नेपाली कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, गगनले पाए २५ मत मात्रै

  काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतले पछाडि पार्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका छन् । यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य रहेका थिए । मतदानमा सबै ८९ सांसद सहभागी भएको समितिले जनाएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो ।

दाङ–१ मा नेपाली कांग्रेसका अनुराग खड्का विजयी

दाङ । दाङ निर्वाचन क्षेत्र नं १ (२) प्रदेशसभा सदस्यमा नेपाली काङ्ग्रेसका अनुराग खड्का निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार कुलबहादुर केसीलाई तीन हजार ५२ मतान्तरले पराजित गरेका हृन् । विजयी खड्काले १६ हजार दुई सय २२ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी केसीले १३ हजार एक सय ७० मत पाएको निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिए ।त्यस्तै नागरिक उन्मुक्ति पार्टीका भक्तिराम चौधरीले पाँच हजार एक सय ३९ मत पाए । निर्वाचित खड्काले रासससँग कुरा गर्दै जनताले दिएको मतको कदर गर्दै समग्र दाङको विकासमा आफूले खटेर काम गर्ने बताए । उनले भने, ‘एउटा कलिलो युवकलाई यति धेरै विश्वास गर्दिए, म यो विश्वासलाई आत्मसात् गरेर अगाडि बढ्ने छु ।’ दाङ–१ मा जम्मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये प्रदेश (१) मा ४० हजार एक सय छ र प्रदेश (२) मा ३८ हजार पाँच सय ९२ गरी कुल ७८ हजार छ सय ९८ मत खसेको थियो । रासस

गोरखा–२(२) मा नेपाली कांग्रेसका पाण्डे विजयी

गोरखा । गोरखा–२(२) मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा पाण्डेले १६ हजार आठ सय ८२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका वसन्त गुरुङले पाँच हजार तीन सय ६० मत प्राप्त गरेका छन् । पाण्डे ११ हजार पाँच सय २२ मतको फराकिलो अन्तरले विजयी हुन सफल भएका हुन् । विजयको औपचारिक घोषणा हुन भने बाँकी रहेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए । सो क्षेत्रमा कुल २७ हजार चार सय ३० मत खसेको थियो ।

नेपाली कांग्रेसका महामन्त्री शर्मा साढे छ हजार मतान्तरले अगाडि

झापा । झापा क्षेत्र नं १ मा ३४ हजार चार सय २९ मत गणना भएको छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई छ हजार पाँच सय ७३ मतले पछि पारेका छन् । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले १७ हजार दुई सय ९८ मत प्राप्त गर्दा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका खरेलले १० हजार सात सय १६ मत प्राप्त गरे । यो निर्वाचन क्षेत्रमा ८७ हजार तीन सय ९६ मत खसेको छ ।

नेपाली कांग्रेसद्वारा चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ दल नेपाली कांग्रेशले ुप्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धताु सार्वजनिक गरेको छ । कांग्रेसले शनिबार पार्टी मुख्यालयमा एक कार्यक्रमको आयोजना गदैं चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । पार्टीका महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको ४१ सदस्यीय समितिले घोषणापत्र तयार गरेको हो । घोषणापत्र समितिमा विभिन्न विज्ञहरुको सहभागितामा उपसमितिहरु पनि बनाइएको थियो ।

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका छन् । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उनी विजयी भएका हुन । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका हुन । सभापति देउवा प्रतिस्पर्धी डा शेखर कोइरालालाई ८७८ मतान्तरले पाराजित गर्दै विजयी भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मङ्गलबार राति सम्पन्न मतगणनामा जम्मा खसेको मत ४ हजार ६२३ मा देउवाले २ हजार ७३३ मत प्राप्त गरेका थिए भने डा कोइरालाले १ हजार ८५५ मत प्राप्त गरेका हुन । जम्मा ३५ मत बदर भएको थियो । दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान राति ९ बजे सम्पन्न भएको थियो । मतदानमा कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५७४ ले मतदान गरेका थिए । सोमबार भएको निर्वाचनमा सभापति पदका पाँच जना प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति देउवा र नेता डा शेखर कोइरालाबीच मङ्गलबार पुनः मतदान भएको हो । सोमबार भएको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ र उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गरेका हुन । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुने व्यवस्था छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन (फोटोफिचर)

