राष्ट्र बैंकलाई ओभरटेक गर्दै बहालवाला सीईओलाई सीआईबीको हतकडी, त्रसित छन् बैंकर र व्यवसायी

काठमाडौं । हाल बैंकिङ क्षेत्र तरंगित छ । बैंकका बहालवाला प्रमुख कार्यकारी अधिकृत (सीईओ) र ऋणी पक्राउ परेपछि बैंकर र व्यवसायी त्रासमा छन् । गत मंसिर १४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका सीईओ अशोक शेरचनसहित नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत (सीसीओ) रिवास श्रेष्ठ पक्राउ गर्‍यो । सोही मुद्दामा सम्बन्धित रहेको भन्दै सीआईबीले गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पनि पक्राउ गरेको छ । शाक्य पक्राउले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने उद्योगी व्यवसायी त्रासमा छ । ‘प्रतिवादी कुसुम लामा समेत उपर अनुसन्धान भएको ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा संकलन भएका विवरण तथा तथ्यहरूको विज्ञ टोली समेतले अध्ययन विश्लेषण गर्ने क्रममा सीईओ शेरचन समेतले राष्ट्र बैंकबाट जारी निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गरी प्रभु बैंकलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने/गराउने कसुरमा संलग्न रहेकाले पक्राउ गरी अनुसन्धान कार्य जारी रहेको छ,’ सीआईबीले भनेको छ । बहालवाला सीईओ शेरचन पक्राउ गरेर बैंकिङ क्षेत्रमा सीआईबीले आक्रमण गरेको आरोप बैंकरहरूले लगाएका छन् । बैंकिङ क्षेत्रका अब्बल नियामक नेपाल राष्ट्र बैंक हुँदा हुँदै पनि सीआईबीको प्रवेशले बैंकरहरू रुष्ट बनेका हुन् । ‘हामीले आवाज उठाइरहेका छौं । आफ्नो ठाउँबाट कोसिस पनि गरिरहेका छौं । हामीले सीआईबीको टोलीसँग भेट गरेका थियौं । किन बैंकरलाई पक्राउ गर्नु भएको हो ? भनेर प्रश्न गरेका छौं,’ नेपाल बैंकर्स संघका एक पदाधिकारीले भने, ‘राष्ट्र बैंकसँग पनि कुराकानी गर्याैं र अशोकजीसँग पनि भेट गर्याैं ।’ यसरी ऋण दिने बैंकर र ऋण लिने उद्योगी व्यवसायी पक्राउ पर्दा भोलिका दिनमा लगानीको वातावरण नरहने ती बैंकरको भनाइ छ । तर, सीआईबीले फौजदारी प्रकृतिको मुद्दा हो भनेपछि बैंकर्स संघले बलियो रूपमा आवाज उठाउन नसकेको उनले बताए । ‘यस मुद्दामा ऋण दिएको र लिएको आधारमा मात्रै पक्राउ गरिएको होइन भनिएको छ । ऋण दिएका कारणले पक्राउ गरिएको थियो भने बैंकर संघले सशक्त आवाज उठाउँथ्यो । तर, त्यो विषयसँग सम्बन्धित छैन भनेपछि हामीलाई बोल्न अप्ठ्यारो परेको हो,’ उनले भने । बैंकिङ मुद्दामा किन सीआईबी ? बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)का पदाधिकारीहरू मुद्दाको स्वरूपबारे नै अनिश्चित छन् । केही अनियमितता देखिए पनि सीआईबीले नियामकलाई छलेर बैंकिङ क्षेत्रमा प्रवेश गरेको जस्तो देखिएको एक पदाधिकारीले बताए । यदि यो बैंकिङ कसुर हो भने राष्ट्र बैंकमार्फत प्रक्रिया चल्नुपर्ने हो । तर अहिले सिधै प्रहरी प्रवेश गरेको र जसले नियामक निकायकै अधिकारमाथि प्रश्न उठाएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)का एक पदाधिकारीले बताए ।  ‘यदि बैंकिङ कसुर थियो भने राष्ट्र बैंकमार्फत जानुपर्ने हो । सिधै पक्राउ पर्दा नियामक निकाय मार्फत जानुपर्ने भएकाले घुमेर बैंकिङ क्षेत्रमा प्रवेश गरेको देखिन्छ । यसले नियामकमाथि पनि प्रश्न उठेको छ,’ उनले भने, ‘यदि प्रभु म्यानेजमेन्टमार्फत बैंकमाथि अप्रत्यक्ष हस्तक्षेप गरेको हो भने भविष्यमा झन् खतरनाक हुन सक्छ । किनभने भोलिका दिनमा प्रत्येक ऋणीमार्फत बैंकिङ क्षेत्रमा सीआईबी छिर्न सक्ने ठाउँ खुला भएको छ ।’  