धरासायी बन्दै हवाई उद्योग, भदौ १६ गतेदेखि आन्तरिक हवाई सेवा नखाेले आन्दोलन गर्ने

काठमाडाैं ।  कोरोना भाइरसको कारण विगत ५ महिनादेखि बन्द रहेको हवाई उद्योग धरासायी बन्दै गएकोप्रति वायु सेवा सञ्चालकहरुले चिन्ता प्रकट गरेका छन् । वायु सेवा सञ्रचालकले मंगलबार विज्ञप्ती जारी गर्दै सरकारले हवाई सेवा सञ्चालन गर्ने निर्णय नगर्दा दिनप्रतिदिन समस्या बढ्दै गएको बताएका छन् । उनीहरुले भदौ १६ गतेदेखि हवाई उडान सञ्चालन गर्न नदिए आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् । सरकारले भदौ १ गतेदेखि लामो दुरीको यातायात र नियमित उडान सुचारु गर्ने निर्णय गर्दा कम्पनीहरूले स्वास्थ्य सुरक्षा निर्देशिकाअनुसार तयारी गरिसकेको भएपनि अहिले पुनः बन्द गरेकोले आफुहरु झ,न बढी समस्यामा पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । पाँच महिनादेखि व्यवसाय ठप्प रहँदा कम्पनी चलाउन गाह्रो भएको हवाई सेवा व्यवसायीहरूले बताएका छन्। ुहामी विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर गरेर सबै तयारी गरिसकेको भएपनि फेरि सरकारले हवाई सेवा स्थागित गर्नु राम्रो नभएको उनीहरुको भनाई छ ।

मन्त्रिपरिषद् बैठककाे निर्णयः लामो दूरीका यातायात र हवाई सेवा भदौ १५ गतेसम्मका लागि बन्द

काठमाडाैं । आज बसेकाे मन्त्रिपरिषद् बैठकले  लामो दूरीका यातायात, हवाई उडान सेवा र शिक्षण संस्था नखुलाउने निर्णय गरेकाे छ । यसअघि भदाै १ गतेबाट यी सबै सेवाहरु सञ्चालन गर्ने निर्णय गरेपनि अब ती सेवाहरु भदाै १५ गतेसम्मका लागि  बन्द नै राख्ने निर्णय गरिएकाे हाे । एक मन्त्रीका अनुसार भदाै १५ गतेसम्मका लागि यी सेवाहरु बन्द अवस्थामा नै रहने छन् । हिजाे बसेकाे कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले पनि यी सेवाहरु स्थगित गर्न  प्रस्ताव गरेकाे थियाे । कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि  गरेकाे ती मन्त्रीले बताए । बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको छ । साथै उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय गरेको छ ।

भदौ १ गतेदेखि हवाई उडान र लामो दूरीका गाडी चल्न नसक्ने संकेत

काठमाडाैं । सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरु, लामो दुरीका यातायात र विद्यालय खुल्न नसक्ने संकेत गरेका छन् । मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको परिस्थितिमा लामो दूरीका यातायात, विद्यालय र हवाई उडान खुल्ने सम्भावना तत्काल नबनेको बताएका हुन् । ‘हामी सबै जनाको सल्लाह अनुसार निर्णय गर्नेछौं, कतिपयले सधैँ बन्द गर्दा आर्थिक अवस्था डामाडोल हुने भएकाले खोल्नुपर्ने सुझाव दिनुभएको छ भने कतिपयले तत्काल खोल्न नहुने बताउनुभएको छ’ यसबारे सीसीएमसीको बैठक बसेर उपयुक्त निर्णय गर्नेछ र मन्त्रिपरिषदमा पेश गर्नेछ,’ उनले भने । उनका अनुसार सरकारले भदौ १ गतेदेखि लामो दूरीका यातायात तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णयमा  पुनर्विचार गर्नु पर्ने देखिन्छ । मन्त्री खतिवडाले विदेशबाट आउनेहरुको हकमा अलपत्र परेका र उद्दार गर्नुपर्नेलाई ल्याउने तर तत्काल नआएपनि हुनेलाई केही समय धैर्य गर्न र परिस्थिति अति सहज हुँदासम्म पर्खन आग्रह पनि गरे।