नाइमामा एनटर्क डिस्क एफआईका आकर्षक नयाँ रङहरू सार्वजनिक
काठमाडौं । टीभीएस नेपालले नाइमा अटो मोबिलिटी शोको तेस्रो दिन आफ्नो एनटर्क डिस्क एफआई स्कुटरको नयाँ कलर भेरियन्ट सार्वजनिक गरेको छ । एनटर्क डिस्क एफआई स्कुटर टर्कोइस ब्लु र नार्दो ग्रेका दुई आकर्षक रङ्गहरूमा सार्वजनिक भएको हो । आधुनिक यात्रुहरूलाई ध्यानमा राखी डिजाइन गरिएको एनटर्क डिस्क एफआईमा स्मार्ट प्रविधि र पफोर्मेंसलाई संयोजन गरिएको छ । परिष्कृत १२४.८ सिसीको ३–भल्भ फ्युल–इन्जेक्टेड इन्जिनले यो स्कूटरलाई सहज र शक्तिशाली बनाउँछ, जसले करिब ४५ किलोमिटर प्रतिलिटरको माइलेज दिने दावी कम्पनीको छ । रेसिङ शैलीबाट प्रेरित यसको आकर्षक डिजाइन र टि-आकारको एलईडी टेल ल्याम्पले नेपाली सडकहरूमा सबैको ध्यान आकर्षण निश्चित छ । नेपाली बजारको लागि २ लाख ८२ हजार ९०० मूल्य निर्धारण गरिएको नयाँ एनटर्क डिस्क एफआई भेरिएन्टहरूमा यस सेगमेन्टमै अगाडि रहने विशेषताहरू समावेश गरिएका छन् । शैली, सुरक्षा र स्मार्ट फिचरको समायोजनले यो स्कुटरलाई आफ्नो क्लासमा एक उत्कृष्ट विकल्प बनाएको छ । पाँच दिनसम्म चल्ने यो अटो शोमा ५० भन्दा बढी स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले गाडी, इलेक्ट्रिक सवारी (ईभी), हाइब्रिड र वातावरणमैत्री सवारीहरू प्रदर्शन गर्नेछन् ।
नाइमा मोबिलिटी एक्स्पोमा माज्दा सीएक्स-६० सार्वजनिक, मूल्य १ करोड ५१ लाख
काठमाडौं । नाइमा मोबिलिटी एक्सपो २०२५ मा पारामाउन्ट मोटर्सले माज्दा सीएक्स-६० सार्वजनिक गरेको छ । यो मोडल ‘अल ह्विल ड्राइभ’ सिस्टमसहित नेपाली बजारमा ल्याइएको हो । माज्दा सीएक्स–६० को लम्बाइ ४५५० मिमी, चौडाइ १८४० मिमी र उचाइ १६६० मिमी रहेको छ । यसमा २।५ लिटर क्षमताको इन्जिन प्रयोग गरिएको छ, जसले अधिकतम १८५ बीएचपी पावर र २५० एनएम टर्क उत्पादन गर्छ । गाडीको टप स्पिड १८० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जानकारी दिएको छ । इन्टेरियर डिजाइन प्रिमियम स्तरको छ भने सुरक्षाको दृष्टिकोणले पनि यो गाडी निकै उन्नत छ । माज्दा सीएक्स–६० मा ६ वटा एयरब्याग, भेइकल स्टेबिलिटी कन्ट्रोल ३६० डिग्री क्यामेरा तथा विभिन्न प्रकारका सेन्सरहरू जडान गरिएको छ । कम्पनीले यस एसयूभीको मूल्य १ करोड ५१ लाख रुपैयाँ निर्धारण गरेको छ । नाइमा एक्स्पोबाटै यो गाडी बिक्री गर्न थालेको छ ।
एनपीएल अक्सन : ३७ खेलाडी किन्न २ करोड १८ लाख खर्च, महँगो बन्यो चितवन राइनोज
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट ८ टोलीले २ करोड १८ लाख ७५ हजार रुपैयाँ खर्च गरेका छन् । ८ वटा टीमले ३७ खेलाडी छनोट गर्दा सो रकम खर्च गरेका हुन् । अक्सनका लागि छनोट गरिएका १६४ खेलाडीबाट ३७ खेलाडी अनुबन्ध भएका हुन् । शनिबार सम्पन्न अक्सनमा खेलाडीमाथि सबैभन्दा धेरै खर्च चितवन राइनोजले तथा कम पोखरा एभेन्जर्सले गरेको छ । चितवनले ३९ लाख रुपैयाँ, काठमाडौंले ३७ लाख रुपैयाँ, लुम्बिनीले ३२ लाख रुपैयाँ, कर्णालीले २९ लाख रुपैयाँ, विराटनगरले २७ लाख रुपैयाँ, सुदूरपश्चिमले २४ लाख रुपैयाँ, जनकपुरले १९ लाख ७५ हजार रुपैयाँ तथा पोखराले ११ लाख रुपैयाँ खर्च गरेको छ । अक्सनमा ८ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए । पहिलो चरणमा अनुबन्ध नगरिएका बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका हुन् । ‘ए’ श्रेणीका चार खेलाडीलाई जनही १५ लाख रुपैयाँमा खरिद गरिएको छ । दोस्रो संस्करणका लागि सबैभन्दा बढी मूल्यमा देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफलाई खरिद गरिएको छ । देव र अर्जुनले चितवन राइनोजबाट, आदिलले काठमाण्डू गोर्खाजबाट र पवनले कर्णाली याक्सबाट खेल्ने तय भएको छ । चारै खेलाडीलाई एउटाभन्दा बढी टोलीले भित्र्याउन खाजेबाट ‘लक्की ड्र’ मार्फत निर्णय गरिएको थियो । यसैगरी दिलीप नाथ र शेर मल्ललाई लुम्बिनी लायन्सले, हेमन्त धामीलाई सूदुरपश्चिम रोयल्सले, सूर्य तामाङलाई विराटनगर किङ्ग्सले, सन्तोष यादवलाई काठमाण्डू गोर्खाजले र युवराज खत्रीलाई कर्णाली याक्सले जनही १० लाख रुपैयाँमा अनुबन्ध गरेको छ । यस्तै मयन यादवलाई जनकपुर वोल्टस्ले ७ लाख ७५ हजार रुपैयाँमा तथा आकाश त्रिपाठीलाई काठमाण्डू गोर्खाजले ७ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । यसैगरी शङ्कर राना, नारायण जोशी र साहिल पटेललाई विराटनगर किङ्ग्सले, अर्जुन कुमाललाई पोखरा एभेन्जर्सले, विशाल पटेल र दुर्गेश गुप्तालाई लुम्बिनी लायन्सले, आदित्य महता र विकास आग्रीलाई जनकपुर बोल्टसले, विपिन रावललाई चितवन राइनोजले तथा दिपक बोहरा र मिलन बोहरालाई सुदूरपश्चिम रोयल्सले जनही ५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । उत्तम थापा मगरलाई काठामण्डु गोर्खाजलेरु ३ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । यसैगरी टेकबहादुर रावत र दीपेन्द्र थापालाई सुदूरपश्चिम रोयल्सले, सन्दीप खत्री क्षेत्री, अभिषेख तिवारी र कृष्ण पौडेललाई पोखरा एभेन्जर्सले, सचिन भट्टलाई जनकपुर बोल्टसले, तुलबहादुर थापालाई काठमाण्डू गोर्खाजले, इमरान शेख र दीपक डुम्रेलाई कर्णाली याक्सले, लुम्बिनी लायन्सले आदिल खानलाई, विराटनगर किङ्ग्सले श्रवण किश्कुलाई तथा चितवन राइनोजले विपिन आचार्य र रञ्जित कुमारलाई जनही २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । एनपीएलको शनिबारको मिनी अक्सनमा १५० खेलाडीले भाग लिएका थिए । दर्ता भएका ४५८ खेलाडीबाट १५० जनालाई मिनी अक्सनका लागि छनोट गरिएको थियो । अक्सनमा ‘ए’ श्रेणीको न्यूनतम १० लाख रुपैयाँ र अधिकतम १५ लाख रुपैयाँ, ‘बी’ श्रेणीको न्यूनतम ५ लाख रुपैयाँ र अधिकतम १० लाख रुपैयाँ तथा ‘सी’ श्रेणीको न्यूनतम २ लाख रुपैयाँ र अधिकतम ५ लाख रुपैयाँ मूल्य राखिएको थियो । योसँगै ८ टोलीमा ८८ खेलाडी आबद्ध भएका छन् । प्रत्येक टोलीमा ११–११ नेपाली खेलाडी छनोट भएसँगै अब ८ वटै टोलीले कम्तिमा चार विदेशी खेलाडी अनुबन्ध गर्नेछन् । आठवटै टोलीको खेलाडी सूची जनकपुर बोल्ट्सः आसिफ शेख (मार्की खेलाडी), अनिलकुमार साह, शुभ कङ्साकार, किशोर महतो, ललितनारायण राजवंशी, तुलबहादुर थापामगर, रुपेश सिंह, सचिन भट्ट, आदित्य महता, मयन यादव र विकाश आग्री । सुदूरपश्चिम रोयल्स: दिपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेकबहादुर रावत, दिपेश थापा, दिपक बोहरा र मिलन बोहरा । कर्णाली याक्स: सोमपाल कामी (मार्की खेलाडी), गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिनप्रसाद शर्मा, युनिशविक्रमसिंह ठकुरी, पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्री । चितवन राइनोज: कुशल मल्ल (मार्की खेलाडी), रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला, गौतम केसी, देव खनाल, अर्जुन साउद, बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमार । काठमाण्डु गोर्खाज: करण केसी (मार्की खेलाडी), भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलम । विराटनगर किङ्स: सन्दीप लामिछाने (मार्की खेलाडी), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शङ्कर राना । पोखरा एभेन्जर्स: कुशल भुर्तेल (मार्की खेलाडी), दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द, तृतराज दास, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री । लुम्बिनी लायन्स: रोहित पौडेल (मार्की खेलाडी), सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम, दिनेश अधिकारी, दिलिप नाथ, विशाल पटेल, शेर मल्ल, दुर्गेश गुप्ता र आदिल खान ।
नाइमा एक्स्पो अपेक्षाभन्दा बढी सफल भएको व्यवसायीको दाबी, बुकिङ र अवलोकनकर्ताको ‘रेस्पोन्स’ ले मक्ख
काठमाडौं । शनिबारको मुसलधारे पानीले राजधानीको सडक अस्तव्यस्त बनाइरहँदा भृकुटीमण्डपभित्र भने अर्कै रौनक थियो । विगतका वर्षहरुमा पानी पर्नेबित्तिकै बिथोलिने प्रदर्शनी यस पटकको नाइमा मोबिलिटी एक्स्पोमा भने कुनै असर परेन । स्थापनाको पहिलो वर्षमै नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) ले आयोजना गरेको नाइमा मोबिलिटी एक्स्पो २०२५ ले अपेक्षाभन्दा निकै माथिको सफलता पाएको अवलोकनकर्ताहरु बताउँछन् । अवलोकनकर्ताको उर्लंदो भीड र सहभागी व्यवसायीहरूको मागलाई सम्बोधन गर्दै आयोजक नाइमाले एक्स्पोको अवधि एक दिन थपेर ६ दिनको कायम गरेको छ । विगतका अटो शोहरूमा पानी पर्नासाथ हिलो र अव्यवस्थाको सामना गर्नुपर्ने अनुभव संगालेका अवलोकनकर्ताहरूका लागि यो पटकको नाइमा एक्स्पो नितान्त फरक रहेको अनुभव सुनाउँछन् । नाइमा मोबिलिटीमा अवलोकन गर्न पुगेका प्रवेश कुवंरका विगतका नाडा अटो शोहरुमा पानी पर्दा पुरै खुट्टा हिलै हिलोले पुरिन्थ्यो । तर यसपटक त्यस्तो अवस्था नभएको उनी सुनाउँछन् । उनले भने, ‘यसपटको अटो शो धेरै व्यवस्थित छ । पानी परेर पनि हामी भिजेनौं । स्टलभित्र छिर्ने बाटोहरुमा जताततै कार्पेट ओछ्याएको छ । माथि पालको छानो छ । ठाउँठाउँमा पंखाहरु छन् । भित्रछिर्ने बाटोका दुई लेन छन् । खाजा खानेदेखि प्रत्येक स्टलहरुमा पानीको व्यवस्था छ । यसपटको अटो शो विगतका भन्दा व्यवस्थित छ ।’ फराकिलो र आकर्षक स्टल, हलहरू जोड्ने र ढाकिएका बाटा र हिलोमुक्त परिसरले आगन्तुकलाई सहजता प्रदान गरिरहेको नाइमाले दाबी गरेको छ । नाइमाकी अध्यक्ष तथा वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्री एण्ड ट्रेडिङ हाउसकी प्रबन्ध निर्देशक रितु सिंह वैद्यका अनुसार यसपटक स्टलहरू ठूला छन् र व्यवस्थापन उत्कृष्ट छ । ‘यो प्रदर्शनी ह्वीलचेयरमैत्री पनि छ । अशक्तता भएका व्यक्तिहरू पनि सहजै घुम्न सक्नुहुन्छ । एकै छानामुनि ५० वटा ब्रान्ड भएको यस्तो प्रदर्शनी अहिलेसम्म भएको थिएन,’ उनले भनिन् । एक्स्पो अपेक्षाभन्दा बढी सफल भएको उनको भनाइ छ । उनले ग्राहकको रेस्पोन्सले आफूहरु खुसी भएको सुनाइन् । उनले एक्स्पोमा सवारी साधन बुकिङको आधिकारिक तथ्यांक आइनसकेको भएपनि एक हजार बढी सवारी साधन बुकिङ भएको अनुमान रहेको सुनाइन् । जी अटोमोबाइल्सका सञ्चालक आकाश गोल्छाले स–सानो कुराले गर्दा एक्स्पो फरक र उत्कृष्ट बनेको बताए । यसपटकको एक्स्पोमा घुम्न र रमाइलो गर्न आउनेभन्दा पनि गाडी किन्ने वा बुझ्ने मनसाय बोकेका गुणस्तरीय ग्राहकको उपस्थिति बाक्लो देखिएको लक्ष्मी ई–मोबिलिटीका प्रबन्ध निर्देशक दीपक थपलियाले बताए । ‘यसपटकका ग्राहकहरू पहिलादेखि नै गाडीबारे अध्ययन गरेर, बुझेर आएका छन् । धेरै कुरा इन्टरनेटमा हेरेर थाहा पाइसकेका हुन्छन् । त्यसैले उहाँहरूसँग कुरा गर्न पनि सहज भएको छ,’ थपलियाले थपे । नाडाका पूर्व अध्यक्ष धु्रव थापा पनि विगतको तुलनामा यस पटक उत्कृष्ट भएको बताउँछन् । ‘पहिले विद्यार्थीहरूको भीड बढी हुन्थ्यो, तर अहिले साँच्चिकै सवारीसाधनमा रुचि राख्ने र खरिद गर्न चाहनेहरूको उपस्थिति बढेको छ । यसले बुकिङमा समेत सकारात्मक प्रभाव पारेको छ,’ उनले भने । विशेषगरी विद्युतीय सवारी (इभी) प्रति मानिसहरूको आकर्षण बढेको उनको अनुभव छ । यस्तै, यार्डियाका सेल्स एन्ड मार्केटिङ प्रमुख भिजन कोइरालाले पनि शनिबार ‘पोटेन्सियल बायर’ हरूको फ्लो निकै राम्रो रहेको र १०/१५ वटा स्कुटर नगदमै बुकिङ भएको बताए । एक्स्पोको उद्देश्य तत्काल गाडी बेच्नु मात्र नभएर ब्रान्डिङ गर्ने, सही जानकारी दिने र ग्राहकसँग सम्बन्ध स्थापित गर्नु पनि हो । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृद घिमिरेले भने, ‘यो सेलिङ स्पट मात्र होइन । यो मानिसहरूलाई सबै उत्पादन एकै ठाउँमा हेर्ने, तुलना गर्ने, अध्ययन गर्ने र भविष्यका लागि निर्णय लिने प्लेटफर्म हो । ’ यो एक्स्पोले दशैंको माहोललाई समेत अगाडि नै भित्र्याएको छ । ‘हाम्रो ट्यागलाइन नै दशैंको सुरुवात नाइमाबाट भन्ने थियो । शिथिल अर्थतन्त्रमा यसले एउटा सकारात्मक भाइब्रेन्सी ल्याएको छ,’ नाइमा आयोजक समितिका सदस्य तथा एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले भने । नाइमाका मार्केटिङ तथा मिडिया कन्सल्टेन्ट प्रतिक अर्यालले भने, ‘हाम्रो होडबाजी यति बेच्यौँ वा यति बुकिङ भयो भन्नेमा हुँदै होइन । हाम्रो मुख्य लक्ष्य उपभोक्ताले यहाँ आएर दुःख होइन, रमाइलो अनुभव गरेर फर्कनुहोस् भन्ने हो । हामीले टिकटको लाइन, पार्किङ, पानीको समस्या जस्ता विगतका पीडालाई समाधान गर्न खोजेका हौं ।’ एक्स्पो भव्य रूपमा सफल भए पनि यसले काठमाडौंको कमजोर प्रदर्शनी पूर्वाधारलाई फेरि एकपटक सतहमा ल्याइदिएको छ । अधिकांश सहभागी र आयोजकहरू भृकुटीमण्डपको पुरानो संरचना अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीका लागि अपर्याप्त भएको स्वीकार्छन् । ‘सबैभन्दा ठूलो चुनौती नै प्रदर्शनी स्थल हो, यहाँ न राम्रो पार्किङ छ, न त वातानुकूलित हल नै । हामीले जसोतसो टालटुल गरेर व्यवस्थापन गरेका हौं, ’ उनले सरकारलाई आग्रह गर्दै हात जोडेर बिन्ती छ, नेपाली ग्राहकलाई सुहाउँदो पूर्वाधार सरकारले उपलब्ध गराइदिए अझै राम्रो हुन्थ्यो,’ निर्देशक शारडाले भने । यद्यपि, अर्थमन्त्री विष्णु पौडेलले बजेट छुट्याएर तीन वर्षभित्र नयाँ हल बनाउने घोषणा गरेकाले व्यवसायीहरू आशावादी छन् । पहिलो प्रयासमै नाइमा मोबिलिटी एक्स्पो २०२५ ले नेपाली अटोमोबाइल क्षेत्रमा एउटा नयाँ मानक स्थापना गरेको व्यवसायीको दाबी छ ।
नाइमा एक्स्पोमा दुई पांग्रेतिर पनि उस्तै आकर्षण र अफरै-अफर
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ ले नेपाली अटो बजारमा नयाँ तरंग सिर्जना गरेको छ । सवारी खरिदबिक्रीका लागि यो एक्स्पो केवल एक मेला मात्र नभई बजारको भविष्य प्रतिस्पर्धाको स्तर र उपभोक्ताको बदलिँदो रोजाइको ऐना बनेको छ । नाडाबाट छुट्टिएर नाइमाले आयोजना गरेको यो पहिलो एक्स्पो व्यवस्थापकीय हिसाबले उत्कृष्ट देखिनुका साथै उपभोक्ताका लागि नयाँ मोडल र भारी छुटको वर्षा लिएर आएको छ । जहाँ गाडी भित्र्याउने कम्पनीहरूले ५ लाखदेखि २० लाखसम्मको नगद छुट दिइरहेका छन् । एक्स्पोमा दुई पांग्रे र चार पांग्रे सबैमा अवलोकनकर्ताहरूको भीड देख्न सकिन्छ । आज एक्स्पोको तेस्रो दिन प्रत्येक ब्राण्डका स्टलहरू सूरु भएको देखि नै भरिभराउ छन् । एक्स्पोमा ५० ब्राण्डका ४८ वटा स्टल रहेका छन् । एक्स्पो सुरु भएको दिन १५ हजार अवलोकनकर्ताले भ्रमण गरेका छन् भने दोस्रो दिन १३ हजारले अवलोकन गरेको नाइमाले जनाएको छ । दुई पांग्रेका दर्जनौं मोडल सार्वजनिक पहिलो पटक नाइमाले आयोजना गरेको एक्स्पोको मुख्य आकर्षण दुई पांग्रे सवारी साधन बनेको छ । विभिन्न आठ ब्रान्डले दुई दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक गरेका छन् । याडिया, सेगवे, केटीएमदेखि सीएफमोटो र नयाँ ब्रान्ड मोर्बिडेलीसम्मले आफ्ना बाइक तथा स्कुटर सार्वजनिक गरेका छन् । वैद्य इनर्जीले फ्यामिली स्कुटरको रूपमा परिचित एथर रिज्ता एक्स्पोमा राखेको छ । भारतीय प्रिमियम इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी एथर इनर्जीले पारिवारिक स्कुटर एथर रिस्ता नाइमा पहिलोपटक ल्याएको हो । ईभी बजारमा सबैभन्दा ठूलो चासोको विषय बन्ने गरेको ब्याट्रीको आयुमा एथरले पहिलो पटक ८ वर्ष वा ८० हजार किलोमिटरको वारेन्टी घोषणा गरेको छ । एथर इनर्जी भारतका इन्जिनियरिङ डेभलपमेन्ट हेड गौरव रेग्मीका अनुसार कम्पनीले ग्राहकको आवश्यकता र प्रतिक्रियालाई गहिरोसँग अध्ययन गरेर ‘रिस्ता’ को निर्माण गरेको हो । ‘हाम्रो पहिलेको ४५० एक्स मोडल पर्फर्मेन्समा केन्द्रित थियो, तर बजारमा एउटा यस्तो स्कुटरको माग थियो पूरै परिवारका लागि उपयुक्त होस्,’ उनले भने, ‘त्यही मागलाई सम्बोधन गर्न हामीले ठूलो सिट, पर्याप्त स्पेस र प्रिमियम बिल्ड क्वालिटीसहित ‘रिस्ता’ ल्याएका हौं ।’ भारतमा यो स्कुटरले पाएको सफलतालाई पनि उनले उल्लेख गरे । सार्वजनिक भएको १० महिनाभन्दा कम समयमा १ लाखभन्दा बढी युनिट बिक्री भएर रिस्ता भारतमा सबैभन्दा छिटो यो आँकडा छुने स्कुटर बनेको छ । साथै, यसले विभिन्न प्रतिष्ठित अवार्ड शोहरुमा २२ भन्दा बढी अवार्ड जितिसकेको छ । एथर रिस्तामा ३.७ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ, जसलाई एथरले आफ्नै फ्याक्ट्रीमा निर्माण गर्छ । यसको सर्टिफाइड रेन्ज १५३ किलोमिटर भए पनि कम्पनीले नेपाली सडकमा १२५ देखि १३० किलोमिटरको रेन्ज दिने दाबी कम्पनीको छ । यो स्कुटरले १५ डिग्रीसम्मको उकालो सजिलै तान्न सक्ने र काठमाडौंको ह्वाइट गुम्बा जस्तो ठाडो उकालोमा पनि दुई जनालाई लिएर सहजै चढेको परीक्षणबाट देखिएको उनले बताए । नाइमा एक्स्पोलाई लक्षित गर्दै वैद्य इनर्जीले विशेष अफरहरू ल्याएको छ । कम्पनीका ब्रान्ड मार्केटिङ सलमान खानका अनुसार स्कुटरमा सिधै नगद छुट नभए पनि ग्राहकले आकर्षक फाइदा लिन सक्छन् । एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले निःशुल्क ८७० वारेन्टी, शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा तथा एक्सचेन्जमा विशेष भ्यालु एडिसन जस्ता अफरहरू पाउनेछन् । यसका साथै अवलोकनकर्ताहरूले एउटा एथर रिस्ता स्कुटर नै जित्ने मौका पनि पाउनेछन् । यसका लागि एथरको स्टलमा आएर स्कुटरसँग फोटो खिची आफ्नो सामाजिक सञ्जालमा साथीहरूलाई ट्याग गर्नुपर्नेछ । यसको मूल्य ३ लाख ८३ हजार रुपैयाँ तोकिएको छ । यस्तै, विद्युतीय स्कुटरमा आफ्नो बलियो उपस्थिति देखाउँदै कुजु नेपालले याडियाको भेलक्स सिरिजका तीन मोडल (भेलक्स फास्ट चार्जिङ, भेलक्स यू र भेलक्स एच) सार्वजनिक गरेको छ । यसमा भेलक्स फास्ट चार्जिङमको मूल्य ३ लाख ६० हजार, भेलक्स यूको मूल्य ४ लाख ५० हजार र भेलक्स एच मोडलको मूल्य २ लाख ८५ हजार रुपैयाँ तोकिएको छ । सबैभन्दा आकर्षक मोडल मानिएको भेलक्स फास्ट चार्जिङ स्कुटर २० मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुन्छ । यसमा ७६ भोल्ट, ३० एएच क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले ११० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ । कम्पनीले यसको ब्याट्रीमा ३ वर्ष अर्थात् ३० हजार किलोमिटर वारेन्टी दिएको छ । यस्तै, भेलक्स यु मा ४.९ किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ। यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ। यसमा ७४ भोल्ट, २० एएचको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले १४० किलोमिटरसम्मको रेन्ज दिनेछ । कम्पनीले यसमा २ वर्ष २० हजार किलोमटिर वारेन्टी दिएको छ । तेस्रो मोडल भेलक्स एचमा ३.