना गरेको र आफ्ना कर्मचारीलाई पनि सोहीअनुरूप चल्न निर्देशन दिइरहेको बताएको छ । पोल्याण्डको विशेष सुरक्षा बलले पक्राउ परेका चिनियाँ नागरिक र उनीसँगै रहेका पोल्याण्डका एक व्यक्तिले चीनका लागि पोल्याण्डविरूद्ध जासुसी गरेको आशङ्कामा सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको बताएको छ । रासस एएफपी

अपर तामाकोशीको शेयर उच्चतम मूल्यमा कारोबार, लगानीकर्तालाई १२४ प्रतिशत नाफा

काठमाडौं । नेपालकै सबैभन्दा बढी शेयरधनी भएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी हाइड्रोवावरको शेयर आजदेखि कारोबारको लागि खुल्ला गरिएको छ । हाइड्रोपावरको शेयरका लागि नेपाल स्टक एक्सचेञ्जले ७४.८९ रुपैंया देखि २२४.६७ रुपैंयासम्मका कारोबार गर्न सकिनेगरी प्रारम्भिक रेञ्ज तोकिदिएकोमा उच्चतम मूल्यमा कारोबार भएको छ । हाइड्रोपावरले शेयर निष्कासन अनुमति पाएको बेलामा कायम रहेको नेटवर्थदेखि त्यसको तीन गुणासम्ममा आपन रेञ्ज दिनसक्ने प्रावधानबमोजिम उक्त रेञ्ज तोकिएको थियो । रेञ्ज तय भएपछि अब नियमित प्रक्रियाअनुसार कारोबार र मूल्य उचारचढाव प्रक्रिया अघि बढ्नेछ । उक्त कम्पनीको साधारण शेयर र कर्मचारीका लागि जारी गरिएको शेयर आइतबारदेखि एकसाथ खुलेको हो । २२४ मा कारोबार भएसँगै आईपीओका लगानीकर्ताले केही महिनाभित्रै १२४ प्रतिशत नाफा कमाएका छन् ।

बीमा कम्पनीका कर्मचारीको तलब बढाइँदै, सामाजिक सुरक्षा पनि समेटिने

चिरञ्जीवि चापागाई, अध्यक्ष, बीमा समिति काठमाडौं । सबै बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको न्युनतम तलब र सुबिधा समान हुने भएको छ । बीमा समितिले बीमक कम्पनीमा कार्यरत कर्मचारीहरुको तलब सुबिधा सम्बन्धी दिग्दर्शन मार्फत सबै कम्पनीका कर्मचारीको न्युनतम तलब सुबिधा समान बनाउन लागेको हो । ‘सबै बीमा कम्पनीहरुमा कर्मचारीहरुको न्युनतम तलब र सुबिधा समान होस भनेर नयाँ व्यवस्था अघि सार्ने तयारी गरेका छौं, केहि समयभित्रै कार्यान्वयनमा ल्याउँछौं’, बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले भने । उनका अनुसार बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको तलब सुबिधा सम्बन्धी नयाँ दिग्दर्शनमा श्रम ऐनले तोकेको न्युनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषको कार्यान्वयन अनिवार्य गरिनेछ । हाल धेरै बीमा कम्पनीहरुमा श्रम ऐन कार्यान्वयन हुन सकिरहेको छैन् । बैंकिङपछिको आकर्षक करिअर मानिएको बीमा क्षेत्रमा श्रम ऐन लागु नभएको भन्दै बीमा समितिकै आलोचना हुँदै आएको छ । बीमा समितिले कर्मचारीको सेवा सुबिधा सम्बन्धमा जुन जुन ऐन तथा नियमावलीहरुमा व्यवस्था छ ति सबैलाई समेटेर दिग्गदर्शन बनाउन लागेको हो । ‘बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको जीवनस्तर राम्रो हुनुपर्छ, श्रम ऐनको व्यवस्था कार्यान्वयन हुनुपर्छ र समाजिक सुरक्षा कोष पनि कार्यान्वयन हुनुपर्छ’, निमित्त कार्यकारी निर्देशक पौडेलले भने । दिग्दर्शन आएपछि बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि न्युनतम तलब तोकिनेछ । सो भन्दा बढी तलब सुबिधा दिन सक्नेछन् । दिग्दर्शन कार्यान्वयनमा आएपछि बीमा कम्पनीमा कार्यरत तल्लो तहका कर्मचारीहरुको न्युनतम तलब र सुबिधामा भारी वृद्धि हुनेछ । त्यसमा सामाजिक सुरक्षा कोष समेत थपिएपछि बीमा कम्पनीहरु नयाँ पुस्ताको आकर्षण वृद्धि हुने दावी गरिएको छ । अहिले बीमा कम्पनीहरु प्रति नयाँ पुस्ताको आकर्षण भएपछि न्युन सुबिधाका कारण केहि समयमै पलायन हुने अवस्था रहेको छ । समितिले कर्मचारीहरुको न्युनतम तलबमान बारे बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल समेत गरिसकेको छ । ‘समितिसँग एक पटक छलफल भएको छ, कर्मचारीको सेवा सुबिधाको न्युनतम मापदण्ड बनाउनेबारे हामीले आफ्नो धारणा दिईसकेका छौं’, अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले भने । उनले कर्मचारीको सेवा सुबिधा सम्बन्धी नयाँ दिग्दर्शनले बीमा कम्पनीहरुमा नयाँ कामदारको आकर्षण बढ्ने पनि बताए ।

