सर्वाधिक कर तिर्ने रेमिट्यान्स आइएमई
काठमाडौं । रेमिट्यान्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८२ का अवसरमा सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवाकर पौडेललाई उक्त सम्मान प्रदान गरे । सीईओ पौडेलले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान दिन पाउनु आइएमईका लागि गौरवको विषय रहेको बताए । कर दिवस समारोहलाई सम्बोधन गर्दै आइएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले करदाताको सम्मानसँगै सुरक्षालाई पनि प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए । सन् २००१ मा स्थापना भएको आइएमईले नेपालको वैदेशिक मुद्रा आप्रवाहलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । यस योगदानका आधारमा आइएमईले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरिरहेको छ । यसअघि पनि पटक–पटक सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा आइएमई सम्मानित हुँदै आएको छ । आइएमईको विभिन्न देशमा १०० भन्दा बढी व्यावसायिक साझेदार नेटवर्क रहेका छन् ।
लगानी आकर्षित गर्न आयकर कम गर्नुपर्छ : अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले कर नीति समय सापेक्ष बनाउन माग गरेका छन् । सोमबार कर दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले विश्वको कर नीतिमै व्यापक परिवर्तन भएको र उपभोक्ताहरूको क्रय शक्ति बढाउन र उद्यमी व्यवसायीहरूको लगानी क्षमता बढाउन विश्वका धेरै देशहरूले करका दरहरु घटाउँदै गइरहेको बताए । कतिपय देशहरूले लगानी आकर्षित गर्न आयकर कम गर्ने नीति अवलम्वन गरिरहेको भन्दै नेपालले पनि यसबारे सोच्न जरुरी रहेको बताए । प्रतिस्पर्धी बजार निर्माणको वातावरण सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता भएको जिकिर गरे । भन्सार दरलाई अधिकतम २५ प्रतिशत र मूल्य अभिवृद्धि करलाई कमसेकम दुई दरको कायम गर्न अति नै आवश्यक भएको पनि बताए । नेपालमा उत्पादित हुने सबै वस्तुहरुमा अन्तःशुल्क घटाउनुपर्ने आजको टड्कारो आवश्यकता रहेको जानकारी दिए । उनले भने, ‘अहिले विश्वको कर नीतिमै व्यापक परिवर्तन भएको छ । उपभोक्ताहरुको क्रय शक्ति बढाउन र उद्यमी व्यवसायीहरुको लगानी क्षमता बढाउन विश्वका धेरै देशहरुले करका दरहरु घटाउँदै गइरहेका छन् । युएईमा त आयकर अत्यन्त कम गरिएको छ, लगानी आकर्षण गर्नको लागि । समयसापेक्ष गर्न अर्थमन्त्रीज्युलाई अनुरोध गर्दछु । प्रतिस्पर्धी बजार निर्माणको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेको छ ।’ अध्यक्ष अग्रवालले आयकर ऐनको पुनः लेखन गर्नुपर्ने माग गरे । डिजिटल बिजनेसको अन्योलता हटाउन जरुरी रहेको बताए । संघ र स्थानीय तहको आफ्नो आफ्नो कानूनी व्याख्याका कारण घर बहाल करमा दाहोरो मार परेको बताए । राजस्वको लक्ष्य पुर्याउने दबाबमा भएका कर निर्धारण आदेशहरुले आन्तरिक राजश्व विभागमा ठूलो वक्यौता रकम देखिएको र अर्कोतर्फ उद्यमी व्यवसायीहरु अनावश्यक कानूनी झन्झटमा परेको बताए ।
सबैभन्दा बढी कर तिर्ने व्यक्ति बने राजबहादुर शाह, यी हुन् धेरै कर तिर्ने संस्था
काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आन्तरिक राजस्व विभागले सबैभन्दा बढी आयकर तिर्ने राजबहादुर शाहलाई सम्मान गरेको हो । शाह व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर बुझाउने व्यक्ति बनेका छन् । विभागका अनुसार निकायतर्फ सबैभन्दा बढी कर बुझाउने नेपाल दूरसञ्चार प्राधिकरण छ भने एकल स्वामित्वतर्फको कम्पनीमा सबैभन्दा बढी थर्ड आई इन्टरनेशनले तिरेको छ । वस्तु निर्यातमा डाबर नेपाल प्रालिले गत वर्ष सबैभन्दा बढी कर तिरेको भन्दै विभागले सम्मान गरेको छ । यस्तै, सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गर्नेमा भेरिक्स नेपाल प्रालि, कृषि फार्मतर्फ पोषक ब्रिडर फार्म प्रालिले गत वर्ष सबैभन्दा बढी कर तिरेका छन् । बैंक तथा वित्तीय संस्थाबाट भने गत वर्ष नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले सबैभन्दा बढी कर तिरेको छ । स्वास्थ्य तथा शैक्षिक संस्थामा नोबेल मेडिकल कलेज तथा टिचिङ अस्पताल रहेको छ । पर्यटन व्यवसायमा सोल्टी होटेल लिमिटेडले सबैभन्दा बढी कर तिरेको विभागले जनाएको छ । यस्तै, वस्तु व्यापार गरेर सबैभन्दा बढी आयकर तिर्नेमा भाटभटेनी सुपरस्टोर रहेको छ । वार्षिक ५० देखि १०० करोडसम्म कारोबार गर्ने कम्पनीमा सिडिएस एण्ड क्लियरिङ लिमिटेड रहेको छ । त्यस्तै, उर्जातर्फ भोटेकोसी पावर कम्पनी लिमिटेड उत्कृष्ट करदाता रहेको छ । रेमिटेन्सतर्फ आइएमइ लिमिटेडले सबैभन्दा बढी कर तिरेको छ । विभागका अनुसार २०७६ देखि २०८२ असारसम्म नियमित समयमै सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड रहेको छ । विशेष उद्योगमा सबैभन्दा बढी कर तिर्ने युनिलिभर कम्पनी लिमिटेड रहेको छ । यस्तै, यस वर्ष बागलुङ कर कार्यालय उत्कृष्ट कर कार्यालय बनेको छ । यी हुन सबैभन्दा बढी कर तिर्ने व्यक्ति र संस्था १.निकायहरूमध्ये नेपाल दूरसञ्चार प्राधिकरण २.एकलौटी फर्ममध्ये थर्ड आई इण्टरनेशनल ३.वस्तु निर्यातको कारोबार गर्नेमध्ये डावर नेपाल प्रालि ४.सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोवबर गर्नेमध्ये भेरिक्स नेपाल प्रालि ५.कृषि एवं पशुपंक्षीजन्य उद्योगमध्ये पोषक ब्रिडर फार्म प्रालि ६.बैंक, वित्तीय संस्था र बीमाको कारोबार गर्नेमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ७.स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमध्ये नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल ८.पर्यटन व्यवसाय गर्नेमध्ये सोल्टी होटल लिमिटेड ९.वस्तु व्यापारको कारोवार गर्ने मध्ये भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालि १०.वार्षिक कारोवार रकम ५० करोड रुपैयाँभन्दा बढी १०० करोड रुपैयाँसम्म कारोवार गर्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेड ११.उर्जामूलक उद्योगमध्ये भोटेकोशी पावर कम्पनी प्रालि १२.रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये आईएमई लिमिटेड १३.ब्यक्तिगत आयमा सबैभन्दा बढी राज बहादुर शाह १४.विसं २०७६ साउनदेखि २०८२ असार मसान्तसम्मको कर अवधिमा विवरण र सो बमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये नेपाल दूरसञ्चार लिमिटेड १५.वार्षिक कारोबार रकम ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदाताहरुमध्ये भिएफ सर्भिसेज (मोरिसस) प्रालि १६.विशेष उद्योगहरूमध्ये यूनिलिभर नेपाल लिमिटेड
एनपीएलको दोस्रो संस्करण आजदेखि सुरु हुँदै, ४० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य
