मौद्रिक नीति आएको भोलिपल्ट सेयर बजारमा निराशा, सबै परिसूचक राताम्मे
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आव २०७६/०७७ को मौद्रिक नीति ल्याएको भोलिपल्ट बिहीबार सेयर बजारमा निराशा छाएको छ । मौद्रिक नीति सार्वजनिक हुनु अघि बुधबार ६.९० अंकले बढेको सेयर बजार आज भने १४.१५ अंकले घटेको छ । १.१० प्रतिशतले परिसूचक घट्दा १२६९.९२ बिन्दुमा पुगेको छ । सेयर बजारमा आज १७१ कम्पनीका २१ लाख ९८ हजार १ सय २६ कित्ता सेयर किनबेच हुँदा ५५ करोड ५ लाख ३२ हजार १ सय ४६ रुपैयाँको कारोबार भएको छ । हिजोको तुलनामा परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । हिजो ४४ करोड ३४ लाख रुपैयाँको कारोबार भएको थियो । आज नेप्से परिसूचकका सबै समूह राताम्मे भएका छन् । बैंकिङ समूह १२.५६, टेड्रिङ समूह २.६२, होटल समूह ३२.८४, विकास बैंक समूह १८.७६, जलविद्युत समूह २१.५४, वित्त समूह ३.८४, निर्जीवन बीमा समूह ८४.३५, उत्पादनमूलक समूह १५.४८, अन्य समूह ५.१४, लघुवित्त समूह १९.६८, जीवन बीमा समूह ५३.५४ र म्युचुअल फण्ड ०.११ अंकले घटेका छन् । ‘के जाति नीति हो सारै राम्रो आयो भन्थे, हो रहेछ । रातो कार्पेट माथि १४ तोपको सलामी ।’ समग्र बजारमा निराशा छाएको दिन नेपाल ल्यूब आयल लिमिटेडका सेयरधनीले भने सबैभन्दा बढी ८.८१ अंकले नाफा कमाएका छन् भने यूनियन हाइड्रोपावर कम्पनीका सेयरधनीले सबैभन्दा बढी ९.५७ प्रतिशतले घाटा ब्यहोरेका छन् । मौद्रिक नीति आएको भोलिपल्ट सेयर बजारमा निराशा छाएपछि सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक टिप्पणीहरु देखिएका छन् ।यसैक्रममा ब्रोकर एशोसियनशनका सदस्य नरेन्द्र सिजापतिले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् -‘के जाति नीति हो सारै राम्रो आयो भन्थे, हो रहेछ । रातो कार्पेट माथि १४ तोपको सलामी ।’
ऋणपत्रको बाढी आउने, सेयर बजारलाई ठूलो धक्का
काठमाडौं । वित्तीय बजार र पुँजी बजारको लागि एउटा महत्वपूर्ण व्यवस्था आएको छ । बाणिज्य बैंकहरुले चुक्ता पुँजीको न्युनतम २५ प्रतिशत बराबर अनिवार्य रुपमा ऋणपत्र जारी गर्नुपर्ने भएको छ । त्यो पनि छोटो अवधि अर्थात २०७७ असार मसान्तभित्र । नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्ममा हाल २८ वटा वाणिज्य बैंकको चुक्ता पुँजी ३ खर्ब २ अर्ब रुपैयाँ छ । २०७७ असार मसान्तसम्ममा ३ खर्ब २५ अर्ब चुक्ता पुँजी पुग्ने अनुमान छ । त्यसको २५ प्रतिशतले ८१ अर्ब भन्दा बढीको ऋणपत्र जारी हुने भएको छ । हाल एनआईसी एशिया, इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, हिमालयन बैंक लगायत केही बैंकले ऋणपत्र निष्काशन गरिरहेका छन् । अब सबै बैंकहरुले चुक्ता पुँजीको कम्तिमा २५ प्रतिशत ऋणपत्र जारी गर्ने पर्ने व्यवास्था गरिएको गभर्नर डा. चिरञ्जीवि नेपालले बताए । चुक्ता पुँजीको २५ प्रतिशतभन्दा बढी ऋणपत्र जारी गर्न सक्ने राष्ट्र बैंकका नियमन विभाग प्रमुख बमबहादुर मिश्रले बताए । दीर्घकालिन प्रकृतिको कोष प्रवद्र्धन गर्न र सेयर बजारमा ऋणपत्रको कारोबारलाई प्रोत्साहित गर्न यस्तो नीति ल्याईएको उनले बताए । ऋणपत्रबाट उठेको रकमको १०० प्रतिशत कर्जा लगानी गर्न पाईने छ । बैंकहरुले निक्षेपकर्तासँग लिएको १०० रुपैयाँमा ८० रुपैयाँ मात्र कर्जा