अर्थमन्त्रीको पपुलिष्ट प्रतिवद्धता : सेयर बजार र घरजग्गाप्रति ‘ग्रीन सिग्नल’
काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् । उनले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिएसँगै साँझ सिंहदरबार पुगेर मन्त्रीको पदभार ग्रहण गरेका हुन् । सवा ३ बजे मन्त्रीको सपथ लिएका उनी राष्ट्रपति कार्यालयबाट सिंहदरबारस्थित अर्थमन्त्रालय पुगेका थिए । उनलाई मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्डका अध्यक्ष, बीमा प्राधिकरण अध्यक्ष लगायत अर्थमन्त्रालय मातहतका उच्च ओहदाका कर्मचारीले स्वागत गरे । स्वागतसँगै उनी सिधै अर्थमन्त्रालयको सूवर्ण हलमा पुगे । उनले बधाई थाप्दै धारणा राख्न सुरु गरे । काँग्रेसभित्र पनि लामो रस्साकस्सीकाबीच अर्थमन्त्री बनेका उनको अर्थमन्त्रालयको इन्ट्रीलाई धेरैले चासोका रुपमा हेरेका छन् । देशको अर्थतन्त्र सन्तोषजनक नभएको र लगानीको वातावरण बन्न नसकेको भन्दै उद्योगी व्यवसायीसँगै बैंकरहरुले पनि गुनासो गरिरहेका छन् भने सेयर बजारसँगै घरजग्गा व्यवसायमा पनि एक किसिमको मन्दी आएको छ । यो बेला अर्थमन्त्रालयको बागडोर सम्हाल्न आइपुगेका अर्थमन्त्री महतको इन्ट्रीलाई धेरैले गहन रुपमा हेरेका छन् । धेरैले अर्थमन्त्रालयमा उनको प्रवेशले अर्थतन्त्रमा सुधार आउने अपेक्षा गरेका छन् भने कतिपयले उनी उर्जामन्त्री हुँदा खासै राम्रो ‘पफर्मेन्स’ गर्न नसकेकोले अर्थमन्त्रालय पनि हाँक्न नसक्ने धारणा राखिरेहका छन् । तर, उनी अर्थशास्त्रमा विद्यावारिधि गरेको व्यक्ति भएको र अर्थतन्त्र सम्बन्धि राम्रो ज्ञान भएको हुन सक्ने भन्दै यो संकटकाबीच प्रभावकारी काम गर्न सक्ने अपेक्षा धेरैको छ । शुक्रबार अर्थमन्त्रीको रुपमा पदभार सम्हालेका उनले अर्थतन्त्रका सबै क्षेत्र तथा निकायलाई छुने प्रयास गरेका छन् । सरकारको आर्थिक सल्लाहकार राष्ट्र बैंकलाई मिलेर काम गर्न आग्रह गरेका छन् भने बैंक तथा वित्तीय संस्थाले लिने ब्याजदरको विषयमा पनि आफ्नो धारणा राखेका छन् । धेरैले अहिलेको मुख्य समस्या र चुनौतिका रुपमा बैंकको ब्याजदरलाई लिएका छन् । उद्योगी व्यवसायीहरुले बैंकको ब्याजदरलाई नै मुख्य मुद्दा बनाएर विरोध गरिरहेका छन् । तर, अर्थमन्त्री महतले त्यही विषयलाई टपक्कै टिपेर ब्याजदर घटाउनका लागि आफुले पहल गर्ने धारणा राखेका छन् । उनको यो अभिव्यक्तिले उद्योगी व्यवसायीको ‘मन छुन’ मद्दत पुर्याउन सक्छ । अर्थात् सुरुमै उनीप्रति उद्योगी व्यवसायीको ‘पोजिटिभ्स भाइव्स’ उत्पन्न हुन सक्छ भन्नेमा उनी राम्रोसँग जानकार रहेको बुझिन्छ । उनले आफु कर नबढाउने पक्षमा रहेको संकेत पनि देखाएका छन् । उनले करको दरभन्दा पनि दायरा बढाउने आफ्नो मख्य प्राथमिकतामा रहने धारणा राखेका छन् । लगानी भित्र्याएर राजस्वको दायरा बढाउने, राजश्व संकलनका लागि सरकारले उद्योगी व्यवसायीलाई करकाप नगर्ने उनको भनाइ छ । अहिले अर्थमन्त्रालय आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट निर्माणमा छ । अर्थमन्त्री महतले पहिलो दिनमै कर नबढाउने संकेत गरेपछि यसले पनि थप सकारात्मक चर्चा हुन सक्छ भन्नेमा उनी विश्वस्त देखिन्छन् । ‘संकटमा रहेको अर्थतन्त्र बचाउन जस्तोसुकै निर्णय पनि लिन सक्छु, अहिले ब्याजदरको विषयमा व्यापक चर्चा भएकोले ब्याजदर घटाउन पहल गर्नेछु, अनावश्यक रूपमा करको दर बढाउनेभन्दा पनि दायरा बढाउन तर्फ मेरो ध्यान हुनेछ,’ उनले भने । यस्तै, अहिले धेरैको ध्यान सेयर बजार र घरजग्गा व्यवसायमा पनि देखिएको छ । लगानीकर्ताहरुले सेयर बजारमा १४ खर्ब बढी गुमाएको बताइरहेका छन् भने घरजग्गा व्यवसायमा पनि मन्दी आउँदा यसको असर सबै क्षेत्रमा परेको बताइने गरिन्छ । यी दुई क्षेत्रमा लगानी गर्ने लगानीकर्ताका पीडा र दुःखहरु सुनिनसक्नु छ । यी दुवै क्षेत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले चिन्ता व्यक्त गरेका छन् । अर्थमन्त्री डा. महतले घट्दै गएको सेयर बजारर र घरजग्गा व्यवसायमा आएको मन्दीले लगानीकर्तालाई निराश बनाउँदै गएको र अब विभिन्न निकायको सहकार्य र समन्वयमा काम गर्ने बताएका छन् । यसअघिका अर्थमन्त्री र गभर्नरहरु सेयर बजार र घरजग्गा व्यवसायलाई अनुत्पादक क्षेत्र भनेर लगानी गर्न दुरुत्साहन गर्थे । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले समेत यसअघि सेयर बजारप्रति नकारात्मक टिप्पणी गरेका थिए । प्रचण्डले पुँजी बजारलाई साम्राज्यवादको विकसित रूप भनेको अभिव्यक्ति एकताका निकै चर्चामा आएको थियो । उनले पुँजी बजारलाई बढाएर केही सीमित पुँजीवादीको हातमा अर्थतन्त्र पुर्याउने खेल सेयर बजार भएको बताएका थिए । अहिले उनै प्रचण्ड नेतृत्व सरकारको अर्थमन्त्री महत बनेका छन् । अर्थमन्त्री महतले भने यी दुई क्षेत्रप्रति ‘ग्रिन सिग्नल’ देखाएका छन् । उनको यो ग्रिन सिग्नलले पनि लागनीकर्तालाई पक्कै पनि खुसी बनाउन सक्ने धेरैको अपेक्षा तर उनले आज राखेका धारणा सुरुमै सबैको ध्यान तान्न र आफुप्रति सकारात्मक दृष्टिकोण बनाउनका लागि हुन सक्ने शंसय धेरैमा छ । गभर्नरसँग सम्बध बढाउने प्रयास सरकारको मुख्य आर्थिक सल्लाहकार राष्ट्र बैंक हो । पूर्व