काठमाडौं । नेशनल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्दका अनुसार प्रतियोगिताको शुभारम्भ अपरान्ह २ बजे हुने छ भने पहिलो खेल ४ बजे खेलाइने छ । मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, ३ वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् । त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएका कारण दोस्रो संस्करण क्रिकेट प्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ । उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । यस पटक रङ्गशालामा १० हजार जना अट्ने प्यारापिट निर्माण गरिएकोले दर्शकले सिटमै बसेर प्रतियोगिता हेर्न पाउने भएका छन् भने फ्लड लाइटका कारण खेलहरू अन्य देशका रङ्गशाला सरह रातिसमेत सञ्चालन हुनेछन् । सहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत क्यानलाई पहिलो एनपीएलको पूर्व सन्ध्यामा आइतबार साँझ मात्र चरणका संरचना हस्तान्तरण गरेको थियो । प्रतियोगिताका विजेता टोलीलाई पुरस्कार स्वरूप १ करोड १० लाख रुपैयाँ प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले २५ लाख रुपैयाँ तथा चौथो हुनेले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । एनपीएल दोस्रोका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यस पटक दैनिक ९ हजार ४५० टिकट बिक्री गर्ने जनाएको छ । पहिलो दिनको खेलको टिकट २ दिन अगाडि नै बिक्री भइसकेको छ । उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ ५ सय रुपैयाँ र प्रिमियमतर्फ १ हजार ५०० रुपैयाँ राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य ५ सय रुपैयाँ र १ हजार रुपैयाँ तोकिएको छ । प्लेअफपछिका खेलका लागि जनरलतर्फ १ हजार रुपैयाँ र प्रिमियरतर्फ २ हजार रुपैयाँ राखिएको छ । क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार तय गरेको छ । एनपीएलमा साबिक विजेता जनकपुरसँगै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स गरेर ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । यस पटक एनपीएलबाट ४० करोड रुपैयाँ आम्दानी गर्ने क्यानको लक्ष्य छ ।
टियु क्रिकेट ग्राउण्डमा ठडिए एक अर्ब लगानीका फ्लड लाइट र आकर्षक प्याराफिट, दोस्रो चरणको काम गर्न १० अर्ब बजेट
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको फ्लडलाइटको उद्घाटन र १० हजार सिट क्षमताको प्यारापेटसहितको पहिलो चरणको निर्माण कार्य सम्पन्न भई नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण गरिएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पूर्वसन्ध्यामा सम्पन्न यस कार्यले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुऱ्याउने अपेक्षा गरिएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय नियमन तथा व्यवस्थापन कार्यालयले राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघलाई रंगशाला हस्तान्तरण गरेको हो । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले फ्लडलाइटको उद्घाटन गरे । कीर्तिपुर मैदान नेपालको क्रिकेट इतिहासको साक्षी रहँदै आएको छ । डिभिजन ५, ४, ३ को विश्व च्याम्पियनसिपदेखि २०१४ मा टी-२० विश्वकपमा नेपालको सहभागिता, २०१५ मा डिभिजन २ बाट डिभिजन १ मा उक्लिने क्रम र २०१८ मा ओडीआई प्लेइङ नेशन बन्दासम्म यस मैदानको महत्त्वपूर्ण भूमिका रहेको छ । सहरी विकास मन्त्रालयका अनुसार पहिलो चरणमा १० हजार सिट क्षमताको प्यारापेट निर्माण र छ वटा हाई मास्ट फ्लडलाइट जडान गरिएको छ । यसको लागि प्यारापेटमा ४९ करोड २५ लाख र फ्लडलाइटमा ४७ करोड ३७ लाख रुपैयाँ लगानी भएको छ । यी पूर्वाधारहरू अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि आवश्यक लक्स (चम्किलोपन) पुरा हुने गरी निर्माण गरिएका छन्, जसमा डिएमएक्स प्रविधि समेत जडान गरिएको छ । मन्त्री घिसिङले दोस्रो चरणको कामको लागि सरकारले करिब १० अर्बको गुरुयोजना स्वीकृत गरिसकेको र आगामी २ देखि ३ वर्षभित्र सबै काम सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए । उनले यो सम्पन्न भएपछि कीर्तिपुर मैदान पूर्ण पूर्वाधारले सम्पन्न अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्ने बताए । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यो दिनलाई निकै ठूलो ऐतिहासिक दिन बताउँदै नेपाली क्रिकेटप्रेमीहरूको डे-नाइट क्रिकेट हेर्ने सपना पूरा भएकोमा खुशी व्यक्त गरे । उनले यस कार्यका लागि पूर्ववर्ती र वर्तमान सरकारलाई धन्यवाद दिँदै हरेक प्रदेशमा फ्लडलाइटसहितको रंगशाला बनाउनुपर्नेमा जोड दिए। यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पोलहरू मात्रै ठडिएको होइन, नेपाली खेलप्रेमीहरूको सपना ठडिएको छ भन्दै यो पहिलो आफ्नै लगानीमा फ्लडलाइटसहितको रंगशाला बनेकोमा गर्व व्यक्त गरे । यस्तै, कार्यक्रममा कीर्तिपुर नगरपालिकाका नगर प्रमुखले कीर्तिपुरको प्रांगणमा अन्तर्राष्ट्रिय स्तरको खेल हुँदा आफूलाई गौरवान्वित महसुस भएको बताउँदै यसले कीर्तिपुरको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने आशा व्यक्त गरे । पहिलो चरणको निर्माण कार्यमा संलग्न परामर्शदाता र निर्माण व्यवसायीहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो । दोसो संस्करणको एनपीएलको उद्धघाटन कार्यक्रम सोमबार प्रधानमन्त्री सुशिला कार्कीले गर्ने छिन् ।
कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीलाई होटल सब्रिनामा छुट
काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, बुढानीलकण्ठस्थित होटल सब्रिनासँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र होटलका सञ्चालन प्रबन्धक समिर थापाले हस्ताक्षर गरे । यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध ग्राहक र कर्मचारीले लाभ लिने बैंकले विश्वास लिएको छ।
नेको इन्स्योरेन्सको खुद बीमा शुल्क २९ करोड ५४ लाख, अन्य सूचक कस्ता ?
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नाफा ऋणात्मक रहेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार तीन महिनाको अवधिमा कम्पनीको नाफा ८ करोड ३१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले नाफा ७ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तीन महिनाको अवधिमा कम्पनीले ५२ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५० करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क ४ दशलमव २३ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीले २९ करोड ५४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २८ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३ दशलमव ४६ प्रतिशतले बढेको छ । २ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको स्पेसल रिर्जभमा २ अर्ब ३० करोड रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा १६ करोड ५८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४८ करोड ७४ लाख रुपैयाँ र अन्य इक्विटीमा ३५ करोड ६९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा १६ करोड ५८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७५ करोड ४६ लाख रुपैयाँ र अन्य इक्युटीमा ३२ करोड ७४ लाख रुपैयाँ थियो। पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३५ पैसाले ऋणात्मक रहेको छ । पीई रेसियो ४६.९४ रुपैयाँले ऋणात्मक रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ २२७.१५ रुपैयाँ रहेको छ ।
शिखर इन्स्योरेन्सको खुद बीमा शुल्क २९ करोड ७ लाख, यस्ता छन् अन्य सूचक
काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको सार्वजनिक गरेको वित्तीय विरणअनुसार कम्पनीको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा कम्पनीले १५ करोड ८५ लाख रुपैयाँ घाटा बेहोरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ११ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो । तीन महिनाको अवधिमा कम्पनीले ९० करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ८१ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ११.०३ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ३.०२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २८ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आवको तीन महिनामा २९ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । असोजसम्ममा कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा पनि कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ नै थियो । कम्पनीको महाविपत्ति कोषमा १६ करोड ३० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा १६ करोड ३० लाख रुपैयाँ नै थियो । त्यस्तै, रिटेन्ड अर्निङ ६ करोड ७७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा रटेन्ड अर्निङमा २२ करोड ६३ लाख रुपैयाँ थियो । अघिल्लो आवको तीन महिनाको अवधिमा कम्पनीको अन्य इक्युटीमा ५८ करोड ४२ लाख रुपैयाँ रहेकोमा चालु आवको यही अवधिमा ५४ करोड २ लाख रुपैयाँ रहेको छ । सेयर पुँजी २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी २१.७० रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९२.६३ रुपैयाँ, पीई रेसियो २८.१४ रुपैयाँ रहेको छ ।
पहिलो त्रैमासमा सानिमा रिलायन्सको नाफा १४ करोड ९६ लाख, जीवन बीमा कोषमा २० अर्ब ८७ करोड
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा कम्पनीले १४ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवको यही अवधिमा १३ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा १२.५३ प्रतिशतले बढेको छ । तीन महिनाको अवधिमा कम्पनीको जीवन बीमा कोषमा २० अर्ब ८७ करोड ७१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा जीवन बीमा कोषमा १५ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३४.१२ प्रतिशतले बढेको छ । त्यस्तै पहिलो त्रैमासमा कम्पनीको महाविपत्ति कोषमा १४ करोड ९२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ७४ लाख रुपैयाँ थियो । यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ४० करोड ६९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ३४ करोड २६ लाख रुपैयाँ थियो । कम्पनीको अन्य इक्विटी २ करोड ६२ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको अन्य इक्विटीमा ८ करोड ९ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीले १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिसम्म कम्पनीले १ अर्ब ५६ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमा शुल्क आर्जन १७.९९ प्रतिशतले बढेको छ। यो अवधिमा कम्पनीले १ अर्ब ७८ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ५० करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १८.५२ प्रतिशतले बढेको छ । कुल ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ सेयर पुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ११.९३ रुपैयाँ रहेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ४९.१२ गुणा, प्रतिसेयर नेटवर्थ ११०.५७ रुपैयनन् रहेको छ ।
कार्बन साझेदारी कोषबाट मुलुकलाई एक अर्ब १९ करोड प्राप्त
काठमाडौं । तराई आर्क क्षेत्रअन्तर्गतको ‘आरइडिडीप्लस’ उत्सर्जन कटौती कार्यक्रममार्फत करिब १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएपछि मुलुकले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट एक अर्ब १९ करोड रुपैयाँ प्राप्त प्राप्त गरेको छ । यो रकम कोषअन्तर्गतको इमिसन रिडक्सन पेमेन्ट एग्रिमेन्ट (इआरपिए)अनुसार नेपालले पाएको यो पहिलो भुक्तानी हो । यसले वन विनाश रोक्ने, समावेशी तथा दिगो वन व्यवस्थापन प्रवद्र्धन गर्ने नेपालका प्रयास मुखरित भएको विश्व बैंकले आइतबार एक विज्ञप्ति निकालेर जनाएको छ । बैंकले यो उपलब्धिबाट नेपालले वन विनाश रोक्न, जैविक विविधता संरक्षण बढाउन र स्थानीय समुदायका लागि दिगो जीविकोपार्जनका अवसर विस्तार बल पुग्ने विश्वास व्यक्त गरेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले प्राप्त रकमले वनमा निर्भर समुदाय, आदिवासी जनजाति तथा सरकारको संयुक्त प्रतिबद्धतालाई प्रमाणित गरेको बताए ।
मेटलाइफको पहिलो त्रैमासमा १ अर्ब ६६ करोड बीमाशुल्क आर्जन, नाफा ९ करोड ७० लाख
काठमाडौं । मेटलाइफ नेपालले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक रिपोर्टअनुसार कम्पनीले यस अवधिमा १ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही त्रैमासिकको तुलनामा मेटलाइफको व्यवसायमा सुधार देखिएको छ । यस त्रैमासमा कुल बीमाशुल्कमा १५ प्रतिशत वृद्धि भएको छ । त्यस्तै प्रथम तथा एकल बीमाशुल्क १७ प्रतिशतले बढेको छ भने नवीकरण बीमाशुल्क पनि १५ प्रतिशतले बढेको छ । रिपोर्टअनुसार सोही अवधिमा कम्पनीले ७७ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशत वृद्धि हो । मेटलाइफको जीवन बीमा कोष ३०.६० अर्ब रुपैयाँमा पुगेको छ भने पहिलो त्रैमासमा कम्पनीले ९ करोड ७० लाख नाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै, कम्पनीको जगेडा तथा कोष ४.४६ अर्ब रूपैयाँ रहेको छ ।
४०८.९१ प्रतिशत कुल नाफा बढाएको सर्वाेत्तम सिमेन्टको खुद नाफा ३२.४२ करोड रुपैयाँ
काठमाडौं । सर्वाेत्तम सिमेन्टले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले २ करोड २५ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो । चालु आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन आम्दानी ३५.७७ प्रतिशत बढेर १ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ गरेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । असोजसम्ममा कम्पनीको कुल नाफा ४०८.९१ प्रतिशत बढेर ६१ करोड २६ लाख रुपैयाँ, वित्तीय लागत १५.९१ प्रतिशत घटेर ६ करोड ६१ लाख रुपैयाँ र कुल खर्च ८१.८९ प्रतिशत बढेर २७ करोड २ लाख रुपैयाँ गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १२ करोड ३ लाख रुपैयाँ कुल नाफा, ७ करोड ८६ लाख रुपैयाँ वित्तीय लागत र १४ करोड ८५ लाख रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ७ प्रतिशत बढेर ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ र जगेडा कोष १७.६४ प्रतिशत बढेर ५ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी २६.०७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०८.११ रुपैयाँ छ भने मूल्य आम्दानी अुनपात ३१.९१ गुणा रहेको छ ।
मन्त्री घिसिङले गरे बागमती करिडोर निरीक्षण, ढल व्यवस्थापन र सडक सुधारमा जोड