८ कम्पनीलाई एक अर्ब ३० करोडको हकप्रद सेयर बिक्री गर्न स्वीकृति, हेराैँ क-कसले पाए ?

काठमाडौं । धितोपत्र बोर्डले चालू आर्थिक वर्षको छ महीनासम्ममा कूल आठ कम्पनीलाई एक अर्ब ३० करोड ५६ लाख ७६ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीका लागि स्वीकृति दिएको छ । बोर्डका अनुसार कूल एक करोड ३० लाख ५६ हजार ७६५ कित्ता हकप्रद सेयर बिक्रीका लागि अनुमति दिएको हो । बोर्डले अनुमति दिएका कम्पनीमा ६ माइक्रोफाइनान्स कम्पनी रहेका छन् भने दुई बीमा कम्पनी रहेका छन् । बोर्डले एभरेष्ट इन्स्यारेन्स कम्पनीलाई एक बराबर एक दशमलव पाँच बराबरको दरले १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद सेयर १४ करोड तीन लाख ३२ हजार ५०० रुपैयाँमा बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यस्तै सूर्य लाइफ इन्स्यारेन्स कम्पनीलाई दश बराबर सात कित्ताका दरले ७९ करोड २३ लाख ३० हजार रुपैयाँ बराबरको ७९ लाख २३ हजार ३०० कित्ता हकप्रद सेयर बिक्रीको अनुमति दिएको छ । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा काठमाडौँ क्यापिटल रहेको छ । स्वदेशी लघुवित्त वित्तीय संस्थालाई एक बराबर एकका दरले ११ लाख ५० हजार कित्ता हकप्रद सेयर ११ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइसी एशिया लिमिटेड रहेको छ । बोर्डले माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थालाई दुई बराबर एकका दरले तीन लाख कित्ता हकप्रद सेयर तीन करोड रुपैयाँ बराबरको सेयर बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बोर्डबाट अनुमति पाउनेमा किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि दुई बराबर एकको दरले दुई करोड ४० लाख २५ हजार रुपैयाँ बराबरको दुई लाख ४० हजार २५० कित्ता सेयर बिक्रीको अनुमति दिएको छ । हकप्रद सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । नाडेप लघुवित्त वित्तीय संस्थालाई एक बराबर एकको दरले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता हकप्रद सेयर बिक्रीको अनुमति दिएको बोर्डले मिथिला लघुवित्त वित्तीय संस्थालाई दुई बराबर एकको दरले तीन करोड २९ लाख ८९ हजार रुपैयाँको तीन लाख २९ हजार ८९० कित्ता हकप्रद सेयर बिक्रीको अनुमति दिएको छ । नाडेपको बिक्री प्रबन्धकमा नबील इन्भेस्टमेन्ट र मिथिलाको काठमाडौं क्यापिटल रहेको छ । त्यस्तै उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थालाई पाँच बराबर एकका दरले एक करोड १० लाख रुपैयाँको एक लाख दश हजार कित्ता हकप्रद सेयर बिक्रीको अनुमति दिएको छ । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । रासस

५ लाखको बीमासहित एभरेष्ट बैंकले ल्यायो दुई बचत योजना, कर्मचारी र रोजगारदाता दुवै लाभान्वित