काठमाडाैं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन शुरु भएकाे छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १४औँ महाधिवेशनको उद्घाटन गरेका छन् । आजदेखि तीन दिनसम्म चल्ने महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहितका पदाधिकारी र १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ । कोषाध्यक्ष भने केन्द्रीय समितिले चयन गर्नेछ । महाधिवेशनको बन्द सत्र शनिबार भृकुटीमण्डपको हलमा हुनेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते विहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते विहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ । उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

नेपाली कांग्रेसको महाधिवेशन भदौंमा, अर्को पार्टी छोडेर कांग्रेसको केन्द्रीय सदस्य चुनाव लड्न पाउने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीयको महाधिवेशन अगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा हुने भएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालयमा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको छ । पार्टीले सदस्यता विस्तार तथा नविकरण, विभिन्न तहको लागि हुने अधिवेशनको मिति कार्यतालिका पनि सार्वजनिक गरेको छ । बैंठकले नेपाली कांग्रेस पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको अवधि छ महिनाका लागि थप गर्ने निर्णय गरेको छ । कांग्रेसको २०१७ (संशोधन सहित) को धारा ४३ मा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरुको पदावधी चार वर्षको रहेको र असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्था बमोजिम पाँच वर्षको रहेको तर नेपालको संविधानको धारा २६९ (४) (ख) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा छ महिना थप गर्न सकिने भएकोले सोही आधारमा पदावधि थप गर्ने निर्णय भएको कांग्रेसले जनाएको छ । कांग्रेसले अर्को पार्टीको केन्द्रीय सदस्य नेपाली कांग्रेसमा प्रवेश गरी महाधिबेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्न पाउने व्यवस्था पनि गरेको छ । नेकपा विभाजित भई निराश भएको नेताहरुलाई आकर्षिक गर्न कांग्रेसले यस्तो व्यवस्था गरेको हुन सक्ने जानकारहरु बताउँछन् । तर, पार्टीको केन्द्रीय सदस्यमा पदासिन व्यक्ति न्यूनतम १० वर्ष निरन्तर क्रियाशील सदस्य हुनु पर्ने पदमा उम्मेदवार हुन पाउने वाहेक अन्य व्यक्ति जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको सभापति, महानगरपालिका र उपमहानगरपालिकाको सभापतिमा उम्मेदवार हुन नपाउने निर्णय पनि गरेको छ ।

नेपाली कांग्रेस केन्द्रिय समिति बैठक अब तिहारपछि मात्रै बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक दशै तिहार पछि बस्ने भएको छ । यसअघि दुई पटक मिति तय भएर स्थगित भएको बैठक दशै तिहार पछि मात्रै बस्ने भएको हो । कोरोनाको संक्रमण बढेको र धेरै जना एकैपटक भेला भएर छलफल गर्न सक्ने अवस्था नभएका कारण दशै अघि बैठक नबस्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । सम्भव भए कोजाग्रत पूर्णिमाको केहीदिन पछाडी सबैको पीसीआर परीक्षण गरी बैठक सञ्चालन गर्ने विषयमा पदाधिकारीबीच छलफल चलिरहेको उनले बताए । दशै र तिहारकोबीचमा बैठक बस्न नसके तिहारपछि बस्ने शर्माले बताए । विशेषगरी महाधिवेशनको सन्दर्भमा छलफल गर्न केन्द्रिय समिति बैठक बोलाइएको हो । पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले लिखित रुपमा पेश गरेको असन्तुष्टिका विषयमा पनि बैठकमा छलफल गर्ने एजेण्डा रहेको थियो । प्रवक्ता शर्माले फागुन ७ मा पार्टीको महाधिवेशन सम्पन्न गर्नेगरी बाँकी कार्यतालिका हेरफेर गर्ने, फागुनमा महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्थामा कति समयपछि गर्न सकिन्छ भन्ने विषयमा पनि अब बस्ने बैठकमा छलफल हुने बताए । फागुनमा महाधिवेशन सम्पन्न नभए जेठमा गर्ने गरी तयारी गरिने उनले बताए । यसअघि पहिलो पटक असोज १९ गतेका लागि बोलाइएको बैठक केही केन्द्रिय सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो । दोस्रो पटक असोज २५ गतेका लागि बैठक बोलाइएको भएपनि पार्टीका पूर्व कोषाध्याक्ष रामबाबु प्रसाईंको निधन भएपछि स्थगित भएको थियो ।