साथै ऋणीमार्फत बैंकरहरू पक्राउ परेका हुन् भने भविष्यमा सबै बैंकर खोरमा जान सक्ने उनको भनाइ छ । उनका अनुसार सबै बैंक तथा वित्तीय संस्थामा आ-आफ्नै किसिमका समस्या छन् । तर, यो मुद्दाले समाधानतर्फ भन्दा पनि बल्झाउने हो की भन्ने चिन्ता बढेको उनले बताए । सीईओ शेरचन पक्राउ पर्दा समग्र बैंकिङ क्षेत्र नै सुस्ताएको एक बैंकका सीईओले बताए । बैंकहरुले नगद कारोबार, प्रोजेक्ट लगायत विषय अध्ययन गरेर कर्जा दिएका हुन्छन् । तर, सबै ऋणमा पर्याप्त धितो नहुने भएकाले बैंकरलाई पक्राउ गर्नु उचित नरहेको उनको भनाइ छ । ‘क्यास फ्लो, प्रोजेक्ट अध्ययन गरेर कर्जा दिएका हुन्छन् । प्रोजेक्ट लोन सबैमा सतप्रतिशत धितो नै हुन्छ भन्ने हुँदैन । यदि ऋण दिएका आधारमा पक्राउ परेका हुन् भने हाइड्रोमा ऋण दिएका सबै सीईओ फस्न सक्छन् । किनकी हाइड्रोका लागि धितो नै राखिएको हुँदैन,’ उनले भने, ‘एउटा बहालवाला सीईओ पक्राउ गर्दा बैंकिङमा ठूलो त्रासको वातावरण श्रृजना उत्पन्न भएको छ । एक सहकर्मी वा एउटै क्षेत्रमा काम गर्ने साथी पक्राउले हामी चिन्तित छौं ।’ अझै राम्रो र सुदृढ बैंक बनाउने  प्रभु बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) निरज लम्साल बैंकका सबै सूचक अब्बल रहेको बताउँछन् । बाह्य रुपमा विभिन्न गतिविधि भइरहेको देखिएपनि हरेक क्षणमा बैंकलाई सूक्ष्म रूपमा हेरिरहेको उनको भनाइ छ ।  ‘बैंकका सबै सूचक राम्रा छन् । स्मुथ्ली चलिरहेको छ । हामी प्रत्येक क्षण क्षण हेरिरहेका छौं । कुनै सूचकांकमा गिरावट आएको छैन,’ उनले भने, ‘भविष्यमा बैंकलाई अझै राम्रो र सुधृढ बनाउँछौं । हामी यसमा कन्फिडेन्स छौं । हामी टिममा काम गर्छाैं । बिहान ७ बजेदेखि सक्रिय भएर काम गरिरहेका छौं ।’  विगतमा विभिन्न अराजक समूहले अराजक गतिविधि गर्दा एनआईसी एशिया बैंकको निक्षेप स्वाट्टै घटेको थियो । तर, प्रभु बैंकमा त्यो समस्या नरहेको बैंकले जनाएको छ । कामु सीईओ लम्सालका अनुसार कर्मचारीहरुमा गिरेको मनोबल बढाउने काम भइरहेको छ ।  ‘कर्मचारीहरूमा कन्फिडेन्ट दिने काम गरिरहेको छु । सबै कर्मचारीहरूले आ-आफ्नो क्षेत्रमा काम गरिरहेका छन्,’ उनले भने, ‘अपराधी नै ठहर गरेको भएको होइन । अपराधसिद्ध गरेर सजाय पाउनु पर्नेमा पहिला नै सजाय दिने गरियो । यसले गर्दा तनाव पक्कै हुन्छ नै ।’ सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार सीईओ शेचरन लगायत बैंकरलाई बैंकिङ कसुरमा नै पक्राउ गरिएको हो । प्रहरीले विभिन्न प्रमाणहरू संकलन गरेर अनुसन्धानका लागि पक्राउ गरिएको उनको भनाइ छ ।  ‘प्रहरीले प्रमाण संकलन गरेर पक्राउ गरेको हो । हामीले बैंकिङ कसुर अन्तर्गत मुद्दा चलाइएको हौं । अदालतको अनुमति लिएर काम गरेको हो,’ उनले भने, ‘यो बैंकिङ कसुर हो । राष्ट्र बैंकको नियमन र अनुगमनकारी भूमिका रहन्छ । कसुर भएको प्रमाण भयो भने अनुसन्धान गर्ने प्रक्रिया हाम्रो भूमिका हो । यो पूर्ण रुपमा बैंकिङ कसुर हो । बैंकिङ कसुर अनुसूची १ मा भएपछि स्वतः फौजदारी भइहाल्यो । हामी थप अनुसन्धान गरिरहेका छौं । बाँकी थप प्रमाणले हेर्छ ।’