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार काठमाडौंको पूर्वी क्षेत्रस्थित बागमती नदी करिडोर क्षेत्रको फोहारमैला व्यवस्थापन र सडक मर्मत सम्भार बारे स्थलगत निरीक्षण गरेका छन् । शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा, गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाललगायत सम्बन्धित निकायका टोलीसहितको टोलीले गुह्येश्वरीबाट सुन्दरीजल क्षेत्रम्मको नदी कारिडोर र सडक स्तरोन्नति बारे जानकारी लिएको थियो । टोलीले गुह्येश्वरीदेखि सुन्दरीजलसम्म क्षेत्रमा पर्ने बागमती नदी किनार तथा ढल व्यवस्थापन, सडक विस्तार एवम् स्तरोन्नतिलगायतका विषयमा स्थलगत जानकारी लिएको थियो । मन्त्री घिसिङले बागमती नदी करिडोरमा देखिएको ढल व्यवस्थापन र सडक स्तरोन्नतिको समस्या तत्काल समाधान गरिने बताए । उनले काठमाडौं उपत्यकाका नदी करिडोर क्षेत्रमा सडक विभाग, काठमाडौं उपत्यकाका विकास प्राधिरकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबीच सडक निर्माण निर्माण तथा मर्मत सम्भार देखिएको समन्वययको समस्यालाई छिटै समाधान गरिने प्रतिबद्धता जनाए । ‘काठमाडौं उपत्यकाका नदीलाई सफा बनाएमा मात्र शहर सफा हुने भएकाले अल्पकालीन र दीर्घकालीन रुपमा ढल व्यवस्थापन योजनासहित काम गरिरहेका छौं, ढल व्यवस्थापनका लागि प्रशोधन केन्द्रको स्थापना चरणबद्ध रुपमा गरिरहेका छौं, नदी करिडोरका सडकलाई कालोपत्रे गर्ने, मर्मतसम्भार गर्नेलगायतकालाई उच्च प्राथमिकता राखी कार्य अगाडि बढाइरहेको छ, यसका लागि स्थानीय पालिकासँग समन्वयकासाथ काम गरिरहेका छौं, सडक किनारमा बेवारिसे अवस्थामा छाडिएका गाडी हटाउन उपकरण उउपकरण उपलब्ध गराउँछौं, त्यस्ता गाडीहरु तत्काल हटाउनुहोला,’उनले भने, ‘गोकर्णेश्वर मन्दिर नजिक बागमती नदी बायाँ किनारको करिब एक सय मिटर सडकलाई फराकिलो बनाउन सकिएमा माकलबारीबाट सिधै गोकर्णेश्वर मन्दिरतर्फ सवारी गाडी पास गराउन सक्ने अवस्था रहेछ, सडक फराकिलो बनाउन नेपाल ट्रष्टको कार्यालयसँग आवश्यक समन्वय र सहजीकरण गरिने छ ।’ चावहिल—सुन्दरीजल सडक विस्तारका लागि बाँकी पुलको निर्माण तत्काल अगाडि बढाउन उनले आग्रह गरे ।
एनपिएलको तयारी पूरा, विजेता टोलीलाई एक करोड १० लाख पुस्कार
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । पर्सी सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताका विजेता टोलीलाई पुरस्कार स्वरूप एक करोड १० लाख रुपैयाँ प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले २५ लाख तथा चौथो हुनेले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । एनपिएलमा विभिन्न आठ फ्रेञ्चाइज टोली सहभागी हुनेछन् । उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ ।
७० करोडको परियोजना आठ वर्षदेखि रोक्का : कोबाङ-जोमसोम सडक अलपत्र
मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना (बेनी–जोमसोम) अन्तर्गत कोबाङ–जोमसोम खण्ड निर्माण कम्पनीको ढिलासुस्तीका कारण आठ वर्षदेखि अलपत्र परेको छ । बेनी–जोमसोमको ७४ किमीअन्तर्गत कोबाङ–जोमसोम खण्डको करिब १७ किमी सडक निर्माण कम्पनीको लापरबाहीका कारण आठ वर्षदेखि अलपत्र परेको हो । मुस्ताङको घाँसाबाट माथिल्लो स्थानसम्म कालोपत्र भइसक्दा कोबाङ–जोमसोम खण्डको तीन स्थानमा काम हुन सकेको छैन । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकको चार खण्ड आर्थिक वर्ष २०७३-७४ मा ठेक्का सम्झौता भई निर्माण थालनी गरिएको थियो । पप्पु–गौरी पार्वती कोशी एण्ड न्यौपानी जेभीले ११ मिटर चौडा सडक निर्माणसहित कालोपत्र गर्न रु ७० करोड लागतमा ठेक्का सम्झौता गरेको थियो । सुरुआती चरणमा उक्त खण्डमा निर्माण कम्पनीले काममा तीव्रता दिए पनि केही समयपछि ढिलासुस्ती गरेपछि काम रोकिएको थियो । लामो समयसम्म काम नगरेपछि कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले निर्माण कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाएको थियो । आयोजनाको पटकपटकको ताकेता र कारबाहीको प्रक्रिया अघि बढाइपछि जेभीको मुख्य कम्पनी गौरी–पार्वतीले उक्त खण्डको जिम्मा लिएको थियो । गौरी पार्वती निर्माणमा फर्किए पनि आंशिक रूपमा मात्र काम भएको छ । निर्माण कम्पनीको लापरबाही र ढिलासुस्तीका कारण कामले गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ । आयोजनाका अनुसार उक्त सडक निर्माणका लागि कम्पनीलाई कूल ठेक्का सम्झौता लागतको शून्य दशमलव शून्य पाँच प्रतिशत हुनेगरी जरिवाना रकम कायम गरिएको छ । सुरुआती ठेक्का सम्झौता भएको कोबाङ–जोमसोम सडकको हालसम्म सातौँ चरणमा म्याद थपको प्रक्रिया अघि बढेको आयोजनाका सूचना अधिकारी इञ्जिनीयर बाबुसाहेव बैठाले जानकारी दिए । उनका अनुसार हाल उक्त सडकको भौतिक प्रगति ९० प्रतिशत र वित्तिय प्रगति ८० प्रतिशत छ । कोबाङ–जोमसोम सडकअन्तर्गत थासाङ गाउँपालिकाको टुकुचेमा ४०० मिटर कालोपत्र र ३०० मिटर आरसिसी प्रविधिको सडक विस्तार गर्ने काम बाँकी रहेको गौरी पार्वती निर्माण कम्पनीका प्रतिनिधि सुमन अधिकारीले बताए । यस क्षेत्रमा कालोपत्र र आरसिसी प्रविधिको ‘ड्रेन’ र ‘स्टक्चर’को काम सकिएको छ । साथै सोहीखण्डको मार्फा राजखोलाको पक्की पुलबाट माथिल्लो क्षेत्रमा करिब एक हजार २०० सय मिटर कालोपत्र गर्न बाँकी रहेको अधिकारीले जानकारी दिए । जोमसोमका पुथाङ विमानस्थल माथिबाट नेपाली सेनाको ब्यारेकसम्म करिब ५०० मिटर सडकमा ‘स्टक्चर’ र कालोपत्र गर्न बाँकी रहेको उनले बताए । कम्पनीका प्रतिनिधि अधिकारीले कोबाङ–जोमसोम सडकको सम्पूर्ण काम मङ्सिर मसान्तसम्म सम्पन्न हुने दाबी गरे । 'हामीले जिम्मा लिएपछि कामलाई तीव्रता दिएका हौँ, सोहीअनुसार काम पनि भइरहेको छ', उनले भने, 'अहिले कामदार धान काट्न घर गएकाले काम रोकिएको हो, अब एक हप्ताभित्रै कामले निरन्तरता पाउने छ ।' राष्ट्रिय गौरवको बेनी–जोमसोमअन्तर्गतको चौथो खण्ड कोबाङ–जोमसोम सडक कालोपत्र नहुँदा पर्यटक, स्थानीयका साथै सवारीसाधन र पैदलयात्रीलाई सास्ती हुँदै आएको छ । कोबाङ–जोमसोम सडक पूरा भएमा मुस्ताङ र म्याग्दीको सिमाना घाँसाबाट कागबेनी–मुक्तिनाथसम्मको आवागमन सहज हुनेछ । रासस
एनपीएल : पहिलो संस्करणभन्दा दोब्बर कमाउने रणनीति, फ्लडलाइट र प्याराफिटले तान्नेछ दर्शक
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर १ गतेदेखि आयोजना गर्न लागेको नेपाल प्रिमियम लिग (एनपीएल)ले यतिखेर खेल क्षेत्र तातिरहेको छ । खेलप्रेमीहरुले महाकुम्भका रुपमा लिने एनपीएललाई लिएर खेलाडी र खेलप्रेमीहरु उत्साहित छन् । विशेषगरि पहिलो संस्करणभन्दा थप सेवा सुविधा थप गरेर हुन लागेको एनपीएलमा यस पटकको सबैभन्दा ठूलो उपलब्धि फ्लडलाइट र सुविध सम्पन्न प्याराफिट हो । एनपीएल सुरु हुन अब तीन दिन मात्रै बाँकी रहँदा दिनप्रतिदिन यसको माहोल बढ्दै गएको छ । एनपीएलको दोस्रो संस्करणाक अधिकांश खेलहरु फ्लडलाइटमा हुनेछन् । पानी पर्दा छाता ओडेर समेत खेल हेर्ने दर्शकले यसपटक भने सुविधासम्पन्न र व्यवस्थित प्याराफिटमा बसेर खेलको आनन्द लिनेछन् । एनपीएल दोस्रो संस्करण पहिलो संस्करणभन्दा झन् रोमाञ्चक हुने अपेक्षा क्रिकेट संघको छ । नेपाल क्रिकेट संघका अनुसार नेपाल प्रिमियर लिग यसवर्ष थप व्यवस्थित र आकर्षक रूपमा प्रस्तुत हुनेछ । क्यानले गत वर्षको अनुभवबाट सिक्दै पूर्वाधार विकास र व्यवस्थापकीय पक्षमा ठूला सुधारहरू गरेको दाबी गरेको छ । मुख्य प्रायोजकको रूपमा सिद्धार्थ बैंक जोडिएको यस संस्करणमा दर्शक र खेलाडी दुवैका लागि उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । उनका अनुसार यस वर्ष एनपीएलका लागि महत्वपूर्ण भौतिक पूर्वाधारहरू तयार गरिएका छन् । यसपटक नयाँ स्टेडियम निर्माण भएसँगै फ्लडलाइटको पनि व्यवस्था गरिएको छ । जसले रात्रिकालीन खेल सञ्चालन गर्न सहज हुनेछ । यी परिवर्तनहरूले लिगलाई नयाँ आयाम थपेको उनको भनाइ छ । प्रवक्ता लामाले पहिलो वर्ष सिक्ने क्रममा रहेको र यसवर्ष पूर्ण रूपमा तयार भएको बताएका छन् । व्यवस्थापकीय हिसाबले क्यान अब अझ व्यवस्थित तरिकाले काम गर्न सक्षम रहेको र लिग सञ्चालनका लागि पूर्ण रूपमा तयार रहेको उनको भनाइ छ । ‘खेलाडीका लागि उत्कृष्ट खेल मैदान उपलब्ध गराउन ७/८ महिनादेखि पिच र आउटफिल्डको तयारी गरिएको छ । पिचको अवस्था एकदम राम्रो रहेको र यसले टी-ट्वान्टी क्रिकेटका लागि उत्कृष्ट वातावरण प्रदान