नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु (तस्बिरसहित)
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा औपचारिक रूपमा सुरु भएको छ । पार्टीका महामन्त्रीहरूले दीप प्रज्ज्वलन र रुखमा पानी हालेर महाधिवेशनको उद्घाटन गरेका हुन् । नवयुवा आन्दोलनपछि पार्टीको एउटा समूहले केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनको मागसहित निवेदन दर्ता गरेका थिए । संस्थापन पक्षका केन्द्रीय सदस्य तारामान गुरुङ, डिला सङ्ग्रौला, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, कर्ण मल्ल, अर्जुन जोशी, राजन केसीलगायत पुगेका छन्। तस्बिरहरू :
नेपाली कांग्रेस काठमाडौंका अधिकांश क्षेत्र नियमित महाधिवेशनको पक्षमा
काठमाडौं । नेपाली कांग्रेस काठमाडौंका विभिन्न क्षेत्रीय समितिहरूले पार्टीको नियमित महाधिवेशनमै जानुपर्ने स्पष्ट धारणा सार्वजनिक गरेका छन् । उनीहरूले विशेष महाधिवेशनको प्रस्ताव पार्टी हितविपरीत हुने निष्कर्ष निकालेका छन् । काठमाडौंका विभिन्न क्षेत्रका सभापतिहरूले प्रेस विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको विपक्षमा आफ्नो मत सार्वजनिक गरेका हुन् । काठमाडौं महानगर समिति तथा क्षेत्र नम्बर २, ५, ६, ७, ८, ९ र १० का सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको पक्षमा आफूहरू दृढ रहेको जनाएका हुन् । विज्ञप्तिमा आगामी वैशाखमा पार्टीको १५औं महाधिवेशनको कार्यतालिका आइसकेको अवस्थामा विशेष महाधिवेशनको आवश्यकता नरहेको उल्लेख छ । उनीहरूले पार्टी विधान, संगठनात्मक स्थिरता र आन्तरिक एकतालाई ध्यानमा राख्दै तोकिएकै समयमा नियमित महाधिवेशन सम्पन्न गर्नु नै उपयुक्त हुने धारणा व्यक्त गरेका छन् । विशेष महाधिवेशनले पार्टीभित्र थप अन्योल, विभाजन र अनावश्यक विवाद सिर्जना गर्ने खतरा रहेको उनीहरूको ठहर छ । विज्ञप्तिमा पार्टी नेतृत्व, केन्द्रीय समिति तथा सम्पूर्ण कार्यकर्तालाई संयमित भएर विधानसम्मत प्रक्रियाबाट अघि बढ्न आग्रह गरिएको छ । नियमित महाधिवेशनमार्फत पार्टीलाई थप सुदृढ, एकीकृत र जनविश्वासयोग्य बनाउनु आजको आवश्यकता हो, विज्ञप्तिमा उल्लेख छ । तर, यस विषयमा काठमाडौं जिल्ला समितिको धारणा भने फरक देखिएको छ । जिल्ला समिति विशेष महाधिवेशनको पक्षमा खुलेको छ, जसले काठमाडौं कांग्रेसभित्र महाधिवेशनको विषयमा मतभिन्नता सतहमा आएको संकेत गरेको छ ।
एकताबद्ध भएर निर्वाचनमा सक्रिय रहन नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरूको संयुक्त अपिल
काठमाडौं । नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरूले पार्टीभित्र देखिएको आन्तरिक विवादप्रति चिन्ता व्यक्त गर्दै संगठनलाई एकताबद्ध बनाएर अघि बढ्न नेतृत्वलाई आग्रह गरेका छन् । उनीहरूले पार्टीको ऐतिहासिक भूमिका स्मरण गराउँदै वर्तमान राजनीतिक संकटको सामना गर्न कांग्रेस एक ढिक्का हुनुपर्नेमा जोड दिएका छन् । संयुक्त अपिलमा नेपाली कांग्रेसले इतिहासका विभिन्न कालखण्डमा निरंकुशता र अवरोधहरू पार गर्दै देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना र सुदृढीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख छ । सोही जिम्मेवारीलाई आत्मसात गर्दै अहिले देखिएको राजनीतिक संकट र पार्टीभित्रको तिक्तता अन्त्य गर्न नेतृत्वले विवेकपूर्ण निर्णय लिनुपर्ने भातृ संस्थाहरूको धारणा