मानुषी र श्रृजनशील लघुवित्त बीच मर्जरको लागि सम्झौता

काठमाडौं ।  मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त बीच मर्जर हुने भएको छ । बिहीबार एक कार्यक्रम गरी दुई संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारी पत्रमा मानुषी लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष पद्माशना शाक्य तथा श्रृजनशील लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त र सिरहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त दुवै संस्था नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरका संस्था हुन् । समान चुक्ता पूँजी रहेका दुवै संस्थाले सर्वसाधारणमा सेयर जारी गरिसकेका छन् भने नेपाल स्टक एक्सचेन्जमा कारोबार समेत भइसकेको छ । मर्जरपछि संस्थाको नाम मानुषी श्रृजनशील लघुवित्त वित्तीय संस्था रहने गरी प्रस्ताव गरिएको छ । मर्जर प्रक्रियाका लागि दुवै संस्थाबाट ३/३ जना प्रतिनिधि रहने गरी संयुक्त मर्जर समिति गठन गरिने बताइएकाे छ । मर्जर प्रक्रिया यसै आर्थिक वर्षभित्र सक्ने लक्ष्य रहेको छन् । यस आ.व. को दोस्रो त्रैमाससम्ममा श्रृजनशील लघुवित्तले देशभर ३३ वटा शाखा मार्फत ४१,९४८ परिवारमा सेवा प्रदान गर्दै आएको छ भने मानुषी लघुवित्तले १४ जिल्लामा ३६ वटा शाखा मार्फत ३४,३८७ सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

सहकारीलाई बलियो बनाउन मर्जरमा जानुपर्छ : प्रमुख कोइराला

विराटनगर । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले सहकारीमा देखिएका समस्या समाधानका लागि ‘मर्जर’मा जानुपर्ने बताएका छन् । महानगर क्षेत्रभित्र सञ्चालित सहकारीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा उहाँले ‘मर्जर’मा गएर भए पनि सहकारी बलियो हुनुपर्नेमा जोड दिए । ‘यहाँ सहकारीको उद्देश्य अनुरुप राम्रो गर्ने सहकारी पनि छन्,’ उनले भने, ‘केही सहकारीका कारण सबै सहकारीको बदनाम भइरहेको छ ।’ ‘मर्जर’मा गएमा सहकारी बलियो हुने भन्दै नगरप्रमुख कोइरालाले सहकारीको मर्म र भावनाअनुसार सञ्चालन नभएकाले समस्या देखिएको स्पष्ट पारे । महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले न्यायिक समितिमा पछिल्लो समय धेरैजसो सहकारीसँग सम्बन्धित उजुरी आउने गरेको जानकारी दिइन् । स्थापना भएको तीन महिनासम्म ऋण प्रवाह गर्न नपाइने कानुनी व्यवस्था भए पनि सहकारीले त्यसलाई कार्यान्वयन नगरेको उनको भनाइ थियो । उपप्रमुख कार्कीले सहकारीको पैसा घरजग्गासहित अन्य क्षेत्रमा लगानी गर्दा समस्या निम्तिएको धारणा राखिन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सहकारी सञ्चालकमा पारदर्शीता र इमान्दारिता जरुरी रहेको औँल्याए । अन्तरक्रियामा सहकारीकर्मी उमेश गुरुङ, मुकुन्द थापा, गोविन्द निरौला, जुनु पोखरेल, हरि भट्टराईलगायतले आगामी आर्थिक वर्षको बजेटमा सहकारीलाई प्राथमिकता राख्न सुझाव दिएका थिए । उनीहरूले सहकारीले रोजगारी सिर्जना र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरे पनि राज्यले बेवास्ता गरेको गुनासो राखेका थिए । महानगरले सञ्चालन गर्ने रोजगारमूलक र सीपमूलक तालिम सहकारीमार्फत गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए । रासस