हुम्लामा सिमा मिचिएकाे छ, सरकारले राष्ट्रघात गर्यो-नेपाली कांग्रेस (रिपाेर्टसहित)

काठमाडौं । हुम्ला जिल्लामा पर्ने नाम्खाको लिमिमा चीन सरकारले करिब दुई किलोमीटर नेपाली भूमि अतिक्रमण गरेको निष्कर्ष निकाल्दै नेपाली काँग्रेसले विदेशीले सीमा मिच्दा कम्यूनिष्ट सरकारले ढाकछोप गरी राष्ट्रघाती काम गरेको जनाएको छ । सिमा अतिक्रमण उत्तरी मित्रराष्ट्रबाट होस् या दक्षिणीबाट, हामीलाई दुवै अस्वीकार्य छ । हुम्लाको सिमामा चीनले गरेको अतिक्रमण एक सार्वभौम राष्ट्र नेपालका लागि गम्भीर आपत्तिको बिषय हो । झनै आपत्ति, आश्चर्य र निन्दनीय विषय त नेपाल सरकारले गर्न खोजेको ढाकछोप र मौनता साथको राष्ट्रघात छ, नेपाली काँग्रेसको प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाली कांग्रेस तत्काल धारणा सार्वजनिक गर्न नेपाल सरकार समक्ष माग गर्दै, राष्ट्रको साझा धारणा निर्माण गर्न, चीन सरकार समक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कुटनैतिक संवाद मार्फत हल खोज्ने प्रक्रिया अविलम्ब शुरु गर्न माग गरेको छ । हुम्लामा ‘चीनले सिमा मिचेको छैन’ भनेर हतारिएर टिप्पणी गर्ने सरकार सिमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि मौन बसेर त्यसलाई ढाकछोप गर्न प्रयत्नशील रहेको बिषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको छ । सदरमुकाम सिमिकोटबाट ५० कोषमा रहेको नाम्खाको लिमिमा चीनले नेपालको सिमाना मिचेको चर्चा देशको राजधानीमा आइपुग्दा सरकारले ‘सिमा मिचिएको छैन’ भनेर परराष्ट्र मार्फत धारणा सार्वजनिक गरेको थियो भने प्रमुख प्रतिपक्षी दलका रूपमा नेपाली कांग्रेसले ‘यस्तो प्रश्नमा हतारोमा टिप्पणी गर्नु गलत हुने अतः स्थलगत अध्ययनको प्रतिवेदन पश्चात् टिप्पणी गर्नु जिम्मेवार र परिपक्व हुने’ धारणा सार्वजनिक गरेको थियो । सरकारको धारणालाई हामीले तत्कालै ‘हतारोको टिप्पणी’ संज्ञा दिएका थियौं । हुम्ला स्थित स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको नेतृत्वले असोज प्रथम सातामा स्थलगत अध्ययन गरेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि असोज १४ गते कर्णाली प्रदेश सभाका विपक्षी नेता एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिवनबहादुर शाहीको नेतृत्वमा एक अध्ययन कार्यदल नाम्खा पुग्यो । चीनसंगको सिमामा सो भूगोलमा रहेका पिलर नम्बर ५ देखि १२ सम्मको सिमाक्षेत्रमा सो टोलीले ११ दिन लगाएर गरेको अध्ययनको निष्कर्ष छ, नाम्खाको लिमिमा चीन सरकारले करिब दुई किलोमीटर नेपाली भूमि अतिक्रमण गरेको छ । दुई किलोमीटर भूमि अतिक्रमण हुंदा सूचना नराख्नु, जानकारी दिने सहायक प्रजिअलाई २४ घण्टे स्पष्टीकरण काट्नु, प्रजिअ नेतृत्वको टोली स्थलगत अध्ययनमा छंदै ‘सिमा मिचिएको छैन’ परराष्ट्र मन्त्रालय बोल्नु, सो टोली सिमाबाट फर्किएपछि मिडियालाई विवरण दिन रोक लगाइनु, त्यो अध्ययन टोलीको विवरण केन्द्रमा समेत सार्वजनिक नगरिनु अनि प्रतिपक्षी दलको प्रदेश संसदीय दलको नेतृत्वले अध्ययन गरेको प्रतिवेदन पाएपछि पनि प्रदेश र केन्द्र सरकार दुवै मौन रहनु दुःखद, लज्जास्पद र आपत्तिजनक छ, काँग्रेसले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । रिपाेर्टकाे पूर्ण विवरण [pdf id=242297]

