लगानी सम्मेलनमा उद्योग विभागमार्फत ९ अर्ब १३ करोड लगानी स्वीकृत

काठमाडौं । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि ९ अर्ब १३ करोड रुपैयाँबराबरको लगानी स्वीकृत भएको छ । उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकर सिंह धामीले दिएको जानकारीअनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब, काठमाडौंमा व्यावसायिक भवन निर्माणका लागि ३ अर्ब, संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि ७ करोड ६६ लाख र ललितपुर जिल्लामा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि ६ करोड २५ लाख रुपैयाँबराबर लगानी स्वीकृत भएको छ । विभागले आज स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणालीको उद्घाटन गरेको छ । सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ को पहिलो संशोधन गरी यही वैशाख ७ गते प्रकाशित भएको राजपत्रअनुसार शत्प्रतिशत शेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा संस्थापना भई सञ्चालनमा रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पूँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत निवेदन दिने तथा स्वीकृत गर्ने व्यवस्था कायम रहेको छ । तेस्रो लगानी सम्मेलनलाई दृष्टिगत गर्दै उद्योग विभागले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्नका लागि विद्युतीय प्रणाली तयार गरिसकेको छ । विदेशी लगनीकर्ताले उक्त प्रणालीबाट आजकै मितिबाट आवेदन दिई विदेशी लगानी स्वीकृति गरिएको पत्र इमेलमार्फल आवेदन दिने बित्तिकै प्राप्त गर्न सक्नेछन्भने सोही आधारमा कम्पनी दर्ता गर्न सक्नेछन् । सूचना प्रविधिमा आधारित उद्योगहरुका लागि स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्यूनतम सीमा लागू गरिएको छैन । उक्त स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत हुँदा लगानीकर्ताको समय र खर्चको बचत हुन गई लगानीको वातावरण बढ्ने अपेक्षा गरिएको छ ।

अटोमेटिक रुटमार्फत विदेशी लगानी स्वीकृत हुने

काठमाडौं ।  स्वचालित मार्ग (अटोमेटिक रुट) बाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था कार्यान्वयनमा आएकाे छ । उद्योग विभागले अटोमेटिक रुटमार्फत कुल पूँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसाय र विदेशी लगानी गर्न सकिने उद्योग व्यवसायसम्बन्धी आवेदन र स्वीकृत विद्युतीय अटोमेटिक रुटमार्फत गर्ने प्रक्रिया सुरु गरेको हो । स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृतिसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले विभागले ऐन तथा नियमावली अनुसार विदेशी लगानीको स्वीकृतिको लागि आवश्यक पर्ने विवरण र कागजात विद्युतीय प्रणालीमार्फत गर्न सकिने सुविधा उपलब्ध गराइएको हो । यसै प्रक्रियामार्फत कम्पनीसमेत दर्ता गर्न पाइने भएको छ । तेस्रो लगानी सम्मेलनलाई ध्यानमा राखेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो सुविधा ल्याएको हो । यो प्रणालीमार्फत लगानी सम्मेलनमा ९ अर्ब १३ करोड रुपैयाँ विदेशी लगानी सूचीकृत भएको छ ।

नेपालमा लगानी गर्नुस्, सहकार्यका लागि हामी तयार छौं : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्तालाई आग्रह गरेका छन् । आइतबारदेखि काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रमा लगानी सम्भावना रहेको बताउँदै नेपाल नयाँ लगानीको गन्तव्य बन्न सक्ने बताए । विश्वका उदाउँदा ठुला अर्थतन्त्र, चीन र भारतको बिचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने बताएका छन् । नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्दै विश्वभरबाट जम्मा भएका करिब दुई हजार लगानीकर्तालाई उनले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहमामा लगानीको सम्भावना रहेको बताए । अध्यक्ष ढकालले हालै नेपाल सरकार र भारत सरकारबीच सम्पन्न दीर्घकालीन विद्युत व्यापार सम्झौताको स्मरण गर्दै यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहूच पुर्‍याउने बताए । त्यसैगरी उनले अर्को छिमेकी मुलुक बंगलादेशसँगको विद्युत व्यापार सम्झौता अन्तिम चरणमा रहेको उल्लेख गरे । उनले नेपालको सांस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, युवा तथा ऊर्जाशिल जनशक्तिको पनि उचित लाभ लिन नेपालमा पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्न सकिने बताए । ‘अर्को महत्वपूर्ण र सम्भावना भएको क्षेत्र दक्ष जनशक्तिको उत्पादन हो । यसका लागि नेपालमा उच्चस्तरको प्राविधिक स्कूल स्थापना गर्नुपर्ने हुन्छ जसले नेपालमा रहेको दक्ष श्रमशक्तिको अभावलाई मात्र समाधान गर्ने छैन मुलुकबाट वैदेशिक रोजगारका लागि जाने ठूलो जनशक्तिलाई दक्ष बनाई उनीहरूको क्षमता अभिवृद्धि गर्दै विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सको रकम पनि बढाउन सहयोग पुग्नेछ,’ ढकालले भने । हालै नेपाल सरकारले अध्यादेशमार्फत लगानीका लागि बाधक ठानिएका केही पुराना कानुनहरू संशोधन गरेको सन्दर्भ उल्लेख गर्दै महासंघसँगको सहकार्यमा नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको समेत उनले उल्लेख गरे । त्यसैगरी, महासंघको पहलमा दुई पक्षीय लगानी (बीआईए) फ्रेमवर्क तयार भई मन्त्रिपरिषदबाट पारित समेत भइसकेको छ । यसले पनि वैदेशिक लगानीको सुरक्षा र लगानीको वातावरण निर्माणमा सहयोग पुग्ने उनले बताए । मलुकमा लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासंघले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले महासंघले केही समय पहिले भारतको नयाँ दिल्ली, चीनको बेइजिङ र युएईको दुवईमा विजनेस समिटको आयोजना गरेको बताए । उनले महासंघ नेपालमा कुनै पनि लगानीकर्तालाई आवश्यक सहजीकरण गर्न तयार रहेको बताउँदै नेपाली लगानीकर्ताहरू विदेशी लगानीको साथ नेपालमा हुने लगानीमा कुनै पनि क्षेत्रमा साझेदारीका लागि तयार रहेको समेत बताए । उनले विदेशी लगानी पुँजी र प्रविधि भित्र्याउन मात्र नभई मुलुक भित्र राजस्व वृद्धि, रोजगारी सृजना र उत्पादन बढाउदै मुलुकलाई आर्थिक विकास र सम्मृद्धिको यात्रामा अगाडि बढाउन आवश्यक रहेको बताए ।