मर्जरको लाभ लिँदै नबिल, प्रभु र कुमारी बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च भएको भन्दै आन्दोलन चर्किरहेको बेला मर्जरमा गएका बैंकहरुले भने लाभ लिएका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर उच्च भएको र यसलाई एकल अंकमा झार्नु पर्ने भन्दै आन्दोलन भइरहेपनि मर्जरमा गएका बैंकहरुले भने बढी ब्याज लिएका छन् । जुन मर्जरको सुविधा हो । हाल बैंकहरुको स्प्रेडदर ४.४ प्रतिशतको हाराहारीमा छ । तर, चैतबाट लागू हुने गरी नेपाल राष्ट बैंकले स्प्रेडदर घटाउन निर्देशन दिएको छ । चैतबाट बैंकहरुको ब्याजदर अन्तर ४.२ प्रतिशत कायम राख्नु पर्नेछ । २०८० असार महिनाबाट बैंकहरुले ४ प्रतिशत भन्दाबढी नहुने गरी कायम गर्नुपर्नेछ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीतिको समीक्षामा स्प्रेडदर घटाउने नीतिगत व्यवस्था गरेको थियो । तर, मर्जरमा गएका बैंकहरुको स्प्रेडदर सीमाभन्दा माथि छ । नबिल बैंक, कुमारी बैंक र प्रभु बैंकको स्प्रेडदर सीमाभन्दा माथि छ । हाल नबिल बैंकको ५.२५ प्रतिशत, प्रभु बैंकको ५.१३ प्रतिशत र कुमारी बैंकको ५.०६ प्रतिशत स्प्रेड दर छ । तर, कतिपयले यी बैंकहरुले बढी ब्याज लिएको पनि बताउँदै आएका छन् । लगानीकर्ता सुवास चन्द्र भट्टराईले सामाजिक सञ्जालमा लेख्दै मर्जरमा गएका बैंकहरुलाई ब्यांग्यात्मक रुपमा भनेका छन्, ‘नेपालको माटो सुहाउँदो बैंक नबिल बैंक, नेट स्प्रेड दर ५.१५ प्रतिशत (माघ), हैट मर्जरको फाइदा मज्जासँग लिइरहेको छ ।’ नेपाल राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई विभिन्न सुविधा तथा छुटको व्यवस्था गरेसँगै यी बैंकहरुले मर्जरको लाभ लिएका हुन् । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत् वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार गरेमा विभिन्न सुविधा तथा छुटको व्यवस्था गरेको थियो । जसमध्ये राष्ट्र बैंकको निर्देशन बमोजिम कायम गर्नु पर्ने कर्जा र निक्षेपको ब्याजदर अन्तर (स्प्रेड दर)मा १ प्रतिशत बिन्दुले छुट दिइने व्यवस्था छ । सोही अनुसार मर्जरमा गएका बैंकहरुले कर्जा र निक्षेपको ब्याजदर अन्तर (स्प्रेड दर) १ प्रतिशतसम्म थप लिएका हुन् । नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज ज्ञवाली राष्ट्र बैंकको निर्देशन भित्र रहेर स्प्रेड दर बढाएको बताउँछन् । मर्जरमा गएका बैंकहरुले पाउने सुविधा प्रयोग गरेको उनको भनाइ छ । ‘राष्ट्र बैंकले ४.४ प्रतिशत स्प्रेड दरको सीमा तोकेको छ तर, कुनै संस्था मर्जर तथा एक्विजिशनमा गएका छन् भने १ प्रतिशत थप गर्न पाउने व्यवस्थालाई कार्यान्वयन गरेको हो, मर्जरमा गएका बैंकहरुले ५.४० प्रतिशतसम्म स्प्रेड दर तोक्न पाउँछन्,’ उनले भने । डीसीईओ ज्ञवालीका अनुसार मर्जरमा नगएका बैंकले राष्ट्र बैंकको सीमामा बस्नु पर्ने भएकाले ब्याजदर घटेको हो । उच्च ब्याजदरमा निक्षेप लिएर व्यवस्थापन गरेर कर्जा प्रवाह गरिरहेको उनले बताए । ‘कस्ट अफ फण्ड (लागत) बढेका कारण स्प्रेड दर बढ्यो, मर्जरमा नगएका बैंकले यो सुविधा नपाउने भएकाले यथास्थितीमा छन्, चैत मसान्तपछि ५.२० प्रतिशत र असार मसान्तसम्म ५ प्रतिशतसम्म स्प्रेडदर तोक्न पाउनेछन्,’ उनले भने । यस्तै, कुमारी बैंकका वरिष्ठ डीसीईओ राम चन्द्र खनाल मर्जरमा भएको खर्च स्प्रेड दरबाट उठाउन मिल्ने बताउँछन् । मर्जरका बेला भएको खर्च सबै उठ्न नसकेपनि केही रकम उठ्ने उनले बताए । ‘मर्ज गर्दाखेरि खर्च भएको हुन्छ, अनावश्यक खर्च शाखा कार्यालय बन्द गर्दा राइटअप गर्नुपरेको छ, मर्जरमा भएको खर्चलाई स्प्रेड दर बढ्दा टेवा पुग्छ, मर्जरमा भएको बेलाको खर्च पुरै उठ्न नसकेपनि अलि खर्च उठ्छ, यसले राहत हुन्छ,’ उनले भने, ‘ग्राहकहरुलाई भने लागत उच्च हुने भएपनि बैशाखदेखि कर्जाको लागत घट्छ ।’ ब्याजदर अन्तर घटेपछि बैंक तथा वित्तीय संस्थाहरुलेकर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दरघट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने राष्ट बैंकको भनाइ छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोख्रेल राष्ट्र बैंकका निर्देशनहरु पालना गर्नु पर्ने बैंकहरुको दायित्व रहेको बताउँछन् । मर्जरमा गएका बैंकहरुले राष्ट्र बैंकको निर्देशन बमोजिम कायम गर्नु पर्ने कर्जा र निक्षेपको ब्याजदर अन्तरमा १ प्रतिशत बिन्दुले छुट दिइने व्यवस्था रहेको उनको भनाइ छ । उनले मर्जरमा गएका बैंकहरुले यो सुविधा लिनु स्वभाविक भएको बताए । ‘वाणिज्य बैंकहरुको स्प्रेड दर चैतबाट ४.२० प्रतिशत र असारबाट ४ प्रतिशतमा झार्नुपर्ने भनिएको छ, बैंकहरुले राष्ट्र बैंकको निर्देशन पालना गर्नुपर्छ, एकैपटक तोकिएको सीमामा झार्न गाह्रो पर्ने भएकाले समय थप दिएको हो, विस्तारै सुधार पनि हुँदै जान्छ,’ उनले भने, ‘राष्ट्र बैंकले नै १ प्रतिशत थप गर्न पाउने व्यवस्था गरेको हुँदा बैंकहरुले बढाउनु स्वभाविक हो, मर्जरमा जाने बैंकले ब्याजदर बढाउन पाइन्छ भन्ने हुँदैन ।’ बैंक तथा वित्तीय संस्थाको स्प्रेडदर घट्दा नाफामा संकुचन आउने बैंकरहरु बताउँछन् । तर, मर्जरमा गएका बैंकहरुले भने थप १ प्रतिशत सुविधा प्राप्त गरेपछि नाफा बढ्ने उनीहरुको भनाइ छ । चैतदेखि लागू हुने गरी बैंकहरुले ब्याजदर घटाएका पनि छन् । आन्दोलनमार्फत् आक्रोसित बनेका ऋणीहरुलाई मल्हम लगाउन भएपनि ब्याजदर थोरै भएपनि घटाइ रहेका छन् । वाणिज्य बैंकहरुले निक्षेपमा ०.४२ प्रतिशत र कर्जामा १ प्रतिशत प्रिमियम दर घटाएका छन् । यस्तै, विकास बैंकहरुले निक्षेपमा ०.१५ प्रतिशत घटाएका छन् भने फाइनान्स कम्पनीहरुले ०.२० प्रतिशत घटाए ।

लाभांश र मर्जर प्रस्तावसहित प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले २१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले चैत १६ गते, दियालो लर्डस प्लाजा बिरगंज, पर्सामा १२ः३० बजे वार्षिक साधारण सभा बोलाएको हो । इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँनीको ३.३२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.१७५ प्रतिशत नगद गरी कूल ३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । साथै, सभाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तिायरी प्रदान गर्नेछ । साथै, कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताप पनि पारित गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत ३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि हुन सक्नेछन् ।

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले मर्जरको लागि धितोपत्र बोर्डबाट पायो स्वीकृति

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्जरको लागि पुर्व स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई मर्जरको लागि पुर्व स्वीकृति दिएको हो । बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपासमा मर्जर हुने सम्बन्धमा निर्देशिका, २०७९ को दफा ८ को उपदफ (४) बमोजिम अन्तिम स्वीकृति दिएको हो । दुई कम्पनीबीच सेयर अनुपात क्रमशः १ः१ कायम रहने गरी माघ २९ गते मर्जर सम्बन्धी सम्झौता भएको थियो । सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात् बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने बताइएको छ । हाल आईएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सको एक अर्ब १८ करोड रुपैयाँ छ । जसमा आईएमई जनरलले ६ प्रतिशत बोनस वितरण गरिसकेको छ भने प्रुडेन्सियलले ६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । घोषित बोनसपश्चात् प्रुडेन्सियलको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । यससँगै मर्जपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५ करोड रुपैयाँ नाघ्ने छ ।

