एनसेल र जल तथा मौसम विज्ञान विभागबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको आफ्नो सहकार्यलाई थप विस्तार गरेको छ । यससँगै अब एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरुका बारेमा पूर्वसूचना प्रवाह गर्ने भएको छ । यस सम्बन्धमा बुधवार दुवै पक्षले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यो समझदारी पत्र अनुसार, एनसेल र जल तथा मौसम विज्ञान विभागले पूर्व सूचना प्रणाली अन्तर्गत अब १३ वटा प्रकोपहरुका बारेमा आम जनमानसलाई प्रकोप पूर्व सूचना प्रवाह गर्नेछ । ती १३ प्रकोपहरुमा बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदुषणलगायत रहेका छन् । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले बुधबार एनसेलको कर्पोरेट कार्यलय लैनचौरमा आयोजित एक कार्यक्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यस सहकार्यका बारेमा आफ्नो उत्साह व्यक्त गर्दै महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले भने, ‘पूर्व सूचना प्रणालीमा अग्रणी भूमिका खेल्दै सन् २०१६ देखि बाढीको पूर्वसूचना पहललाई अगाडि बढाएकोमा एनसेललाई धन्यवाद दिन चाहन्छु । कुनै प्राकृतिक विपद् घट्नु भन्दा अगावै प्राप्त हुने पूर्व सूचना त्यस जोखिमबाट बच्न सफल मानिसका लागि जीवनदान सरह हुन्छ । ग्रासरुट–टु–ग्लोबल एक्सनको अवधारणा अनुरुप पूर्व सूचना प्रवाहकालागि गरिएको यो सहकार्य एक उत्कृष्ट उदाहरण हो । थप १० मौसममा आधारित जोखिमहरुलाई समेट्दै पूर्व सूचना प्रणाली तथा प्रवाहकालागि गरिएको योे सहकार्य एक अर्को कोशेढुङ्गा हो । एनसेल र अन्य साझेदारहरुसँगको सहकार्यमा गरिएको कार्यले जोखियुक्त क्षेत्रमा बसोबास गर्ने मानिस समक्ष सम्पर्क गर्न सहज बनाई हजारौं मानिसहरुको जीवन रक्षा गर्न सफल भएका छौ । बाढीको प्रकोप बढ्दै गए पनि त्यसबाट हुने मानविय क्षति भने धेरै कम भएको छ र यो हामी सबैको सहकार्यले गर्दा सम्भव भएको हो । यसका लागि एनसेलको योगदानको कदर गर्न चाहन्छु ।’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले जल तथा मौसम विज्ञान विभागसँग १३ वटा विपद्हरुलाई पूर्व सूचना प्रणालीमा समेट्ने गरी यो सहकार्य गर्न पाएकोमा गौरवान्वित भएको बताए । उनले भने, ‘हामीले सेवा प्रदान गर्ने समुदाय र त्यहाँका नागरिकको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्घता अनुरुप गरिएको यो कार्य एक कोशेढुङ्गा हो । सन् २०१६ देखि पूर्व सूचना प्रणालीलाई अघि बढाउँदै आएका छौं र आम नेपाली जनमानसलाई यस प्रणाली मार्फत सम्भावित विपद्बाट जोगाउने हाम्रो निरन्तरको प्रयास जारी रहने छ । एनसेल र विभागको यो सहकार्य सार्वजनिक निजी साझेदारीमा कसरी प्रभावकारी कार्यहरु गर्न सकिन्छ भन्ने एक ज्वलन्त उदाहरण हो । एनसेल नेपाल र नेपालीको हितको लागि सदैव काम गर्न तत्पर छ र यसै अनुरुप आगामी दिनमा पनि प्रभावकारी कार्यहरुमा सहकार्य गर्न हामी तत्पर छौँ ।’ पूर्व सूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरुलाई सम्भावित जोखिमको बारेमा सुचित गर्दै आ–आफ्ना सामानहरु लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिने बताइएको छ । सन् २०१६ देखि एनसेल र विभागले निरन्तर सहकार्य गरी बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरुलाई पूर्व सूचना प्रवाह गदै आएको छ । २०२३ मा एनसेलले ९० लाख भन्दा बढी पूर्व सूचना प्रवाह गरेको थियो ।

