दाङ्गको लमहीमा खुल्यो होटल ग्रीन लुम्बिनी

काठमाडौं । दाङ्गको लमहीमा होटल ग्रीन लुम्बिनी खुलेको छ । सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीसँग व्यवस्थापकीय साझेदारीमा खुलेकाे यस होटलले शुक्रबारदेखि सेवा दिने जनाएको छ । होटल ग्रीन लुम्बिनीमा २० वटा अत्याधुनिक सुविधा युक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा फरक फरक क्षमता भएका हल, पारिवारीक वातावरण भएको रेष्टुरेन्ट, प्राइभेट डाइनिङ हल, बार, स्विमिङ पुल,स्पा लगायतका सुबिधाहरु उपलब्ध रहेका छन । होटलले निकट भविष्यमा ४२ वटा अत्याधुनिक सुविधा युक्त कोठा, जिम् , हेल्थ क्लब, साथै चार तारे स्तरीय सुविधा दिने योजना रहेको जनाएको छ । सिद्धार्थ ग्रुपले भैरहवामा पाँच तारे होटल सञ्चालनको तयारी गरिरहेको जानकारी दिएको छ ।

केबलकार भित्रै रेष्टुरेन्टदेखि सुत्ने सुविधा

काठमाडौं । केबलकार भित्रै रेष्टुरेन्टमा बसेर विभिन्न परिकारका खानेकुरा खाँदै परिवार वा साथीभाइसँग गफिदा कस्तो आनन्द आउँछ होला ? दिनभर कामले थाकेको शरिरलाई केबलकारभित्रकै ओछ्यानमा सुत्दा कस्तो महसुस हुन्छ होला ? यी प्रश्न, जिज्ञासा र कौतुहलता मेटाउन अब धेरै समय पर्खनु पर्दैन । आउँदो नयाँ वर्षदेखि तपाईंले कल्पिएको सपना पुरा गर्दैछ बन्दीपुर केबलकार एण्ड टुरिजमले । बन्दीपुर केबलकार एण्ड टुरिजमले केबलकारभित्रै सुत्न र खान पाइने व्यवस्था सहित केबलकार सञ्चालनको तयारी थालेको छ । पहाडकी रानीका नामले परिचित बन्दीपुरमा आगामी नयाँ वर्र्षदेखि केबलकारभित्रै रेष्टुरेन्ट, सुत्ने ओछ्यान सहितको सुविधा भएको बन्दिपुर केबलकार सञ्चालनमा आउने भएको छ । यात्रु बोक्ने र ओराल्ने बाहेक केबलकारमा नयाँ सेवा सुविधा थप्दै फरक ढंगले बन्दिपुरमा केलबकार सञ्चालनको तयारी भइरहेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । पर्यटनमा नौलो स्वादका साथ बन्दिपुरमा आउने पर्यटकलाई लक्षित गरी आगामी नयाँ बर्ष अर्थात बैशाखदेखि केबलकार सञ्चालनमा आउने उनको भनाइ छ । उनका अनुसार आगामी बैशाखदेखि बन्दीपुर आउने पर्यकटले पारदर्शी सिसाभित्र सुतेरै पर्यटकले केवलकार घुमेर रमणीय प्राकृतिक स्थलको अवलोकन गरी आनन्द लिन पाउनेछन् । आगामी नयाँ वर्ष २०८० साल बैशाख महिनादेखि बन्दीपुरमा पर्यटकलाई नयाँपन दिन खाना र सुत्न पाइने केबलकार सञ्चालन गर्न लागिएको उनले बताए । दक्षिण एसियामै यस्तो सुविधा दिनेमा बन्दीपुर केबलकार पहिलो हुने दाबी कम्पनीको छ । आवतजावतको समय पश्चात् साँझ पख केबुलकार भित्र रेष्टुरेण्ट सञ्चालन गरी खाना र सुत्न मिल्ने सुविधा प्रदान गरिनेछ । प्रत्येक दिन साँझ ५ बजेपछि केबलकारमा सो सुविधा प्रदान गरिने उनले बताए । ‘केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको खाली समय साँझ ५ बजेदेखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ’, शर्माले भने । उनका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ । कति लाग्छ शुल्क ? केबलकार भित्रै रेष्टुरेन्ट तथा सुत्ने ओछ्यानका लागि कम्पनीले छुट्टै शुल्क तोकेको छ । रेस्ट्रो–कार नाम दिइएकोे केबलबार रेष्टुरेन्ट र ओछ्यानका लागि १ घण्टाको समय तोकिएको छ । २५ हजार रुपैयाँ शुल्कमा रेष्टुरेन्ट र ओछ्यान बुक गर्न सकिन्छ । ८ जना बस्न मिल्ने उक्त रेस्ट्रो कार तोकिएको समयभित्र तल माथि भइरहनेछ । एक घण्टाभन्दा धेरै समय बस्न चाहे पुनः बुकिङ गर्नुपर्छ । त्यसको थप २५ हजार रूपैयाँ शुल्क लाग्छ । ‘रेष्टुरेन्टभित्र खानाका लागि प्याकेज बनाइएको हुन्छ, आफूलाई आवश्यक पर्ने खानुकुरा अर्डर गर्न सकिन्छ’, उनले भने, ‘पुनः थप्नुपर्ने भए थप शुल्क सहित अर्डर गर्न सकिन्छ, हामीले रेस्ट जोन बनाएको छाैँ, खाने कुरा त्यहीँबाट लिन सकिन्छ ।’ कम्पनीले शाकाहारी, मांशाहारी खानेकुरासँगै पेय पदार्थ समेत उपलब्ध गराउने बताइएको छ । ६५ वर्ष माथिका नागरिक र टिकटमा सहुलियत दिइएको कम्पनीले जनाएको छ । १७५ रुपैयाँमा केबलकार चढ्न पाइनेछ । न्यूनतम टिकट ५ सय रुपैयाँ देखि २५ हजार रुपैययाँ तोकिएको छ । यस्तै, ठूलो संख्यामा आउने पर्यटकलाई लक्षित गर्दै कम्पनीले टिकटमा सहुलियत दिने जनाएको छ । उनले बन्दीपुरमा खर्च गर्न आउने पर्यटकलाई नै लक्षित गर्दै केबलकार, रेस्ट्रोकार, तारे स्तरको होटल बनाइएको बताए । होटलभित्रै केबलकार हाइवेमा रहेको बटम स्टेशनबाट बन्दीपुरमा निर्माण गरिएको १७ तल्ले होटलभित्रै केबलकार छिर्नेछ । ‘बटम स्टेशन (तल) हाइवेसँग जोडिएको छ, माथि सिधै होटलभित्र पस्छ, मलेसियामा बाहेक अन्यत्र यस्तो प्रकारको केबलकार निर्माण भएको छैन्, यो दुलर्भ नै हो’, उनले भने । उनले बन्दीपुर केबलकारको बटम स्टेशन अन्य केबलकारभन्दा फरक रहेको बताए । ‘बटम स्टेशनको भवन अन्य केबलकारको भन्दा फरक छ, टर्मिनल भवन छ, सोही भवनमा भीआइपी लाउन्ज, ओपन रेष्टुरेन्ट (टुरिष्ट कोच), गेष्टलाई स्वागत गर्ने रुम लगायतका कामहरु एउटै भवनबाट हुन्छ, उनले थपे । ‘क्वीन टावर’ नाम दिइएको १७ तल्ले भवनबाट बन्दीपुर उपत्यका सहित काठमाडौं देखिनु हो । ९० रुम रहेको हिलपटमा ७८ वटा रुप प्रयोगमा ल्याइने कम्पनीले जनाएको छ । सेमिनारलगायत अन्य कामका लागि १ हजार जना मान्छे अट्ने ठूलो हल पनि बन्ने भएको छ । केबुलकारबाट बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्म १७ सय किलाेमिटर दूरीको यात्रा गर्न पाउनेछन् । एसियाकै ठूलो दाबी गरिएको बिमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास गरिएको छ । केबुलकार र तारे हाेटल सहितकाे माेडलमा होटल निर्माणसहित साढे तीन अर्ब लगानी हुने देखिएको अध्यक्ष शर्माले बताए । पहिला गरिएको सामानको इष्टिमेटको तुलनामा कम्तीमा २५ प्रतिशत सामानको मूल्यवृद्वि भएकाले लागत बढ्ने सङ्केत देखिएको उनले जानकारी दिए । भौतिक पूर्वाधार बनाउनका लागि ३ अर्ब १६ करोड लागत अनुमान होे तर निर्माणको अबधि थपिदा साढे ३ अर्ब खर्च हुने अनुमान कम्पनीले गरेको छ । ‘हाम्रो सुरुको योजना केबलकार मात्रै बनाएर सञ्चालन गर्ने थियो, जम्मा ५६ कराेड रुपैयाँको योजना थियो, पछि हाम्रो सोच फराकिलो बन्यो, पहाडकी रानी नामले परिचित बन्दीपुरमा होटल सहित मोडल लेबलको केबलकार बनाउने भन्ने भयो’, उनले भने, ‘सामान्य केबलकारबाट आधुनिक केलबकारसँगै तारे स्तरको होटलसँगै अन्य संरचना बनाउँदा लगानी थपियो ।’ १७ तल्लाको माथिल्लो भवनको १७ औं तल्लाबाट सबैभन्दा लामो हिमालयको रेञ्ज देखिन्छ । उनले लामो हिमालयको रेञ्ज हेर्नका लागि टेलिस्कोप राखिने बताए । ‘गर्मी महिनामा बिहानको समयमा हिमाल खुलेको देखिँदैन, बन्दीपुरको दृश्य सबै देख्नका लागि हामीले दृश्य रुम बनाउने तयारी गरेका छौँ, त्यो रुममा टेलिस्कोप लगाएर नजिक ल्याउने र आर्टिफिसियल रुपमा हिउँ नै आखाँ अगाडि झरेको जस्तो देख्ने बनाउने हाम्रो योजना छ’, उनले भने । माथिल्लो तल्लामा नै ‘रुफ टप’ भन्ने रेष्टुरेन्ट छ, पर्यटकका लागि लक्षित गर्दै नेपालमै पहिलो पटक वाक्स र फाइबर म्यूजियम राखिने भएको छ । उनले अधिकांश स्थानमा वाक्स म्यूजियम राख्ने भनेर कल्पना गरिएको भन्दै केही ठाउँमा फाइबर पनि मिसाएर नयाँ कन्सेप्ट नेपालमा ल्याउन लागिएको जानकारी दिए । अध्यक्ष शर्माले बन्दीपुरमा तारे स्तरको होटलसहित केबलकार बनेपछि आउने पर्यटकको संख्या दुई गुणाले बढ्ने बताए । ‘पहिला वार्षिक रुपमा २ साढे २ लाख पर्यटक बन्दीपुर आउने गरेका थिए, हामीले केबलकार सहित चार तारे स्तरको होटल बनाउन थालेपछि पर्यटकको संख्यामा बृद्धि हुन थालेको छ’, उनले भने, ‘हाम्रो प्रोजेक्ट बनि रहना वार्षिक रुपमा ५ लाखभन्दा बढी पर्यटक आउन थालेका छन् ।’ उनले केबलकार, होटल र अन्य संरचना निर्माण भएपछि वार्षिक १० लाखभन्दा बढी पर्यटक बन्दीपुरमा आउँने अनुमान गरिएको बताए ।