अर्थमन्त्री जनार्दन शर्मालाई गभर्नर महाप्रसाद अधिकारीले साथ नदिएको विषय पनि उत्तिकै चर्चामा छ । परिणाम स्वरुप गभर्नर अधिकारीलाई शर्माकै प्रस्तावमा शेरबहादुर देउवा नेतृत्वको सरकारले निलम्बन समेत गर्यो । तर, पछि सर्वोच्च अदालतलले उनलाई राष्ट्र बैंकमै फर्कायो । अर्थमन्त्रालय र राष्ट्र बैंकबीच ट्युनिङ नमिलेको भन्दै धेरैले आलोचना समेत गरे । त्यसपछि अर्थमन्त्रीका रुपमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आएपछि अर्थतन्त्र सुधार भएको सूचक राष्ट्र बैंकले पनि सार्वजनिक गर्यो । अहिले अर्थमन्त्रीका रुपमा महत आएपछि उनले सुरुमै गभर्नर अधिकारीको सहयोग मागेका छन् । उनले अधिकारीसँग मिलेर अगाडि बढ्नु पर्ने धारणा राखेका छन् । अर्थमन्त्री महतले वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि राष्ट्र बैंकसहित सबै निकायले एक आपसमा समन्वय गरेर काम गर्नु पर्ने बताए । अहिले अर्थतन्त्रका देखिएको निराशालाई आशामा बदल्न सबैले सहकार्य गर्नु पर्ने उनको धारणा छ । ‘एक्लैले केही गर्न सकिँदैन, सबैसँग सहकार्य गरेर अगाडि बढ्छु, वर्तमान समस्या समाधानका लागि मलाई सबैको सहयोग आवश्यक छ, ‘लगानीको वातावरण सुधार गर्न राष्ट्र बैंकको मूख्य भुमिका छ, राष्ट्र बैंकको पनि मलाई सहयोग चाहिन्छ, हामीले मिलेर काम गर्नु पर्छ,’ अर्थमन्त्री महतले भने । उनले कार्यक्रममै कुनै पूर्वाग्रह नराखी काम गर्ने पनि बताएका छन् । ‘कुनै पूर्वाग्रह नराखी काम गरौं, सबैलाई समस्या छ, यी विभिन्न समस्या समाधानका लागि सबैले सहकार्य गरेर काम गरौं,’ उनले सोही वाक्यलाई दोहोर्याए । अर्थमन्त्री महतले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई मिलेर काम गर्न आग्रह गरे लगत्तै उनीसँग व्यक्तिगत भेटघाट पनि गरेका छन् । उनले अर्थ सचिव र राजस्व सचिवलाई सँगै राखेर गभर्नर अधिकारीसँग छलफल गरेका हुन् । यसले पनि उनले अर्थतन्त्र सुधारका लागि राष्ट्र बैंककै सहयोग चाहेको बुझिन्छ । धेरैले उनले आज पदवहालीपछि राखेको धारणालाई पपुलिष्ट बन्ने बाटोका रुपमा पनि चित्रण गरेका छन् ।
अर्थमन्त्रीले सेयर बजार र घरजग्गाको विषयमा मुख खोले
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले घट्दै गएको सेयर बजारको विषयमा चिन्ता व्यक्त गरेका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री महतले पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या र यसले सेयर बजार र घरजग्गा कारोबारमा सुस्तता आएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले आफुले अब अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सबै निकायहरुसँग समन्वय गरेर काम गर्ने उनको भनाइ छ । उनले वर्तमान चुनौति समाधानका लागि जस्तोसुकै निर्णय गरेर पनि अगाडि बढ्ने बताए । ‘एक्लैले केही गर्न सकिँदैन, सबैसँग सहकार्य गरेर अगाडि बढ्छु, वर्तमान समस्या समाधानका लागि मलाई सबैको सहयोग आवश्यक छ, ‘लगानीको वातावरण सुधार गर्न राष्ट्र बैंकको मूख्य भुमिका छ, राष्ट्र बैंकको पनि मलाई सहयोग चाहिन्छ, हामीले मिलेर काम गर्नु पर्छ,’ उनले भने ।
सेयर बजार घटेर लगानीकर्ताको सम्पत्ति माटो भइसक्यो : अध्यक्ष फुलेल
काठमाडौं । सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुलेल सेयर बजार घटेर लगानीकर्ताको सम्पत्ति माटो भइसकेको बताएका छन् । बुधबार काठमाडौंमा लगानीकर्तासँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले लगानीकर्ताले चर्को शुल्क तिर्नुपरेको बताए । ‘भोलुममा कारोबार गर्ने लगानीकर्तालाई ठूलो मर्का परेको छ,’ उनले भने, ‘पूँजी बजार अर्थतन्त्रको ऐना हो, पूँजी बजार रह्यो भने मात्रै अर्थतन्त्र चलायमान हुनेछ ।’ यस्तै, उनले संसदको अर्थसमितिले बजार बढेको बेला रोक्ने काम मात्रै गरेको र बजार घटेको बेला चुइक्क नबोलेको आरोप लगाए । यस विषयमा धितोपत्र बोर्डले समन्वय गरेर सकृय गराउनुपर्ने उनको भनाइ छ । उनले छिट्टै ब्रोकररहित कारोबार गर्न नेपाल धितोपत्र बोर्डसँग माग गरेका छन ।
सेयर बजारमा बुधबार २ महिना यताकै कम कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दुई महिना यताकै कम कारोबार भएको छ । नेप्सेको अनुसार बुधबार सेयर बजारमा २५ लाख कित्ता सेयर किनबेच हुँदा मात्र ८१ करोड ६२ लाख १९ हजार रुपैयाँको कारोबार भएको हो । यसअघि दैनिक एक अर्बभन्दा माथि कारोबार हुँदै आएको नेप्सेमा बुधबार भने कारोबार कम भएको हो । नेप्सेमा दुई महिना अघि मंसिर २८ गते ७२ करोठ ७८ लाख ७७ हजारको कारोबार भएको थियो । यस्तै, आज नेप्से सामान्य अंकले बढेको छ । बुधबार नेप्से १.०२ अंकले बढेर १९१९.४२ विन्दुमा पुगेको छ जसक्रममा दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा सुपर माई हाइड्रोपावर र कालिन्चोक दर्शन रहेको छ । आज सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंकको सेयरधनीले ३ करोड ५६ लाखको गरेका छन् ।
२६ अंकले घट्याे सेयर बजार, ६ कम्पनीकाे सेयरमा सर्किट
