बैंकिङ व्याजदर वृद्धिको असर नेप्सेमा, सेयर बजार पुनः करेक्सनको बाटोमा
काठमाडौं । साताको दुई दिन निरन्तर दोहोरो अंकले बढेको बजार मंगलबार दोहोरो अंकले घटेर पुनः करेक्सनको बाटोतर्फ लागेको छ । मंगलबारकाे नेप्से परिसूचक १४.६१ अंकले घटेर ११६८.१७ अंकमा झरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले बढाएको निक्षेप व्याजदरका कारण सेयर बजार घटेको जानकारहरु बताउँछन् । बैंकहरुले मासिक व्याज भुक्तानीमा वार्षिक १३.५ प्रतिशतसम्म व्याज दिने भएका छन् । उक्त आकर्षक व्याज पाउने लोभमा लगानीकर्ताहरु सेयर बजारमा भन्दा बैंकतिर आकर्षित भएका देखिन्छ । यसले गर्दा मंगलबारकाे सेयर बजारमा गिरावट देखिएकाे हाे । बजार दोहोरो अंकले घट्दा निर्जीवन बीमा समूह उच्च अंकले ओरालो छ । यो समूह एकैदिन १९२ अंकले घटेको छ । जीवन बीमा ४९, विकास बैंक २०, माइक्रोफाइनान्स १८, हाइड्रोपावर १६ र बैंकिङ् समूह १५ अंकले राताम्मे भएका छन् । सो दिन उत्पादनमूलक र अन्य समूह क्रमशः ९ र ५ अंकले हरिया देखिएका छन् । मंगलबार नेप्से परिसूचकमा गिरावट भएपनि सेयर कारोबारमा भने सुधार भएको छ । दिनभर १५९ कम्पनीको ५३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा ११ करोड रुपैयाँ बढी हो । सोमबारको बजारमा ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सेयर बजारले गति लियो, नेप्से १३ अंकले बढ्दा निर्जीवन बीमा समूहमा उच्च वृद्धि
काठमाडौं । सेयर बजारमा सरकारले सकारात्मक नीति लिएपछि सेयर बजारले गति लिएको छ । आइतबार दोहोरो अंकले बढेको बजार सोमबार पनि १५.१७ अंकले बढेर ११८२.७८ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.३० प्रतिशत वृद्धि हो । अर्थमन्त्रालयले समिति गठन गरेपछि लगानीकर्ता आशावादी देखिएका छन् । जसले गर्दा सेयर कारोबार रकममा पनि सुधार देखिएको छ । सोमबार कुल १५९ कम्पनीको ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी छिमेक लघुवित्त विकास बैंकको ४ करोड ८३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, दोहोरो अंकले उकालो लागेको बजारमा विभिन्न ४ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९२ प्रतिशत कमाएका छन् । त्यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाको ९.८९, पूर्णिमा विकास बैंकको ९.८० र आरम्भ माइक्रोफाइनान्सको ९.२१ प्रतिशतले सेयर मूल्यमा वृद्धि भएको छ । निर्जीवन बीमा समूहको सूचक २२०.५१ अंकले उकालो लागेको छ । सोमबार ट्रेडिङ समूह बाहेक कारोबारमा आएका बाँकी समूह हरिया भएका छन् । ट्रेडिङ समूह सामान्य ३.०४ अंकले घटेको छ ।
सुरेन्द्र पाण्डेले भनेः सरकारले सेयर बजारका लगानीकर्ताको संरक्षण गर्नुपर्छ
काठमाडौं । ‘सन २००८ को महामन्दी ताका जर्मनीमा बैंकहरुमा सर्वसाधारण पैसा लिन लाइन लागेका थिए, सरकारले संकट निम्तिने देखेपछि बैंकहरुले पैसा नदिए आफुले दिने घोेषणा गरिदियो, त्यो घोषणाकै कारण संकट समाधान भयो, अहिले नेपाली सेयर बजारमा संकट आएको छ, सरकारले पनि त्यस्तै केहि उपाय ल्याउनु पर्छ’, यो भनाई कुनै लगानीकर्ताको नभएर पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको हो । संसदको अर्थ समिति बैठकमा पूर्व अर्थमन्त्री पाण्डेले सेयर कर्जा हाउजिङ कर्जा जस्तो असुरक्षित नहुने भएकाले त्यसको सिमा ६० प्रतिशत पुर्याउँदा पनि फरक नपर्ने बताइँरहदा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले टाउको हल्लाएका थिए । हाल केन्द्रिय बैंकले सेयर कर्जाको मार्जिन लेण्डिङ ५० प्रतिशतमा सिमित गरेको छ । सेयर बजारमा सरकारले सकारात्मक हस्तक्षेप गर्नुपर्ने धारणा पाण्डेले राखेका थिए । छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडाले ब्याजदर वृद्धि हुँदा सेयर बजार ओरालो लागेको बताएका थिए । उनले नागरिकले बैंकमा निक्षेप राख्ने र सेयरमा लगानी गर्ने विकल्पमध्ये एउटा छान्नुपर्ने अवस्था रहेकाले अहिलेका लागि सेयर होल्ड गर्नुपर्ने सुझाव समेत दिए । पुर्व अर्थमन्त्री डा. बाबुराम भट््टराईले भैँसी देखि जोगी तर्सने र जोगीदेखि भैँसी तर्सने अवस्था सृजना भएको धारणा राखे । उनले त्यस्तो अवस्थाको तत्काल अन्त्य आवश्यक रहेको पनि बताए ।
दुई दिन लगातार दोहोरो अंकले बढेको सेयर बजार फेरि किन घट्यो ?