मर्जरपश्चात् सिभिलका ग्राहकलाई हिमालयन बैंकमा सास्ती

काठमाडौं । मर्जरपश्चात् हिमालयन बैंकको डिजिटल कारोबारमा अभ्यस्त नहुँदा साविक सिभिल बैंकका ग्राहकले सास्ति खेप्नु परेको छ । हिमालयन बैंकसँग गाभिएपछि सिभिल बैंकका ग्राहकहरुलाई डिजिटल कारोबारमा सकस परेको हो । साविक सिभिल बैंकका एक कर्मचारीले हिमालयन बैंकको डिजिटल कारोबार प्रयोग गर्न सकस परेको बताए । साविकको सिभिल बैंकको मोबाइल एप मर्जर पश्चात् बन्द भइसकेको छ । उक्त एप प्रयोग गरिरहेका ग्राहकहरुलाई हिमालयन बैंकको मोबाइल एप प्रयोग गर्न भने सकस परेको बैंकका एक कर्मचारीले विकासन्युसँग बताए । ‘सिभिल बैंकको एप बन्द भएपछि ग्राहकहरुले हिमालयन बैंकको एप चलाउनुपर्छ, सिभिल बैंकका ग्राहकलाई हिमालयन मोबाइल बैंकिङ्ग एप चलाउन सकस भयो, फरक सफ्टवेयर भएपछि ग्राहकलाइ चलाउन सकस पर्याे,’ उनले भने । साविक सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले डिजिटल बैंकिङ्गमा जोड दिएका थिए । उनले डिजिटल बैंकिङ्गमा जोडबल गरेका कारण मोबाइल एप प्रयोगकर्ता १ लाख भन्दा बढी थिए । जसका कारण उनले १ वर्षको अवधिमा ५० अर्बको निक्षेपलाइ ९० अर्ब पुर्याउन सफल भएका थिए । तर, अहिले हिमालयन बैंकको एप प्रयोग गर्न भने झण्झट रहेको एक कर्मचारीले बताए । ‘सिभिल बैंकका कर्मचारीदेखि ग्राहकहरु डिजिटल बैंकमा अभ्यस्त थिए, बैंकले डिजिटल बैंकिङ्गलाई जोड दिएपछि ५० अर्बको निक्षेप ९० अर्ब पुगेको थियो, ११ सय जना कर्मचारीबाट ९ सयमा झारेको थियो, डिजिटल बैंकिङ्गको अभ्यासले सम्भव भएको हो,’ उनले भने । हिमालयन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) उज्जव राजभण्डारी मर्जरपश्चात् समस्या आएको भएपनि सुधार गरिरहेको बताउँछन् । सुरुमा सिस्टम व्यवस्थापन गर्नुपर्ने भएकाले ग्राहकलाई समस्या परेको हुन सक्ने उनको भनाइ छ । ‘साविक सिभिल बैंकको वेवसाइट सर्च गर्दा स्वतः हिमालयन बैंकको वेभसाइट खुल्छ, सिस्टम मिलाउँदा एक/दुई दिन गाह्रो परेको हुन सक्छ, चेक क्लियरिङमा समस्या समाधान भइसक्यो, सिस्टम फरक हुँदा समस्या परेको हो,’ उनले भने । हिमालयन बैंकको मोबाइल बैंकिङ्ग एपमा इमेल र फोन नम्बर अनिवार्य राख्नुपर्ने भएकाले साविक सिभिल बैंकका ग्राहकहरुलाई समस्या आएको उनको भनाइ छ । मोबाइल बैंकिङ्गमा देखिएको समस्या आजदेखि समाधान हुने उनले बताए । ‘हाम्रो मोबाइल बैंकिङ्ग एपमा फोन नम्बर र इमेल अनिवार्य चाहिन्छ, इन्टरनेट बैंक पनि माइग्रेट गरिरसक्यो, पहिला पनि ३/४ हजार एकाउन्टको मोबाइल बैंकिङ्ग चलेको थियो तर, नमिलेकोहरुको आजदेखि मोबाइल बैंकिङ्ग समस्या समाधान हुन्छ,’ उनले भने । साविक सिभिल बैंक र हिमालयन बैंकमा काम गर्ने सिस्टम फरक भएकाले शाखा कार्यालयमा ग्राहकहरुलाई सहज ढंगबाट सेवा दिने गरी निर्देशन पठाइसकेको उनले जानकारी दिए । ‘नयाँ आएका हिमालयन बैंकको शाखा कार्यालयलाई पूर्ण अधिकार दिइएको छ, एकदुई दिन समस्या आएको हो, आइतबारदेखि कुनै पनि समस्या आउँदैन,’ उनले भने । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी फागुन १२ गतेदेखि एकीकृत कारोबार गरेको थियो । हिमालयन बैंकले सिभिललाई प्राप्ति गरेर हिमालयन बैंकको नामबाट एकीकृत कारोबार गरेको हो । बैंकले आफैले विकास गरेको हिमालयन मोबाइल बैंकिङ्ग (एचएमबि) एप मार्फत् ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अब मर्जर गर्ने पालो सगरमाथा लुम्बिनी इन्स्योरेन्सको हो : सीईओ क्षेत्री

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको मर्जर छिट्टै हुने बताएका छन् । बुधबार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार कार्यक्रममा बोल्दै क्षेत्रीले छिट्टै सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले एकीकृत कारोबार हुने बताएका हुन् । सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका क्षेत्रीले स्वस्थ प्रतिस्पर्धाका लागि मर्जर प्रक्रिया आवश्यक रहेको बताए । मर्जरपश्चात् कम्पनीले राम्रो सिनर्जी ल्याउन सक्नु पर्ने उनको भनाइ छ । ‘मर्जर पश्चात् सिद्धार्थ प्रीमियर इन्स्योरेन्सले राम्रो सिनर्जी ल्याउनेछ, स्वस्थ प्रतिस्पर्धा गर्नका मर्जर आवस्यक छ, अबको मर्जरको पालो सगरमाथा कम्पनीको हो,’ उनले भने । यसअघि मर्जरका लागि सगरमाथा इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको छलफल भएपनि सम्भव नभएको समेत बताए । उनले मर्जर नगर्ने कम्पनीलाई बीमा प्राधिकरणले के गर्ने हो भनेर प्रश्न समेत गरे । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच गत माघ १७ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो । त्यसैले अब एकीकृत कारोबार गर्न मात्रै बाँकी रहेको छ । मर्जर पश्चात् बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने छ । दुवै कम्पनी सेयर आदान प्रदान अनुपात(स्वाप रेसियो) क्रमश १००:८० अनुपातमा मर्ज हुनेछन् । मर्जर पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।

लक्ष्मी-सनराइज मर्जर : अध्यक्ष र सीईओ लक्ष्मीले पाउने, कर्मचारीको हैसियत बराबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । राष्ट्र बैंकले २ साता अघि दुवै बैंकलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको हो । लक्ष्मी बैंकका सञ्चालक मनिष थापाले सैद्धान्तिक सहमति पाइसकेकोले जति सक्दो छिटो एकीकृत कारोबार गर्ने किसिमले काम भइरहेको बताए । अर्थमन्त्रालयका अर्थ सचिव परिवतर्न भएका कारण राष्ट्र बैंकले स्वीकृति दिन ढिला गरेको थियो । राष्ट्र बैंकको सञ्चालकमा अर्थसचिव परिवर्तन भएका कारण सैद्धान्तिक सहमति आउन ढिला भएको उनको भनाइ छ । मर्जर कमिटीका सदस्य समेत रहेका सञ्चालक थापाका अनुसार बैंकमा कार्यरत कर्मचारी संयोजन, बैंकको आइटि सिस्टम र शाखा कार्यालयको एकीकरणका लागि दुवै बैंकका सम्बन्धित विभागका प्रमुखहरुको मर्जर कमिटीमा प्रतिवेदन पेश गर्ने तयारी छ । तथापि, कर्मचारी समायोजन भने बराबरी हैसियतमा हुने प्रारम्भिक छलफल भएको छ । ‘एक डेढ महिनाभित्रमा सबै खाका आउँछ, ५ प्रतिशतभन्दा बढी फरक आएपछि सोही अनुसार गर्ने प्रारम्भिक सम्झौता भएको छ, दुइटै बैंकको सिस्टम एउटै प्रकृतिको छ, त्यसैले पनि डीडीए रिपोर्टमा धेरै फेरबदल नआउनेमा हामी विश्वस्त छौं,’ उनले भने । मर्जरपश्चात् बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दुवै लक्ष्मी बैंकले पाउने प्रारम्भिक सहमति भएको बताइएको छ ।मर्जरपश्चात् लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल बैंकको अध्यक्ष र सीईओ अजय बहादुर शाह बन्नेछन् । ‘लक्ष्मी बैंकले अध्यक्ष र सीईओ पाउने मौखिक सहमति भएको छ, सोही अनुसार मात्रै बैंकले मर्जर सम्झौता गरेको हो,’ थापाले भने । राष्ट्र बैंकले ३ महिनाभित्र मर्जर सम्पन्न गर्न समय सीमा तोकेको छ । सोही अनुसार जेठ मसान्तसम्म दुवै बैंकले एकीकृत कारोबार गर्ने लक्ष्य लिएका छन् । यदि जेठमा मर्जर सम्पन्न नभएमा साउनमा मात्रै एकीकृत कारोबार हुने उनको भनाइ छ । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा। मनिष थापा र स्वति रुङ्गटा र सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल छन् । लक्ष्मी र सनराइज बैंकको सेयर स्वाप रेसियो १ः१ अनुपातमा हुने बताइएको छ । तर, दुवै बैंकको विस्तृत ड्यु डिलिजेन्स अडिट (डीडीए) रिपोर्टमा ५ प्रतिशतभन्दा बढी आएमा सोही अनुसार कायम हुने उल्लेख छ । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।