२ किलोवाट क्षमताको मोटर छ। यसमा ७२ भोल्ट, ३० एएच एलएफपी ब्याट्री जडान गरिएको छ । यो स्कुटरले १०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ। तीन वटै मोडलमा एलएफपी ब्याट्री प्रयोग गरिएकाले सुरक्षित, टिकाउ र भरपर्दो पर्फर्मेन्स दिने विश्वास कम्पनीको छ। कम्पनीले यसमा ३ वर्ष ३० हजार किलोमिटर वारेन्टी दिएको छ । यसैगरी आइहब प्रालिले सेगवेका चार नयाँ मोडल सार्वजनिक गर्दै सहरी यात्रामा नयाँ विकल्प दिएको छ । स्कुटर ‘ई-१५० एमके २’ (मूल्य ५ लाख) र ‘ई-१२५ एमके २’ (मूल्य ३ लाख ५० हजार) का साथै अत्याधुनिक ई-बाइक ‘साइबर’ (मूल्य ५ लाख ५० हजार) र ई-साइकल ‘सफारी’ (मूल्य ३ लाख ५० हजार) ले सबैको ध्यान तानेको छ । हंसराज हुलासचन्द एन्ड कम्पनीले २०२५ भर्सनका ६ नयाँ मोडल (२०० ड्युक, २५० ड्युक, ३९० ड्युक, २५० एड्भेन्चर, ३९० एड्भेन्चर र ३९० इन्ड्युरो आर) एकैपटक सार्वजनिक गरेर बजारमा तहल्का मच्चाएको छ । ५ लाख ९९ हजारदेखि १० लाख ७४ हजार रुपैयाँसम्मका यी बाइकहरू उत्कृष्ट डिजाइन र दमदार पर्फमेन्सका लागि परिचित छन् । अग्नि मोटोइन्कले नयाँ विद्युतीय ब्रान्ड ‘बिजी’ का आरयूभी ३५० र सी १२ इलेक्ट्रिक स्कुटरका विभिन्न भेरियन्टहरू २ लाख २८ हजारदेखि ३ लाख २५ हजार रुपैयाँसम्मको मूल्यमा ल्याएको छ । ऋषि ट्रेड सेन्टरले नेकेड स्पोर्टस् ‘३०० एनके’ (मूल्य ६ लाख ५४ हजार) र स्पोर्टस् मोडल ‘४५० एसआरएस’ (मूल्य १३ लाख ४९ हजार) सार्वजनिक गरेको छ । पावरफुल इन्जिन र प्रिमियम फिचरले भरिपूर्ण यी बाइकहरूले पर्फमेन्स खोज्ने राइडरलाई आकर्षित गरेका छन् । केटीएम इन्टरनेसनल ट्रेडिङले इटालियन ब्रान्ड ‘मोर्बिडेली’ लाई नेपाल भित्र्याएको छ । यसको ‘टी ३५२ एक्स’ मोडल ९ लाख ९७ हजार रुपैयाँमा सार्वजनिक भएको छ । नयाँ मोडल सार्वजनिक मात्र होइन । कम्पनीहरूले मूल्य घटाउन र आकर्षक अफर दिन पनि प्रतिस्पर्धा गरिरहेका छन् । सीएफमोटोले ‘अफरको वर्षा’ योजना अन्तर्गत आफ्ना बाइक र स्कुटरमा ५० हजार रुपैयाँसम्म नगद छुट दिएको छ । ४५० एमटीको खरिदमा २५ हजार बराबरको एसेसरिज र प्रिमियम हेल्मेट निःशुल्क पाइनेछ । यसैगरी, बेनेली र मोर्बिडेलीले पनि भारी छुट गरेका छन् । नयाँ मोर्बिडेली टी ३५२ एक्समा ३४ हजारको छुट दिइएको छ भने बेनेलीका अन्य मोडलमा १ लाख रुपैयाँसम्मको छुट उपलब्ध छ । यसैगरी, गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युलाइनर्जीले नेपालमै पहिलो पटक विद्युतीय दुईपांग्रे सवारीका लागि बाईब्याक ग्यारेन्टी कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रमले नेपाली बजारमा ब्राण्डको दीर्घकालीन प्रतिबद्धता देखाएको कम्पनीको दाबी छ । नाइमा एक्स्पोमार्फत गोगोरो नेपालमा निश्चित रिसेल भ्यालु दिने पहिलो विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड बनेको छ । यो कार्यक्रम २०८२ साउन २१ गतेदेखि अर्थात् नाइमा एक्स्पोबाट आधिकारिक रूपमा लागू भएको छ र यसअन्तर्गत गोगोरोले अब आफ्ना स्मार्ट स्कुटर्स किन्नेहरूलाई ढुक्क बनाउने गरी ५ वर्ष वा ४०,००० किलोमिटर (जुन पहिले पुग्छ) अवधिभित्र १ लाखको बाई ब्याक भ्यालु ग्यारेन्टी दिएको छ । विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूको मुख्यचिन्ताभनेको ब्याट्री बिग्रँदै जानु हो, जसले रिसेल भ्यालु घटाउँछ। तर गोगोरोले यस समस्याको समाधान ब्याट्री स्वापिङ प्रविधिबाट गरेको छ । परम्परागत ईभीहरुमा ब्याट्री सवारीधनीकै हुन्छ भने गोगोरोमाग्राहकले ब्याट्री किन्ने होइन, बरु गोगोरोद्वारा नै सञ्चालित ब्याट्री स्वाप स्टेसनमा स्वाप (साट्ने) गर्ने )चार्ज सकिएको ब्याट्री राखेर फुलचार्ज भएको ब्याट्री लिने) हो । यसकै परिणामस्वरूप, गोगोरो बाइब्याकग्यारेन्टी दिन सक्ने स्थितिमा पुगेको कम्पनीले उल्लेख गरेको छ । गोगोरो नेपालको यातायातको भविष्य भएको नेब्युलाइनर्जीका जनरल म्यानेजर चिरञ्जीवी शाहले बताए । बाइब्याक ग्यारेन्टीसँगै, गोगोरोले नाइमा मोबिलिटी एक्स्पोमा केही आकर्षक अफरहरू पनि ल्याएको छ । नाइमामा गोगोरोले दशैं विशेष स्किम पनि दिएको छ । जसमा ब्याट्री स्वाप प्रणालीमा आउनचाहने ग्राहकलाई आकर्षक छुट र थप सुविधाहरू छन् । त्यस्तै आगन्तुकहरूले गोगोरोको छिटो, सजिलो र अत्याधुनिक ब्याट्री स्वाप प्रविधि प्रत्यक्ष रूपमा अवलोकन र अनुभव गरिरहेका छन् । सिटी कारको आकर्षण दुई पांग्रेमा जस्तै चार पांग्रेतर्फ पनि उपभोक्ताको रोजाइमा परिवर्तन देखिएको छ । विशेषगरी ३० लाख रुपैयाँसम्मका इन्ट्री–लेभल सिटी कारहरूमा मानिसहरूको भीड लागेको छ । सस्तो मूल्य, साँघुरो सडकमा चलाउन सहज र पार्किङमा सजिलो हुने भएकाले मध्यम आय भएका परिवारको कार चढ्ने सपना यिनै गाडीले पूरा गरिरहेका छन् । एक्स्पोको एउटा रोचक कथा हेनरी भोल्ट्सको नयाँ गाडीसँग जोडिएको छ । कम्पनीले अपग्रेडेड ‘मोडल सी–प्रो’ सार्वजनिक गर्ने भव्य तयारी गरे पनि चीनतर्फ बाढीका कारण गाडी समयमै काठमाडौं आइपुग्न सकेन । तर, गाडी नपुगे पनि यसको चर्चा भने बजारमा चुलिएको छ । हाल बजारमा उपलब्ध हेनरी भोल्ट्सको १९ लाख ९५ हजार पर्ने मोडलले २०० किमि रेन्ज दिन्छ र यसमा फास्ट चार्जिङ छैन । तर बाटोमै अड्किएको ‘सी–प्रो’ ले खेल नै परिवर्तन गर्ने क्षमता राख्छ । यसमा ३०० किलोमिटर रेन्ज उपलब्ध रहेको छ । ३० किलोवाटको डीसी फास्ट चार्जिङ ४० मिनेटमै ८० प्रतिशत चार्ज हुने कम्पनीले जनाएको छ । यसमा ३५ किलोवाट मोटर र ११० एनएम टर्क पावर क्षमता रहेको छ । यसको मूल्य २२ लाख ९५ हजार रुपैयाँ रहेको कम्पनीले बताएको छ । यो गाडी आज आइपुगेमा एक्स्पोमै सार्वजनिक गर्ने कम्पनीको योजना छ । यो गाडीको आगमनले नेपालको इन्ट्री–लेभल विद्युतीय कार बजारमा नयाँ प्रतिस्पर्धा सुरु गर्ने निश्चित छ । नाइमा मोबिलिटी एक्स्पो २०२५ ले नेपाली अटो बजार अब केवल सवारी साधन बेच्ने ठाउँ मात्र नरहेर प्रविधि, मूल्य र उपभोक्ताको चाहनाबीचको रोमाञ्चक प्रतिस्पर्धाको मैदान बनेको देखाएको छ ।
महिलाले सञ्चालन गरेका उद्योगलाई कर छुट दिएका छौं : मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले महिलाले सञ्चालन गर्ने उद्योगमा सरकारले कर छुटको सहुलियत दिएको बताएका छन् । सिर्जनशील उद्यमी महिला केन्द्रद्वारा आयोजित २२औँ सिर्जनशील उद्यमी मेलाको शुभारम्भ गर्दै मन्त्रालयले स्टार्टअप र रचनात्मक उद्यमशील परियोजना अन्तर्गत २५ लाख रुपैयाँसम्म सहुलियत ब्याजदरमा ऋण दिने कार्यक्रम समावेश गरेको उनले उल्लेख गरे । रोजगारी सृजना गर्ने, उद्यमशीलता वृद्धि गर्ने, राष्ट्रिय आवश्यकता पूरा गर्ने विषय सरकारको प्राथमिकतामा राखेको बताउँदै मन्त्री भण्डारीले कुल गार्हस्थ उत्पादन (जीडीपी)मा उद्योगको योगदान बढाउन नीति र कानुनमा सहुलियत दिइने जानकारी दिए । मन्त्री भण्डारीले स्वदेशी ज्ञान, सीप, श्रम र अनुभवले सृजना गरेका वस्तुले आन्तरिक बजारको केही प्रतिशत माग पूरा गर्दा पनि त्यसले आयात प्रतिस्थापनमा ठूलो योगदान गर्ने बताए । देशको साना, लघु र घरेलु उद्योगले रोजगारी सृजना गर्ने बताउँदै मन्त्री भण्डारीले त्यस्तो स्वदेशी उत्पादनलाई स्वदेशमै खपत गर्न सकेमा त्यसले पुँजी परिचालनको वातावरण बनाउन सहयोग पुग्ने र आर्थिक तथा सामाजिक रुपान्तरणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । हस्तकला तथा घरेलु उद्योगबाट हुने उत्पादनले रोजगारी सृजना गर्नका साथै ग्रामीण अर्थव्यवस्थालाई गतिशील बनाउने बताउँदै उनले महिलालाई उद्यमशीलता तर्फ आकर्षित गर्नुपर्नेमा जोड दिए । केन्द्रका अध्यक्ष मिलु थापाले ग्रामीण अर्थतन्त्रलाई समृद्ध बनाएर समग्र मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्न सकिने बताउँदै महिला वर्गलाई व्यावसायिक सीपको विकास गर्नुपर्नेमा जोड दिए । मुलुकमा आयात न्यूनीकरण गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले बालुवाटारमा आयोजित सो मेला आइतबारसम्म चल्ने छ । इभेन्ट संसारको समन्वयमा सुरु भएको मेलामा घरेलु तथा हस्तकला सामग्री, लत्ताकपडा, शृङ्गार सामग्री प्रदर्शनका साथै बिक्रीसमेत गरिएको हो ।
देशभर मनसुनको प्रभाव, तराईसहित कोशी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागमा धेरै र देशका बाँकी पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेस प्रदेश र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराईलगायत कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर साधारणतया बदली रहनेछ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।