माग पूरा नभए आन्दोलनमा जाने बीमा प्राधिकरणका कर्मचारीको चेतावनी

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कर्मचारीले पटकपटक माग राख्दै आए पनि सम्बोधन नभएपछि सात दिने अल्टिमेटम जारी गरेका छन् । माग सम्बोधन नभए आउँदो आइतबारबाट चरणबद्ध हड्तालमा जाने उनीहरूले चेतावनी दिएका छन् ।  कर्मचारीको वृत्ति विकास, क्षमता विकास नयाँ, अवसरहरूको सिर्जना गर्ने, पदपूर्तिद्वारा बढुवा, तालिम, सेवा सुविधालगायतका माग निरन्तर रूंपमा अध्यक्ष तथा उच्च व्यवस्थापन समक्ष राख्दै आएपनि कनै पहल र प्रतिबद्धता नभएको कर्मचारीद्वारा जारी अल्टिमेटमा उल्लेख गरिएको छ । कर्मचारी युनियनका अध्यक्ष प्रेम हरि पोखरेल र कर्मचारी संगठनका अध्यक्ष दीपक ज्ञवालीले संयुक्त रूपमा जारी गरेको सातदिने अल्मिटमेटममा २१ दिनसम्म पनि व्यवस्थापन पक्षबाट कुनै पहल नभएपछि हुँदा सातदिने अल्टिमेटम जारी गर्दै मंसिर २८ गतेदेखि क्रमबद्ध रूपमा हड्ताल सुरु गर्ने चेतावनी दिएको हो । के–के छन् माग ?  कर्मचारी युनियन र कर्मचारी संगठनले जारी गरेको संयुक्त अल्टिमेटमा प्राधिकरणले २०८२ जेठ १२ र १६ गते सञ्चालक समितिबाट स्वीकृत भई मन्त्रालय गएको सेवासुविधा तथा नयाँ दरबन्दी (नयाँ संरचना संगठन) संरचनासहितको प्रतिवेदन लागू गर्ने तथा पदपूर्तिको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेको छ । त्यस्तै, बीमा प्राविधिक विषय भएकाले माथिल्लो पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्दा संस्थाको आवश्यकताअनुसारको जनशक्ति उपलब्ध नहुने हुँदा कर्मचारी विनिमयावली संशोधन गरी उपनिर्देशक पदमा आन्तरिक प्रतिस्पर्धा तथा कार्य सम्पादन मूल्यांकन प्रक्रियाबाट मात्रै पदपूर्ति गर्ने माग छ । कर्मचारी विनियमावलीमा प्राविधिक र प्रशासन समूह स्पष्ट नहुँदा निकट भविष्यमा यसले समस्या तथा विवाद गर्न सक्ने अवस्था भइसकेको हुँदा ती विषयलाई समयमै समाधान गर्ने प्रदेश सरुवा तथा भौगोलिक अंगको व्यवस्थालाई समेत स्पष्ट पारी नीतिगत व्यवस्था गर्नुपर्ने, कर्मचारीको सिक्ने अवसर क्षमता विकास कार्य वातावरण सुधार तथा कर्मचारीका गुनासा सुनुवाइ तथा मनोबल वृद्धिजस्ता कर्मचारी विनियमावलीमा भएको कर्मचारीसँग सम्बन्धित विषयमा तथा भविष्यमा कुनै पनि किसिमको विवाद सिर्जना हुन नदिनका लागि कर्मचारीको प्रतिनिधित्व हुने गरी सिफारिस समितिको आधारमा मात्र हुने व्यवस्था गर्नुपर्ने, निर्देशक पदमा अधिकतम सेवा अवधि सीमाको व्यवस्था गर्नुपर्ने माग राखेका छन् । त्यस्तै, प्राधिकरणको उत्तराधिकारी योजना बनाई यथा शीघ्र लागू गर्न व्यवस्था मिलाउनुपर्ने र प्राधिकरणको संस्थागत सुधार तथा विकासका लागि अन्तर्राष्ट्रियस्तरका संस्थामार्फत रिइन्जिनियरिङ गर्नुपर्ने कर्मचारीहरूको माग छ । 

महिन्द्राका गाडी बेच्ने अग्नि इन्कर्पोरेटेडले गर्याे ७.१३ अर्ब रुपैयाँ आम्दानी

काठमाडौं । महिन्द्रा सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पाेरेटेड प्रालिले एक वर्षमा ७ अर्ब रुपैयाँ बढी आम्दानी गरेको छ । सन् १९९१ मा स्थापित अग्नि इन्कर्पोरेटेडले नेपालमा महिन्द्राका स्कोर्पियो, बोलेरो, यात्रुवाहक सवारी र ट्रयाक्टरहरू बिक्री गर्दै आएको छ ।  कम्पनीले सन् २०२५ मा ७ अर्ब १३ करोड रुपैयाँ बराबरको सञ्चालन गरेको जनाएको छ । जुन अघिल्लो वर्षको तुलनामा २८.२६ प्रतिशत अर्थात् १ अर्ब ५७ करोड १० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ५ अर्ब ५५ करोड ९० लाख रुपैयाँ बराबर आम्दानी गरेको कम्पनीले जनाएको छ ।  यसअघि सन् २०२३ मा कम्पनीले ५ अर्ब १४ करोड ५० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो । कम्पनीका अनुसार सन् २०२२ मा १२ अर्ब ९३ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा १२ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको थियो । सन् २०१९ मा ५ अर्ब ५५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०१८ मा १६ अर्ब २५ करोड ९० लाख रुपैयाँ र सन् २०१७ मा १६ अर्ब ३७ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसअघि सन् २०१६ मा कम्पनीले १३ अर्ब ३६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले आफ्नै १७ शोरूम तथा बिक्री आउटलेट र १६ क्षेत्रीय डिलरशिप आउटलेटमार्फत महिन्द्राका सवारीसाधन बिक्री वितरण गर्दै आएको छ । क्याबिनेट श्रेष्ठ, सुसन वैद्य श्रेष्ठ र अर्जुनप्रसाद शर्मा कम्पनीका सेयरधनीहरू हुन् । साथै सञ्चालक पनि रहेका छन् । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३५ करोड रुपैयाँ दीर्घकालिन र २ अर्ब ९१ करोड ५० लाख रुपैयाँ अल्पकालीन गरी ३ अर्ब २६ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ । 