काठमाडौं । एभरेष्ट बैंकले विभिन्न दुई वटा बचत योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकका लागी बीमा सुविधा प्रदान गर्ने उद्देश्यले ‘मातृभूमि बचत खाता’ र ‘कर्पोरेट स्यालरी खाता’ नामक दुई योजना सार्वजनिक गरेको हो । उक्त सेवाको लागि बैंकले द ओराइन्टल इन्सुरेन्स कम्पनीसँग सहकार्य गरी एमओयूमा हस्ताक्षर गरेको छ । लाजीम्पाटको केन्द्रीय कार्यलयमा भएको कार्यक्रममा ५ लाख रुपैयाँ बराबरको बीमा र अन्य सुविधा सहितको दुईवटा प्रोडक्ट लञ्च गरेको छ । बैंकले मातृभूमी बचत खातामा ‘विदेशको मिहेनतको कमाई, स्वदेशमै गरौँ सुनिश्चित बचत’ नारा सहित ५ लाखको बीमा र अन्य आकर्षक सुविधाको योजना ल्याएको छ । त्यस्तै, कर्पोरेट स्यालरी खातामा इन्सुरेन्स र अग्रिम स्यालरी सुविधा योजना ल्याएको छ । एभरेष्ट बैंकले आँफुले दुःख गरेर कमाएको पैँसालाई सुनिश्चित एवं राम्रो प्रतिफल प्रदान गर्ने लक्ष्यले मातृभूमी बचत खाता योजना ल्याएको हो । यस योजना मार्फत खातावालाहरुले ५ लाखसम्मको बीमा सुविधाको लाभ उठाउन सक्नेछन् । साथै कर्पोरेट खातावालाहरुले ५ लाख बीमा र अग्रिम स्यालरी सुविधाको लाभ लिन सक्नेछन् । यसबाट कर्मचारी र रोजगारदाता दुवै लाभान्वित हुने बैंकले जनाएकाे छ । एभरेष्ट बैंकले हाल आफ्ना ८६ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बाह्य सन्जाल मार्फत बैंकिङ् सेवाहरु दिँदै आएको छ ।

जागुअर ल्यान्ड रोभरले ५ हजार कर्मचारी हटाउने, बेलायतको प्रतिस्पर्धात्मक क्षमतामा असर पर्ने त्रास

काठमाडौं । बेलायती कम्पनी जागुअर ल्यान्ड रोभरले कम्तीमा पाँच हजार कर्मचारी कटौती गर्ने तयारी गरेको छ । चीनमा ल्यान्ड रोभरको बिक्री घटेको तथा युरोपेली युनियनबाट बेलायत अलग्गिने (ब्रेक्जिट) सम्झौताका कारण कम्पनीले कर्मचारी कटौती गर्ने तयारी गरेको हो । बेलायतको लोकप्रिय कार निर्माता यस कम्पनीमा ४० हजारभन्दा बढी बेलायती कार्यरत उक्त कम्पनी भारतीय टाटा मोटर्सको स्वामित्वमा रहेको छ । कम्पनीको लगानीमा करिब ३ अर्ब २० करोड कटौती गर्ने प्रस्तावका कारण कर्मचारी कटौती हुन लागेको हो । कम्पनीका कारको बिक्री चीनमा ह्वात्तै घटेको छ भने ब्रेक्जिटपछि बेलायतको प्रतिस्पर्धात्मक क्षमतामा असर पर्ने त्रास पनि बढेको छ । मार्च २०१९ मा बेलायत युरोपेली युनियनबाट बाहिरिए पनि युरोपेली युनियनमा कम्पनीको एउटा प्लान्ट रहनेछ । गत अक्टोबरमा ल्यान्ड क्रुजरले पश्चिमी स्लोभाकीयाको नीट्रामा एक अर्ब ६० करोड लागतमा नयाँ प्लान्ट स्थापना गरेको छ । रासस/ एएफपी

कृषि विकास बैंकको २१ प्रतिशत लाभांश प्रस्ताव, सरकारलाई १३२ करोड नगद

काठमाडौं । कृषि विकास बैंकले शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । शुक्रबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ६ प्रतिशत बोनस शेयर र १५‍‍.०५३ प्रतिशत नगद लाभांश गरी उक्त मात्रामा शेयर दिने निर्णय गरेको हो । त्यस्तै अग्राधिकार शेयरमा पनि छ प्रतिशत नगद लाभा‌ंशकाे प्रस्ताव गरिएकाे छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारणसभाले पारित गरेपछि प्रदान गरिने समेत बैंकले स्पष्ठ पारेको छ । कुल १३ अर्ब ९३ करोड शेयर पुँजी भएको कृषि विकास बैंकमा सरकारको ५ अर्ब ४३ करोड रुपैंया बराबरको ६ प्रतिशत लाभांशको अभिमोच्य अग्राधिकार शेयर छ त्यसको ३२ करोड ५८ लाख रुपैंया लाभांश प्राप्त हुन्छ भने भने बाँकी ८ अर्ब ५० करोड साधारण शेयरमध्ये ७८.२२ प्रतिशत अर्थात् ६ अर्ब ६५ करोड बराबरको शेयर को १५.०५३ प्रतिशतका दरले करिब १ अर्ब रुपैंया लाभांश प्राप्त हुन्छ । यसरी कुल १२ अर्ब ८ करोड रुपैंया बराबरका शेयरले ६ प्रतिशतको दरले नगद लाभांश लैंजाँदा सरकारले करिब १ अर्ब ३२ करोड ५० लाख रुपैंया भन्दा लाख रुपैंया नगद लाभांश पाउनेछ ।