लगानी गर्न पाउँछन भने २० रुपैयाँ सीडी रेसियो मेन्टन गर्न राख्नुपर्छ । ‘ऋणपत्रको रकममा सीसीडी रेसियो लागू हुँदैन’ कार्यकारी निर्देशक बमले प्रष्ट पारे । उच्चदरको आर्थिक वृद्धिमा सहयोग पुर्याउन ऋणपत्र मार्फत लगानी योग्य पुँजी वृद्धि गर्नु पनि यसको उदेश्य भएको उनले बताए । बैंकहरुले जारी गरेको ऋणपत्र लामो अवधिको हुने, व्याज दर पनि निक्षेपमा भन्दा बढी हुने र बजारमा ऋणपत्रको बिक्री पनि राम्रो भएकोले यो नीति ल्याएको उनले प्रष्ट्याए । एक वर्षमा ७५ अर्बको ऋणपत्र आउने भएपछि सेयर बजारमा आपूर्ति भने ह्वात्तै बढ्ने जानकारहरु बताएँछन् । ‘बैंकहरुले १० प्रतिशत व्याजदरको ऋणपत्र ७-८ वर्षको लागि जारी गरेपछि संस्थागत लगानीकर्ता र दीर्घकालिन प्रतिफल हेरेर लगानीगर्नेहरु ऋणपत्र खरिदमा लाग्छन् । दोस्रो बजारमा सेयरको माग कम हुन्छ’ एक ठूला लगानीकर्ताले नाम नखुलाउने सर्तमा भने । ऋणपत्रको व्याज पनि उच्च हुने, धितो राखेर बैंकबाट कर्जा लिन पनि सकिने, आवश्यक पुँजी बजारमा बेच्न पनि सकिने भएकोले ऋणपत्रमा लगानीकर्ताको आकर्षण बढ्दो छ ।
नयाँ आवमा सेयर बजारमा उत्साह, १५ अंकले बढ्यो
काठमाडौ । नयाँ आर्थिक बर्ष २०७६/०७७ को पहिलो दिन नेप्से परिसूचकले १५.८५ अंकले बढेको छ । नयाँ आवको पहिलो र साताको चौथो दिन बुधबार परिसूचक १.२६ प्रतिशतले बढ्दा १२७४.८६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज सेयर बजारमा १६७ कम्पनीले कारोबार गरेका छन् । १३ लाख ७५ हजार १ सय ९० कित्ता सेयर किनबेच हुँदा ४२ करोड ६७ लाख ४३ हजार ४ सय ५८ रुपैयाँको कारोबार भएको हो । आज नेप्सेका २ सूचक राता देखिए भने अन्यमा हरियाली छायो । होटल समूह २७.२ र वित्तीय क्षेत्र १.६२ अंकले घटेका छन् । बैंक समूह १६.६९, विकास बंैक २७.३५, जलविद्युत १८.७३, निर्जीवन बीमा ५५.०२, उत्पादनमूलक समूह ३५.२८, अन्य २.९२, माइक्रोफाइनान्स २५.९८, जीवन बीमा समूह ४९.६९ अंकले बढेका छन् । उन्नती माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ७ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका भने सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९ अंकले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
उत्पादनमूलक कम्पनीलाई सेयर बजारमा ल्याउने बोर्डको तयारी
काठमाडौं । नेपाल धितोपत्र बोर्डले उत्पादनमूलक कम्पनीलाई सेयर बजारमा भित्राउने प्रक्रिया अघि बढाएको छ । यसका लागि बोर्डले बुक बिल्डिङ प्रणाली लागु गर्ने तयारी गरेको छ । बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सेयर बजारको विकास तथा विस्तारको लागि सो कार्य अघि बढाएको बोर्डका अध्यक्ष रेवतवहादुर कार्कीले बताए । ‘संगठित संस्थालाई धितोपत्रको निष्काशन प्रिमियम मूल्य जान पाउने व्यवस्था गर्न लागिएको हो,’ उनले भने । बोर्डले नयाँ स्टक एक्सचेन्स खोल्ने प्रक्रिया पनि अघि बढाएको छ । बोर्डले नयाँ स्टक एक्सचेन्ज खोल्न प्रक्रिया अघि बढाउने घोषणा समेत गरेको छ । आगामी आवको कार्ययोजनामा सरकारी लगानीमा स्थापना भएको नेपाल स्टक एक्सचेन्ज सुधार गर्ने योजना पनि बोर्डले बनाएको छ । हाल उक्त स्टक एक्सचेन्जबाट मात्र सेयर कारोबार हुँदै आएको छ ।
गतसाता सेयर बजारमा अढाइ अर्बको कारोबार, कस्तो रहला यो साता ?
