काठमाडौं । सूचिकृत कम्पनीहरुको विश्वसनीय श्रोत मानिँदै आएको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को तथ्याङ्कमा त्रुटि नै त्रुटि भेटिएका छन् । सेयर बजारका लगानीकर्ताकाे लागि अति महत्वपूर्ण रहेकाे तथ्याङ्कहरू गलत र अपूर्ण हुँदा सेयर बजारका लाखाैँ लगानीकर्ता गम्भीर जाेखिममा रहेकाे देखिएकाे छ ।
कम्पनीले सार्वजनिक गरेका संस्थागत तथ्याङ्क र नेप्सेले राखेको तथ्याङ्क एक अर्कामा भिन्न छन् । विकासन्युजले गरेकाे एक अध्ययनमा कम्पनीले प्रकाशित गरेको विवरणमा चुक्ता पुँजी बढी देखिएको छ भने नेप्सेले राखेको सोही कम्पनीको चुक्ता पुँजी सोभन्दा घटी देखिएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले प्रकाशित गरेकाे वित्तीय विवरणमा चुक्ता पुँजी १२ अर्ब ६२ करोड रुपैयाँ रहेकाे उल्लेख छ । बैंकले गत पुस मसान्त र चैत मसान्तमा प्रकाशित वित्तीय विवरणमा यस्ताे देखिन्छ । तर नेप्सेकाे वेवसाइटमा इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १० अर्ब ६२ करोड रुपैयाँ मात्रै रहेको देखिन्छ । यो एउटा उदाहरण मात्रै हो ।
त्यसैगरी, आईएमई जनरल इन्स्योरेन्स(आईजीआई) को चुक्ता पुँजी नेप्सेमा ५४ करोड रुपैयाँ देखिन्छ । तर इन्स्योरेन्सका कम्पनी सचिव शरण रेग्मीले हाल सो रकममा वृद्धि भइसकेको विकासन्युजसँग बताएका छन् । उनका अनुसार हाल कम्पनीको चुक्ता पुँजी बढेर ९७ करोड २० लाख रुपैयाँ पुगिसकेको छ । नेप्सेको डाटा गलत भएको याे दाेस्राे उदाहरण हाे । यस्ता त्रुटि दर्जनाै भेटिएका छन् ।
चुक्ता पूँजीमा त्रुटि भेटिएका कम्पनीहरुः

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने नेप्सेकाे डाटामा त्रुटि नभएकाे दावी गरे ।
१६ खर्ब बजार पुँजीकरण रहेको नेप्सेमा लगानीकर्ताहरुको ठूलो विश्वास रहेको छ । यस्ता केही कमजोरीहरु सुधार गरेमा नेप्सेप्रति लगानीकर्ताहरु थप सकारात्मक हुने बुझिन्छ ।
लगानीकर्ता उच्च जाेखिममा ?
नेप्सेकाे डाटा हेरेर लगानी गर्दा आफ्नाे लगानी डुबेकाे लगानीकर्ता मनाेज भट्टराइले बताए । ‘बैंक अफ काठमाण्डूकाे सेयर मूल्य प्रतिकित्ता २७५ मा किनेकाे । चुक्ता पुँजी ८ अर्ब पुगेकाे रहेन छ, बाेनस सेयर दिन सक्छ भनेर सेयर किनेकाे थिए । पछि थाहा भयाे कि बैंककाे पुँजी ८ अर्ब ६ कराेड भइसकेकाे रहेछ । नेप्सेले मलाई झुक्यायाे’ उनले भने ।
नेप्सेकाे तथ्याङ्कमा हुने यस्ता त्रुटिले मनाेज जस्तै लाखाैँ मानिस झुक्कन सक्ने यस बजारका जानकारहरू बताउँछन् । यसले सेयर बजारका लगानीकर्ताकाे लगानी उच्च जाेखिममा परेकाे जनकारहरू बताउँछन् ।
नियतबस त्रुटि !
नेप्सेकाे तथ्याङ्कमा विगतमा यस्ताे त्रुटि देखिदैन थियाे । नाम उल्लेख नगर्ने सर्तमा नेप्सेका पूर्व महाप्रबन्धकले पैसाकाे चलखेलमा यस्ताे भएकाे हुन सक्ने बताए । ‘सेयर बजारसँग सम्बन्धित विभिन्न अनलाइन खुलेका छन् । उनीहरूकाे व्यापारमा सहयाेग पुर्याउन नेप्सेकाे डाटा अध्यावधिक नियमित नगरिएकाे हुन सक्छ’ उनले आशंका व्यक्त गरे । नेप्सेले लाइभ डाटा पनि अपारदर्शी ढंगले बेचिरहेकाे आशंका गरिएकाे छ ।