सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गर्यो, कुटनीतिक नियोग र परियोजनाहरूमा ठूलो छुट

काठमाडौं । सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरूदेखि निकासीको आधारमा सरकारको ठूलो मात्रामा कर फिर्ता गरेको हो ।  आन्तरिक राजश्व विभागका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कर फिर्ताको अवस्थालाई हेर्दा आन्तरिक राजश्व विभागमा कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरूले ५२ करोड ६२ लाख १४ हजार कर फिर्ता माग दाबी गरिएको थियो । जसमध्ये ४५ करोड ५८ लाख ८४ हजार फिर्ता गरिएको छ।  आन्तरिक राजश्व विभाग अन्तर्गतका कार्यालयहरूको कर फिर्ताको अवस्थालाई हेर्दा आ.व. २०८१/०८२ मा लगातार क्रेडिटको आधारमा, निकासीको आधार तथा परियोजनाहरू अन्तर्गत रहेका विभिन्न करदाताहरुलाई समेत ठूलो मात्रामा कर छुट दिइएको छ ।  त्यस्ता करदाता र परियोजनाहरूले २२ अर्ब ५२ करोड २० लाख ६६ हजार ४०३ रुपैयाँ कर फिर्ता माग दाबी गरेका थिए । तर सरकारले ४ अर्ब ३८ करोड ९३ लाख ५२ हजार कर फिर्ता गरेको छ ।  आन्तरिक राजश्व विभागका अनुसार (कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरू तथा निकायहरू) र सो अन्तर्गत कार्यालयहरूबाट (लगातार केडिटको आधारमा, निकासीको आधार तथा परियोजना) समेतबाट सोही आर्थिक वर्षमा कुल १ हजार ४ सय ३३ वटा माग दाबी गरिएको थियो ।  कुल २३ अर्ब ४ करोड ८२ लाख ८० हजार  कर फिर्ता माग दाबी गरिएकोमा  ४ अर्ब ८४ करोड ५२ लाख ३६ हजार ४ सय ९८ रुपैयाँ कर फिर्ता गर्ने निर्णय विभागबाट भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ । राजश्व विभागको कर फिर्ता शाखाले कुटनीतिक निकायहरू तथा कुटनीतिज्ञहरूको मूल्य अभिवृद्धि कर फिर्ता गर्ने, अर्थ मन्त्रालयले मूल्य अभिवृद्धि कर छुटको सुविधा प्रदान गरेको अन्तराष्ट्रिय संस्थाको मू.अ.कर फिर्ता सम्बन्धी कार्य गर्ने लगायत मातहत कार्यालयहरूको कर फिर्ता सम्बन्धी कार्यको अनुगमन तथा सहजीकरण सम्बन्धी कार्यहरू गर्दै आइरहेको छ ।  सो शाखाले कर फिर्ता सम्बन्धमा आइपर्ने नीतिगत एवं कानुनी जटिलता निरुपणका लागि निर्णयका लागि तालुक महाशाखा तथा माथिल्लो पद एवं निकायमा पेश गर्ने, कुटनैतिक सुविधाप्राप्त कुटनीतिज्ञ एवं कुटनीतिक निकायहरूको मू.अ.कर फिर्ता कार्यलाई छिटो छरितो र सहज सम्पन्न गर्ने, मातहत कार्यालयहरूको कर फिर्ता सम्बन्धी कार्यप्रक्रिया सहजीकरण तथा अनुगमन गर्ने एवं कर फिर्ता सम्बन्धी कार्यहरूको अभिलेखीकरण लगायतका गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।  सरकारले कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरू तथा निकायहरूका लागि विद्युतीय माध्यममार्फत मूल्य अभिवृद्धि कर फिर्ता सम्बन्धी कार्यविधि, २०८० मिति २०८०/०७/२० मा स्वीकृत गर्दै कार्यान्वयनमा ल्याएको थियो ।

कुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा योजना

काठमाडौं । कुमारी बैंकले दिगो विकास लक्ष्य हासिल गर्न र सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्न ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । यस योजनाले सार्वजनिक यातायात सेवा प्रवाहमा आवद्ध व्यक्तिहरूलाई विद्युतिय बस र माइक्रोबस खरिदका लागि बैंकबाट आकर्षक ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउनेछ । साथै, ऋणीले भुक्तानी गर्नुपर्ने डाउन पेमेंटमा परियोजनाबाट निर्धारित अनुदान समेत प्रदान गरिनेछ । बैंकले ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट लगायतका संस्थासँगको साझेदारीमा सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजनालाई योजना अन्तर्गत समावेश गरेको छ । यसका अतिरिक्त, हाल इन्धनमा आधारित सार्वजनिक सवारी साधन सञ्चालन गर्ने व्यक्तिहरूले पनि आफ्ना सवारी साधन विद्युतीय सवारी साधनमा परिवर्तन गर्दा थप अनुदान पाउनेछन् । कुमारी बैंकका दिगो बैंकिङ विकास विभागका प्रमुख अर्पण पौडेलका अनुसार यस योजनाबाट ऋणीको सुरुमा आवश्यक पूँजी व्यवस्थापन सहज हुने मात्र होइन, सार्वजनिक यातायातमा विद्युतीय सवारी साधन प्रयोग बढाएर प्रदूषण कम गर्ने बहुआयामिक लाभ पनि हासिल हुनेछ । विगत २४ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ इकाई र ३१७ एटिएममार्फत आफ्ना ग्राहकलाई आधुनिक तथा प्रभावकारी सेवाहरू उपलब्ध गराउँदै आएको छ र आगामी दिनमा पनि सरल, सुलभ र उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

एमाले महाधिवेशनमा गोकर्ण विष्टले उपाध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा वर्तमान सचिव गोकर्ण विष्टले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । विष्टनिकट स्रोतका अनुसार अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलको प्यानलबाट उनी उपाध्यक्ष पदका उम्मेदवार रहनेछन् । यसअघि दुई कार्यकाल सचिवको जिम्मेवारी सम्हालेका विष्ट कार्यकर्तामाझ लोकप्रिय नेताका रूपमा परिचित छन् । उनी अनेरास्ववियुको सचिव तथा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको दुई कार्यकाल अध्यक्षसमेत रहिसकेका छन् । विष्ट गुल्मी क्षेत्र नम्बर २ बाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् । साथै, उनी ऊर्जा तथा श्रम मन्त्रीको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन् ।

बीवाइडीको हाइब्रिड पिकअप ‘सार्क- ६ ’को बुकिङ खुला, मूल्य करिब डेढ करोड

काठमाडौं । नेपालमा चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) बीवाईडीको हाइब्रिड पिकअप शार्क- ६को बुकिङ खुला भएको छ ।  नेपालका लागि बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंकका मार्केटिङ हेड समिद नकर्मीले जानकारी दिए।   नेपालमा शार्क- ६ बीवाईडीको पहिलो हाइब्रिड गाडी हो । कम्पनीले गाडी ‘हाइटेक वीक’ मार्फत पहिलो पटक भित्र्याएको तर लन्च भने नगरेको जनाएको छ । यद्यपि बुकिङ भने गर्न सकिने कम्पनीको भनाइ छ । बीवाइडीको सार्क- ६ मा कम्पनीले ‘डीएमओ’ प्लेटफर्म प्रयोग गरेको छ । यसको अर्थ यो गाडी जस्तोसुकै कठिन सडक (अफरोड) मा पनि सहजै गुड्न सक्छ । यसमा १.५ लिटरको टर्बो फोर सिलिण्डर पेट्रोल इन्जिन र दुईवटा इलेक्ट्रिक मोटरको संयोजन छ । फ्रन्ट मोटरले १७० किलोवाट र रियर मोटरले १५० किलोवाट पावर दिन्छ ।  पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटरको संयुक्त पावर ४३० हर्सपावर रहेको छ, जुन यो सेगमेन्टकै उत्कृष्ट मानिन्छ । यसको गति पनि लोभलाग्दो छ । बीवाइडी सार्कले ० देखि १०० किलोमिटरको गति मात्र ५.७ सेकेन्डमा तय गर्न सक्छ भने यसको अधिकतम गति १६० किलोमिटर प्रतिघण्टा रहेको छ । हाइब्रिड मोडल भएकाले यसमा रेन्जको कुनै समस्या छैन । यसमा बीवाइडीको सुरक्षित मानिने २९.५८ किलोवाट आवरको ‘ब्लेड ब्याट्री’ प्रयोग गरिएको छ । ब्याट्री मात्र प्रयोग गरेर १०० किलोमिटर गुड्न सकिन्छ । इन्धन र ब्याट्री दुवैको प्रयोग गर्दा यो पिकअपले एक पटकमा ८४० किलोमिटर को लामो यात्रा तय गर्न सक्छ । कम्पनीका अनुसार यसले १०० किलोमिटर गुम्न केवल ७.५ लिटर इन्धन खपत गर्छ । गाडीमा एप्पल कारप्ले, एन्ड्रोइड अटो, डिजिटल की र भ्वाइस कन्ट्रोल कनेक्टिभिटी रहेको छ । वायरलेस फोन चार्जर, हेडअप डिस्प्ले र रिमोट भेहिकल मेनेजमेन्ट सुविधा रहेको छ । यस्तै, ३६० डिग्री क्यामरा सिस्टम, अफरोड क्षमता र डाइमेन्सनको समेत सुविधा रहेको छ ।  पूर्ण रूपमा ४ बाई ४ सिस्टममा आधारित यो डबल क्याब पिकअपमा बालुवा, हिलो र  हिउँ गरी ३ वटा ड्राइभ मोडहरू उपलब्ध छन् । साइमेक्स इंकले यसको आधिकारिक मूल्य ठ्याक्कै तोकिसकेको छैन । यद्यपि यो प्रिमियम र पावरफुल हाइब्रिड पिकअप खरिद गर्न चाहने ग्राहकले कम्तीमा १ करोड ५० लाख रुपैयाँ हाराहारी बजेट छुट्याउनु पर्ने कम्पनीको भनाइ छ ।