दिल्लीसँग सिधा हवाई उडानका नेपालगन्जका व्यवसायीहरुको ध्यानाकर्षण

काठमाडौं । निजी क्षेत्रले नेपालगन्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । सो उडान सन्दर्भमा आइतबार नेपालगन्जमा अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउँदै उद्योग वाणिज्य सङ्घ, नेपालगन्जका अध्यक्ष टङ्क धामीले विगत एक दशकदेखि नेपालगन्ज-दिल्ली हवाई उडानका लागि निरन्तर प्रयास गर्दै आएको बताए । उनले सिधा हवाई सम्पर्कले यस क्षेत्रको व्यापार उद्योग, पर्यटनलगायतका क्षेत्र चलायमान हुने भएकाले उडानका लागि पूर्वाधार निर्माणसमेत भएकामा सरकारका तर्फबाट नीतिगत र कार्यान्वयनका कदम चाल्न आग्रह गरे । अर्थमन्त्री खनालले अहिलेको सरकार विशेष परिस्थितिमा निर्माण भएकाले चाहना हुँदाहुँदै काम गर्न नसकिने स्पष्ट पारे । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि नयाँ सरकार निर्माण हुने उल्लेख गर्दै उहाँले यो सरकार अब तीन महिनाको लागि मात्रै भएको बताए । ‘राजनीतिक स्थितिलाई बिगार्ने र निर्वाचनका कामलाई प्रभावित गर्ने काम हामीबाट हुँदैन,’ उनले भने ।  नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले वस्तुको भन्सार दर घटाउन सरकारलाई आग्रह गर्दै तस्करीका कारण नेपाली व्यवसायी मर्कामा परेको बताए ।  सङ्घका अध्यक्ष धामीले रुपैडिहाबाट सामान ल्याउँदा ठूलो परिमाणमा भन्सार चुहावट भएको उल्लेख गर्दै त्यसरी हुने चुहावट रोक्न आवश्यक भएको धारणा राखे । सङ्घले विभिन्न विषय समेटेको २१ बुँदे ज्ञापनपत्र बुझाएको थियो । 

विद्युत प्राधिकरण र काठमाडौं महानगरको समन्वयमा विद्युतीय तार भूमिगत गरिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा महानगर क्षेत्रभित्रको विद्युतीय तार भूमिगत गर्न काम अगाडि बढाइने भएको छ ।  तारलाई भूमिगत गर्ने काममा फिल्डमा देखिएका समस्या समाधानका लागि आवश्यक अनुगमन र समन्वय गर्न प्राधिकरणका निर्देशक र महानगरपालिका सार्वजनिक निर्माण विभागका प्रमुखलाई तोकिएको छ ।  सडक विभाग, काठमाडौं महानगरलगायतका निकायबाट सहमति प्राप्त नहुँदा निर्माण व्यवसायीबाट काम सम्पन्न भएपछि सडकलाई मर्मत नगरेको जस्ता गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार प्राधिकरणका कार्यकारी निर्देशक, आयोजना प्रमुख, महानगरपालिका प्रतिनिधि र निर्माण व्यवसायीसँग छलफल गरेका थिए ।  मन्त्री घिसिङले आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि काठमाडौंभित्रको तार भूमिगत काम सम्पन्न गर्न र काम सम्पन्न भएको ठाउँमा इन्टरनेट, टेलिफोन, टेलिभिजन सेवा प्रदायकसँग समन्वय गरी जमिनमाथिको ९ओभरहेड० तार हटाउन तत्काल सुरु गर्ने बताए । उनले निर्माण कार्य सम्पन्न गरेपछि फिल्डमा देखिएको सडक मर्मतलगायतका काम तत्काल गर्न निर्देशनसमेत दिए । प्राधिकरणका कार्यकारी मनोज सिलवालले सडक विभाग र स्थानीय तहसँग समन्वय गरी निर्माण कार्य अगाडि बढाइने बताए ।  काम सम्पन्न भएका क्षेत्रमा भूमिगत तारबाट विद्युत आपूर्ति दिन सुरु गरिसकिएको र ओभरहेटलाई क्रमश स् हटाउँदै जाने सिलवालले उल्लेख गरे ।  प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउन पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरेको थियो ।  दोस्रो चरणमा काठमाडौंको बाँकी स्थान, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरको सहरी क्षेत्र र चौथो चरणमा पोखरा तथा भरतपुर महानगरअन्तर्गतका क्षेत्रको वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित गर्ने काम सुरु गरेको थियो । काठमाडौं उपत्कायभित्रको निर्माण प्रगति करिब ८० प्रतिशत छ ।  यसअन्तर्गत ३३ तथा ११ हजार भोल्टेज र ४ सय भोल्टेज भूमिगत लाइन निर्माणका साथै अप्टिकल फाइबर पनि बिछ्याइनेछ । यसबाट विद्युत, टेलिफोन, इन्टरनेट सेवा प्रदायकको गुजुल्टिएको तारले कुरूप बनेको सहरको कुरूपताको अन्त्य भई सौन्दर्य थपिनेछ ।  हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरूप बनाइरहेको तारको जालो हटी सौन्दर्य कायम राख्न सकिने छ । भूमिगत काम गर्दा सडकमा न्यूनतम क्षति हुने प्रविधि प्रयोग गरिएको छ ।  सडकमा सवारीसाधनको अवागमन र पैदलयात्रीलाई असर नपर्ने गरी राति काम गर्ने व्यवस्था गरिएको छ । सडक खन्दा निक्लिएको धूलोबाट नागरिकलाई असर पर्न नदिन न्यूनीकरणका उचित व्यवस्था गरिएको छ । तार भूमिगत गर्दा क्षति पुगेको सडकको मर्मत १० दिन भित्र गरिसक्ने व्यवस्था गरिएको छ ।

