नेपाल प्रवेश अगावै विदेशीको पुरा विवरण प्राप्त हुने प्रविधि भित्र्याइँदै

काठमाडौं, ९ भदौ । नेपालमा आउने यात्रु नेपाल प्रवेश गर्नुअघिनै उनीहरुको पृष्ठभूमिसहितको विवरण आउने ‘बृहत् यात्रु सूचना प्रणाली’ लागू गर्ने तयारी अध्यागमन विभागले गरेको छ । यो प्रणाली लागू भएसँगै यात्रुले हवाई टिकट बुकिङ हुनासाथ उसको विवरण अध्यागमनमा प्राप्त हुनेछ । यात्रुको पृष्ठभूमि, कालोसूचीमा रहे/नरहेको जस्ता जानकारी अग्रिम प्राप्त हुँदा आपराधिक पृष्ठभूमिका व्यक्तिको आवागमनमा कडाइ हुने विभागका महानिर्देशक केदार न्यौपानले बताए । यो प्रणाली सफ्टवयेर प्रणालीमार्फत सञ्चालन हुने भएको र एकै पटक खरिद गर्न समेत नपर्ने भएकाले राज्यलाई थप आर्थिक भार समेत नपर्ने उहाँको भनाइ छ । न्यौपानेले भने – “अहिले तत्काल यो सफ्टवयेर ल्याएर जडान गर्ने र सोबापत लाग्ने रकम निश्चित समयसम्म यात्रुको टिकटमा समावेश गरेर तिर्न सकिने भएकाले राज्यलाई थप आर्थिक भार समेत नपर्ने गरी लागू गर्न प्रस्ताव गरेका छौँ ।” यो प्रणाली लागू भएसँगै आपराधिक पृष्ठभूमि र कालोसूचीमा रहेका व्यक्तिको विवरण सहजै प्राप्त हुने र उनीहरुलाई नेपाल आउने प्रवेशाज्ञा नदिने वा प्रवेश गरिसकेपछि पक्राउ गर्न सकिने विश्वास लिइएको छ । अहिले यात्रुको आवतजावतको विवरण कागजी प्रक्रियामा कार्डमार्फत रहेकाले नयाँ प्रविधिको प्रयोगसँगै सबै यात्रुको विवरण अनलाइन सफ्टवेयरमा रहनेछ । आपराधिक पृष्ठभूमिका व्यक्ति नेपालमा पटक÷पटक प्रवेश गर्ने तर सोसम्बन्धी जानकारी नेपाल सरकारलाई नहुँदा उनीहरु यहाँ आएर विभिन्न अवाञ्छित गतिविधिमा संलग्न हुने गरेका धेरै उदाहरण छन् । त्यसो त विभागले गत आर्थिक वर्ष अध्यागमन कानुन उलङ्घन गरी नेपालबाट निष्कासन गरिएका, सम्बन्धित मुलुक फर्काइएका र अन्य निकायको अनुरोधमा आवागमन नियन्त्रणका लागि प्राप्त विवरण अध्यावधिक गर्ने र ट्रयाकिङ गर्ने कालोसूची प्रणाली समेत जडान गर्ने काम गरिसकेको छ । विभागले आफ्ना सबै कार्यालयमा यात्रुको आवामगन र प्रस्थानको प्रत्यक्ष तस्बिर लिएर मौजुदा सफ्टवेयरमा राख्ने प्रणालीको पनि सुरुवात गर्ने तयारी गरेको छ । अहिले प्रवेशाज्ञा दिँदा विदेशीको विवरण र तस्बिर लिइए पनि नेपाली र निःशुल्क प्रवेशाज्ञामा आउने विदेशीको तस्बिर लिने गरिएको छैन । विदेशस्थित नेपाली कूटनीतिक नियोगबाट जारी हुने प्रवेशाज्ञाका लागि अनलाइन माध्यमबाट दरखास्त दिन सकिने व्यवस्थाको अन्तिम तयारी गरिएको छ । विभागले अनलाइनमार्फत प्रवेशाज्ञाका लागि आवेदन लिने गरेपनि नेपाली नियोगले भने अहिले पनि पुरानै कागजी प्रक्रियाबाट आवेदन लिने गरेका छन् । दूतावासको यस्तो हालत देखेर आवेदन दिने विदेशी पर्यटकले खिसीटिउरी समेत गर्ने गरेका छन् । धेरै रकमको आवश्यकता नपर्ने र तत्कालै लागू गर्न सकिने भएकाले अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा यो काम छिट्टै गर्न सकिन्छ । यो प्रावधानका कारण विदेशस्थित नेपाली नियोगबाट जारी हुने प्रवेशाज्ञा छिटो, छरितो र अन्तर्राष्ट्रियस्तरको हुने मात्र हैन, प्रवेशाज्ञा र राजस्वको विवरण दुरुस्त हुने अपेक्षा गरिएको छ । त्यस्तै नेपालको प्रवेशाज्ञालाई मेसिनले पढ्न सक्ने ‘एमआरपी’ मा जारी गर्ने प्रणालीको विकास गर्ने कार्यक्रमलाई समेत विभागले चालु आवको कार्यक्रममा समावेश गरेको छ । यो प्रणालीका लागि आवश्यक सबै प्रक्रिया र प्राविधिक तयारी पूरा भइसकेकाले सरकारले स्वीकृति दिनासाथ लागू गर्न सकिने महानिर्देशक न्यौपानेले जानकारी दिए। विभागले गत आव यात्रुको राहदानीमा रहेको विवरण सफ्टवयेरको माध्यमबाट नियन्त्रण गरेर भण्डारण गर्ने प्रविधि, सबै किसिमका प्रवेशाज्ञाका लागि अनलाइन प्रवेशाज्ञा प्रणाली, आगमन र प्रस्थान स्टिकर हटाई छापको प्रयोग जस्ता सुधारात्मक कदम चालेको जनाएको छ । रासस