छ । अपिलमा पछिल्लो समय देशमा विकसित राजनीतिक अवस्था र नेपाली कांग्रेसभित्र देखिएको असहमति चिन्ताजनक बन्दै गएको उल्लेख गरिएको छ । यस्तो अवस्थामा देश र जनताको हितका लागि पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याइएको छ । भातृ तथा शुभेच्छुक संस्थाहरूले नेपाली कांग्रेसको नियमित महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म सम्पन्न गर्ने कार्यतालिका तय भइसकेको सन्दर्भमा सोही प्रक्रियाअनुसार अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारेका छन् । तोकिएको मितिभित्र महाधिवेशन सम्पन्न गर्न पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्न सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ । अपिलमा नेपाल महिला संघ, तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल किसान संघ, दलित संघ, आदिवासी जनजाति महासंघ, मुस्लिम संघ, थारू संघ, ट्रेड युनियन, सांस्कृतिक संघ, राष्ट्रिय मगर संघ, तामाङ संघलगायत विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षहरूले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । उनीहरूले सहमति, एकता र संगठनात्मक अनुशासन कायम राख्न नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
नेपाली कांग्रेसको संस्थापन पक्षको भेला सुरु
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको भेला सुरु भएको छ । काठमाडौंको आनन्दभूमि इभेन्टमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला सुरु भएको हो । पार्टीभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद, विशेष महाधिवेशनको माग र आगामी राजनीतिक कार्यदिशाका विषयमा छलफल गर्न भेला आयोजना गरिएको भेलामा सहभागी नेता जितजंग बस्नेतले जानकारी दिए । भेलामा उपत्यकामा उपलब्ध ५० बढी केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको भेलामा उपस्थित नेता बस्नेतले जानकारी दिए । भेलामा सभापति शेरबहादुर देउवा निकट नेताहरूको उल्लेख्य उपस्थिति रहेको बस्नेतले बताए । संस्थापन पक्षले पार्टीलाई एकताबद्ध गर्दै आगामी प्रतिनिधिसभा निर्वाचन तथा समसामयिक राजनीतिक चुनौतीहरूमा केन्द्रित हुनुपर्ने धारणा अघि सार्ने तयारी गरेको बुझिएको छ । यस भेलालाई पार्टीभित्र देखिएको दुई धारबीचको तानातानको महत्त्वपूर्ण कडीका रूपमा हेरिएको छ । भेला पछि संस्थापन पक्षको साझा धारणा तथा आगामी रणनीतिबारे औपचारिक निर्णय सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
नेपाली कांग्रेसले टुंग्यायो समानुपातिकको बन्द सूची
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक उम्मेदवार छनोट गरेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकले सबै क्लस्टरबाट प्रतिनिधित्व हुने गरी ११० जनाको नाम तय गरेको छ । महतका अनुसार कांग्रेसले यसअघिल्ला निर्वाचनमा समानुपातिक सूचीमार्फत अवसर पाएका नेताहरूलाई यसपटक दोहोर्‍याएको छैन । सबै जिल्लाबाट प्रतिनिधित्व हुने गरी बन्द सूची तयार पारिएको उनले जानकारी दिए ।
संघीय निर्वाचनका लागि नेपाली कांग्रेसको पूरा गर्यो दल दर्ता प्रक्रिया