तेश्रो पटक संशोधन भयो बीमा कम्पनी मर्जर सम्बन्धी निर्देशिका, नयाँ के के थपिए ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ लाई तेश्रो पटक संशोधन गरेको छ । माघ १८ गते संशोधन भएको उक्त निर्देशिका तत्काल लागू हुने छ । संशोधित निर्देशिकामा अधिकांश बुदा तथा व्यवस्थाहरु थपिएका छन् भने केही व्यवस्थाहरु संशोधन भएर आएका छन् । जसमा बीमा कम्पनीको कुनै व्यक्ति वा समूहको १५ प्रतिशत सेयर स्वामित्व हुन नपाइने व्यवस्था गरिएको छ । । प्राधिकरणले गाभ्ने गाभिने अघि बीमकको कायम रहेको सेयर स्वामित्व १५ प्रतिशतभन्दा बढी हुन गएमा सो सेयरलाई सीमाभित्र ल्याउनको लागि २ वर्षको समयसीमा दिने निर्देशिकामा प्रष्ट भनेको छ । त्यस्तै, कम्पनी मर्ज तथा एक्वायर हुनुभन्दा अघि बहाल रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को हकमा कुलिङ्ग पिरियड लागू नहुने व्यवस्था छ । त्यस्तै, मर्जपछि बन्ने कम्पनीमा सीईओको नियुक्ति तोकिएको अवधिभित्र नभएमा औचित्यताको आधारमा थप समय दिन सकिने छ । बीमक गाभिएकै कारण गाभ्ने बीमकको सञ्चालक समितिमा प्रतिनिधित्व रहन नसक्ने अवस्था भएमा समितिको स्वीकृति लिएर थप सञ्चालकको व्यवस्था गर्न सकिने छ । गाभ्ने, गाभिने तथा प्राप्ति हुनुभन्दा अघि कम्पनीमा संलग्न रहेका संचालकको हकमा कार्यकाल गणना गर्दा गाभ्ने, गाभिने तथा प्राप्ति पश्चात स्थापना हुने कम्पनीमा सञ्चालकको रुपमा नियुक्त भएका निजको लागि पहिलो कार्यकाल मानिने छ । जुन नयाँ व्यवस्था हो । गाभ्ने, गाभिने प्रक्रियामा कुनै बीमकको संस्थापक सेयर प्रतिशत अन्य गाभ्ने, गाभिने बीमकभन्दा बढी भई समान प्रतिशत कायम गर्नपर्ने अवस्थामा बिक्री गर्न पाउने बन्देज अवधि (लकिङ पिरियड) पाँच वर्ष नपुगे तापनि उपयुक्तता जाँच (फिट एण्ड प्रोपर टेष्ट) गरी बिक्री गर्न स्वीकृति दिन सकिने छ । त्यस्तै, कुनै संस्थापकले धारण गरेको संस्थापक शेयर साझेदारीमा रहेको रहेछ भने साझेदारी छुट्याउने प्रयोजनका लागि कारोबार गर्न बन्देज अवधि (लकिङ पिरियड) नपुगे तापनि बिक्री वा अन्य किसिमले हक हस्तान्तरण गर्न स्वीकृति दिन सकिने व्यवस्थालाई थप गरिएको छ । त्यसैगरी, कुनै संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बीमक मर्जरमा जाने भएमा कारोबार गर्न बन्देज अवधि (लकिङ पिरियड) भित्र पर्ने भए तापनि अन्य व्यक्ति वा संस्थाको नाममा बिक्री गर्न वा अन्य कुनै किसिमले हस्तान्तरण गर्न स्वीकृति दिन सकिनेछ । यो नयाँ व्यवस्था हो । यो निर्देशिका अनुसार गाभ्ने, गाभिने कार्य पछिको एकीकृत रुपमा बीमाङ्कीको प्रतिवेदन पेश गर्न थप छ महिना समय प्रदान गर्न सकिनेछ । गाभ्ने, गाभिनेमध्ये कुनै बीमकको संस्थागत संस्थापक बैंक, वित्तीय संस्था वा सञ्चालकसँग लगानी तथा व्यवसायमा वित्तीय स्वार्थ देखिने अवस्था भएमा सो हटाउन एक वर्षको समय प्रदान गर्न सकिने बताइएको छ । सञ्चालकको तोकिएको कार्यकाल समाप्त भै निर्वाचन गर्नुपर्ने अवस्था भए तापनि गाभिएर वा प्राप्ति पश्चात् प्रचलित कानूनबमोजिम पुनः निर्वाचन नभएसम्मको अवधिको लागि संचालक पदमा बहाल रहने अवधि थप दिन सकिने व्यवस्था छ । एक्विजिशन तथा मर्जरबाट कम्पनीको शाखा कार्यालय थपघट तथा मिलान गर्नपर्ने भएमा बढीमा एक वर्षको समय प्रदान गर्न सकिनेछ । गाभ्ने, गाभिने प्रक्रियामा कुनै बीमकको संस्थापक सेयर प्रतिशत अन्य गाभ्ने, गाभिने बीमकभन्दा बढी भई समान प्रतिशत कायम गर्नपर्ने अवस्थामा बिक्री गर्न पाउने बन्देज अवधि (लकिङ पिरियड) पाँच वर्ष नपुगे तापनि उपयुक्तता जाँच (फिट एण्ड प्रोपर टेष्ट) गरी बिक्री गर्न स्वीकृति दिन सकिने व्यवस्था छ । यसमा कुनै संस्थापकले धारण गरेको संस्थापक सेयर साझेदारीमा रहेको खण्डमा भने साझेदारी छुट्याउने प्रयोजनका लागि कारोबार गर्न बन्देज अवधि (लकिङ पिरियड) नपुगे तापनि बिक्री वा अन्य किसिमले हक हस्तान्तरण गर्न स्वीकृति दिन सकिने नयाँ व्यवस्था थप गरिएको छ । त्यस्तै, कुनै संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बीमक मर्जरमा जाने भएमा कारोबार गर्न बन्देज अवधि (लकिङ पिरियड) भित्र पर्ने भए तापनि अन्य व्यक्ति वा संस्थाको नाममा बिक्री गर्न वा अन्य कुनै किसिमले हस्तान्तरण गर्न स्वीकृति दिन सकिने नयाँ व्यवस्था छ । मर्जरपछिको एकीकृत रुपमा बीमाङ्कीको प्रतिवेदन पेश गर्न थप ६ महिना समय प्रदान गर्न सकिने छ । गाभ्ने, गाभिनेमध्ये कुनै कम्पनीको संस्थागत संस्थापक बैंक, वित्तीय संस्था वा संचालकसँग लगानी तथा व्यवसायमा वित्तीय स्वार्थ देखिने अवस्था भएमा सो हटाउन एक वर्षको समय दिइने छ । सञ्चालकको तोकिएको कार्यकाल समाप्त भै निर्वाचन गर्नुपर्ने अवस्था भए तापनि गाभिएर वा प्राप्ति पश्चात् प्रचलित कानूनबमोजिम पुनः निर्वाचन नभएसम्मको अवधिको लागि संचालक पदमा बहाल रहने अवधि थप दिन सकिनेछ । मर्जरपछि बनेको कम्पनीको अभिकर्तालाई साविकमा प्रवाह भएको ऋण असुली र अभिकर्ता व्यवस्थापनको लागि ६ महिना समय दिइने छ । एक्विजिशन तथा मर्जरपश्चात कार्यालय स्थापना र यान्त्रिकिकरण गर्दा भएको खर्चलाई व्यवस्थापन खर्चमा एक वर्षसम्म समावेश नगरिने गरी छुट दिन सकिने संशोधित निर्देशिकामा भनिएको छ । साथै, मर्जरपछि स्थापना हुने कम्पनीले वित्तीय विवरणमा नाफा नोक्सान हिसाब अन्तर्गत बाँडफाँडको लागि उपलब्ध रकममध्येबाट महाविपत्ति कोषमा छुट्याउनु पर्ने रकममा तीन आर्थिक वर्षसम्म ५० प्रतिशत छुट दिन सकिने व्यवस्था छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांशसँगै मर्जर प्रस्ताव पारित