काठमाडौँ । धितोपत्र बजारमा गतसाता पनि उतारचढावपूर्ण कारोबार भयो । अघिल्लो बिहीबार अर्थात असार ५ गते एक हजार २६४.३६ विन्दुमा रहेको नेप्से परिसूचक यस साताको अन्तिम दिन असार १२ गते एक हजार २५७.१५ विन्दुमा पुगेर बजार बन्द भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर रु दुई अर्ब ५२ करोड ६१ लाख ५७ हजार ४४४ मूल्यमा रु ७६ लाख ७२ हजार ५६४ कित्ता शेयर कारोबार भए । कूल १७४ कम्पनीको शेयर साताभर कारोबार भए । गतसाताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक १० दशमलव ०१ अङ्कले घटेर एक हजार २५४ दशमलव ३५ बिन्दुमा ओर्लिएको थियो । सो दिन ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ०१ अङ्कले घटी २६९ दशमलव ६० बिन्दुमा पुग्यो । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम समेत घट्यो । कूल १७२ कम्पनीको १५ लाख ७५ हजार ३४० कित्ता शेयर रु ४८ करोड १८ लाख ५९ हजार कित्ता शेयर खरीद–बिक्री भए । यस्तै सोमबार नेप्से परिसूचक ५.७५ बिन्दुले उकालो लागेर एक हजार २६०.१० अङ्कमा पुग्यो । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४४ बिन्दुले बढेर २७१.०४ मा पुग्यो । सो दिन नेप्से परिसूचक उकालो लागे पनि कारोवार रकम भने उल्लेख्यमात्रामा अगाडि बढ्न सकेन । कूल १७३ कम्पनीको १५ लाख चार हजार ६७२ कित्ता शेयर रु ४८ करोड १४ लाख ९२ हजार ८२१ मूल्यमा खरीद बिक्री भए । मङ्गलबार नेप्से परिसूचक ०.९६ विन्दुले बढेर एक हजार २६१।०७ अङ्कमा पुग्यो भने ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४ बिन्दुले बढेर २७१.४४ मा पुग्यो । सामान्य अङ्कले बढेको बजारमा त्यस दिन कारोवार रकम भने सामान्य देखियो । कूल १७४ कम्पनीको १३ लाख २४ हजार ५१९ कित्ता शेयर रु ३६ करोड ४७ लाख ७३ हजार ३३० बराबरको खरीद-बिक्री भए । सोमबार र मङ्गलबार उकालो लागेको नेप्से परिसूचक बुधबार भने ओरालो लाग्यो । त्यस दिन परिसूचक २.७८ अङ्कले घटेर एक हजार २५८.२९ विन्दुमा झ¥यो भने ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले घटेर २७०.८१ मा पुग्यो । नेप्से परिसूचक घटे पनि कारोवार रकम भने वृद्धि भयो । कूल १६७ कम्पनीको १४ लाख १३ हजार ३५७ कित्ता शेयर रु ५७ करोड एक लाख २३ हजार ४८१ मूल्यमा खरीद बिक्री भए । साताको अन्तिम दिन बिहिबार परिसूचक १.१४ अङ्कले घटेर एक हजार २५७.१५ बिन्दुमा पुग्यो । त्यस दिन नेप्से परिसूचक घटे पनि ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने सामान्य अङ्कले वृद्धि भयो । कूल १७२ कम्पनीका १८ लाख ५४ हजार ६७६ कित्ता शेयर रु ६२ करोड ७९ लाख आठ हजार ८१२ मा खरीद बिक्री भए । गतसाता पनि बजारमा वाणिज्य बैंकहरुकै बोलवाला रह्यो । बजार पूँजीकरणका आधारमा नेपाद दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहँदा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबिआई बैंक र कृषि विकास बैंक क्रमशः उत्कृष्ठ दश कम्पनीका रुपमा रहे । गतसाता नेपाल इन्स्योरेन्स कम्पनीको ४० लाख चार हजार ६५१ कित्ता शेयर लाभांश स्टकमा सूचीकृत भए । रासस
बाणिज्य बैंकहरुको ‘फोर्सफुल मर्जर’ले सेयर बजारका लगानीकर्ता उत्साहित
काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई फोर्सफुल मर्जरमा पठाउने तयारी गरेपछि सेयर बजारका लगानीकर्ता उत्साहित भएका छन् । उनीहरुले बाणिज्य बैंकहरुको मर्जरले सेयर बजारका लागि दिर्घकालिन रुपमा सकारात्मक प्रभाव पर्ने निष्कर्ष निकालेका हुन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बाणिज्य बैंकहरुलाई फोर्सफुल मर्जरमा पठाउँदा सेयर बजारमा सकारात्मक प्रभाव पर्ने बताए । ‘बाणिज्य बैंकहरुलाई फोर्सफुल मर्जरमा पठाउनु राम्रो हो । यसले सेयर बजारमा दिर्घकालिन सकारात्मक प्रभाव पार्छ’, फोरमका अध्यक्ष रौनियारले भने । उनले तत्काल लाभ खोज्ने लगानीकर्ताका लागि भने केहि नोक्सान हुन सक्ने सम्भावना पनि स्विकार गरे । ‘तत्काल नाफा खोज्नेका लागि चाँही केहि घाटा हुन सक्छ, अहिले बजारमा ट्रेडरहरु हावी भैरहेका छन् ’, रौनियारले भने । बैंकहरुको रिजर्भ कोष वृद्धि हुने, लगानीको श्रोत बढ्ने, ग्राहक अधार वृद्धि हुने लगायतका कारणले पनि फोर्स मर्जरले सेयर बजारका लगानीकर्तालाई थप टेवा पुर्याउने उनको विश्लेषण छ । सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले पनि फोर्स मर्जरले सेयर बजारमा दिर्घकालन रुपमा राम्रो नतिजा दिने बताए । ‘बैंकहरुले राम्रा र ठुला परियोजनामा ऋण दिन सक्ने अवस्था छ, फोर्स मर्जरले उनीहरुको क्षमता बढाउँछ र प्रतिफल पनि राम्रो दिने भएकाले यो कदम राम्रो लागेको छ’, संघका उपाध्यक्ष फुल्लेलले भने । उनले यति सानो अर्थतन्त्र भएको देशमा यति धेरै बैंक आवश्यक थिए की थिएनन भनेर पहिले नै सोच्नुपर्ने