हमासले बन्धक बनाएका २४ जना रिहा
तेल अवीव । इजरायली प्रधानमन्त्रीको कार्यालयले गत अक्टोबर ७ को आतङ्कवादी हमलामा हमासद्वारा बन्धक बनाएर हिजो रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । इजरायली प्रधानमन्त्री कार्यालयले हमाससँगको सम्झौताको एक भागका रूपमा उद्धार गरिएकामध्ये ११ विदेशी नागरिक रहेको जानकारी दिएको छ। अमेरिका र कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार उद्धार गरिएका २४ जना हमास बन्धकहरूको सट्टामा इजरायलले ३९ प्यालेस्टिनी बन्दीहरूलाई पनि मुक्त गरेको थियो। ‘इजरायली सरकारले घर फर्केका हाम्रा नागरिकहरूलाई स्वागत गर्छ। इजरायली सरकार सबै अपहरण र बेपत्ता व्यक्तिहरूलाई फिर्ता गर्न प्रतिबद्ध छ,’ प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा छ, ‘हाम्रा नागरिकहरूले प्रारम्भिक चिकित्सा परीक्षण गराएका थिए र उनीहरूका परिवारहरूलाई हाम्रा अधिकारीहरूले उनीहरू फर्केको जानकारी गराएका छन् ।’ इजरायली प्रधानमन्त्री कार्यालयले स्वदेश फर्किएका १३ नागरिकको विवरण पनि सार्वजनिक गरेको छ । घर फर्किएका आशेर परिवारका तीन सदस्य डोरोन कात्ज–आशेर (३४), राज आशेर (४) र अविव आशेर (२) रहेका छन् । त्यसैगरी अलोनी परिवारका रिहा भएका दुई सदस्य ड्यानियल अलोनी (४५) र अमेलिया अलोनी (५) रहेका छन् । उद्धार गरिएका मोन्डर परिवारका रुथ मुन्डर (७८), केरेन मोन्डर ९५४० र ओहद मोन्डर (९) रहेका छन् । उनीहरू बाहेक अन्य पाँच इजरायली नागरिक अदिना मोशे (७२), हाना कात्जिर (७६), मार्गालिट मोजेस (७७), हन्ना पेरी (७९) र याफे अदार (८५) लाई पनि कैदबाट रिहाइ गरिएको थियो। रिहाइ गरिएका बन्धकहरूलाई आफ्ना आफन्तकहाँ फर्कने क्रममा सरकारले सबैको साथ दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि शुक्रबार इजरायली बन्धकहरूको पहिलो समूहलाई इजरायल र हमासबीचको बन्धक सम्झौताको एक भागको रूपमा रेडक्रसका लागि अन्तरराष्ट्रिय समितिका कर्मचारीहरूलाई सुम्पिएको इजरायलको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ। इजरायल र हमासबीच कतारको मध्यस्थतामा भएको युद्धविराम शुक्रबार बिहान ७ बजे (स्थानीय समय) बाट लागू भएको थियो । शुक्रबार बन्धकहरूलाई रिहा गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबाट सबै बन्धकहरूलाई फिर्ता गर्न प्रतिबद्ध रहेको बताएका छन् । सोसल मिडिया प्लेटफर्म एक्स (पहिले ट्विटर) मा पोस्ट गरिएको भिडियो सन्देशमा नेतान्याहुले भनेका छन्– हामीले भर्खरै हाम्रा पहिलो बन्धकहरूः बालबालिका, उनीहरूका आमाहरू र महिलाहरूको फिर्ती पूरा गरेका छौं। त्यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई ‘प्रक्रियाको ससुरुवात’ भनेका छन् । उनले थप आशा व्यक्त गर्दै ‘थुप्रै बन्धकहरू’ आउँदो केही दिनमा उनीहरूको परिवारमा फर्किने बताएका छन् । टाइम्स अफ इजरायलले उल्लेख गरे अनुसार प्रत्येक १० इजरायली बन्धकहरूको लागि थप एक दिन युद्धविरामको विस्तारको बदलामा हमासले थप बन्धकहरूलाई मुक्त गर्नु पर्नेछ । यद्यपि, गत अक्टोबरदेखि हमास आतङ्ककारीहरूले बन्धक बनाएका २४० जनामध्ये रिहा गरिएका बन्धकहरूको सानो सङ्ख्या मात्र हो । रासस
चिनियाँ विदेशमन्त्री चीन-जापान-कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने
बेइजिङ । चिनियाँ विदेशमन्त्री चीन–जापान–कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, राजनीतिक ब्युरोका सदस्य तथा विदेशमन्त्री वाङ यीले चीन, जापान र कोरिया गणतन्त्र (गणतन्त्र कोरिया) बीचको त्रिपक्षीय विदेश मन्त्रीहरूको बैठकमा भाग लिँदै छन् । कोरियाको बुसानमा नोभेम्बर २६ देखि सुरु हुने उक्त बैठकमा विदेशमन्त्रीले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले शनिबार जानकारी दिएका छन् ।
खेत बेचेको १० हजारबाट यसरी बनाए चन्दुभाइले १ खर्बको ‘बालाजी वेफर्स’