कर र रोयल्टी नतिर्ने २० इन्टरनेट कम्पनीको लाइसेन्स धरापमा, प्राधिकरणले दियो ३५ दिनको अल्टिमेट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारलाई बुझाउनुपर्ने रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषको रकम नबुझाउने २० वटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई कारबाहीको चेतावनी दिएको छ ।  प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै बक्यौता रकम बुझाउन ३५ दिने अल्टिमेटम दिएको हो ।  प्राधिकरणका अनुसार यी सेवा प्रदायकहरूले विगत केही वर्षदेखि लेखा परीक्षण विवरण बुझाएका छैनन् भने नियमानुसार बुझाउनुपर्ने रोयल्टी र कोषको रकम पनि दाखिला गरेका छैनन् ।  प्राधिकरणले बक्यौता रकम तिर्न पटक–पटक पत्राचार, इमेल र सार्वजनिक सूचनामार्फत जानकारी गराउँदा समेत यी कम्पनीहरूले कुनै वास्ता गरेका छैनन् । बाध्य भएर सार्वजनिक सूचना मार्फत कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित भएको ३५ दिनभित्र सम्पूर्ण विवरण र बक्यौता रकम बुझाउन निर्देशन दिएको छ । यदि यो अवधिभित्र पनि रकम दाखिला नगरेमा दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ । ऐनको दफा २८ मा अनुमतिपत्र खारेजीसम्मको व्यवस्था रहेको छ ।  प्राधिकरणले सम्बन्धित कम्पनीहरूलाई तत्काल जमलस्थित कार्यालयको अनुमतिपत्र व्यवस्थापन शाखामा सम्पर्क गर्न आग्रह गरेको छ । सूचना 

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई क्यूरा हेल्थका सेवामा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रालिबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी समझदारी भएको छ । सम्झौता अनुसार बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले क्यूरा हेल्थद्वारा प्रदान गरिने विभिन्न सेवा शुल्कमा छुट प्राप्त गर्नेछन् । ललितपुरको ज्वागलमा अवस्थित क्यूरा हेल्थले उपलब्ध गराइने प्याथोलोजी ल्याबका विभिन्न सेवामा (निःशुल्क होम–डेलिभरी सुविधा सहित) तथा अन्य स्वास्थ्य प्याकेजहरूमा बिल रकमको १२ प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको बैंकले जनाएको छ । सम्झौतापत्रमा मंसिर १९ गते नेपाल बैंक लिमिटेडको तर्फबाट बजारकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र क्यूरा हेल्थ प्रालिका तर्फबाट प्रबन्धक शीतल प्रसाद पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यान्वयनसँगै नेपाल बैंकका कर्मचारी तथा ग्राहकले क्यूरा हेल्थ प्रालिद्वारा उपलब्ध गराइने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभ लिन सक्ने भएका छन् ।

आज लिग चरणको अन्तिम खेल हुँदै, प्रतिष्ठाका लागि कर्णाली र जनकपुर भिड्ने

काठमाडौं । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ । अपरान्ह ३:३० बजे हुने खेलमा कर्णाली याक्स र साबिक विजेता जनकपुर बोल्ट्स भिड्नेछन् । ६ खेलबाट समान २ अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले  इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन् ।

एडीबीले पाकिस्तानलाई ३८ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले शनिबार पाकिस्तानको पञ्जाब प्रान्तमा कृषि, शिक्षा र स्वास्थ्य परियोजनाका लागि ३८ करोड दश लाख अमेरिकी डलरको तीन परियोजनाहरू स्वीकृत गरेको छ । एडीबीले पञ्जाव प्रान्तमा परियोजनाको माध्यामबाट आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ, जुन देशको जनसङ्ख्या र आर्थिक गतिविधिको आधा भन्दा बढी हो । परियोजनामा समावेश १२ करोड डलरको ऋण, ४० लाख डलरको अनुदानले विपद् र कार्बन उत्सर्जन न्युनिकरणलाई सघाउनुको साथै दुई लाख २० हजार ग्रामीण कृषक परिवारहरूलाई लाभान्वित गर्नेछ । परियोजनाले कृषिलाई यान्त्रिकीकरण गरी वैकल्पिक जीविको पार्जन प्रदान गर्ने १५ हजार महिलाको सीप बढाउने तथा साना किसानहरूलाई उन्नत मेसिनरी सहित नयाँ वित्तीय प्रणली प्रस्तुत गर्ने जनाइएको छ । पन्जाबले मात्र पाकिस्तानको ७५ प्रतिशत गहुँ, ६९ प्रतिशत चामल र ९१ प्रतिशत मकै उत्पादन गर्ने जनाइएको छ ।  शिक्षामा, एडीबीले माध्यमिक शिक्षाको आधुनिकीकरण गर्न र पञ्जाब विद्यालय शिक्षा विभाग अन्तर्गत समावेशी कार्यक्रमहरू विस्तार गर्न, गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गर्न १० करोड डलर ऋण र ७ करोड डलर अनुदान स्वीकृत गरेको जनाइएको छ ।  