तर ढिलै भएपनि राष्ट्र बैंकले राम्रो नीति लिएको स्पष्ट पारे । ‘बाणिज्य बैंकहरुको फोर्स मर्जरले सेयर बजारका लगानीकर्ता उत्साहित छन्’, फुल्लेलले भने । इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले पनि सेयर बजारका लागि फोर्स मर्जर सकारात्मक भएको बताउँछन् । ‘एक हप्तामै जोडी नभेटिन सक्छ, तर बाणिज्य बैंकहरुलाई मर्जरमा लैजाने कुरा राम्रो हो’, लम्सालले भने । नेपाल राष्ट्र बैंकले असार २७ गते अगावै मर्जर पार्टनर खोजेर आउन बाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ । बिहिबार बाणिज्य बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुको संयुक्त भेला डाकेर गभर्नर डा. नेपालले मर्जर पार्टनर खोजेर आउन निर्देशन दिएका हुन् । आफैं पार्टनर खोज्न नसक्नेहरुलाई राष्ट्र बैंक आफैंले पार्टनर खोजिदिने चेतावनी पनि गभर्नरले दिएका थिए । राष्ट्र बैंकले यस अघि नै लघुवित्त कम्पनीहरुलाई मर्जरका लागि तयार रहन निर्देशन दिँदै आएको थियो ।
स्टक एक्स्चेञ्जकाे तथ्याङ्कमा त्रुटि नै त्रुटि, सेयर बजारका लाखाैँ लगानीकर्ता उच्च जाेखिममा
काठमाडौं । सूचिकृत कम्पनीहरुको विश्वसनीय श्रोत मानिँदै आएको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को तथ्याङ्कमा त्रुटि नै त्रुटि भेटिएका छन् । सेयर बजारका लगानीकर्ताकाे लागि अति महत्वपूर्ण रहेकाे तथ्याङ्कहरू गलत र अपूर्ण हुँदा सेयर बजारका लाखाैँ लगानीकर्ता गम्भीर जाेखिममा रहेकाे देखिएकाे छ । कम्पनीले सार्वजनिक गरेका संस्थागत तथ्याङ्क र नेप्सेले राखेको तथ्याङ्क एक अर्कामा भिन्न छन् । विकासन्युजले गरेकाे एक अध्ययनमा कम्पनीले प्रकाशित गरेको विवरणमा चुक्ता पुँजी बढी देखिएको छ भने नेप्सेले राखेको सोही कम्पनीको चुक्ता पुँजी सोभन्दा घटी देखिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले प्रकाशित गरेकाे वित्तीय विवरणमा चुक्ता पुँजी १२ अर्ब ६२ करोड रुपैयाँ रहेकाे उल्लेख छ । बैंकले गत पुस मसान्त र चैत मसान्तमा प्रकाशित वित्तीय विवरणमा यस्ताे देखिन्छ । तर नेप्सेकाे वेवसाइटमा इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १० अर्ब ६२ करोड रुपैयाँ मात्रै रहेको देखिन्छ । यो एउटा उदाहरण मात्रै हो । त्यसैगरी, आईएमई जनरल इन्स्योरेन्स(आईजीआई) को चुक्ता पुँजी नेप्सेमा ५४ करोड रुपैयाँ देखिन्छ । तर इन्स्योरेन्सका कम्पनी सचिव शरण रेग्मीले हाल सो रकममा वृद्धि भइसकेको विकासन्युजसँग बताएका छन् । उनका अनुसार हाल कम्पनीको चुक्ता पुँजी बढेर ९७ करोड २० लाख रुपैयाँ पुगिसकेको छ । नेप्सेको डाटा गलत भएको याे दाेस्राे उदाहरण हाे । यस्ता त्रुटि दर्जनाै भेटिएका छन् । चुक्ता पूँजीमा त्रुटि भेटिएका कम्पनीहरुः नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने नेप्सेकाे डाटामा त्रुटि नभएकाे दावी गरे । १६ खर्ब बजार पुँजीकरण रहेको नेप्सेमा लगानीकर्ताहरुको ठूलो विश्वास रहेको छ । यस्ता केही कमजोरीहरु सुधार गरेमा नेप्सेप्रति लगानीकर्ताहरु थप सकारात्मक हुने बुझिन्छ । लगानीकर्ता उच्च जाेखिममा ? नेप्सेकाे डाटा हेरेर लगानी गर्दा आफ्नाे लगानी डुबेकाे लगानीकर्ता मनाेज भट्टराइले बताए । ‘बैंक अफ काठमाण्डूकाे सेयर मूल्य प्रतिकित्ता २७५ मा किनेकाे । चुक्ता पुँजी ८ अर्ब पुगेकाे रहेन छ, बाेनस सेयर दिन सक्छ भनेर सेयर किनेकाे थिए । पछि थाहा भयाे कि बैंककाे पुँजी ८ अर्ब ६ कराेड भइसकेकाे रहेछ । नेप्सेले मलाई झुक्यायाे’ उनले भने । नेप्सेकाे तथ्याङ्कमा हुने यस्ता त्रुटिले मनाेज जस्तै लाखाैँ मानिस झुक्कन सक्ने यस बजारका जानकारहरू बताउँछन् । यसले सेयर बजारका लगानीकर्ताकाे लगानी उच्च जाेखिममा परेकाे जनकारहरू बताउँछन् । नियतबस त्रुटि ! नेप्सेकाे तथ्याङ्कमा विगतमा यस्ताे त्रुटि देखिदैन थियाे । नाम उल्लेख नगर्ने सर्तमा नेप्सेका पूर्व महाप्रबन्धकले पैसाकाे चलखेलमा यस्ताे भएकाे हुन सक्ने बताए । ‘सेयर बजारसँग सम्बन्धित विभिन्न अनलाइन खुलेका छन् । उनीहरूकाे व्यापारमा सहयाेग पुर्याउन नेप्सेकाे डाटा अध्यावधिक नियमित नगरिएकाे हुन सक्छ’ उनले आशंका व्यक्त गरे । नेप्सेले लाइभ डाटा पनि अपारदर्शी ढंगले बेचिरहेकाे आशंका गरिएकाे छ ।
सेयर बजारमा उछालः नेप्से ३१ अंकले बढ्दा कारोबार रकमले एक अर्ब नाघ्यो
काठमाडौं । साताको पहिलो कारोबारमा सेयर बजारमा उछाल देखिएको छ । आइतबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा उच्च वृद्धि भएको छ । सो दिन नेप्से परिसूचक ३१.८९ अंकले बढेर १२६४.२० अंकमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.५९ प्रतिशत बढी हो । गत बिहीबार नेप्से परिसूचक १२३२ अंकमा पुगेर बजार बन्द भएको थियो । त्यस्तै, आइतबार कुल १७१ कम्पनीको एक अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन बिहीबारको तुलनामा २६ करोड ९२ लाख रुपैयाँ बढी हो । गत बिहीबार कुल १६५ कम्पनीको ७५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल बैंकको १४ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै कारोबारमा आएका दुई समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । निर्जीवन बीमा र उत्पादनमूलक समूह क्रमशः ७.२२ र ११.९२ अंकले ओरालो लागेका छन् ।