गर्ने विश्वास लिएका छौं’, प्रवक्ता लामाले विकासन्युजसँग भने । यस वर्ष विदेशी खेलाडीहरूको हकमा पनि केही परिवर्तनहरू गरिएका छन् र ठूला नामहरू लिगमा सहभागी हुनेछन् । यसले खेलको स्तर र प्रतिस्पर्धालाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ । क्यानले खेल तालिका र टाइमसिट यसअघि नै सार्वजनिक गरिसकेको छ । जसमा फ्लडलाइटमा खेलिने र नखेलिने म्याचहरूको विवरण समावेश छ । यस वर्षको लिग असाध्यै राम्रो र रोमाञ्चक हुने, दर्शकले पूर्ण मनोरञ्जन लिन पाउने क्यानको बुझाइ छ । टिकट बिक्रीका लागि खल्ती एपसँग सहकार्य गरिएको छ । दर्शकले खल्ती एपमार्फत टिकट खरिद गर्न सक्नेछन् । क्यानले बिहीबार नै टिकट शुल्कको विवरण सार्वजनिक गरिसकेको छ । टिकटमा प्रिमियम र जनरल गरी दुई प्रकारका श्रेणी रहनेछन् । यसका साथै, १५ हजार रुपैयाँको सिजनल पास उपलब्ध हुनेछ । जसले सम्पूर्ण खेल हेर्न पाउने सुविधा प्रदान गर्नेछ । ओपनिङ, प्लेअफ र फाइनल खेलका लागि भने फरक शुल्क तोकिएको छ । जसमा पहिलो ६ दिनको खेलको लागि टिकट बिक्री खुल्ला गरिएको छ । पहिलो दिन र शनिवारका लागि साधारण प्याराफिटको टिकट ५ सय र भीआईपीको १५ सय तोकिएको छ । त्यसबाहेकका अन्य लिग चरणका खेलका लागि साधारणतर्फ ५०० र भीआइपीतर्फ १ हजार कायम गरिएको छ । प्लेअफ र फाइनलका लागि साधारणतर्फ १ हजार र भीआईपीतर्फ २ हजार तोकिएको छ । क्यानले गत वर्ष सामान्यतर्फ तीन सय र भीआइपीतर्फ सात सय रुपैयाँ टिकट शुल्क निर्धारण गरेको थियो । त्यस्तै प्लेअफका खेल हेर्ने दर्शकहरूले सामान्यतर्फ पाँच सय र भीआइपीतर्फ सात सयको टिकट शुल्क तोकेको थियो । गत वर्ष फाइनल खेलका लागि भने सामान्यतर्फ पाँच सय र भिआइपीतर्फ एक हजार रुपैयाँ टिकट शुल्क तोकिएको थियो । सिजनल पासको हकमा २० प्रतिशत छुटसहित सामान्यतर्फ चार हजार चार सय ८० र भीआइपीतर्फ आठ हजार दुई सय ४० मूल्य निर्धारण गरिएको थियो । यस वर्ष टिकट शुल्क पनि लगभग दोब्बर नै तोकिएको छ । क्यानले टिकट शुल्कबाट नै गत वर्षको तुलनामा दोब्बर नाफा गर्ने रणनीति बनाएको छ । नयाँ बनेको त्रिवि क्रिकेट मैदानमा १३ हजार दर्शक अटाउन सक्ने क्षमता रहेको छ । क्यानका अनुसार करिब ३५ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ भने विज्ञापनबाट मात्रै करिब १५ करोड ४० लाख रुपैयाँ आम्दानी हुने जनाएको छ । त्यस्तै ८ वटा फ्रेन्चाइज टीमबाट ९ करोड रुपैयाँ कमाउँदा ओटीटी प्लेटफर्मबाट ५ करोड ३० लाख आम्दानी हुने अनुमान गरिएको छ। एनपीएलको ओटीटी प्लेटफर्मको अधिकार डिश होम गो एपले पाएको छ । त्यहाँबाट हुने आम्दानीमध्ये ७१ प्रतिशत क्यानले पाउने छ । रंगशालामा टिकट बिक्रिबाट करिब ८ देखि १२ करोड रुपैयाँसम्म उठ्ने अनुमान क्यानले गरेको छ। त्यस्तै क्यानका अनुसार पहिलो संस्करणको एनपीएलमा २७ करोड ६९ लाख ६४ हजर ८ सय १८ रुपैयाँ आम्दानी भएको थियो । जसमा २० करोड १५ लाख ७३ हजार ५ सय ५९ रुपैयाँ खर्च भएको थियो भने पहिलो संस्करणमा ७ करोड ५३ लाख ९१ लाख नाफा भएको थियो । यस वर्षको नेपाल प्रिमियर लिगले दर्शक र क्रिकेटप्रेमीहरूलाई एउटा नयाँ र स्मरणीय अनुभव प्रदान गर्ने तयारीमा क्यान जुटेको छ । पहिलो संस्करण जस्तै यो संस्करणमा पनि ८ टीमबीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ । जसमा जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, विराटनगर किंग्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स रहेका छन् । पहिलो संस्करणमा सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि हात पारेको थियो भने यस संस्करणमा पनि उपाधि भेट्टाउने लक्ष्यकासाथ अधिकांश टीमले विश्वप्रसिद्ध खेलाडीहरू अनुबन्ध गरेका छन् । गत वर्ष विजेता टिम जनकपुर बोल्ट्सले १ करोड १० लाख, उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पुरस्कार पाएको थियो । ८ टीममा कुन खेलाडी कहाँ ? जनकपुर बोल्ट्स पहिलो संस्करणमा प्रशिक्षक पुबुदु दासानायकेको नेतृत्वमा उपाधि जितेको जनकपुरले यस संस्करणमा भने मुख्य प्रशिक्षकदेखि लोगोसम्म परिवर्तन गरेको छ । दोस्रो संस्करणका लागि बोल्ट्सले वेस्ट इन्डिजका शिवनारायण चन्द्रपललाई मुख्य प्रशिक्षक बनाएको छ । जसमा जनकपुरका मार्की आसिफ शेख र कप्तान अनिलकुमार शाह रहेका छन् । पहिलो संस्करणमा ९ खेलाडी रहेका थिए । यसपटक पनि यी नै खेलाडी टीम छन् । जनकपुरले आसिफ, कप्तान अनिल, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशाकार र तुल बहादुर थापालाई दोहोर्याएको हो । यसैगरी यसपटक न्युजिल्यान्डका जिम्मी निसम टीममा रहने छैनन् । उनी यसपटक पोखरा गोर्खाजमा गएका छन् । जनकपुरले इमरान ताहिर, वायने पार्नेल र मिलन्थालाई अनुबन्ध गरिसकेको क्यानले जनाएको छ । अझै केही विदेशी खेलाडी घोषणा हुन बाँकी रहेका छन् । सुदूरपश्चिम रोयल्स दीपेन्द्र सिंह ऐरी सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी हुन् । टीममा विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई छन् । यस्तै, दीपक बोहरा, हेमन्त धामी, मिलन बोहरा, टेकबहादुर रावत र दीपेन्द्र थापा अनुबन्ध भएका छन् । सुदूरपश्चिमले विदेशी खेलाडीमा अस्ट्रेलियाका जोस ब्राउन, क्रिस लेन र स्कट कुग्गेलिनलाई अनुबन्ध गरेको छ । पहिलो संस्करणमा जनकपुर बोल्ट्स विजेता बन्दा सुदूरपश्चिम रोयल्सले उपविजेतामा चित्त बुझाएको थियो । कर्णाली याक्स कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामी हुन् । टीममा गुलशन कुमार झा, नन्दन यादव, अर्जुन घर्ती, दीपेन्द्र रावत, उनिश विक्रमसिंह ठकुरी र विपिन शर्मा छन् । यसैगरी विदेशी खेलाडीमा अष्ट्रेलियाका विल बोसिस्टो र नेदरल्याण्ड्सका म्याक्स ओडाउड छन् । काठमाडौं गोर्खाज काठमाडौं गोर्खाजका लागि करण केसी मार्की खेलाडी हुन् । टीमले भीम सार्की, दीपेश कँडेल, शाहब आलम, प्रतीक श्रेष्ठ र राशिद खानलाई दोहोर्याएको छ । यस्तै उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलम टीम छन् । गोर्खाजले विदेशी खेलाडीको कोटा पूरा गर्दै दक्षिण अफ्रिकाका रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरास्मस, अमेरिकी ब्याटर मिलिन्द कुमार, इंग्ल्याण्डका बेन चाल्र्सवर्थ, अमेरिकी सन्नी पटेल र जोहन सिम्पसनलाई अनुबन्ध गरेको छ । लुम्बिनी लायन्स लुम्बिनी लायन्स राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा छ । लुम्बिनी लायन्सले पहिलो संस्करणमा सोचेजस्तो प्रदर्शन गर्न नसके पनि पौडेलको व्यक्तिगत खेल भने उल्लेखनीय थियो । लुम्बिनीले अफगानिस्तानका गुलबदीन नैब, इटालीका बलर थोमस ड्राका र अष्ट्रेलियाका डी’आर्सी सर्टलाई अनुबन्ध गरेको छ । यसमा पौडेलसहित सन्दीप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिषेक गौतम र तिलक भण्डारीलाई दोहोर्याएको छ । यस्तै दिलीप नाथ, दुर्गेश गुप्ता, शेर मल्ल, आदिल खान र विशाल पटेल टीममा छन् । चितवन राइनोज चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन् । जसमा रिजन ढकाल, दीपक बोहरा, अमरसिंह रौतेला, गौतम केसी र कमलसिंह ऐरीलाई दोहोर्याएको छ । यस्तै अर्जुन साउद, देव खनाल, विपिन रावल, रञ्जित कुमार र विपिन आचार्य टीममा छन् । चितवनले इंग्ल्यान्डका डेविड मलान, रवी बोपारा, सेफ अली जैब र पाकिस्तानका सोहेल तन्विरलाई अनुबन्ध गरेको छ । विराटनगर किंग्स विराटनगर किंग्सको नेतृत्व सन्दीप लामिछानेले