भाजपाले लोकसेवा चुनावमा उम्मेदवार बनाएको अभिनेत्री कंगना रनौतको सम्पत्ति कति छ ?

काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले बलिउड अभिनेत्री कंगना रनौतलाई आगामी लोकसभा चुनावका लागि उम्मेदवार बनाएको छ । कंगनालाई आफ्नो गृहनगर हिमाञ्चल प्रदेशस्थित मन्डी निर्वाचन क्षेत्रबाट टिकट दिइएको छ । आफ्नो दमदार अभिनयले दर्शकको मनमा अमिट छाप छोडेकी कंगनालाई बलिउडकी महारानी भनिन्छ । उनले सन् २००६ मा अनुराग बासुको फिल्म ग्याङ्स्टरबाट बलिउडमा डेब्यु गरेकी थिइन् । आफ्नो १८ वर्ष लामो करियरमा उनले वो लम्हे, फेशन, राज २, वन्स अपन अ टाइम इन मुम्बई, क्वीन, तनु वेड्स मनु, मणिकर्णिका र पंगाजस्ता धेरै फिल्म दिएकी छिन् । स्पष्टवक्ता र आफ्नो बोल्ड स्टाइलका लागि चर्चित कंगनाको जन्म २३ मार्च १९८७ मा हिमाचलको मण्डी जिल्लामा भएको थियो । उनकी आमा स्कुल शिक्षिका र बुबा व्यवसायी हुन् । कंगनाको परिवार पहिलेदेखि नै राजनीतिसँग जोडिएको छ । उनका हजुरबुवा सरजु सिंह रनौत विधायक थिए । कंगनाले चण्डीगढको डीएभी स्कूलबाट अध्ययन गरेकी छिन् । उनको परिवार उनलाई डाक्टर बनाउन चाहन्थे तर कंगनाले एआईपीएमटी (अहिले नीट) को परीक्षा दिइनन् । उनको सपना अर्कै थियो । यही सपना पूरा गर्न उनी १६ वर्षको उमेरमा घरबाट भागिन् । उनले बिना गडफादर बलिउडमा आफ्नो पहिचान बनाएकी छन् । सुरुमा निकै संघर्ष गर्नुपर्‍यो तर आफ्नो प्रतिभाको आधारमा उनले ठूलो सफलता हासिल गरिन् । कति छ उनको सम्पत्ति ? मिडिया रिपोर्टका अनुसार कंगनाको कुल सम्पत्ति करिब ९० करोड भारु रहेको छ । उनले हरेक फिल्मका लागि २१ देखि २५ करोड भारु लिन्छिन् र बलिउडकी सबैभन्दा महँगो अभिनेत्रीमा गनिन्छिन् । कंगनालाई कार निकै मन पर्छ । उनीसँग एक बीएमडब्ल्यू–७, मर्सिडीज बेन्ज जीएलई एसयूवी, औडी क्यू३ र मर्सिडीज मेब्याक एस–क्लास (मूल्य ७५ लाख) छ । कंगना विलासी जीवन बिताउँछिन् । उनको हिमाचल प्रदेशको मनालीमा ३० करोड भारुको आलिशान बंगला छ । उनीसँग मुम्बईमा पाँच बेडरूमको अपार्टमेन्ट पनि छ जसको मूल्य २० करोड भारु छ । साथै, उनको मुम्बईको पाली हिल क्षेत्रमा ४८ करोड भारुको अफिस छ । मिडिया रिपोर्टका अनुसार उनले फिल्म थलाइवीका लागि २१ करोड भारु पारिश्रमिक लिएकी थिइन् । यसरी उनी बलिउडकी सबैभन्दा महँगो अभिनेत्री बनिन् । टिकट पाएपछि कंगनाले भाजपाप्रति आभार व्यक्त गरेकी छिन् । कंगनाले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘आज भाजपाको राष्ट्रिय नेतृत्वले मलाई मेरो जन्मभूमि हिमाचल प्रदेश मण्डीबाट लोकसभा उम्मेदवार घोषणा गरेको छ । लोकसभा चुनाव लड्ने उच्च कमाण्डको निर्णयलाई म स्वीकार गर्दछु । आधिकारिकरूपमा पार्टीमा सामेल हुन पाउँदा गर्व र उत्साहित महसुस गर्छु । म एक कार्यकर्ता र सार्वजनिक सेवकको रूपमा काम गर्न तत्पर छु ।’ एजेन्सी

भारतमा विदेशी मुद्रा सञ्चिति ६४२.४९ अर्ब अमेरिकी डलर पुग्यो

काठमाडौं । भारतमा विदेशी मुद्रा सञ्चिति मार्च १५ सम्ममा ६४२.४९ अर्ब अमेरिकी डलर पुगेको छ । भारतकाे केन्द्रीय बैंकले यो अहिलेसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति रहेको बताएको छ । भारतको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको यो लगातार चौथो साता हो । भारतीय रिजर्भ बैंककाअनुसार मार्च दाेस्राे सातामा विदेशी मुद्रा सञ्चिति झन्डै ६ अर्ब ४ करोड डलरले बढेको छ । यस हप्तामा विदेशी मुद्रा सम्पत्ति ५६८ अर्ब ३८६ अर्ब डलर रहेको छ भने सुनको सञ्चिति ५१ अर्ब १४ करोड डलर रहेको तथ्यांकले देखाएको छ ।

