बुद्ध एयरमा स्याल ठोक्कियो, अप्रिय घटना हुनबाट जोगियो

भदौ २९, भदौ । विराटनगरबाट आउँदै गरेको बुद्ध एयरको एटीआर ७२ विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा मंगलबार साँझ स्याल ठोक्एिको छ । जहाज अवतरण गर्न कोटेश्वरतर्फको अन्तिम ट्याक्सी–वे ( पार्किङ) मा छिर्दै गर्दा स्याल ठोक्किएको हो । स्याल ठाउँको ठाउँ मरेको छ । गुडिरहेको विमानका चालक शैलेश महतले एयर ट्राफिक कन्ट्रोलरलाई आफ्नो जहाजले ट्याक्सी–वेमा पस्दै गर्दा स्यालसँग ठोकिएको जानकारी गराए । चालकको जानकारीपछि विमानस्थलको रात्री सिफ्टका कर्मचारी र शुरक्षाकर्मी घटनास्थल पुगे । बुद्ध एयरको उक्त विमान र यात्रुलाई केही भएन । बुद्ध एयरका प्रबन्धक रुपेश जोशीका अनुसार, चालकले धावनमार्गमा दुइटा स्याल ककपिटबाट चालकदलले देखेका थिए । तीमध्ये एउटा स्याल जहाजमा ठोक्किएर घटनास्थलमै मृत्यु भयो । यो घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार दोस्रोपटक पुनस् बन्द हुन गयो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार, बुद्ध एयरको विमानमा स्याल ठोकिएपछि विमानस्थल २२ मिनेट बन्द गर्नुपर्‍यो । ‘धावनमार्गमा रगतैरगत थियो, ७ बजेर ३१ मिनेटदेछि ७ बजेर ५३ मिनेटसम्म धावनमार्ग बन्द गर्नुपर्‍यो,’ उनले भने । यो घटनाका कारण ओमनको राजधानी मस्कटबाट काठमाडौं अवतरण गर्नै लागेको ओमन एयरको विमान भारतको लखनउ डाइभर्ट भयो । ‘जहाज होल्ड गर्न प्रयाप्त तेल थिएन, पाइलटले होल्डमा बस्नु भन्दा लखनउतर्फ जहाज फर्काए,’ ओमन एयरका काठमाण्डु एयरपोर्ट सर्भिस म्यानेजर भरत श्रेष्ठले भने । ‘होल्डमा बस्नका लागि आठ मिनेटभन्दा बढीका लागि इन्धन थिएन,’ श्रेष्ठले भने । यहीबेला कतारको राजधानीबाट आएको कतार र इतिहाद एयरलाइन्सका दुइटा विमान होल्डमा रहेको समाचार बुधबारको कान्तिपुर दैनिकमा छापिएको छ ।

उपलब्धी विहिन प्रतिष्ठानका नाममा करोडौं निकासा, बजेट राख्ने व्यवस्था नै खारेज हुनुपर्ने माग