सन्तोष चालिसेविरुद्ध अख्तियारले गर्‍यो भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका निवर्तमान सभापति सन्तोष चालिसेविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार चालिसे गोकर्णेश्वर नगरपालिकाको मेयर रहेको समयमा पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको प्रमाण फेला परेपछि विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।  आयोगले चालिसेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि अघि बढाएको छ । अख्तियारले अनुसन्धानका क्रममा सार्वजनिक पदमा रहँदा उनले आर्जन गरेको सम्पत्ति वैध स्रोतसँग मेल नखाने निष्कर्ष निकालेको जनाएको छ ।  अख्तियारको दाबीअनुसार चालिसेले ३ करोड ६८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेका थिए । मुद्दामा सोही बराबरको बिगोसमेत मागदाबी गरिएको छ ।  यस विषयमा थप कारबाही विशेष अदालतको निर्णयअनुसार अघि बढ्ने आयोगले स्पष्ट पारेको छ ।

एक अर्ब ४७ करोड लागतको पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । निर्धारित समयसीमाभन्दा तीन वर्षपछि निर्माणाधीन पाँचखाल–सुनकोसी खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । अन्तिम चरणअन्तर्गत पाँचखाल नगरपालिकाका छ हजार परिवारमा खानेपानी पुर्‍याइएको छ । योसँगै आयोजनाबाट यहाँका ३१ हजार नागरिक लाभान्वित हुनेछन् ।       विविध कारण समयसीमाभन्दा तीन वर्षपछि आयोजना निर्माण सकिन लागेको हो । निर्माणाधीन उक्त आयोजनाको भौतिकतर्फ करिब ९९ प्रतिशत प्रगति हासिल भएको आयोजना कार्यालयले जनाएको छ ।      गत वर्षको असोजमा आएको बाढीपहिरोले क्षतिग्रस्त बनेपछि आयोजनाको मर्मत एवं पुनर्निर्माण गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताए । साथै सुनकोशी नदीस्थित स्रोतबाट पानी ल्याएर पाँचखाल–९ डाँडागाउँस्थित ३९ लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्र तथा ओभरहेड ट्याङ्कीमा पानी सङ्कलन गरी परीक्षण सकेर औपचारिक रूपमा लक्षित बस्तीसम्म वितरण गरिएको उनले जानकारी दिए ।      'थपिएकासमेत केही परिवारमा पानी पुर्‍याउन थप अनुसन्धान भइरहेको छ, आयोजना अन्तिम चरणमा पुगेकाले पुस दोस्रो सातासम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखेका छौँ', लामिछानेले भने । उनका अनुसार स्रोतबाट पूर्ण क्षमतामा प्रतिसेकेण्ड ८४ लिटरका दरले पानी प्रशोधन केन्द्रमा ल्याइ  उपभोक्ताका घरमा पानी पठाइएको छ ।      उपभोक्ता समितिले गत वर्षको असोजमा पहिलो चरणमा खानेपानी दिलाउने योजना बाढीपहिरोले मुहान क्षेत्रमा डुबान गर्नुका साथै करिब ७५ मिटर घेरा तथा पर्खाल भत्काएको, ४८ स्थानमा वितरण पाइप तथा केही संरचनामा रु एक करोड ७० लाख क्षति पुर्‍याएपछि योजना असफल भएको थियो ।       दातृ निकायसँगको समन्वयमा समयावधि थप्दै आयोजना सफल बनाइएकामा समितिले औपचारिक रूपमा उद्घाटन गर्न भने बाँकी रहेको जनाएको छ ।      आयोजनाको कार्य अन्तिम चरणमा पुगेसँगै प्रतिघण्टा तीन लाख दुई हजार ४०० पानी सहज रूपमा तान्न सकिने समितिका अध्यक्ष लामिछानेले जानकारी दिए । उनका अनुसार आयोजनाको लक्ष्यअनुसार लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिनेछ ।      आयोजनाअन्तर्गत भौतिकतर्फ सुनकोसी नदी किनारमा छ वटा इनार, चार/चार लाख लिटर क्षमताका दुई वटा पानी सङ्कलन ट्याङ्की, तीन लाख लिटरको ओभरहेड ट्याङ्की, १० वटा नयाँ वितरण ट्याङ्की, छ ब्रेक प्रेसर ट्याङ्की र १५ वटा पाले घर निर्माण सम्पन्न भएका छन् ।      त्यस्तै, पाँच वटा जेनेरेटर राख्ने घर, ट्याङ्की वरपर पर्खाल तथा तारबार लगाउने, छ किलोमिटर पानीको मुख्य प्रसारण लाइन, ३७ किमी शाखा प्रसारण लाइनमध्ये ३५ किमी, २३० किमी वितरण पाइप लाइनमध्ये २२० किमीको काम सम्पन्न भएको समितिले जनाएको छ । हाल कूल छ हजार ३७ धारा सञ्चालनमा आएका छन् । सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच विसं २०७९ माघ मसान्तसम्म सम्पन्न गर्नेगरी विसं २०७७ असार १५ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । आयोजनाको काम कोरोना सङ्क्रमण, मेलम्चीमा आएको बाढी तथा गत असोजको बाढीपहिरोका कारण पूर्वाधारमा क्षति पुर्‍याएपछि लम्बिएको हो ।      पाँचखाल नगरमा खानेपानी व्यवस्थापन गर्न भुम्लु गाउँपालिका–१० विमिरेस्थित सुनकोसी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माण गरिएको समितिका अध्यक्ष लामिछानेले बताए । उनका अनुसार एक अर्ब ४७ करोड ४३ लाख ६० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट पाँचखाल नगरपालिका–२, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का छ हजार ३७ घरका ३१ हजार ४१५ जना नागरिक लाभान्वित भएका हुन् ।      दैनिक प्रतिव्यक्ति १९२ दशमलव शून्य पाँच लिटर पानी उपभोग गर्न पाउने प्रक्षेपण गरिएको आयोजना कार्यालयले जनाएको छ । यस आयोजनाबाट सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुने प्रक्षेपण गरिएको हो ।      सम्झौताअनुसार दातृ निकाय, नेपाल सरकारसहित उपभोक्ताको पाँच प्रतिशत परिवारले प्रतिपरिवार १८ हजार रुपैयाँका दरले रकम बुझाएका हुन् । त्यस्तै, आयोजनाका लागि सम्झौता अनुसार २१४ विपन्न वर्गका उपभोक्ताले भने स्थानीय सहकारी संस्थाबाट ऋण लिई खानेपानीका लागि रकम बुझाएका छन् । रासस