नेपाल लाइफको लिडरसीप एक्सीलेन्स अवार्ड सम्पन्न, ४४० भन्दा बढी अभिकर्ता सम्मानित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय ‘लिडरसीप एक्सीलेन्स अवार्ड २०२५’ सम्पन्न भएको छ । 'लायन वर्षः लिड, रोअर, रिपिट' नारासहित साउन १६ देखि १८ गतेसम्म द सोल्टी काठमाडौंमा सम्पन्न कार्यक्रममा देशभरिबाट छानिएका ४४० उत्कृष्ट एजेन्सी तथा एजेन्सी मेनेजरहरूको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक विमल ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा कम्पनीका अध्यक्ष, सञ्चालक, कार्यकारी प्रमुख, सेल्स प्रमुख तथा पेशागत बीमा संघका प्रतिनिधिहरूले नेपाल लाइफले आर्थिक वर्ष २०८१/८२ मा पहिलो बीमा शुल्कमा १० अर्ब रुपैयाँको ऐतिहासिक उपलब्धि हासिल गरेकोमा अभिकर्ता र कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी वर्षका रणनीति र लक्ष्य साझा गरेका थिए । तीन दिने कार्यक्रमको दौरान उत्कृष्ट कार्य सम्पादन गर्ने १११ एजेन्सी मेनेजर र ३२९ व्यक्तिगत कोडधारी अभिकर्तालाई सम्मान गरिएको थियो । यसै क्रममा ९६ जनालाई सम्राट पदक, ८७ जनालाई रत्न पदक र २५७ जनालाई समृद्धि पदकबाट विभूषित गरिएको थियो । एजेन्सी मेनेजरतर्फबाट मदन भट्ट (प्रथम), स्नेहा भट्ट (द्वितीय) र बसन्ती शर्मा (तृतीय) तथा व्यक्तिगत कोडतर्फबाट सुमित्रा भट्ट (प्रथम), अर्बिन राजबंशी (द्वितीय) र आयुष कुँवर (तृतीय) बन्न सफल भए । उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । कार्यक्रममा मोटिभेशनल स्पीकर तथा हास्य कलाकार सन्दीप क्षेत्रीको विशेष प्रस्तुति रहेको थियो, जसले समापन समारोहमा उत्साह थपेको थियो । नेपाल लाइफले बीमा अभिकर्ता र कर्मचारीहरूको क्षमता अभिवृद्धि, प्रेरणा, संरचना सुधार र सेवाको चुस्त व्यवस्थापनमार्फत कम्पनीलाई अझ सबल बनाउने प्रतिबद्धता दोहोर्याएको छ ।
नाइमा मोबिलिटी एक्स्पोमा नयाँ गाडीको आकर्षण र विशेष अफरको होडबाजी
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पो २०२५ मा विद्युतीय सवारीसाधन (ईभी) लाई लिएर विशेष रौनक छाएको छ । एक्स्पोमा विश्व प्रसिद्ध अटोमोबाइल कम्पनीहरूका नयाँ मोडल, अत्याधुनिक प्रविधि र आकर्षक छुटका साथ ग्राहकहरूलाई आकर्षित गर्न प्रतिस्पर्धा गरिरहेका छन् । यही भीडमा बीवाईडी, हुन्डाई, महिन्द्रा, प्रोटोन र ओमोडा जस्ता ब्रान्डहरूले पनि नयाँ गाडी सार्वजनिक गर्नुका साथै विशेष अफरहरू पनि रहेका छन् । बीवाईडीः विश्वकै उत्कृष्ट ह्याचब्याक नेपालमा पहिलो पटक साईमेक्सकी शोरुम म्यानेजर सन्ध्या श्रेष्ठका अनुसार बीवाईडीले यो एक्स्पोलाई लक्षित गरी विश्वकै उत्कृष्ट ह्याचब्याक मध्येको एक मानिने ‘एटो वान’ नेपालमा पहिलो पटक सार्वजनिक गरेको छ । ‘यो गाडी नेपालमा पहिलो पटक आएको हो । ग्राहकहरूको अत्यधिक माग र अनुरोधपछि हामीले नाइमालाई नै सही समय मानेर यो गाडी लन्च गरेका हौं,’ श्रेष्ठले भनिन् । एटो वान दुई भेरियन्टमा उपलब्ध छ जसको मूल्य २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । बीवाईडीको सबैभन्दा ठूलो विशेषता यसको ‘ब्लेड ब्याट्री टेक्नोलोजी’ र ‘ई–प्लेटफर्म ३.०’ हो । यी दुवै विशेषता एटो वानमा उपलब्ध छ । एटो वानको खरिदमा डेढ लाख बराबरको बेनिफिट प्याकेज दिइएको छ । जसमा बीमा, सडक कर, एसेसरिज र पोर्टेबल चार्जर समावेश छन् । त्यस्तै, ७५ लाख पर्ने बीवाईडी सिलमा ‘अर्ली बर्ड बुकिङ’ अफर अन्तर्गत ७२ लाखमा गाडी पाउनुका साथै बीमा, कर र अन्य एसेसरिजहरू पनि उपलब्ध छन् । हुन्डाईः नेपाली सडक सुहाउँदो ‘क्रेटा ईभी’ हुन्डाईका सेल्स इन्चार्ज सुरेश श्रेष्ठले एक्स्पोमा ‘क्रेटा ईभी’ मुख्य आकर्षण बनेको जानकारी दिए । ‘हामीले क्रेटा ईभी, क्रेटा पेट्रोल, भेन्यू, ग्रान्ड आईटेन र आयोनिक फाइभ जस्ता पाँचवटा गाडी राखेका छौं । तर सबैभन्दा बढी माग क्रेटा ईभीको छ,’ उनले भने । क्रेटा ईभी ५१ लाख ९६ हजारबाट सुरु भई ७७ लाख रुपैयाँसम्मको पाँच भेरियन्टमा उपलब्ध छ । यसको सुरुवाती तीन भेरियन्टले एक पटकको चार्जमा ३५० किलोमिटर रेन्ज दिन्छ भने टप दुई भेरियन्टले ४७० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ । श्रेष्ठका अनुसार गाडीमा २०० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।’ ब्याट्रीको आयु लगभग १४–१५ वर्षसम्म रहने दावी उनले गरे । एक्स्पोमा गाडी बुक गर्ने ग्राहकका लागि आकर्षक नगद छुट, एक वर्षको कम्प्रिहेन्सिभ बीमा, सडक कर र लक्की ड्र मार्फत भियतनाम टुरको अवसर जस्ता विभिन्न सुविधा छन् । महिन्द्राः अत्याधुनिक प्रविधिसहितको नयाँ ईभी अग्नि महिन्द्रा ग्रुपका ईभी सेल्स म्यानेजर सागर भट्टराईले एक्स्पोमा तीनवटा नयाँ गाडी लन्च गरेको जानकारी दिए । बीई ६, एक्सईभी नाइन ई र पेट्रोल गाडी एक्सयूभी थ्री एक्स ओ । बीई ६ को मूल्य ५७ देखि ६८ लाखसम्म छ भने एक्सयूभी नाइन ईको मूल्य ६९ देखि ९५ लाखसम्म रहेको छ । यी गाडीहरूमा ‘इन्टेलिजेन्ट एड्याप्टिभ सस्पेन्सन’ जडान गरिएको छ जुन नेपालको खाल्डाखुल्डी बाटोका लागि निकै उपयोगी छ । साथै क्वालकमको स्न्यापड्र्यागन प्रोसेसर, १ हजार ४०० वाटको हार्मन कार्डन स्पिकर, ३६० डिग्री क्यामेरा र गाडी आफै पार्क हुने ‘अटो पार्क’ जस्ता अत्याधुनिक फिचरहरू छन् । टप मोडलले एक पटकको चार्जमा ४५० किलोमिटरको रेन्ज दिने भट्टराईले दावी गरे। नाईमा एक्स्पोमा गाडी बुक गर्नेहरूका लागि भेरियन्टअनुसार २ लाखसम्मको नगद छुटको व्यवस्था गरिएको छ । प्रोटोनः शून्य प्रतिशत ब्याजदरको अनौठो अफर जगदम्बा मोटर्सका सेल्सका सुजन श्रेष्ठले मलेसियन ब्रान्ड प्रोटोनले ‘ई–मास सेभेन’ का दुई भेरियन्ट रहेको जानकारी दिए– प्राइम र प्रिमियम । प्राइमको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ छ भने प्रिमियमको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ रहेको छ । प्राइमले ३४५ किलोमिटर प्रिमियमले ४१० किलोमिटर रेन्ज दिन्छ । गाडी घरको सामान्य चार्जरबाट ६-७ घण्टामा फुल चार्ज हुन्छ भने डीसी फास्ट चार्जरबाट मात्र २० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । प्रोटोनले एक्स्पोका लागि सबैभन्दा फरक अफर ल्याएको छ । गाडीको कुल मूल्यको ६० प्रतिशत रकममा चार वर्षका लागि शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराइएको छ । साथै ब्याट्रीमा आठ वर्षको अनलिमिटेड किलोमिटर वारेन्टी दिइएको छ । जुन पहिले १ लाख ६० हजार किलोमिटरमा सीमित थियो । ओमोडाको जेको जे- ५ नाइमा एक्स्पोमा ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले एक्स्पोमा नयाँ विद्युतीय सवारीसाधन एसयुभी ‘जेको जे–५’ राखेको छ । यो प्रिमियम एसयुभी भेरियन्ट हो । कम्पनीका अनुसार जे–५ लाई एडभेन्चरस यात्राका लागि उपयुक्त हुने गरी रगेड डिजाइनमा तयार पारिएको छ । यसमा लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास), प्यानोरोमिक सनरुफ, ५४०–डिग्री सराउन्ड भ्यु क्यामरा र इन्डिपेन्डेन्ट सस्पेन्सन जस्ता सुविधा उपलब्ध छन् । यो एसयुभीमा १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । कम्पनीले एक पटकको फुल चार्जमा यसले ४०२ किलोमिटरको डब्लुएलटीपी प्रमाणित रेन्ज दिने दाबी गरेको छ। सुरक्षाका लागि जेको जे-५ मा लेभल २ एडास अन्तर्गतका विभिन्न फिचरहरू छन् । यसमा फरवार्ड कोलिजन वार्निङ (एफसिडब्लु), ब्लाइन्ड स्पट मनिटरिङ (बिएसएम), इन्टिग्रेटेड क्रुज कन्ट्रोल र स्वचालित आपतकालीन ब्रेकिङ सहित १९ भन्दा बढी सुरक्षा प्रविधि रहेको जनाइएको छ । एक्स्पोको अवसरमा यो गाडी ग्राहकले ५६ लाख ९९ हजार रुपैयाँमै पाउनेछन् । यो गाडी ६० लाख ९९ हजार रुपैयाँको मूल्यमा सार्वजनिक भएको थियो । नाडा मोबिलिटी एक्स्पो नयाँ गाडीहरूको प्रदर्शनी मात्र नभएर ग्राहकका लागि उत्कृष्ट डिल र अफर प्राप्त गर्ने अवसर पनि बनेको छ । कम्पनीहरूबीचको यो प्रतिस्पर्धाले नेपाली अटोमोबाइल बजारलाई थप प्रतिस्पर्धी र ग्राहकमुखी बनाएको छ ।
एक वर्षमै विद्युत प्राधिकरणले गर्यो साढे १७ अर्बको बिजुली निर्यात
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको नेतृत्वमा सरकारले वैदेशिक बजारमा विद्युत् निर्यात बढाउने रणनीतिमा सफलता हासिल गरेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले भारत र बंगलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सफल भएको हो । यो उपलब्धि ऊर्जामन्त्री दिपक खड्काको नेतृत्वमा नेपालको जलविद्युत् क्षमता, उत्पादन क्षमता व्यवस्थापन र छिमेकी मुलुकहरूसँगको विश्वासप्रद सहकार्यको प्रतिफल हो । नेपाल विद्युत् प्राधिकरणले आव २०८१/०८२को अवधिमा भारतमा करिब १७ अर्ब १९ करोड रुपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको हो । निर्यातको कुल रकम १७ अर्ब ४६ करोड रुपैयाँ नाघेको देखिन्छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो । विद्युत् व्यापारमा नेपाललाई प्राप्त भएको यो उपलब्धिले ऊर्जा कूटनीति र आर्थिक समृद्धितर्फको यात्रामा महत्वपूर्ण कोशेढुङ्गा सावित भएको मन्त्री खड्काले बताए । यो आर्थिक प्रगति निर्यातको परिमाणले मात्र नभई व्यापार सन्तुलनका हिसाबले पनि महत्वपूर्ण छ । गत वर्ष भारतबाट करिब १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको भएपनि आयातको परिमाण क्रमशः घट्दै गएको छ । यसले नेपाललाई ‘खुद आयातकर्ता’ बाट ‘खुद निर्यातकर्ता’ बन्ने यात्रामा थप मद्दत पुगेको मन्त्री खड्काले बताए । विद्युत निर्यातको यो सञ्जाल केवल भारतमा सीमित छैन । बंगलादेशसँग भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ, जुन आगामी दिनमा अझै विस्तार हुने सम्भावना छ । बंगलादेशलाई प्रतियुनिट ६.