काठमाडाैं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीकाे लाभांश पारित गरेकाे छ । कम्पनीकाे १८औं वार्षिकसाधारण सभाले संचालक समितिले प्रस्ताव गरेको ७.३५ प्रतिशत लाभांश पारित गरेकाे हाे । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव, आ.ब. २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति गरेकाे छ । यस्तै, सभाले सगरमाथा इन्स्योरेन्स कम्पनी गाभिने, गाभिएपछिको कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी कायम रहने, १०० : ८० हुने गरी स्वाप रेसियो कायम गर्ने प्रस्ताव पारित गरेकाे छ । सभाले लेखापरीक्षण वापतको पारिश्रमिक अनुमोदन गर्ने, दुवै कम्पनी मर्ज भएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्समा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने र मर्जर लगायत कम्पनीको तर्फबाट गर्नुपर्ने बाँकी सम्पूर्ण कामहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।         लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण सभा आज २०७९ साल फाल्गुण ११ गते काठमाडौंमा सम्पन्न भयो । सभा औपचारिक रुपमा शुरु हुनुभन्दा अगाडि कम्पनीका संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको गत माघ २२ गते निधन भएकोमा दुख प्रकट गर्दै उहांको आत्माको चीरशान्तिको कामना गरी एक मिनेट मौन धारण गरियो । सभामा कम्पनीका अध्यक्ष श्री मनोहर दास मुलले कम्पनीको व्यवसाय लगायतका अन्य कामकारवाहीहरु, यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी लि। गाभ्ने गाभिने सम्बन्धमा भएका सहमति, सम्झौताहरु, कम्पनी गाभिएपछिको अबस्था आदिका बारेमा शेयरधनीहरुलाई बिस्तृत रुपमा जानकारी गराउनु भयो । त्यसैगरी, यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी लि। गाभिने, गाभिएपछिको कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि। कायम रहने, सगरमाथा इन्स्योरेन्स कम्पनी लि। र यस कम्पनीको शेयर आदान–प्रदान अनुपात १०० स् ८० हुने गरी स्वाप रेसियो कायम गर्ने, बिस्तृत लेखापरीक्षण ९म्म्ब्० बापतको पारिश्रमिक अनुमोदन गर्ने, दुबै कम्पनी मर्ज भएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि। मा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने र मर्जर लगायत कम्पनीको तर्फबाट गर्नुपर्ने बांकी सम्पूर्ण कामहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । सभाको औपचारिक कार्यक्रम सम्पन्न पश्चात कम्पनीमा १० बर्षभन्दा बढि सेवा गरेका कर्मचारीहरुलाई ताम्रपत्र सहित दोसल्ला ओढाई सम्मान गरियो ।

२१ प्रतिशत लाभांश र मर्जर प्रस्ताव पारित गर्न आदर्श लघुवित्तले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीको फागुन ८ गते बसेको बैठकले फागुन ३० गते गौतम रिसोर्ट बनेपा काभ्रेमा बिहान ११ बजे बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । यस्तै, सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूह (समूह “ख“) बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक पदको निर्वाचन गर्नेछ । यस्तै, हाल कायम रहेको जारी पुँजी र चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ रहेकोमा बोनस सेयरपश्चात् २ करोड ४८ लाख ४० हजार रुपैयाँ पुर्याउन प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, आदर्श लघुवित्तलाई डिप्रोक्स लघुवित्तले प्राप्ति गर्ने भएकाले मर्जर तथा प्राप्ति सम्बन्धी सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । आदर्श लघुवित्त र डिप्रोक्स लघुवित्त १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुनेछन् । मर्जरपश्चात् डिप्रोक्स लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन १६ बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा हभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

मर्जरपश्चात कतिमा खुल्दैछ ग्लोबल आइएमई बैंकको सेयर कारोबार ?

काठमाडौं । ग्लोबल आइएमई बैंकको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत भएको छ । बैंक अफ काठमाडौं(बिओके) सँगको मर्जशपश्चात बैंकको ११ करोड २६ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत भएको हो । ग्लोबल आइएमई बैंक बिओकेसँग १:१ सेयर अनुपातमा मर्जर भएको थियो । नेप्सेले सुरुको कारोबारका लागि बैंकको सेयर मुल्य २०९.४२ रुपैयाँ तोकेको छ । सोमबार सूचिकृत भएको सेयर मंगलबारदेखि कारोबार हुनेछ ।

लाभांश र मर्जर प्रस्ताव पारित गर्न सपोर्ट लघुवित्तले डाक्यो साधारणसभा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले ८ औँ वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीको फागुन ७ गते बसेको बैठकले चैत्र ४ गते दुर्गा पार्टी प्यालेस इटहरी सुनसरीमा बिहान साढे ९ बजे बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश गरी कूल ११.५७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । यस्तै, सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूह (समूह “ख“) बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक पदको निर्वाचन गर्नेछ । यस्तै, हाल कायम रहेको जारी पुँजी र चुक्ता पुँजी ८ करोड ५८ लाख रुपैयाँ पुर्याउने प्रस्तव पारित गर्नेछ । साथै, अन्य कुनै उपयुक्त लघुवित्त संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्पूर्ण कार्य सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन २१ बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा हभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अध्यक्ष सिलवाललाई साक्षी राखेर आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले गरे मर्जर सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता भएको छ । शुक्रबार नेपाल बीमा प्राधिकरणमा अध्यक्ष सूर्यप्रसाद सिलवालको उपस्थितिमा आइएमई जनरल इन्स्योरेन्सका सञ्चालक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक अमित अग्रवालले प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । दुई कम्पनीबीच एक बराबर एकको अनुपातमा मर्जरमा जाने सहमति भएको छ । सम्झौताअनुसार मर्जर पश्चात् आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ । यी दुवै कम्पनीमा संस्थापकहरुको क्रसहोल्डिङ लगानी रहेको छ । बजारको तीव्र प्रतिस्पर्धालाई ध्यानमा राख्दै एक सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित भै दीर्घकालसम्म थप उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीले सम्झौता गरेका हुन् । साथै, दुबै कम्पनीको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय पहुँच, अनुभव र क्षमतालाई प्रभावकारी बनाउँदै आफ्ना सेयरधनीहरूलाई समायानुकुल उचित प्रतिफल प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ । हाल आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सको एक अर्ब १८ करोड रुपैयाँ छ । जसमा आईएमई जनरलले ६ प्रतिशत बोनस वितरण गरिसकेको छ भने प्रुडेन्सियलले ६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । घोषित बोनसपश्चात् प्रुडेन्सियलको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । यससँगै मर्जपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५ करोड रुपैयाँ नाघ्ने छ ।

हिमालयन-सिभिल मर्जर : सीईओ पोखरेल भिआरएसमा बाहिरिँदै, सिभिलबाट फर्ष्ट म्यान रायमाझी बन्ने

