सामसुङलाई फेरि झट्का, ग्यालेक्सी एस ७ एज पनि पड्कियो !

काठमाडौं, १ असोज। कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले फेरि समस्या भोग्नुपरेको छ। हालै कम्पनीको फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी नोट ७ को ब्याट्री पड्केपछि अब फेरि एस ७ एज पनि पड्केको छ।   कम्पनीले यसअघि नै नोट ७ नकिन्न र नचलाउन अनुरोध गरिसकेको छ। अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार बेलायतकी एक युवतीले ग्यालेक्सी एस७ एज पड्केको बताएकी हुन्। ३० वर्षीय सारा बेलायतको विथम शहरस्थित एक क्याफेमा उनले आफ्नो फोन तातेको र बेलुनजस्तो फुलेको महसुस गरिन्। उनको फोनबाट धुँवा आउन थाल्यो र केही छिनमै पग्लियो। यो घटना क्याफेको सिसिटिभी क्यामरामा पनि कैद भएको बताइएको छ। साराले बेलायती अखबार द सनलाई आफ्नो फोन तातेपछि टेबलमा राखेको र केही समयमा नै फोन पग्लेको बताएकी छन्। साराले यो विषयमा सिसिटिभी फुटेजसहित सामसुङलाई गुनासो पठाएको बताएकी छन्। यसबारे सामसुङले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

नचायो नारायणी किनारमा एनसेल मेलाले, पोखरा, बुटवल, धरान र बिर्तामोडमा पनि नचाउँदै

काठमाडौं, ३०, भदौ । देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो रि—ब्राण्डिङ्ग पश्चात नजिकिदै गरेको चाडपर्वको अवसर पारेर ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न, शुभकामना आदान प्रदान गर्न र आफ्नो नयाँ ब्राण्ड चिनाउन बिहीबार नारायणी किनारमा एनसेल मेलाको आयोजना गरेको छ । बिहान ११ बजे शुरु भएको उक्त मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण मेलामा आगन्तुकहरुले विविध कार्यक्रम, गतिविधि र कन्सर्टको भरपुर आनन्द लिएका थिए । चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका रहेका थिए । मनोरञ्जनका साथ साथै मेलाका आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर लिन सकेका थिए भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विषेश हाईटेक जोनमा चलाएर टेष्ट गर्नहरुको भीड लागेको थियो । मेलामा कलाकार सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, लाउरे, रेमोन दास श्रेष्ठ, समृद्घी राई, एक्स व्याण्ड, कार्टुन्ज क्रु र युभि एन्जल्स्ले आ—आफ्नो प्रस्तुती गरेका थिए । डिजे रुपेशले आफ्नो प्रस्तुतीबाट दर्शकलाई नचाएका थिए । मेलाको विषेश आकर्षण रहेको कन्सर्टमा, गायक सुगम पोख्रेलले आफ्नो उत्कृष्ट गीतहरु जस्तै झिल्के, प्रेम गीत लगायतका गीतहरुले दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए । शिव परियारले क्या दामी भो, संगी डुब्दै छु गाउँदा दर्शकहरु उनीसँगै गाउँदै नाचेका थिए । मिलन अमात्यको गाला रातै, स्लोली स्लोली अनि लाउरेको नेपहपको बाटो, साथी हो र एक्स व्याण्डको लुक्न देउ, चियाबारीमा जस्ता प्रस्तुतीहरुले दर्शकहरुलाई गीतमा झुम्दै नाच्नका लागि उत्साहित गरेको थियो भने कार्टुन्ज क्रु र युभि एन्जल्स्को प्रस्तुतीमा दर्शकहरु मन्त्रमुग्घ भएका थिए । मेलामा आउने जुन सुकै उमेर समुहका दर्शकलाई उक्त मेलामा मनोरञ्जनका कार्यक्रमहरु समावेश गरिएका थिए । बालबालिकाका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका थिए । मयुर नाच, लाखे नाच, दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदी पनि मेलामा समावेश गरिएका थिए । त्यसैगरी गेम स्टलहरुमा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु रहेका थिए र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाएका थिए । दर्शकहरुले मेलामा विविध रोचक गतिविधीहरु बाहेक नेपाली, ईण्डियन र चाईनिज परिकारका स्टलहरुमा विभिन्न परिकारहरुको मज्जा लिएका थिए । नारायणघाट पश्चात एनसेल मेला अब असोज १ गते पोखरामा आयोजना हुनेछ । यो मेला असोज ३ गते बुटवल, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा आयोजना पश्चात समापन हुनेछ । “एनसेल मेला मार्फत खुसीयाली साट्न तथा नजिकिदै गरेको चाडपर्वको अवसरमा आदरणीय ग्राहकहरु माझ पुगेर शुभकामना आदानप्रदान गर्न पाउदा हामी हर्षित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “यही शिलशिलामा हामी मनोरन्जनले भरिपूर्ण यो मेला लिएर पोखरा, बुटवल, धरान र बिर्तामोड पुग्दै छौ । ”

ग्योलेक्सी नोट सेभेनलाई उडान समयमा प्रयोग गर्न प्रतिबन्ध

इन्डोनेसिया, २८ भदौ । इन्डोनेसियाको पीटी गरुडा इन्डोनेसिया नामक प्रसिद्ध विमान सेवा प्रदायक कम्पनीले आफ्ना उडानमा सामसुङ ग्यालेक्सी सेभेन स्मार्टफोन चार्ज गर्न वा अन्य कुनै सेवा लिन प्रतिबन्ध गरेको उक्त विमान सेवाका अधिकारीले बताएका छन् । उक्त कम्पनीले यो निर्णय अमेरिकी सङ्घीय प्राधीकरण प्रशासन (एफएए) ले मोबाइल फोनको ब्याट्रीमा प्राविधिक समस्या देखाउँदै सोही मोडेलको स्मार्टफोन प्रयोग नगर्न हवाई यात्रुलाई आग्रह गरेपछि आएको विमान कम्पनीका कर्पोरेट कम्युनिकेसन उपप्रमुख बेनी एस। बुटारबुटारले बताए । गरुडा इन्डोनेसियाले सम्पूर्ण यात्रुलाई उडानका समय मोबाइल फोन चलाउन नदिएको एफएएका सल्लाह अनुसार सामसुङ ग्यालेक्सी नोट सेभेनमा प्रतिबन्ध लगाएको एक विज्ञप्ति जारी गरी जनाएको छ । गरुडा इन्डोनेसियाले यसै सल्लाहअनुसार विमानमा यात्रामा रहँदा सामसुङ ग्यालेक्सी नोट सेभेन चलाउन वा रिचार्जसमेत नगर्न आग्रह गरेको हो । उक्त मोबाइललाई आफ्नो झोलामा राखेर उडानका समय हिँडाउन भने विमानले रोक नलगाएको बताइएको छ । रासस/सिन्ह्वा