बजाज अटो क्रेडिटमा थप ३० अर्ब लगानी हुने

काठमाडौं । दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन बजारमा अग्रणी भारतीय कम्पनी बजाज अटोले आफ्नो पूर्ण स्वामित्वमा रहेको वित्तीय संस्था बजाज अटो क्रेडिट लिमिटेडलाई थप विस्तार गर्दैछ । बजाजले आगामी दुई आर्थिक वर्षमा यस इकाईका लागि ३० अर्ब रुपैयाँभन्दा बढी थप लगानी गर्ने छ । बजाज अटो क्रेडिटले व्यावसायिक कारोबार सुरु गरेको र अब विस्तार हुने बजाज अटोका प्रबन्ध निर्देशक राजीव बजाजले बताए । बजाज समूहको कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) लोगो अनावरण गर्न आयोजित कार्यक्रममा उनले भने, ‘लगानी ३० अर्ब रुपैयाँभन्दा बढी हुनेछ ।’ गत वर्ष अगस्टमा भारतीय रिजर्भ बैंक (आरबीआई) बाट इजाजतपत्र प्राप्त गरेपछि बजाज अटो क्रेडिटले १ जनवरी २०२४ देखि कारोबार सुरु गरेको थियो । रेटिङ एजेन्सी क्रिसिलका अनुसार ३१ जनवरी २०२४ सम्म कम्पनीले १ अर्ब ३ करोड रुपैयाँको सम्पत्ति व्यवस्थापन गरिरहेको थियो । उसको कुल सम्पत्ति ७८ करोड रुपैयाँ थियो र ऋण १ अर्ब ५१ करोड रुपैयाँ थियो । ‘कम्पनीले प्रमोटर कम्पनी बजाज अटोबाट १ अर्ब ४५ करोड रुपैयाँको इक्विटी पुँजी प्राप्त गरेको छ र आर्थिक वर्ष २०२५/२६ मा ३३ अर्ब रुपैयाँभन्दा बढी प्राप्त गर्ने अपेक्षा गरेको छ,’ क्रिसिलका एक अधिकारीले भने । क्रिसिलका अनुसार कम्पनीका दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन खरिदका लागि बजाज अटो क्रेडिटले ऋण उपलब्ध गराउने छ र सबै नयाँ कर्जा बजाज अटो क्रेडिटले चरणबद्ध रूपमा उपलब्ध गराउने छ । बजाज फाइनान्सले यसअघि नै बजाज अटो कारखानामा उत्पादन गरेका सवारीसाधनहरू नयाँ कम्पनीमा स्वतः हस्तान्तरण भइरहेका छन् । यो सबै काम जुन २०२५ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ । बजाज अटो क्रेडिट बजाज अटोको पूर्ण स्वामित्वमा रहेको वित्त कम्पनी हो । यसमार्फत बजाज अटोका दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन किन्न आउने ग्राहकलाई ऋण उपलब्ध गराइने छ । अहिलेसम्म यो काम बजाज फाइनान्सले मात्र गर्दै आएको थियो । समूहका दुई एकाइ बजाज फाइनान्स र बजाज हाउजिङ फाइनान्सलाई आरबीआईले माथिल्लो श्रेणीको एनबीएफसीका रूपमा वर्गीकृत गरेको छ । यस श्रेणीमा परेका कम्पनीहरूलाई एनबीएफसीहरूका लागि नियमहरू संशोधन भएको तीन वर्षभित्र सूचीकृत गर्नुपर्ने छ । नयाँ नियम १ अक्टोबर २०२२ देखि लागु भएको छ । बजाज फाइनान्स पहिले नै सूचीबद्ध छ तर बजाज हाउजिङ फाइनान्स अझै स्टक एक्सचेन्जमा छैन । बजाज समूहले आफ्नो हाउजिङ फाइनान्स शाखाको सूचीकरणबाट छुट मागेको छ । बजाज अटो क्रेडिटलाई क्रिसिलद्वारा एएएर/स्थिर/क्रिसिल ए1+ रेटिङ दिइएको छ । रेटिङलाई उचित ठहर गर्दै क्रिसिलले रेटिङ दिँदा कम्पनीले बजाज अटोबाट पूर्ण सहयोग पाउने कुरालाई ध्यानमा राखिएको छ र बजाज अटोका लागि पनि यो निकै महत्वपूर्ण रहेको बताएको छ । साथै, अनुभवी व्यवस्थापन टोली र पर्याप्त पुँजीलाई ध्यानमा राख्दै बलियो रेटिङ दिइएको क्रिसिलको भनाइ छ । बजाज अटोले आर्थिक वर्ष २०२४ को पहिलो ११ महिनामा देशमा २० लाख ६७ हजार ५ सय ८१ दुई पाङ्ग्रे सवारीसाधन बिक्री गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशतले बढी हो । यस अवधिमा कम्पनीले ४ लाख २६ हजार ७ सय ४६ तीन पाङ्ग्रे सवारीसाधन पनि बिक्री गरेको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ६० प्रतिशत बढी हो । चालु आर्थिक वर्ष वैशाखदेखि फागुनसम्ममा कुल २५ लाख ९४ हजार ३ सय दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन बिक्री भएको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले बढी हो । एजेन्सी