प्राधिकरणको नयाँ व्यवस्था: सात दिनभित्रै नयाँ मिटर

काठमाडौँ । तपाइँले नयाँ आवास तथा घरका लागि नेपाल विद्युत् प्राधिकरणसँग नयाँ मिटरको लागि आवेदन दिनुभएको छ भने अब तपाईंले लामो समय कुर्नुपर्ने छैन । प्राधिकरणले आफ्ना ग्राहकलाई सहजरूपमा सेवा दिने लक्ष्यका साथ प्रक्रिया पुगेकालाई सात दिनभित्र नयाँ मिटर दिने व्यवस्था गर्न मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ । प्राधिकरणले ‘सिङ्गल फेज’को नयाँ मिटर सात दिनभित्रमा जडान गरिदिन र उपभोक्तालाई कुनै पनि प्रकारको दुःख नदिन निर्देशन दिएको छ । प्राधिकरणले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउन सिङ्गल फेजको मिटरका लागि निवेदन दिने ग्राहकको मिटर सात दिनभित्रमा जडान गरिदिने प्रतिबद्धतासमेत जनाएको छ । कहीँ कतै त्यस्तो व्यवस्था लागू नभएको पाइए कार्यकारी निर्देशक तथा क्षेत्रीय कार्यालयका प्रमुखलाई सम्पर्क गर्नसमेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ । प्राधिकरणका अधिकांश घरायसी ग्राहकले सिङ्गल फेज मिटर प्रयोग गर्छन् । यसैगरी, थ्रि फेज र उद्योग तथा प्रतिष्ठानमा प्रयोग हुने ‘टिओडी’ नयाँ मिटर क्रमशः १५ र ३० दिनभित्र उपलब्ध मात्रै गर्नेछैन, जडान नै गरिदिनुपर्ने व्यवस्था गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ग्राहकलाई प्रवाह गर्ने सेवालाई अझै प्रभावकारी बनाउन र कार्यालय प्रमुख तथा कर्मचारीलाई अझै जिम्मेवार बनाउन यस्तो व्यवस्था गरिएको उनको भनाइ छ । मुलुकभर विद्युत्भार कटौतीको अन्त्यपछि प्राधिकरण विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी बक्यौता असुल गर्ने, स्तरीय, भरपर्दो तथा सुरक्षित विद्युत् सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरवृद्धि गर्ने, निर्माणाधीन जलविद्युत् तथा प्रसारण लाइनको निर्माणलाई तीव्रता दिनेलगायतका काममा केन्द्रित भएको छ । चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने र महसुल बक्यौता असुलीमा कडाइ गर्दै आएको छ । यस्तै प्राविधिक चुहावट नियन्त्रण गर्न काठमाडौँ उपत्यका र प्रमुख शहरी क्षेत्रमा पाँच हजार नयाँ ट्रान्सफर्मर जडान गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राखिएको छ । यस्तै वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरणको काम पनि अगाडि बढाइएको छ । सेवा सुधारका लागि ग्राहक सेवासम्बन्धी प्रतिबद्धता हरेक कार्यालयमा टाँसी सोहीअनुसारको काम गर्ने व्यवस्थासमेत मिलाइएको छ । नयाँ मिटर जडानमा समस्या रहेको र कर्मचारीले अनावश्यक दुःख दिने गरेको तथा घुस मागेको र घुस माग्दामाग्दै प्राधिकरणका कर्मचारी समेत पक्राउ पर्न थालेपछि प्राधिकरणले नयाँ व्यवस्था गरेको हो । प्राधिकरणले ग्राहक तथा वितरण केन्द्रले कार्यसम्पादन अवधिसहितको प्रतिबद्धता पत्र फ्लेक्समा प्रिन्ट गरी सबैले देख्ने ठाउँमा राख्ने व्यवस्थासमेत मिलाएको छ । हरेक वितरण केन्द्रले आफूले प्रदान गर्ने सेवा, कार्यसम्पादन अवधि र सम्पर्क व्यक्तिको नाम तथा सम्पर्क मोबाइल नम्बर समेटिएको विवरण कार्यालय परिसरमा ग्राहकले देख्ने ठाउँमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाअनुसार सिङ्गल फेजको मिटर जलेमा वा बिग्रेमा एक दिनभित्र मर्मत गरिनेछ । यस्तै थ्रि फेजको तीन दिन र टिओडी १० दिनभित्रमा जडान÷मर्मत गर्ने व्यवस्था समेत मिलाइएको छ । प्राधिकरणले प्रवाह गर्ने सेवामा कुनै गुनासो भएमा सम्बन्धित केन्द्र प्रमुखको मोबाइल नम्बरमा वा प्राधिकरणको जनगुनासो व्यवस्थापनको फोन नम्बर ११५० मा पनि उजुरी गर्न सकिने व्यवस्था गरिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रीत भई क्षेत्रीय कार्यालय र त्यसअन्तर्गतका केन्द्र प्रमुखसँग धमाधम कार्यसम्पादन करार सम्झौतासमेत गर्दै आएको छ । रासस