काठमाडौं । आइतबार सेयर बजार २६.८७ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार आइतबार सेयर बजार घटेर १८८८.२७ विन्दुमा पुगेको छ । यसरी बजार घट्दा १९२ कम्पनीको सेयर मूल्यमा गिरवाट आएको छ भने १९ कम्पनी सेयर मूल्य वृद्धि भएको छ । यस्तै, २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । नेप्सेको अनुसार आज ६ कम्पनीको सेयरमा सर्किट लागेको छ । ४ कम्पनीको सेयरमा नकारात्मक सर्किट र २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो । नकारात्मक सर्किट लाग्नेमा जिवन विकास लघुवित्त वित्तिय संस्था, जाल्पा लघुवित्त वित्तिय संस्था, युनिक नेपाल लघुवित्त वित्तिय संस्था र महिला लघुवित्त वित्तिय संस्था रहेको छ भने सकारात्मक सर्किट लाग्नेमा माया खोला हाइड्रोपावर र एसियन हाइड्रोपावर रहेको छ । आज ३७ लाख कित्ता सेयर किनबेच हुँदा कुल एक अर्ब २८ करोडको कारोबार भएको छ जसमा सबैभन्दा बढी कारोबार गर्नेमा हिमालयन डिस्टिलरी रहेको छ । कम्पनीको आज ८६ करोडको सेयर कित्ता सेयर किनबेच भएको छ ।
प्रभु क्यापिटलले विद्यार्थीलाई दियो सेयर बजार बारे तालिम
काठमाडौं । प्रभु क्यापिटलले मैतिदेवीस्थित यूनिभर्सल कलेजका बिबिएमा अध्ययनरत विद्यार्थीलाई सेयर बजार सम्बन्धी तालिम दिएको छ । क्यापिटलले विश्व लगानीकर्ता सप्ताह–२०२३ का अवसरमा पूँजी बजार सम्बन्धमा युवा केन्द्रित वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्धेश्यले सेयर बजार सम्बन्धी तालिम दिएको हो । कलेजका ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता भएको उक्त तालिम कार्यक्रममा प्रभु क्यापिटलका योजना व्यवस्थापक सौगात पन्तले विद्यार्थीहरुलाई सेयर बजार, प्राथमिक तथा दोस्रो बजारसम्बन्धी आधारभूत कुराहरु, सेयर बजारमा दीर्घकालीन तथा अल्पकालीन लगानी गर्दा पाइने प्रतिफल सम्बन्धी विषयहरुमा तालिम दिएका थिए । प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
१५ अंकले घट्यो सेयर बजार, एक अर्ब ३३ करोडको कारोबार
काठमाडौं । बुधबार सेयर बजार १५ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार घटेर १९३३.२९ विन्दुमा पुगेको छ । आज माया खोला जलविद्युतको सेयर मूल्यमा सर्किट लागेको छ । प्रति सेयर २६.५० रुपैयाँले बढेको कम्पनीको अन्तिम सेयर मूल्य २९२ रुपैयाँ कायम भएको छ । नेप्सेको अनुसार बुधबार ३७ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार सबैभन्दा बढी गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनी रहेका छन् । आज इन्स्योरेन्सका सेयरधनीले ९ करोड १९ लाख रुपैयाँको कारोबार गरेका छन् । यस्तै, आज सबैभन्दा बढी सेयर मूल्य गुमाउनेमा बोटलर्स नेपाल तराई रहेको छ । कम्पनीको सेयरधनीले प्रति सेयर ९६८ रुपैयाँ गुमाएका छन् । कम्पनीको अन्तिम सेयर मूल्य ११ हजार ७३२ रुपैयाँ कायम भएको छ ।
२२ अंकले बढ्यो सेयर बजार, युनिक नेपाल लघुवित्तको सेयरमा सर्किट
काठमाडौं । सोमबार सेयर बजार २२.६५ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार सोमबार सेयर बजार बढेर १९४९.०६ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज ५२ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, आज पनि युनिक नेपाल लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको प्रति सेयर मूल्य १७६.४० रुपैयाँले बढेर अन्तिम मूल्य १९४१ रुपैयाँ कायम भएको छ । आज सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरधनीले प्रतिसेयर ५१ रुपैयाँ गुमाएका हुन् । कम्पनीको सोमबारको अन्तिम सेयर मूल्य ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै, नेप्सेको अनुसार आज सबैभन्दा बढी कारोबार आइएमई जनरल इन्स्योरेन्सले ७ करोड ६३ लाख रुपैयाँको गरेको छ ।
भोलि सेयर बजार बन्द
काठमाडौं । मंगलबार सेयर कारोबार नहुने भएको छ । मंगलबार घोडे जात्रा विदा परेको हुँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सँगै कारोबार पनि बन्द रहने भएको हो । सरकारको सार्वजनिक विदाको सूचीमा घोडे जात्रा विदाका लागि काठमाडौं उपत्यकामा मात्रै विदा हुने जनाइएको छ । सोही अनुसार चैत ७ गते मंगलबार नेप्से कार्यालय र सेयर कारोबार पनि बन्द हुने भएको हो । अब नेप्से कारोबार चैत ८ गते बुधबारका दिन मात्रै खुल्ने नेप्सेले जनाएको छ ।
अब सेयर बजारमा पैसा बिनै पनि लगानी गरेर कारोबार गर्न सकिने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ट्रेडिङ सिमुलेटर सार्वजनिक गरेको छ । नेप्सेले धितोपत्रको दोस्रो बजारका सम्भावित लागनीकर्तालाई प्रविधिमा अभ्यस्त बनाउन भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम (सिमुलेटर) परीक्षणको रुपमा सञ्चालनमा ल्याएको हो नेप्सेको अनलाईन प्रणालीमा कसरी कारोबार हुन्छ भन्ने व्यावहारिक ज्ञान प्रदान गर्ने शैक्षिक प्रयोजनका लागि यो प्रणाली सञ्चालनमा ल्याइएको नेप्सेले जनाएको छ । नेप्सेकाे अनुसार प्रयोगकर्ताले demotrading.nepalstock.com मा गएर यो प्रणाली प्रयोगमा ल्याउन सक्ने छन् । प्रयोगकर्ताले सिमुलेटरमा प्रवेश गरी खरिद वा बिक्री आदेश राखेपछि प्रणालीले नै प्रति आदेश राखेर कारोबार सम्पन्न गराउनेछ ।