एजेन्सी । सन् १९७२ मा भारतका एक किसानले कृषिमा घाटा बेहोर्नुपरेपछि आफ्नो खेत बेच्ने निर्णय गरे । उनले खेत बेचेर आएको १० हजार रुपैयाँ छोराकाे हातमा थमाइदिए । छाेरा थिए चन्दुभाइ विरानी । वर्षा नहुँदा गुजरातमा चर्को खडेरी परेको थियो र त्यसका कारण चन्दुभाइ विरानीका बुबाले खेत बेच्नु नै उचित ठाने । त्यसपछि चन्दुभाइले राजकोटको प्रसिद्ध एस्ट्रोन सिनेमा हलअगाडि नास्ता बेच्न थाले । त्यतिबेला उनले ठूलो परिमाणमा स्यान्डविच बेचेका थिए। यो काममा समस्या थियो किनभने स्यान्डविच बाँकी रह्यो भने केही समयमै बिग्रिन्थ्यो। दोस्रो, सिनेमा हेर्न आउने दर्शकका लागि खाजा बोकेर घर जानुको विकल्प पनि थिएन । त्यसपछि चन्दुभाइको हातमा एउटा खजाना हात पर्यो । र, त्यो थियो– आलु चिप्स । उनले पहिलोपटक सिनेमा हलमा आलु चिप्स बेच्न थाले । यसका लागि चन्दुभाइलाई एउटा कारखाना र मेसिन चाहिएको थियो । बुबाले खेत बेचेर दिएको १० हजार रुपैयाँमा उनले घरमा एउटा सानो कारखाना स्थापना गरे । त्यसपछि उनको कारखानाले उत्कृष्ट चिप्स बनाउन थाल्यो । चन्दुभाइले सिनेमा हलसँगै दुइटा क्यान्टिनमा चिप्स बेच्न थाले । जकोटका कम्तीमा ३० व्यापारीले सिनेमा हल बाहिर चन्दुभाइले उत्पादन गरेको आलु चिप्स खाइरहेका थिए । बिस्तारै उनको व्यवसाय विस्तार हुन थाल्यो र उनले घरबाहिर कारखाना पनि स्थापना गरे । सन् १९८९ मा चन्दुभाइले ५० लाख रुपैयाँ ऋण लिएर गुजरातमा सबैभन्दा ठूलो आलु चिप्स कारखाना स्थापना गरे । उनको ध्यान गुणस्तर, प्रविधि र सरसफाइमा थियो । यसको नतिजा केही दिनमै देखिन थाल्यो । चन्दुभाइले एउटा ठूलो कारखाना स्थापना गरे जहाँबाट हरेक घन्टा २ सय ५० किलो आलुको चिप्स बनाउन सकिन्थ्यो। त्यतिबेला उनले मासिक ३० हजार रुपैयाँ कमाउँदै थिए र यो काम पूरा समय गर्न चाहन्थे । १९९५ मा चन्दुभाइले ‘बालाजी वेफर्स’ कम्पनी स्थापना गरे । बालाजी वेफर्स एस्ट्रोन सिनेमा पछाडिको हनुमान मन्दिरबाट प्रेरणा लिएर सुरु गरिएको थियो । त्यतिबेलासम्म गुजरातमा मात्र नभई देशभरि चिप्सको माग बढ्न थालेको थियो । त्यसपछि बालाजी वेफर्सले नमकिन र अन्य सेगमेन्टमा पनि काम गर्न थाल्यो । चन्दुभाइका चिप्स गुजरातमा उत्कृष्ट स्वादका कारण निकै चर्चित भएका छन् । सन् २००० सम्ममा चिप्स बजारमा बालाजी वेफर्सको ९० प्रतिशत र नमकिन बजारमा ७० प्रतिशत हिस्सा थियो । बालाजी वेफर्सका १ सयभन्दा बढी वितरक, ३० हजार खुद्रा विक्रेता थिए भने उनको मेगा कारखानाले प्रतिघन्टा १२ हजार किलो चिप्स उत्पादन गरिरहेको थियो । चन्दुभाइलाई थाहा थियो कि बालाजी वेफर्सलाई ठूलो कम्पनी बनाउन गुजरात बाहिर पनि जानुपर्छ । त्यसपछि बालाजी वेफर्सले मध्यप्रदेश, महाराष्ट्र र राजस्थानमा काम सुरु गर्यो । उनले हरेक क्षेत्रअनुसार जनतालाई दिने स्वाद पनि फरक–फरक बनाए । जसका कारण बालाजी वेफर्सले तीनवटै राज्यमा ठूलो प्रगति गरेको छ । गुजरातको घृति र महाराष्ट्रबाट चाट चस्का स्वादहरू अन्य राज्यहरूमा बालाजी वेफर्सका लागि सफलताको कथा बने । बालाजी वेफर्सको व्यापार निरन्तर बढ्दै गयो र यो क्रमशः १ अर्ब रुपैयाँबराबरको कम्पनी बन्यो। अंकल चिप्स र लेजसँग प्रतिस्पर्धा गर्न बालाजीले २५ प्रतिशत धेरै चिप्स दिन थाल्यो । बालाजी वेफर्सको यो रणनीतिका कारण पेप्सीले हार स्वीकार गरेको छ । त्यसपछि पेप्सीको बजार हिस्सा १० प्रतिशतले घटेको छ । सन् २०१३ मा पेप्सीले बालाजी वेफर्स किन्न ४० अर्ब रुपैयाँको बोली लगायो । त्यस समयमा बालाजी वेफर्सको आम्दानी वार्षिक १८ अर्ब रुपैयाँबराबर थियो। चन्दुभाइ ठूलो योजनामा काम गरिरहेका थिए र त्यतिबेला उनले पेप्सी र पछि ग्लोबल एफएमसीजी कम्पनी केलोगको प्रस्ताव अस्वीकार गरे । आज बालाजी वेफर्सले वार्षिक ४० अर्ब रुपैयाँबराबर कमाइ गरिरहेको छ । देशभरि चारवटा ठूला कारखाना छन् जहाँ दैनिक ६५ लाख किलो आलु र १ करोड किलो नमकिन उत्पान हुन्छ । चन्दुभाइलाई वेफर्सको सुल्तान (राजा) पनि भनिन्छ।