कर बक्यौता चुलिँदै, उठेन ९४ अर्ब ९५ करोड रुपैयाँ कर

काठमाडौं । पछिल्ला वर्षहरूमा उठ्न बाँकी कर बक्यौता चुलिँदै गएको छ । आन्तरिक राजस्व विभागका अनुसार प्रत्येक वर्षजसो बढिरहेको बक्यौता आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्ममा ब्याज, थप दस्तुर र विलम्ब शुल्कसहित उठ्न बाँकी रकम ९४ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । पछिल्लो समय कर कार्यालयहरूले निर्धारण गरेको कर रकमप्रति करदाताले चित्त नबुझाउने क्रम बढेको छ, जसका कारण उठ्न बाँकी कर रकम अर्बौँमा पुगेको विभागले जनाएको छ । विभागका अनुसार कर कार्यालयबाट भएको कर निर्धारणप्रति करदाताले चित्त नबुझाई आन्तरिक राजस्व विभागमा प्रशासकीय पुनरावलोकनमा रहेको तथा अन्य न्यायिक निकायमा अपिलमा रहेको विवादित रकम १ खर्ब ८० अर्ब १० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बक्यौता संकलनतर्फ आयकरमा २२ अर्ब ७६ करोड रुपैयाँ लक्ष्य तोकिएकोमा ८ अर्ब ७१ करोड रुपैयाँ असुली भएको छ । यो लक्ष्यको ३८.२९ प्रतिशत प्रगति हो । त्यस्तै, मूल्य अभिवृद्धि करतर्फ १६ अर्ब ३३ करोड रुपैयाँ लक्ष्य रहेकोमा १० अर्ब ३३ करोड रुपैयाँ असुली गरिएको छ, जुन लक्ष्यको ६३.२८ प्रतिशत हो । बक्यौता समायोजनतर्फ आयकरमा २७ अर्ब ३८ करोड रुपैयाँ लक्ष्य रहेकोमा २१ अर्ब ३९ करोड रुपैयाँ उठेको छ, जुन लक्ष्यको ७८.१ प्रतिशत हो । मूल्य अभिवृद्धि करतर्फ भने १८ अर्ब १७ करोड रुपैयाँ लक्ष्य रहेकोमा २२ अर्ब २९ करोड रुपैयाँ समायोजन भई १२२.६३ प्रतिशत प्रगति भएको आन्तरिक राजस्व विभागले जनाएको छ । कानुनी कारबाहीमार्फत असुल गर्ने लक्ष्य ४ अर्ब ३९ करोड रुपैयाँ तोकिएकोमा अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७९ करोड रुपैयाँ मात्र असुली भएको छ, जुन लक्ष्यको तुलनामा ४०.७७ प्रतिशत प्रगति हो । नेपालमा व्यवसाय, रोजगारी तथा लगानीबाट करयोग्य आय आर्जन गर्ने व्यक्तिले आयकर ऐन, २०५८ को दफा ९६ अनुसार स्वयं घोषणा गरी तोकिएको समयभित्र आय विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । विवरणअनुसारको कर समयमै दाखिला नभएमा, कर परीक्षण तथा अनुसन्धानबाट कर निर्धारण भएमा वा अन्य कुनै कारणले आन्तरिक राजस्व कार्यालयबाट निर्धारण भएका आयकर, मूल्य अभिवृद्धि कर (मू.अ.कर), अन्तःशुल्क तथा साविकका अन्य कर रकम तोकिएको समयभित्र बुझाउन नसक्दा ती रकम बक्यौता कायम हुने गर्दछ । यसरी कायम भएको बक्यौताको अभिलेख राख्ने, मासिक तथा वार्षिक कार्यालयगत बक्यौता संकलन लक्ष्य निर्धारण गर्ने, बक्यौता संकलन रणनीति तयार गर्ने, प्रगति अनुगमन गर्ने तथा कार्यालयहरूबाट उठेका बक्यौतासम्बन्धी जिज्ञासामा स्पष्टता दिने कार्य आन्तरिक राजस्व विभागको बक्यौता शाखाले गर्दै आएको छ ।

लुम्बिनी लायन्स एनपिएलको दोस्रो संस्करणको च्याम्पियन, सुदूरपश्चिमलाई ६ विकेटले हरायो

काठमाडौं । लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि  जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा शनिबार भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।  सुदूरपश्चिम यसपट्क पनि उपविजेतामै रोकियो । पहिलो संस्करणको फाइन खेलमा सुदूरपश्चिम जनकपुर बोट्ल्ससँग पराजित भएको थियो । यसपटक उपाधिसहित लुम्बिनीले रु एक करोड १० लाख हात पार्यो । उपविजेता सुदूरपश्चिमले रु ५१ लाखमा चित्त बुझायो ।  सुदूरपश्चिमले जितका लागि दिएको ८६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले नौ ओभरमा चार विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । लुम्बिनीका लागि दिनेश अधिकारीले सर्वाधिक ४२ रनको योगदान दिए । उनले १३ बलमा एक चौका र पाँच छक्का प्रहार गर्दै ४२ रनको योगदान गरेका हुन् ।  यस्तै, डार्शी शर्टले १४ रन बनाए । उनले १३ बलमा तीन चौका प्रहार गर्दै १४ रन बनाए । कप्तान रोहित पौडेलले १६ रन बनाए । उनले १२ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै १६ रन बनाएका हुन् । निरोशन डिक्वेलले ११ रनमा अविजित रहे । यस्तै, सन्दिप जोरा शून्यमा आउट भए । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले दुई विकेट लिए भने अविनाश बोहोरा र दिपेन्द्रसिंह ऐरीले समान एकरएक विकेट लिए । यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको थियो । सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन जोडे । उनले ५१ बलमा एक चौकाको सहयोगमा ३३ रन जोडेका हुन् ।  यस्तै, कप्तान दिपेन्द्रसिंह ऐरीले १३ रन बनाए भने हरमीत सिंह र स्कट कुगेलिइनले समान १०-१० रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यानहरूले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । लुम्बिनीका लागि शेर मल्ल, रुबेन ट्रम्पेलमान र  कप्तान रोहित पौडेलले समान तीनरतीन विकेट हात पारे । यस्तै, टीका भन्डारीले एक विकेट लिए ।  

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड, दुई हजार ५०० सुरक्षाकर्मी तैनाथ

