गाजामा तत्काल युद्धविराम गर्न इजिप्ट र कुवेतको संयुक्त आग्रह

काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र कुवेतका अमिर शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहले मंगलबार गाजा पट्टीमा तत्काल र दिगो युद्धविराम गर्न आग्रह गरेका छन् । इजिप्टको राजधानी कायरोमा भएको भेटवार्तामा दुवै नेताले प्यालेस्टिनी जनतालाई अतिक्रमित क्षेत्रमा सुरक्षित, पर्याप्त र दिगो मानवीय सहायता उपलब्ध गराउने र संयुक्त राष्ट्र सुरक्षा परिषद्का सम्बन्धित प्रस्तावहरू कार्यान्वयन गर्ने आवश्यकतामा जोड दिएका हुन् । दुवै नेताहरुले गाजापट्टी भित्र मानवीय सहायताको प्रवेशलाई सहज बनाउनको लागि संयुक्त राष्ट्र संयन्त्र स्थापना गर्न आह्वान गरे । इजरायली अभ्यासले द्वन्द्वलाई बिस्तार गर्ने र क्षेत्रको सुरक्षा र स्थायित्व र अन्तर्राष्ट्रिय सुरक्षा र शान्तिलाई खतरामा पार्ने भन्दै दुवै नेताले यस्तो कदमबाट निम्त्याउने गम्भीर मानवीय परिणामबारे चेतावनी दिए । दुवै नेताले प्यालेस्टिनी समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले दुई–राज्यीय समाधान कार्यान्वयन गर्न र सन् १९६७ सीमानामा रहेको प्यालेस्टिनी राज्यलाई पूर्वी जेरुसेलमको राजधानी बनाएर आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिए ।

दुई दाजुभाइले एप विकासमा गरेको ‘क्रान्ति’

काठमाडौं । सामान्यतया बालबालिका आफ्नो ग्रेड र स्कुलको कामबारे चिन्तित हुन्छन् । त्यसमा केही बालबालिका असाधारण प्रतिभा भएका पनि हुन्छन् । यस्तैमध्येका दुई बालक जो कक्षा ६ र ८ मा पढ्दा भारतमा कम्पनीको सबैभन्दा कान्छो सहसंस्थापक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन् । त्यस्ता दुई प्रतिभाशाली भाइहरू हुन् श्रवण र सञ्जय कुमारन । उनीहरूले सबैभन्दा कान्छो एप विकासकर्ताको उपाधि हासिल गरे। दुवै ‘३० अन्डर ३०’ को सूचीमा परेका छन् । श्रवण र सञ्जयले सन् २०११ मा चेन्नईस्थित आफ्नो घरबाट गोडाइमेन्सन्स नामक कम्पनी स्थापना गरेका थिए । त्यतिबेला उनीहरू १० र १२ वर्षका थिए । सञ्जयले सीईओको रूपमा काम गरे । जबकि श्रवणले अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । छोटो समयमै दुई दाजुभाइले सातवटा मोबाइल एप विकास गरे । उनीहरूले ५० भन्दा बढी देशमा लोकप्रियता प्राप्त गरे । हजारौं प्रयोगकर्ताहरूले ती एप प्रयोग गरे । बुबाका कारण प्रोग्रामिङमा रुचि बढ्यो उनीहरूको बाल्यकालमा प्रोग्रामिङमा रुचि उनका बुबा कुमारन सुरेन्द्रनका कारण परेको थियो। बुबाबाट सिकेर सानैदेखि कम्प्युटरमा काम गर्न थालेका थिए । दुवैले चार वर्षको उमेरमा पावरप्वाइन्ट प्रिजेन्टेसन (पीपीटी) बनाउन थालेका थिए । कुमारन भाइहरूले विकास गरेको पहिलो एप ‘क्याच मी कोप’ थियो । यो भारतको प्रसिद्ध बाल्यकालको खेल ‘चोर-पुलिस’बाट प्रेरित गेमिङ एप हो । भाइहरूले अन्य एपहरू पनि विकास गरेका छन् । यसमा बाल शिक्षा एप- अल्फाबेट बोर्ड र कलर प्यालेट, आपतकालीन सेवा एप- इमर्जेन्सी बुथ, द प्रेयर एप र गेमिङ एप- सुपरहिरो र कार रेसिङ समावेश छन् । यसबाहेक उनीहरूले १ सय ५० टेस्ट एप पनि बनाएका छन् । दुवै दाजुभाइ अहिले कहाँ काम गर्छन् ? पछि दुवै होनहार भाइहरूले अमेरिकाको टेक्सास ए एन्ड एम विश्वविद्यालयबाट कम्प्युटर विज्ञानको डिग्री हासिल गरे । दुवैको लिंक्डइन प्रोफाइल अनुसार श्रवण हाल सान फ्रान्सिस्कोको सेल्सफोर्समा सफ्टवेयर विकासकर्ताको रूपमा काम गरिरहेका छन् । उही समयमा सञ्जय माइक्रोसफ्टमा सफ्टवेयर इन्जिनियर इन्टर्नको रूपमा काम गर्छन् । एजेन्सी

अस्ट्रेलियामा महिलाविरूद्धका हिंसात्मक गतिविधि नियन्त्रणका लागि प्रतिबद्ध

अस्ट्रेलिया । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले महिलाहरूलाई हिंसात्मक सम्बन्ध छोड्न मद्दत गर्नको लागि नयाँ कोषको घोषणा गरेका छन् । लैङ्गिक हिंसालाई सम्बोधन गर्न सङ्घीय, तथा क्षेत्रीय नेताहरूको आपतकालीन बैठकपछि, अल्बनिजले हिंसात्मक सम्बन्ध छोड्न सघाउने कार्यक्रम स्थापना गर्न पाँच बर्षमा नौ करोड २५ लाख अष्ट्रेलियाली डलरको घोषणा गरेका हुन् । लैङ्गिक हिंसा अन्त्य गर्न माग गर्दै हजारौँ अस्ट्रेलियालीहरूले गरेको प्रदर्शनमा अल्बानीजले क्यानबेरामा प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै महिलाविरुद्धको हिंसालाई राष्ट्रिय सङ्कटको रूपमा वर्णन गरे । राष्ट्रिय न्यायका लागि क्रियाशिल समूह ‘डिस्ट्रोय द जोइन्ट’का अनुसार अस्ट्रेलियामा सन् २०२३ को पहिलो चार महिनामा १२ जनाको मृत्यु भएकोमा सन् २०२४ मा यो सङ्ख्या २८ पुगेको छ । यसअघि बुधबार नै एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री अल्बानिजले महिला र बालबालिकाविरुद्धको हिंसाको रातारात समाधान हुन नसक्ने हृदयविदारक वास्तविकता भएको बताएका छन् । उनले यो घोषणाले कम महिलाहरूले हिंसात्मक सम्बन्धमा फसेको महसुस गर्ने हाम्रो प्रयासलाई सहयोग गर्ने उल्लेख गरे । बुधबारको बैठकमा नेताहरूले डिजिटल समस्या नक्कली पोर्नोग्राफीको सिर्जना र वितरणमा प्रतिबन्धसहित अनलाइन समस्या सम्बोधन गर्न नयाँ उपायहरू कार्यान्वयन गर्न सहमत भएका छन् । डिजिटल सामग्री महिला तथा केटीविरुद्धको दुव्र्यवहारको हानिकारक रूप भएकाले पीडितहरूलाई गहिरो हानि पुर्याउने महान्यायाधिवक्ता मार्क ड्रेफसद्वारा जारी अर्को छुट्टै एक विज्ञप्तिमा जनाए । रासस