सेयर बजारमा प्यानको त्रास हट्यो, लागू भएको दोश्रो दिनमै उच्च कारोबार
काठमाडौं । सेयर बजारमा स्थायी लेखा नम्बर (प्यान) लागू भएको दोश्रो दिन उच्च रकमको कारोबार भएको छ । मंगलबारको बजारमा कूल ७४ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसले प्यान सम्बन्धी लगानीकर्तामा देखिएको डर/त्रास घटेको छ । सोमबारको तुलनामा मंगलबार मात्रै ४३ करोड ८२ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सोमबार जम्मा ३० करोड रुपैयाँ कारोबार भएको थियो । कारोबारको साथ साथै नेप्से परिसूचकमा पनि उच्च वृद्धि देखिएको छ । परिसूचक २३.३३ अंकले बढेर १२१२.०५ अंकमा पुगेको छ । जुन सोमबारको तुलनामा १.९६ प्रतिशत बढी हो । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले मंगलबारकाे सेयर बजारमा उल्लेख्य वृद्धि हुनुले लगानीकर्तामा प्यानप्रति जति डर जति थियो त्यो अब हट्ने बताएका छन् । साथै, बजारमा तरलताको समस्या कम हुँदै गएको र बैंक ब्याजदर घटिरहेकोले सेयर बजार बढेको उनले जनाए । त्यस्तै, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको कमाइ र कम्पनीहरुको प्रतिसेयर आम्दानी बढ्दै गएकाले नेप्सेमा थप सुधार हुने अध्यक्ष रौनियारले बताए । त्यसैगरी, मंगलबार कारोबारमा आएका सबै समूहहरु हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ८० अंकले उकालो लागेको छ । त्यस्तै, जलविद्युत्, उत्पादनमूलक र अन्य समूह सामान्य अंकले उकालो लागेका छन् भने बाँकी समूह दोहोरो अंकले बढेका छन् ।
सेयर बजार सामान्य अंकले बढ्यो, माइक्रोफाइनान्स बाहेक सबै समूह हरिया
काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले बढेको छ । सो दिनको नेप्से परिसूचक २.०७ अंकले बढेर ११४०.७२ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१८ प्रतिशत बढी हो । सोमबारको नेप्से पनि सामान्य अंकले उकालो लागेको थियो । बजारमा कुल १७१ कम्पनीको २१ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल बङ्गलादेश बैंकको प्रमोटर सेयर कारोबार भएको छ । बैंकको एकैदिन एक करोड ५८ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १२० रुपैयाँ रहेको छ । त्यस्तै, एनएमबि बैंकको ९६ लाख रुपैयाँ बराबरको साधारण सेयर कारोबार भएको छ । सो दिन माइक्रोफाइनान्स बाहेक कारोबारमा आएका सबै समूह हरिया भएका छन् । मंगलबार १० वटा समूह कारोबारमा आएका थिए । जसमध्ये निर्जीवन बीमा र उत्पादनमूलक समूह क्रमशः २४ र ११ अंकले उकालो लागेका छन् भने बाँकी समूह सामान्य अंकले बढेका छन् । माइक्रोफाइनान्स समूह ५.१२ अंकले ओरालो लागको छ । मंगलबार कारोबारमा आएका १० समूह
सेयर बजार करेक्सनतर्फ, २५ करोडको कारोबारमा सबैभन्दा बढी ग्लोबल आईएमईको
काठमाडौं । सेयर बजार पुनः करेक्सनतर्फ लागेको देखिएको छ । अघिल्लो साता निरन्तर घटेर ११०० अंकमा झरेको नेप्से गत साता लगातार बढेर परिसूचक ११६३ अंकमा पुगेको थियो । त्यसपछिको कारोबारमा भने नेप्से घटेर बिहीबार ११४० अंकमा आइपुगेको छ । बजारमा परिसूचक मात्र नभएर कारोबार रकममा पनि गिरावट देखिएको छ । गत साताको कुनै दिन आधा अर्बको सेयर किनबेच भएको बजारमा बिहीबार जम्मा २५ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल १६९ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको संस्थापक(प्रमोटर) सेयर बिक्री भएको छ । बैंकको एकैदिन एक करोड ८२ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १७४ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन दुई समूह बाहेक कारोबारमा आएका बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा ६६ अंकले घटेको छ । त्यस्तै, जीवन बीमा ६२ अंकले घटेको छ भने बाँकी समूह सामान्य एकल अंकले ओरालो लागेका छन् । उता उत्पादनमूलक र अन्य समूह क्रमशः १.१६ र २.२२ अंकले बढेर हरिया देखिएका छन् । बजारमा सबैभन्दा बढी आशा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले प्रतिकित्ता ९.९१ प्रतिशत कमाएका छन् । बिहीबार संस्थाको सेयर मूल्य प्रतिकित्ता ५१० रुपैयाँ रहेको छ । सबैभन्दा बढी ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.७४ प्रतिशतले घटेको छ ।
सेयर बजारमा छायो हरियाली, नेप्से ९ अंकले बढेर ११११ अंकमा