भक्तपुर । सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा शनिबारबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ ।      विभिन्न जिल्लाबाट बस रिर्जभ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटनस्थलको गेट बाहिर भीड लागेको हो । महाधिवेशनका लागि निर्माण गरिएको विशाल मञ्च, सभास्थल तथा आवश्यक भौतिक संरचनाको काम पूर्णरूपमा सम्पन्न भइसकेको एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिए ।    उनका अनुसार मञ्च, ध्वनि प्रणाली, प्रकाश व्यवस्था, एलइडी स्क्रिन, बसाइँ व्यवस्था तथा व्यवस्थापनसम्बन्धी सबै तयारी तोकिएकै समयमै सम्पन्न गरिएको जानकारी दिँदै उनले शनिबार बिहानैदेखि आएका नेता तथा कार्यकर्तालाई गेट बाहिरै राखिएको बताए । उद्घाटनस्थलाई व्यवस्थित गर्न, सुरक्षा जाँचलाई दुरुस्त राख्नका लागि बिहान १०ः३० सम्मका लागि गेट बन्द गरिए ११ बजेबाट प्रवेश कार्यक्रमस्थलमा प्रवेश गर्नेको भीड लागेको छ ।      आज दिउँसो १२ः३० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा राखिएको विद्युतीय पालालाई  रिमोटद्वारा बालेर उद्घाटन गर्ने गरी तयारी भएको छ । पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ झण्डा राखिएकामा १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने गरी तयारी गरिएको छ । औपचारिक रूपमा उद्घाटन गर्न महाधिवेशनको शुभारम्भ गर्ने तयारी सम्पन्न भएको जानकारी दिँदै उनले महाधिवेशनस्थलमा सुरक्षाका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको जानकारी दिए ।  दुई हजार ५०० सुरक्षाकर्मी तैनाथ      महाधिवेशन उद्घाटनस्थलको सुरक्षालाई ध्यानमा राख्दै बम विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले आज बिहान जाँच गरेको जानकारी दिँदै सुरक्षा व्यवस्थालाई कडा पारिएको प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिए ।      उनले बम डिटेक्टर उपकरण प्रयोग गरी मञ्च, सभास्थल र वरपरका क्षेत्रमा सुक्ष्म जाँच गरेको जानकारी दिँदै सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका प्रहरी गरी दुई हजार ५०० सुरक्षाकर्मी उद्घाटनस्थलमा तैनाथ गरिएको जानकारी दिए । सुरक्षाको व्यवस्थामा कुनै कमी नरहने गरी व्यवस्थापन गरेको जानकारी दिँदै उनले सिसी क्यामराबाट निगरानी गर्ने टोलीसमेत खटाएर सुरक्षा निगरानी गरिरहेको बताए । सभास्थलका साथै र्याली आउने स्थल, सडक, पार्किङस्थललगायत क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका सुरक्षाकर्मी तैनाथ गरिएको जानकारी दिए । कार्यक्रमस्थलमा कहिकतै शङ्कास्पद गतिविधि भएको देखिए तत्कालै पक्राउ गर्ने गरी तयारी गरेको उनले जानकारी दिए ।  ५० भन्दा बढी सिसी क्यामरा       उद्घाटनस्थलको मञ्च, मञ्च प्रवेश गर्ने गेट, आसपासका क्षेत्र र सभास्थलको बीच तथा वरिपरिका क्षेत्रमा ५० भन्दा बढी सिसी क्यामरा जडान गरिएको छ । एमाले अध्यक्ष देउजाले कार्यक्रमस्थलमा ५० भन्दा बढी सिसि क्यामरा जडान गरिएको र त्यसको निगरानी एमालेको एक युवा टोली र सुरक्षाकर्मीले गरिरहेको जानकारी दिए । गाउँगाउँबाट र्याली सुरु      महाधिवेशनको उद्घाटनस्थलमा आउनका लागि भक्तपुरका चारवटै पालिकाले गाउँगाउँबाट र्याली सुरु गरेको छ । सूर्यविनायक नगरपालिकाअन्तर्गत वडा नं १ देखि ५ सम्मल कटुञ्जेबाट, वडा नं ७ ले गुण्डुबाट, वडा नं ६ देखि १० सम्मले जगाती एवं सूर्यविनायक चोकबाट र्याली सुरु गरेको छ ।      चाँगुनारायण नगरपालिकाअन्तर्गत वडा नं. १ देखि ४ सम्मले दुवाकोटबाट, वडा नं ५ देखि ८ सम्मले कमलविनायकबाट र वडा नं ९ ले भक्तपुर नगरपालिकाबाट सुरु हुने च्यायामासिंहस्थित र्यालीमा मिसिएर ¥याली सुरु भएको छ । भक्तपर नगरपालिकाले नगर क्षेत्र परिक्रमा गर्दै कार्यक्रमस्थलमा आउने गरी र्याली सुरु गरेको छ भने मध्यपुथिमि नगरपालिकाले शङ्खधर चोकबाट र्याली सुरु गरेको छ ।      सबै र्यालीमा विभिन्न जाति, भेषभूषा एवं कला र संस्कृति झल्कने बाजा तथा झाकी एवं नृत्य प्रदर्शन गर्दै ¥याली सुरु भएको छ । विभिन्न जिल्लाबाट आउने सहभागीहरुको र्याली भने पूर्वतर्फ जगातीबाट र पश्चिमतर्फ गठ्ठाघरबाट सुरु हुँदैछ ।  यस्तो रहनेछ उपस्थिति       महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधिको सहभागिता रहने जानकारी दिँदै  महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट तीन लाख नेता तथा कार्यकर्ताको उपस्थित रहने बताए । उनले कार्यक्रममा नेपालको एकताको प्रतिकका रुपमा २०० भन्दा बढी नेपाली विभिन्न जातजातिको कला, संस्कृति झल्काउने झाँकीको प्रदर्शन हुने बताए ।      उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस सभापति, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका १६ पार्टीका अध्यक्ष एवं नेताले शुभकामना दिने कार्यतालिका तय भएको जानकारी दिँदै उनले भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कूटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिको शुभकामना सन्देश प्राप्त भइसकेको जानकारी दिए ।      त्यसैगरी महाधिवेशन स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालले महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न पार्टीको २४ का जनसङ्गठनहरूको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ककड्रेसकोडमा खटिएको जानकारी दिए । जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिएको जानकारी दिए ।    एमालेले लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई मुख्य स्वरुपमा राखेर उपत्यकाका महत्वपूर्ण विभिन्न मन्दिर एकै ठाउँ देखाउने गरी नेपालकै इतिहासमा पहिलो पटक यति ठूलो र कलात्मक एवं ऐतिहासिकता झल्कने आकर्षक मञ्च निर्माण गरिएको छ । मञ्चलई धेरै सहभागीहरुले उत्कृष्ठताको नमूनाको संज्ञा दिएका छन् ।      टाढासम्म रहेका सहभागीले वक्ताले बोलेको प्रस्ट देखिने गरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुई वटा एलइडी स्क्रिन राखिएको, तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरुका लागि २५ हजार कुर्सी राखिएको छ ।  यस्तो छ पार्किङको व्यवस्था      महाधिवेशनको उद्घाटन सत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने सवारीसाधनका लागि निम्ति कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा आउन सकिने र गठ्ठारघमार रहेको नागरिक उड्डयन प्राधिकरणको खाली चौरमा तथा काभ्रे हुँदै आउने सवारीका लागि जगातीस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था गरिएको जानकारी दिँदै गठ्ठाघर र जगातीबाट भव्य ¥याली कार्यक्रमस्थल आउने गरि व्यवस्था गरिएको जानकारी दिएको छ । रासस

१६ करोडमा मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ । म्याग्दी र गुर्जाखोलाको दोभानमा धौलागिरि गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर घर्तीले पहुँचमार्ग निर्माण कार्यको सुरुआत गरेका हुन् । दोभानदेखि अर्चेको फेदीमा रहने बाँध निर्माणस्थलसम्म आठ किलोमिटर पहुँचमार्ग निर्माण गर्न थालिएको प्रवद्र्धक कम्पनी एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रचरले जनाएको छ । प्रवद्र्धक कम्पनीका सम्पर्क व्यक्ति राम केसीले विद्युत्गृहदेखि बाँध रहने स्थानसम्म पहुँचमार्ग पुर्याएपछि सिभिल ठेकेदारमार्फत बाँध, सुरुङ र विद्युत्गृह निर्माण थालिने जानकारी दिए । 'पहुँचमार्ग निर्माणसँगै वित्तीय व्यवस्थापन, सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदार छनोटको कामलाई पनि समानान्तर हिसाबले अघि बढेको छ', उनले भने, 'सुरुङ निर्माणमा आवश्यक पर्ने विस्फोटक पदार्थ भण्डारण र सुरक्षाका लागि आयोजनास्थलमा नेपाली सेनाको पोष्ट राख्न आवश्यक पूर्वाधार निर्माण पनि सुरु गर्ने तयारी छ ।' अर्चेको फेदीमा बाँध, गुर्जा र म्याग्दी नदीको दोभानमा विद्युत्गृह रहने आयोजनाको चार किलोमिटर सुरुङ रहनेछ । विद्युत् खरिद बिक्री सम्झौता भइसकेको आयोजनाले विद्युत् विकास विभागबाट जेनेरेशन अनुमतिपत्र पाइसकेको छ । बाँध र विद्युत्गृहको हेड ३३७ मिटर रहेको छ । यस आयोजनाको लागत प्रतिमेगावाट रु १६ करोड अनुमान गरिएको केसीले बताए । रन अफ द रिभर (नदी प्रवाह)मा आधारित यस आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतमा निर्माण गरेको १३२ केभिए क्षमताको सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा आबद्ध गराइनेछ । दोभानदेखि डाँडाखेतसम्म म्याग्दी र सहायक नदीमा निर्माणाधीन अन्य आयोजनासँग पनि साझेदारी गरेर आठ किलोमिटर लामो प्रशारण लाइन निर्माण गरिने भएको छ । धौलागिरि गाउँपालिका–४ को भूगोल भएर बग्ने नदीहरूमा मुदीखोलाबाहेक ५३ दशमलव पाँच मेगावाट क्षमतको अपर म्याग्दी–१, ४६ दशमलव २५ मेगावाटको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणाधीन छन् । पैँसठ्ठी मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले जेल्तुङदेखि दोभानमा रहने बाँध जोड्ने पहुँचमार्ग निर्माणको तयारी गरेको वडाध्यक्ष घर्तीले बताए ।  रासस