काठमाडौं । यस साताको शुरुदेखि लगातार दुई दिन दोहोरो अंकले बढेको सेयर बजार मंगलबार पुन ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक ३.०८ अंकले घटेर ११४१.१० अंकमा झरेको छ । पूर्ण अनलाइन प्रणाली कार्यान्वयनमा आएपछि उकालो लागिरहेको बजारमा मंगलबार भने नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । सो दिन १६४ कम्पनीको सेयर ३८ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल बैंककाे सेयर काराेबार भएकाे छ । जसकाे एकैदिन १३ कराेड ४८ लाख रूपैयाँ बराबरकाे सेयर किनबेच भएकाे छ । बजारमा अधिकांश समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह २८ अंकले घटेको छ । त्यस्तै, जीवन बीमा २५, होटल १४, माइक्रोफाइनान्स १० अंकले ओरालो लागेका छन् । उत्पादनमूलक, फाइनान्स र अन्य समूह क्रमशः १३, ०.१७ र ०.६२ अंकले राताम्मे भएका छन् । सबैभन्दा बढी मन्जुश्री फाइनान्सका लगानीकर्ताले ७.२५ प्रतिशत गुमाएका छन् । फाइनान्सले प्रस्तावित ९ प्रतिशत नगद लाभांश घटाएर २.१ प्रतिशतमा पुर्याएपछि संस्थाको सेयर मूल्य घटेको छ । जसबाट सेयरधनीहरु निराश भएका सेयर मूल्यले संकेत गरेको छ । मंगलबार यस संस्थाको सेयर मूल्य ७.२५ प्रतिशतले घटेर प्रतिकित्ता ११५ रुपैयाँमा झरेको छ ।
सेयर बजार १२ अंकले बढ्यो, यस्ता छन् कारण
काठमाडौं । सोमबारको सेयर बजार १२.४९ अंकले उकालो लागेको छ । पुँजी बजारमा लगानीकर्ताको मनोबल बढ्दै गएपछि यस साताको शुरुवातदेखि नै सेयर बजार निरन्तर दोहोरो अंकले उकालो लागेको हाे । नेपाल धितोपत्र बोर्डले आइतबार साझ एक विज्ञप्ति जारी गरी अहिलेकाे समय सेयरमा लगानी गर्न उपयुक्त समय रहेको बताएपछि लगानीकर्ताको सेयर बजारप्रति मनोबल बढ्दै गएको हो । त्यस्तै, अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा समिति गठन गरेपछि सेयर बजार बढ्दै गएको जानकारहरु बताउँछन् । अर्थमन्त्रालयले वित्त र सेयर बजारको समस्याको उपाय खोज्न उक्त समिति गठन गरेको हो । समितिले आगामी एक हप्ताभित्र प्रतिवेदन बुझाउन माग गरेको छ । त्यसैगरी, आइतबारदेखि पूर्ण अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि लगानीकर्ताहरु उत्साहित भएका छन् । आफै युजर नेम र पासवर्ड लिई सेयर खरिद बिक्री गर्न पाउने भएपछि लगानीकर्ताहरु सेयर बजारमा आकर्षित देखिएका छन् । सोमबारको बजारमा नेप्से परिसूचक सँगै सेयर कारोबारमा पनि सुधार आएको छ । आइतबार २२ करोडको कारोबार भएको बजारमा सोमबार ४३ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा २१ करोड रुपैयाँ बढी हो । बजारमा कारोबारमा आएका १० समूहमध्ये अधिकांश समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ९८ अंकले उकालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा समूह ७२.०५, होटल २३, माइक्रोफाइनान्स १८ र बैंकिङ समूह १३ अंकले बढेका छन् । उत्पादनमूलक र अन्य समूहको सूचक भने सामान्य अंकले ओरालो लागेको छ ।
अनलाइन प्रणाली शुरु भएपछि सेयर बजार बढ्यो, नेप्से दोहोरो अंकले उकालो
काठमाडौं । नेप्सेले पूर्ण अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएपछि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सञ्चालनमा आएकै दिन नेप्से परिसूचक १०.८५ अंकले उकालो लागेर ११३१.७० अंकमा पुगेको छ । उक्त प्रणाली शुरु भएको करिब एक महिनापछि नेप्सेले पूर्ण सञ्चालनमा ल्याएको हो । यसअघि ब्रोकरले मात्र प्रयोग गरेको अनलाइन प्रणाली अब लगानीकर्ताले पनि प्रयोग गर्न पाउने भएका छन् । त्यसकालागि लगानीकर्तालाई युजर नेम र पासवर्ड लिनु पर्ने हुन्छ । आइतबार कुल १५५ कम्पनीको २२ करोड ३७ लाख रुपैयाँ कारोबार भएको छ । सबैभन्दा बढी नेपाल बैंकको २ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २९५ रुपैयाँ रहेको छ । सो दिन दुई समूह बाहेक कारोबारमा आएका सबै समूहको सूचक हरिया भएका छन् । निर्जीवन बीमा समूह ३९.८९ अंकले उकालो लागेको छ । त्यस्तै, बैंकिङ् र विकास बैंक समूह क्रमशः १३ र १२ अंकले घटेका छन् । फाइनान्स र उत्पादनमूलक समूह क्रमशः १०.०३ र ०.२४ अंकले ओरालो लागेका छन् भने बाँकी समूह सामान्य अंकले बढेको छ ।
आकाश छुने ब्याजदर, धर्तीमा धसिएको सेयर बजार, के यो समृद्धिको संकेत हो ?
काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले अस्थिर ब्याजदरकाबीच सरकारको मौनता प्रति आपक्ति जनाएका छन् । बैंकहरुले ब्याजदर बढाएकोमा उद्योगहरुले आपक्ति जनाईसकेका छन् । सेयर बजारका लगानीकर्ताले पनि ब्याजदरमा बैंकहरुको मनोमानी प्रति सरकार उदासिन रहनु दुःखद पक्ष भएको बताए । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडलले ‘बढ्दो ब्याजदर, घट्दो सेयर बजार, कहाली लाग्दो मार्जिन कल अनि मौन सरकार’, भनेर टिप्पणी गरेका छन् । फोरमकै उपाध्यक्ष छोटेलाल रौनियारले पनि ब्याजदरमा देखिएको अस्थिरता प्रति सरकारको मौनता गम्भीर बिषय भएको बताए । ‘अर्थतन्त्रका अन्तरकुन्तर सबैको बुझेका अर्थमन्त्रीले ब्याजदरमा बैंकहरुले देखाएका दादागिरी कसरी सहनु भएको हो ? नेपाल राष्ट्र बैंक के हेरेर बसिहरको छ ? ८ प्रतिशतको आर्थिक वृद्धिदर यसैगरि ल्याउने हो त ?’ रौनियारले प्रतिप्रश्न गरे । अर्का लगानीकर्ता कमल भारतीले पनि ब्याजदरबारे सरकारी मौनताले देशलाई गलत बाटोमा लगिरहेको आरोप लगाए । ‘सीमित मान्छेहरुको चलखेलका आधारमा बैंकहरुले ब्याजदर परिमार्जनको निर्णय गर्दै आएका छन्, यसमा सरकारले कठोर कदम चाल्नु आवश्यक छ’, भारतीले भने । उनले ब्याजदरलाई देखाएर ठूला लगानीकर्ताहरुले बजार घटाएर सेयर खरिद गर्ने षड्यन्त्र रचेको आरोप पनि लगाए । बजारमा ३२ अर्ब रुपैंयाँ लगानी योग्य पुँजी थपिएकै दिन ब्याजदर बढाउने निर्णय गरेर सरकारलाई बैंकहरुले चुनौती दिएको आरोप पनि लगाए ।
वाणिज्य बैंकहरुकाे मुद्दति खातामा १३ प्रतिशत व्याज, सेयर बजार थप जाेखिममा