काठमाडौं । हिमालयन बैंकसँग एकीकृत कारोबारको तयारीमा रहेको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल बाहिरिने भएका छन् । सिभिल बैंक हिमालयनमा गाभिएपछि सीईओ पोखरेल स्वेच्छिक अवकास सुविधा (भिआरएस) मा बाहिरिने भएका हुन् । यसअघि उनी हिमालयन बैंकको वरिष्ठ डीसीईओ बन्ने सहमति थियो । पछिल्लो समय कर्मचारी समायोजनामा कुरा नमिलेपछि उनी भिआरएस सुविधामा बाहिरिने भएका हुन् । सिभिल बैंक सञ्चालक समिति सदस्य अम्बिर बोगटीका अनुसार उनी भिआरएस सुविधामा बाहिरिने निर्णय पनि भइसकेको छ । सीईओ पोखरेल बाहिरिए पछि सिभिल बैंकको कर्मचारीको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सचिन जंग रायमाझीको नेतृत्वमा हिमालयन बैंकमा जानेछ । हिमालयन बैंकमा उनी चौथो वरियता पाउनेछन् । हाल सीईओ पोखरले मातृ शोकमा परेको कारणले पनि दुई बैंकबीच एकीकृत कारोबार सरेको हो । हिमालयन बैंकमा जाँदा एक तह घट्नु पर्ने भन्दै सिभिल बैंकका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेका हुन् । सिभिल बैंकका कर्मचारी युनियनका महासचिव निराजन केसीले एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्न लागिएको विरोधमा २ घण्टा पेन डाउन गरिएको बताए । ‘व्यवस्थापनबाट एक तह पद घट्ने इमेल आयो, सुरुमा समान हैसियतमा हुने कुरा थियो, अहिले एक्कासी आएर पद घटाउन मिल्दैन, हामी यसको विरोध गर्छौं,’ उनले भने । यद्यपि, सञ्चालक बोगटीले भने सिभिल बैंकमा कर्मचारीको जुन पद छ हिमालयन बैंकमा पनि त्यही पद कायम हुने बताएका छन् । त्यसमा कुनै कम्प्रोमाइज नभएको उनी बताउँछन् । ‘सिभिल बैंकमा एसिस्टेन्ट पद ४ वटा छन् भने हिमालयनले ५ वटा बनाएको छ, हाम्रो ४ वटा पोस्ट हिमालयन बैंकमा पनि त्यहि हुन्छ,’ उनले भने । १० गते एकीकृत कारोबारकाे तयारी  हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार फागुन १० गते गर्ने निर्णय भएको छ । यसअघि माघ १८ गते एकीकृत कारोबार गर्ने तयारी भएपनि केही प्राविधिक कारणले एकीकृत कारोकार रोकिएको थियो । अब एकीकृत कारोबार फागुन १० गते गर्ने निर्णय भएको सञ्चालक बोगटीले बताए । ‘हामीलाई अहिले समस्या आएको छ, हिमालयन बैंकका सीईओको बुवा र सिभिल बैंकका सीईओ पोखरेलको आमाको निधन भएको हुँदा समस्या भएको छ, त्यसैले नै एकीकृत कारोबार मिति सार्नु परेको हो, राष्ट्र बैंकमा अन्तिम स्वीकृति पाइसकेका छौं, स्वीकृति पाएको १ महिनाभित्र एकीकृत कारोबार गर्नुपर्छ, ढिलोमा फागनु दोस्रो साता सातामा एकीकृत कारोबार हुन्छ, हामीले फागुन १० गते एकीकृत कारोबार गर्ने निर्णय गरेका छौं,’ उनले भने । उनका अनुसार नेपाल राष्ट बैंकले फागुन १६ गतेसम्म एकीकृत कारोबार गर्न निर्देशन दिएको छ । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । प्रारम्भिक सम्झौता हुँदा मर्जरपश्चात् पनि हिमालयन बैंकको सञ्चालक समिति कायम रहने सहमति भएको छ । साथै, मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सम्झौता अनुसार हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर अनुपात हुने भएको छ ।

हिमालयन–सिभिल बैंक मर्जरमा कर्मचारीको असन्तुष्टि, एक तह पद घट्ने भएपछि देशभरका शाखा ठप्प

काठमाडौं । हिमालयन–सिभिल बैंकको मर्जर प्रक्रियामा सिभिल बैंकका कर्मचारीले असन्तुष्टि जनाएका छन् । मर्जरमा कर्मचारी समायोजनमा सिभिल बैंकका कर्मचारीकाे एक तह पद घट्ने भएपछि कर्मचारीहरुले असन्तुष्टि जनाएका हुन् । उनीहरुले असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेका छन् । सिभिल बैंकका कर्मचारी युनियनका महासचिव निराजन केसीले एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्न लागिएको विरोधमा २ घण्टा पेन डाउन गरिएको बताए । ‘व्यवस्थापनबाट एक तहब पद घट्ने इमेल आयो, सुरुमा समान हैसियतमा हुने कुरा थियो, अहिले एक्कासी आएर पद घटाउन मिल्दैन, हामी यसको विरोध गर्छौं,’ उनले भने । उनका अनुसार बिहान १० बजेदेखि १२ बजेसम्म देशभरका शाखा कार्यालयमा पेन डाउन सुरू भएको हो । उनले लामो समयदेखि काम गर्दै आएका कर्मचारीहरुलाई पनि यसले मर्कामा पार्ने भन्दै विरोध जनाएको बताए । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार यसअघि नै हुने भनिएपनि हालसम्म हुन सकेको छैन । यसअघि माघ १८ गते एकीकृत कारोबार गर्ने तयारी भएपनि पुनः सारेको हो । उनको अनुसार अब फागुन १० गतेभित्र एकीकृत कारोबार गर्ने दुवै बैंकको तयारी छ । राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि पुस २८ गते वार्षिक साधारण सभा सम्पन्न भएको दिन नै पत्र पठाए पनि स्वीकृति नपाएर ढिला भएको सञ्चालक बोगटीले बताए । ‘राष्ट्र बैंकमा अन्तिम स्वीकृति पाइसकेका छौं, स्वीकृति पाएको १ महिनाभित्र एकीकृत कारोबार गर्नुपर्छ, ढिलोमा फागनु दोस्रो साता सातामा एकीकृत कारोबार हुन्छ,’ उनले भने । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

२५५ बैंक वित्तीय संस्था मर्जरमा, १८३ को लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस मसान्तसम्म २५५ बैंक तथा वित्तीय संस्था मर्ज तथा प्राप्तिमा सामेल भएको जनाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै पुस मसान्तसम्म कुल २५५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएको बताएको हो । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७९ पुस मसान्तसम्म कुल २५५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएको राष्ट्र बैंकले उल्लेख गरेको छ । यसमध्ये १८३ संस्थाहरुको इजाजत खारेज हुन गई ७२ संस्था कायम भएका छन् ।