इसेवाको ३० करोड ६० लाख नगद लाभांश पारित, आईपीओ जारी गर्ने तयारी

काठमाडौं । इसेवा लिमिटेडको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मङ्‌सिर २४ गते काठमाडौं स्थित मेरियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीको अध्यक्षतामा कम्पनीका शत प्रतिशत सेयरधनीहरूको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो ।  साधारण सभाले आ.व. २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गरेको छ । त्यसैगरी, आ.व. २०८१/८२ को लेखापरीक्षक प्रतिवेदनका आधारमा कम्पनीको खुद नाफा तथा जगेडा कोषबाट हालको चुक्ता पूँजीको ८०.५३ प्रतिशतले हुन आउने ३० करोड ६० लाख रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । साथै, चुक्ता पूँजीको ३१.५८ प्रतिशत बराबरको १२ करोड रुपैयाँको बोनस सेयर जारी गर्ने निर्णयसमेत सभाले स्वीकृत गरेको छ । साधारण सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरू सुबास शर्मा र सौगात केसीलाई पुनः निर्वाचित गरेको छ । साथै, आ.व. २०८२/८३ का लागि पीकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनीलाई लेखापरीक्षकका रूपमा नियुक्त गर्ने निर्णय पनि पारित गरिएको छ । वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीले कम्पनीको वित्तीय अवस्था तथा अन्य सूचकहरू उत्साहजनक रहेको उल्लेख गर्दै आगामी दिनमा थप सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले नियामकीय अनुपालनप्रति कम्पनीले शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताउँदै प्रयोगकर्ता, आधिकारिक प्रतिनिधि, मर्चेन्ट, नियामक निकाय तथा कर्मचारीहरूप्रति धन्यवाद व्यक्त गरे । त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले लगानीकर्ताहरूको विश्वास, सञ्चालक समितिको मार्गदर्शन तथा व्यवस्थापन टोलीको निरन्तर मिहिनेतका कारण कम्पनीलाई सुदृढ अवस्थामा पुर्‍याउन सफल भएको बताए । उनले दीर्घकालीन दृष्टि र रणनीतिक रोडम्याप तयार गर्दै जोखिम न्यूनीकरणमा कम्पनी केन्द्रित रहेको जानकारी पनि दिए । साधारण सभामा कम्पनीका सेयरधनीहरूले कम्पनीको उत्कृष्ट वित्तीय अवस्था, बढ्दो ब्राण्ड मूल्य र देश तथा विदेशमा इसेवाको सेवा तथा प्रभाव विस्तारबारे खुसी व्यक्त गरेका थिए । त्यस्तै, व्यवसाय विस्तारसँगै जोखिम र नियमनसम्बन्धी चुनौतीहरू बढ्दै गएकाले नवप्रवर्तन, लगानी, नाफा वितरण योजना, जोखिम न्यूनीकरण तथा दिगोपनमा ध्यान दिन सुझाव दिए । त्यस्तै, साधारण सभामा कम्पनीले निकट भविष्यमा आईपीओ जारी गरी सर्वसाधारण जनतासम्म पुग्ने योजना रहेको जानकारी दिइएको थियो । 

६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने भएको हो ।  केन्द्रिय बैंककाअनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दति निक्षेपमा लगानी गरिने छ ।  वाणिज्य बैंकमा ५ अर्ब २८ करोड , विकास बैंकमा ९९ करोड र वित्त कम्पनीमा ३३ करोड मुद्दती निक्षेपमा लगानी गरिनेछ । १८ डिसेम्बर २०२५ देखि १८ डिसेम्बर २०२६ सम्म ३ सय ६६ दिनको मुद्दति निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।  निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्युनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जा/निक्षेप अनुपात समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपने शर्त राष्ट्र बैंकको छ ।  त्यसैगरी, निक्षेप लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक वा सीईओ उक्त संस्थामा कायम नरहेको हुनुपर्ने र यदि कायम रहेको भए जरिवाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने पनि शर्त छ ।  त्यस्तै, राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त केन्द्रीय बैंकको छ । उक्त मुद्दति राख्न चाहने बैंक वित्त संस्थाले कात्तिक ४ भित्रै राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पठाउन भनिएको छ । 

नेपाली सेनाले माग्यो पुजारीदेखि इन्जिनियरसम्म ३८८ जना कर्मचारी

काठमाडौं । नेपाली सेनाले पुजारीदेखि सैनिक ईन्जिनियरका लागि जागिर खुलाएको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जङ्गी अड्डाले विभिन्न प्राविधिक तथा हवाई पदहरूमा ३८८ जना कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको हो । सेनाले नर्सिङ, ओभरसियर, भेहिकल मेकानिक्स, भिडिओग्राफरदेखि पुजारीसम्म विभिन्न संख्यामा प्राविधिक कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो । सेनाले स्वास्थ्य, इन्जिनियरिङ, प्राविधिक र हवाईतर्फ कर्मचारी पदपूर्ति गर्न लागेको हो । इच्छुक र योग्यता पुगेका नेपालीहरूले आजदेखि पुस २६ गतेसम्म र दोब्बर दस्तूरमा माघ ३ गतेसम्म दरखास्त दिन सकिनेछ । दरखास्त दस्तुर पदअनुसार ४००, ३०० र २०० रूपैयाँ तोकिएको छ । अन्य समूहमा दरखास्त दिँदा थप २० प्रतिशत शुल्क लाग्नेछ ।

उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने, कसले पाउला १.१० करोड रुपैयाँ पुरस्कार ?

काठमाडौं । काठमाडौंमा जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३:३० बजे हुने फाइनल खेलमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो । दीपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ । गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ । लिग चरणमा भएको यी दुवबैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो । एनपीएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५१ लाख रुपैयाँ, तेस्रो टोलीले २५ लाख रुपैयाँ र चौथो १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियोे ।

लगानीकर्ता त्रसित पार्ने समूह विरुद्ध रिलायन्स स्पिनिङ्ग कानुनी कारबाहीमा जाने, १.६० अर्ब रुपैयाँको आवेदन

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले अभियन्ताको भेषमा असुलीर्कताहरुको संगठित समूहले लगानीकर्तालाई त्रसित बनाएको आरोप लगाएको छ । कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै अभियन्ताको भेषमा रहेका असुलीकर्ताहरूको एक सङ्गठित समूहले लगानीकर्ताहरूलाई त्रसित बनाउन र नियामक निकायलाई ब्याकमेल गर्न कपोलकल्पित र भ्रामक अफबाह फैलाएको आरोप लगाएको हो ।  कम्पनीको प्रतिष्ठामाथि आँच पुग्ने गरी फैलाइएका यी आरोपहरू सतप्रतिशत झूटा, बदनियत पूर्ण र केवल व्यक्तिगत लाभका लागि सेयर बजारमा चलखेल गर्ने उद्देश्यले नियोजित रूपमा सिर्जना गरिएको कम्पनीले जनाएको छ । ‘सर्वोच्च अदालतले उनीहरूको आधारहीन रिट निवेदन दर्ता गर्न अस्वीकार गरे लगत्तै यो चरित्र हत्याको अभियान सुरु गरिएको हो । अदालतको कानुनी लडाइँमा असफल भएपछि गिरोहले झुटको खेतीको सहारा लिएको स्पष्ट छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बजारमा वित्तीय आतङ्क फैलाएको र आपराधिक मानहानि गर्ने गिरोहलाई प्रचलित कानून बमोजिम राज्यका सम्बन्धित निकायहरूमा कडा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ ।  साथै बार्गेनिङ र ब्याकमेलिङ विरुद्ध ४ हजार कर्मचारी र २० हजार भन्दा बढी लगानीकर्ताहरूका साथ अझै उभिरहने कम्पनीले जनाएको छ ।  १.६० अर्बको रुपैयाँको आवेदन कम्पनीले गत मंसिर २२ गतेदेखि मंसिर २५ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुलाई छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्रीमा राखेको थियो । आवेदन दिने अन्तिम दिन विहीबारसम्म कम्पनीको आईपीओमा वैदेशिक रोजगारमा रहेका ३४ हजार २८७ जना लगानीकर्ताले १९ लाख ५२ हजार ४७० कित्ता सेयरका लागि १ अर्ब ६० करोड २५ लाख ८७ हजार रुपैयाँ बराबरको आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ । बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही निर्देशिकाको दफा (१४) मा भएको व्यवस्था बमोजिम कट अफ मूल्यमा १० प्रतिशत छुट दिँदा हुन आउने प्रतिकित्ता ८२०.८० रुपैयाँ सेयर मूल्य सर्वसाधारण लगानीकर्ताहरुका लागि तोकिएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।   