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौं ।  काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी बागमतीमा मिसाउन दैनिक रुपमा डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र निर्माणाधीन रहेको छ । काठमाडौंको त्रिपुरेश्वर र ललितपुरको कुपण्डोल नदी बागमती नदी किनारमा अवस्थित २.५३ हेक्टर जग्गामा प्रशोधन केन्द्र निर्माण भइरहेको छ ।  टुकुचालाई उक्त प्रशोधन केन्द्रमा पठाएर पानी प्रशोधन गरी सफा पानीलाई बागमती नदीमा खसालिने छ । प्रशोधन केन्द्रका सहउत्पादनको रुपमा ८०० किलोवाट विद्युतसमेत उत्पादन गरिनेछ । हाल त्रिपुरेश्वरतर्फ ढल प्रशोधन केन्द्रका भौतिक संरचना निर्माण भइरहेको छ । स्थानीयको अवरोधका कारण ललितपुरतर्फका संरचनाको निर्माण भने सुरु हुन सकेको छैन । ललितपुरतर्फ विद्युत उत्पादन हुने संरचना मात्र रहनेछन् । मुख्य ढल प्रशोधन गर्ने संरचना भने त्रिपुरेश्वरतर्फ निर्माणधीन छन् ।  निर्माणको समग्र भौतिक र वित्तीय प्रगति २० प्रतिशत छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार निर्माणधीन प्रशोधन केन्द्रको स्थलगत निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएका छन् । मन्त्री घिसिङले निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परार्शदाता र निर्माण व्यवसायीसँग निर्माण सम्पन्न हुने तालिका, बेहोरिरहेका समस्या, समाधानका लागि गर्नुपर्ने नीतिगत निर्णयलगायतका विषयमा छलफल गरेका थिए ।  उनले हाल निर्माणस्थलका सबै ठाउँबाट काम गर्न सक्ने अवस्था रहेकाले सोही बमोजिम निर्माणका कार्य अगाडि बढाउन निर्देशन दिए । निर्माण स्थलमा रहेका रुख हटाउन करिब दुई वर्ष समय लाग्दा र ललितपुरतर्फ स्थानीयको अवरोध रहँदा निर्माणमा केही ढिला भएको उल्लेख गर्दै मन्त्री घिसिङले अब निर्माणमा तीब्रता दिइनु पर्ने बताए ।  उनले सरकारले बागमती नदीलाई सफा बनाउन यसका सहायक खोला तथा नदी किनार व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको उल्लेख गरे । निर्माण व्यवसायीले त्रिपुरेश्वरतर्फका संरचना तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको थियो ।  एशियाली विकास बैंक (एडिबी)को बागमती नदी बेसिन सुदृढीकरण परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको प्रशोधन केन्द्रको लागत ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ । केन्द्र निर्माणका लागि जेठ २०७९मा ठेक्का सम्झौता भएको थियो । म्याद थप गरिएको समयसहित केन्द्रको निर्माण मंसिर २०८३ रहेको छ । 

टाटा ईभी प्रयोगकर्ताका लागि सिप्रदीको ‘विन्टर सर्भिस क्याम्प’ घोषणा

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय सवारीसाधन (ईभी) प्रयोगकर्तालाई लक्षित गर्दै 'विन्टर ईभी सर्भिस र एक्सचेन्ज क्याम्प' सार्वजनिक गरेको छ । जाडो याममा ईभीको प्रदर्शन र सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आयोजना गरिएको यो कार्यक्रम डिसेम्बर ७ देखि १०, २०२५ सम्म सञ्चालन हुनेछ । सिप्रदीका अनुसार क्याम्पमा सहभागी ग्राहकले विभिन्न निःशुल्क सेवाहरू पाउनेछन् । निःशुल्क लेबर चार्ज, टप वाशिङ, कम्प्युटर डायग्नोसिस, ब्याट्री तथा इलेक्ट्रिकल परीक्षण, सस्पेन्सन र ब्रेक जाँच लगायतको १० प्वाइन्ट चेकअप सेवा उपलब्ध हुनेछ । त्यस्तै, जाडो महिनामा सर्भिसिङलाई किफायती बनाउने उद्देश्यले आवश्यक स्पेयर पार्ट्स र लुब्रिकेन्ट्समा १८ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ । सर्भिस सुविधासँगै यस क्याम्पमा ईभी एक्सचेन्ज सेवासमेत उपलब्ध गराइनेछ । नयाँ टाटा ईभी खरिद गर्न चाहने ग्राहकलाई थप विकल्प र लाभ प्रदान गर्न एक्सचेन्ज सुविधा उपयोगी हुने सिप्रदीको दाबी छ । ग्राहकलाई सुरक्षित, भरपर्दो र सहज सवारी अनुभव दिलाउने लक्ष्यसहित ल्याइएको यो पहल जाडो मौसमलाई आत्मविश्वासका साथ पार गर्न सहयोगी हुने कम्पनीले विश्वास व्यक्त गरेको छ । विद्युतीय गतिशीलताको विस्तार र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता प्रभावकारी तथा ग्राहक–मैत्री कार्यक्रम निरन्तर अघि बढाइने सिप्रदी ट्रेडिङले जनाएको छ ।

नेशनल लाइफको सिईओ क्लब कार्यक्रम सम्पन्न, कर्णाली र सुदूरपश्चिमका अभिकर्ता सम्मानित

काठमाडाै । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नेपालगंजको होटल सोल्टी वेस्टेण्डमा कार्यक्रम सम्पन्न गरिएको हो । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कर्णाली प्रदेशबाट योग्य भएका ११५ जना अभिकर्ताहरु र सुदुरपश्चिम प्रदेशबाट योग्य भएका १६१ जना अभिकर्ताहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।  प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले  कर्णाली तथा सुदुरपश्चिम प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओे क्बलको सदस्यता वितरण तथा सम्मान गरे । सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले कर्णाली र सुदुरपश्चिम प्रदेशबाट नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेक थिए ।  सीईओ खत्रीले कम्पनीले अभिकर्ता मैत्री स्किमहरु ल्याउने क्रममा सिईओ क्लब सदस्यता योजना ल्याइएको जानकारी दिँदै १६ सयभन्दा बढी अभिकर्ता छनोट सफल भएको बताए ।     

एनआईसी एशिया बै‌कका ग्राहकलाई लकर सेवामा १५ प्रतिशत छुट

काठमाडाै‌ । एन आई सी एशिया बैंकका ग्राहकले लकर सेवामा विशेष छुट पाउने भएका छन् । बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा छुट अफर ल्याएको हो ।  बैंकका अनुसार ग्राहकले पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले ग्राहकलाई मुलुकभरका १५० वटा बैंक शाखाहरुमा आवश्यकता अनुसारका विभिन्न आकारमा लकर सेवाहरु उपलब्ध गराएको जनाएको छ ।  बैंकले उपलब्ध गराएको लकर सेवाबारे थप जानकारीको लागि बैंककको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, १८१०–२१–७७७७१ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न सक्नेछन् ।   