काठमाडौं । वाणिज्य बैंकहरुले १३ प्रतिशत व्याजदरमा मुद्दति निक्षेप संकलन गर्न थालेका छन् । कुमारी बैंकले १३ प्रतिशत व्याजमा ३ वर्षसम्मको मुद्दति खातामा निक्षेप आह्वान गरेको छ । बैंकले कम्तिमा १० हजार रुपैयाँ निक्षेप रहेको मुद्दति खातामा पनि १३ प्रतिशत व्याज दिने भएको छ । व्यक्तिगत निक्षेपकर्तालाई मात्र यो सुविधा हुने बैंकले जनाएको छ । विशेष मुद्दति नाम दिएकाे उक्त बचतकाे व्याज मासिक रूपमा भुक्तानी गरिने बैंकले जनाएकाे छ । अरु बैंकहरुले पनि विहीबारदेखि १३ प्रतिशत व्याजमा निक्षेप आह्रवान गर्ने सम्भावना रहेको छ । सार्वजनिक सूचनामा तोकिएको भन्दा शुन्य दशमलव ५ प्रतिशतसम्म व्याज थपेर निक्षेप लिन पाउने व्यवस्था रहेकोले निक्षेपकर्ताले १३.५ प्रतिशतसम्म व्याज पाउन सक्नेछन् । मंगलबार जनता बैंक नेपालले १२ प्रतिशत व्याजमा निक्षेप संकलन गर्ने विज्ञापन सार्वजनिक गरेको थियो । बुधबार माछापुच्छ्रे बैंकले १२.५ प्रतिशत व्याजमा निक्षेप लिने योजना सार्वजनिक गरेको छ । माछापुच्छ्रेले १२.५ प्रतिशत व्याज मासिक रुपमा भुक्तानी गर्ने र ५ वर्ष अवधि सम्मको लागि निक्षेप लिने जनाएको छ । यसरी नै प्रतिस्पर्धा बढ्दै जाँदा निक्षेपकाे व्याज १५ प्रतिशतसम्म पुग्ने अडकलबाजी भइरहेकाे छ । ‘कर्जाकाे माग बढेकाे छ । सरकारले हस्तक्षेप गरेन भने निक्षेपकाे व्याज १४/१५ प्रतिशतसम्म पुग्न सक्छ’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने । सोमबारसम्म बैंकहरुले निक्षेपकर्तालाई बचतमा ७ प्रतिशत र मुद्दतिमा १० प्रतिशत मात्र व्याज दिने गरेका थिए । तीन दिनमा बैंकहरुले निक्षेपको व्याज ३० प्रतिशतले वृद्धि गरेका छन् । बैंकहरुको व्याजदर वृद्धिको प्रत्यक्ष असर पुँजी बजारमा परेको छ । बुधबार बैंकहरुले १२.५ प्रतिशत व्याजमा ५ वर्षसम्मको निक्षेप लिने सूचना प्रकाशित गरेपछि सेयर बजार २२ अंकले घटेको छ । बैंकहरुले १३ प्रतिशत व्याज दिएपछि सेयर बजारमा थप गिरावट आउन सक्ने अनुमान गरिएको छ । थप समाचार पखाला लागेर बैंकहरु सिकिस्त भए, अर्थमन्त्री दाँतकाे कुरार्इमा बस्लान् वा उपचार पनि खोज्लान् ? निक्षेपमा अधिकतम १२ प्रतिशत व्याज दिने वित्त कम्पनी संघको निर्णय, वाणिज्य बैंकहरुको लागि चुनौति
बैंकहरूले व्याज बढाएपछि सेयर बजारमा पहिरो, नेप्से परिसूचक २२ अंकले घट्यो
काठमाडौं । बैंकहरूले निक्षेपकाे व्याज बढाएपछि सेयर बजार उच्च अंकले घटेकाे छ । बुधबार नेप्से परिसूचक २२.८० अंकले ओरालो लागेको छ । मुद्दति खातामा यसअघि १० प्रतिशत व्याज दिदै अाएका बैंकहरूले बुधबार १२.५ प्रतिशसम्म व्याज प्रस्तावसहितकाे व्यवसायिक याेजना सार्वजनिक गरेका थिए । करिव दुर्इ सातादेखि निरन्तर घट्दै अाएकाे सेयर बजार मंगलबार दोहोरो अंकले बढेको थियाे । खासगरी स्थानीय तहले बैंकमा राखेकाे निक्षेप मध्ये ५० प्रतिशत प्रयाेग गर्न पाउने सरकारी निर्णयले मंगलबार बजारमा सकारात्मक प्रभाव पारेकाे थियाे । तर बुधबार फेरि सेयर बजारकाे लागि परिस्थिति प्रतिकूल बनेकाे छ । भारी अंकले घटेको बजारमा कारोबारमा आएका सबै समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १८५ अंकले घटेको छ । त्यस्तै, जीवन बीमा समूहको सूचक ९६ अंकले ओरालो लागेको छ । फाइनान्स समूह २.४ अंकले घटेको छ भने बाँकी समूहहरु दोहोरो अंकले राताम्मे भएका छन् । बुधबार सबैभन्दा बढी राधी विद्युत कम्पनीका लगानीकर्ताले ६.८९६ प्रतिशत गुमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँले घटेर १६२ रुपैयाँमा झरेको छ । त्यस्तै, ९ वटा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ प्रतिशतले घटेको छ । बजारमा कुल १५६ कम्पनीको ३७ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल बैंकको ३ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
सेयर बजार दोहोरो अंकले बढ्यो, लक्ष्मी लघुवित्तका सेयरधनीले कमाए ९ प्रतिशत बढी
काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । कारोबार खुलेदेखि नै उकालो लागिरहेको बजारमा नेप्से परिसूचक १०.२७ अंकले बढेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा परिसूचक ०.९१ प्रतिशतले बढेर ११४२.०१ अंकमा पुगेको छ । सो दिन नेप्से परिसूचकमा दोहोरो अंकको सुधार आएता पनि कारोबार रकममा भने गिरावट भएको छ । सोमबार ६३ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा मंगलबार जम्मा ३८ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २५ करोड रुपैयाँ घटी हो । मंगलबार कुल १६१ कम्पनीको १२ लाख २२ हजार १४४ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम र कित्ता दुबैको आधारमा नेपाल बैंकको बढी कारोबार भएको छ । बैंकको ३ लाख ८९ हजार ४६९ कित्ता सेयर ११ करोड ४२ लाख रुपैयाँमा किनबेच भएको छ । केहि दिनदेखि यस बैंकको सेयर कारोबारमा सुधार हुँदै आइरहेको छ । दोहोरो अंकले बढेको बजारमा सबैभन्दा बढी लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । उक्त संस्थाका लगानीकर्ताले एकैदिन ९.९७ प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता ७६१ रुपैयाँ रहेको छ । संस्थाले सेयरधनीलाई २६.३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । उक्त लाभांशलाई आगामी पुस १ गते बस्ने वार्षिक साधारणसभाले पारित गर्ने छ । सो प्रयोजनको लागि संस्थाको मंसिर १९ अर्थात भोलिदेखि बुक क्लोज हुँदै छ । त्यसैले लगानीकर्ताहरु यस संस्थाको सेयरमा आकर्षित भएका जानकारहरु बताउँछन् । त्यसपछि ग्लोबल आईएमई बैंकको ३ करोढ ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस दिने निर्णय घोषणा गरेपछि संस्थाको कारोबार रकम र सेयर मूल्य दुबैमा वृद्धि भएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँले बढेर ३१७ रुपैयाँमा पुगेको छ । बजारमा सबैभन्दा बढी विकास बैंकको समूह उकालो लागेको छ । विकास बैंकको सूचक ३२, निर्जीवन बीमा २०.०१, अन्य समूह १८ र जीवन बीमा १५ अंकले बढेका छन् । दुई समूह होटल र ट्रेडिङ बाहेक बाँकी समूह सामान्य अंकले बढेका छन् । होटल र ट्रेडिङ समूह क्रमशः ३.८१ र ०.५१ अंकले घटेका छन् ।