भिजिट भिसा प्रकरणः सहसचिव भट्टराई र अधिकृत अर्यालसहित ७ विरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । भिजिट भिसा दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव तीर्थराज भट्टराईसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीवार अख्तियार भिजिट भिसा दुरुपयोग प्रकरणमा सहसचिव भट्टराईसहित ७ जना र दुईवटा कम्पनीलाई समेत प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले ७ चैत  २०८१ मा सहसचिव भट्टराईलाई पक्राउ गरेपछि भिजिट भिसा प्रकरण सतहमा आएको थियो ।  विशेष अदालका उपरजिस्ट्रार तथा प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार सहसचिव भट्टराईसँगै अधिकृत यज्ञराज अर्याल, ग्रिन लाइन होलिडेका अध्यक्ष बालकृष्ण खड्का, फेमिलि होलिडेका सञ्चालक दीपक भण्डारी, ग्रिन लाइन सञ्चालक राम खड्का, सहायक कविता पौडेल, जग्गा कारोबारी खेम सुवेदीलाई प्रतिवादी बनाइएको छ ।  अभियोगपत्रअनुसार प्रतिवादीहरुले २५७ जनालाई विदेश पठाएबापत बद्नियतपूर्वक सेटिङ गरी रिसवट लिई भ्रष्टाचारजन्य कार्य गरेको अख्तियारको दाबी रहेको उनको भनाइ छ । उनले भने, ‘आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित ७ जना व्यक्ति र दुई वटा कम्पनी समेतलाई प्रतिवादी बनाई घुस, रिसवत तथा सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको छ । २५७ जनालाई विदेश पठाएवापत बद्नियतपूर्वक सेटिङ गरी रिसवट लिई भ्रष्टाचारजन्य कार्य गरेको अख्तियारको मुख्य दाबी छ ।’ भिजिट भिसा दुरुपयोगको प्रकृतिअनुसार बिगो माग दाबी गरिएको समेत उनले जानकारी दिए ।

वेवारिसे अवस्थामा करिब एक टन गाँजा बरामद

विराटनगर । मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ ।      इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए । घटनापछि गाँजा ओसारपसारमा लाग्ने व्यक्तिको खोजी भइरहेको उनले बताए ।   

बैंकका शाखा मर्जरले कराेडाैं बचत, नाफा बढ्ने

काठमाडौं । ‘काठमाडौंको न्युरोड, विशाल बजार क्षेत्रमा १०/१५ मिटरको दूरीमा बैंकहरूका ६०/६५ वटा शाखा कार्यालय छन् । विशाल बजार, न्युरोड क्षेत्रमा भाडा पनि एकदमै महँगो छ । १०/१२ लाख रुपैयाँसम्म भाडा तिरिरहेका छन् । अब नेपाल राष्ट्र बैंकले शाखा मर्जरको नीति ल्याएपछि सहज हुने भयाे । एउटा शाखाबाट अनुमानित कम्तीमा २५ देखि ३० लाख रुपैयाँ महिनाको बचत हुने देखिन्छ,’ एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी (एसीईओ) जयेन्द्र रावलले भने ।  उनका अनुसार पछिल्लो समय बैंकहरूले डिजिटल कारोबारलाई जोड दिइरहेकाले राष्ट्र बैंकको शाखा मर्जरको नीति सकारात्मक छ । विगतमा धमाधम खोलिएका बैंकका शाखा अब मर्जरको माध्यमबाट घटाउन सहयोग पुग्ने उनको भनाइ छ । ‘सहरी क्षेत्र विशेषगरी महानगरपालिका र उप-महानगरपालिकामा शाखाहरू धेरै भएका हुन् । साथै पछिल्लो समय डिजिटल ट्रान्जिक्सन एकदमै ह्वात्तै बढेको छ । ग्राहकहरू भौतिक रुपमा शाखामा उपस्थित भएर हुने कारोबार (फिजिकल फुटप्रिन्ट)मा कमी आएको छ,’ एसीईओ रावलले भने, ‘अब शाखा मर्जर गर्न पाउँदा बैंकहरूको नाफामा पनि सकारात्मक प्रभाव पर्नेछ ।’  शाखा मर्जरले बैंकिङ क्षेत्रमा हुने अस्वस्थ प्रतिस्पर्धा पनि घट्नेछ भने सेवा प्रवाहमा सहजता आउने उनको भनाइ छ । उनका अनुसार एनआईसी एशिया बैंकले शाखा मर्जरका लागि वर्कआउट गरिरहेकाे छ । साथै राष्ट्र बैंकले सर्कुलर जारीपछि मात्रै शाखा मर्जरका लागि प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।  ‘कति नाफा हुनसक्ला भनेर हिसाब निकालिसकेका छैनौं । जस्तो काठमाडौं महानगरपालिका भित्र विशाल बजार, न्युरोड क्षेत्रमा एउटै शाखाको १०/१२ लाख रुपैयाँसम्म भाडा तिर्ने गरिएको छ । त्यसैले अब शाखा मर्जर गर्याे भने कर्मचारीबाहेक २५ देखि ३० लाख रुपैयाँ महिनाको बचत हुने देखिन्छ । किनकी कर्मचारीहरू अरु शाखामा स्थानान्तरण भइहाल्छन्,’ उनले भने, ‘शाखाको आकार, पोर्टफोलियो लगायत विषय हेर्नुपर्छ । त्यसकारण कति वटा शाखा कार्यालय मर्ज गर्ने भनेर अध्ययन हुन बाँकी छ । सर्कुलर आइसकेपछि मात्रै कति शाखा बन्द गर्ने भन्ने तथ्याङ्क आउनेछ ।’ शाखा मर्जरको लागि नेपाल बैंकर्स संघले राष्ट्र बैंकलाई सुझाव दिएको हो । साथै डिजिटल कारोबारहरू बढ्दै र पहुँच बढ्दै गएपछि बैंकहरुले पनि विभिन्न चरणमा विगत एक/डेढ वर्षदेखि शाखा मर्जरको माग गरिरहेका थिए । ‘कुनै बेला हामीले न्युरोड, विशाल बजार क्षेत्रमा ७/८ वटा काउन्टर राखेका थियौं । अहिले अवस्था ठ्याक्कै उल्टो छ । अहिले २/३ वटा शाखा राखेपनि पर्याप्त हुन्छ । डिजिटल कारोबारको पहुँच बढ्दै जाँदा मान्छेहरू डिजिटलाईज हुँदैछन् । अब मोबाइल बैंक, क्रेडिट कार्ड, डेबिट कार्डको प्रयोग सामान्य भइसक्यो,’ उनले भने, ‘युवा पुस्ता लगायत सबैलाई सजिलो भएकाले डिजिटलतर्फ आकर्षित भइरहेका छन् । एनआईसी एशियामा ९०/९२ प्रतिशत कारोबार डिजिटलबाट हुन्छ ।’ ग्लोबल आइएमई बैंकका एसीईओ चन्द्रराज शर्मा महानगरपालिकामा शाखा मर्जर गर्न पाउँदा बैंकहरूलाई फाइदा हुने बताउँछन् । बैंकहरूले डिजिटलाइजेशनमा जोड दिइरहेकाले शाखा मर्जर अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । उनका अनुसार बैंकको कुल कारोबारमा ८५ प्रतिशत कारोबार डिजिटलको माध्यमबाट हुने गरेको छ । शाखा कार्यालयमा ग्राहकहरूको उपस्थिति पनि घट्दै गएको उनले बताए । ‘जस कारण शाखा कन्सोलिडेट गर्यो भने खर्च कम हुने भयो । जस्तै भाडा, बिजुली, पानी लगायतमा ठूलो खर्च हुन्छ । त्यसकारण बैंकको फाइनान्सियसमा राम्रो नै प्रभाव पर्नेछ,’ उनले भने, ‘हामीले पनि शाखा मर्जरका लागि अध्ययन गरिरहेका छौं । ग्राहकको सेवालाई असर नपर्ने गरी कुन–कुन मर्जर गर्न सकिन्छ भने सबै अध्ययन भइरहेको छ ।’  उनका अनुसार नाफा बढाउने भनेको आम्दानी बढाएर वा लागत घटाएर हो । यदि शाखा मर्ज गर्याे लागत बचत भएपछि नाफामा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत (डीईओ) पवन रेग्मी शाखा मर्जरले सकारात्मक फाइदा पुर्याउने बताउँछन् । तर, राष्ट्रिय वाणिज्य बैंकले शाखा मर्जरका लागि कुनै रणनीति नलिएको उनको भनाइ छ ।  ‘शाखा मर्जरको योजना छैन । त्यसकारण राष्ट्र बैंकको व्यवस्थाले केही असर गर्ने देखिँदैन । बरु हामी डिजिटल विस्तारसँगै शाखा विस्तार पनि गरिरहेका छौं । सबै जनता पूरै शिक्षित छैनन् । सबैले डिजिटल प्ल्याटफर्म प्रयोग गर्न सक्दैनन् । वित्तीय पहुँच हाम्रो पहिलो प्राथमिकता हो,’ उनले भने, ‘लगानी गर्ने, कर्जा दिने, निक्षेप संकलन लगायत अन्य बैंकिङ प्रडक्टहरू बिक्रीका लागि शाखा नै चाहिन्छ । त्यसकारण शाखा मर्ज गर्ने हाम्रो मनसाय छैन।’  मर्ज भएका निजी लगानीका बैंकहरुका लागि शाखा मर्जर आवश्यक परेको हुँदा यो व्यवस्था ल्याइएको हुन सक्ने उनले सुनाए ।  हिमालयन बैंकका एसीईओ सुनिलप्रसाद गोर्खाली विगतमा आक्रामक रुपमा व्यवसाय गर्ने उद्देश्यले विस्तार गरिएपनि पछिल्लो समय आर्थिक मन्दीका कारण घाटामा शाखा चलाउनु परेको बताउँछन् । आर्थिक मन्दी र अनलाइन बैंकिङका कारण शाखा मर्जर गर्न आवश्यक देखिएको र शाखामा जाने ग्राहकहरूको संख्या नै कमी आएको उनको भनाइ छ । शाखा मर्ज हुँदा सञ्चालन खर्च लगायत प्रशासनिक खर्चसमेत घट्ने भएकाले नाफा वृद्धि हुने उनले बताए ।  ‘विगत २/३ वर्षदेखि आर्थिक मन्दीका कारण घाटामा चलिरहेका छन् । व्यापार व्यवसाय पनि खासै हुन सकिरहेको छैन । एउटा शाखामा कर्मचारी खर्च, भाडा, प्रशासनिक खर्च हुन्छ,’ उनले भने, ‘कुनै बैंकले ५० लाख र कुनै बैंकले १ करोडमा शाखा खोलेका हुन्छन् । किनभने फर्निचर फिक्सर, जेनेरेटर, मेच टेबल राख्दा ५० देखि एक करोडसम्म लागत लाग्छ ।’  उनका अनुसार अब मर्जर गरेपछि १ करोड रुपैयाँ बच्ने होइन । त्यो खर्च भइसकेको हो । तर शाखामा हुने विभिन्न खर्च कम हुने भएकाले त्यो रकम बचत हुने उनले बताए ।  ‘टाढाका शाखा मर्ज हुँदैनन् । जस्तो ठमेल र बत्तीसपुतली शाखा मर्जर गर्दैनौं । बिजनेश भायविलिटी नभएका नजिकका शाखा मर्ज गर्छाैं । जस्तो साबिक सिभिल बैंकको भीमसेनथान शाखा छ र साथै एउटा शाखा टेकुमा छ । टेकु र भीमसेनथान शाखाको दूरी २/३ सय मिटरको फरकमा होला,’ उनले भने, ‘तत्कालीन समयमा ती शाखा ठिकै थिए । अब भिमसेनथान शाखाललाई टेकुमा राख्दा त्यहाँको कर्मचारी पनि टेकु नै जान्छन्, बिजनेश पनि टेकुमै जान्छ । त्यसरी शाखा मर्जर गर्न खोजिएको हो ।’ 