काठमाडौं । निरन्तर गिरावटले राताम्मे भएको बजार बुधबार भने बढेर हरियो देखिएको छ । सो दिन नेप्से ९.१२ अंकले बढेर ११११.७६ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८३ प्रतिशतले बढेको हो । परिसूचक बढेसँगै कारोबारमा आएका सबै सूचक हरिया भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ९६.१४ अंकले बढेर ५७४४ अंकमा पुगेको छ । त्यस्तै, निर्जीवन बीमा समूह ६७.५६ अंक, होटल २५, माइक्रोफाइनान्स १९ र विकास बैंक १० अंकले बढेको छ । सो दिन कुल १६९ कम्पनीको २२ करोड ४६ लाख ६६ हजार १२८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी एनसीसी बैंकको एक करोड ४६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल बैंकको एक करोड ३६ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एक करोड १७ लाख र एनएमबि बैंकको एक करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी हाथवे फाइनान्स कम्पनी र कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य क्रमशः ८.३३ र ८.२८ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घलेम्दी हाइड्रोका लगानीकर्ताले ६.५५ प्रतिशत गुमाएका छन् ।
लगानीकर्ता भन्छन्- सेयर बजारमा प्यान अनिवार्य नभई ऐच्छिक हुनुपर्छ
काठमाडौं । सेयर बजारका लगानीकर्ताले धितोपत्र बजारमा स्थायी लेखानम्बर (प्यान) अनिवार्य रुपमा लागू नगरी ऐच्छिक रुपमा लिने व्यवस्था गरी चरणबद्ध रुपमा लागू गर्नुपर्ने बताएका छन् । सोमबार बोर्डद्धारा आयोजित ‘धितोपत्र बजारमा स्थायी लेखानम्बर (प्यान) को व्यवस्था’ विषयक अन्तर्क्रिया तथा छलफल कार्यक्रममा लगानीकर्ताले सो कुरा बताएका हुन् । कार्यक्रममा नेपाल ईन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समूह गरी लगानीकर्ताका पाँच(५) वटा संस्थाका पदाधिकारीहरुका लगानीकर्ताले प्यान २०७६ वैशाख १ देखि अनिवार्य लागू नगर्न बताएका हुन् । लगानीकर्ताको स्तर, देशको भौगोलिक अवस्थाका साथै अन्य व्यवहारिक पक्षहरुलाई मध्यनजर गरी सबै लगानीकर्ताका संस्था पदाधिकारीले सो कुरा जनाएका हुन् । कार्यक्रममा सो पाँचै संघ संस्थाका पदाधिकारीहरुले लगानीकर्ता प्यानको विरोधी नरहेको धारणा राख्दै पूँजीगत लाभ कर अन्तिम कर हो कि होइन, अघिल्लो वर्षको वार्षिक कारोबारमा भएको घाटालाई नाफामा समायोजन गरी कर निर्धारण हुने, हाल शेयर खरिदकर्तालाई मात्रै प्यान अनिवार्य गरिएकोमा सेयर बिक्रीकर्तालाई सो व्यवस्था नभएको सम्बन्धमा, नाबालक तथा विदेशमा रहने नेपाली लगानीकर्ताले प्यान लिने सम्बन्धमा, प्यान स्वतस्फूर्त रुपमा लिने वातावरण र प्यान लिन सहज नभएको बताएका छन् । बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले कार्यक्रमबाट यसका सरोकारवाला पक्षहरुबीच स्थायी लेखा नम्बरका सम्बन्धमा रहेका समस्या तथा व्यवहारिक पक्षको जानकारी भएको बताए । साथै, उनले सेयर बजारमा प्यान लागू गर्ने विषय प्राविधिक विषय समेत भएकोले यसका व्यवहारिक पक्ष र बजारको अवस्थालाई समेत ध्यान दिई सम्पूर्ण पक्ष अघि बढ्नुपर्ने धारणा राखेका छन् । नेपाल सरकारको आ.व. २०७५।७६ को बजेट कार्यान्वयन योजनाअन्तर्गत धितोपत्रको दोस्रो बजारमार्फत सेयर खरिद गर्दा खरिदकर्ताले अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्थालाई कार्यान्वयन गर्ने सम्बन्धमा आन्तरिक राजस्व कार्यालय, बत्तिसपुतलीका प्रमुख कर अधिकृत टंकनाथ पौडेलले प्यान सम्बन्धी कानूनी व्यवस्था, प्यान लिने प्रक्रिया तथा आवश्यक कागजात र यो लिँदाका फाइदा सम्बन्धमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत, नेप्से, सिडिएससी, मर्चेन्ट बैंकर एशोसिएसन, स्टक ब्रोकर एशोसिएसनका साथै विभिन्न लगानीकर्ता संघ संस्थाका पदाधिकारी एवं सर्वसाधारण लगानीकर्ताहरुसहित करिब ७० जनाको उपस्थिती थियो ।
एकाएक किन बढ्यो मंगलबारको सेयर बजार ? यस्तो छ कारण
काठमाडौं । सेयर बजारमा लामो समयपछि हरियाली छाएको छ । निरन्तर ओरालो लागिरहेको परिसूचक मंगलबारको एकाएक २२.४४ अंकले बढेर ११२४.९६ अंकमा पुगेको छ । मंगलबार अर्थमन्त्रालयमा बसेको अर्थसमितिको बैठकमा पुँजीबजारको समस्या समाधान सम्बन्धी सकारात्मक कुराहरुमा छलफल भएकाले बजार बढेको इभेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताएका छन् । साथै, हाल बढिरहेको बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर नियन्त्रण गर्ने सम्बन्धि अर्थमन्त्रालयमा छलफल भइरहेकाले यसको असर बजारमा परेको उनले बताए । बजारमा कुल १६७ कम्पनीको २१ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी अपर तामाकोशी हाइड्रो पावरको एक करोड २७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २३२ रुपैयाँ रहेको छ । बजारमा कारोबारमा आएका सबै सूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह २५१ अंकले उकालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा समूह १५३ अंकले बढेर ५४३७ अंकमा पुगेको छ । उत्पादनमूलक र फाइनान्स समूह सामान्य एकल अंकले उकालो लागेका छन् भने बाँकी समूह दोहोरो अंकले बढेका छन् । मंगलबारका बजारमा अधिकांश लघुवित्त संस्थाको सेयर मूल्यमा वृद्धि भएको छ । सबैभन्दा बढी चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९३ प्रतिशत कमाएका छन् । त्यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६९ प्रतिशतले बढेर प्रतिकित्ता ८४९ रुपैयाँ पुगेको छ । त्यसैगरी, नयाँ नेपाल लघुवित्त विकास बैंक ७.