सेयर बजार तीन वर्ष यताकै न्युन विन्दुमा, नेप्सेको आश्वासनपछि पनि सुध्रिएन बजार
काठमाडौं । सोमबार नेपाल स्टक एक्स्चेन्ज परिसूचक नेप्से करिब ३ वर्ष यताकै न्यून विन्दुमा पुगेको छ । वि.सं. २०७२ साल पुस २३ गते ११६४.१४ विन्दुमा रहेको नेप्से त्यसपछिका दिनहरुमा क्रमशः बढ्दै १८८१ अंकको ऐतिहासिक रेकर्ड कायम गर्दै तल झरेको थियो । त्यसपछि पहिलोपटक त्योभन्दा कममा झरेको हो । साताको दोस्रो दिन आज ६.३५ अंकले घट्दा बजार परिसूचक ११६०.२८ विन्दुमा झरेको छ । गत वर्ष चैत १२ गते नेप्से न्यूनतम ११६६.०१ विन्दुसम्म झरे पनि त्यसपछिका दिनहरुमा नेप्से फेरि उकालो लाग्दै १४३८.४९ विन्दु सम्म पुगेको थियो । बजारको यो गिरावटलाई बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको लगानीयोग्य पुजीको अभाव, बढ्दो नगद लाभांशको प्रवृत्ति र नेपाल स्टक एक्सचेन्जको अनलाइन प्रणालीमा आएको खराबीलाई मुख्य कारणको रुपमा हेरिएको छ । अनलाइन प्रणालीमा लगानीकर्ताले युजरनेम र पासवर्ड नपाएको र मार्केटडेफ्थ, फ्लोरसीट जस्ता विवरणहरु सिस्टममा नदेखाएको र यसमा नेप्से तथा ब्रोकरहरुको समेत संलग्नता रहेको भन्दै लगानीकर्ताहरुले बिहान नेप्से घेराऊ गरेका थिए । उनीहरुले ग्राहकले युजरनेम र पासवर्ड कहिले पाउने मिति तय गर्नुपर्ने अडान लिएपछि नेप्से, वाइको र डाटा हव कम्पनीहरुको संयुक्त बैठक बसी लगानीकर्तालाई मंसिर २३ गतेदेखि युजरनेम र पासवर्डमार्फत् कारोबार गर्न पाउने व्यवस्था गर्ने बताएका थिए । नेप्सेको आश्वासनपछि लगानीकर्ताहरु बाहिरिए पनि उनीहरुले बजारप्रति भरोसा गर्न सकेनन् । फलस्वरुप बजार खुलेदेखि नै निरन्तर रुपमा घट्दै ११६० को अंकमा झरेको हो ।
सेयर बजारको उतारचढावलाई सरकार विरुद्धको प्रमुख आर्थिक एजेन्डा बनाउँदै काँग्रेस
काठमाडौं । नेपाली काँग्रेसले नयाँ सरकारको गठनपछि नेपाली पुँजीबजारको क्षेत्रमा आएको उतारचढावलाई वर्तमान सरकारविरुद्धको प्रमुख आर्थिक एजेन्डा बनाउने भएको छ । काँग्रेसको आसन्न महासमिति बैठकका लागि तयार गर्न लागिएको आर्थिक प्रस्तावका क्रममा काँग्रेस निकट विज्ञहरुले सो विषयलाई प्रमुख एजेन्डा बनाउन सुझाव दिएका छन् । वर्तमान सरकारले लिएकाे नीति र उसकाे व्यवहारिक चरित्रका कारण निजी क्षेत्रले खुलेर व्यवसाय गर्ने वातावरण नभएकाे र त्यसकाे प्रत्यक्ष असर शेयर बजारमा देखिएकाे भन्दै विज्ञहरुले साना ठूला लगानीकर्ता अट्नसक्ने क्षेत्र भएकाे हुनाले साे एजेन्डा उठाए त्यसले अाम सर्वसाधारणकाे भावनालार्इ प्रत्यक्ष समेट्न सक्ने सुझाव विज्ञहरुकाे थियाे । बुधबार दिउँसो पार्टी कार्यालय सानेपामा आयोजित विज्ञ भेटघाटका क्रममा सहभागीहरुले पार्टीको अबको आर्थिक एजेन्डा कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा सुझाव दिएको संसदसमेत रहेका काँग्रेसको आर्थिक विभाग प्रमुख दिव्यमणि राजभण्डारीले बताए । छलफलको क्रममा डा. स्वर्णिम वाग्ले, डा. गोविन्दराज पोखरेल, डा. जगदीशचन्द्र पोखरेल, डा. विश्व पौडेल, डा. शंकर शर्मा, दुर्गेशमान सिंह, भानु आचार्य, कृष्ण ज्ञवाली, डा. लक्ष्मीराज पाठक लगायतको सहभागिता थियो । बदलिँदो आर्थिक परिवेशअनुकुलको पार्टीको आधिकारिक आर्थिक नीति तर्जुमा गर्न नेपाली काँग्रेसले विज्ञ तथा व्यवसायीहरुसँग सुझाव संकलन सुरु गरेको हो । काँग्रेसले बिहीबार नेपाल उद्योग वाणिज्य महासंघसँग आवद्ध व्यवसायीहरुसँग छलफल गर्नेछ । त्यसका लागि उसले बिहीबार दिउँसो महासंघको कार्यालय टेकुमा छलफल कार्यक्रमको आयोजना समेत गरेको छ । छलफलमा एफएनसीसीआई सहित नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघसँग सम्बन्धित सम्पूर्ण व्यवसायीहरुलाई आमन्त्रण गरिए पनि उनीहरुको उपस्थितिको आधारमा थप छलफल एवं सुझाव संकलनको निर्णय गरिने सहमहामन्त्री प्रकाशशरण महतले बताए । विज्ञ र व्यवसायीहरुले दिएको सुझावकै आधारमा बदलिँदो आर्थिक परिवेशमा विपीको सिद्धान्तअनुरुपको आर्थिक नीति समेत बनाइने महतको भनाई थियो ।
सेयर बजार १३ अंकले बढ्यो, उन्नति माइक्रो फाइनान्सका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । तिहार पछि लगातार ओरालो लागेको बजार मंगलबार भने दोहोरो अंकले उकालो लागेको छ । साे दिनकाे कारोबार शुरु भए देखिनै सेयर बजार उकालो लागिरहेको थियो । समग्रमा मंगलबारकाे बजार बन्द हुँदा नेप्से परिसूचक १३.९७ अंकले उकालो लागेर १२०७ अंकमा पुगेको छ । बजारमा परिसूचकमा सुधार आएतापनि कारोबार रकममा भने खासै सुधार देखिएको छैन । तर सोमबारको तुलनामा मंगलबारको कारोबार रकम ४ करोड रुपैयाँले बढेको छ । मंगलबारको बजारमा कुल १५० कम्पनीको १७ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार जम्मा १३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । सोमबारको जस्तै मंगलबार पनि प्रभु बैंकको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एकैदिन एक करोड ४३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दोहोरो अंकले बढेको मंगलबारको बजारमा उन्नति माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । एकैदिन कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । ४२ प्रतिशत लाभांश घोषणा गरेपछि लगानीकर्ताहरु यस संस्थाको सेयरमा आर्कषित भएका हुन् । जस कारण संस्थाको सेयर मूल्य एकैदिन १५७ रुपैयाँले बढेर प्रतिकित्ता १७३२ रुपैयाँ पुगेको छ । सो दिन फाइनान्स समूह बाहेक बाँकी समूहको सूचक हरिया भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ७७ अंकले उकालो लागेको छ । अनलाइन प्रणाली शुरु भएपछि नेप्सेको साइटमा प्रविधिक समस्या देखिइरहेको छ । उक्त प्रणाली शुरु भएको चौथो दिन(आज) पनि साइटमा बेलाबेलामा समस्या देखिएको थियो ।
