नेपाल टेलिकमको भिडियो कल तथा निशुल्क सिम वा रिम कार्ड अफर
काठमाडौं, २ साउन । नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरु (बहिरा)का लागि सहुलियत दरमा भिडियो कल सेवा उपलब्ध गराएको छ । कम्पनीको मोबाइल नम्बर सिममा कम्पनीको नेटवर्क भित्रको लागि मात्र उपलब्ध गराइने यो भिडियो कल सेवाको महसुल प्रतिमिनेट ५० पैसा (कर बाहेक) तोकिएको छ । कम्पनीले आषाढ ३१ गते शुक्रबारदेखि नै सहुलियत दरको यो सेवा उपलब्ध गराउन थालिसकेको छ । कम्पनीका अनुसार बहिरा अपाङ्गताको पहिचान खुल्ने कागजातसहित नेपाल टेलिकमको काउन्टरमा सम्पर्क गरी ९० रुपैयाँमा ५० रुपैयाँको टक टाइम भएको सिममार्फत यो प्याकेज प्राप्त गर्न सकिनेछ । त्यसैगरी कम्पनीले २०६२/०६३ को जनआन्दोलनका घाइते एवं पूर्ण रुपमा शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई एक पटकका लागि जिएस प्रविधिको प्रिपेड सिम वा सिडिएमए प्रविधिको रिम कार्ड एक थान निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । कम्पनीले २०७३ श्रावण ३ गते देखि निःशुल्क सिम तथा रिम उपलब्ध गराउने भएको छ । जनआन्दोलनका घाइतेहरुले नेपाल सरकारबाट जारी भएको परिचयपत्रसहित एक प्रति फोटो र नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ । त्यसैगरी शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, समाज कल्याण परिषदबाट जारी भएको परिचय पत्र (रातो कार्ड) सहित एक प्रति फोटो र आफ्नो नागरिकताको प्रतिलिपि पेश गर्नु पर्नेछ । यी सबै सेवाका लागि नेपाल टेलिकमको जुनसुकै कार्यलयमा सम्पर्क गर्न सकिले कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निःशुल्क सिम वा रिम कार्ड उपलब्ध गराउने योजना आगामी २०७३ माघ मसान्तसम्म मात्र लागू हुनेछ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ल्याएको यो योजनाले बोल्न र सुन्न नसक्ने व्यक्तिहरु तथा जनआन्दोलनका घाइते एवं पूर्ण रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग पुग्ने अपेक्षा गरेको कम्पनीले जनाएको छ ।
आइफोन ७ को मोडेल र फोटो लिक भयो, हेर्नुहोस मूल्यसहित तस्विर
काठमाडौं , ३१ असार । एप्पलको आगामी उत्पादन आइ फोन सेभेन, आइफोन सेभेन प्लस र आइ फोन सेभेन प्रो सेप्टेम्बरमा रिलिज हुँदैछ। चाइनाको लोकप्रिय सामाजिक सञ्जाल विबोले तीन मोडलका मोबाइको मूल्यसूचीसहित फोटाहरु सार्वजनिक गरेको छ। विबोले सार्वजनिक गरेअनुसार ३२ जिवीको आइफोन ७ को मूल्य चिनियाँ मुद्रा युआन ५ हजार २ सय ८८ अर्थात् ८४ हजार ६ सय रुपैयाँ पर्न आउँछ। यो नेपाली बजारमा उपलब्ध हुने मूल्य भने होइन। यस करहरु तथा डिलरले लिने कमिसन अतिरिक्त रहन्छ। ६५ जिवीको आइफोन सेभेनको मूल्य ६०८८ युआन अर्थात् ९७ हजार ४ सय रुपैयाँ पर्नेछ। २ सय ५६ जिवीको लिने हो भने ७१ हजार १८ युआन यानि १ लाख १३ हजार ६ सय रुपैयाँ पर्नेछ। आइफोन ७ प्लसको ३२ जिवीको मूल्य ६ हजार ८८ युआन अर्थात् ९७ हजार ४ सय रुपैयाँ र १ सय २८ जिवीको र २ सय ५६ जिवीको क्रमश: ६८८८ युआन (१ लाख १० हजार २ सय रुपैयाँ) र ७८८८ युआन (१ लाख २६ हजार २ सय रुपैयाँ) पर्ने जनाइएको छ। तेस्रो र सबैभन्दा महँगो मानिएको आइफोन सेभेन प्रोको ३२ जिवीको मूल्य ७०८८ युआन (१ लाख १३ हजार ७ सय रुपैयाँ), १ सय २८ जिवीका लागि ७८८८ युआन (१ लाख २६ हजार २ सय रुपैयाँ) र २५६ जिवीका लागि ८८८२ (१ लाख ४२ हजार २ सय रुपैयाँ) पर्नेछ। हरेक वर्ष एप्पलले जारी गर्ने स्मार्टफोनको मूल्यसँग यसपाला लिकेज भएको मूल्य सूची मिल्दो छ। आइफोन ७ बारे लिक भएको सूचनाअनुसार यसमा होम बटन र ३.