काठमाडौं । आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आइतबार निर्वाचन आयोगमा आफ्नो दल दर्ता गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलको नेतृत्वमा कांग्रेसको टोली आयोग पुगेको थियो । आयोगमा आवश्यक कागजात, प्रतिनिधि विवरण, विधान तथा अन्य कानुनी प्रक्रिया पूरा गर्दै दल दर्ता औपचारिक रूपमा सम्पन्न भएको पौडेलले जानकारी दिए । ‘आज निर्वाचन आयोगमा गई दल दर्ताको सबै काम पुरा गरेको छौं,’ उनले भने । दर्ता प्रक्रिया सम्पन्न भएपछि कांग्रेस अब आगामी निर्वाचनका लागि संगठित तयारीमा जुट्ने अवस्थामा पुगेको पौडेलले बताए । महाधिवेशनको मिति तोक्न नसकेको कांग्रेसले चुनावी अभियानलाई प्राथमिकता दिँदै आएको छ । आयोगमा दर्ता सकिएसँगै अब कांग्रेस औपचारिक रूपमा निर्वाचन प्रतिस्पर्धामा प्रवेश गरिसकेको छ । आयोगबाट औपचारिक प्रमाण–पत्र प्राप्त भएपछि कांग्रेसले घोषणापत्र तयारी, उम्मेदवार सिफारिस, संगठनात्मक सक्रियता र गठबन्धनसम्बन्धी अन्तिम निर्णयहरूलाई गति दिने तयारी गरेको छ । यो प्रक्रियासँगै कांग्रेसको चुनावी अभियान औपचारिक रूपमा प्रारम्भ भएको मानिएको छ
नेपाली कांग्रेसले अबको सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्नुपर्छ : कल्याण गुरुङ
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीले अबका सबै गतिविधि आगामी २०८२ फाल्गुन २१ गते हुने निर्वाचनलाई केन्द्रविन्दुमा राखेर सञ्चालन गर्नुपर्ने बताएका छन् । उनले वर्तमान राजनीतिक अवस्थाबाट मुलुकलाई संविधानको मूल बाटोमा फर्काउने एक मात्र माध्यम स्वच्छ र निष्पक्ष निर्वाचन रहेको बताएका हुन् । गुरुङका अनुसार विषम परिस्थितिजन्य बाध्यताले देशलाई अलिकति सिधा बाटोबाट अलग पारेको छ, तर चुनावले मात्रै नेपालको संविधानलाई फेरि मूल बाटोमा ल्याउन सक्छ । उनले पार्टीका सबै तह केन्द्रीय कार्य समिति, प्रदेश, जिल्ला र वडा समितिसम्म तन, मन र वचनले चुनावको तयारीमा जुट्नुपर्ने आवश्यकता औंल्याए । 'नेपाली कांग्रेसको अहिलेको मूल लक्ष्य चुनाव, चुनाव र चुनाव नै हुनुपर्छ,' गुरुङले भने । चुनावले मात्र बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रलाई जीवित र चलायमान राख्न सक्छ । गुरुङले उम्मेदवार छनोटदेखि समितिहरूको पुनर्गठनसम्म पहिलो पटक अवसर नपाएका युवाहरूलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे । उनका अनुसार पार्टीभित्र राजनीतिक न्याय, समान अवसर र व्यवहारिक वितरणको अनुभूति हुनुपर्छ । गुरुङले नेपाली कांग्रेसले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनावमा जानुपर्ने बताए । तर राष्ट्रिय सभा, राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा आवश्यकता अनुसार अन्य दलसँग सहकार्य गर्न सकिने सम्भावना खुला राख्नुपर्ने उनको मत छ ।
सकस सुल्ट्याउन नेपाली कांग्रेसको पदाधिकारी बैठक धोबीघाटमा जारी
काठमाडौं । नेपाली कांग्रेसको १५ महाधिवेशनको मिति तोक्ने विषयमा परेको सकस सुल्ट्याउन पदाधिकारी बैठक बसिरहेको छ । आइतबार बिहान ललितपुरको धोबीघाटस्थित एक होटलमा बसेको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा बसेको हो। बैठकमा आसन्न महाधिवेशनको कार्यतालिकाबारे छलफल भइरहेको एक पदाधिकारीले जानकारी दिए । शनिबार बसेको पदाधिकारी बैठकमा पनि यही विषयमा लामो छलफल भए पनि सहमति जुट्न नसकेपछि आइतबार पुनः बैठक बोलाइएको हो । महामन्त्री गगन थापाले कार्यतालिका टुंगो नलागे आफू केन्द्रीय समिति बैठकमा सहभागी नहुने अडान सार्वजनिक गर्दै आएका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने पुस १६ देखि १९ गतेभित्रै १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राख्दै आएका छन् । उता सभापति शेरबहादुर देउवा पक्षले भने वैशाख महिनाको अन्त्यतिर महाधिवेशन गर्न सकिने मत राखेको छ । कार्यतालिकाबारे सहमति नजुटेकै कारण शुक्रबार बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको थियो । आजै दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा पुनः बैठक बस्ने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः सुरू
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार पुनः सुरू भएको छ । दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक करिब दुई घण्टा ढिलो गरी कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा प्रारम्भ भएको हो । यो बैठक असोज २८ गते बसेको केन्द्रीय समिति बैठककै निरन्तरता हो । तिहार र छठ पर्वका कारण केही दिन स्थगित भएको बैठक आजबाट फेरि निरन्तर भएको हो । बैठकमा हालको राजनीतिक परिस्थिति, पार्टीभित्रको संगठनात्मक विषय र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।
नेपाली कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूको बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी बोलाएका छन् । पार्टी मुख्यालयमा बस्ने उक्त बैठकमा आगामी रणनीति, आन्तरिक व्यवस्थापन र केन्द्रीय समिति बैठकका एजेन्डाका विषयमा विस्तृत छलफल हुने बताइएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पनि बैठक यही समय हुने जानकारी दिएका छन् । उनले बैठकमा पार्टीका वरिष्ठ नेता र पदाधिकारीहरूको उपस्थिति हुने बताए । नेताहरूले यो बैठकलाई आगामी केन्द्रीय समितिको बैठक र पार्टीभित्रको संगठनात्मक संरचनाका लागि एउटा सुरुवात हुने व्याख्या गरेका छन् ।
अपराधीलाई उन्मुक्ति दिने नीति स्वीकार्य छैन, प्रतिशोधको राजनीति बन्द गर्नुहोस् : नेपाली कांग्रेस
काठमाडौं । दण्डहीनतालाई प्रोत्साहन र प्रतिशोधको राजनीति नगर्न नेपाली कांग्रेसले आग्रह गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयबाट असोज ९ गते जारी गरिएको विज्ञप्ति र सोही विज्ञप्तिको आधारमा गरिएको परिपत्रले संविधान वाद, कानुनी राज्य र विधिको शासनमाथि प्रश्न उठाउने भन्दै पीडितलाई आतङ्कित गर्ने काम भएको उल्लेख गरे । सप्रमाण भेटिएका अपराधीहरूलाई उन्मुक्ति दिँदै जाने नीति नेपाली जनताका लागि कदापि स्वीकार्य नहुने पनि विज्ञप्तिमा उल्लेख छ । ‘भदौ २३ गते जेनजी पुस्ताले आह्वान गरेको शान्तिपूर्ण प्रदर्शनको आवरणमा आफ्नो कुत्सित मनसाय पूरा गर्ने विभिन्न आपराधिक समूहले २४ गते बिहानैदेखि अकल्पनीय ढङ्गको आतङ्क सिर्जना गर्ने राष्ट्रव्यापी हिंसा, तोडफोड, लुटपाट र आगजनीका घटना घटाउन थाले, जसबाट हरेक क्षेत्रका निजी तथा सार्वजनिक संरचना तोडफोड, आगजनी र लुटपाट गरी ध्वस्त बनाइए । २३ र २४ गते दुई दिनमा सुरक्षाकर्मीसहित ७६ जनाभन्दा बढीको ज्यान गइसकेको छ । सयौं घाइते छन् । राष्ट्रलाई खर्बौंको क्षति भएको छ । यस अकल्पनीय र दुःखद घटनाको जति निन्दा गरे पनि कमै हुन्छ,’ विज्ञप्तिमा भनिएको छ । उक्त प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न सरकारले न्यायिक छानबिन आयोग गठन गरेको कुरा स्वागत योग्य रहेको र त्यसले निष्पक्ष काम गर्नुपर्ने कांग्रेसको आग्रह छ । ‘प्रदर्शनको आवरणमा गरिएको नियोजित र