सेयर बजार १७ अंकले घट्यो, अपी पावरका लगानीकर्ताले गुमाए सबैभन्दा बढी
काठमाडौं । तिहार पछि खुलेको आइतबारको सेयर बजार पनि दोहोरो अंकले ओरालो लागेको छ । सो दिन कारोबार शुरु भएदेखि घटिरहेको बजार बन्द हुँदा १७.३१ अंकले घटेर १२०५ अंकमा झरेको छ । सो दिन कुल १२५ कम्पनीको ९ करोड ९४ लाख कित्ता सेयर कारोबार भएको छ । सो मध्ये प्रभु बैंकको ८४ लाख ८८ हजार कित्ता सेयर बिक्री भएका छन् । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी अपी पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९.९४ प्रतिशतले घटेर प्रतिकित्ता १६३ रुपैयाँ पुगेको छ । सो दिन सबैभन्दा बढी स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३.५२ प्रतिशतले बढेको छ । बजारमा फाइनान्स र अन्य समूह बाहेक बाँकी समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक ४३ अंकले ओरालो लागेको छ ।
सेयर बजारमा अनावश्यक चलखेल भए चुप लागेर बस्दैनौंः अर्थमन्त्री डा. खतिवडा
डा. युवराज खतिवडा, अर्थमन्त्री काठमाडौं । सेयर लगानीकर्ता साथीहरु जसको आशमा मुलुक चलिरहेको छ । बधाई छ नेप्सेलाई अनलाईन ट्रेडिङ शुरु गराउनु भएकोमा । शुरु शुरुमा यस्तै हुन्छ । हामीले अनलाईन कर संकलन गर्दा पनि यस्तै हुन्छ । प्लेयरहरु पनि तयार भैसकेका हुन्नन् । कर्मचारी पनि तयार भैसकेका हुन्नन् । पूर्वाधार पनि पुरै चलाउन सक्ने अवस्थामा हुन्न फेरी पनि काम अघि बढाउनै पर्छ । त्यो भनेको असल सुरुवात हो । असल सुरुवातका लागि नेप्से र त्यसमा सहयोग गर्ने नियामक निकायहरुलाई धन्यवाद दिन चाहान्छु । हामी ई गर्भमेन्टको कुरा गर्दैछौं । ई गर्भमेन्टको कुरा गर्ने हामीले सरकारको मात्रै होइन, बिजनेश सेक्टरको र वित्तीय क्षेत्रको पनि ई गर्भमेन्टमा जोड दिएका छौं । त्यसको एउटा कडी हो यो अनलाईन सेयर कारोबार । कुनै बेला हामीले डिम्याट शुरु गर्दा त्यसको परिभाषा बुझ्न पनि धेरै साथीहरुलाई गाह्रो भयो । म्याट भनेको गुन्द्रि र डि भनेको के हो भनेर बुझ्ने अवस्था थियो डिम्याटलाई । हामीले वित्तिय साक्षरताको त्यो अवस्थाबाट आएर अनलाइन कारोबारसम्मको फड्को मारेका छौं । अब वित्तीय साक्षरता सृजना गर्न यसले सहयोग गर्न छ । सरकारले पुँजी बजारको वृद्धि र विकासका लागि गरेका कुराहरु मैले धेरै वटा फोरमहरुमा भनिसकेको छु । आज पनि म दुई चार वटा कुराहरु भन्न चाहान्छु । बजारका पूर्वाधारहरुको विकास गर्नुछ । पूर्वाधार भनेका धेरै कुराहरुका अतिरिक्त अनलाईन कारोबार पनि हो । बजारमा किनेबेच हुने वित्तिय उपकरणहरुको बिबिधिकरण पनि हो । किनबेच हुने ठाउँहरुको विविधिकरण हो र किनबेच प्रक्रियाको विविधिकरण पनि हो । अनलाईन कारोबार आरम्भ हुनु भनेको बजारको किनबेच प्रक्रियाको विविधिकरण हो । ठाउँको बिबिधिकरण र प्रडक्टहरुको विविधिकरणका बारेमा हामी थप छलफल गर्दै अघि बढ्नुपर्ने भएको छ । पुँजी बजार भन्नाले धितोपत्र बजार, धितोपत्र बजार भन्नाले सेयर बजार, सेयर बजार भन्नाले बैंक तथा वित्तीय संस्थाको बजार, त्यो भनेको इक्वीटीको बजार भएको छ । त्यसभित्र पनि बढी करोबार हुने निश्चित बैंक तथा वित्तिय संस्थाहरुको दैनिक कारोबार भएको छ । बण्डको कुरा छैन् । अरु प्रकारका वित्तिय औजारहरुको कुरा पनि छैन् । कमोडिटी मार्केटलाई व्यवस्थित गरिसकिएको छैन् । यस्ता धेरै कुराहरु सरकारले गर्नुपर्ने एजेण्डाका रुपमा रहेका छन् । एक्टरहरु थप्दै जाने कुरामा म्युचुअल फण्ड अघि बढाएका थियौं । तर त्यसले जति शसक्त रुप लिनुपर्ने हो त्यो लिन सकिरहेको छैन । भेञ्चर क्यापिटल र प्राइभेट ईक्वीटी, हेज फण्डका कुराहरु केहि अघि बढेका छन् । नियामावलीहरु बनिरहेका छन्, ती केहि समयभित्रै कार्यान्वयनमा आउँछन् । हामीले केहि संस्थागत सुधारका कामहरु पनि गर्नुपर्ने अवस्था छ । नेप्से एउटा स्वायत्त संस्थाका रुपमा अघि बढोस् । स्वायत्त ढंगले काम गरोस् । स्वार्थ बाझिने किसिमका कामहरु नहोउन् । यति गरिसकेपछि पनि हामीले अर्काे केहि कुराबारे सोच्नै पर्ने अवस्था छ । अघि यहाँ पनि कुरा उठ्यो । संस्थागत लगानीकर्ता आएनन् भनेर । केहि संस्थागत लगानीकर्ताहरुलाई मैले भनिसकेको छु, तपाईहरु सेयर बजारमा पनि लगानी गर्नुस् भनेर । अलिकति चासो देखाउनुस भनेर । अब अहिले सुरक्षित ११ प्रतिशतसम्म ब्याजमा निक्षेप पाएपछि दायाँ बायाँ हेर्ने उहाँहरुको त्यति मन छ जस्तो लाग्दैन । तर यो अवस्था अब लामो समयसम्म रहँदैन् । हामी कहाँ हरेक कुराको सिजनालीटी हुन्छ । तरलताको पनि सिजनालीटी भएको हो । पानी, दुधको पनि सिजनालीटी हुन्छ । तरकारीको भाउको पनि सिजनालीटी हुन्छ । धेरै सिजनालीटी हुन्छ जसमध्ये तरलताको पनि सिजनालीटी मात्रै भएको हो भन्ने अनुरोध गर्दछु । लगानीकर्तालाई आफ्नो पोर्टफोलियोमा सदुपयोग गर्नुस् भनेर संस्थागत लगानीकर्ता र वचत परिचालन गर्ने गैर बैंकिङ वित्तिय संस्थाहरुलाई अनुरोध गर्न चहान्छु । खास गरि ब्रोकर सर्भिसलाई हामीले व्यवस्थित गर्ने क्रममा बैंकिङ प्रणाली मार्फत नै सेटलमेन्ट हुने कुरालाई हामीले तत्कालै अघि बढाउनुपर्छ भन्ने महशुस गरेका छौं । त्यस्तो पूर्वाधारका बारेमा पनि हामीले थप छलफल गर्नुपर्ने महशुस गरेका छौं । बजेटबाट हामीले केहि कुरा गर्न खोजेका छौं । पुँजीगत लाभकरका सवालमा केहि दुबिधा थियो । त्यो पनि सिडिएस लागु हुनु भन्दा अघि लाभकर गणनाका सवालमा केहि असुबिधा थिए । रिफेरेन्स प्राईस नहुने, कारोबार रकम पनि निश्चित नहुने अवस्था थियो । सिडिएस अघिको अवधीलाई हामी गणना गरेर हामी छिट्टै निचोडमा पुग्दैछौं । हाम्रो तहमा मोटामोटी निर्णय भैसकेको छ । केहि दिनभित्रै कार्यान्वयन हुन्छ । पुँजीगत लाभकरका बिषयमा अब अन्यौल रहने छैन। अरु