एक वर्षमै सवा करोडले लिए सेवा, स्रोत अभावले स्वास्थ्य बीमा संकटमा

काठमाडौं । अघिल्लो आर्थिक वर्षमा १ करोड २५ लाखले अस्पतालमै पुगेर स्वास्थ्य सेवा लिएका छन् ।  स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले औसतमा एउटै मान्छे ५ पटक अस्पताल गएर सेवा लिएको जानकारी दिए । २५ लाख मान्छेले एकपटक मात्र अस्पताल पुगेर सेवा लिएका छन् ।  स्वास्थ्य बीमा बोर्डले आयोजना गरेका एक कार्यक्रममा उनले अस्पतालमा गएर स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा लिनेको संख्या ठूलो मात्रामा बढेको बताए ।  काफ्लेका अनुसार यो तथ्यांक प्रत्येक वर्ष बढ्दै गएको छ । कार्यकारी निर्देशक काफ्लेले गुणस्तरीय सेवा बढाउन र लागत घटाउन नेपालमा स्वास्थ्य बीमाले नै निर्णय भूमिका खेल्ने समेत बताए । उनका अनुसार बीमा कार्यक्रममार्फत कभरेज बढाउनका लागि कामहरू भइरहेको छन् । धेरै भन्दा धेरै नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने प्रयास भइरहेको छ । स्वास्थ्य बीमा ऐन, २०७४ लाई सुधारेर लैजान कामहरु समेत भइरहेको उनले जानकारी दिए । काफ्लेका अनुसार नयाँ दररेटहरू निर्धारण गर्ने समेत तयारी छ । अहिलेका प्याकेजहरूलाई समेत सुधारेर अघि बढिनेछ भने अब प्रत्येक स्वास्थ्य सेवा सुविधाको बारेमा यसै आर्थिक वर्षबाटै क्याम्पेन सञ्चालन गरिनेछ ।  अहिले स्वास्थ्य सेवा उपलव्ध गराएका अस्पताललाई समयमै भुक्तानी गर्न स्रोतको चरम अभाव परिरहेको छ । बीमा कोषलाई बलियो बनाएर प्रभावकारी रूपमा सेवा सञ्चालनका लागि गृहकार्य भएको उनले बताए । स्रोतको अभावका कारण कार्यक्रम प्रभावकारी बन्न कठिन भइरहेको सरोकारवालाहरू बताउँछन् । धुलिखेल अस्पतालका डाक्टर बलाराम मल्लले स्वास्थ्य बीमामार्फत प्रवाह हुने स्वास्थ्य सेवा गुणस्तरीय गराउन बोर्ड लाग्नुपर्ने बताए । उनका अनुसार गुणस्तरीय सेवा दिन नसके बीमित निराश बन्नुपर्ने अवस्था आउने र स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन सक्दैन ।  उनले स्वास्थ्य बीमाले भुक्तानी गर्नुपर्ने रकम समयमै नदिँदा पनि समस्या हुने कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका सदस्य डा. मुक्तिराम श्रेष्ठले स्वास्थ्य बीमा बोर्ड परनिर्भर बन्दा पनि कार्यक्रम प्रभावकारी बन्न नसकेको बताए । उनका अनुसार वार्षिक पौने ४ अर्ब प्रिमियर बोर्डले उठाइरहेको छ तर १४ अर्ब अस्पतालहरूलाई तिर्नुपर्ने हुन्छ । प्रत्येक वर्ष १० अर्ब स्वास्थ्य बीमाले तिर्दै जाँदा धान्नसक्ने स्थिति नरहेको उनको भनाइ छ ।  उनका अनुसार नेपालमा स्वास्थ्य सबैको पहुँचमा हुनुपर्छ । पहुँच विस्तारका लागि आवश्यक जनशक्ति हुन जरुरी छ भने स्वास्थ्य संस्थाहरूको पहुँच पनि विस्तार हुनुपर्छ । अहिले ६० प्रतिशतभन्दा बढी स्वास्थ्य संस्थाहरू सहरी क्षेत्रमा स्वास्थ्य संस्थाहरू छन् । बाँकी १५–२० प्रतिशत स्वास्थ्य संस्थाहरूं ग्रामीण क्षेत्रमा छन् ।  ग्रामिण भेगमा ६०–६५ प्रतिशत जनता छ । त्यहाँ अस्पतालको पहुँच नहुँदा सहरी क्षेत्रका स्वास्थ्य संस्थाबाट उनीहरुले सेवा लिनुपर्ने बाध्यता रहेको डाक्टर श्रेष्ठले बताए ।   स्वास्थ्य सेवा वितरणमा अहिले एकदमै असमानता रहेको उनको भनाइ रहेको छ ।  श्रेष्ठका अनुसार स्वास्थ्य विमाको प्रथम सेवा बिन्दुलाई स्थानीय तहसँग समन्वय गरेर विस्तार गर्नुपर्छ । प्रथम सेवा बिन्दुबाटै धेरै कुराहरु त्यही समाधान होस् भन्ने हिसावले राखिएको समेत उनले बताए ।