बजारमा नयाँ आयाम थप्दै एफवान सफ्ट, सञ्चालनमा ल्यायो ‘फोनपोईन्ट्स’ कम्पनी

ललितपुर । नेपालको अग्रणी फिनटेक समूह एफवान सफ्ट ग्रुपले ‘फोनपोईन्ट्स’ नामक कम्पनीको सुरुवात गरेको छ । एफवान सफ्टले पुस २५ गतेदेखि आधिकारिक रुपमा फोनपोईन्ट्सको सुरुवात गरेको हो । फोनपोईन्ट्सको उद्देश्य नेपालको ‘रिवार्डस्’ र ‘लोयल्टी प्रोगाम’ मार्केटमा नयाँ आयाम थप्नु रहेको छ । फोनपोईन्ट्स, लोयल्टी पोइन्टको ‘रिडेम्पसन’ सुविधा प्रदान गर्दै उक्त पोइन्टहरूको प्रवर्द्धन र व्यवस्थापन गर्ने एक प्लेटफर्म हो । फोनपोईन्ट्सको उद्देश्य ग्राहकहरुको दैनिक भुक्तानीलाई इनामदायी गराउनुको साथै उक्त प्लेटफर्ममा संलग्न व्यवसायीहरुको लागि एक लोयल्टी प्रोग्रामको पूर्वाधार सृजना गराउनु पनि हो । फोनपोईन्ट्सद्वारा ग्राहकहरुले विभिन्न व्यवसायी स्थानहरुमा भुक्तानीको दौरान केहि पोईन्ट्सहरु आर्जन गरी, सो पोईन्ट्सहरुबाट विभिन्न तरिकाको लाभहरु लिन मिल्ने आधार तयार गरिएको छ । कम्पनीको शुरुवात गर्दै फोनपोईन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेलले भने- ‘हाम्रो मिशन प्रत्येक लेनदेनलाई रिवार्डिङ् बनाउनु हो । साथै, ग्राहक र हाम्रो पार्टनरहरूको व्यापारमा लोयाल्टी बढाउनु हो । फोनपोईन्ट्स एक लोयल्टी प्लेटफर्म मात्र नभई यो बिजनेसहरूलाई ग्राहक रिटेन र इन्गेज गर्नका लागि डिजाइन गरिएको एक समाधान हो ।’

एनसेल सेयर खरिद बिक्रीबारे छानबिन समितिको समय थप्ने तयारी

काठमाडौं । एनसेल खरिद बिक्रीको छानबिन गर्न सरकारले बनाएको उच्चस्तरीय समितिले समयमा नै प्रतिवेदन बुझाउन नसक्ने भएको छ । ३० दिनको समयावधि तोकेर गत मंसिर २४ गतेबाट सुरु भएको छानबिन प्रकृयामा सूचना संकलन प्रकृया कायमै रहेकोले तोकिएको समयमा समितिले प्रतिवेदन बुझाउन नसक्ने भएको हो । उच्चस्तरीय छानबिन समितिका सदस्य तथा अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यले कतिपय कागजात संकलन प्रकृयामा ढिलाइ भएकाले तोकिएको समयमा छानबिनको काम नसकिने अवस्था आएको बताएका छन् । समितिका संयोजकले सरकारलाई रिक्वेष्ट लेटर लेखेर समय सार्नु पर्ने माग गरेका छन् । ‘हाम्रो संयोजकले हिजो एउटा रिक्वेस्ट लेटर दिनुभएको छ, हाम्रा केही कामहरू बाँकी रहे, केही डकुमेन्ट आउन बाँकी रहे, त्यसैले म्याद थपको लागि हाम्रो संयोजकज्युले लेख्नुभएको छ,’ उनले भने । शाक्यका अनुसार समितिले छानबिनका लागि २/३ साता थप समय माग गरेको छ । समितिमा रहेका अर्का सदस्य तथा सन्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले समितिले काम गर्ने समय पुस २४ गतेसम्म बाँकी रहेकाले थप कोसिस गर्ने बताए । सरकारले मंसिर २१ गते एनसेलको सेयर खरिद-बिक्रीका सम्बन्धमा छानबिन गर्न पूर्व महालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । जसको सदस्यहरूमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन् । सरकारले समितिलाई एनसेलको सेयर खरिदमा भएका चलखेल र आगामी दिनमा हुने यस्तो खरिद-बिक्रीलाई रोक लगाउन सक्ने कानुनी संरचना निर्माणका लागि सुझाव समेत दिन सक्ने क्षेत्राधिकार दिइएको छ। आजियाटाले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर नेपाली मुलका सतिशलाल आचार्यको ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई ६ अर्ब ६६ करोड रुपयाँमा अनुमतिबिनै बिक्री गरेपछि सरकारले समिति गठन गरेर अध्ययन गर्न थालेको हो ।