आइतबार नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेपछि बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ । काेराेना भाइरस (कोभिड–१९) सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो । कांग्रेसको १३ औं महाधिवेशन वि.सं २०७२ फागुनमा भएको थियो । कांग्रेसले १४ औं महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई अगाडि बढाएकाे थिए ।

वाम गठबन्धनले दुई तिहाइ मत पाएकाे संकेत, नेपाली कांग्रेस निकै कमजोर

काठमाडौं । मध्यान्न तीन बजेसम्ममा नेकपा एमालेले प्रतिनिधिसभा सदस्यका लागि ३ स्थानमा विजयी हासिल गरेको छ । थप २९ स्थानमा अग्रता कायम गरेको छ । त्यस्तै प्रदेशसभामा एमालेले ७ स्थानमा विजयी हासिल गरेको छ भने १६ स्थानमा अग्रता कायम गरेको छ । निर्वाचन आयोगका अनुसार नेकपा माओवादी केन्द्रले १ स्थानमा विजयी हासिल गरेको छ भने १६ स्थानमा अग्रता कायम गरेको छ । प्रदेशसभा सदस्यतर्फ माओवादीले ३ स्थानमा विजयी हासिल गरेको छ भने १७ स्थानमा अग्रता कायम गरेको छ । २०७० सालको निर्वाचनमा सबैभन्दा बढी मत पाएको नेपाली कांग्रेसका लागि २०७४ सालको निर्वाचन परिणाम निकै पीढादाही देखिएको छ । कांग्रेसले अहिलेसम्म प्रतिनिधिसभा तर्फ ३ स्थानमा मात्र अग्रता कायम गरेको छ । काठमाडौं १, १० र रसुवामा कांग्रेसको अग्रता रहेको छ । प्रदेश सभातर्फ नेपाली कांग्रेसले १ स्थानमा विजय हासिल गरेको छ भने ७ स्थानमा अग्रता कायम गरेको छ । अन्य दलले केन्द्रमा १ स्थानमा र प्रदेशमा २ स्थानमा अग्रस्थान लिएका छन् । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् । प्रारम्भिक नतिजाले वामपन्थी गठबन्धनको दुईतिहाइ मत आउने देखिएको छ भने प्रतिनिधिसभामा नेपाली कांग्रेसको उपस्थिति संख्यात्मक हिसावले निकै कमजोर रहने देखिएको छ ।

