वैकल्पिक बजारकाे खाेजिमा वायु सेवा कम्पनी

काठमाडौं । कोरोना भाइरसको सन्त्रासका कारण विदेशी पर्यटक घटेपछि मुलुकको आन्तरिक उडानमा रहेका वायु सेवा प्रदायक कम्पनीले वैकल्पिक बजारको खोजी सुरु गरेका छन् । कोरोना हल्लाले सबैभन्दा बढी पर्यटन क्षेत्रलाई असर पार्ने खतरा देखेका व्यवसायीले पर्यटनसँग प्रत्यक्ष सरोकार राख्ने ठूलो लगानी भएको हवाई क्षेत्रले बढी मार खेप्नुपरेको जनाएका हुन् । मुख्य पर्यटकीय याममै कोरोनाको त्रासले पर्यटन क्षेत्रलाई नराम्रोसँग प्रभाव पारेको छ । होटल क्षेत्रमा धमाधम बुकिङ रद्द भइरहेको छ भने हवाई क्षेत्रमा पनि व्यवसाय ह्वात्तै घटेको छ । कोरोनाको सबैभन्दा बढी प्रभाव नेपालको पर्यटन क्षेत्र त्यसमा पनि हवाई उद्योगमा पर्ने भएकाले वैकल्पिक बजारको खोजी थालिएको वायु सेवा सञ्चालक संघका महासचिव योगराज कँडेल शर्माले बताए । हेली एभरेष्टका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका शर्माले हवाई क्षेत्रमा पनि सबैभन्दा बढी हेलिकप्टर व्यवसाय मारमा परेको बताए । वसन्त ऋतुको अगाडि आरोही लगायतका विदेशीले धमाधम बुकिङ रद्द गरिरहेको उनले जानकारी दिए । हेली एभरेष्टको मात्रै १३२ बुकिङ भएकामा ५२ वटा रद्द भइसकेका छन् । सोही अनुपातमा अन्य हेलिकप्टरको पनि बुकिङ रद्द हुनेक्रम बढेको संघले जनाएको छ । अहिले सार्वजनिक सेवामा रहेका १० हेलिकप्टर कम्पनीका ३३ हेलिकप्टर छन् । यी मध्ये ३० हेलिकप्टर उडानयोग्य छन् । अहिले देनिक १–२ वटा मात्र उडान भइरहेको ती कम्पनीहरुले बताएका छन् । त्यसैगरी, जहाजतर्फ आन्तरिक उडानमा ९ वायु सेवा प्रदायक कम्पनीले उडान गरिरहेका छन् । महासचिव शर्माका अनुसार अघिल्लो वर्षको तुलनामा अहिले कोरोनाको हल्लाले दैनिक औसतमा ३ हजार यात्रु घटेका छन् । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा यो संख्या दैनिक ४ हजारबाट बढाएर ७ हजार पु¥याउने योजना थियो । सबैभन्दा बढी हेलिकप्टरको ५० प्रतिशतभन्दा बढी उडान कटौती भएको छ । जहाजतर्फ ठूला वायु सेवा कम्पनी बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स लगायतको उडान संख्या सन्तोषजनक रहे पनि डलर यात्री घटेपछि आर्थिक कारोवार ह्वात्तै घटेको महासचिव शर्माको भनाइ छ । विदेशीको चहलपहल घटेपछि देशका प्रमुख पर्यटकीय गन्तव्यमा व्यावसायिक सम्भावनाको खोजीका लागि प्याकेज बनाएर सहुलियत मूल्यमा हेलिकप्टर तथा जहाज सञ्चालन गर्ने योजना बनाइएको संघले जानकारी गराएको छ । व्यवसायीले उपत्यकाको पर्यटकीय क्षेत्र चन्द्रागिरि हिल्सबाट हेलिकप्टर चढेर काठमाडौँ उपत्यका राउन्ड लगाउन १० हजार रुपैयाँको प्याकेज बनाएर उडान अनुमतिका लागि नियामक प्राधिकरणलाई पत्राचार गरिएको महासचिव शर्माले जानकारी दिए । त्यसैगरी, मुख्य पर्यटकीय क्षेत्र पोखरा लगायतका गन्तव्यमा पनि यस्तो प्याकेज बनाइनेछ । आन्तरिक गन्तव्यमा जाने यात्रुलाई विशेष छुट ‘अफर’ लगायत व्यवस्था गरिने व्यवसायीको भनाई छ । अहिलेको अवस्था निरन्तर रहे हेलिकप्टर तथा जहाज ग्राउण्डेड गर्न बाध्य हुने बताउँदै संघका महासचिव शर्माले अहिले कम्पनी बचाउनका लागि खर्च कटौती र विभिन्न तौरतरिका अपनाइएको उल्लेख गरे । उनले भने, “कोरोना प्रभावले हवाई क्षेत्रमा अबको ३ महिनामा ४ अर्ब क्षति हुने अनुमान गरेका छौँ, अहिले जहाजको इन्सुरेन्स तिर्न र मर्मत खर्च निकाल्न धौधौ परेको छ । त्यसैले हवाई उद्योग बचाइदिन सरकारलाई गुहारेका हौँ ।” लाखौँ रुपैयाँ खर्चेर नेपाल आउने विदेशी जोखिमयुक्त देशको यात्रा गर्न रुचाउँदैनन् । त्यसको प्रत्यक्ष असर हवाई क्षेत्रमा पर्ने व्यवसायीको भनाई छ । वायु सेवा सञ्चालक संघले यही फागुन २३ गते विज्ञप्ति निकालेर कोरोना भाइरसको हल्लाका कारण आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घटेको जनाएको थियो । नेपालको आन्तरिक उडानमा कोरोनाको प्रभावका कारण करिब ४ अर्ब क्षति हुने संघको अनुमान छ । अहिले प्रतिमहिना आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घटेको दाबी गरिएको छ । अबको ३ देखि ६ महिना यसको असर थप देखिने व्यवसायीको आँकलन छ । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण देखिएको छैन तर पनि विशेष सजकता अपनाइएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमयुक्त मुलुक भनेको छ । कोरोनाको प्रभावले मुलुकको कुल गार्हस्थ उत्पादन ९जीडीपी० मा ०।४ प्रतिशत असर पुग्ने एसियाली विकास बैंकले प्रारम्भिक प्रक्षेपण गरेको छ । वायु सेवा सञ्चालकले सरकारसँग सहुलियत, बैंकमा तिर्नुपर्ने ब्याजमा पुनःकर्जाको सुविधा दिएर भुक्तानीको व्यवस्था मिलाउन माग गरेका छन् । व्यवसायीको मागका सन्दर्भमा सरकारले पनि कोरोनाको हवाई क्षेत्रमा के कस्तो असर परेको छ भनी नियामक निकायसँग विवरण लिएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले कोरोनाको प्रभावले पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कति क्षति पुग्छ भनी व्यवसायीसँग यकिन विवरण लिएर सरकारलाई सिफारिस गरिने बताए । अंग्रेजी वर्ष सन् २०२० को फेबु्रवरीसम्मको अवस्थालाई हेरेर के कति क्षति हुने र कस्ता विषयमा राहत र सहुलियत दिने भन्नेबारे सिफारिस गरिने उनले उल्लेख गरे । रासस