करका बिषयमा त हामीले बजेट मार्फत नै स्पष्ट पारिसकेका छौं, त्यसमा कुनै समस्या छैन। अब अहिलेको बजारको प्रवृत्ति र हाम्रो आर्थिक क्रियाकलापका सन्दर्भमा म केहि जोड्न चाहान्छु । केहि दिन अघि बिराटनगरमा एक जना व्यवसायीले मलाई सोध्नुभयो, आर्थिक वृद्धि राम्रो भैरहेको छ, सेयरको मूल्य किन नबढेको ? मैले यो प्रश्नको उत्तर लगानीकर्तालाई सोध्नुस् भनिरहेको छु । हाम्रो औद्योगीक उत्पादन बढ्दैछ । उद्योगहरु पूर्ण क्षमतामा चल्दैछन् । आर्थिक वृद्धि निरन्तर तेश्रो बर्ष उच्च दर कायम भैरहेको छ । हाम्रो अनुमान त ८ प्रतिशत हो तर दातृ निकायहरुकै अध्ययनले पनि ६ प्रतिशत कायम हुनेछ भनेका छन् । औद्योगीक उत्पादन राम्रो छ, बैंक तथा वित्तीय संस्थाहरुको मुनाफाहरुको स्थिति पनि राम्रो छ । रिनर्ट अन ईक्वीटीकै कुरा गर्ने हो भने त अलि फरक हो । अब हकप्रद सेयर पनि लिने, बोनस सेयर पनि लिने अनि रिटर्न अन ईक्वीटी पनि हिजो भन्दा राम्रो होस भन्ने हो भने त चाटर्डले भनिदिनु पर्यो । म अलि कुरा बुझ्दिन । सेयर लगानीकर्ताको वेल्थ क्रियसन(सम्पति बढेको) भएको छ । सम्पति बढेकै छ । त्यो म दावी नै गर्छु । सम्पति बढेको कुरालाई मैले सकारात्मक रुपमा लिएको छु । बैंकिङ सेवा व्यवसायहरु बढेका छन् । व्यवसायहरुको बिबिधिकरण बढेको छ । पर्यटन क्षेत्र विस्तारित हुँदै गएको छ । आर्थिक क्रियाकलापहरुमा भैरहेका विस्तारहरु सेयर बजारमा पनि प्रतिबिम्बित हुनुपर्दछ हाम्रो मान्यता यहि हो । धानकै मात्र उत्पादन बढेर सेयरको मूल्य किन बढेन भन्नु गलत होला । तर सेयरसँग सम्बन्धित व्यवसायहरुकै वृद्धि भैरहँदा पनि सेयर बजार नबढ्नु चाँही राम्रो होइन । सेयरसँग योगदान दिने कम्पनीको सुधार, मुनाफा वृद्धि हुँदा सेयर बजारसँग पनि सम्बन्ध हुनुपर्छ । त्यो सम्बन्ध तल माथी हुन थाल्यो भने अर्थमन्त्रालय र नियामक निकायहरुले हेर्छन् । बजारका प्लेयरहरु स्वस्थ भएनन् की ? बजारको संरचना स्वस्थ भएन की ? बजारको सूचना प्रणाली ठिक भएन की ? सूचना लिने र दिनेहरुका बीचमा पनि सम्वाद भएन की ? या कुनै एक किसिमले तत्कालिन सट्टेवाजीको प्रवृत्ति पो अघि बढ्यो की ? बजारलाई अलि अर्कै प्रकारले प्रभाव पार्ने बिषय पो हुन थाल्यो की ? भनेर हामी अलिकति कान ठाडो पार्छाै । त्यो बेला तपाईहरुले बीचबीचमा हामीलाई झकझक्याई दिनु होला । अघि एक जनाले साथीले भन्नुभयो, ओपन हाउस क्राईबाट हामी अनलाईन कारोबारमा पुग्यौं भनेर । त्यो ओपन हाउस क्राई चाँही स्क्रिन वा पर्दा तिर नहेरेर बोर्ड तिर हेरेर गरिन्थ्यो । अहिले ओपन आउट क्राई चाँही मूल्य तलमाथी भयो की अर्थमन्त्रालय तिर हेर्न थालियो । त्यसो नगरि दिनु होला, ओपन आउट क्राई पनि बोर्ड तिरै हेरेर गर्ने हो अर्थमन्त्रालय तिर होइन । सेयर बजारको समस्या नजिकबाट सुन्ने र बुझ्नेहरुमध्ये म पनि पर्छु । यी सबै समस्याहरुको समाधान हामी सँगै बसेर गर्ने हो । वित्तीय विश्लेषण गरेर लगानी गर्नु होला । तिहारको शुभकामना त छदैँ छ, साथमा लक्ष्मी पुजासँगै कम्पनीको बासलात हेरेर, नाफा नोक्सान हेरेर, प्रोफाइल हेरेर लगानी गरौं । लक्ष्मी पुजाले श्रद्धा त हुन्छ तर सेयरको मूल्य वृद्धि हुँदैन। लक्ष्मीले लगानीकर्तालाई साथ दिउन । लगानीकर्ताहरुको वेल्थ क्रियसन भयो भने मुलुकको वेल्थ क्रियसन हुन्छ । त्यसपछि पुँजीगत लाभकर लगाउन पाउँछौं पनि (अनलाईन सेयर कारोबार आरम्भ कार्यक्रममा व्यक्त गरेको विचार )
निक्षेपकर्ताले ११ प्रतिशत ब्याज खाने दिन सकिए, अब सेयर बजार बढ्छ- अर्थमन्त्री खतिवडा
काठमाडाैं । अर्थमन्त्री युवराज खतिवडाले निक्षेपकर्ताले ११ प्रतिशत ब्याज खाने दिन सकिनै लागेकाे बताएका छन् । पछिल्लाे समय देखिएकाे तरलताकाे समस्या माैसमी भएकाे र यस्ताे अभाव अब छिट्टै हट्ने उनले बताए । नेप्सेले मंगलबारदेखि शुरू अनलाइन सेयर काराेबार सम्बन्धि सफ्टवेयरकाे शुभारम्भ गर्दै अर्थमन्त्री खतिवडाले अार्थिक वृद्धि ६/८ प्रतिशत हुँदा पनि सेयर बजार नबढेकाेमा असन्तुष्टि जनाए । ‘अर्थतन्त्र राम्राे छ । गत वर्ष ६ प्रतिशतकाे अार्थिक वृद्धि थियाे । यस वर्ष ८ प्रतिशतले वृद्धि हुँदैछ, सेयर बजार किन माथि गएन, म लगानीकर्ताहरूलार्इ साेध्न चाहान्छु’ उनले भने । उनी अर्थमन्त्री भएपछि सेयर बजार निरन्तर अाेरालाे लागेकाे थियाे । सेयर बजारलार्इ अनुत्पादक क्षेत्र भनि टिप्पणी गरेपछि पुँजीबजारमा चरम अालाेचित भएका अर्थमन्त्री खतिवडाले पहिलाे पटक सार्वजनिक मञ्चमा उभिएर सेयर बजार वृद्धिकाे पक्षमा वकालत गरेका हुन् । पुँजी बजार अाफ्नै नियममा चल्ने र यसलार्इ तलमाथि गर्न कसैले पनि हस्तक्षेप गर्न नहुने उनकाे पुराना तर्क थिए । उनले पुँजीगत कर लाभ बारे विवाद टुङ्गिएकाे बताए । अर्थमन्त्री खतिवडाले म्यूचल फण्डहरूकाे भूमिकाकाे अालाेचना गरेका छन् । म्यूचल फण्डहरूले पुँजीबजारमा सेयर काराेबारीकाे भूमिका मात्र निभाएकाे उनकाे भनार्इ थियाे । ‘पुँजीबजार सेयर बजारमा सीमित छ, पुँजी बजार जस्ताे छैन । म्युचल फण्डहरू पनि सेयर ट्रेडिङमा सीमित देखिए’ उनले भने। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बैंकलार्इ सेयर ब्राेकर लाइसेन्स दिने तयारी अन्तिम चरणमा पुगेकाे बताए । बैंकलार्इ ब्राेकर लाइसेन्स दिएपछि रियल टाइम सेटलमेन्ट हुने र अनलाइन सेयर काराेबार प्रभावकारी हुने बताए । उनले नेपाल स्टक एक्सचेञ्जमा भएकाे सेयर बिक्री गर्ने तयारी भइरहेकेाे जानकारी दिए । नेप्सेमा रहेकाे राष्ट बैंककाे सेयर बेच्न उपयुक्त लगानीकर्ता खाेजेकाे उनले बताए । धिताेपत्र बाेर्डका अध्यक्ष रेवतबहादुर कार्कीले पुँजी बजारमा रियल सेक्टर ल्याउने प्रयास भइरहेकाे, छिट्टै मार्जिन ट्रेडिङ शुरू गर्ने तयारी भएकाे बताए । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागार्इँले अनलाइनबाट सेयर खरिद बिक्री गर्न सकिने प्रणालीकाे विकास पुँजी बजारकाे लागि महत्वपूर्ण भएकाे बताए । बीमा कम्पनीकाे सञ्चालक समितिले गरेकाे निर्णयहरू परिपक्व नभएकाे भन्दै बीमा कम्पनीकाे लाभांश प्रस्ताव बीमा समितिले स्वीकृत गरेपछि मात्र त्यसलार्इ अाधिकारिक मानेर लगानीकाे निर्णय गर्न लगानीकर्तालार्इ अाग्रह गरे । कार्यक्रमलार्इ सम्बाेधन गर्दै नेपाल स्टक ब्राेकर एशाेसिएशनमा अध्यक्ष भरत रानाभाटले अनलाइन काराेबारमा बैंकलार्इ सहभागी नगर्ने हाे भने अनलाइन काराेबार प्रभावकारी नबन्ने बताए । अनलाइन काराेबार भए पनि अहिलेकाे अवस्थामा सेयर बजार गाउँगाउँमा पुग्न नसक्ने उनले बताए ।