नेपाली कांग्रेसलाई बहुमत दिनुस्, हामी समृद्ध नेपाल दिन्छौँ – विनोद चौधरी

नुवाकोट । नेपाली कांग्रेसका नेता विनोद चौधरीले नेपालको आर्थिक समृद्धिका लागि नेपाली कांग्रेसलाई बहुमतको सरकार दिन मतदाताहरुलाई आव्हान गरेका छन् । विहिबार नुवाकोटको देवीघाट र खरानीटारमाआयोजित छुट्टाछुट्टै चुनावी सभालाई सम्वोधनगर्दै नेता चौधरीले बलियो लोकतन्त्रको अभावमा आर्थिक विकास सम्भवनहुने बताए। ‘नेपालको आर्थिक विकास हुन नसक्नुमा हामी मतदातापनि जिम्मेवार छौं भन्दै अध्यक्ष चौधरीले आर्थिक विकासकालागि खुला बजार अर्थतन्त्रमा विश्वास राख्ने राजनीतिक दलको बहुमतको सरकार बन्नुपर्ने र यसकालागि यसपटक कांग्रेसलाई बहुमत दिन उनले आग्रह गरे । ‘तपाईहरू नेपालीकांग्रेसलाई बहुमतदिनुस्, हामी समृद्ध नेपाल दिन्छौैं’, नेता चौधरीले आममतदाताहरूलाई आव्हान गरे, ‘राजनीतिक स्थिरता भयो भने नेपालपनिचिन सरहको आर्थिक विकासको गतिमा अगाडि बढ्न सम्भव छ ।’ नेपाली कांग्रेसको चुनावी दौडाहामा रहेका नेता चौधरी पूर्वी नेपालका विभिन्न चुनावी सभाहरूपछि विहिबार नुवाकोटका कांग्रेस उम्मेदवारहरूलाई जिताउने अभियानमा त्यहाँ पुगेका हुन् । ‘२०४८ सालमा नेपाली कांग्रेसको नेतृत्वमा उदारीकरण लागू गरिएकै कारण नेपालमा आर्थिक विकासको नयाँ ढोका खुलेका हुन् । उक्तअभियानलाई सफलबनाउनकांग्रेसको नेतृत्वविना सम्भव छैन’, चौधरीले भने– यसको विकल्प कसैले कल्पना गरेको छ भने त्यो भ्रममात्रै हो ।आजप्रत्येक नेपालीको हातमामोवाईल फोन छन् । दुईतिहाई जनसंख्या इन्टरनेटको पहुँचमा छ । संचारमाध्यम, बैंकिङ र एयरलाईन्स लगायतका सेवाहरु कांग्रेसले लिएको उदारीकरणकै सकारात्मकनतिजा रहेको पनिउहाँले बताए । तर, विकास अभियानलाई तिब्र गतिमा दौडाउनुको विकल्प नरहेकोमाजोड दिदै उहाँले त्यसकै लागिआफुले कांग्रेस पार्टी रोजेको पनि बताए । नेपालको आर्थिक समृद्धिको अभियानमाआफुले गैर आवासीय नेपालीहरूलाई सहभागी बनाउन चाहेको उनले बताए । विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालको विकासकालागि उपयोग गर्नु आवश्यक छ । उनीहरुले विदेशमाआर्जन गरेको विकासको अनुभवलाई यहाँकार्यान्वयनगर्ने वातावरण मिलाउनुपर्छ, चौधरीले भने ।

नेपाली कांग्रेस एक चीन नीतिकाे पक्षमा रहेकाे स्पष्टाेक्ति, सुजाता कोईरालाले भनिन् वीपीकाे पालादेखि एउटै नीति हाे

