निसानका पूर्व अध्यक्ष जापान अदालतमा उपस्थित, न्यायाधीश सामु के के भने ?

टोकियो । भ्रष्टाचार आरोपमा थुनामा रहेका निसान कम्पनीका पूर्व अध्यक्ष कार्लोस गोउन पहिलो पटक मङ्गलबार टोकियो अदालतमा उपस्थित भएका छन् । अदालतमा बयानका क्रममा उनले आफू निर्दोष रहेको र कुनै अपराध नगरेको दाबी गरेको अदालतले जनाएको छ । गोउनलाई कम्पनीको गलत वित्तीय रिपोर्टिङको आरोपमा गत नोभेम्बर १९ मा पक्राउ गरिएको थियो । “मेरा विरुद्ध लगाइएका आरोपहरु असत्य हुन्, म निर्दोष छु,” गोउनले न्यायाधीश समक्ष भने । न्यायाधीश समक्ष आफ्नो वक्तव्य पढेर सुनाउँदा उनी दृढ र शान्त देखिएका थिए । “मलाई अन्यायपूर्वक आरोपित गरिएको छ ।” सरकारी वकीलहरुले गोउनमाथि कम्पनीको झुटो वित्तीय प्रतिवेदन तयार गरेको आरोप लगाएका छन् । उनीमाथि खासगरी सन् २०१५ देखियता पाँच वर्षको अवधिमा तलब बापत लिएको करिब चार करोड ४० लाख अमेरिकी डलरलाई कम्पनीको वित्तीय विवरणमा समावेश नगरेको आरोप छ । वकिलहरुले वित्तीय सङ्कटका कारण निसानमा गरेको लगानीमा हुने जोखिमलाई विचार गरेर गोउनले आफूलाई सुरक्षित बनाएको आशंका पनि गरेका छन् । कालो सुट र प्लास्टिक चप्पल लगाएर अदालतमा उपस्थित भएका गोउनले आरोप लगाइएका प्रत्येक बुँदाको जवाफ दिएका थिए । उनले आरोपहरुमाथि प्रतिवाद गर्दै भने, “म निसान बीचमै छाड्न पनि सक्दथें, तर कम्पनी छाड्न चाहिनँ ।” “आँधी आएका बेला जहाजको कप्तानले जहाज छाड्दैन,” उनले अदालतमा भने । विश्वकै अटो उद्योगमा चर्चित व्यक्तित्व कार्लोस गोउन विश्व आर्थिक मञ्चदेखि अरु ठूला एवं विशिष्ट मञ्चहरुमा वक्ताका रुपमा रहने गर्थे । तर तिनै विशिष्ट व्यक्तित्व गोउनलाई अदालतमा उपस्थित गराउँदा जापान प्रहरीले हतकडी लगाएको थियो । अदालतभित्रको इजलासमा भने उनको हतकडी फुकालिएको थियो । गोउन निजी जेट लिएर टोकियोमा ओर्लनासाथ प्रहरीले गिरफ्तार गरेको थियो । कार्लोस गोउन फ्रान्सेली नागरिक हुन् । जापानमा शंकास्पद व्यक्तिहरुलाई प्रमाण नष्ट गर्ने वा तोडमोड गर्ने भन्दै जमानत नदिई थुनामा राख्ने प्रचलन छ । मङ्गलबारको सुनुवाईका क्रममा गोउनका एकजना वकिल गो कोन्डोले गोउन विदेशतर्फ भाग्ने खतरा नरहेको दाबी गरे । “गोउन चिरपरिचित व्यक्ति हुन्, त्यसैले भाग्ने सम्भावना नै छैन । उनले प्रमाण नष्ट गर्ने कुनै जोखिम नै छैन ।” गोउनले अदालत समक्ष आफ्नो कार्यकालमा निसान कम्पनीले गरेका उपलब्धिहरुको व्याख्या गरेका थिए । उनले कम्पनीका उत्पादनलाई चीन, रुस, ब्राजिल र भारतसम्म विस्तार गरेको तथा विद्युतीय कार र स्वचालित ड्राइभिङ जस्ता नवीन प्रविधिको प्रयोगमा ल्याएको बताए । उनले भने, “मलाई निसानमाथि साँच्चिकै प्रेम छ ।” रासस\एपी