५८, डिप्रोक्स लघुवित्त वित्तीय संस्था ७.१४, सामुदायिक लघुवित्त वित्तीय संस्था ६.६७ र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.०५ प्रतिशतले बढेको छ । दोहोरो अंकले बढेको बजारमा सबैभन्दा बढी वर्ल्ड मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । त्यस्तै, खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ३.७५ प्रतिशतले घटेको छ ।
सेयर बजारमा उच्च गिरावटसँगै तीन वटा बैंकको सेयर लिलाम बिक्रीमा
काठमाडौं । बजारमा सेयरको मूल्यमा उच्च गिरावट आईरहेको समयमा एउटा वाणिज्य बैंक र दुईवटा विकास बैंकको सेयर लिलामीमा आएको छ । केदाल खत्री क्षेत्रीले कैलाश विकास बैंकबाट लिएको ऋण भुक्तानी नगरीपछि उनको स्वामित्वमा रहेको विभिन्न बैंकहरुको सेयर लिलामीमा राखिएको हो । ऋण असुली न्यायाधिकरणले क्षेत्रीको स्वामित्वमा रहेको १८ हजार २०० कित्ता सेयर लिलामीमा राखेको हो । जनता बैंक नेपालको सेयर १० हजार कित्ता, सिन्धु विकास बैंकको सेयर ६ हजार २१७ कित्ता र रिलायबल डेभलपमेन्ट बैंकको सेयर १ हजार ९८३ कित्ता लिलाम बिक्रीमा राखिएको छ । उल्लेखित सबै सेयरको न्यूनतम मूल्य २४ लाख ४२ हजार ७५२ तोकिएको र बढाबढ मूल्यमा सेयर बिक्री गरिने न्यायाधिकरणले जनाएको छ । सेयरधितो कर्जा डिफल्ट भई यसरी सेयर लिलामीमा आउनुलाई सेयर बजारमा नराम्रो परिसूचकको रुपमा लिइन्छ । यस्तो अवस्थामा बजारमा थप गिरावट आउने अनुभवी लगानीकर्ताहरु बताउँछन् । दुई वर्षअघि १८८१ पुगेको नेप्से परिसूचक सोमबार ११०२ अंकमा झरेको छ । यो अंक विगत तीन वर्षयताको न्यूनतम विन्दु भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
सेयर बजार ओरालो लाग्ने क्रम जारी, परिसूचक साताकै न्युनतम बिन्दुमा
काठमाडौं । केही समययता सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । साताको शुरुदेखि ओरालो लागेको परिसूचक बुधबार पनि ७.११ अंकले घटेर ११२१.०८ अंकमा पुगेको छ । जुन यस साताकै न्युनतम बिन्दु हो । बजारमा परिसूचक सँगै समूह सूचक पनि राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ९५.७५ अंकले ओरालो लागेको छ । सो दिन उत्पादनमूलक समूह मात्रै ४७.३ अंकले उकालो लागेको छ । कुल १७४ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी नागरिक लगानी कोषको सेयर कारोबार भएको छ । कोषको बुधबार एक करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २ हजार ६१० रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंकको एक करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता २८५ रुपैयाँ रहेको छ । बजारमा सबैभन्दा बढी चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८२ प्रतिशतले बढेको छ । त्यस्तै, यूनिलिभर नेपालका लगानीकर्ताले ५.९९ प्रतिशत कमाएका छन् । बुधबार नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, जेबिल्स फाइनान्सको सेयर मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ५.६७ प्रतिशतले घटेको छ ।
एसियाली सेयर बजारमा चीन-अमेरिका व्यापार वार्ताको प्रभाव, ‘पर्ख र हेर’मा लगानीकर्ता
सिङ्गापुर । व्यापारीहरूले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको नयाँ नीतिगत निर्णय र अमेरिका-चीन वार्तालाई पर्खिरहेका समय बुधबार एशियाली शेयर बजारमा मिश्रित प्रभाव देखिएको छ । जापानको शेयर बजारको लेखाजोखा राख्ने निक्के सुचकाङ्कमा २२५ अङ्क अर्थात् ०.५ प्रतिशतको कमी आई २० हजार ५५६ दशमलब ५४ अङ्क कायम भएको छ भने दक्षिण कोरियाली कोस्पीमा ०.९ प्रतिशतको वृद्धि भई २२ हजार तीन दशमलब १७ कायम भएको छ । हङकङको हाङसेङ सूचकाङ्कमा ०.१ प्रतिशत अङ्कले वृद्धिभई २७ हजार ५६४ दशमलब १९ अङ्क कायम भएको छ । साङघाइ कम्पोजिट सूचकाङ्कमा ०.२ प्रतिशतको ह्रास आउँदा २५ हजार ८९ दशमलब ७० अङ्क कायम भएको छ । अष्ट्रेलियाको एस एण्ड पी एएसएक्स २०० मा ०.२ प्रतिशत अङ्कले वृद्धि भई पाँच हजार ८८६ दशमलब ७० कायम भएको छ । ताइवानमा स्टक बजार स्थिर रहेको छ भने थाइल्याण्ड र इन्डिोनेसियामा वृद्धि देखिएको छ । रासस/एपी
अपर तामाकोशीसँगै घट्यो आइतबारको सेयर बजार, दिनभरि अपरमा के के भयो ?