सेयर बजार दोहोरो अंकले उक्लियो, सबै सूचक हरिया
काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । बजार शुरु भएदेखि सामान्य उकालो लाग्दै आएको बजार अन्त्यमा नेप्से परिसूचक १२.३७ अंकले उकालो लागेर १२१९.६५ अंकमा पुगेको छ । सोमबार नेप्से परिसूचकमा सुधार देखिएपनि सेयर कारोबारमा भने गिरावट आएको छ । आइतबार ५६ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको भएको बजारमा सोमबार भने जम्मा २४ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन १५५ कम्पनीको ८ लाख २२ हजार कित्ता सेयर बिक्री भएको छ । सो दिन प्रभु बैंकको सबैभन्दा बढी सेयर किनबेच भएको छ । यस बैंकको एकैदिन ४ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको २ करोड, एनआईसी एशिया बैंकको एक करोड ५५ लाख र जनता बैंक नेपालको एक करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार कारोबारमा आएका १० वटै समूहको परिसूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक ८७ अंकले उकालो लागेको छ । त्यस्तै, जीवन बीमा समूह ६९, होटल ३७, माइक्रोफाइनान्स १७, विकास बैंक १३ र बैंकिङ् समूह ११ अंकले उकालो लागेका छन् । त्यस्तै, बाँकी समूहहरु सामान्य अंकले बढेका छन् । सो दिन सबैभन्दा बढी लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशत कमाएका छन् । उता सिर्जना फाइनान्स(वित्तीय संस्था)का लगानीकर्ताले सबैभन्दा बढी १.८७ प्रतिशत गुमाएका छन् ।
उच्च व्याजदरमा ९ अर्ब २५ करोडको ऋणपत्र आउँदै, सेयर बजारमा नकारात्मक असर पर्न सक्ने
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमास नवित्दै चार वटा वाणिज्य बैंकले ९ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन प्रक्रिया अगाडि बढाएका छन् । निक्षेप परिचालनमा सकस भोग्दै आएका बैंकहरुबीच उच्च व्याजदरमा ऋणपत्र निष्काशनको लहर आएको छ । पछिल्लो पटक सनराइज बैंक लिमिटेडले १ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लागेको जनाएको छ । “सनराइज डिबेञ्चर २०८०” नाम दिएको ऋणपत्र ५ वर्ष अवधिको हुने र त्यसको व्याज वार्षिक १० प्रतिशत हुने बैंकले जनाएको छ । ऋणपत्र निष्काशन गर्न बैंकले प्रभु क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गरेको छ । बैंकले निष्काशन गर्ने कूल ऋण पत्र मध्ये ८० प्रतिशत अर्थात ८० करोड रुपैँया बराबरको ८ लाख कित्ता प्राइभेट प्लेसमेण्ट मार्फत बिक्री गरिनेछ भने २० प्रतिशत अर्थात २० करोड रुपैँया बराबरको २ लाख कित्ता सर्वसाधारणलाई खुल्ला गरिने बैंकले जनाएको छ । सानिमा बैंकको २ अर्बको ऋणपत्र निष्काशन गर्न धितोपत्रबोर्डबाट स्वीकृति लिएको छ । तर हाल बैंकले ४० करोड रुपैयाँको मात्र ऋणपत्र निष्काशन गरेको छ । जसमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता डिवेन्चर सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का लागि छुट्याइएको छ भने उक्त ऋणपत्र बाँडफाँडपश्चात् बाँकी हुने ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि छुट्याइएको छ । ‘१०५ सानिमा डिवेञ्चर–२०८५’ नाम दिइएको उक्त ऋणपत्र १० वर्ष अवधिको हुने र वार्षिक १० प्रतिशत ब्याज प्रदान गरिने बैंकले जनाएको छ । यो ऋणपत्र कात्तिक ३० गतेदेखि खुला गरिएको छ । त्यस्तै, सिद्धार्थ बैंकले पनि ऋणपत्र (डिवेन्चर) निष्कासन गर्ने भएको छ । बैंकले २ अर्ब २५ करोड रुपैयाँ बराबरको २२ लाख ५० हजार इकाई निष्कासन गर्न लागेको हो । ऋणपत्र निष्कासन गर्न बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले वार्षिक १०.५ प्रतिशत ब्याजमा एसबीएल डिबेञ्चर २०८२ रहेको छ । डिवेञ्चरको अवधि ७ वर्ष रहेको छ । बैंकले एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । बढी व्याजदरमा निक्षेप संकलन गरेकाे भन्दै अन्य बैंकबाट अालाेचना खेप्दै अाएकाे एनअाइसी एशिया बैंकले अरू बैंककाे भन्दा बढी व्याजदरमा बढी रकमकाे ऋणपत्र निष्काशन गर्दैछ । एनआईसी एशियाले “११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८५/८६” निष्कासन गर्न लागेको छ । बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ । ऋणपत्र निष्काशन गर्न बैंकले नेपाल एसबीआई मर्चेन्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (रु ३ अर्ब २० करोड) व्यक्तिगत र २० प्रतिशत (रु ८० करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्कासन तथा बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकले प्रस्तावित ऋणपत्र ११ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गर्न लागेको हो । ६/६ महिनामा व्याज दिने गरी १० देखि ११ प्रतिशत व्याजदर तोकिएको ऋणपत्रले लगानीकर्तालाई राम्रो अवसर दिएको छ । तर विगत दुई वर्षदेखि मन्दी भोगिरहेको सेयर बजारलाई उच्च व्याजदरका ठूलो रकमका ऋणपत्रले थप नकारात्मक असर पर्ने अनुमान गरिएको छ । ऋणपत्रलाई न्यून जोखिमयुक्त दीर्घकालीन लगानीको माध्यमको रुपमा लिइन्छ । दोस्रो बजारमा समेत कारोबार हुने उक्त ऋणपत्रको बजार मूल्यलाई कुपन ब्याजदर र प्रचलित ब्याजदरले प्रत्यक्ष रुपमा प्रभावित पार्छ ।
उच्च ब्याजदर र नगद लाभांश चेपुवामा सेयर बजार, सानिमा र एभरेष्टकाे लाभांश घाेषणाकाे सन्देश के ?