एउटै माछाकाे मूल्य ३५ करोड, सबैभन्दा महंगाेमा विक्री

काठमाडौं । जापानको टोकियोमा टुना माछाको रु ३१ लाख अमेरिकी डलर (रु.३४ करोड ७२ लाख) मा खरिद गरेका छन् । जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ रहेको छ । यो माछा प्रतिकेजी करिब रु १२ लाख ४९ हजार पर्नेछ । अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना किनबेच भएको थियो । नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो । यो माछा दुई सय ७८ किलोको थियो । विश्वमै लोपोन्मुख प्रजातिको मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो ।“टुना किङ” को नामबाट आफूलाई चिनाउने जापानी नागरिक कियोशी किमुराले सबैभन्दा बढी बोलकबोल गरेका थिए । यस अघि सन् २०१३ मा पनि कियोशीले नै टुनाको सबैभन्दा बढी मूल्य रहेको थियो । पहिले सोचेभन्दा यसपटक टुनाको मूल्य बढी हो, तर हाम्रा ग्राहकले सर्वोत्तम टुनाको स्वाद लिन पाउने जापानमा सुसी रेष्टुराँका मालिक कियोशीले बताएका छन् । रासस/ एएफपी

अमेरिकामा एक महिनामै तीन लाख नयाँ रोजगारी श्रृजना, बेरोजगारी दरमा सुधारको संकेत

वासिङटन । संयुक्तराज्य अमेरिकाको श्रम बजारमा गत डिसेम्बर महिनामा तीन लाख १२ हजार नयाँ रोजगारी सृजना भएको श्रम विभागले जनाएको छ । केही महिनादेखि वालस्ट्रिटमा अशान्त वातावरण देखिए पनि अमेरिकी रोजगारदाताले ठूलो संख्यामा मानिसलाई रोजगारी दिएका छन् । चीनसँगको व्यापारयुद्ध, अर्थतन्त्रमा विश्वव्यापी गतिहीनता तथा अमेरिकी सङ्घीय सरकारी कार्यालयहरुको आंशिक बन्दीबीच पनि श्रम बजारमा व्यापक सुधार आएको श्रम विभागको प्रतिवेदनमा उल्लेख छ । अमेरिकाको बेरोजगारी दर गत महिना केही वृद्धि भई ३ दशमलब ९ प्रतिशत पुगेको थियो, तर त्यसमा पनि सुधारका सङ्केत देखिएको छ । अमेरिकीहरुले कामको खोजीमा बढी ध्यान दिन थालेको श्रम विभागको भनाइ छ । अघिल्लो वर्षको तुलनामा प्रति घण्टाको औसत भुक्तानीमा ३ दशमलब २ प्रतिशतले सुधार आएको छ । श्रम विभागको नयाँ तथ्याँक सार्वजनिक भएलगत्तै शेयर बजारमा पनि सुधार आएको छ । अमेरिका र चीनबीच जारी व्यापार विवाद सुल्झाउने उपायको खोजी गर्न अर्को सातादेखि वार्ता शुरु गर्ने समाचारले पनि बजारमा सकारात्मक सन्देश दिएको छ । अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेलले व्याजदर अरु वृद्धि गर्ने वा नगर्ने बारे बैंकले केही लचक नीति लिने बताएपछि पनि बजारमा सकारात्मक वातावरण बनेको छ । डाउजोन्स औद्योगिक परिसूचक ७४७ विन्दु अर्थात ३ दशमलब ३ प्रतिशतले बढेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै रोजगारी वृद्धिलाई मुक्तकण्ठले प्रशंसा गरेका छन् । रोजगारी वृद्धिले अमेरिकी उपभोक्ताको खर्च गर्ने प्रवृत्तिमा सुधार आएको सङ्केत गर्दछ । गत महिना स्वास्थ्यसेवा र शिक्षा क्षेत्रमा नयाँ ८२ हजार रोजगारी थपिएको छ । विगत नौ वर्षमै यो सबैभन्दा ठूलो बढोत्तरी हो । रेष्टुराँ व्यवसायमा ४० हजार ७०० नयाँ रोजगारी थपिएको छ । निर्माण व्यवसायले ३८ हजार तथा उद्योग व्यवसायमा ३२ हजार नयाँ रोजगारी सृजना भएको छ । व्यवसायीहरुले पनि बढी कामदारको माग गरिरहेका छन् । श्रम विभागका अनुसार सन् २०१८ मा २६ लाख नयाँ रोजगारी सृजना भएको छ, अर्थात् मासिक करिब २ लाख २० हजार रोजगारी थप भएको छ । गत वर्ष डिसेम्बरमा करिब ६३ लाख मानिसले रोजगारीका लागि निवेदन दिएको पाइएको थियो । अघिल्लो वर्षको यही महिना करिब ६५ लाख मानिसले रोजगार खोजी गरेका थिए । रासस/एपी