नेपाल वायुसेवा निगमले दोहा उडान स्थगित गर्यो

काठमाडाैं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगन गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण निगमले आजैदेखि लागू हुनेगरी दोहा गन्तव्यको उडान स्थगन गर्ने निर्णय गरेको हो । कतारले कोरोना भाइरसको सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतारमा प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएपछि निगमले उक्त मुलुकको उडान स्थगन गर्नुपरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । “कतारले अस्थायी प्रतिबन्ध लगाएका १४ देशमध्ये नेपाल पनि एक भएकाले नेपालीले पनि हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगन गर्नुपरेको हो”, निगमको विज्ञप्तिमा भनिएको छ । निगमले २०७६ फागुन २६ गते र सो भन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने जनाएको छ । त्यस्तै, टिकटको उडानको मिति दुई पटकसम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको जनाएको छ । निगमले हालसम्म दोहाका लागि हप्तामा सातै दिन उडान गर्दै आएको थियो । यसअघि हिमालय एयरलाइन्सले सोमबारदेखि लागू हुनेगरी दोहा गन्तव्यको उडान रोक्ने निर्णय गरेको थियो । कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएकाले अर्को सूचना जारी नभएसम्मका लागि हाललाई दोहा उडान स्थगन गरिएको कम्पनीका सेवा सुधार शाखा प्रमुख उज्ज्वला दलीले बताएका छन् । रासस

बिराटनगर उड्नु पर्ने श्री एयरलाइन्सको बिमानमा समस्या आउँदा यात्रु रोकिए

काठमाडौं । मंगलबार ११ बजे बिराटनगरका लागि उड्नु पर्ने श्रीएयरलाइन्सको बिमानमा समस्या देखा परेको छ । बिहान ११ बजे यात्रु काठमाडौंदेखि बिराटनगरसम्मका लागि उड्न लागेकोे बिमानमा एक्कासी प्राविधिक समस्या आउँदा बिमान रोकिएको हो । एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार बिमानमा केही प्राविधिक समस्या आएको कारणले उडान समयमै गर्न नसकिएको हो । उनले केही समयपछि अर्को बिमानबाट यात्रुहरुलाई बिराटनगर लिने तयारी भइरहेको बताए उनले यात्रुको सुरक्षा र सेवालाई ध्यानमा राखी अर्को बिमानबाट जाने व्यवस्था भइरहको बताए । अबको १०/१५ मिनेटमै अर्को बिमानले यात्रुलाई पिकअप गर्ने उनको भनाइ छ ।