गर्नेछन् । जसमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस, न्युजिल्यान्डका मार्टिन गुप्टिल, स्कटल्यान्डका जर्ज मन्सी र अष्ट्रेलियाका साम हिजलेटलाई अनुबन्ध गरेको छ । टीममा प्रतिश जिसी, लोकेश बम, बसीर अहमद, नरेन भट्ट र सुवास भण्डारी छन् । विराटनगरमा नेपाली राष्ट्रिय टोलीसमेत सम्हालिसकेका पहिलो सिजन जनकपुरलाई जिताएका पुबुदु दासानायके मुख्य प्रशिक्षक छन् । पोखरा एभेन्जर्स पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल हुन् । टीममा आकाश चन्द, त्रिर्थराज दास, विपिन खत्री, किरण ठगुन्ना, दिनेश खरेल र सागर ढकाल छन् । यस्तै, अर्जुन कुमाल, अभिषेक तिवारी, सन्दीप खत्री क्षेत्री र कृष्ण पौडेल छन् । यसमा विदेशी खेलाडीका रूपमा इंग्ल्यान्डका विकेटकिपर ब्याटर एडम रोसिङटन र न्युजिल्यान्डका जिम्मी निसम टीममा अनुबन्ध गरिएको छ । क्यानका अनुसार कुल ३२ खेलमा २३ खेल फ्लडलाइटमा हुनेछन् । दिउसोको समयमा ९ खेल मात्रै हुनेछन् । मंसिर १ गते हुने उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच अपरान्ह ४ बजे सुरु हुनेछ । दिनमा एउटा खेल खेलाउँदा फ्लडलाइटमा गर्ने र दुई खेल हुँदा मात्रै एक खेल दिनको पौने १२ बजे सुरु गर्ने तालिका क्यानले सार्वजनिक गरेको छ । मंसिर २ गते चितवन राइनोज र कर्णाली याक्सको खेल पौने १२ बजे हुनेछ भने यो खेल सकिएपछि विराटनगर किंग्स र पोखरा एभेन्जर्स दिउँसो ४ बजे आमनेसामने हुने क्यानले जनाएको छ । मंसिर ३, ४ र ५ गते एक/एक खेल हुनेछन् । यी तीनै दिनका खेल दिउँसो ४ बजे सुरु गर्ने क्यानको तयारी छ । मंसिर ६ र ८ गते दुई दुई खेल हुनेछन् । जसमा मंसिर ६ गतेको पहिलो खेल सवा ११ बजे र ८ गतेको पहिलो खेल पौने १२ बजे सुरु हुनेछ । ६ गतेको दोस्रो खेलमा काठमाडौं र विराटनगरले साढे ३ बजे खेल्दा ८ गतेको दोस्रो खेलमा सुदूरपश्चिम र कर्णाली दिउँसो ४ बजेदेखि भिड्नेछन् । मंसिर ९ र १० गते एक एक खेल हुने र दुवैदिन ४ बजेबाट खेल सुरु हुनेछ । मंसिर ११, १२, १३, १६, १८ र २० गते दैनिक दुई खेलको तालिका छ । जसमा पहिलो खेल सवा ११ बजे र पौने १२ बजे तथा दोस्रो खेल साढे ३ बजे र ४ बजे हुनेछन् । यस्तै, मंसिर १४, १७, १९ र २१ गते दैनिक एक खेल फ्लडलाइटमा गराउने तयारी छ । लिगचरणपछिका सबै खेल फ्लडलाइटमा हुनेछन् । मंसिर ३२ गते पहिलो क्वालिफायर, २४ गते इलिमिनेटर र २५ गते दोस्रो क्वालिफायरका खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछन । मंसिर २७ गते शनिबार एनपीएलको फाइनल खेल हुनेछ । जुन खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ ।
नेशनल लाइफको महाविपत्ति कोषमा ६८ करोड १३ लाख रुपैयाँ, यस्ता छन् अन्य सूचक
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले पहिलो त्रैमासमा १४ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवको यही अवधिमा १३ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा १.८१ प्रतिशतले बढेको छ । पहिलो तीन महिनामा कम्पनीको महाविपत्ति कोषमा ६८ करोड १३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा ६६ करोड ७२ लाख रुपैयाँ थियो । कम्पनीको रिटेन्ड अर्निङमा ६३ करोड ८० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ५१ करोड १ लाख रुपैयाँ थियो । क्रम्पनीको अन्य इक्विटीमा ३७ करोड ८८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा ४२ करोड १४ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषमा ९३ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ७५ अर्ब ७ करोड ४१ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार २४.७२ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा कम्पनीले ५ अर्ब ७२ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ४ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १६.३९ प्रतिशतले बढेको छ । त्यस्तै असोज मसान्तसम्ममा कम्पनीले ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ४ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको खुद बीमा शुल्क १३.९८ प्रतिशतले बढेको छ । कम्पनीको शेयर पुँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी १०.३० रुपैयाँ, पीई रेसियो ५६.११ गुणा र प्रतिशेयर नेटवर्थ १३१.५४ रुपैयाँ रहेको छ ।
नाफामा गिरावटपछि बाहिरिँदै बैंकका लगानीकर्ता
बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) नेपाल राष्ट्र बैंकका हरेक पहलकदमीको पछाडि सदैव दृढता पूर्वक उभिएको छ । राष्ट्रिय अर्थतन्त्रमा छाएको मन्दी, अधिक एवं न्यून तरलता अभावको दुष्चक्रबाट बाहिर निकाली तीव्र आर्थिक एवं बैंकिङ गतिविधिका साथ अर्थतन्त्रलाई लयमा फर्काउने र दिगो, फराकिलो एवं उच्च आर्थिक वृद्धिको यात्रा पहिल्याउनका लागि केन्द्रीय बैंकले लिइरहेको नीतिगत पहल र सुधार कार्यहरुलाई सिबिफिनले उच्च प्रशंसा गर्दै परिणाममुखी कार्यान्वयनका लागि निकट सहकार्य गर्दै आएको विषय जगजाहेर नै छ । दूरगामी महत्व बोकेका नीतिहरूले समष्टिगत आर्थिक वातावरणलाई स्थिर बनाउन, विश्वास बढाउन र बैंकिङ व्यवसायमा स्वस्थ प्रतिस्पर्धा कायम राख्न महत्वपूर्ण भूमिका खेलेका छन् र खेल्ने छन् भन्नेमा सिबिफिन पूर्ण विश्वस्त छ । अहिले मुद्रास्फीति नियन्त्रणमा छ, विदेशी मुद्रा सञ्चिति १६ महिनाभन्दा बढीको वस्तु र सेवाहरूको आयात धान्न पर्याप्त छ । तथापि, रोजगारी अवसर सृजना हुन नसक्दा विदेशिने क्रम नरोकिएको, समुचित नीति तथा वातावरण बन्न नसक्दा वा नीतिमा स्थिरता कायम हुन नसक्दा नवप्रवर्तन र स्वउद्यमशिलताको विकास एवं विस्तार हुन नसकेको, आन्तरिक उत्पादन, उपभोग र निर्यात घट्दै गएको र परिणामतः आर्थिक एवं बैंकिङ गतिविधिहरू समेत क्रमशः सुस्ताउँदै जाँदा राजस्व घट्ने र अन्तत्तोगत्वा समग्र अर्थतन्त्रमा नै प्रतिकूल असर परेको विषयमा हामी सबै जिम्मेवार निकाय र पक्षहरुले गम्भीर रूरुपमा चिन्तन मनन गर्न अत्यावश्यक रहेको छ । सहभागितामुलक छलफल, आवश्यकता र औचित्यका आधारमा लिइने समयानुकूल नीति र नीतिको प्रभावकारी कार्यान्वयनमा संयुक्त सहकार्यले मात्र हाम्रो हित र समृद्धिको यात्रालाई अर्थपूर्ण बनाउँछ । बैंकिङ क्षेत्रका वर्तमान चुनौतीहरू अहिले बैंकिङ क्षेत्र इतिहासकै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । अर्थतन्त्रको बाह्य अवस्था सन्तोषजनक रहेको भएतापनि आन्तरिक अर्थतन्त्र कमजोर नै देखिएको छ । आम लगानीकर्ता, उद्यमी/व्यवसायीहरूमा निराशा छाएको कारण न्यूनतम् ब्याजदरमा पर्याप्त तरलता उपलब्ध हुँदा समेत कर्जा विस्तार हुन नसक्दा आर्थिक एवं बैंकिङ गतिविधिहरू सुस्ताएको अवस्था छ । बैंक तथा वित्तीय संस्थाहरूको मुनाफामा अनपेक्षित रुपमा गिरावट आइरहँदा बैंकिङ क्षेत्रका लगानीकर्ताहरु सुरक्षित लगानीका क्षेत्र खोज्दै क्रमशः बाहिरिने कोशिश भइरहेको अनुभूत भइरहेको छ । लागत खर्चमा भएको वृद्धि, मुनाफामा आएको संकुचन, निष्क्रिय कर्जामा वृद्धि, गैर बैंकिङ सम्पत्तिमा वृद्धिका साथै गैर-बैंकिङ सम्पत्तिको बेचविखनमा सुस्तता, दक्ष जनशक्तिको पलायन लगायतका कारणले समस्या थपिँदै गएको छ । धेरै बैंकहरू अहिले गैर-बैंकिङ सम्पत्तिको बोझले थिचिएका छन् । न बिक्री हुने उचित नीति छ न वातावरण, न गैर बैंकिङ सम्पत्तिको उपयोग गर्न पाउने अवस्था । मुख्यतया तरलताको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरू अहिले सम्पत्ति व्यवस्थापनमा बढि केन्द्रित