काठमाडौं २४ कात्तिक । नेतृ सुजाता कोईरालाले एक चीन नीतिमा नेपाली कांग्रेस स्पष्ट रहेको बताएकी छन् । नेपाल र चीन बीचको सम्बन्ध तथा नेपाली कांग्रेसको धारणाबारे बिज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय सदस्य उनले नेपालले संधै ताईवान र तिव्वतलाई चीनको अभिन्न अंगको रुपमा मान्यता दिंदै आएको र एक चीन नीति अवलम्वन गर्ने नेपाली कांग्रेसको स्पष्ट नीति रहेको बताएकी हुन् । ‘नेपालले सधै एक चीन नीतिको स्पष्टता र दृढतापूर्वक अवलम्वन गर्दै आएको छ, नेपालले सधै ताइवान र तिव्वतलाई चीनको अभिन्न अंगको रुपमा मान्यता दिदै आएको छ’ उनले भनिन् ‘ एक चीन नीति अवलम्वन गर्ने नेपाली कांग्रेसको स्पष्ट नीति हो ।’ आफू पार्टीको अन्तराष्ट्रिय बिभाग प्रमुख हुँदा र उप—प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रहदा समेत एक चीन नीतिलाई अघि बढाएको उनको भनाई छ । ‘म पार्टीको अन्तराष्ट्रिय विभाग प्रमुख रहदा र उप—प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रहदा समेत यो नीतिलाइ स्पष्ट रुपमा अघि वढाएको छु’ बिज्ञप्तिमा उल्लेख गरिएको छ ‘आगामी दिनमा नेपाल र चीनवीच अझ बढी सुमधुर सम्वन्ध स्थापना गर्न एक चीन नीतिमा कटिबद्ध रही सोही बमोजिम चीनसंगको सम्बन्धलाई निरन्तरता दिने नेपाली कांग्रसको स्पष्ट नीति रहेको छ ।’ चीनसंग नेपालको कुटनीतिक सम्वन्ध स्थापना भएको ६१ वर्ष पुरा भएको र दुई देशबीच २ हजार वर्ष अघिदेखि परम्परागत सम्वन्ध रहिआएको भन्दै योबीचमा नेपाल र चीनवीच सधै सुमधुर सम्वन्ध रहिआएको उनको भनाई छ । चीनलाई राष्ट्रसंघमा सदस्यता दिलाउन नेपालले सक्रिय भूमिका खेलेको भूमिका उल्लेख गर्दै वी.पी. कोइरालादेखि गिरिजाप्रसाद कोईरालाको पाला सम्म नेपाल र चीनबीच हार्दिकतापूर्ण सम्बन्ध रहिआएको बताईएको छ । भारत भ्रमणाकाे क्रममा पाटी सभापति शेरबहादुर देउवाले एक चीन विराेधी समूहकाे बैठकमा भाग लिएकाे  विषयमा सम्बाेधन गरेपछि चीन सरकारले नेपाल सरकारलार्इ पत्र लेखि अापत्ति जनाएपछि काँग्रेसकाे याे भनार्इ अाएकाे हाे ।

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी, १८२२ मत प्राप्त

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा निर्वाचित भएका छन् । सोमबार भएको दोस्रो चरणको निर्वाचनमा देउवाले १ हजार ८२२ मत पाएका छन् भने कार्यबाहक सभापति समेत रहेका पौडेलले १ हजार २९६ मत ल्याएका छन् । देउवाको जितसँगै नेपाली कांग्रेसले १९ वर्षपछि कोइराला परिवार बाहिरबाट सभापति पाएको छ । आइतबार भएको पहिलो चरणको मतदानमा देउवा मात्र ११ मतले सभापतिमा निर्वाचित हुन चुकेका थिए । दोस्रो चरणमा देउवाले पहिलो चरणको भन्दा २५८ मत बढी पाएका थिए । पहिलो चरणमा १५६४ मत पाएका थिए । कांग्रेसको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरे अनुसार सोमबार भएको दोस्रो चरणको निर्वाचनमा ३ हजार १२० मत खसेको थियो । तर, मत मत गणनाका क्रममा २० मत बढी भेटियो, जुन अधिकांश नमुना मत पत्रहरु थिए । सहमतिका आाधारमा सबैलाई खसेको मत मानेर तोकिएको मापदण्ड नपुगेका २२ मतलाई बदर गरिएको उनले बताए । नेपाली कांग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा विजयीभएपछि मध्यरातमा कार्यकर्ताले नाराबाजी गरेका छन् । सयौंको संख्यामा जम्मा भएका कार्यकर्ताले विजयको उल्लास मनाए । अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना मंगलबार देखि गणना हुने निर्वाचन समितिले जनाएको छ ।