४० अमेरिकी सेन्टमा बिजुली बिक्री हुँदै आएको छ, जसले विदेशी मुद्रा आम्दानीमा समेत सकारात्मक प्रभाव पारेको छ । ऊर्जा मन्त्री खड्काको पहलमा नेपालले बंगलादेशमा पहिलो पटक व्यवसायिक रुपमा डलरमा विद्युत् निर्यात थालेको हो । भारत, बंगलादेश र नेपालबीचको त्रिपक्षीय सहकार्य, राजनीतिक समझदारी र प्राविधिक तयारी मन्त्री खड्काको संयोजकत्वमा तीव्र गतिमा अगाडि बढाइएको थियो । भारतको एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेडमार्फत बंगलादेशसम्म बिजुली पुर्याउने रणनीति पनि यो नेतृत्वकै दूरदर्शी पहलको सन्दर्भमा मूल्यांकन गर्न सकिन्छ । वर्षायाममा पानीको बहाव बढ्ने र उत्पादन बढ्ने समयलाई लक्षित गर्दै प्रतिस्पर्धी मूल्यमा भारतीय ऊर्जा बजारमा (डे अहेड र रियल टाइम मार्केट) निर्यात गर्न थालिएको प्रणालीले ठूलो लाभ दिइरहेको छ । साथसाथै, भारतमा एनभीभीएनमार्फत मध्यकालीन सम्झौताका आधारमा समेत नियमित आपूर्ति भैरहेको छ । नेपालले अहिले भारतको विभिन्न राज्यहरूमा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात गरिरहेको छ । ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन तथा भारत–बंगलादेश सीमामा रहेको बेहरामपुर–भेडामारा लाइनमार्फत नेपाली विद्युत् बंगलादेशसम्म पुग्न थालेको छ । नेपालको ऊर्जा नीतिको वर्तमान सफलताको केन्द्रबिन्दुमा मन्त्री खड्काको कुशल नेतृत्व, दीर्घकालीन सोच र क्षेत्रीय ऊर्जामैत्री सम्बन्ध विस्तार गर्ने चाहना रहेको स्पष्ट देखिन्छ । उनको सक्रियताले नेपाललाई केवल ऊर्जाको आत्मनिर्भर देश बनाउने मात्र होइन, ऊर्जा कूटनीतिको क्षेत्रमा पनि अग्रणी बनाउने दिशामा सार्थक पाइला चालेको छ ।
करोडौँको काठ वनमै कुहिँदै, कार्यविधि अभावले वन व्यवस्थापन ठप्प
कञ्चनपुर । वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरिएको पाँच वर्ष बितिसक्दा पनि नयाँ दिगो कार्यविधि नआउँदा कैलाली र कञ्चनपुरका दर्जनौं सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूह समस्यामा परेका छन् । काठ सङ्कलन गर्न नपाउँदा वनमा रहेको लाखौं मूल्यको काठ कुहिएर जान थालेको छ । सामुदायिक वनमा उत्पादन भएका काठ र दाउरा प्राविधिक कार्ययोजनाअनुसार सङ्कलन गर्न नपाउँदा वन समूह आर्थिक सङ्कटमा परेका छन् । सरकारले विसं २०७७ माघ ११ गते वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरेको थियो । सो निर्णयपछि कैलाली र कञ्चनपुरका सामुदायिक वनको पूर्वस्वीकृत कार्ययोजना कार्यान्वयनमा रोक लगाइएको सामुदायिक वन समन्वय समितिका सचिव विरबहादुर राजवंशीले बताए । 'यसले गर्दा न काठ सङ्कलन सम्भव भएको छ, न त वनको संरक्षण र संवद्र्धन नै भएको छ', उनले भने, 'कार्यविधिको अभावमा दिगो वन व्यवस्थापनको बाटोसमेत बन्द भएको छ ।' सङ्कलन र बिक्रीमा कानुनी अड्चन हुँदा करोडोँ काठ वनमा कुहिएर जादै गरेको उनले बताए । उनका अनुसार वन ऐन २०७७ को दफा ३० र वन नियमावली २०७८ को नियम २ अनुसार सिल्भिकल्चर प्रणाली (वन सम्वद्र्धन प्रणाली) अपनाएर वन व्यवस्थापन गर्न सकिने व्यवस्था स्पष्ट भए पनि नयाँ कार्यविधि ल्याउन ढिलाइ हुँदा उपभोक्ता समूह आर्थिक, सामाजिक र संस्थागत रूपमा प्रभावित भएका छन् । विगत पाँच वर्षदेखि कार्यविधि नल्याउँदा वन व्यवस्थापन, जीविकोपार्जन, सामाजिक सेवा र संस्था सञ्चालनमा समस्या आइरहेको बैजनाथ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बहादुरसिंह महराले बताए । सरकारले दिगो वन व्यवस्थापनलाई बेवास्ता गरेको भन्दै वैज्ञानिक वन उपभोक्ता राष्ट्रिय महासंघ नेपालका सुदूरपश्चिम संयोजक पुष्कलबहादुर बमको नेतृत्वको टोलीले सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालालाई २३ बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा कर प्रणाली सुधार, बैंक ऋणमा पहुँच, काष्ठ तथा गैरकाष्ठ उद्योग सञ्चालनमा अनुदानको व्यवस्था र तालतलैया व्यवस्थापनमा सामुदायिक वनको अधिकार सुनिश्चित गर्नेजस्ता माग उल्लेख छन् । प्रदेश सरकारले हालसम्म दिगो वन व्यवस्थापन कार्यविधि नल्याउँदा वन क्षेत्रको उचित व्यवस्थापन हुन सकेको छैन । सुदूरपश्चिम प्रदेशमा कुल भूभागको झण्डै ६० प्रतिशत वन क्षेत्र रहेको भए पनि त्यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उपभोक्ताहरूको भनाइ छ । सामुदायिक तथा साझेदारी वन व्यवस्थापनबाट प्राप्त आम्दानीको १० प्रतिशत प्रदेश सञ्चित कोष र १० प्रतिशत स्थानीय तहको सञ्चित कोषमा जानुपर्ने व्यवस्था वर्तमान आर्थिक ऐनमा गरिएको छ । यस्तै बाह्य बिक्री वितरणबाट प्राप्त आम्दानीको २५ प्रतिशत पनि प्रदेश सञ्चित कोषमा जानुपर्ने नियमले उपभोक्तालाई थप मार परेको छ । दोहोरो, तेहरो र चौहरो कर प्रणालीका कारण काठ तथा दाउरा व्यवस्थापन थप जटिल बनेको भन्दै ‘एकद्वार कर प्रणाली’ लागू गर्न सामुदायिक वनका उपभोक्ताले माग गरेका छन् । संघीय वन नियमावली २०७९ को दफा २२ को उपदफा ४ मा उल्लेख भएअनुसार उपभोक्ता समूहको घाटगद्दिमा रहेको काठ आन्तरिक खपतपछि बाँकी काठमध्ये २५ प्रतिशत आपूर्ति समितिमा पठाउने प्रावधान भए पनि कार्यान्वयनमा आउन सकेको छैन । रासस
अभिकर्ताको क्षमता विकासमा सूर्यज्योति लाइफको फोकस, स्टार एजेन्सी मिट सम्पन्न
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘स्टार एजेन्सी मिट २०८२ भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीका उत्कृष्ट अभिकर्ताहरूको सहभागितामा नगरकोटमा रहेको होटल मिस्टिक माउण्टेनमा साउन १८ र १९ गते सहित दुई दिने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीका अध्यक्ष, केशव प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृत, प्रकाश बिक्रम खत्री लगाएत कम्पनीका उच्च व्यवस्थापनका कर्मचारीहरू र उत्कृष्ट कार्यसम्पादन गर्ने स्टार एजेन्सी म्यानेजर र चिफ एजेन्सी म्यानेजरहरूको उपस्थिति रहेको थियो । सूर्यज्योति लाइफले आफ्ना अभिकर्ताहरूको सीप तथा क्षमता अभिवृद्धि गर्नका लागि समय समयमा सीप तथा उत्प्रेरणा मूलक तालिमहरूको आयोजना गर्दै आएको छ । आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट कारोबार गर्न सफल भएका देशभरीका सर्वोत्कृष्ट एजेन्सीहरुलाई उक्त अवसरमा कम्पनीका चिफ बिजनेश अफिसर, फर्सुराम मरासिनीले 'व्यवसायिक समिक्षा र भावी रणनीति', चिफ बिजनेश अपरेशन, राजिव गुर्बाचार्यले जीवन बीमा व्यवसायको बृहत तालिम र तालिम तथा बिकाश विभाग प्रमुख, उत्तम आचार्यले एजेन्सी संरचना सम्बन्धि बृहत तालिम प्रदान गरेका थिए। यस किसिमिका सीपमूलक तालिम पश्चात अभिकर्ताहरुले आवश्यक योजना र रणनीति सम्बन्धि मार्गदर्शन पूर्ण रुपमा प्राप्त गरेको बताए । उक्त अवसरमा कम्पनीका अध्यक्ष भट्टराईले अभिकर्ताहरूको क्षमता अभिवृद्धिका लागि कम्पनी सदैव प्रयत्नशील रहेको साथै अभिकर्ताहरूको मेहनत,लगन र सकारात्मक व्यवसायिक गतिविधिले गर्दा नै सूर्यज्योति निरन्तर लक्ष्य हासिल गर्दै अघि बढिरहेको जसको सम्पूर्ण श्रेय अभिकर्ताहरुलाई नै जाने कुरा अध्यक्ष भट्टराईले व्यक्त गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले जीवन बीमा क्षेत्रमा अग्रणी कम्पनीका रूपमा स्थापित गर्नका लागि ३ मूलमन्त्र अवलम्बन गर्नुपर्ने जसमा अभिकर्ताहरूले आफ्नो टिम विस्तार गर्नु, कर्मचारीहरूले उत्कृष्ट सेवा उपलब्ध गराउनु र कम्पनीले बीमितहरूका लागि दरिलो विश्वास दिलाएर अघि बढेको खण्डमा सफलता अवश्य हासिल हुने कुरा प्रस्ट पारे । बीमित तथा अभिकर्ताहरुको सरल र सहजताका लागि नयाँनयाँ प्रविधिमैत्री सेवा विस्तार गर्दै लगेको र यसै अन्तर्गतको सूर्यज्योति ‘मोबाइल एप अभिकर्ता र बीमितहरूका लागि एकदमै उपयोगी भएको प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए ।
डीएभी कर्पोरेट फुटसल सम्पन्न : खेलमार्फत उद्योग र शिक्षाबीचको सहकार्यलाई मजबुत बनाउँदै
ललितपुर । डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्सेज सोसाइटी नेपालको संयुक्त आयोजनामा सम्पन्न दोस्रो डीएभी कर्पोरेट फुटसल प्रतियोगिता २०२५ ले उद्योग र शैक्षिक क्षेत्रबीचको सहकार्यलाई खेलकुदमार्फत सशक्त बनाएको छ । जुलाई ३० देखि अगस्ट २ सम्म सञ्चालित प्रतियोगितामा बैंकिङ, बीमा, आईटी, अटोमोबाइल, उत्पादन र ट्रेडिङ क्षेत्रका ३२ कर्पोरेट टोली सहभागी भएका थिए । प्रतियोगिताले मित्रता, समूहगत भावना, व्यावसायिक सञ्जाल विस्तार तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो । भव्य उद्घाटन समारोहमा नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान भरत खवास, ह्युमन रिसोर्सेज सोसाइटी नेपालका अध्यक्ष टेकराज शर्मा र डीएभी बिजनेस स्कुलका अध्यक्ष अनिल केडियाले खेलकुदको भूमिका, सहकार्य र व्यावसायिक एकताका सन्दर्भमा मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगिताको फाइनल खेल डिश होम र कोड हिमालयबीच रोमाञ्चक रूपमा सम्पन्न भयो। डिश होम विजेता बन्दै १ लाख रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गर्न सफल भयो भने कोड हिमालय उपविजेता बन्दै ५५ हजार रुपैयाँ नगद, ट्रफी र मेडल जित्न सफल भयो । सहभागी सबै टोली, प्रायोजक, रेफ्री र स्वयंसेवकहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो। डीएभी बिजनेस स्कुलले सहभागी सबैप्रति आभार व्यक्त गर्दै आगामी संस्करणलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।
३ करोडको धितो १ करोडमा झरेपछि...