एक वर्षमै तीन संस्थाको सीईओ, मर्जरले बेरोजगार

काठमाडौं । मीन बहादुर बोहरा धौलागिरी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । लघुवित्तमा काम गरेको उनले तीन दशक भयो । यो तीन दशकको अवधिमा उनले विभिन्न आरोह र अवरोहहरु पार गरेका छन् । लघुवित्तमार्फत् नै सयौंलाई रोजगारी दिएका छन् भने हजारौंलाई लघुवित्त व्यवसाय सिकाएका छन् । तर, विडम्वना । तीन दशक समय लघुवित्तमा बिताएका बोहरा जीवनको उत्तरार्धमा बरोजगार बन्दैछन् । वि.स २०२६ साल साउन २० गते डोटीको बडिकेदारमा जन्मेका बोहरालाई लघुवित्तप्रतिको लगाव र झुकाव पृथक किसिमको छ । एउटा मध्यम परिवार । खेति किसानी गरेर गुजारा चलाउने परिवारका लागि बैंक तथा वित्तीय क्षेत्रमा काम गर्नु असामान्य विषय जस्तै थियो । त्यसमाथि पनि सुदूरपश्चिममा लघुवित्तको जग बसाल्न भूमिका खेल्नु पनि असामान्य नै थियो । तर, त्यो आँट गरे मीन बहादुर बोहराले । डोटीमा जन्मे पनि उनको विद्यालय तहको पढाइ कैलालीको धनगढीमा भयो । धनगढीको पञ्चोदय माध्यामिक विद्यालयबाट उनले वि.स २०४४ सालमा एसएलसी (हालको एसईई) पास गरे । प्लसटूको परीक्षा भारतको देहरादूनबाट पास गरेका उनले स्नातक तहको पढाई भने त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कैलालीको धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसबाट पुरा गरे । यो बिचमा अन्य काममा पनि उनी आवद्ध भए । थप अध्ययन गर्नु पर्छ भन्ने हुटहुटी उनको मनमा थियो । स्नातकोत्तर पढ्न उनी भारतको कुमाउ विश्व विद्यालय पुगे । उनले कुमाउ विश्व विद्यालयबाट समाजशास्त्रमा (एमए) पास गरे । एसएलसी पास गरेपछि उनले शिक्षक बनेर पनि काम गरिसकेका थिए । त्यतिखेर आफ्नो तलब ३५० रुपैयाँ रहेको उनी सुनाउँछन् । ‘म एउटा समान्य परिवारको मान्छे, केही गरेर देखाउनु पर्छ भन्ने हुटहुटीमा ममा थियो, गाउँघरमा पढे-लेखेका कोही थिएनन्, त्यसैले पनि एसएलसी लगत्तै काम पाएँ,’ उनले विगत स्मरण गर्दै भने । उनले एक वर्ष अध्यापन गरे । पछि सुदूरपश्चिमको धनगढीमा रहेको ग्रामीण विकास बैंकमा नाम निकाले र वित्तीय क्षेत्रमा आफुलाई अभ्यस्त गर्न अग्रसर भए । त्यतिखेर शेर बहादुर थापा ग्रामीण विकास बैंकमा सञ्चालक थिए । लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाश राज शर्मा सो संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) थिए । उनै शर्मा लघुवित्तमा आफ्नो गुरु भएको बोहरा बताउँछन् । एक वर्षमै ३ संस्थाको सीईओ वि.स २०५० सालबाट सुदूरपश्चिम ग्रामीण विकास बैंकमा सहायक तहबाट बैंकिङ्ग करियर सुरु गरेका बोहराले सो संस्थामा तीन वर्ष काम गरे । पछि उनी पश्चिमाञ्चल ग्रामीण विकास बैंकमा अधिकृतस्तरको सातौं तहमा पास भए । त्यहाँ उनले १० वर्ष काम गरे । लघुवित्तप्रतिको उनको झुकाव बढ्दै थियो । एकपछि अर्को जिम्मेवारी र उपलब्धिले उनलाई थप हौसला प्रदान गर्न मद्दत पुर्याउँदै थियो । १० वर्ष पश्चिमाञ्चल ग्रामीण विकास बैंकमा काम गरेपछि उनकै सक्रियतामा बुटवलमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक स्थापना भयो । उक्त बैंकमा उनी कायममुकायम सीईओसम्म भए । वि.सं २०७० सालमा उनले सो बैंक छोडे । भूकम्पले मानिसमा एक किसिमको सोचाइको विकास गर्यो । पैसा, सम्पत्ति र प्रतिष्ठा क्षणिक हुन् भन्ने त्यो बेला धेरैलाई लाग्यो । हुन पनि हो, हरेक संकट र महामारीले मानिसलाई यस्तै पाठ सिकाउँछ । बोहरा भूकम्प गएको वर्ष (२०७२ सालमा) गाउँमा खेतीपाति गर्न थाले । उनले गाउँ फर्केर कफी खेती सुरु गरे । अहिले उनले सुरु गरेको कफी खेतीबाट उत्पादन भइरहेको छ । उनी तीन वर्ष गाउँमै बसे । तीन वर्षको गाउँ बसाईंपछि उनी पुनः लघुवित्तमै फर्किएको बताउँछन् । उनी वि.स २०७३ सालमा कालिका लघुवित्तको सीईओ बने । साढे ३ वर्ष काम गरेर २०७७ असारमा कालिका लघुवित्त छाडे । त्यसको एक महिना अर्थात् साउन १५ गतेदेखि नेपाल लघुवित्तको सीईओ भए । उनी पुनः त्यही वर्षको चैतबाट धौलागिरी लघुवित्तको सीईओमा नियुक्त भए । वर्षमै तीन वटा लघुवित्तको सीईओ बन्ने दुर्लभ व्यक्ति हुन् बोहरा । कारण थियो मर्जर । उनी कालिकाको सीईओ हुँदा जनसेवी लघुवित्त वित्तीय संस्था मर्ज भयो । नेपाल एग्रो लघुवित्तको सीईओ हुँदा इन्फिनीटी लघसवित्तसँग मर्ज भयो । बैंकिङ क्षेत्रमा ३० वर्ष काम गरेका उनी ५ वटा लघुवित्त संस्थाको उच्च तहमा रहेर काम गरे । अहिले उनी सीईओ रहेको धौलागिरी लघुवित्त खप्तड लघुवित्तसँग मर्जर हुँदैछ । ‘एकै वर्ष तीन वटा संस्थाको सीईओ भएको क्षणलाई अवसरको रुपमा लिएको छु, यस्तो अवसर कमैले पाउँछन्, धौलागिरी लघुवित्त खप्तडसँग मर्ज हुँदैछ, सीईओ बन्ने मन भएमा नपाउने भन्ने थिएन तर अब मलाई सीईओ बन्ने रहर छैन, तीन दशकसम्म लघुवित्तमा काम गरियो, उमेरको उत्तरार्धमा बेरोजगार हुनु पर्यो तर पनि म खुसी छु, अब गाउँ फर्किन्छु,’ उनले निराश हुँदै भने । अविस्मरणीय त्यो क्षण मान्छेको जीवन विभिन्न आरोह र अवरोहहरुले भरिपूर्ण हुन्छ । दुःख र सुखको संगम हो मान्छेको जिन्दगी । ती आरोह र अवरोह मीनबहादुर बोहराको जीन्दगीमा पनि देखा परे । क्यान्सर भएर श्रीमति गुमाउनु परेको पीडा होस् वा केही दिन अगाडि मात्रै जन्म दिने आमा गुमाउनु परेको असह्य पीडा मीनबहादुरले भोग्नु परेको छ । उनको यो कथा लेख्दै गर्दा अहिले उनी आमाको मृत्युको शोकमा छन् । केही दिनपछि बेरोजगार हुँदैछन् । तर, पनि उनको मनमा जागिर गुमाउनेभन्दा पनि श्रीमति र आमा गुमाउनुको पीडा ठूलो छ । कुनै दिन बोहराको जीन्दगी देख्नेहरु र्याल चुहाउँथे । श्रीमति पनि सँगै काम गर्थिन् । तर, श्रीमतिको मृत्युपछि उनको दैनिकी केही ओरालो लाग्यो । उनी भन्छन्, ‘तर, हार भने कहिल्यै खाइनँ ।’ मीनबहादुर बोहराको जीवनमा अनेकन घटनाहरु आइलागे । ती घटनाक्रमहरुले उनलाई कत्ति पनि थकित बनाएन । संघर्षको मैदानबाट उनी बाहिरिएनन् । गाडी दुर्घटनामा परेर पाएको पुर्नजन्मलाई पनि आफ्नो अवीस्मरणीय घटनाका रुपमा लिन्छन् । वि.स २०७५ सालमा उनको गाडीमा दुर्घटना भयो । तर, केही चोटपटक लागेपनि जीवन भने बाँच्यो । उनी त्यो पल स्मरण गर्दै भन्छन्, ‘दुर्घटना हुँदा बाँच्ने आश मारिसकेको थिएँ, तर बाँचे ।’ उनी पटक-पटक मृत्युको मुखबाट फर्केका छन् । वि.स २०७५ भदौमा उनी आँधिखोला र्याफ्टिङमा थिए । उनी चढेको डुंगा पल्टेर ओढारमा पस्यो । अरु साथीहरु बगेर तल पुगे । उनी तालको भूमरिमा फसे । पछि उनको उद्वार भयो । बाँचे । सोही वर्ष उनको बुबाको निधन भयो । यस्ता हण्डर-ठक्करको फेहरिस्थ उनीसँग प्रशस्त छ । देश विदेश भ्रमणका अनुभवहरु उनीसँग छन् । भारत, बङ्गलादेश, थाइल्याण्ड, मलेसिया, सिंगापुर, दुवई, कुवेत, टर्की लगायतका देशहरुमा भ्रमण उनले गरेका छन् । अहिले उनले अर्को विवाह गरेका छन् । उनका जेठी श्रीमतिबाट एउटा र कान्छी श्रीमतिबाट २ वटा छोरा रहेका छन् । जेठो छोरा आईटी इन्जिनियर हुन् । उनी मुक्तिनाथ विकास बैंकको आईटी विभागमा काम गर्छन् । उनका ७ भाई र एक बहिनी छिन् । परिवार ठूलो छ । त्यही परिवारसँगै मिलेर बस्ने उनको अझै चाहना छ । गाउँ फर्केर राजनीति धौलागिरी खप्तडसँग मर्ज भएपछि उनी आफ्नै गाउँ फर्किने योजनामा छन् । गाउँ फर्केर आफ्नै गाउँमा केही गर्ने योजनामा छन् मीनबहादुर । सुदूरपश्चिमलाई लक्षित गरेर सञ्चालनमा रहेको खप्तड लघुवित्त पनि अब गाभिएर आफ्नो अस्तित्व मेटाउँदैछ । त्यसपछि सुदूरपश्चिमलाई लक्षित गरेर सञ्चालनमा रहेका लघुवित्तहरुको संख्या शून्य हुनेछ । उनी अब गाउँ फर्केर राजनीति गर्ने बताउँछन् । उनी जन्मेको गाउँमा सडक, विद्युत सेवा र खानेपानीको समस्या अझै पनि छ । बैंक तथा वित्तीय संस्थाको पहुँच पनि छैन । यी समस्याको समाधानका लागि राजनीति गर्ने उनको योजना छ । सीईओ बोहराको गाउँ । ‘बैशाखमा भएको स्थानीय तहको चुनामा उम्मेद्वार बन्ने मेरो इच्छा थियो तर बनिएन, अब आगामी चुनावका लागि गाउँ फर्किन्छु, तयारी गर्छु, लामो समय बैंकिङ सेवामा रहेर काम गरेँ, अब राजनीति गर्न चाहन्छु, तीन दशकको अवधिमा धेरै पैसा कमाएँ होला, त्यो पैसा जहाँ कमाएँ, त्यहीँ सकेँ, म जन्मेको ठाउँको लागि केही गर्न सकिनँ, अब राजनीति गरेर आफु जन्मेको ठाउँको सेवा गर्न चाहन्छु,’ उनले आफ्नो आगामी योजना सुनाउँदै भने । उनी जन्मिँदा गाउँ जुन अवस्थाको थियो, अहिले पनि हाल उस्तै छ । कुनै पनि परिवर्तन हुन सकेको छैन । बरु उनी खेल्दा हुर्किदा गाउँघरमा एक किसिमको आत्मियता र भाइचाराको सम्बन्ध थियो । छिमेकीहरुले दुःख परेको बेला सहयोग गर्थे । दुःख सुखहरु आदानप्रदान हुन्थे । उनी भन्छन्, ‘अहिले त आफ्नाहरु पनि पराई जस्ता भइसकेछन्, गाउँ बिरानो भइसकेछ, एकले अर्काको मतलब नगर्ने रहेछन् ।’ उनी अब गाउँमै बसेर सामाजिक काम गर्न चाहन्छन् । आफूले जानेका कुरा गाउँघरका दाजुभाइ दिदिबहिनीलाई सिकाउन चाहन्छन् । सर्वसाधारणको पहुँच बैंकसम्म पुर्याउन चाहन्छन् । अब गाउँमै बसेर गाउँकै सेवा गर्न चाहन्छन् मिनबहादुर ।