काठमाडौं । आइतबार अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्यमा गिरावट आएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कारोबार शुरु भएदेखि निरन्तर बढिरहेको अपरको सेयर मूल्य आइतबार ६.१० प्रतिशतले घटेको छ । गत पुस २९ गतेदेखि कारोबार शुरु भएको उक्त कम्पनीको मूल्य ५ दिनसम्म निरन्तर उच्च मूल्यमा कारोबार भएको थियो । तर आज छैटौँ दिनको उक्त मूल्य वृद्धि थामिएको छ । अघिल्लो कारोबार अर्थात गत बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३११ रुपैयाँ थियो भने आइतबार कम्पनीको सेयर प्रतिकित्ता ३२६ रुपैयाँदेखि कारोबार शुरु भएको थियो । कारोबार शुरु भएको केही समयमै कम्पनीको सेयर मूल्य उच्च अंकले बढेर प्रतिकित्ता ३४२ रुपैयाँ पुगेको थियो । सो समयमा कम्पनीको ३ लाख ११ हजार कित्ता सेयर किनबेच भएको थियो । बजारमा उच्च कारोबार भएपछि त्यसपछिको बजारमा सर्किट ब्रेक लाग्यो । बजारमा सर्किट ब्रेकसँगै सिस्टममा केही समस्या आएको थियो र त्यसको करिब १५ मिनेटमै सेयर कारोबार खुल्यो । सर्किट ब्रेक लागेपछि खुलेको बजारमा भने अपरको मूल्य वृद्धिले गति लिन सकेन र त्यसपछि निरन्तर घट्न थाल्यो । अन्ततः बजार बन्द हुँदा अपर तामाकोशीको सेयर मूल्य ६.११ प्रतिशतले घटेर प्रतिकित्ता २९२ रुपैयाँमा सिमित रहेको छ । कम्पनीको मूल्यमा गिरावट आएता पनि सो दिन सबैभन्दा बढी कारोबार भएको छ । जसको एकैदिन २३ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अपर तामाकोशीको मूल्य घटेसँगै आइतबारको बजार समग्रमा ८.६० अंकले घटेर ११७९.१७ अंकमा झरेको छ । बजारमा कुल १४३ कम्पनीको ३६ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
आइतबारको सेयर बजार ७ अंकले घट्यो, अन्य बाहेक सबै समूह राताम्मे
काठमाडौं । आइतबारको सेयर बजार ७.२२ अंकले घटेको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको बजार अन्तत ०.६१ प्रतिशतले घटेर ११७०.७९ अंकमा अडेको छ । बजारमा कुल १० समूह करोबारमा आएका छन् । जसमध्ये अन्य समूह बाहेक बाँकी समूह राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ७९ अंकले घटेको छ । अन्य समूह भने ९.५४ अंकले उकालो लागेको छ । सो दिन कुल १५६ कम्पनीको ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा एनसीसी बैंकको ३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
सेयर बजारमा ५ अंकको गिरावट
काठमाडौं । बुधबारको सेयर बजार ५.४२ अंकले घटेको छ । दिनभर उतारचढाव देखिएको बजारमा परिसूचक ०.४६ प्रतिशतले घटेर ११८० अंकमा झरेको छ । बजारमा कुल १५४ कम्पनीको २५ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(मंगलबार)को बजारमा कुल २२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । त्यस्तै, माइक्रो फाइनान्स र ट्रेडिङ समूह बाहेक कारोबारमा आएका बाँकी समूह ओरालो लागेका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ६८ अंकले ओरालो लागेको छ । माइक्रो फाइनान्स र ट्रेडिङ समूहको सूचक क्रमशः ६.५९ र २.७९ अंकले बढेको छ । बजारमा सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीको सेयर किनबेच भएको छ । कम्पनीको बुधबार मात्रै २ करोड २८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ६७५ रुपैयाँ रहेको छ । बुधबार कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.४२ प्रतिशत कमाएका छन् । उता अरुण काबेली पावरको सेयर मूल्य सबैभन्दा बढी ४.६६ अंकले घटेको छ ।