१४ अंकले घट्यो सेयर बजार, दुई कम्पनीको सेयरमा सर्किट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ६२ अङ्कमा कायम भएको हो । आजको कारोबारमा कूल दुई सय ५३ वटा कम्पनीका विभिन्न ३७ लाख १६ हजार छ सय ८४ कित्ता सेयर एक अर्ब २० करोड २१ लाख ४१ हजारमा कारोबार भएका छन् । आजको कारोबारमा व्यापार समूह १० दशमलव ५७ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ६९ दशमलव ४६ र लघुवित्त समूहको उपसूचक ६८ दशमलव ३५ अङ्कले घटेको छ । साथै बैंकिङ समूह नौ दशमलव ९४, विकास बैंक समूह २७ दशमलव २४, वित्त समूह १४ दशमलव १६, होटल तथा पर्यटन सात दशमलव ३९ र जलविद्युत् समूह नौ दशमलव ६९ अङ्कले घटेको छ । त्यसैगरी, लगानी समूह शून्य दशमलव ४३, उत्पादन तथा प्रशोधन समूह ३२ दशमलव ४२, म्युचुअल फन्ड शून्य दशमलव ०३, निर्जीवन बीमा समूह १७ दशमलव ०६ र अन्य समूह चार दशमलव १२ अङ्कले घटेका छन् । आज युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र शुभम् पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज सबैभन्दा धेरै पाँच दशमलव ९० अङ्कको गिरावट देखिएको छ । कारोबार रकमका आधारमा आज एनआइसी एसिया बैंकको सबैभन्दा धेरै १० करोड ३५ लाख २२ हजार बराबरको एक लाख ३८ हजार पाँच सय ९३ कित्ता शेयर किनबेच भएको छ ।
२४ अंकले घट्यो सेयर बजार, नेप्से १९५१ विन्दुमा
काठमाडौं । पूँजीबजारमा यो साता कारोबारको लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ । हिजो आइतबार २६ दशमलव ८० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज २४ दशमलव ६८ अङ्कले घटेको हो । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार नौ सय ५१ दशमलव २१ विन्दुमा कायम भएको छ । आज दुई सय ५६ कम्पनीको ३३ लाख ६९ हजार एक सय ३६ कित्ता सेयर २६ हजार आठ सय ५० पटक खरिदबिक्री हुँदा एक अर्ब १६ करोड २५ लाख तीन हजार बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ६५ दशमलव ०१ अङ्कले घटेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको उपसूचक ८२ दशमलव ७४ अङ्कले र लघुवित्त समूहको उपसूचक ६० दशमलव ८४ अङ्कले घटेको छ । बैंकिङ समूह २० दशमलव ३६, विकास बैंक समूह ३७ दशमलव २२, वित्त समूह १३ दशमलव ८९, होटल तथा पर्यटन समूह २५ दशमलव १० र जलविद्युत् समूह १६ दशमलव ३५ अङ्कले घटेको छ । त्यसैगरी, लगानी समूह शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन समूह ४४ दशमलव १२, व्यापार समूह ३० दशमलव ६१ र अन्य समूह १३ दशमलव ७४ अङ्कले घटेको नेप्सेले जनाएको छ । आज सबैभन्दा धेरै शुभम् पावरको सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै सात दशमलव ६२ अङ्कले घटेको छ । आज एनआइसी एसिया बैंकको छ करोड २४ लाख ५६ हजार सात सय ४५ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा अरुण भ्याली हाइड्रोपावरको एक लाख ६७ हजार पाँच सय ३९ कित्ता सेयर किनबेच भएको छ ।
२६ अंकले घट्यो सेयर बजार, एक अर्ब ६६ करोड रुपैयाँको कारोबार
काठमाडौं । आइतबार सेयर बजार २६.८० अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सेयर बजार घटेर १९७५।८९ विन्दुमा पुगेको छ । यसरी बजार घट्दा गुडविल फाइनान्स डिबेन्चर लिमिटेड २०७८ को सेयर मूल्य सबैभन्दा बढी घटेको छ भने शुभम पावर लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी बढेको छ । यस्तै, सबैभन्दा बढी कारोबा गर्नेमा शिवम् सिमेन्टका सेयरधनीहरु रहेका छन् । कम्पनीको ८ करोड २१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेप्सेको अनुसार आज ४७ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ ।
धितोको लोभमा ऋण दिएपछि सेयर बजार र घरजग्गा कारोबार फस्टायो, राष्ट्र बैंकका ४ वटा निर्णयले समस्या
काठमाडौं । मुलुकको अर्थतन्त्र दिन प्रतिदिन समस्याग्रस्त हुँदै जान थालेपछि सुधारका लागि सरकारले तत्काल कुनै कदम चाल्नुपर्ने आवश्यकता जानकारले औँल्याएका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँग छलफल कार्यक्रमका सहभागीले अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार गर्न ढिलो भइसकेको बताएका हुन् । अब पनि कुनै कदम नचाले अर्थतन्त्र थप सङ्कटमा जाने उनीहरूको भनाइ छ । उक्त कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको आर्थिक क्षेत्र सुधारका लागि सरकारले तत्काल केही महत्त्वपूर्ण कदम चाल्न आवश्यक रहेको बताए । अर्थतन्त्र सुधार्ने विषयलाई सरकार र संसद्ले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै थापाले यसका लागि सरकारले केही कठोर निर्णयसमेत गर्नुपर्ने उल्लेख गरे । ‘अर्थतन्त्रमा देखिएका समस्या समाधानलाई मूल विषय बनाएर अघि बढ्नु अहिले हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ, हाम्रो अर्थतन्त्रको एउटा खालको सीमा छ, निश्चित ढाँचा र ढर्राबाट चलिरहेको अर्थतन्त्रलाई संरचनागत सुधार र उपचार नगर्ने हो भने हामी कुनै न कुनै बेला थला पर्छौं,’ उनले भने । राजनीतिक दलहरूले आर्थिक एजेन्डालाई निकै कम प्राथमिकतामा राख्ने गरेको भन्दै महामन्त्री थापाले तत्काल कुनै निर्णय नगरे समस्या थप जटिल बन्ने बताए । अर्थतन्त्र सुधारका लागि उच्च मनोबल आवश्यक रहेको पनि थापाको भनाइ छ । ‘सबैतिरबाट समस्यामा छौँ भन्ने छ, यो धारणा पनि हुनसक्छ, धारणामै भए पनि परिवर्तन आवश्यक छ, अर्थतन्त्रका समस्यालाई फराकिलो र गहिरो ढङ्गले समग्र चक्र नै विश्लेषणपछि समाधानका बाटा खोजिन्छ,’ थापाले भने । केही महत्त्वपूर्ण कानूनलाई संसदको चालु अधिवेशनबाटै टुङ्ग्याउन जरुरी रहेको पनि उनको भनाइ छ । अर्थतन्त्र सुधारका लागि सरकार निर्मम ढङ्गले अघि बढ्नुपर्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् डा.