निर्देशित रूपमा योजनाबद्ध आगजनी गर्ने, राजनीतिक दल र दल विशेषका नेतामाथि बदला पूर्ण प्रतिशोध लिने उद्देश्यले आक्रमण गर्ने, कार्यालय तोडफोड, लुटपाट र आगजनी गर्ने, सुरक्षाकर्मीको हातहतियार बोकेर लुट्ने अनि बर्दी लगाई हातहतियार बोकेर आतङ्क फैलाउँदै हिँडेका अवस्थामा देखिएका भेटिएका व्यक्तिउपर प्रचलित कानुनबमोजिम कुनै खोजतलास नगर्ने, कानुनी कारबाही नगर्ने भन्ने आसयको गृह मन्त्रालयबाट जारी गरिएको विज्ञप्ति र सोही विज्ञप्तिका आधारमा गरिएको परिपत्रले संविधान वाद, कानुनी राज्य र विधिको शासनमा प्रश्न उठेको छ,’ विज्ञप्तिमा जनाइएको छ । घटनाको छानबिन प्रारम्भ नहुँदै राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही र प्रतिशोधपूर्ण रूपमा काम हुन थालेको भन्दै आयोगलाई नभएको क्षेत्राधिकार विहीन कार्य गर्न गराउन नहुनेमा जोड दिइएको छ ।
नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यालयमा आगजनी भएको छ । जेनजी प्रदर्शनकारीहरूले मंगलबार कार्यालयमा पुगेर आगजनी गरेका हुन् । प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घर र पार्टी कार्यालयमा पुगेर ढुंगामुढा र आगजनी गरिरहेका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी
काठमाडौं । आन्दोलनकारी युवाले सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी गरेका छन् । जेनजी युवाहरूको समूहले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् । ठूलो सङ्ख्यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रण गर्न नसकेपछि कार्यालय उनीहरूले कब्जा गरेका हुन् ।
नेपाली कांग्रेस कार्यालयमा शिक्षक महासंघको धर्ना
काठमाडौं । नेपाल शिक्षक महासंघले पहिलो चरणको आन्दोलन अन्तर्गत बुधबार नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । धर्ना कार्यक्रम दिउँसो २ बजेसम्म चल्नेछ । यस क्रममा महासंघले ध्यानाकर्षण पत्र समेत बुझाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार बिहीबार एमालेको केन्द्रीय कार्यालय च्यासल र शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पनि धर्ना दिने कार्यक्रम तय गरिएको छ । महासंघले विगतका सहमति तथा सम्झौताहरू कार्यान्वयन गर्न सरकारसँग माग गर्दै आएको छ । २०७५, २०७८, २०८० र २०८१–०८२ सालमा भएका सहमतिसहित २०८२ वैशाख १७ गते मन्त्रिपरिषद्ले पारित गरेको ९ बुँदे निर्णय अझै कार्यान्वयन नभएको महासंघको आरोप छ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित विद्यालय शिक्षा विधेयक विगतको सहमति विपरीत भएको महासंघको ठहर छ । विधेयकमाअनुसार अस्थायी शिक्षकको पदपूर्ति ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट हुने व्यवस्था राखिएको छ भने महासंघले ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धा हुनुपर्ने माग गरेको छ । यस्तै, स्थायी शिक्षकको आवधिक बढुवाको प्रावधान विधेयकमा नसमेटिएको, अस्थायी अवधिको गणना नगरीएको, अध्यापन अनुमतिपत्रको म्याद थप्ने व्यवस्था नराखिएको र विभागीय कारबाहीसम्बन्धी प्रावधान पनि सहमति विपरीत भएको महासंघको भनाइ छ । त्यसैगरी, विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नगरेको, बालकक्षा शिक्षकको सेवा सुविधा स्पष्ट नभएको, संस्थागत विद्यालयका शिक्षकको सरुवा प्रणाली अव्यवहारिक रहेको, शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने प्रावधान अस्वीकार्य रहेको महासंघले जनाएको छ ।