गलेश्वर मन्दिरको पाँच महिनाको आम्दानी ३ करोड

म्याग्दी । बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा पाँच महिनाको अवधिमा तीन करोडभन्दा बढी आम्दानी भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको बुधबार भएको १७औं कार्यकारी सभामा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनाको अवधिमा तीन करोड ३७ लाख छ सय ४५ आम्दानी भएको जानकारी गराइएको हो । कोषका कोषाध्यक्ष कुमारी रोकाले कर्मचारी तलब, पूजा, संस्कृत विद्यालय र ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा सो अवधिमा २० लाख दुई हजार खर्च भई तीन करोड १६ लाख ९७ हजार बचत भएको जनकारी दिए । ‘गत असारसम्मको आम्दानी दुई करोड ९० लाख ८२ हजार थियो’, उनले भने, ‘खातामा रहेको ब्याज, भक्तजनले चढाएको भेटी, दान र भाडालगायत शीर्षकमा भएको आम्दानीबाट खर्च कटाएर पाँच महिनाको मात्र २६ लाख १५ हजार बचत भएको छ ।’ मेलापर्वमा भेटी २२ लाख ५६ हजार, मण्डप भेटी आठ लाख २२ हजार, ब्याज आम्दानी पाँच लाख ५९ हजार, यज्ञ दर्ताबापत एक लाख ६३ हजार, यात्री निवास शुल्कबाट एक लाख ३१ हजार, दान दुई लाख ५८ हजार ८६, जिन्सी सामान बिक्रीबाट एक लाख ९९ हजार र स्टल भाडा  दुई लाख २२ हजार सङ्कलन भएको छ । आव २०७८/७९ मा रु ४० लाख ८५ हजार भेटीसहित ९१ लाख ८२ हजार आम्दानी भएको थियो । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु दश करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । ‘गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरुपमा गनेर सार्वजनिक गर्ने गरिएको छ’, उनले भने, ‘भेटी व्यवस्थित गर्न थालेपछि दानवीरले खुलेर सहयोग गर्न थालेका छन् ।’ जडभरत संस्कृत माविका तीन शिक्षकको तलबका लागि मासिक ७२ हजार, आश्रमका ज्येष्ठ नागरिक र तीर्थयात्रीलाई भोजन गराउँदै आएको अन्न क्षेत्रका भान्छेलाई मासिक १७ हजार तलब मन्दिरको आम्दानीबाट दिने गरिएको छ । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । हिन्दू धर्मग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्छ । अन्य समय दैनिक पूजाआजा हुने गलेश्वर मन्दिरमा भक्तजनको चाप पनि बढ्दै गएको छ । रासस