स्वर्णिम वाग्लेको भनाइ छ । संरचनागत सुधारमा ढिलाइ गर्दा समस्या थप बढ्दै जाने उल्लेख गर्दै वाग्लेले सरकार अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन नीतिसहित अघि बढ्नुपर्ने बताए । ‘अर्थतन्त्रको संरचनागत सुधार सजिलो हुनेवाला छैन, आगामी अर्थमन्त्रीले साह्रै अप्रिय निर्णय गर्नुपर्ने हुनसक्छ, त्यो अवस्था आइसकेको छ, अब टालटुले होइन निर्मम भएर जानुपर्छ,’ उनले भने । अहिले सामाजिक सुरक्षामा सरकारको दायित्व बढ्दै गएको तथा सार्वजनिक खर्च बढेको छ तर सरकारी राजस्वमा न्यूनता देखिँदा खर्च कटौतीमा सरकार निर्मम हुनुपर्ने उनको भनाइ छ । ‘सामाजिक सुरक्षामा ठूलो समस्या छ, सार्वजनिक खर्चमा निर्मम कटौती आवश्यक छ । सार्वजनिक खर्च पुनरावलोकन आयोगको सुझाव कार्यान्वयनमा लैजानुपर्छ, खर्च र आम्दानीको ग्याप पुर्न सरकारले अप्रिय निर्णय गर्नुपर्ने हुनसक्छ,’ वाग्लेले भने । सुशासनका मुद्दामा सरकार गम्भीर नहुँदा अर्थतन्त्रको आन्तरिक सुधार हुन नसकेको उनको भनाइ छ । त्यस्तै, विदेशी मुद्रा सञ्चिति बढाउन विप्रेषणबाहेकका वैकल्पिक स्रोत खोज्नुपर्ने पनि वाग्लेको भनाइ छ । सार्वजनिक ऋणको साँवा ब्याज तिर्न ठूलो रकम खर्च भइरहेको तथा सरकार र निजी क्षेत्रबाट समेत परिचालन भएको ऋणको तुलनामा आर्थिक वृद्धिदर निकै न्यून देखिनु चिन्ताजनक रहेको उनले बताए । सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले अहिले देखिएको समस्या उद्योग वाणिज्य क्षेत्रको मात्र नभएर देशकै समस्या रहेको बताए । नेपालको अर्थतन्त्रमा विगतमा समेत समस्या देखिने गरेको भए पनि निजी क्षेत्रले अहिलेको जस्तो असहज अवस्था पहिले कहिल्यै महसुस नगरेको गोल्छाले भनाइ छ । ‘भूकम्प, कोभिड महामारीजस्ता कारणले विगतमा पनि निकै समस्या भोगेको थियौँ तर यसपालिको समस्या फरक छ, अर्थतन्त्रको समग्र चक्रमै समस्या देखिएको छ,’ उनले भने । तरलता अभावका कारण ब्यादजर बढेको र ब्याजदर बढेपछि निजी क्षेत्र समस्यामा परेको गोल्छाले बताए । कोभिड–१९ महामारीपछिको अर्थतन्त्र पुनःरुत्थानका लागि नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति बनाएकोमा विदेशी मुद्रा सञ्चितिमा चाप देखिएपछि एकाएक कसिलो मौद्रिक व्यवस्था लागू गर्दा त्यसले निजी क्षेत्र र बैंक तथा वित्तीय संस्थाको अहिलेको समस्या सिर्जना गरेको पनि उनको भनाइ छ । ‘राष्ट्र बैंकले दिएको पुनरकर्जा सुविधाले तरलता सहज भयो, तरलता पर्याप्त हुँदा बैंक तथा वित्तीय संस्थाले सहजै ऋण दिए, धितो मात्रै हेरे, व्यवसाय नै हेरेनन्, सेयर मूल्य बढ्यो, घरजग्गाको कारोबार फस्टायो तर पछि राष्ट्र बैंकले एकपछि अर्को गर्दै चारवटा निर्णय गर्याे,’ उनले भने । बैंक तथा वित्तीय संस्थामा कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो)लाई निक्षेप–कर्जा अनुपात (सिडी रेसियो) गणना गर्ने व्यवस्था गरिनु, चालु पूँजी निर्देशिका लागू गर्नु, विलासिताका वस्तुको आयातमा बन्देज लगाउनु र अन्य कर्जामा कडाइ गर्ने राष्ट्र बैंकको निर्णयले निजी क्षेत्रमा समस्या देखिएको गोल्छाको भनाइ छ । राष्ट्र बैंकको यो नीतिले बाह्य क्षेत्र सन्तुलित भए पनि निजी क्षेत्रलाई समस्यामा पारेको उनको भनाइ छ । ‘राष्ट्र बैंकले रिफर्म गर्दा अर्थतन्त्र सङ्कटबाट बच्यो किनकी शोधनान्तर स्थिति सहज भयो तर पछि त्यसले हामीलाई असर गर्योे,’ उनले भने । लघुवित्त र सहकारी संस्थामा तरलता सहज नभएसम्म अहिलेको समस्या नसुल्झिने पनि गोल्छाको भनाइ छ । नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवालले पनि कोभिड महामारी पुनःरुत्थानका लागि चालिएका कदमको प्रभाव अहिले देखिएको बताए । ‘हामीलाई कडा एन्टिबायोटिक दिइयो, त्यसैका साइड एफेक्ट अहिले देखिए, एक वर्षअघि नै राजस्व कम हुने, मागको सङ्कुचन हुनेबारे हामी जानकार थियौँ,’ उनले भने । अहिले आन्तरिक उत्पादनमा मात्र होइन समग्र आपूर्ति शृङ्खलामा नै समस्या देखिएको अग्रवालको भनाइ छ । त्यस्तै, उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको पनि उनले बताए । ‘उद्योगको क्षमता ४० देखि ८० प्रतिशत घटेको छ, उद्योगीले लगानीका योजना पछाडि सार्दै गएका छन्, नयाँ उद्योग त आएकै छैनन्, पुराना उद्योगमा पनि लगानी घटेको छ,’ उनले भने । औद्योगिक ग्राहकले अहिले पनि दैनिक ८ घण्टासम्मको लोडसेडिङ भोग्नुपरिरहेको उनको भनाइ छ ।