पुटिन-सुबियान्तो भेट : भारत, रूस र ग्लोबल साउथको शक्ति-समीकरणमा नयाँ संकेत

काठमाडौं । इन्डोनेशियाका राष्ट्रपति प्रबोवो सुबियान्तो हाल रूसको भ्रमणमा छन्, जहाँ उनले दुबै देशबीचको सैन्य सहकार्यदेखि लिएर व्यापारसम्मका विषयमा छलफल गरेका छन् ।  यस दौरान मस्कोमा उनको भेट रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भयो । भेटवार्तामा सुबियान्तोले पुटिनलाई इन्डोनेशिया आउने निम्ता दिए र यस क्रममा भारतको पनि उल्लेख गरे । सुबियान्तोले भने, ‘म तपाईंलाई इन्डोनेशिया आउने निम्ता दिन चाहन्छु । तपाईंलाई जब समय मिल्छ, २०२६ वा २०२७ मा । तपाईं आउनुभयो भने हामीलाई धेरै खुसी हुनेछ । किनकि मात्र भारत नै त्यो देश हुनु हुँदैन जहाँ तपाईं जानुहुन्छ ।’ सुबियान्तोको यो कुरा सुनेर पुटिन पनि मुस्कुराए । पुटिन ४ र ५ डिसेम्बरमा भारतको दुईदिने औपचारिक भ्रमणमा थिए । यस क्रममा दुबै देशबीच धेरै सम्झौताहरू भए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिनलाई गरेको स्वागत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा निकै चर्चा भयो । यो इन्डोनेशियाका राष्ट्रपतिको यस वर्षको रूस दोस्रो भ्रमण थियो । पुटिन केही समयदेखि ग्लोबल साउथका मुलुकहरूसँग सम्बन्ध सुधार्ने प्रयासमा छन्, ताकि युक्रेन युद्धपछि अमेरिका र पश्चिमी देशहरूले लगाएका प्रतिबन्धबीच रूसको अर्थतन्त्रलाई पुनः अघि बढाउन सकियोस् । पुटिनले भेटवार्तामा इन्डोनेशियासँग बढ्दै गएको सैन्य सम्बन्धबारे खुसी व्यक्त गर्दै भने कि रूस परमाणु ऊर्जा क्षेत्रमै पनि इन्डोनेशियालाई सहयोग गर्न तयार छ । यसभन्दा पहिला पुटिनले मंगलबार भारतको प्रशंसा गर्दै भनेका थिए कि भारत पनि रूसकै जस्तै ‘विविधतामा एकता’ भएको देश हो र यस ‘विशेषता’लाई जोगाएर राख्नु अत्यन्त महत्त्वपूर्ण छ । सिभिल सोसाइटी एन्ड ह्युमन राइट्स काउन्सिललाई सम्बोधन गर्दै पुटिनले भने, ‘म हालै भारत गएको थिएँ, जहाँ डेढ अर्ब मानिस बस्छन् । तर करिब एक तिहाइ अर्थात् झण्डै ५० करोडले मात्र हिन्दी बोल्छन् । बाँकी सबैले फरक–फरक भाषा बोल्छन् । कहिलेकाहीँ त उनीहरू एकअर्काको कुरा पनि बुझ्दैनन् । रूसमा पनि करिब २७० भाषा बोलिन्छन् । दुवै देशभित्र कति विविधता छ । भारत र रूसजस्ता देशहरूको यस बहुसांस्कृतिक पहिचानलाई हामीले बचाएर राख्नु छ ।’ पुटिनको भारत भ्रमण चर्चित बन्नुको कारण पुटिनको भारत भ्रमणका क्रममा दुबै देशबीच मिडिया, अन्तरिक्ष (स्पेस) र फर्मा क्षेत्रलगायत करिब एक दर्जन समझौतामा सहमति भएको थियो । यद्यपि कुनै ठूलो घोषणा नभए पनि विश्वभर अमेरिकी र युरोपेली प्रतिक्रिया तथा भारतको आतिथ्यका कारण यो भेटघाट निकै चर्चामा रह्यो । संयुक्त राज्य अमेरिकाले भारतले रूसी तेल किन्दै आएको भन्दै ५० प्रतिशत टैरिफ लगाएको छ । अमेरिका लगातार भारतलाई रूसबाट तेल खरिद बन्द गर्न दबाब दिइरहेको छ । धेरै युरोपेली देशहरूले पनि भारत–रूस व्यापारिक सम्बन्धप्रति आपत्ति जनाउँदै यसले ‘युक्रेन युद्धमा पुटिनलाई अप्रत्यक्ष सहयोग’ पुर्याइरहेको दाबी गरेका थिए । भारतले भने यो आरोपलाई सदैव अस्वीकार गर्दै आएको छ र आफ्नो नीति ‘घरेलु उपभोक्ताको हितअनुसार निर्णय लिनु’ रहेको बताउँदै आएको छ । यी सबै कारणहरूलाई लिएर नै पुटिनको भारत भ्रमणमा विश्वको ध्यान परेको थियो । चीनका विदेश मन्त्रालयका प्रवक्ता गुओ जाकुनले नियमित प्रेस ब्रिफिङमा भने, ‘चीन, भारत र रूस द्रुत गतिमा बढिरहेका अर्थतन्त्र हुन् र ग्लोबल साउथको महत्त्वपूर्ण हिस्सा हुन् । तिनबीचको राम्रो सम्बन्ध केवल तिनकै लागि होइन, विश्व शान्तिका लागि पनि अत्यन्त महत्त्वपूर्ण छ ।’ यसअघि रूसी मिडियाले पनि पुटिनको भारत भ्रमणलाई ट्रम्प र युरोपेली देशका लागि ‘असहज बनाउने घटना’ भनेर वर्णन गरेको थियो । ५ डिसेम्बर शुक्रबार रूसी सरकारी टिभीको करेन्ट अफेयर्स टक शोमा होस्टले पुटिनको भारत भ्रमणबारे युरोपेली मिडियामा आएका टिप्पणीकामाथि व्यङ्ग्य गरे । रसिया–१ च्यानलको ‘६० मिनेट्स’ कार्यक्रममा होस्ट ओल्गा स्काबेयेभाले भने कि प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिनलाई जुन तरिकाले स्वागत गरे त्यसले ‘रूसका विरोधीहरूलाई असहज बनाएको’ हुनुपर्छ । त्यसैगरी रूसी विश्लेषक भ्लादिमिर कोर्निलोभले पुटिनको भारत भ्रमणलाई ‘वास्तविक अर्थमा एउटा वैश्विक घटना’ भने । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का पूर्व अधिकारी माइकल रुबिनले एएनआईसँग कुरा गर्दै भने, ‘भारत र रूसलाई नजिक ल्याउन डोनाल्ड ट्रम्प नोबेल पुरस्कारका हकदार छन् ।’  ‘रूसको दृष्टिकोणले हेर्दा यो भ्रमण अत्यन्त सकारात्मक छ र भारतले पुटिनलाई जुन सम्मान दियो, त्यो उनलाई संसारका अन्य ठाउँमा पाउन कठिन छ । म त भन्छु, ट्रम्पलाई नोबेल पुरस्कार मिल्नै पर्छ किनकि भारत र रूस जसरी एकअर्कासँग नजिक आए, त्यो उनकै कारण सम्भव भएको हो,’ उनले भने । (बीबीसी हिन्दीबाट अनूदित तथा सम्पादित)