विद्युत् प्राधिकरणका कर्मचारीले युनिफर्म नलगाए कारबाही हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीहरूलाई कार्यालय समयमा अनिवार्य रूपमा तोकिएको पोसाक (युनिफर्म) लगाउन निर्देशन जारी गरेको छ ।  अबदेखि पोसाक नलगाई कार्यालय पुग्ने कर्मचारीले सिधै विभागीय कारबाही भोग्नुपर्ने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशकस्तरीय (मंसिर १२ गतेको) निर्णय अनुसार कार्यालय समयमा तोकिएको पोसाक अनिवार्य गरिएको हो ।  प्राधिकरणले ‘नेपाल विद्युत् प्राधिकरण कर्मचारी सेवा सर्त विनियमावली, २०७५’ को विनियम १२१ को उप–विनियम (४) लाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको हो ।  नयाँ निर्देशन अनुसार अब कुन कर्मचारीले पोसाक लगाएका छन् वा छैनन् भनेर नियमित तथा आकस्मिक अनुगमन गरिनेछ । अनुगमनका क्रममा पोसाक नलगाएको भेटिएमा सोही विनियमावलीको उप–विनियम (५) बमोजिम कडा विभागीय कारबाही गर्न सम्बन्धित विभागहरूलाई परिपत्र गरिएको छ । प्राधिकरणको केन्द्रीय कार्यालय लगायत विभिन्न निकायमा कार्यरत धेरैजसो कर्मचारीले कार्यालय समयमा तोकिएको पोसाक नलगाउने गरेको गुनासो राष्ट्रिय सतर्कता केन्द्रमा पुगेको थियो । सतर्कता केन्द्रले यस विषयमा चासो देखाउँदै पोसाक अनिवार्य गराउन प्राधिकरणलाई पत्राचार गरेपछि प्राधिकरण नेतृत्व ‘एक्सन’ मा उत्रिएको हो ।  यो निर्देशनसँगै अब प्राधिकरणका कार्यालयहरूमा अनुशासनको नियम कडा हुने देखिएको छ । प्रशासनले अब नियमित ‘छड्के जाँच’ गर्ने र पोसाक बिनाका कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने तयारी गरेको छ ।

नेपाल राष्ट्र बैंकले माग्यो ७६ जना कर्मचारी, कुन तहमा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७६ जना कर्मचारी मागेको छ । सहायक पददेखि सहायक निर्देशक गरी ७६ जना कर्मचारी मागेको हो ।  राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागका अनुसार अधिकृत तृतीय श्रेणीमा सहायक निर्देशक अर्थशास्त्र र व्यवस्थापन तर्फ १/१ जना, सहायक निर्देशक ३९ जना, लेखा तथा लेखापरीक्षणतर्फ १० जना, वाणिज्य कानुनतर्फ ४ जना र सहायक द्वितीय २१ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।  इच्छुक र योग्यता पुगेका नेपालीहरूले शुक्रबारदेखि पुस १० गतेसम्म अनलाइनमार्फत दरखास्त फाराम बुझाउन सक्नेछन् । दोब्बर दस्तुर तिरेर पुस १७ गतेसम्म फाराम भर्न सकिनेछ । 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । त्यसैगरी, आज राति सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली हुनेछ । काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसबीच रहने अनुमान छ ।

काँकरभिट्टाबाट मात्रै ६ अर्बको पेट्रोलियम पदार्थ आयात, राजस्व २.९० प्रतिशत वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट ६ अर्ब २ करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट ६ अर्ब २ करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको  पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात गरिएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वर कुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा ११ करोड ९२ लाख ५४ हजार रुपैयाँ अर्थात् २.०१ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.९० प्रतिशत अर्थात् ८ करोड ४१ लाख २२ हजार रुपैयाँले बढेको सूचना अधिकारी हुमागाईंले जानकारी दिए । चालु आवको ४ महिनामा पेट्रोलियम पदार्थ आयातबाट २ अर्ब ९६ करोड ८१ लाख ४५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा ३ अर्ब १० करोड ५४ लाख रुपैयाँ मूल्य पर्ने ३५ हजार १५६ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी १ अर्ब ७४ करोड ६८ लाख रुपैयाँ पर्ने १८ हजार ४०८ किलोलिटर डिजेल आयात भएको छ । यस्तै, उक्त चार महिनाको अवधिमा ८२ करोड ६३ लाख रुपैयाँ मूल्य पर्ने ८ हजार ५५७ मेट्रिक टन एलपी ग्यास, २६ करोड ३३ लाख रुपैयाँ पर्ने २ हजार ९०८ किलोलिटर एटिएफ र ४ करोड ६१ लाख रुपैयाँ पर्ने ५०८ किलोलिटर मट्टितेल आयात भएको छ ।  

ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका

काठमाडौं । ग्लोबल आइएमई बैंकले मोबाईल बैंकिङ प्रयोगकर्तालाई आइफोन जित्ने योजना सार्वजनिक गरेको छ । बैंकले मोबाइल बैंकिङ–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ प्रयोगकर्ताहरू मध्य उक्त कारोबार गर्ने दुई जना ग्राहकहरुलाई आइफोन १७ प्रदान गर्नेछ ।  साथै, यस योजनाअनुसार बैंकका मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपे डाइरेक्टमार्फत् रकमान्तर गर्दाको भिडियो सामग्री आफ्नो सामाजिक सञ्जालमा राखे वापत हरेक दिन (योजना अवधिभर) सामसुङ इएरबड जित्ने समेत अवसर रहेको छ । यो योजना मंसिर १५ देखि पौष २५ गतेसम्म लागू रहनेछ । यस योजनामा सहभागी हुन योजना अवधिभर ग्लोबल स्मार्ट प्लसबाट फोनपे डाइरेक्टप्रयोग गरी न्यूनतम् ३ पटक रकमान्तर गरेको हुनपर्ने छ ।  ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।  बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।   