काठमाडौं । आजभन्दा चार/पाँच वर्षअघि गणपति लिक्विड (कोल्ड स्टोर/मदीरा) का सञ्चालक नरेश थापा ऋणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (साविक नेपाल इन्भेष्टमेन्ट बैंक)को लगनखेल शाखामा पुगे । व्यावसायिक कर्जा शीर्षकमा बैंकले गणपति लिक्विडलाई कर्जा दिने निर्णय गर्यो । बैंकबाट कर्जा लिँदा थापाले सर्लाहीको लालबन्दी नगरपालिकामा रहेको जग्गा धितोका लागि प्रस्ताव गरे । बैंकले धितो मूल्याङ्कन (भ्यालुएसन)का लागि मधेश प्रदेशको बर्दीबास इन्जिनियरिङ एण्ड जनरल कन्सल्टेन्सीलाई जिम्मेवारी दियो । बर्दीबास इन्जिनियरिङले त्यहाँका स्थानीय, राजनीतिकर्मी, वडा अध्यक्ष लगायत जनप्रतिनिधिसँग चलनचल्तिको जग्गाको मूल्यबारे सोधपुछ गरे । उक्त क्षेत्रमा भएको विकास अध्ययन गरे । उक्त क्षेत्रको जग्गा के कति मूल्यमा कारोबार भइरहेको छ भनेर सम्बन्धित निकायबाट एक वर्षसम्मको विवरण संकलन गरे । आवश्यक सबै संकलित विवरणको अध्ययन तथा विश्लेषणपछि सो धितोको मूल्य ३ करोड ६ लाख रुपैयाँसहित प्रतिवेदन बैंकमा पेस भयाे । जग्गा मूल्याङ्कन प्राविधिक विषय, सम्बन्धित क्षेत्रमा काम गरिरहेका विज्ञले नै मूल्याङ्कन गरेर जग्गामा कैफियत नदेखाएपछि इन्जिनियरले गरेको मूल्याङ्कनलाई विश्वास गरेर बैंकले ऋणीलाई कर्जा उपलब्ध गरायो । यदि ऋणीले कर्जा तिर्न नसकेको खण्डमा धितो लिलाम गरेर भएपनि असुली हुन्छ भन्ने विश्वास बैंकको थियाे। तर, विडम्बना सञ्चालक थापा बिरामी भए । एक वर्षसम्म उनी अस्पतालको बेडमा थला परे । जुन योजनासहित बैंकबाट ऋण लिएका थिए, उनले सो अनुसार व्यवसाय चलाउन पाएनन् । उनले अन्ततः संसार छाडेपछि बैंकको ऋण बिग्रियो । बैंकले ऋण असुली प्रक्रिया अघि बढायो । असुलीका लागि बैंकले विभिन्न प्रयास गर्दा पनि सम्भव नभएपछि अन्ततः धितो लिलाम गर्ने योजना बनायो । ऋण दिँदा धितो राखिएको जग्गालाई बैंकले पुन: मूल्याङ्कन गरायो । उतिबेला ३ करोड ६ लाख रुपैयाँ मूल्याङ्कन गरिएको धितोको मूल्य १ करोड रुपैयाँ रहेको प्रतिवेदन पुन: मूल्याङ्कनकर्ताले पेस गरेपछि बैंकका कर्मचारीहरू झसङ्ग भए । त्यसपछि आउन थाल्यो सञ्चालक समितिको दबाब, सोध्न थाले जनताको पैसामाथि खेलबाड गर्ने भन्दै । त्यसपछि बैंकले काट्यो पत्र, सोध्यो स्पष्टिकरण- ‘३ करोड मूल्याङ्कन गरिएको धितो कसरी १ करोडमा झर्यो ?’ यसको चित्तबुझ्दो जवाफ चाहियो, होइन भने कालोसूचीमा समावेश गर्ने चेतावनी दियो । कालोसूचीमा समावेश गर्ने चेतावनीपछि बर्दीबास इन्जिनियरिङले तत्काल जवाफ पठायो, ‘आर्थिक सिथिलता छ । देशभर नै घरजग्गाको मूल्य स्वतः ३०/४० प्रतिशत घटेको छ । किनबेच नै भइरहेको छैन ।’ कम्पनीले पठाएको स्पष्टीकरण बैंकलाई चित्त नबुझेपछि कालोसूचीका लागि कर्जा सूचना केन्द्र (सीआईसी)मा सिफारिस गर्याे । सीआईसीले आवश्यक सबै प्रक्रिया पुर्याएर बर्दीबास इन्जिनियरिङलाई गत २०८१ फागुनमा कालोसूचीमा राख्यो । कुनै बैंक तथा वित्तीय संस्थाले धितो लिलामी गर्दा धितो मूल्याङ्कनकर्ताले मूल्याङ्कन गरेको रकम र पुन: मूल्याङ्कन गर्दा दुई तिहाइ भन्दा कम भएमा वा गलत स्थान/प्रकृतिको धितोलाई सही हो भनी मूल्याङ्कन गरेमा त्यस्ता धितो मूल्याङ्कनकर्तालाई बैंक तथा वित्तीय संस्थाको सिफारिसमा कर्जा सूचना केन्द्रले कालोसूचीमा समावेश गर्नुपर्ने नेपाल राष्ट्र बैंकले स्पष्ट व्यवस्था गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बर्दीबास इन्जिनियरिङसहित स्याङ्जाको लफ्टी इन्जिनियरिङ र काठमाडौंको पशुपति इन्जिनियरिङलाई कालोसूचीमा राखेको छ । साथै, धितो मूल्याङ्कनमा विभिन्न कैफियत भेटिएपछि बैंकले १७ वटा मूल्याङ्कनकर्तालाई स्पष्टीकरण सोध्दै तत्कालका लागि उनीहरूसँगको कार्य स्थगन गरेको छ । ‘राष्ट्र बैंकले ३३ प्रतिशतभन्दा बढी मूल्य घट्यो भने कालोसूचीमा राख्न सिफारिस गर्न भनेको छ । सुरुमा गरेको मूल्याङ्कन र पुन: मूल्याङ्कनबाट धेरै फरक आयो भने सम्बन्धित मूल्याङ्कनकर्तालाई स्पष्टीकरण सोधिन्छ, मूल्याङ्कनकर्ताले दिएको जवाफ चित्त बुझ्दो नभएपछि कालोसूचीमा राख्न सिफारिस गरिने हो,’ बैंकका नायव महाप्रबन्धक (डीजीएम) राजेश शर्माले भने, ‘कहीँ पनि ३ करोड रुपैयाँको जग्गाको मूल्य कौडीको भाउमा झरेको छैन ।’ पशुपति इन्जिनियरिङलाई बैंकले कालोसूचीमा राख्न सिफारित गरेपछि आफूलाई कालोसूची रोकी पाऊँ भन्दै पशुपति इन्जिनियरिङका सञ्चालक अदालत पुगे। अदालतले बैंकको पक्षमा फैसला सुनायो । यदि बैंकले स्वार्थ राखेर निर्णय गरेको भए बैंकको विपक्षमा फैसला गर्नुपर्ने थियो । तर, बैंकले प्रक्रिया र कानुनी व्यवस्थाअनुसार कालोसूचीमा राखेको हुँदा बैंकको पक्षमा फैसला आएको शर्माले बताए । मूल्याङ्कनकर्ताले दिएको मूल्यलाई विश्वास गरेर बैंकहरूले ऋणीलाई कर्जा लगानी गर्छन् । तर, विज्ञले नै गरेको मूल्याङ्कनमा नै कैफियत देखिएपछि बैंकले कालोसूचीमा राख्नुको विकल्प नरहेको डीजीएम शर्मा बताउँछन् । उनका अनुसार बैंक र भ्यालूएटरबीच सम्झौता भएपछि तोकेको जग्गा मूल्याङ्कनका लागि इन्जिनियरलाई जिम्मेवारी दिइन्छ । बैंकसँग धितो मूल्याङ्कन गर्ने विज्ञता नभएपछि स्वतन्त्र मूल्याङ्कनकर्तालाई विज्ञका रुपमा हायर गरिएको हुन्छ । तर, उनीहरूले कैफियत देखिने गरी काम गरेपछि बैंकले कानुनी प्रक्रिया अपनाएर बाध्य भएर कालोसूचीमा राख्नुपरेको उनको भनाइ छ । ‘भ्यालु मात्रै कम आउँदा मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्न पाउँदैन । बैंकले कर्जा असुली गर्नुपर्ने हुन्छ । यदि ऋणीबाट असुली हुन नसकेपछि सम्बन्धित ऋणीलाई स्पष्टीकरण सोधिन्छ र चित्त बुझ्दो जवाफ नदिएपछि कालोसूचीमा राखिन्छ,’ उनले भने, ‘बर्दिबास इन्जिनियरिङले मूल्याङ्कन गर्दा जग्गाको मूल्य ३ करोड रुपैयाँ थियो । तर, पुन: मूल्याङ्कनमा सोही जग्गाको मूल्य १ करोड रुपैयाँ मात्रै भयो । एकैपटक २ करोड रुपैयाँ नै घट्दा ऋण डुब्ने खतरा हुने भयो ।’ डीजीएम शर्माका अनुसार एउटै धितोमा २ करोड रुपैयाँ घटेपछि बैंक सञ्चालक समितिबाट दबाब आउन थाल्यो । लिलाम गरेर ब्याजसहित ५ करोड रुपैयाँ उठाउनुपर्नेमा १ करोड रुपैयाँ पनि उठ्न नसक्ने अवस्था भयो । बैंकिङ क्षेत्रमा एनआईएमबिले सबैभन्दा धेरै मूल्याङ्कनकर्ता आवद्ध गराएको छ । जसमा बैंकले ३ सय मूल्याङ्कनकर्ता इनलिस्टेड गराएर ५० हजार असाइनमेन्ट दिएको छ । तर, ५० हजारमा ३ वटाको मूल्याङ्कनमा नेग्लिजेन्स र दूरदृष्टि नपुगेपछि कालोसूचीमा राख्नुपरेको उनले बताए । ‘आजको दिनमा देशभरका मूल्याङ्कनकर्ता कालोसूचीमा पर्नुपर्ने हो । तर, सबै परेका छैनन् । बैंकले त्यत्तिकै कालोसूचीमा राख्दैन । नेग्लिजेन्स, केयरलेस देख्यो भने मात्रै कालोसूचीमा राख्ने हो । यथेष्ट आधार भएपछि मात्रै कालोसूचीमा पर्ने हो,’ उनले भने । उनका अनुसार काठमाडौंको बज्रबाराहीमा १३ करोडको मूल्याङ्कन गरिएको धितोको पुन: मूल्याङ्कन गर्दा साढे २ करोडमा झरेको छ । जग्गा भएको ठाउँसम्म जाने बाटो छैन । डाँडालाई हचुवाको भरमा मूल्याङ्कन गरेको देखिन्छ । त्यहाँ ठूलो कैफियत देखिएपछि सम्बन्धित मूल्याङ्कनकर्तालाई स्पष्टीकरण सोधिएको उनले बताए । ‘आफ्ना कमजोरी लुकाउन मूल्याङ्कनकर्ता आन्दोलन गरिरहेका छन् । नेपाल भ्यालुयर्स एशोसिएसनले गलत गरेका मूल्याङ्कनकर्तालाई खराब भन्न सक्नुपर्छ । यदि एनभीएले ३ करोडको मूल्याङ्कनलाई पुन: मूल्याङ्कन गरेर ३ करोड नै हो भनेर प्रमाणित गर्छ भने बैंकले तत्काल कालोसूचीबाट हटाउँछ,’ उनले भने । बर्दीबास इन्जिनियरिङका इन्जिनियर (मूल्याङ्कनकर्ता) सन्नी चौधरी धितो मूल्याङ्कन दुई तिहाइ नआएका कारण आफूलाई कालोसूचीमा राखेको बताउँछन् । तर, देशभर घरजग्गा कारोबारमा मन्दी आएका कारण ३०/४० प्रतिशत मूल्य स्वतः घटेको उनको भनाइ छ । ‘ऋणीले कर्जा तिर्न नसकेपछि हामीलाई फोन गरेर क्लाइन्ट बितिसकेको छ । उहाँको जग्गा बिकाइदिनुपर्यो वा यो जग्गा तपाईहरुले राख्नुपर्छ भनेर बारम्बार दबाब आयो । जबकी बैंकको रिकोभरी टिमले जग्गा भिजिट गर्दा मूल्याङ्कनमा कमजोरी छनै, जग्गा बेच्ने वातावरण मात्रै बनाइदिनुस् भन्नु भयो,’ उनले भने, ‘हाम्रो काम मूल्याङ्कन मात्रै हो । जग्गा खरिद बिक्रीको होइन । अहिले जग्गा किनबेच नै नभएको अवस्थामा हामीले सक्दैनौं भन्यौं ।’ त्यसपछि बैंकले स्पष्टिकरण सोधेको उनले बताए । तर, आर्थिक मन्दीका कारण जग्गाको भाउ घटेको भनेर स्पस्टिकरण दिँदा समेत चित्त नबुझाएपछि कालोसूचीमा राखेको चाैधरीले बताए । ‘बैंकले धितो पुन: मूल्याङ्कन गर्दा डिफल्ट क्लाइन्ट हो भनेर पहिला नै जानकारी दिएको हुन्छ । डिफल्ट क्लाइन्ट भएपछि फस्ने हो की भन्ने त्रासले पुन: मूल्याङ्कनकर्ता पनि तर्सिन्छन्,’ उनले भने, ‘र, बैंकले चलखेल गरेर मूल्याङ्कन घटाउन दबाब दिएका हुन्छन् । सबै इन्जिनियर कुनै न कुनै केसमा परिरहेका छन् । किनकी देशभर नै मूल्याङ्कन घटेको छ । बैंकले पनि लिलामीमा निकालेपछि सस्तोमा किन्न खोज्छन् ।’ नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक किरण पण्डित यदि मूल्याङ्कन गरिएको धितो केही समयपछि पुन: मूल्याङ्कन गर्दा ३३ प्रतिशत घट्यो भने बैंकले कालोसूचीमा राख्न सक्ने बताउँछन् । फर्जी मूल्याङ्कन तथा गलत मूल्याङ्कनलाई निरुत्साहित गर्न राष्ट्र बैंकले कालोसूचीको व्यवस्था गरेको उनको भनाइ छ । ‘धितो बेच्नुपर्ने वा लिलाम गर्नुपर्ने भयो भने दुई तिहाई पनि आएन अथवा १ सयको ६७ पनि आएन भने मूल्याङ्कन फर्जी रहेछ, गलत मूल्याङ्कन भएको रहेछ भन्ने हिसाबले त्यस्तो मूल्याङ्कनकर्तालाई निरुत्साहित गर्न राष्ट्र बैंकले कालोसूचीको व्यवस्था गरेको छ,’ उनले भने, ‘३३ प्रतिशतसम्म मूल्य घट्दा केही फरक परेन । तर, त्यो भन्दा बढी घट्यो भने बैंकले एक्सन लिन सक्छ ।’ उनका अनुसार धितो मूल्याङ्कन गर्दा अन्तर्राष्ट्रिय असल अभ्यास अवलम्बन गर्ने, पारदर्शिता हुनुपर्छ । बैंकले पनि यी विषयमा यकिन गरेको हुनुपर्छ । तर, मूल्याङ्कन विषय प्राविधिक भएकाले मूल्याङ्कनकर्तालाई स्वतन्त्र मानिएको बैंकले पनि यसमा धेरै हस्तक्षेप गर्न नसक्ने उनले बताए । ‘प्राविधिक विषयमा सबै हेर्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार मूल्याङ्कन गर्ने हो । स्वतन्त्र लेखापरीक्षक जस्तै मूल्याङ्कनकर्तालाई पनि स्वतन्त्र मानिन्छ,’ उनले भने, ‘यदि काबुभन्दा बाहिरको परिस्थितिबाट मूल्याङ्कन कम आयो भन्ने लागेमा बैंक सञ्चालक समितिले कालोसूचीमा नराखौँ पनि भन्न सक्छ ।’
नेक्सजेन म्यानेजमेन्ट पब्लिक कम्पनीमा रुपान्तरण, निष्कृय कर्जा व्यवस्थापनमा केन्द्रीत हुने
काठमाडौं । सम्पत्ति व्यवस्थापन कम्पनीको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स् पुँजी वृद्धि गर्दै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयको गत आषाढ २७ को निर्णयबाट कम्पनीको अधिकृत पुँजी १ अर्ब र जारी पुँजी ५० करोड पुगेको छ । त्यसै गरी सोही मितिबाट कम्पनी पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको छ । २०८२ बैशाख २२ मा सम्पन्न कम्पनीको विशेष साधारण सभाले पुँजी वृद्धिसहित लिमिटेड कम्पनीमा परिवर्तन हुने निर्णय गरेको थियो । नेक्सजेन म्यानेजमेन्ट बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा र गैह्र बैंकिङ्ग सम्पत्ति व्यवस्थापन गर्ने गरी पूर्व बैंकरहरूबाट संचालित कम्पनी हो । पूर्व बैंकर तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह कम्पनीको अध्यक्षत छन् । कम्पनीको व्यवस्थापन पूर्व बैंकर तथा पूर्व बीमक रमेशकुमार भट्टराईले नेतृत्व गरिरहेका छन् । सम्पत्ति व्यवस्थापन कम्पनी ऐन नआउन्जेल यसले निष्कृय कर्जाको समस्यामा परेका ऋणीहरू तथा पुँजी विस्तार गरी उद्योग व्यवसाय राम्ररी चलाउन चाहने व्यवसायीलाई कर्पोरेट एडभाइजरीको सेवा प्रदान गरिरहेको र कम्पनी विगत तीन वर्षदेखि लगातार खुद नाफामा सञ्चालन भईरहेको प्रबन्ध सञ्चालक रमेशकुमार भट्टराईले बताए । बैंक वित्तीय संस्थामा निष्कृय कर्जाको समस्या चुनौतीको रुपमा रहेको विद्यमान अवस्थामा यसको समाधानको लागि नेपाल राष्ट्र बैंक र सरकार दुवै सम्पत्ति व्यवस्थापन कम्पनी ऐन ल्याउन लागि परेका छन् । ऐनको मस्यौदा तयार भइसकेको भएता पनि पुँजी कति राख्ने भन्ने विषयमा द्विविधामा रहेको देखिन्छ । छिमेकी मुलुक र अन्तर्राष्ट्रिय अभ्यास अनुसार खर्वौको निष्कृय कर्जा व्यवस्थापन गर्न कर्जाको प्रकृति र साइज अनुसार साना ठूला कम्पनी आवश्यक पर्दछ । नेपालको “क”, “ख”, “ग”, “घ” वर्गको वित्तीय स्वरूप हेर्दा सम्पत्ति व्यवस्थापन कम्पनी पनि साना, मध्यम र ठूला पुँजी हुने सबै प्रकारका कम्पनी आवश्यक पर्ने देखिन्छ । नेक्सजेन म्यानेजमेन्टले यहि आवश्यकता महसुस गरेर पूर्व तयारीको लागि हाललाई एक अर्ब सम्म जाने गरी पूँजी वृद्धि गरेका कम्पनीका प्रबन्ध सञ्चालक भट्टराईले बताए । साथै भविष्यमा आवश्यकता अनुसार सर्वसाधारणलाई पनि यो कम्पनीमा समावेश गर्ने गरी ३० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्ट्याएको उनले बताए । कम्पनीले कार्यक्षेत्र विस्तारको क्रममा भविष्यमा विभिन्न सहायक कम्पनीहरू स्थापना गर्दै सम्पत्ति व्यवस्थापन कम्पनीलाई सशक्त र प्रभावकारी संस्था बनाउने लक्ष्य राखेको उनले बताए ।
कर्णाली विकास बैंक घोटाला प्रकरणमा ३ जनालाई थुनामा पठाउने आदेश
काठमाडौं । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बैंकका संस्थापक अध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले जनाएको छ । 'उहाँले धरौटी बुझाउन नसकेकाले तत्काल थुनामा पठाइएको छ तर धरौटी बुझाएमा उहाँलाई छाडिने छ,' उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका सूचना अधिकारी बलबहादुर विष्टले भने। उनका अनुसार बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, बैंकका वित्त विभाग प्रमुख वेदप्रकाश सिंह ठकुरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । सो आदेशमा फरार रहेका १०० भन्दा बढी प्रतिवादीको हकमा म्याद तामेली पठाउने उल्लेख छ । बैंक सञ्चालक समितिका दुई पूर्वअध्यक्ष र एक कर्मचारीलाई अहिल्यै छाड्दा मुद्दा प्रभावित पार्न सक्ने आँकलन गरी अदालतले तीन जनालाई थुनामा राख्ने आदेश सुनाएको बताइएको छ । अदालतका न्यायाधीशद्वय चन्द्रबहादुर सारू र पुनमसिंह चन्दको इजलासले बैंकका पूर्वअध्यक्षसहित चार जना प्रतिवादीविरूद्धको रकम घोटाला प्रकरणको सुनुवाइ सकेर बुधबार सो आदेश सुनाएको थियो । बैंकको तीन अर्ब २० करोड हिनामिना प्रकरणमा कुल १०९ जनालाई प्रतिवादी बनाइएको थियो । तीमध्ये १०३ जना अझै फरार छन् । विभिन्न समयमा पक्राउ परेका दुई जना सञ्चालक समितिका पूर्वअध्यक्षसहित चार जना प्रतिवादीमध्ये साउन १४ गते सिआइबीले आफ्नो अनुसन्धान प्रतिवेदनमा आर्थिक अनियमिततामा दोषी करार गर्दै जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । सिआइबीले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायसहित १०९ जनाबाट रु तीन अर्ब २० करोड ११ लाख ५४ हजार १५७ बिगो माग दाबी गर्दै मुद्दा दायर गर्नुपर्ने सुझाव दिएको थियो । सिआइबीको सोही अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले उच्च अदालत तुलसीपुर नेपालगञ्जमा मुद्दा दायर गरेको थियो । अदालतका सूचना अधिकारी विष्टका अनुसार चार जना प्रतिवादीमध्ये बैंकका संस्थापक अध्यक्षसमेत रहेका राजेन्द्रवीर रायसँग रु दुई अर्ब ६३ करोड ३२ लाख १६ हजार ५९७ रूपैयाँ बिगो र जरिवाना माग दाबी गरिएको थियो । नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका कर्णाली विकास बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्रसँग रु ८२ करोड ४६ लाख २९ हजार बिगो र जरिवाना मागदाबी गरिएको थियो । बैंकका तत्कालीन वित्त विभाग प्रमुख वेदप्रकाशसिंह ठकुरीसँग रु २४ करोड ६३ लाख ९९ हजार बिगो र जरिवाना मागदाबी गरिएको थियो । राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतसँग रु १० करोड ८९ लाख २५० बिगो र जरिवाना मागदाबी गरिएको थियो ।