आइतबार ३० अंकले घट्यो सेयर बजार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको भएको कारोबारमा नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ३५ अङ्कमा कायम भएको हो । आज दुई सय ५९ वटा कम्पनीका ३८ लाख ३२ हजार चार सय ५९ कित्ता सेयर ३० हजार नौ सय तीन पटक खरिदबिक्री हुँदा एक अर्ब ३९ करोड २३ लाख ५४ हजार आठ सय बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ७३ दशमलव ३४ र उत्पादन समूहको उपसूचक एक सय ४२ दशमलव ४५ अङ्कले घटेको छ । आज बैंकिङ समूह १२ दशमलव ०८, विकास बैंक समूह २९ दशमलव ४०, वित्त समूह २९ दशमलव ६९, होटल तथा पर्यटन समूह ६८ दशमलव १० र जलविद्युत् समूह ५३ दशमलव ०४ अङ्कले घटेको छ । त्यस्तै, लगानी समूह एक दशमलव ०८, लघुवित्त समूह ८८ दशमलव ९०, म्युचुअल फण्ड शून्य दशमलव ०८, निर्जीवन बीमा समूह ६३ दशमलव ९५, व्यापार समूह सात दशमलव ८२ र अन्य समूह २७ दशमलव ७५ अङ्कले घटेको छ । आज सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामलिङ्ग पावर कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै हिमालय डिस्टिलरीको आठ करोड ४४ लाख १८ हजार चार सय ५२ बराबरको कारोबार भएको छ ।
नेपालगञ्जमा सेयर बजारप्रतिको रुचि बढ्दै, दोस्रो बजारमा कारोबार गर्ने भने कम
नेपालगंज । पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको नेपालगञ्जमा सेयर बजारप्रतिको रुचि बढ्दै गएको छ । स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीदेखि वैदेशिक रोजगारीमा संलग्न युवा र गृहिणीले यहाँ सेयर कारोबार गरेको ब्रोकर कार्यालयले जनाएको छ । ‘सुरु–सुरुमा हामीले शाखा स्थापना गर्दा नेपालगञ्जमा पनि सेयर बजार हुन्छ भन्ने कुराको विश्वास थिएन तर अहिले २५ हजारको हाराहारीमा सेयर कारोबार गर्ने छन्’, इम्पेरियल सेक्युरिटीज कम्पनी प्रालि नेपालगञ्जका प्रमुख उदय अधिकारी भन्छन् । उनले स्थापनाकालमा घर–घरमा पुगेर बैंक र डिम्याट खाता खोल्न प्रोत्साहित गरेको र त्यसबाट प्रभावित भएर आठ हजार हाराहारीमा खाता खोलिएको जानकारी दिँदै प्राथमिक निष्कासन (आइपिओ)परेर त्यसलाई बजारमा बेच्न खोज्नेको बाहुल्य रहेको तर दोस्रो बजारमा कारोबार गर्नेको सङ्ख्या कम भएको बताए । सेयर कारोबारका विषयमा एउटा घरमा एक जनालाई जानकारी भएपछि उसकै आधारमा सबै सदस्यले र आफन्तको समेत गरेर २५ जनासम्मको सेयर कारोबार गर्ने प्रवृत्ति रहेको उनको भनाइ छ । अधिकारीले खासगरी विद्यार्थीले आफ्नो आइपिओमार्फत परेको सेयरबाट कलेजको शुल्क तिर्ने र खाजा खर्च चलाउने गरेको बताए । सेयर कारोबारबाट केही विद्यार्थीले यस्तो लाभ लिन थालेपछि अन्यले पनि यसको सिको गरेको पाइएको छ । यसमा स्नातक तहका व्यस्थापन पढ्ने विद्यार्थी सेयर कारोबारमा बढिरहेका छन् । यसबाहेक, शिक्षा, मानविकी, वाणिज्य सङ्कायका विद्यार्थीले समेत सो कारोबार गरेका छन् । उनले कोरिया, कुवेत, जापान र खाडी मुलुकमा वैदेशिक रोजागारीमा गएकाले नेपालगञ्जको सेयर बजारमा उत्साहजनक लगानी गरेको उल्लेख गर्दै सबैभन्दा बढी खाडी मुलुकमा गएकाको सेयर लगानी बढी भएको बताए । यस्तो लगानी गर्नेमा पुरुषसँगै महिलाको सङ्ख्या पनि कम नभएको बताइएको छ । वैदेशिक रोजगारीमा गएकाले अनलाइनमार्फत धेरै कारोबार गर्ने गरेको पाइएको छ । ब्रोकरमार्फत विभिन्न स्कुल र कलेजमा गएर वित्तीय साक्षरताका कार्यक्रम अघि बढाएको उल्लेख गर्दै अधिकारीले यस वर्ष बाँकेका पाँच र बर्दियाका चार कलेजमा वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरेको बताए । त्यसबाट सेयर बजारको दोस्रो बजारमा कारोबार गर्ने विषय थाहा नभएकाले त्यसबारमो पनि चर्चा चलाइएको छ । ‘अहिले पछिल्लो समय दोस्रो बजारमा कारोबार गर्नेको सङ्ख्या पनि बढेको छ’, उनले भने । बजार घट्दा कारोबार तथा सङ्ख्या कम हुन्छ र सूचक घटेकाले मनोबल पनि घट्छ यस्तो बेला लगानीकर्तालाई आत्तिन नहुनेमा जोड दिँदै राजनीतिक अस्थितरताको अन्त्य हुनेबित्तिकै बजारले लय समात्ने अधिकारीले विश्वास व्यक्त गरे । उनले बजारको ‘इन्डेक्स’ न्यूनतम अवस्थामा रहेको औल्याउँदै दीर्घकालीन लगानीकर्तालाई अहिले पनि लगानीको अवसर भएको बताए । ‘मेरो विचारमा अहिले लगानी गर्ने राम्रोसँग लाभान्वित हुन्छन्’, अधिकारी भन्छन् । सेयर लगानीकर्ता शिव सुवेदीले राष्ट्र बैंकको गलत नीतिका कारण सेयर बजार उकालो लाग्न नसकेको आरोप लगाउँदै ठूला लगानीकर्ताले बजारमा चलखेल गरेको बताए । उनले एक दिन बजार बढाउने र त्यसमा साना लगानीकर्ता फस्ने गरेको अनुभव सुनाए । ‘राजनीतिक स्थायित्वमात्रै भए पनि बजार बढ्नमा सहयोग हुन्छ’, उनले भने । विस २०७३ मा नेपालगञ्जमा इम्पेरियल सेक्युरिटीज प्रालि पहिलोपटक स्थापना भएको थियो । त्यसपछि कालिका सेक्युरिटीज प्रालिसहित दुई ब्रोकर कार्यालय रहेका छन् । यहाँ बाँके, बर्दिया, दाङ, कैलाली, कालिकोट, जुम्लालगायतका जिल्लाबाट सेयर कारोबार गर्न लगानीकर्ता आउँछन् । कुनै बेला २७ करोडसम्म कारोबार गरेको इम्पेरियल सेक्युरिटीजले अहिले पनि एक करोडदेखि एक करोड ५० लाखसम्म दैनिक कारोबार भएको दाबी गरेको छ । रासस
बिहीबार २६ अंकले घट्यो सेयर बजार, हिमालयन डिस्टिलरीको उच्च कारोबार
