सहयोगी विकास बैंकको सिइओमा सुन्दर खड्का नियुक्त
काठमाडौँ । सिटिजन्स बैंकसँग गाभिने समझदारी गरेको सहयोगी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा सुन्दर खड्का नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको असार २२ गते बसेको बैठकले कामु प्रमुख कार्यकारी अधिकृत खड्कालाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव राजेशकुमार मल्किकले जनाएका छन् । सिइओ खड्काले असार २९ गतेदेखि कार्यभार सम्हाल्ने छन् ।
उदयपुर सिमेन्ट उद्योग बन्द, दैनिक रु ७५ लाख क्षति
गाईघाट । नेपालकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । विद्युत् भोल्टेजमा देखिएको समस्याका कारण उद्योग बन्द हुँदा उत्पादन ठप्प भएको हो । उत्पादन ठप्प हुँदा उद्योगलाई दैनिक रु ७५ लाख क्षति भइरहेको छ । विद्युत्को भोल्टेजमा समस्या आएपछि हाइटेन्शन पावरको मोटर सञ्चालनमा हुन नसक्दा उद्योगको उत्पादन बन्द हुन पुगेको सो उद्योगले जनाएको छ । विद्युत्को भोल्टेजमा आएको समस्याका कारण मोटर सञ्चालन बन्द हुन पुगेकाले त्यसको मर्मत र विद्युत् व्यवस्थापन नभएसम्म उद्योग बन्द रहने उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले जानकारी दिएका छन् । पटक–पटक विद्युत् भोल्टेजमा देखिएकोे समस्याले उद्योगलाई नै प्रभावित पारेको छ, भोल्टेजको समस्या कारण बिग्रिएको मोटर मर्मतका लागि बुटवलस्थित नेपाल इञ्जिनीयरिङ एण्ड हाइड्रो वर्कशपमा पठाइएको उनले बताए । दैनिक ८१० मेट्रिकटन सिमेन्ट उत्पादन गर्दै आएको सो उद्योगले डेढ वर्षअघि पनि विद्युत्भार कटौतीका कारण ठूलो घाटामा गएको थियो । रासस
नेपाल एसबीआई बैंकको अध्यक्षमा बिआरएस सत्यनारायण चयन
काठमाडौँ । नेपाल एसबीआई बैंक संचालक समितिको असार १९ गते बसेको बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका सञ्चालक बिआरएस सत्यनारायणलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ । अध्यक्ष बिआरएस सत्यनारायण, एसबिआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एशिया, अफ्रिका तथा अष्ट्रेलियामा रहेका बैंकिङ्गसँग सम्बन्धित मामिला हेर्छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले बैंकका नवनियुक्त संचालक समितिका अध्यक्षसत्यनारायणलाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा विहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।