तनहुँको एउटै गाउँबाट यो वर्ष दुई करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यस वर्ष दुई करोड रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका छन् । सदरमुकाम दमौलीबाट सात किलोमिटर दुरीमा अवस्थित बेनीकोटका किसानलाई यतिबेला बारीमा फलेका सुन्तला टिप्ने र सुन्तला मिलाउने काममा भ्याइनभ्याइ छ । बेनीकोटका किसान फलबहादुर थापाले आफूले यस वर्ष १६ लाख ५० हजार रुपैयाँको सुन्तला बिक्री गरे । सिद्धबेनी माध्यमिक विद्यालयका पूर्वशिक्षक उनी सुन्तला खेतीबाट मनग्य आम्दानी हुँदै आएको उल्लेख गर्दै गाउँबाट यस वर्ष रु दुई करोड मूल्य बराबरको सुन्तला बिक्री भएको जानकारी दिए । कालबहादुर रानाले आफूले रु चार लाखको सुन्तला बिक्री गरेको बताए । उत्पादन भएका सुन्तला बिक्रीका लागि कुनै समस्या नरहेको उनको भनाइ छ । उनले भने, 'ठेकेदार नै गाउँसम्म आउँछन्, सुन्तला बगानको मोलमोलाइ गरेपछि बोट किन्ने, टिप्ने, ढुवानी गर्ने सम्बन्धित ठेकदारले नै गर्छन् ।' स्थानीय मनसिंह थापाले अन्य खेतीभन्दा सुन्तलाखेती गर्न सहज र मनग्य आम्दानी हुने बताए । उनले भने, 'प्रत्येक वर्ष मङ्सिर महिनाभर बेनीकोट गाउँका किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ हुन्छ ।' थापाले यस वर्ष  दुई लाख १० हजार रुपैयाँको सुन्तला बिक्री गरे । भिरालो सडक रहेको र सडकको स्तरोन्नति नहुँदा सदरमुकामबाट नजिकै भए पनि सुन्तला ढुवानीमा समस्या भोग्नुपरेको व्यवसायी लेखबहादुर थापाले बताए । उनले भने, 'अहिले दैनिक पाँच वटासम्म गाडीमा सुन्तला बजार पुर्‍याउने गरिएको छ । जोखिमपूर्ण बाटो भएकाले असहज भने छ ।' बेनीकोटमा एउटा किसानले न्यूनतम २० देखि ८०० सम्म वटासम्म सुन्तलाका बोट लगाएका छन् । यहाँको सुन्तला काठमाडौं, चितवन, पोखरासम्म पुग्ने गरेको छ । मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका किसानको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले किसान यतिबेला सुन्तला टिप्न र बिक्री गर्न व्यस्त छन् । रासस

एनसेल एपको डाउनलोड १ करोड नाघ्यो, दैनिक १० जीबी डेटा उपहार

काठमाडौं । एनसेलको आधिकारिक मोबाइल एप ‘एनसेल एप’ को डाउनलोड सङ्ख्या एक करोड नाघेको छ । एक करोड नाघेको अवसरमा कम्पनीले १० दिने ‘उत्सव कार्यक्रम’ सार्वजनिक गरेको छ । मंगलबारदेखि सुरु भएको योजनाअन्तर्गत हरेक दिन १० जना भाग्यशाली ग्राहकले १० जीबी डेटा निःशुल्क प्राप्त गर्ने एनसेलले जनाएको छ । पहिलो पटक एप डाउनलोड गरी लग–इन गर्ने वा एपमार्फत कुनै प्याक खरिद गर्ने ग्राहकहरू पुरस्कारका लागि योग्य हुनेछन् । विजेताले प्राप्त गर्ने डेटा १० दिनसम्म प्रयोग गर्न सक्नेछन् ।  एनसेलका चिफ डिजिटल च्यानल्स एन्ड एक्सपिरियन्स अफिसर स्टिवन रोड्रिगेजका अनुसार एक करोड डाउनलोडको उपलब्धिले एनसेल एप ग्राहकहरूको डिजिटल दैनिकीको अभिन्न हिस्सा बनेको प्रमाणित गरेको छ । उनले सरकारको डिजिटल नेपाल अभियान तथा कागजरहित सार्वजनिक सेवा प्रवाहलाई यस उपलब्धिले टेवा पु–याएको उल्लेख गर्दै ग्राहकप्रति आभार व्यक्त गरे । एनसेल एपमार्फत ग्राहकले सेन्टर वा पसलमा नगईकनै रिचार्ज, प्याक खरिद, ब्यालेन्स ट्रान्सफर, गुनासो दर्ता, सेवा सक्रिय र निष्क्रिय गर्ने जस्ता सुविधा लिन सक्छन् । विदेशमा रहेका नेपालीले पनि यही एप प्रयोग गरी रोमिङ सेवा व्यवस्थापन तथा रिचार्ज गर्न सक्ने गरेका छन् । गुगल प्ले स्टोर र एप्पल एप स्टोर दुवैमा उपलब्ध एनसेल एप प्रयोगकर्ताको सहजता र प्रयोगअनुकूलता ध्यानमा राखी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।