नेपाली कांग्रेसको महाधिवेशन एक वर्षभित्र हुन्छ : सहमहामन्त्री जीवन परियार
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले महाधिवेशन एक वर्षभित्र हुने बताएका छन् । आज चितवनमा पत्रकारसँग उनले पार्टीको महाधिवेशन आगामी मङ्सिर भित्रमा हुने बताए । आन्तरिक कामका कारण रोकिएमा ढिलोमा विसं २०८३ वैशाखसम्ममा महाधिवेशन हुने उनको भनाइ छ । उनले भने, ‘विधानअनुसार पार्टीलाई चलाउन समयमै महाधिवेशन नभए पार्टीको वैधानिकतामाथि प्रश्न उठ्छ ।’ वर्तमान सरकार कांग्रेस–एमालेबीचको लिखित सहमतिअनुसार अघि बढ्ने उनले बताए ।
गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेपाली कांग्रेसद्वारा संसद अवरोध
फाइल तस्बिर काठमाडौं । गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै नेपाली कांग्रेसले संसदको बैठकलाई अवरोध गरेको छ । गृहमन्त्री रवि लामिछाने पनि अनुसन्धानको घेरामा भएको र उनले राजीनामा दिनुपर्ने माग गर्दै नेपाली कांग्रेसले संसदको नियमित बैठकलाई अवरोध गरेको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदमा बजेटको सिद्धान्त तथा प्राथमिकताको विषयमाथि छलफल हुन सक्ने तर, गृहमन्त्रीले कार्यसूचीअनुसार प्रतिनिधिसभामा प्रस्तुत गर्न खोजेको राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्न नदिने बताएका छन् । संसदको बैठक नियमित रुपमा सञ्चालन हुन नसकेपछि सभामुखले केहीबेरलाई बैठक स्थगित गरेका छन् ।
अहिले मैले प्राप्त गरेको प्रधानमन्त्री नेपाली कांग्रेसले दिएको विश्वासघातमा खडा भएको हो : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री नेपाली कांग्रेसको विश्वासघातको आधारमा भएको बताएका छन् । उनले संसदमा सम्बोधन गर्दै आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुरलाई दुई पटक प्रधानमन्त्री बनाएको र आफू एक पटक मात्रै प्रधानमन्त्री भएको समेत बताएका छन् । उनले आफ्नो विकास र समृद्धिको लागि सरकार पुर्नगठन आवश्यक भएर गरिएको समेत बताएका छन् । ‘सरकार पुर्नगठन गर्नैपर्ने अवस्थाको मैले महसुस गरेँ । हामीले विकास र समृद्धि जुन संकल्पका साथ अगाडि बढाउन खोजेका थियौं त्यो यो बाट सम्भव छैन भन्दै आएको थिएँ, तर त्यो गठबन्धनबाट सम्भव भएन । नेपाली कांग्रेसका केही साथीहरुले निजी ढंगले आक्षेप पनि लगाउनुभयो’, उनले भने, ‘निजी आरोप र प्रत्यारोपका लागि आज यो उपयुक्त ठाउँ पनि होइन । तर, संसदको रेकर्डमा रहेका विषयको प्रतिवाद नगर्दा इतिहासमा राम्रो जान्न की भनेर केही भन्ने कोशिश गर्छु ।’ उनले आफूले नेपाली कांग्रेसभित्रका विचार समूहले प्रतिवाद गरिरहेको मैले महसुस गरेको र आजित भएको बताए । ‘पछिल्लो समयमा कांग्रेस भित्रका विचारसमूहले गरेको विरोधले म आजित भएको थिएँ, र अहिले नेपाली कांग्रेसभित्र देखिएको युद्धविरामले म खुसी भएको छु । त्यसले देशको लोकतन्त्र सुदृढ बनाउन जोडबल नै पुग्छ’, प्रधानमन्त्री प्रचण्डले भने ।