काठमाडौं । बिहीबार सेयर बजार २६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार बिहीबार सेयर बजार घटेर १९६९.०१ विन्दुमा पुगको छ । यसरी बजार घट्दा ग्लोबल आइएमई लघुवित्तका सेयरधनीले सबैभन्दा बढी गुमाएको छ । लघुवित्तका सेयरधनीले सेयर ७ प्रतिशतले घट्दा प्रति सेयर ६१ रुपैयाँ गुमाएका छन् । यस्तै, बुद्ध भुमि हाइड्रोपावर कम्पनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरधनीले सेयर मूल्य ४.२९ प्रतिशतले बढ्दा प्रति सेयर १८ रुपैयाँ कमाएका छन् । नेप्सेको अनुसार आज ३६ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार गर्ने कम्पनीमा हिमालयन डिस्टिलरी रहेको छ । कम्पनीको ८ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
२४ अंकले घट्यो सेयर बजार, आदर्श लघुवित्तको सेयरमा सर्किट
काठमाडौं । बुधबारको सेयर बजार २४।४४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज९नेप्से०को बुधबार सेयर बजार घटेर १९९५.४९ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज आदर्श लघुवित्त कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य बुधबार १५१.२० रुपैयाँले बढेको छ । मंगलबार पनि यस लघुवित्तको सेयरमा सर्किट लागेको थियो । यस्तै, आज सबैभन्दा बढी बोटलर्स नेपाल तराईका सेयरधनीले गुमाएको छ । कम्पनीका सेयरधनीले १३ सय ३३ रुपैयाँ गुमाएको हो । कारोबारका आधारमा अपर तामाकोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आठ करोड ७२ लाख ३७ हजार बराबरको सेयर कारोबार भएको छ ।
अर्थमन्त्रीको दुई महिना : अर्थतन्त्र लयमा ल्याउने प्रयास, सेयर बजारमा सेञ्चुरी क्रस, काम के-के गरे ?
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल उपप्रधान तथा अर्थमन्त्री बनेको दुई महिना चार दिनमा पदमुक्त भएका छन् । पुस ११ गते अर्थमन्त्रीका रुपमा जिम्मेवारी पाएका उनले आज (फागुन १५ गते) पदबाट राजीनामा दिएका हुन् । आज नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् । सोमबार बसेको नेकपा एमाले पार्टी सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री दाहाल समक्ष राजीनामा बुझाएका हुन् । पौडेल अर्थमन्त्री बनपछि धेरैले अर्थतन्त्रमा सुधार हुने अपेक्षा गरेका थिए । तर, अर्थतन्त्र पूर्णरुपमा सुधारनै नभए पनि सुधारका केही संकेत भने देखिएको थियो, यही समयमा उनी मन्त्रालयबाट बाहिरिएका हुन् । उनी मन्त्री हुँदाका सेयर बजारले एक किसिमको उछाल लिएको थियो । तर, त्यसले निरन्तरता पाउन सकेन । उनले अर्थतन्त्र सुधारका लागि भने महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको सचिवालयले जनाएको छ । उनी नियुक्त हुँदा अघि बिग्रिएको देशको अर्थतन्त्र सुधारको दिशामा लिनको लागि उनले महत्वपूर्ण भूमिका खेलेको अर्थतन्त्रका केही सूचकहरुले पनि देखाउँछ । पछिल्लो समय व्यापार घाटा कम हुँदै गएको छ, रेमिट्यान्स बढ्दै गएको छ भने विदेशी मुद्राको सञ्चितीमा पनि सुधार हुँदै गएको छ । उनी मन्त्री बनेपछि राष्ट्र मन्त्रालयसँग पनि एक किसिमको ट्युनिङ मिलेको देखिएको थियो । अर्थमन्त्रीको प्रेस संयोजक भुवक केसीले अर्थमन्त्री पौडेलको नेतृत्वमा नै बिग्रिएको अर्थतन्त्रलाई लयमा ल्याउन विशेष प्राथमिकता, अर्थतन्त्रमा नीतिगत सुधार, समक्ष कर्मचारीको टीम फर्मेसन, अनावश्यक क्षेत्रमा खर्च कटौती, सरकार र निजी क्षेत्रबीच समन्वय, निजी क्षेत्रको आत्मविश्वास वृद्धि र रेमिट्यान्स क्षेत्रमा सकारात्मक प्रभाव परेको बताए । उनका अनुसार पौडेल मन्त्री बनेपछि राजस्व वृद्धिमा विशेष पहल भएको, सेयर बजारमा सकारात्मक प्रभाव देखिएको, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय भएको, पूँजीगत खर्चमा वृद्धिका लागि विशेष पहल, वैदेशिक सहयोगका लागि थप पहल र वैदेशिक मुद्रा सञ्चितीमा विशेष ध्यान दिएको जानकारी दिए । यी विभिन्न कदमहरुले अर्थतन्त्र सुधारमा सकारात्मक संकेत देखिएको उनले बताए । गभर्नरसँगको ट्युनिङ पूर्व अर्थमन्त्री जनार्दन शर्माले सरकारको आर्थिक सल्लाहकार नेपाल राष्ट्र बैंकसँग तालमेल गर्न नसकेको विषयले निकै प्राथमिकता पाएको थियो । शर्मा र गभर्नर महाप्रसाद अधिकारीको सम्बन्धका विषयमा पनि निकै चर्चा हुन्थ्यो । तर, अर्थमन्त्री पौडेलले अर्थमन्त्रालय सम्हालेपछि गभर्नरसँगको राम्रो तालमेल गरेर काम गरेको बुझिएको छ । पौडेलले गभर्नर अधिकारीलाई साथमा लिएर काम गरिरहेका थिए । जसले गर्दा उनलाई साथ पनि मिलिरहेको थियो । सरकार र राष्ट्र बैंकको ट्युनिङ पनि मिलेको थियो । यसअघि चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्न नमानेको राष्ट्र बैंक पौडेलले अर्थमन्त्रालय सम्हालेपछि नै सो मार्गदर्शन संशोधन गर्न तयार बनेको थियो । अर्थमन्त्रीको निर्देशनसँगै ब्याजदर घटाउने निर्णय पनि भयो भने आयातका लागि राखिएको नगद मार्जिन पनि हटाइयो । विस्तारै अर्थतन्त्र लय समात्दै थियो । तर, अर्थमन्त्री पौडेल बाहिरिएका छन् । व्यवसायीको बढेको थियो मनोबल अधिकांश व्यवसायीहरुले पौडेलले अर्थमन्त्रालय सम्हालेपछि अर्थतन्त्र सुधारको दिशामा गएको र आफुहरुको मनोबल बढेको धारणा विभिन्न सार्वजनिक कार्यक्रममा राख्दै आएका थिए । उनले सबै क्षेत्रका उद्योगी व्यवसायीहरुलाई मन्त्रालयमै बोलाएर नआत्तिन सुझाव दिइरहेका थिए । पछिल्लो समय अटो व्यवासायी आन्दोलनमा थिए । उनीहरुका माग सम्बोधन हुने भन्दै उनले विरोध रोक्न आग्रह गरेका थिए । सेयर बजारका लगानीकर्ताहरुले समेत उनमा भरोसा गरेका थिए । उनी अर्थमन्त्रालयको बागडोर सम्हालेको केही दिनपछि सेयर बजारले उकालो यात्रा सुरु गरेको थियो । तर, पछिल्लो समय भने सेयर बजार घट्दो अवस्थामा छ । खर्च कटौतीको महत्वपूर्ण निर्णय उनले अर्थमन्त्रालयको बागडोर सम्हालेपछि गरेको महत्वपूर्ण निर्णय हो चालू खर्च कटौती अर्थमन्त्रालयद्वारा चालू आर्थिक वर्षको चालू खर्च घटाउनेसम्बन्धी मापदण्ड-२०७९ जारी गर्दै उनले १५ प्रतिशतले खर्च घटाउने निर्णय गरे । उनले बोतलको पानी प्रयोग नगर्ने, अतिरिक्त भत्ता नदिने, सरकारी खर्चमा हुने वैदेशिक भ्रमण कटौती गर्ने लगायतको प्रयास गरे । अर्थमन्त्रीको यो कदमले थोरै भएपनि सरकारले केही राहत मिल्ने धारणा राखिरहेका छन् । सेयर बजारमा सेञ्चुरी क्रस अर्थमन्त्रीको नियुक्तिले सेयर बजारका लगानीकर्ताको मनोबलमा पनि महत्वपूर्ण भूमिका खेल्छ । पौडेल अर्थमन्त्री बनेपछि सेयर बजारमा पनि करिब १०० अंकको वृद्धि भएको छ । उनी नियुक्त हुँदाको दिन अर्थात् पुस ११ गते सेयर बजार परिसूचक १९२४.०९ अंकमा थियो । सो दिन २ अर्ब ५ करोड रुपैयाँको कारोबार भएको थियो । उनी नियुक्त भएको पछिल्लो दिनमै सेयर बजार बढेर १९८३.९६ बिन्दु पुगेको थियो । आज उनी अर्थमन्त्रालयबाट बाहिरिएको दिन सेयर बजार २०२३.५४ बिन्दुमा छ । सोमबार सेयर बजारमा १ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको थियो । अर्थमन्त्री पौडेलमाथि सेयर लगानीकर्ताले पनि धेरै अपेक्षा गरेका थिए । यस्ता छन् पौडेलले गरेका काम अर्थन्त्री पौडेलले पुस ११ गते पदभार ग्रहण गरेका थिए । उनले पुस १२ गतेदेखि नियमित रुपमा मन्त्रालयको काम कारवाही अगाडि बढाएका थिए । पुस १२ : प्रधानमन्त्री र मन्त्रीहरूले बजेट वक्तव्यमार्फत चालु आर्थिक वर्षमा बढाइएको १५ प्रतिशत तलब नलिने, अर्थतन्त्रलाई गतिशील बनाउने लगायतका निर्णय गरेको । पुस २० : राष्ट्र बैंकद्वारा चालू पूँजी कर्जा मार्गदर्शन संशोधन गरेको । पुस २५ : उच्चस्तरीय राजनीतिक संयन्त्रद्वारा दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलिकरणसहित नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेको । पुस २६ : अर्थमन्त्रालयद्वारा चालू आर्थिक वर्षको चालू खर्च घटाउने सम्बन्धी मापदण्ड २०७९ जारी । पुस २७ : नेपाल बैंकर्स संघद्वारा निक्षेपको ब्याजदरघटाएर ११ प्रतिशत बनाउने निर्णय । माघ ५ : राष्ट्र बैंकद्वारा आयातमा लगाइएको अनिवार्य नगद मार्जिन हटाउने निर्णय । माघ १५ : अर्थमन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार । माघ १७ : अर्थमन्त्रालयद्वारा खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय । सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्को बैठक । सम्पत्ति शुद्धीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाउने निर्णय । माघ १९ : अर्थमन्त्रालयका १० जना सहसचिवहरुको कार्यविभाजन । माघ २३ : नेपाल राष्ट्र बैंकद्वारा पुससम्मको आर्थिक विवरण सार्वजनिक । विदेशी मुद्रा सञ्चितिमा १ खर्ब २१ अर्ब रुपैयाँ वृद्धि । माघ २४ : प्रधानमन्त्री कार्यालयमा राजस्व संकलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रण सम्बन्धी छलफल । प्रधानमन्त्रीद्वारा राजस्वको दायरा बढाउने र चुहावट नियन्त्रणको कार्यलाई एकैसाथ अगाडि बढाउन निर्देशन । माघ २६ : नेपाल राष्ट्र बैंकद्वारा रेमिट्यान्स कम्पनीहरूको विवरण बुझाउने समय अवधि निर्धारण । दैनिक विवरण ३ दिनमा, मासिक सात, त्रैमासिक र वार्षिक विवरणका लागि १५ दिनमा बुझाउनु पर्ने । माघ २७ : साना तथा मझौला उद्योग व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सकृय वर्गमा रहेको २ करोड रुपैयाँसम्मको कर्जालाई उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्त भित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था । माघ २९ : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनबारे संघीय संसदलाई जानकारी । चालु आर्थिक वर्षमा १७ खर्ब ९३ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा १५ अर्ब २ खर्ब १४ अर्ब रुपैयाँ खर्च हुने अनुमान । फागुन २ : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनबारे संघीय संसदको राष्ट्रिय सभालाई जानकारी । भनसुनका भरमा परियोजना पार्ने काम बन्द भइसकेको भनाइ । फागुन ३ : उपप्रधानमन्त्रीतथा अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स संघ, लघुवित्त संघ नेपालको बैठक । लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति ।
बजार खुलेको डेढ घण्टामा ४८ अंकले घट्यो सेयर बजार
काठमाडौं । बजार खुलेको डेढ घण्टामा सेयर बजार ४८.०६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार सेयर बजार घटेर २०३२.३२ विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म २३ लाख कित्ता सेयर किनबेच भएर एक अर्ब बढीको कारोबार भइसकेको छ । यस्तै, १० भन्दा बढी लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागिसकेको छ ।