नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह
वासिङ्टन डिसी । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपामला प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्व समुदायलाई आग्रह गरेका छन् । बुधबार यहाँ विभिन्न फोरममा सहभागी भएका साथै पदाधिकारीहरुसँगको भेटघाटका क्रममा उनले नेपालमा हाल लगानीमैत्री वातावरण रहेको तथा वैदेशिक लगानीका लागि आवश्यक पर्ने कानुनहरुमा पनि संशोधन भएकाले लगानीका लागि सो आग्रह गरेका हुन् । अध्यक्ष ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले आवश्यक समन्वय गर्ने पनि उनीहरुलाई आस्वस्त पारे । अन्तर्राष्ट्रिय वित्त निगम आइएफसीका दक्षिण एसिया निर्देशक इमाद फाकुरीसँग उनले बुधबार गरेको भेटवार्तामा अध्यक्ष ढकालले निगमले नेपालको निजी क्षेत्रलाई कसरी सबलीकरण गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए । सो भेटका क्रममा विश्वमा कोरोना महामारी र रुस युक्रेन युद्धपछि देखिएको आर्थिक मन्दीको अवस्था तथा यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव एवं नेपालको अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा पनि कुराकानी भएको बताए । सो भेटपछि राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै अध्यक्ष ढकालले भेटको अवसरमा निगमका कार्यकारी निर्देशकसँग नेपालको जलविद्युत्, पर्यटन पूर्वाधार तथा सूचना प्रविधिलगायतका क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्यका विषयमा पनि छलफल भएको जानकारी दिए । नेपालका यी क्षेत्रमा लगानीका लागि आफूले विश्व समुदायलाई आग्रह गरेको उनको भनाइ थियो । सो भेटमा आइएफसीका अधिकारी र महासंघका प्रतिनिधिको पनि सहभागिता रहेको थियो । त्यसैगरी अध्यक्ष ढकालले बुधबार नै ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टका कार्यकारी निर्देशक समिर अभयङकर र इन्भेस्टमेन्ट निर्देशकसँग पनि भेटवार्ता गरेका थिए । सो भेटका क्रममा पनि उनले नेपालको पर्यटन जलविद्युत् तथा पूर्वाधार निर्माणमा कसरी लगानी अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताए । अध्यक्ष ढकालले उनीसँग नेपालमा लगानीका प्रसस्त सम्भावना रहेकाले पर्यटन, जलविद्युत्, सूचना प्रविधि एवं ‘हस्पिटालिटी’ का विविध क्षेत्रमा लगानी गर्न आग्रह पनि गरेका थिए । उनले नेपालमा लगानी सम्मेलन सम्पन्न भएपछि नयाँ नयाँ क्षेत्रमा लगानीका लागि वैदेशिक लगानीकर्ता आकर्षित भएका पनि सो अवसरमा जानकारी दिएका थिए।
पहिलो छड निर्यातकर्ता श्री स्टीलको ६ अर्ब व्यापार, यस्तो छ पाँच वर्षको आम्दानी
काठमाडौं । श्री स्टील उद्योगले करिब ६ अर्ब रुपैयाँको व्यापार गरेको छ । उद्योगले सन् २०२४ को अपरिष्कृत वित्तीय विवरणअनुसार उद्योगले ५ अर्ब ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । उद्योगले सन् २०२३ मा ७ अर्ब ४ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । उद्याेगकाे एक वर्षको अवधिमा २ अर्ब बढी कम व्यापार भएको हो । त्यो भनेको २८.८९ प्रतिशत कम हो । यस्तै, सन् २०२२ मा ६ अर्ब १३ करोड ८० लाख, सन् २०२१ म ७ अर्ब ४६ करोड ७० लाख र सन् २०२० मा ३ अर्ब २५ करोड ८० लाख रुपैयाँ व्यापार गरेको जनाएको छ । सन् २०१६ मा स्थापित यो स्टील उद्योगको वार्षिक १ लाख ५० हजार मेट्रिक टन उत्पादन क्षमता छ । तीनवटा व्यावसायिक समूहका ८ जनाको लगानी रहेको यो उद्योगमा सिद्धार्थ ग्रुपको ४३ प्रतिशत, केडियो ग्रुपको २२ प्रतिशत र मुरार्का समूहको २१ प्रतिशत सेयर स्वामित्व छ । उद्योगमा जगदम्बा इनभेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनीको १४ प्रतिशत सेयर स्वामित्व छ । उद्योगले ५ अर्ब ७८ करोड ६० लाख रुपैयाँ ऋणका लागि रेटिङ पनि गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले दीर्घकालीन कर्जा १ अर्ब ३३ करोड ८० लाख र अल्पकालीन कर्जा ४ अर्ब ४४ करोड ८० लाख रुपैयाँका लागि रेटिङ गरेको छ । इक्राले उद्योगलाई ए फोर रेटिङ प्रदान गरेको छ । यस उद्योगको नेतृत्व जगदीशकुमार अग्रवालले गरिरहेका छन् । उनी कम्पनीको सञ्चालक समितिको अध्यक्ष हुन् । उनी अर्घाखाँची सिमेन्टका अध्यक्ष पनि हुन् । उनको उत्पादन, खानी, बैंक तथा बीमा, हस्पिटालिटी, उर्जा तथा घरजग्गा क्षेत्रमा लगानी छ । श्री स्टील्सले टीएमटी छड पनि भारत निर्यात गरिरहेको छ । यस उद्योगले २०७९ को साउनमा भारतमा छड निर्यात गरेर पहिलो स्टील निर्यातकर्ता बनेको थियो । सुरुआतमा यस उद्योगले ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगन्जको कुन सेरवामा निर्यात गरेको थियो । यस उद्योगले नेपालमै पहिलो पटक भूकम्प र अग्नि प्रतिरोधात्मक मानिने जापानी प्रविधिको स्वचालित प्लाण्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको दाबी गरेको छ ।
हेटौँडा सिमेन्ट उद्योगले तिहारपछि सिमेन्ट उत्पादन गर्ने
काठमाडौं । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापन पक्षले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भएको छ । उद्योगका विभिन्न उपकरण मर्मत गर्नुपर्ने भन्दै व्यवस्थापनल पक्षले असोज १५ गतेदेखि उत्पादन बन्द गरेको हो । उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणहरुको मर्मत कार्य भइरहेको र तिहारसम्ममा मर्मत सकिएपछि पुनः सिमेन्ट उत्पादको कार्य सुरु गरिने उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मतसम्भारमा समय लागेको उनको भनाइ छ । अध्यक्ष भण्डारीले मर्मतसम्भारको काम तीव्र रुपमा भइरहेकाले छिट्टै सकिने र त्यस लगत्तैबाट उत्पादन सुरु गर्ने तयारी भएको बताए । ‘हामीसँग कच्चा पदार्थको अभाव छैन्, उद्योगलाई चाहिने करिब चार सय मेट्रिक टन कोइला मौज्दात छ,’ अध्यक्ष भण्डारीले भने । थप कोइला खरिदको प्रक्रिया अघि बढिसकेकाले कोइलाको समस्या नहुने उनको भनाइ छ । आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो । भदौ महिनाको तेस्रो सातादेखि सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए । विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।