५ एमम हेडफोन ज्याक रहने छैन। वाटरप्रुफ च्यासिस रहने अपेक्षा गरिएको छ भने आइफोन ७ प्लसमा डुअल क्यामरा इमेजिङ सिस्टम रहने अपेक्षा गरिएको छ। र यसमा ३ जिवी र्याम रहने बताइएको छ।
प्रविधिमा नेपालीको पहुँच विकसित मुलुक सरह
काठमाडौं, ३१ असार। नेपाल सन् २०२२ सम्म विकासोन्मुख मुलुकको सूचीमा पार्ने सरकारको योजनामाथि सूचना प्रविधिले एउटा इटा थप गरेको छ। हालै सार्वजनिक गरिएको ‘विश्व सूचना प्रविधि प्रतिवेदन २०१६’ ले विश्वका १३९ मुलुकमध्ये सूचना प्रविधिको समग्र विकासको अवस्थाको सूचकमा नेपाल ११८ औं स्थानमा रहेको देखाएको छ । नेपालीको सूचना प्रविधिमा पहुँच भने विकसित मुलुककै हाराहारीमा रहेको पाइएको छ । तर, खरिद क्षमता सूचकमा भने नेपालको स्थान मात्र ३० औंमा छ । विकसित मुलुकहरूकै स्थान नेपालभन्दा तल देखिन्छ । खरिद क्षमता सूचकमा जापान ४९, नर्वे २८, क्यानडा ६१, स्वीट्जरल्यानड ७०, अस्ट्रेलिया ५७, स्वीडेन २५, सिंगापुर ७२, जर्मनी ५५ स्थानमा देखिन्छन् । फोरमले बर्सेनि यस्तो प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । पछिल्ला वर्षका प्रतिवेदनहरूमा पनि नेपालको स्थान अन्य सूचकमा स्थान पछाडि भए पनि खरिद क्षमता सूचकमा निकै अगाडि छ । विश्वका मुलुकहरूका सूचना प्रविधिको अवस्थालाई चित्रण गर्न विभिन्न चार सहसूचक र तीभित्रका दश उपसूचकमा वर्गीकरण गरेर अध्ययन गरिएको थियो । जसमध्ये पहिलो वातावरणको सूचकमा नेपाल विश्वका मुलुकमध्ये ११० स्थानमा छ । वातावरणभित्रको राजनीतिक तथा नियमनको वातावरण उपसूचकमा ११४ र व्यवसाय तथा आविश्कार वातावरणमा नेपालको स्थान ९९ औं छ। अध्ययनको तेस्रो सहसूचक प्रयोगको छ, जसमा नेपालको स्थान १२९ औं देखिएको छ । सो सहसूचकको व्यक्तिगत प्रयोग, व्यावसायिक प्रयोग र सरकारी प्रयोग गरी तीन उपसूचकमा क्रमशः ११७, १२८ र १२९ औं स्थानमा नेपाल छ । यसको अर्थ नेपालमा व्यक्तिगत प्रयोग नै बढी भइरहेको भन्ने नै हो । सूचना प्रविधिको व्यावसायिक र सरकारी निकायको प्रयोग भने करिब करिब एउटै स्तरमा देखिन्छ । चौथो र अन्तिम सूचक प्रभावको छ जसमा नेपालको स्थान १२८ औं छ । अमेरिकामा सार्वजनिक भएका ग्याजेट साताभरमै नेपालीका हातमा आइपुग्छन् । महँगो ब्रान्ड एप्पलदेखि अन्य चलेका ब्राण्डका महँगा स्मार्ट फोन बोक्ने नेपालीको संख्या पनि बढ्दो छ । यी व्यवहारहरूका सूचना प्रविधिमा चासो र खरिद गर्ने तत्परता पनि बढी भएको पुष्टि वल्र्ड इकोनोमिक फोरमको पछिल्लो प्रतिवेदनले गरेको छ । बढ्दो रेमिट्यान्स र सूचना प्रविधिप्रति नेपालीको मोह बढ्नाले पनि नेपालीहरू महंगा ग्याजेट खरिद गर्नमा अगाडि रहेको विज्ञहरूको तर्क छ ।