विद्यार्थीसँग एक करोड पचास लाख रुपैयाँ ठगी गर्ने गेट्स कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाले विदेश पठाएइदिने भन्दै एक करोड ५० लाख रुपैयाँ ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अष्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाइदिने भन्दै २० जनाभन्दा धेरै व्यक्तिसँग एक करोड ५० लाख ठगी गर्ने पाल्पाका ३४ वर्षीय गणेश ढकाललाई आज दिउँसो महाशाखाको टोलीले पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भक्तपुरको सूर्यविनायक बस्ने आभाष खनाललाई क्यानडा पठाइदिने भन्दै रु सात लाख ठगी गरेको उजुरीका आधारमा ढकाललाई पक्राउ गरिएको जानकारी दिए । ढकालले ठगी गरेको पैसा खनालले मागेपछि खाली चेक दिएकाले उनलाई बैंकिङ र ठगी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता उप्रेतीले बताए । रासस

अख्तियारले भेट्यो १ करोड ३४ लाख स्रोत नखुलेको सम्पति, यसरी फसे सह-सचिव चन्द्रमान श्रेष्ठ

काठमाडौं । यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठमाथि मुद्दा लागेको छ । श्रेष्ठको १ करोड ३४ लाख स्रोत नखुलेको सम्पति भेटेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । श्रेष्ठमाथि पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । अख्तियारको अध्ययनले करोडौं रुपैंया स्रोत नखुलेको भेटेपछि उनीमाथि विषेश अदालत काठमाडौंमा बुधबार मुद्दा दायर भएको हो । श्रेष्ठ हाल वन तथा बातावरण मन्त्रालयको सह सचिव पदमा कार्यरत रहेका छन् । सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आयोगले आरोप लगाएको छ । उनले आफ्नो नामका साथै आफ्ना परिवारका सदस्यहरुको नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिहरुका सम्बन्धमा संकलित तथ्य प्रमाणहरु उपर छानबिन एवं विश्लेषण गर्दा सार्वजनिक पद धारण गरेको मिति २०३८ साल बैशाख २८ गतेदेखि जाँच अवधिमा २ करोड १० लाख ७७ हजार आर्जन गरेको देखिएको हो । उनले सवारी खरिद, शेयर लगानी, शिक्षा, विदेश भ्रमण, बैङ्क मौज्दात लगायतका शीर्षकहरुमा समेत गरी ३ करोड ४४ लाख ७७ हजार खर्च गरेको देखिंदा वैध आयको तुलनामा १ करोड ३४ लाख बराबरको सम्पत्तिको स्रोत नखुलेको भेटिएको आयोगले जनाएको छ ।