सेवाग्राही खोज्दै जनप्रतिनिधि र कर्मचारी सहरमा
काठमाडौं । सेवाग्राही खोज्दै म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू सहर झरेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारी प्रमुख सहरमा पुगेका हुन् । साउन १८ र १९ गते काठमाडौंमा घुम्ती शिविरमार्फत सेवा दिएको गाउँपालिकाले बुधबारदेखि प्रदेशको राजधानी पोखराको नदीपुरस्थित नेपाल छन्त्याल सङ्घको सभाहलमा शिविर सञ्चालन गरेको छ । पहिलो दिन करिब १५० जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिससम्बन्धी सेवा लिएका गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले जानकारी दिए । ‘हरेक वर्ष भत्ताका लागि ‘बायोमेट्रिक’ सहित लाभग्राही सूची नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था छ,’ उनले भने, ‘गाउँपालिकामा नाम भए पनि बजारमा बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीहरुलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झन्झट र दुःख हुने भएकाले जनप्रतिनिधि र कर्मचारी नै सहर झरेर नवीकरण गर्ने व्यवस्था मिलाएका हौँ ।’ गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले सेवाग्राहीको सहजताका लागि जनप्रतिनिधि र वडासचिवहरु सहरमा पुगेर सेवा दिएको बताए । अध्यक्ष र उपाध्यक्ष पुनद्वयका साथै सातवटै वडाका अध्यक्ष र तीन जना वडा सचिवहरूले शिविरमा सेवा दिएका छन् । गत आर्थिक वर्षमा धवलागिरिका २ हजार ९३८ जनालाई १० करोड ५८ लाख ४ हजार २८८ रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । सेवासुविधा र अवसरका लागि सहर बजारमा बसोबास गरे पनि धेरैले औपचारिक रुपमा बसाइँसराइ गरेका छैनन् । गत आर्थिक वर्षमा धवलागिरिमा ७६ परिवार बसाइँ गरेर जाँदा १० परिवार आएका थिए ।
मन्त्रीहरुको भ्रमणमा आकर्षक भत्ता, ऐन नै संशोधन
काठमाडौं । सरकारले मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९ मा संशोधन गर्दै भ्रमणमा पनि आकर्षक भत्ता पाउने व्यवस्था गरेको छ । ‘केही नेपाल ऐन संशोधन विधेयक’ राष्ट्रपति रामचन्द्र पौडेलले यही साउन १४ गते प्रमाणीकरण गरेसँगै अब प्रधानमन्त्री तथा मन्त्रीहरूले भ्रमण गरेबापत भत्ता पाउने भएका हुन् । सो ऐनको दफा ३ को उपदफा १ को सट्टा मन्त्रीहरूलाई सरकारी कामको सिलसिलामा नेपालभित्र वा नेपाल बाहिर भ्रमण गर्दा भ्रमणको भत्ता सम्बन्धी प्रचलित कानुनमा निर्धारण भए बमोजिम दैनिक तथा भ्रमण भत्ता दिइने व्यवस्था गरिएको छ । २०७७ सालमा स्वीकृत कार्य सञ्चालन निर्देशिकामा उल्लेख भए अनुसार प्रधानमन्त्रीले मासिक तलब ९४ हजार २ सय ८० रुपैयाँ छ । उनले स्वदेशमा भ्रमण गर्दा तीन हजार रुपैयाँ पाउँछन् । प्रधानमन्त्रीले पारिश्रमिक ७७ हजार २८०, महँगी भत्ता २ हजार, सञ्चार सुविधा ५ हजार, मासिक मसलन्द तथा अतिथि सत्कार अन्तर्गत १० हजार रुपैयाँ पाउँछन् । प्रधानमन्त्रीले मासिक ३ सय ६ लिटर पेट्रोल, वार्षिक ४० लिटर मोबिल पाउँछन् । उपप्रधानमन्त्रीको मासिक पारिश्रमिक ७५ हजार ६ सय ४० हो । यसमा मसलन्द, महँगी भत्ता र सञ्चारसमेत जोड्दा मासिक ८४ हजार ६ सय ४० तलब हुन आउँछ । अब उनले स्वदेशमा तथा विदेशमा भ्रमण गर्दा पनि भत्ता पाउनेछन् । उपप्रधानमन्त्रीले मासिक ३ सय ६ लिटर पेट्रोल पनि पाउँछन् । मन्त्रीहरूको हकमा मासिक पारिश्रमिक, मसलन्द तथा अतिथि सत्कार ३ हजार ५ सय, महँगी भत्ता १ हजार, सञ्चार सुविधा ३ हजारसमेत गरी जम्मा ७९ हजार २ सय ३० पाउँछन् । मन्त्रीहरूले पनि अब भ्रमण भत्ता पाउनेछन्।
नाइमा मोबिलिटी एक्स्पोमा राखिएका आकर्षक गाडी (फोटो-फिचर)
काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी, ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ बुधबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित यस एक्स्पोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे । एक्स्पोमा बीवाईडी, एमजी, हुन्डाई, महिन्द्रा, लिपमोटर, एलएस अटो, टोयोटा, स्काईवर्थ, मित्सुबिसी, निसान लगायतका ५० भन्दा बढी अटोमोटिभ ब्रान्डहरूको सहभागिता रहेको छ भने ३५ भन्दा बढी नयाँ सवारीसाधनहरू सार्वजनिक गरिँदैछ । एक्स्पोमा ‘मोबिलिटी : हिजो, आज, भोलि’, ‘वर्कफोर्स डेभलपमेन्ट,’ र ‘सेफ मोबिलिटी’ जस्ता विषयहरूमा गहन प्यानल छलफलहरू पनि आयोजना गरिनेछ । नाइमाले सामाजिक उत्तरदायित्व अन्तर्गत एक्स्पोको टिकट बिक्रीबाट उठेको रकमको ५ प्रतिशत हिस्सा शिक्षा मन्त्रालय र सीटीईभीटीसँगको सहकार्यमा मोबिलिटी क्षेत्रका लागि छात्रवृत्ति र अनुसन्धानमा खर्च गर्ने घोषणा पनि गरेको छ। यो एक्स्पो केवल सवारीसाधनहरूको प्रदर्शनी मात्र नभई नेपालको समग्र मोबिलिटी क्षेत्रको भविष्य, चुनौती र अवसरहरूबारे विमर्श गर्ने एक महत्त्वपूर्ण मञ्च बनेको छ । तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज
सासु कोषका रोजगारदातालाई रकम नियमित दाखिला गर्नैपर्ने दबाब, सञ्चयकर्तासरहको सुविधा
काठमाडाैं । सामाजिक सुरक्षा कोषमा आवद्ध रोजगारदाताले योगदानकर्ता तथा श्रमिकको रकम नियमित भुक्तानी नगरी सो बीचमा श्रमिकको कुनै दुर्घटना तथा मृत्यु भएमा उसले कोषबाट पाउने सुविधा रोजगारदाताले भुक्तानी गर्नुपर्ने व्यवस्था गरेकाे छ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ का केही दफाहरू संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । सरकारले ऐनको दफा ९ को उपदफा ५ थप्दै सूचीकृत रोजगारदाताले योगदान बापतको रकम कोषमा जम्मा नगरेमा त्यस्तो अवधिपछि योगदान रकम कोषमा जम्मा नगरेको अवधिभित्र दुर्घटना वा मृत्यु भई श्रमिकलाई यस ऐन बमोजिमको कुनै सुविधा उपलब्ध गराउनु पर्ने अवस्था भएमा त्यस्तो सुविधा बराबरको रकम सम्बन्धित रोजगारदाताले नै श्रमिकलाई उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको हो । यस्तै, सामाजिक सुरक्षा कोषले अब रोजगारदाताले कोषमा श्रमिकको रकम दाखिला गर्नुपर्ने समय १० दिन बढाएर २५ दिन कायम गरेको छ । यसअघि महिना समाप्त भएको १५ दिनभित्र दाखिला गर्नुपर्ने व्यवस्था रहेकोमा अब २५ दिनभित्र दाखिला गर्न पाइनेछ । ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को – (१) दफा ४ को उपदफा (४) मा रहेका ‘पन्ध्र दिनभित्र’ भन्ने शब्दहरूको सट्टा ‘पच्चीस दिनभित्र’ भन्ने शब्दहरू राखिएका छन्,’ संशोधित नेपाल ऐनमा भनिएको छ । यस्तै, सरकारले वैदेशिक रोजगारीमा रहेका नागरिक सामाजिक सुरक्षा योजनामा सहभागी हुन सक्ने व्यवस्था पनि गरेको छ । वैदेशिक रोजगारीमा रहेका कामदार वा विदेशमा स्वरोजगारमा संलग्न नेपाली नागरिकले कोषमा दाखिला गर्नु पर्ने मासिक योगदानको रकम सङ्कलन गर्ने विषयमा कोषले सम्बन्धित विदेशी मुलुकको सामाजिक सुरक्षा प्रदान गर्ने संस्था वा अन्य निकायसँग सहकार्य गर्न सक्ने व्यवस्था गरेको छ । कोषले वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगारमा संलग्न नेपाली नागरिक सम्बन्धित मुलुकको सामाजिक सुरक्षा योजनामा संलग्न भए बापत त्यस्तो सुविधा नेपालमै उपलब्ध गराउने गरी सम्बन्धित मुलुकको सामाजिक सुरक्षा योजना सञ्चालन गर्ने संस्था वा निकायसँग सहकार्य गरी आवश्यक व्यवस्था गर्न सक्ने उल्लेख गरेको छ । यस्तै, सरकारले सामाजिक सुरक्षा कोषका योगदानकर्ताले कर्मचारी सञ्चय कोष ऐन, २०१९ बमोजिमको कोष र सोमा रकम जम्मा गर्ने कर्मचारीले पाए सरहको सुरक्षा, छुट र सुविधा पाउने व्यवस्था गरेको छ ।