काठमाडौं २७, भदौ । विभिन्न संस्कृति, संरक्षण र स्मृति प्रतिष्ठानका नाममा वार्षिक करोडौ रकम निकासा हुने गरेको छ । नेपालको ७५ वटै जिल्लामा हुने यस्तो प्रतिष्ठानका नाममा जाने रकम अनावश्यक खर्च र राज्यलाई भार हुँदै गएको बन्दै खारेजै गर्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् । फाइल फोटो सरकारले वार्षिक रुपमा खर्च गर्ने यस्तो रकम अनुत्पादक क्षेत्रमा गएको, खर्च हुँदा पनि महत्व नराख्ने र नहुँदा पनि असर नपर्ने भएकोले प्रतिष्ठानका नाममा रकम निकासा गर्ने प्रणाली नै खारेज गर्नुपर्ने उल्लेख छ । सरकारले अनावश्यक रुपमा खर्च गर्ने यस्तो प्रतिष्ठानको रकम दुई पाँच लाखदेखि एक डेढ करोड रुपैयाँसम्म माग हुन थालेको पर्यटन मन्त्रालयको भनाइ छ । पर्यटन मन्त्रालयको संस्कृति प्रवद्र्धन महाशाखाका अनुसार हरेक वर्ष बढ्दै जान थालेको प्रतिष्ठानको रकम अहिले ६० करोड रुपैयाँ भन्दा बढी रहेको छ । मन्त्रालयमा ७५ वटै जिल्लाबाट आउने मागका आधारमा सरकारले वार्षिक बजेटमै राख्ने गरेको छ । बजेटमै प्रतिष्ठानलाई ५० करोड सरकारले सिमित प्रतिष्ठानका नाममा खर्च गर्न चालू आव २०७३/७४ को बजेटमार्फत नै ५० करोड रुपैयाँ विनियोजन गरेको छ । पुष्पलाल, वीपी कोइराला, मदन भण्डारी, मनमोहन अधिकारी, गणेशमान सिंह, जीवराज आश्रित, तुलसीलाल अमात्य, गिरिजाप्रसाद कोइरालसहितका विभिन्न क्षेत्र र स्थानका २३ जनाका नाममा ५० करोड रुपैयाँ विनियोजन गरेको छ । यो रकम एउटा प्रतिष्ठानका लागि कम्तिमा २ करोड रुपैयाँ पर्ने गरी विनियोजन भएको छ । सरकारले औपचारिक रुपमा बजेटबाटै निकास गरेको बाहेक पर्यटन मन्त्रालयको संस्कृति महाशाखा, विभिन्न संस्कृत तथा प्रतिष्ठानबाट जाने रकमसमेत गर्दा अर्को ५० करोड पुग्न सक्ने मन्त्रालयकै भनाइ छ । मन्त्रालय अन्तर्गतको विभिन्न प्रतिष्ठानमा पनि उत्ति नै खर्च हुने गरेको र माग आउने गरेकोले यस्तो रकम निकासा गर्नुको साटो बन्द नै गर्नु उपयुक्त भएको मन्त्रालयका ७५ वटै जिल्लामा विभिन्न प्रतिष्ठान रहेका छन् । ती प्रतिष्ठान सबैले रकम माग्ने थलो नै पर्यटन मन्त्रालयको संस्कृति महाशाखा हुन थालेको पनि मन्त्रालयको भनाइ छ । मन्त्रालयले कसैलाई पनि रकम नदिन र प्रष्ठिानका नाममा जाने रकम नै खारेज गर्ने प्रस्तावलाई अर्थ मन्त्रालय तथा योजना आयोगसमक्ष माग गर्ने भएको छ । सरकारले नियमित रुपमा विनियोजन गर्ने बजेट बाहेक सरकारी निर्णयबाट पनि यस्तो रकम दिने गरेको छ । यस अघि केपी शर्मा ओलीले आदित्य प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिएका थिए । पूर्व अर्थमन्त्री शंकर पोखरेलले पनि भक्तपुरको श्यामा श्याम धामलाई दुई करोड रुपैयाँ विनियोजन गरेका थिए । यस्तो रकम पनि करोडौ रुपैयाँ जाने अनुत्पादक क्षेत्रमै खर्च हुने गरेको छ । ओलीकै सरकारले नै जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खोल्न १६ करोड रुपैयाँ दिने भनेपछि विवादमा परेको थियो । यो प्रतिष्ठानलाई चालू आवमा अर्थ मन्त्रालयले नौ कोड रुपैयाँ विनियोजन गरेको थियो । यो प्रतिष्ठान पछिल्लो समयमा निकै विवादित प्रतिष्ठान पनि हो । पर्यटन मन्त्रालयका अनुसार प्रतिष्ठानका नामा पैसा दिँदै जाने हो भने ७५ जिल्लाका सबै नागरिकले आफन्तका नाममा जसले पनि प्रतिष्ठान खोल्न सक्छ । सरकारले पैसा दिइहाल्छ प्रतिष्ठान खोलौ भन्ने जमानत पनि बढ्दै जाने उल्लेख छ । संस्कृतिका उपब्धी विहिन आयोजनालाई ३० करोड संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृति महाशाखा अन्तर्गत खर्च गर्ने गरी मठमन्दिर तथा पाटीपौवाका लागि साढे चालू आवमा ३० करोड रुपैयाँभन्दा बढि रकम विनियोजन गरेको छ । मन्त्रालयले चालू आथिर्क वर्षको लागि विनियोजन गरेको यो रकममा ७५ वटै जिल्लाका मठमन्दिर तथा पाटिपौवासहितका धार्मिक आस्थाका आधारमा बजेट खर्चने भएको छ । मन्त्रालयले विनियोजन गरेको यस्तो रकम अघिल्लो वर्षको तुलनमा करीब दोब्वर भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका एक उच्च अधिकारीको अनुसार खर्च शीर्षक नम्बर ११३ को यो रकम उपलब्धी बिहिन हो । सरकारले हरेक वर्ष विनियोजन गर्ने संस्कृति मशाखाका अन्तगर्त खर्च गर्ने मठमन्दिरको रकम कुनै पनि वर्ष उपलब्धी हुँदैन । राजनीतिक दबाव र स्थायिनको चित्त बुझाउन मात्रै यस्तो रकम विनियोजन हुने गरेको पनि मन्त्रालयको भनाइ छ । कुनै उपलव्धी नुहने यस्तो रकम स्वाथै स्वार्थको बजेट भएको मन्त्रालयका ती अधिकारीको दाबी छ । धार्मिक गुरुका नाममा ठूलाठूला चेला बनेर बजेट सक्ने र कागज मिलाएर खाने वाहेक यो मठमन्दिरको बजेटले कुनै उपलब्धी हुँदैन । । एक लाखदेखि एक करोडमम्म विनियोजन हुने यस्तो रकम समम्वन्धित क्षेत्रमा पुग्ने र कुनै उपलब्धी देखिने आधार अहिलेसम्म फेला नपरेको भएपनि राजनीतिक दबाब कारण बजेट विनियोजन हुने गरेको छ।