ब्रोकर कार्यालयमा शेयर बजारका नयाँ लगानीकर्ता बढ्दै

खस्यौली । प्रदेश नं ५ स्थित बुटवलका विभिन्न ब्रोकर (दलाल) कार्यालयमा शेयर बजारका नयाँ लगानीकर्ता बढ्न थालेका छन् । शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेशले बुटवलका विभिन्न दलाल कार्यालय पनि उत्साहित भएका छन् । बजारमा नयाँ पुस्ताका लगानीकर्तामा सबैभन्दा बढी बुटवलस्थित केही कर्मचारी, प्राध्यापक, व्यवस्थापन सङ्कायका विद्यार्थीलगायत शेयर बजारमा चासो राख्ने देखिएका छन् । उनीहरुले एकल रुपमा २० हजारदेखि एक लाखसम्म शेयर बजारमा लगानी गरेका छन् । “विद्यार्थीले सिक्ने चरणमा न्यूनतम २० देखि १०० कित्तासम्म लिएका छन्” दक्षिणकाली सेक्युरिटिज प्रालि बुटवलका प्रकाश भण्डारीले भने । उनले बजारबारे केही सिक्ने चरणमा रहेको र केही बुझेर पनि बजारप्रति आकर्षित हुने गरेको बताए । एशियन सेक्युरिटिज प्रालि (२६) नं. दलाल कार्यालय बुटवलका पुष्पनिधि ढकालले पूँजी बजारमा नयाँ पुस्ताको लगानी सन्तोषजनक भएको उल्लेख गर्दै विभिन्न कलेजका विद्यार्थीको आर्कषण बढेको जानकारी दिए । एकल रुपमा छात्रले लगानी गरेको पूँजी बजारमा आम्दानीको स्रोत बढाउन उनीहरुले लगानी गरेको अनुमान गर्दै उनले बजारको मनस्थिति कमजोर भएकाले केही हतोत्साहित हुने गरेको बताए । शेयर बजारका जानकारले पूँजी बजार अहिले ‘वियरिस’ अवस्थाको अन्त्यमा भएको दाबी गरेका छन् । रुपन्देहीस्थित सफल नेपाल इन्भेष्टमेण्ट फोरमका अध्यक्ष कमल तिवारीले शेयर बजारमा प्रवेश गर्नेका लागि अहिले सबैभन्दा अनुकूल समय भएकोमा जोड दिँदै शेयर बजार ‘प्यारालाइन स्टेट’ को अवस्थामा भएको बताए । यो अवस्था भनेको नेप्से परिसूचक घट्ने सम्भावना कम भएको र घटिहाले पनि ५० देखि १०० अङ्कको तलमाथि हुने बताइएको छ । यस समयअर्थात् पुस, माघ र फागुन शेयर बजारका लागि ‘अफ सिजन’ मानिन्छ । अध्यक्ष तिवारीले आगामी चैतदेखि पूँजी बजार ‘बुलिस’ अवस्थामा जाने जिकिर गर्दै नयाँ लगानीकर्तालाई सानो सानो आकारमा लगानी बढाउन सुझाव दिए । बुटवलका विभिन्न ब्रोकर कार्यालयमा अहिले कूल दुई हजार बढी नयाँ लगानीकर्ता भएको अनुमान छ । यहाँका ब्रोकर कार्यालयमा झण्डै दैनिक रु एक करोड बढीको कारोवार हुने गरेको बताइएको छ । यता, प्रदेश नं ५ को बुटवल र आसपासका क्षेत्रमा पूँजी बजारमा प्रवेश गर्नेले शेयर बजारसम्बन्धी तालिम लिन थालेका छन् । यसबाट पूँजी बजारमा शेयर बजारको सचेतनाले बजार बढ्नमा मद्दत मिल्ने विश्वास गरिएको छ । पूँजी बजारमा स्नातक तहको व्यवस्थापन सङ्कायका विद्यार्थी, व्यापारी, प्राध्यापक, महिलालगायतका नयाँ लगानीकर्ताले शेयर बजारसम्बन्धी तालिम गरेर लगानी बढाएको सफल नेपाल इन्भेण्टमेण्ट फोरम रुपन्देहीले जनाएको छ । तालिममा शेयर बजारको वर्तमान अवस्था, खरिद तथा बिक्री, कस्ता कम्पनीमा लगानी गर्ने र कसरी फाइदा लिने, कस्ता कम्पनीमा बढी जोखिम हुन्छ भन्ने विषयमा जानकारी दिइएको इन्भेण्टमेण्ट फोरमका अध्यक्ष तिवारीले जानकारी दिए । बुटवलमा नेपाल पत्रकार महासङ्घ रुपन्देही, लायन्स क्लब अफ बुटवलसँग मिलेर इन्भेण्टमेण्ट फोरमले शेयर बजारसँग सम्बन्धित तालिम दिएको थियो । दुवै तालिममा ९० जना सहभागी थिए । रासस