प्रचण्डले राजनीतिक बेइमानी गरे : नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले माओवादीले राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ । बिहीबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले आफूहरुले गठबन्धनको संस्कृतिअनुसार इमान्दारिता निभाएको तर माओवादीले भने राजनीतिक बेइमानी गरेको आरोप लगाएको हो । ‘हामीले गठबन्धनका मूल्य मान्यता र गठबन्धनमा रहँदा हाम्रा बीचमा भएका सहमतिहरुलाई अक्षरसः पालना गरेर हामी प्रतिबद्ध रह्यौं र तदनुरुप हामीले काम गर्यौं’, उनले भने, ‘तर, पछिल्लो समयमा गठबन्धनकै तर्फबाट प्रधानमन्त्री बन्नुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माननीय पुष्पकमल दाहालजीले गठबन्धनलाई हामीलाई विश्वासघात गर्नुभो र गठबन्धन भत्काउनुभो ।’ लेखकले प्रचण्डले बाहिर गठबन्धन भत्कनुको कारणबारे भनेका कुराहरु तथाकथित र काल्पनिक भएको भनेर पनि आरोप लगाएका छन् ।
प्रजातन्त्रको अवसरमा नेपाली कांग्रेसद्वारा शुभकामना व्यक्त
काठमाडौं । प्रजातन्त्रको अवसरमा नेपाली कांग्रेसले शुभकामना व्यक्त गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना शन्देशमार्फत नेपालीहरुमा शुभकामना व्यक्त गरेका हुन् । ‘फागुन ७ गते नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा म समस्त नेपाली दिदिबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, सभापति देउवाद्वारा जारी शन्देशमा भनिएको छ । २००७ को कात्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जन–क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको सभापति देउवाले बताएका छन् । ००७ सालको आन्दोलनले राजनैतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रसस्त गरेको सभापति देउवाले बताएका छन्। ‘मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश गर्यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण ग¥यो’, सभापति देउवाले शुभकामना सन्देशमा भनेका छन् । समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२/६३ को आन्दोलन मार्फत संघीयता र गणतन्त्र सम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति भएको सभापति देउवाले बताएका छन् । ‘नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न राष्ट्रिय प्रजातन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु’, देउवाले शन्देशमा भनेका छन् । साथै उनले शन्देशमार्फत देशमा लोकतन्त्र स्थापनाको लागि जीवन उत्सर्ग गरेका शहीदहरुलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुबै नछाड्ने
काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार गठनका क्रममा आगामी राष्ट्रपति र प्रधानमन्त्री दुबै पद नछाड्ने शन्देश माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । आइतबार बिहान खुमलटार पुगेर नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधीले सो सन्देश प्रचण्डलाई दिएका हुन् । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समयसिमाको केही घण्टा मात्रै समय बाँकी रहँदा नेपाली कांग्रेसले राखेको अडानले नयाँ सरकार संविधानको धारा ७६ (२) अनुसार सरकार बन्न कठिन हुने देखिएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमत पुर्याएर प्रधानमन्त्री दाबी गर्न आइतबार साँझ ५ बजेसम्मको समय तोकेकी छन् । आगामी सरकार निर्माणको क्रममा मुख्यतया गठबन्धनमा रहेका तीन ठूला राजनीतिक दल कांग्रेस, माओवादी र नेपाली कांग्रेसले आ-आफ्नो अडानलाई कायम राख्दै छलफल गर्दै आएका छन् । आइतबार साँझ ५ बजेसम्म नयाँ सरकारको प्रकृया अगाडि नबढेमा राष्ट्रपतिले नयाँ सरकार गठनको लागि संविधानअनुसार नयाँ प्रकृयाको थालनी गर्न सक्छिन् ।