फिनल्यान्डमा ‘फोर जी’सेवामा नयाँ रेकर्डः १.९ जिबीपिएस स्पीडको डाउनलिंक

काठमाडौं, ८ भदौ । फिनल्यान्डको दूसञ्चार सेवाप्रदायक इलिसाले फोर जीमा नयाँ विश्व रेकर्डसहित डाउनलिंक स्पीड परीक्षण गरेको जनाएको छ। इलिसाले प्रेस विज्ञप्ती जारी गर्दै फोर जीको दुनियमा सबैभन्दा बढी गतिको इन्टरनेट उपलब्ध भएको दाबी गरेको छ।   यो गति अर्को जेनेरेसनको प्रविधिको लागि पनि अवसर भएको र प्रविधिको दुनियामा नै नयाँ आविष्कार भएको उसले दाबी गरेको छ। अहिलेसम्म सैद्धान्तिक रुपमा फोर जीमा ४५० एमबिपिएसमात्र हुने मानिन्छ तर इलिसाले चिनिया दूरसञ्चार भेन्डरसँगको सहकार्यमा इलिसाले १.९ जिविपिएस गतिको डाउनलिंक गति परीक्षण भइसकेको प्रष्ट पारेको टेलिजियोग्राफी अनलाईले समाचार लेखेको छ।

डेलले नेपालमा सेभेन जेनेरेसनका दुई मोडेलका ल्यापटप लन्च गर्यो

काठमाडौं, ८ भदौ। डेलले नेपालमा दुई मोडेलका नयाँ ल्यापटप सार्वजनिक गरेको छ। कम्पनीले इन्सपिरन ५००० सिरिजमा १३ र १५ इन्चका ल्यापटप सार्वजनिक गरेको हो। अन्तराष्ट्रिय बजारमा यी ल्यापटपको मूल्य तोकिएपनि नेपाली बजारमा आइपुग्दा कति मूल्य पर्ने हो भनेर यकिन गरिएको छैन। अहिलेसम्मको नयाँ टेक्नोलोजी प्रयोग गरेर निर्माण गरिएको यो ल्यापटपमा माइक्रोसफ्टको ‘विन्डोज-१०’ अपरेटिङ सिस्टम प्रयोग गरिएको छ। कम्पनीले यी मोडेलका ल्यापटपहरु विशेष गरी नेपालका विद्यार्थीहरुलाई फोकस गरेर ल्याएको बताएको छ। त्यस्तै स्कुल, कलेज र परिवारका लागि पनि एउटा राम्रो र आकर्षक कम्प्युटिङका लागि भरपर्दो रहेको जनाएको छ। डेलको दक्षिण एसियामा व्यापार हेर्ने प्रमुख अमित मुखर्जीले विश्वका धेरै देशहरुमा डेलको व्यापार अग्रस्थानमा रहेको र नेपालमा पनि डेलले व्यापारमा प्रथम स्थान ओगटेको बताए। उनले डेलले संसारका इन्नोभेटिभ टेक्नोलोजी प्रयोग गरेर ग्राहकको मन जितेको बताए। ‘इन्सपिरन १३ – ५०००’ १३ इन्चको यो ल्यापटपमा सेभेन जेनेरेसनको ‘आई ७’ इन्टेल प्रोसेसर रहेको छ भने  विन्डोजको लेटेस्ट भर्सन ‘विन्डोज १० प्रो’ रहेको छ। १६ जिवि डिडिआर फोर मेमोरी रहेको यो ल्यापटपमा २ टिबी स्टोरेज क्षमता रहेको छ। ट्रु लाईफ एलइडी व्याकलाइट टच डिस्प्ले भएको यो ल्यापटपमा वाइड एङ्गल एचडी डिस्प्ले रहेको छ। ‘इन्सपिरन १५ – ५०००’ इन्सपिरन सिरिजमा १५ इन्चको यो ल्यापटपमा पनि इन्टेलको लेटेस्ट सेभेन जेनेरेसनको ‘आई ७’ प्रोसेसर रहेको छ भने विन्डोजको लेटेस्ट ‘विन्डोज टेन प्रो’ अपरेटिङ सिस्टम रहेको छ। ८ र १६ जिबी डिडिआर ४ र्याममा उपलब्ध यो मोडेलको ल्यापटपमा अप्सनल रुपमा इन्फ्रारेड क्यामेरा रहेको छ। टच स्क्रिन भएको यो ल्यापटपमा पनि २ टिबी स्टोरेज क्षमता रेहेको छ भने इक्सटर्नल र इन्टरनल दुवै रुपमा ‘व्लु रे’ डिभिडी रिडर/राइटर राख्ने व्यवस्था रहेको छ। अबको दुइमहिनाभित्र वजारमा उपलव्ध गराउने योजनाका साथ कम्पनीले काम थालेको बताएको छ। एकबर्ष वारेन्टीका साथ उपलब्ध हुने यी ल्यापटपहरुमा इन्टरनेसनल वारेन्टी समेत उपलब्ध गराउने मुखर्जीले जानकारी दिए।