साल्ट ट्रेडिङले गर्यो आठ करोडको कारोबार, नूनको बिक्री बढी

पोखरा । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखराले चालु आर्थिक वर्षको पाँच महिनामा आठ करोडको कारोवार गरेको छ । उक्त कार्यालयले सो अवधिमा खाद्य पदार्थ, खाने तेल, नून र चिनीको बिक्री गरी रु सात करोड ५९ लाख मूल्य बराबरको कारोवार गरेको सो कार्यालयका प्रमुख सुरेशराज भण्डारीले जानकारी गराए । सोमध्ये सबैभन्दा धेरै नूनको कारोबार भएको छ । सो अवधिमा सात करोड ३२ लाख ११ हजार ९६५ मूल्य बराबरको ८९ हजार २८५ बोरा नून बिक्री भएको छ । सो अन्तर्गत ६ करोड २१ लाख ८३ हजार २९० मूल्य बराबरको ६७ हजार २२८ बोरा आयोनून र एक करोड १० लाख २८ हजार ६७५ मूल्य बराबरको ढिक्के नून बिक्री गरेको छ । साल्ट ट्रेडिङ पोखराले डिलरको माध्यमबाट कास्की, तनहुँ, लमजुङ, स्याङ्जा र गोरखा जिल्लामा नून आपूर्ति गर्दछ । उक्त कार्यालयले १६ लाख ५६ हजार ३४२ मूल्य बराबरको रासायनिक मल बिक्री गरेको छ । यस्तै एक लाख तीन हजार ३१८ मूल्य बराबरको १५० बोरा चोकर र मैदा साथै ८१ हजार मूल्य बराबरको पिठो बिक्री भएको छ । त्यस्तै, चार लाख ६९ हजार ३०७ मूल्य बराबरको सूर्यमुखी तेल र चार हजार ४६० मूल्य बराबरको खाने तेल गरिएको हो । उक्त कार्यालयबाट चार लाख नौ हजार २०३ मूल्य बराबरको १३६ बोरा चिनी पनि सो अवधिमा बिक्री भएको थियो ।

चितवन महोत्सवको १२ औँ संस्करण नेपाल भ्रमण वर्ष २०२० तर्फ लक्षित

चितवन । उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा आजदेखि नारायणी नदीको किनारमा चितवन महोत्सव शुरु भएको छ । महोत्सव उद्घाटन पूर्व आयोजित शोभायात्राको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले बेलुन उडाएर उद्घाटन गरे । महोत्सव परिसरबाट शुरु भएको शोभायात्राले नारायणगढ बजार परिक्रमा गरेको थियो । शोभायात्रामा विभिन्न सङ्घ संस्थाको सहभागिता रहेको थियो । हरेक दुई वर्षमा ‘चितवनको गौरव र गरिमामय प्रस्तुति’ भन्ने मूल नाराका साथ स्थानीय तहसँग मिलेर उद्योग वाणिज्य सङ्घ चितवनले महोत्सवको आयोजना गर्दै आएको छ । यो १२ औँ संस्करण हो । महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानका अनुसार महोत्सवका अवधिमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सञ्चार, ऊर्जालगायतका विषयमा विज्ञ झिकाएर राष्ट्रियस्तरको गोष्ठी गरिने छ । महोत्सव स्थलमा दैनिक राष्ट्रिय कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रम गरिने छ । महोत्सव प्रदर्शन व्यवस्थापन समितिका संयोजक चुमनारायण श्रेष्ठका अनुसार चार विदेशीसहित २२ जिल्लाका प्रदर्शकले प्रदर्शनी कक्ष राखेका छन् । चीन, भारत, पाकिस्तान र बङ्गलादेशका कक्ष रहेका छन् । उहांँका अनुसार ५७० कक्ष महोत्सवमा रहने छन् । यसअघिका महोत्सवमा ५२० सम्म कक्ष रहेपनि बढ्दो शहरीकरण र महोत्सवको आकर्षणका कारण कक्ष थपिएको श्रेष्ठले बताउनुभयो । महोत्सवमा व्यावसायिक कक्ष, कृषि प्रवद्र्धन, सूचना प्रविधिसम्बन्धी कक्ष, नेपालमा बनेका हस्तकला प्रदर्शन, शैक्षिक कक्षका साथै सामाजिक संस्थाका कक्ष रहेका छन् । माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सव नेपाल भ्रमण वर्ष २०२० तर्फ लक्षित छ । चितवनको पर्यटकीय क्षेत्रलाई चिनाई यस जिल्लालाई देशकै पहिलो पर्यटकीय गन्तव्य बनाउन टेवा पुगोस् भन्ने हेतुले महोत्सव कक्षमा वन्यजन्तु तथा पक्षीको मूर्ति राखी कृत्रिम चिडियाखाना निर्माण गरिएको छ । उक्त चिडियाखानामा चितवनका गैँडा, बाघ, भालु हात्ती, चराचुरुङ्गीलगायत विदेशमा पाइने जनावरको समेत मूर्ति निर्माण गरिएको छ । यहाँका ५० वटा पर्यटकीय गन्तव्यलाई छनोट गरी पर्यटक पथप्रदर्शन तथा जानकारीमूलक पुस्तिकासमेत तयार गरिएको छ । महोत्सवलाई थप आकर्षण दिने स्टल ‘मेड इन नेपाल’ रहेको छ । ती स्टलमा नेपालमा मात्रै उत्पादन भएका वस्तुको प्रदर्शन गरिएको छ । रासस

