ऋणपत्रको बाढी आउने, सेयर बजारलाई ठूलो धक्का

<p>काठमाडौं । वित्तीय बजार र पुँजी बजारको लागि एउटा महत्वपूर्ण व्यवस्था आएको छ । बाणिज्य बैंकहरुले चुक्ता पुँजीको न्युनतम २५ प्रतिशत बराबर अनिवार्य रुपमा ऋणपत्र जारी गर्नुपर्ने भएको छ । त्यो पनि छोटो अवधि अर्थात २०७७ असार मसान्तभित्र । नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्ममा हाल २८ वटा वाणिज्य बैंकको चुक्ता पुँजी ३ खर्ब २ अर्ब [&hellip;]</p>

काठमाडौं । वित्तीय बजार र पुँजी बजारको लागि एउटा महत्वपूर्ण व्यवस्था आएको छ । बाणिज्य बैंकहरुले चुक्ता पुँजीको न्युनतम २५ प्रतिशत बराबर अनिवार्य रुपमा ऋणपत्र जारी गर्नुपर्ने भएको छ । त्यो पनि छोटो अवधि अर्थात २०७७ असार मसान्तभित्र ।

नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्ममा हाल २८ वटा वाणिज्य बैंकको चुक्ता पुँजी ३ खर्ब २ अर्ब रुपैयाँ छ । २०७७ असार मसान्तसम्ममा ३ खर्ब २५ अर्ब चुक्ता पुँजी पुग्ने अनुमान छ ।  त्यसको २५ प्रतिशतले ८१ अर्ब भन्दा बढीको ऋणपत्र जारी हुने भएको छ ।

हाल एनआईसी एशिया, इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, हिमालयन बैंक लगायत केही बैंकले ऋणपत्र निष्काशन गरिरहेका छन् । अब सबै बैंकहरुले चुक्ता पुँजीको कम्तिमा २५ प्रतिशत ऋणपत्र जारी गर्ने पर्ने व्यवास्था गरिएको गभर्नर डा. चिरञ्जीवि नेपालले बताए ।

चुक्ता पुँजीको २५ प्रतिशतभन्दा बढी ऋणपत्र जारी गर्न सक्ने राष्ट्र बैंकका नियमन विभाग प्रमुख बमबहादुर मिश्रले बताए । दीर्घकालिन प्रकृतिको कोष प्रवद्र्धन गर्न र सेयर बजारमा ऋणपत्रको कारोबारलाई प्रोत्साहित गर्न यस्तो नीति ल्याईएको उनले बताए ।

ऋणपत्रबाट उठेको रकमको १०० प्रतिशत कर्जा लगानी गर्न पाईने छ । बैंकहरुले निक्षेपकर्तासँग लिएको १०० रुपैयाँमा ८० रुपैयाँ मात्र कर्जा लगानी गर्न पाउँछन भने २० रुपैयाँ सीडी रेसियो मेन्टन गर्न राख्नुपर्छ ।

‘ऋणपत्रको रकममा सीसीडी रेसियो लागू हुँदैन’ कार्यकारी निर्देशक बमले प्रष्ट पारे । उच्चदरको आर्थिक वृद्धिमा सहयोग पुर्याउन ऋणपत्र मार्फत लगानी योग्य पुँजी वृद्धि गर्नु पनि यसको उदेश्य भएको उनले बताए । बैंकहरुले जारी गरेको ऋणपत्र लामो अवधिको हुने, व्याज दर पनि निक्षेपमा भन्दा बढी हुने र बजारमा ऋणपत्रको बिक्री पनि राम्रो भएकोले यो नीति ल्याएको उनले प्रष्ट्याए ।

एक वर्षमा ७५ अर्बको ऋणपत्र आउने भएपछि सेयर बजारमा आपूर्ति भने ह्वात्तै बढ्ने जानकारहरु बताएँछन् । ‘बैंकहरुले १० प्रतिशत व्याजदरको ऋणपत्र ७-८ वर्षको लागि जारी गरेपछि संस्थागत लगानीकर्ता र दीर्घकालिन प्रतिफल हेरेर लगानीगर्नेहरु ऋणपत्र खरिदमा लाग्छन् । दोस्रो बजारमा सेयरको माग कम हुन्छ’ एक ठूला लगानीकर्ताले नाम नखुलाउने सर्तमा भने ।

ऋणपत्रको व्याज पनि उच्च हुने, धितो राखेर बैंकबाट कर्जा लिन पनि सकिने, आवश्यक पुँजी बजारमा बेच्न पनि सकिने भएकोले ऋणपत्रमा लगानीकर्ताको आकर्षण बढ्दो छ ।

Share News