गोर्खाज फाइनान्सको सीईओमा सन्तोष घिमिरे, सम्हाले कार्यभार
काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई सीईओमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ घिमिरले माघ १९ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने छन् । घिमिरेले आगामी ४ वर्षसम्म संस्थाको संस्थाको सीईओ पदमा रहेर कार्यभार सम्हाल्ने छन् ।
६ सिनियरलाई पन्छाउँदै अधिकारीलाई क्यानको महानिर्देशक बनायो सरकारले
काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् । क्यान अन्तरगतको राष्ट्रिय गौरवका आयोजना निर्देशनालयका निर्देशकसमेत रहेका अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महानिर्देशकमा नियुक्त गरेको हो । रिक्त महानिर्देशक पदमा चारवर्षे कार्यकालका लागि अधिकारी नियुक्त गरिएको हो । चार वर्षे अवधिका लागि महानिर्देशकमा नियुक्त भएसँगै पहिलो पटक क्यानकै इतिहासमा युवाले नेतृत्व गर्न पाएका हुन् । यसअघि १२ औँ तहका उपमहानिर्देशक क्यानको महानिर्देशक हुँदै आएकोमा ११ औं तहका अधिकारी पहिलो पटक महानिर्देशकमा नियुक्त भएका हुन् । ४२ वर्षका अधिकारी प्राधिकरणमा आठौँ तहबाट आन्तरिक खुला प्रतिस्पर्धाबाट ११ औँ तहमा पुगेका हुन् । उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियर पास गरेका छन् । महानिर्देशक बन्न्का लागि क्यानमा १२ औं तहका ६ जना उपमहानिर्देशकले लबिङ गर्दै आएका थिए । जसमा प्रतापबाबु तिवारी, भोला गुरागाईँ, देवचन्द्र लाल कर्ण, हंसराज पाण्डे, गोविन्द दाहाल र प्रेमनाथ ठाकुर प्रतिस्पर्धामा थिए भने निवर्तमान महानिर्देशक राजकुमार क्षेत्रीले कार्यकाल लम्ब्याउने प्रकृयामा थिए ।
आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन
काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक (एमडी) का लागि १७ जनाको आवेदन परेको छ । रिक्त रहेको निगमको एमडीका लागि आवेदन दिने अन्तिम दिन माघ १६ गतेसम्म तोकिएको थियो । तोकिएको अवधिमा १७ जनाको आवेदन परेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको सूचना अनुसार एमडीका लागि जीवनप्रकाश सिटौला, विष्णुवावु मिश्र, हरिभक्त शाही, प्राध्यापक डा लक्ष्मण पौडेल, लोक बहादुर खड्का, लोकराज पाठक, कृष्ण प्रसाद यादव, तारानाथ पौडेल र चित्तरन्जन दासको आवेदन परेको छ । यस्तै, रामदेव यादव, चण्डिका प्रसाद भट्ट, उमेश प्रसाद थानी, पंकजकुमार दास, हरिवशं आचार्य, आनन्दप्रसाद चन्द, भुपेन्द्र प्रसाद अर्याल, सन्जय कुमारको आवेदन परेको मन्त्रालयले जनाएको छ । निगमका तत्कालीन कार्यकारी निर्देशन सुरेन्द्र पौडेल तीन वर्ष कार्यकाल पूरा गरी गत पुस २० गते निगमबाट बाहिरिएसँगै पुस २५ गते एमडीका लागि खुला आवेदन माग गरिएको थियो ।