एक करोड ७१ लाख हिनामिना गरी लेखा अधिकृत फरार

चितवन । जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन् । कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन् । आन्तरिक लेखा परीक्षण (आलेप)का क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको उनले बताए । गत आर्थिक वर्षको लेखा परीक्षण गर्दा उनको नाममा एक करोड ७१ लाख बेरुजु देखिएको थियो । दर्जीले जग्गा रजिष्ट्रेशनको रकम बैंकमा दाखिला नगरी आफैँले प्रयोग गरेका थिए । पौडेलका अनुसार दैनिक बैंकमा रकम जम्मा गर्नुपर्नेमा सोही रकम दर्जीले हिनामिना गरेको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ । मङ्सिर ६ गते आलेपले रकम दाखिलाको पत्र पठाएपछि सोही दिन मालपोत कार्यालयले दर्जीको नाममा एक हप्ताभित्र रकम दाखिला गर्न पत्र काटेको थियो । पाँच पटकसम्म पत्र काटे पनि दर्जीले अटेर गरेका थिए । मङ्सिर २० गते आन्तरिक लेखा परीक्षकले २४ घण्टाभित्र नै रकम दाखिला गर्न पत्र दिएको तर, दर्जीले कार्यालयमा आएर सबै पैसा आफैँले खर्च गरेको र तिर्न नसकेको खण्डमा कानूनअनुसार जस्तोसुकै कारवाही भोग्न पनि तयार छु भनेर सनाखत गरेर गएको कार्यालय प्रमुख पौडेलले बताए । सोही दिनबाट दर्जी फरार छन् । पौडेलका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक सम्पूर्ण कागजात झिकाएर अनुसन्धान गरिरहेको छ । दर्जीका सबैै बैंक खाता रोक्का गर्न लगाइएको छ । भरतपुर महानगरपालिका–१० मा रहेको सप्तगण्डकी डिपार्टमेन्ट स्टोर्समा दर्जीको पनि साझेदारी रहेको खुलेपछि सोको कारोबार रोक्का गरिएको पौडेलले बताए ।

आन्तरिक राजश्वको अनलाइनमा समस्या, करदातालाई सास्ती, विभाग भन्छ- समाधानको कोशिस गर्दैछौं

काठमाडौँ । नेपाल सरकार अर्थमन्त्रालय अन्तरगत आन्तरिक राजश्व विभागको अनलाइन सिस्टममा समस्या भएपछि करदाता सेवाग्राहीहरु समस्यामा परेका छन् । आफ्नो संघसंस्था र व्यवसायिक प्रतिष्ठानको कर बुझाउन अनलाइन सिस्टम भएपछि सजिलो हुनु पर्नेमा अहिले सेवाग्राहीलाई झनै झन्झट भएको छ । अनलाइनमा घण्टौँ बस्दापनि साइट नखुल्ने, खुलेपनि एकैछिनमा ह्याङ हुने र कर इन्ट्रि गर्न सक्ने सहज अवस्था हुँदैन । अनलाइनबाट काम नभएपछि कार्यालय मै धाउनु पर्ने अवस्था सिर्जना भइरहेको छ । विभागको साइटमा हिजो र आजपनि उस्तै समस्या दोहोरिरहेको छ । एक सेवाग्राहीले भने-विभागको अनलाइनमा समस्या आउने रोग विगतदेखि कै हो, खै किन समाधानतर्फ सम्बन्धित निकायको ध्यान गएको छैन ? यसले गर्दा सेवाग्राहीले निकै दुःख पाएका छन् । महिनाको अन्तिममा साइट नचल्ने र जरिवाना तिर्नु पर्ने अवस्था आउने गरेको करदाताहरुको गुनासो छ । यस सम्बन्धमा अन्तरगत आन्तरिक राजश्व विभागको सूचना प्रणाली शाखाका निर्देशक चुडामणी ढुंगानाले साइटमा समस्या आएको स्वीकार गर्दै समाधानको कोशिस भइरहेको बताए । विगतमा आउने गरेका समस्या समाधान गरेका छौं, हिजो र आजको समस्या अलि फरक खालको छ । नयाँ नयाँ समस्या आउँदा समाधानका लागि अलि गाह्रो भएको छ- निर्देशक ढुंगानाले भने । करदाता सेवाग्राहीबाट गुनासो आएको छ, काममा केही असहजता आएको पक्कै हो, तर हामीपनि चुप लागेर बसेका छैनौं । उनले भने-प्राबिधिक समस्या समाधान गरी काम सहज बनाउने कोशिसमा विभाग जुटेको छ । नयाँ नयाँ प्रबिधि थपेर भएपनि समस्या समाधान छिटो भन्दा छिटो गर्छौँ ।