सानिमा र रिलायन्स लाइफले एकैदिन डाके साधारण सभा, मर्जरको प्रस्ताव पारित गर्ने

काठमाडौं । मर्जर प्रकृयामा रहेका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले एकैदिन वार्षिक साधारण सभा आव्हान गरेका छन् । दुबै कम्पनीले आगामी फागुन १२ गते पाँचौं वार्षिक साधारण सभा डाकेका हुन् । जसमध्ये सानिमा लाइफले सो दिन बिहान ११ बजे धुम्बाराहीस्थित कुण्डलीनी दरबारमा र रिलायन्स लाइफले पनि बिहान ११ बजे नक्सालस्थित लिसारा रिसेप्सन्समा साधारण सभा डोकेका छन् । दुबै कम्पनीको सभाले दुई कम्पनी एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित गर्दै छ । त्यस्तै, मर्जरपछि बन्ने कम्पनीको नाम सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड कायम गर्ने प्रस्ताव रहेको छ । साथै, कम्पनीको अधिकृत पुँजी वृद्धि गरी ५ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव रहेको छ । त्यस्तै, संस्थापक तथा सर्वसाधारण सेयरको अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव छ । उक्त सभामा जाने प्रयोजनको लागि दुबै कम्पनीले आगामी माघ २९ गते बुक क्लोज गर्दै छन् ।

लाभांश र मर्जर प्रस्ताव पारित गर्न लुम्बिनी र सगरमाथा इन्स्योरेन्सले डाके साधारण सभा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्नो वार्षिक साधारण सभा बोलाएका छन् । दुवै कम्पनीको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ११ गते वार्षिक साधारण सभा बोलाएका हुन् । लुम्बिनी जनरल इन्स्योरेन्सको १८ औं वार्षिक साधारण सभा अमृतभोग क्याटरिक डिल्लीबजार काठमाडौंमा र सगरमाथा इन्स्योरेन्सको २६ औं वार्षिक साधारणसभा लैनचौ ब्याङ्क्वेटमा हुने । दुवै कम्पनीको सभाले लाभांश वितरण गर्ने प्रस्ताव र मर्जर प्रस्ताव पारित गर्नेछन् । यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६.९९ प्रतिशत बोनस सेयर र ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । यस्तै, सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १२.४० प्रतिशत बोनस सेयर र ०.६५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, दुवै संस्थाबीच हुने मर्जर प्रस्तावलाई सभाले पारित गर्नेछ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स १००ः८० स्वाप रेसियोमा मर्ज हुनेछन् । सभाले  संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्नेछन् । दुवै संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले माघ २७ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्रै साधारण सभामा सहभागी र लाभांश प्राप्त गर्नेछन् ।