हुनु परेको अत्यन्तै बिडम्वनापूर्ण अवस्थाबाट गुज्रनुपरेको छ । नेपाल राष्ट्र बैंकको सुझबुझपूर्ण सहयोगमा हामीले पहिले र अहिले पनि विभिन्न चुनौतिहरुलाई डटेर सामना गरेका गर्दै आएका छौं- चाहे त्यो लामो आन्तरिक द्वन्द्व होस या भूकम्प होस्, नाकाबन्दी, वा कोभिड होस् वा हालैका विश्वव्यापी ब्यापार श्रृंखलामा भइरहेको अवरोध नै किन नहोस् । बारम्बारको नीतिगत परिवर्तन र राजनीतिक अस्थिरता वा परिवर्तनहरूको बाबजुद पनि बैंकिङ क्षेत्रले तुलनात्मक रूपमा सन्तोषजनक प्रदर्शन गर्दै आफूलाई समयसापेक्ष बनाउँदै आएको भएपनि विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै गर्दा बैंकिङ क्षेत्रले पनि गम्भीर आत्मसमीक्षासहित सुधारको मार्ग अवलम्बन गर्नुपर्ने देखिएको छ । गैर-बैंकयोग्य सम्पत्तिलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्न अधिकारप्राप्त संयन्त्र वा नयाँ ढाँचा तयार गर्न अत्यन्तै आवश्यक देखिएको छ । व्यावहारिक र नवप्रवर्तनशील दृष्टिकोण- जस्तै नीतिगत समायोजन, सम्पत्ति पुनर्निर्माण मोडेल, वा विशेष प्रयोजनका निकायको स्थापनाले ऋण प्रवाहलाई पुनर्जीवित गर्न र वित्तीय स्थिरता पुनर्स्थापित गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास छ । सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापनाका लागि सिबिफिन तथा बैंक तथा वित्तीय संस्थाहरू नेपाल राष्ट्र बैंक र नेपाल सरकारसँग आवश्यक सहकार्य गर्न कटिबद्ध छन् । त्यसका अतिरिक्त हाल कायम रहेको कर्जा नोक्सानी वर्गीकरण प्रणालीलाई पनि पुनरावलोकन गर्नु पर्ने आवश्यकता छ । अहिले कर्जाहरु एक वर्षमा नै खराब श्रेणीमा वर्गीकृत हुन्छन्, तर विद्यमान व्यापार चक्रमा वास्तविक ऋणीहरूले यति छोटो अवधिमा आफ्नो कारोबार पुनर्जीवित गर्न सक्दैनन् । मित्र राष्ट्र भारत तथा अन्य अन्तर्राष्ट्रिय जगतमा अपनाइएका अभ्यासहरूलाई सन्दर्भ लिएर नीतिलाई पुनर्विचार गर्न अनुरोध छ । सक्षम ऋणीहरूलाई निश्चित समय सीमाभित्र पुनरुत्थानको अवसर प्रदान गर्दै, विलफूल डिफल्टरहरूमाथि कडा कारबाही गर्ने व्यवस्था गरिनु आवश्यक छ । त्यसैगरी, ऋण तथा गैर-बैंकयोग्य सम्पत्तिहरूका लागि ५ प्रतिशतभन्दा बढी नोक्सानी व्यवस्थामा कर छुट उपलब्ध नहुने नीतिमा परिवर्तन गर्न अत्यावश्यक छ, किनकि हालको परिस्थितिमा मूख्यतः समष्टिगत आर्थिक अवस्थाका कारणले बैंक तथा वित्तीय संस्थाहरूले कर्जा नोक्सानीको व्यवस्था गर्नुपरेको प्रष्ट छ । बैंकहरूको निरन्तर बढ्दो सञ्चालन लागत उन्नत डिजिटाइजेशन, फिनटेकको उपयोग तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत घटाउन सकिन्छ । डिजिटाइजेशनले द्रुत रूपमा परिवर्तन गरिराखेको व्यावसायिक वातावरणलाई ध्यानमा राख्दै बैंकको भौतिक उपस्थितिको आवश्यकतालाई पुनरावलोकन गर्नु पर्ने आजको टड्कारो आवश्यकता छ । पुँजी पर्याप्तता र लगानी सम्बन्धी नीति पुँजी पर्याप्तता सम्बन्धी नीति पनि बदलिँदो आर्थिक वास्तविकतासँगै विकसित हुन आवश्यक छ । नाफा र सम्पत्ति गुणस्तरमा अनिश्चितता बढिरहेको वर्तमान अवस्थालाई हेर्दा बैंकहरूलाई पुर्न पुँजीकरणका विकल्पहरूको खाँचो छ । यसैले, नीति निर्माताहरूलाई राइट इस्यु तथा मिश्रित वित्तीय उपकरण लगायतका वैकल्पिक पुँजी उपकरणहरूको लागि बाटो खोल्न आग्रह छ । यसले बैंकिङ क्षेत्रको पुँजी आधारलाई सुदृढ बनाउन मद्दत गर्नेछ । अन्तर्राष्ट्रिय लगानीकर्ता र गैर आवासीय नेपालीहरूलाई नेपालका बैंक तथा वित्तीय संस्थाहरूको इक्विटीमा लगानी गर्न पाउने नीतिसहित प्रोत्साहित गर्न आवश्यक छ । यसले बैंकिङ क्षेत्रमा दीर्घकालीन र दिगो लगानीको बाटो खोल्नुका साथै वैदेशिक लगानी भित्र्याउनुमा ठूलो टेवा पुग्नेछ । सेवामा आधारित शुल्कको प्रवर्द्धन आवश्यक परम्परागत रूपमा बैंकहरूको आम्दानीको प्रमुख स्रोत खुद ब्याज आम्दानी रहेको छ । तर, आजको परिवर्तनशील वित्तीय परिवेशमा बैंकहरूले आफ्ना आम्दानीका मोडेलहरू विविधीकरण गर्नु पर्ने आवश्यकता छ । सेवा शुल्कमा आधारित आम्दानीलाई प्रबर्द्धन गरिनुपर्छ । यसले बैंकहरूले प्रदान गर्ने सेवाको आधारमा शुल्क लिन पाउने नीतिले सेवालाई अझ परिष्कृत बनाउन र गुणस्तर बढाउन अझ मद्दत पुग्ने विश्वास छ । तसर्थ, नवप्रवर्तन र दक्षता प्रबर्द्धन गर्न अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासका आधारमा विद्यमान सेवा शुल्कसम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्न नेपाल राष्ट्र बैंकसमक्ष विनम्र अनुरोध छ । त्यसैगरी, निर्देशनात्मक कर्जा नीतिहरूमा पनि पुनरावलोकनको आवश्यकता रहेको छ । विशेष गरी तोकिएका क्षेत्रहरूमा हालसम्म प्रदान गरिएका कर्जाको अवस्था, उपयोगिता र प्राप्त परिणामलाई दृष्टिगत गर्दै यस नीतिमा समेत व्यापक सुधार गरिनुपर्दछ । लचिलो र जोखिम-समायोजित नीतिले समावेशीकरणका लक्ष्यहरू पूरा गर्दै बैंकिङ प्रणालीको दीगोपन सुनिश्चित गर्न मद्दत गर्नेछ । यस सम्बन्धमा ठोस पहल लिन राष्ट्र बैंक समक्ष जोडदार अनुरोध छ । सुशासन र जिम्मेवार बैंकिङप्रति प्रतिबद्धता नेपालका बैंक तथा वित्तीय संस्थाहरू ग्राहक/उपभोक्ता संरक्षण, निष्पक्ष एवं तटस्थ अभ्यास र विवेकपूर्ण बैंकिङप्रति गहिरो रूपमा प्रतिबद्ध छन् । त्यसैगरी, हामी उच्च स्तरको संस्थागत सुशासन, वित्तीय पारदर्शिता र उत्तरदायी ऋण प्रवाहप्रति समेत समान रूपमा समर्पित छौं- जसको उद्देश्य वास्तविक अर्थतन्त्रको प्रबर्द्धन गर्नु हो । हाम्रो ध्यान निरन्तर रूपमा वित्तीय समावेशीतर्फ केन्द्रित छ । विशेष गरी स्थानीय स्तरका घरेलु, साना तथा मझौला उद्यमहरूलाई रोजगारी सृजना र विकास संवाहकका रुपमा सशक्त बनाउन बैंकहरू केन्द्रित छन् । स्थानीय तहमा रहेका लघु-उद्यमहरूलाई सशक्त बनाउनका लागि वित्तीय समावेशीकरणसहित नवप्रवर्तन तथा स्वउद्यमशीलताको विकास, रोजगारीको सृजना, उत्पादकत्व अभिवृद्धि आदि कार्यमा बैंकहरु दृढताका साथ अगाडि बढेका छन् । बैंकिङ व्यवसायको ध्यान वास्तविक अर्थतन्त्रको निर्माणमा हुनुपर्ने विषयमा बैंक तथा वित्तीय संस्था स्पष्ट छन् । मुलुकले अब खाद्य सम्प्रभुतामा अत्यधिक केन्द्रीकृत भइ कृषि क्षेत्रको विकास र व्यवसायिकरणमा बैंकिङ क्षेत्रको लगानी विस्तार गर्नु अति आवश्यक छ । दिगो बैंकिङ प्रणालीले वातावरणीय अखण्डता, सामाजिक समानता, सुशासन, सामाजिक कल्याणका नैतिक मान्यतामा सम्झौता नगरी दीर्घकालीन आर्थिक मूल्य सिर्जना गर्छ हाम्रो मार्गदर्शक सिद्धान्त स्पष्ट छः ‘नकारात्मक प्रभाव होइन, नकारात्मक छाप होइन ।’ नवप्रवर्तन, फिनटेक, र भविष्यको तयारी विश्व एआई-केन्द्रित बैंकिङ युगतर्फ रूपान्तरण भइरहेको वर्तमान अवस्थामा प्रतिस्पर्धात्मक क्षमताको मुख्य साँचो नवप्रवर्तन हो । कृत्रिम बौद्धिकता, डेटा विश्लेषण र फिनटेक समाधानहरूले बैंकिङ क्षेत्रलाई रूपान्तरण गर्ने गेम-चेञ्जरका रूपमा काम गरिरहेका छन्, जसका लागि पूर्वाधार र मानव पूँजीमा ठूलो लगानी आवश्यक पर्छ । यस सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरूलाई यस्ता प्रविधिमा आत्मविश्वासका साथ लगानी गर्न प्रोत्साहित गर्ने नीतिगत प्रोत्साहन र सहज वातावरण सिर्जना गर्ने ढाँचा अपनाउन नेपाल राष्ट्र बैंक समक्ष आग्रह छ । यसले नेपालको बैंकिङ प्रणालीलाई अन्तर्राष्ट्रिय सान्दर्भिकता र प्रतिस्पर्धात्मकतामा टिकाइ राख्न मद्दत गर्नेछ । बैंकिङ र व्यवसायीक क्षेत्रबीचको सम्बन्ध र सहकार्यको आवश्यकता: इतिहासले भन्छ, उद्योग-व्यवसायको विकास बिना बैंकिङ क्षेत्रको पनि विकास एवं फैलावट सम्भव छैन, न त बैंकिङ क्षेत्रको विकासबिना उद्योग-व्यवसायको विकास र फैलावट संभव देखिन्छ । उद्योग-व्यापार तथा बैंकिङ क्षेत्रको विकास एवं विस्तार समानान्तर रेखामा अगाडि बढेका हुन्छन् । यसबाट प्रष्ट हुन्छ कि उद्योगी-व्यवसायी र बैंकबीचको सम्बन्ध अन्योन्याश्रित, पुरानो एवं प्रगाढ रहँदै आएको छ र रहनु आवश्यक छ । रोजगारी सिर्जना गर्ने, उद्योग प्रबर्द्धन गर्ने, र नव प्रवर्तनलाई प्रोत्साहन दिई नेपालको अर्थतन्त्रलाई अघि बढाउन निजी क्षेत्रको उल्लेखनीय भूमिका छ । विश्वभर नै वित्तीय प्रणाली उद्यमशीलताको मुख्य प्रवाह रहँदै आएको छ । कुनै पनि उद्योग, कारखाना, स्टार्टअप वा व्यवसाय वित्तीय पहुँचबिना फस्टाउन सक्दैन । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले निरन्तर रूपमा राष्ट्रको कुल गार्हस्थ उत्पादनको ९० प्रतिशतभन्दा बढी हिस्सालाई वित्त पोषण गर्दै आएका छन् । यो तथ्यांक आफैंमा अद्वितीय छ, जसले देखाउँछ कि हाम्रो अर्थतन्त्रको मेरुदण्ड कति गहिरो रूपमा बैंकिङ प्रणालीसँग जोडिएको छ । तर, कहिलेकाहीँ निजी क्षेत्रको योगदानको चर्चा हुँदा बैंक र वित्तीय संस्थाहरूको भूमिकालाई अनदेखा गरिएको महसुस हुन्छ । उद्यम सञ्चालन गर्ने पुँजी, रोजगारी कायम राख्ने स्रोत र कर राजस्व सृजना गर्ने आधार सबै वित्तीय क्षेत्रबाटै उत्पन्न हुन्छन् । वित्तीय क्षेत्रको यस्तो अहंम भूमिकालाई अनदेखा गर्नु भनेको हाम्रो अर्थतन्त्रको मूल आधारलाई नै नजरअन्दाज गर्नु हो । निजी क्षेत्रका प्रतिष्ठित संस्थाहरूलाई यस साझेदारीलाई आत्मसाथ गरी उचित मूल्याङ्कन गर्न आह्वान छ । आउनुहोस्, हामी मिलेर व्यवसाय, उद्यमशीलता र वित्त क्षेत्रलाई सुदृढ बनाउने नीतिहरूका लागि हातेमालो गरौं । किनभने जब बैंकहरू दर्बिलो बन्छन्, व्यवसायहरूको विकास र फैलावट अवश्यम्भावी हुन्छ, र जब व्यावसायिक गतिविधि विस्तारित हुँदै जान्छन्, बैंकिङ सेवा अझ स्तरीय र सुलभ बन्दै जानेछन् । बैंकिङ र व्यावसायिक क्षेत्रबीचको पारस्परिक सम्बन्ध र सहकार्यले नै नेपाल समृद्ध नेपालको आधार तयार हुनेछ । हाल बैंकहरुले व्यवसायको आवश्यकताको ७०/८० प्रतिशत लगानी गर्दछन् । फेरी व्यवसायको प्रडक्ट कन्जुमरसम्म सर्व सुलभ बनाउन बैंक तथा वित्तीय संस्थाहरूको रिटेल तथा कन्जुमर प्रडक्टको अर्को श्रृङ्खलाले सम्भव बनाएको छ । यस्तो अवस्थामा समेत बैंक तथा वित्तीय संस्थाहरूको योगदानको यथोचित कदर हुन नसक्नु चिन्ताको विषय बनेको छ । अनुपालन र विश्वव्यापी स्थिति नेपाल ग्रे लिस्टमा पर्दा सबैका लागि चिन्ताको विषय बनेको छ । सिबिफिन र आबद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरू निकट सहकार्यमा मुलुकलाई ग्रे लिष्टबाट बाहिर निकाल्न नेपाल राष्ट्र बैंक तथा सम्बन्धित निकायहरूले चाल्ने हरेक पहलकदमीमा साथ, सहयोग र निकट सहकार्य गर्न हरदम तत्पर छन्, ताकि अन्तर्राष्ट्रिय मनी लन्डरिङ रोकथाम र आतङ्कवादी वित्त पोषण विरुद्धका मापदण्डको पूर्ण रूपमा अनुपालन गर्न नेपाल सक्षम होस् र यथासम्भव चाँडो ग्रे लिस्टबाट बाहिर निस्कन सकोस् । यस सम्बन्धमा सिबिफिन सधै नेपाल सरकार र नेपाल राष्ट्र बैंक सँगसँगै हुनेछ । अर्थतन्त्रमा समस्या एवं चुनौतिहरू देखिएको भएतापनि समाधान नै गर्न नसक्ने गरी बिग्रिसकेको छैन । तथापि सो को स्पष्ट पहिचानसहित दीर्घकालीन समाधान गर्नका लागि नेपाल सरकार र नेपाल राष्ट्र बैंक सक्षम छन् । हामी हाम्रै बलबुतामा उत्पन्न समस्या एवं चुनौतिहरू न्यूनीकरण गर्ने सामर्थ्य राख्छौ र सक्छौं तर त्यसका लागि जिम्मेवार निकायहरू र सरोकारावाला हामी सम्पूर्ण पक्षहरूको बीचमा आपसी विश्वास तथा निरन्तर सहकार्य र परस्पर सहयोगको हातेमालो जरुरी छ । मौजुदा नीति तथा वातावरणलाई अझ सहज एवं अनुकूल बनाउँदै समग्र निजी क्षेत्रलाई साथमा लिएर मुलुकलाई लगानी हबको रुपमा स्थापित गर्न र दिगो एवं फराकिलो आर्थिक एवं बैंकिङ विकाससहित आर्थिक समृद्धिको नविन यात्रा प्रारम्भ गर्ने कार्यमा ऐक्यबद्ध भएर अगाडि बढ्न ढिला गर्नु हुँदैन यावत चुनौतीहरूलाई चिर्दै राष्ट्र र जनताको सुनौलो भविष्य निर्माण गर्ने अभियानमा समग्र बैंक तथा वित्तीय संस्थाहरू सकारात्मक परिवर्तनको संवाहक बनी सोही बमोजिमको भूमिका निर्वाह गर्न प्रतिबद्धता जनाउँछन् । (पौडेल बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)का अध्यक्ष हुन् । उनले छैठौं वार्षिक साधारण सभामा राखेको विचार)
‘परान’ मा थपिँदै एकपछि अर्को कर्पोरेट शो
काठमाडौं : नेपाली कथानक चलचित्र ‘परान’ ले हलहलमा दर्शकको मन जितिरहेको छ । दुई साता बितिसक्दा समेत चलचित्रमा दर्शकको भीड र उत्साह लगातार बढ्दै गइरहेको छ । रिलिज भएको पहिलो तीन दिनपछि मात्र गति समातेको थियो । चलचित्रप्रति बढ्दो आकर्षणसँगै विभिन्न कर्पोरेट हाउसहरूले पनि ‘परान’ प्रति समर्थन जनाउन थालेका छन् । यही क्रममा किरण शुज म्यानुफ्याक्चर कम्पनी अन्तर्गतको गोल्डस्टार शुज परिवारले चाबहिलस्थित केएल टावरको एफक्यूव सिनेमा हलमा आफ्ना कर्मचारीहरूको संयुक्त उपस्थितिमा विशेष कर्पोरेट शो आयोजना गरी चलचित्रको सामूहिक प्रदर्शन गरेको छ। उक्त अवशरमा एफक्यूव सिनेमा परिवारले परान चलचित्रका कलाकारहरुलाई फूलमाला र शंखध्वनिद्वारा स्वागत गरेको थियो भने कम्पनीका तर्फबाट गोल्डस्टार शुज परिवारले कलाकारहरूलाई उपहार स्वरूप गोल्डस्टार शुज प्रदान गरेका थिए ।
एलआईसी नेपालको नाफा १० करोड ८३ लाख रुपैयाँ, यस्ता छन् अन्य सूचक
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमास (साउन–असोज) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार तीन महिनाको अवधिमा कम्पनीले १० करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ७ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा ३७.४७ प्रतिशतले बढेको छ । पहिलो त्रैमासमा कम्पनीले ४ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो यही अवधिसम्म कम्पनीले ४ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ८.९६ प्रतिशतले बढेको छ । त्यस्तै समिक्षा अवधिमा कम्पनीले ४ अर्ब ९६ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९.११ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ४ अर्ब ५४ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको महाविपत्ति कोषमा ६९ करोड १६ लाख रुपैयाँ रहेको छ । अघिलो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा ६८ करोड ९ लाख रुपैयाँ थियो । त्यस्तै कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ९ करोड १८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ९९ करोड १६ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको अन्य इक्युटीमा ३० करोड ९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा ३८ करोड ६७ लाख रुपैयाँ थियो । ५ अर्ब ५० करोड शेयर पुँजी भएको कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ३६ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा १ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ थियो अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १०.६४ प्रतिशतले बढेको छ । कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ७.८८ रुपैयाँ, पीई रेसियो १००.८७ गुणा र प्रतिशेयर नेटवर्थ १८३.३२ रुपैयाँ रहेको छ ।