काठमाडौं । बैंकको उच्च व्याजदर र नगद लाभांशको प्रभाव सेयर बजारमा देखिएको छ । मन्द गतिमा विगत १२ महिनामा गिर्दो अवस्थामा रहेको सेयर बजारले अझै उकालो पथ समाउन छाटकाँट देखिएको छैन । एनआईसी एशिया बैंकले ११ प्रतिशत व्याजदरमा १० वर्षे ऋणपत्र जारी गर्याे । सिदार्थ बैंकले १०.५ प्रतिशतमा ७ वर्षे ऋणपत्र जारी गर्दैछ । सानिमा बैंकले १० प्रतिशत व्याजदारमा १० वर्ष अवधिको ऋणपत्र जारी गर्दैछ । बैंकहरुले जारी गरेको ऋणपत्र अवधि र व्याजदरले प्रष्ट पारिरहेको छ कि आगामी ८/१० वर्ष मुद्दति निक्षेपको व्याजदर दुई अंकमा नै रहने छ । सबैभन्दा बढी निक्षेप परिचालन गरेको एनआईसी एशिया बैंकमा कामु प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले आगामी १० वर्ष बैंकहरुले व्याज घटाउन नसक्ने भनाई सार्वजनिक रुपमा राखिसकेका छन् । तीन दशकपछि मुलुकमा राजनीतिक स्थायीत्व देखिएको, तीन दशकयता उच्चदरको आर्थिक वृद्धि देखिएको, अहिलेको आर्थिक वृद्धिले स्थायीत्व पाउने आकलन भईरहेको, कर्जाको माग उच्च रहेको र बैंकहरुले पनि दीर्घकालिन प्रकृतिको कर्जा लगानीलाई जोड दिएका बैंकको व्याजदर नघट्ने अनुमान गरिएको छ । देशको आर्थिक वृद्धिदर उच्च रहेको बेला कुनै पनि देशमा कर्जाको माग बढी हुने र त्यसले कर्जा र निक्षेप दुबैको व्याज माथि लैजाने अर्थविद् स्वार्णिम वाग्लेको भनाई छ । मुद्दति निक्षेपको व्याजदर १० प्रतिशत रहदा कर्जाको व्याजदर १२ प्रतिशतभन्दा माथि रहन्छ । प्राथमिकताका क्षेत्रमा जाने कर्जाको व्याज १२ प्रतिशत हुँदा कम प्राथमिकताको सूचिमा रहेका सेयर कर्जा र रियलस्टेट कर्जाको व्याज १४ प्रतिशतभन्दा माथि रहन्छ । १४ प्रतिशत व्याजमा कर्जा लिएर सेयरमा लगानी गर्दा लगानीकर्तालाई पोषाउँदैन । यहि बास्तविकता बुझेका लगानीकर्ताले यतिबेला सेयरमा लगानी खन्याएका छैनन् । परिणाम सेयरको किनबेच पनि कम छ भने विगत एक वर्षमा सेयरको मूल्य निरन्तर घट्दै गएको छ । बोनस सेयरको सट्टा नगद लाभांश सानिमा बैंकले १४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । एभरेष्ट बैंकले पनि २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी पुगेको र पुँजी प्रयाप्तताको अभाव नभोगेको बैंकरुले नगद लाभांश दिने छन् । अधिकांश वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी यहि पोजिसनमा छन् । नेप्सेमा सूचिकृत भएका ६० ओटा भन्दा बढी कम्पनीहरुले यो वर्ष साधारणसभा बोलाइसकेका छन् । मुक्तिनाथ विकास बैंकले १८.२५ प्रतिशत, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १७.७ प्रतिशत, मितेरी विकास बैंकले १७ प्रतिशत, तिनाउ विकास बैंकले १२ प्रतिशत, गरिमा विकास बैंकले १० प्रतिशत र महालक्ष्मी विकास बैंकले ८ प्रतिशत बोनस सेयर दिने घोषणा गर्नुबाहेक अन्य बैंक तथा वित्तीय संस्थाहरु नगद लाभांश दिने भएका छन् । सेयरधनीहरुको दबाबमा बोनस सेयर घोषणा गर्न बाध्य भएका केही संस्थाले प्रस्ताव गरेको बोनस सेयरको मात्र नगन्य छ । त्यसैले पुँजी पर्याप्तता अनुपातको चापमा रहेका केही बैंकहरु बाहेक अन्य बैंकहरु यो बर्ष नगद लाभांश नै दिनेछन् । बैंकहरुले अहिले लगानी गर्न योग्य पुँजीको अभाव सामना गरिरहेको बताइरहेका छन् । बैंकहरुको कर्जा निक्षेप अनुपात सीमान्त अवस्थामा पुग्न लागेको छ । यसले निक्षेप तथा कर्जा लगानीको ब्याजदरमा वृद्धि गर्दै लगेको छ । निक्षेपको ब्याजदर १० भन्दा बढी नबनाउने गरी वाणिज्य बैंकहरुले भद्र सहमति गरे पनि विकास बैंक र वित्तीय संस्थाहरुको हकमा त्यो लागु भएको छैन । अझ केही ठूला निक्षेपहरुका लागि बैंकहरुले भद्र सहमति तोड्ने गरेको नजिरकाबीच यस्तो सहमतिको कार्यान्वयनप्रति बजारका लगानीकर्ताहरु सशंकित नै छन् । निक्षेपमा प्राप्त हुने प्रतिफलसँग सेयर बजारको सामान्यतया विपरित सम्बन्ध हुन्छ । उच्च ब्याजदरले बजार परिसूचकलाई तलतिर झार्न दबाब दिन्छ । त्यसमाथि सेयर बजारमा ठूलो हिस्सा ओगटेको बैंकिङ क्षेत्रले नै व्यवसाय विस्तार गर्नेगरी पुँजी वृद्धि गर्न ‘स्टक डिभिडेन्ड’ दिनमा अनुदार हुँदा सेयर बजार दोहोरो मारमा परेको छ । उता, नेपाल राष्ट्र बैंकले पनि बैंकहरुको समस्या समाधान गर्न पहल गरेको छैन । मौद्रिक नीतिमार्फत् अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) घटाइदिएर सरकारी आन्तरिक ऋण संकलनलाई सहज बनाइदिए पनि सीडी रेसियो खुकुलो गर्नेतर्फ ध्यान दिएन । यसले गर्दा बजारमा पर्याप्त तरलताका बाबजुद बैंकहरु हाल लगानी गर्न नसक्ने अवस्थामा छन् । बैंक तथा वित्तीय संस्थाहरुको खातामा रहेको स्थानीय तहको निक्षेपलाई समेत निक्षेपको रुपमा गणना गर्न नपाउने व्यवस्थाले पनि यो संकट थप बढाउन सहयोग गरिरहेको छ । यी सबै परिघटनाहरुको प्रभाव सेयर बजारमा पर्नाले बजार लामो समयदेखि माथि उठ्न सकिरहेको छैन ।
सेयर बजार घट्दा एक सातामा लगानीकर्ताले गुमाए १३ अर्ब ९८ कराेड
काठमाडौ । सेयर बजार घट्दा एक सातामा लगानीकर्ताले २३ अर्ब ९८ करोड रुपैयाँ गुमाएका छन् । अघिल्लो साताको अन्तिम दिन १४ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ रहेको कूल बजार पूँजीकरण यस साताको अन्तिम दिन १४ खर्ब ५६ अर्ब ६२ करोड रुपैयाँमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोवार कक्ष नियमित कारोवारका लागि पाँच दिन खुला रह्यो । धितोपत्र बजारमा यस साता १ अर्ब २१ करोड १८ लाख १० हजार रुपैयाँ बराबरको कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन १ हजार २२७ बिन्दुमा रहेको कारोवार मापक नेप्से साताको अन्तिम दिन घटेर १ हजार २२० बिन्दुमा पुगेको छ । साताभर एक दिनमात्र उकालो लागेको सेयर बजार चार दिन भने लगातार ओरालो लाग्यो । नेप्सेका अनुसार यस साता बजारमा १८३ कम्पनीको कारोवार भएको छ । नेप्से बढ्दा यससाता ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.६५ प्रतिशतले घटेर २५९. ६७ अङ्कमा आइपुगेको छ । रासस