निगमको एयरवस दिल्लीमा आकस्मिक अवतरण, प्राविधिक समस्या आएको निगमको भनाइ

काठमाडौं २७, भदौ । दिल्लीबाट काठमाडौं आउनेक्रममा नेपाल वायुसेवा निगमको एउटा जहाजमा प्राविधिक समस्या आएका कारण दिल्लीमै आकस्मिक अवतरण भएको छ । १६० यात्रु लिएर राति ८ बजे काठमाडौंका लागि उडेको आरए २१८ विमानमा समस्या आएको कारण आकस्मिक अवतरण भएको वायुसेवा निगमको काठमडौंस्थित विमानस्थलका कर्मचारीले जानकारी दिए । यो जहाज उडेको ३२ मिनेटमै विमानमा समस्या आएपछि भारतको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा आकष्मिक अवतरण गरिएको उल्लेख छ । विमानमा समस्या आउने वित्तिकै पाइलटले दिल्ली एयर ट्रफिक कन्ट्रोलमा जानकारी गराएका थिए । त्यसपछि विमानलाई फर्काएर इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमै अवतरण गरिएको उल्लेख छ । विमानको पखेटा नखुलेपछि विमानको अवतरण गरिएको थियो । अवतरण गर्ने क्रममा विमानको टायरसमते पड्किएको जानकारी निगम कर्मचारिले दिएका छन् । विमानमा देखिएको यो समस्या सामान्य भएकोले कुनै ठूलो क्षति नभएको पनि उल्लेख छ । समस्याको समाधान भएपनि जहाज तुरुन्तै काठमार्डौं आउने पनि निगमले जानकारी दिएको छ । निगमको काठमाडौं दिल्ली उडान दैनिक दुई वटा छ । विहान र बेलुका दैनिक उडान निगमले दिल्लीका लागि गर्छ । एउटा जहाजमा समस्या आएपछि निगमको सोमबारदेखिका अधिकांशक उडान प्रभावित हुने पनि उल्लेख छ ।