उपभोक्ताको घरमा अब नपड्कने सिलिण्डर, विश्वमै सुरक्षित मानिएको ‘कम्पोजिट सिलिन्डर’ प्रयोगमा ल्याउने तयारी

काठमाडौं ३, कात्तिक । उपभोक्ताको भान्सामा प्रयोग हुने फलामे सिलिन्डरको विकल्पमा नेपाल आयल निगमले कम्पोजिट सिलिन्डर प्रयोगमा ल्याउने तयारी गरेको छ। फमाले सिलिन्डर पटकपटक पड्किएर उपभोक्ताको ज्यान गएपछि विश्वमै सुरक्षित मानिएको ‘कम्पोजिट सिलिन्डर’ प्रयोगमा ल्याउन लागेको निगमले जनाएको छ। आगो लागे पनि नपड्किने कम्पोजिट सिलिन्डरलाई उपभोक्ताको छनोट अनुसार उद्योगमार्फत वितरण गर्ने निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले बताए । ‘विभिन्न कारणले ग्यास सिलिन्डर बिस्फोट भएर नागरिकको ज्यान गयो,’ खड्काले भने, ‘उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर कम्पोजिट सिलिन्डर ल्याउन लागेका हौं ।’ प्लास्टिक र फाइबर प्रयोग गरेर कम्पोजिट सिलिन्डर बनाइने भएकाले यसमा आगो लाग्दा नपड्किने र दुर्घटना भए पनि मानवीय क्षति नहुने निगमको दाबी छ । यो सिलिन्डर अहिले प्रयोग भएको फलामको सिलिन्डरभन्दा हलुका हुन्छ । सिलिन्डरको कुल तौल २२ किलोको हुने खड्काले बताए । ‘१४।२ किलो ग्याससहित सिलिन्डर २२ किलोमात्र भएकोले हलुका हुन्छ,’ खड्काले भने, ‘नयाँ सिलिन्डर प्रयोगमा ल्याएर क्रमशः पुराना बिस्थापित गर्दै जाने योजना छ । समाचार स्रोत नागरिक दैनिक

हुन्डी–अपहरणका आरोपित जोगाउँंदै गृहमन्त्री, गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनले कारवाही प्रक्रियामा प्रभावित

काठमाडौं ३, कात्तिक । अपहरण र हुन्डीमा जोडिएकालाई कारबाही प्रक्रिया अगाडि बढाउन दिएको निर्देशन अटेर गरेको भन्दै प्रहरी प्रधान कार्यालयले पर्सा र सिरहाका एसपीलाई काठमाडौं झिकाएको छ । गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा निमित्त प्रहरी प्रमुख विज्ञानराज शर्माले पर्साका एसपी राजुबाबु श्रेष्ठ र सिरहा एसपी श्याम ज्ञवालीलाई पेसीमा काठमाडौं झिकाएको समाचार बुधबारको कान्तिपुर दैनिकमा छापिएको छ । मन्त्री निधिले भेट्न बोलाएको भन्दै शर्मा मंगलबार दुवै एसपीलाई लिएर गृह मन्त्रालय पुगेका थिए तर भेट भएन । डेढ घण्टा कुर्दासमेत मन्त्री निधि नआएपछि उनीहरूले गृहसचिव लोकदर्शन रेग्मीलाई भेटेका थिए । शर्मा र दुवै एसपीसँग रेग्मीले करिब एक घण्टा कुराकानी क्रममा पेसीमा झिकाउनुको कारणमा प्रवेशै नगरी जिल्लाको शान्ति सुरक्षाबारे छलफल गरेका थिए । ‘गृहसचिवले शान्ति सुरक्षा र दुवै घटनाबारे जानकारी मागे पनि उनीहरूलाई पेसी बोलाएकोबारे भने मुख खोलेनन्,’ स्रोतले भन्यो, ‘जिल्लाको शान्ति सुरक्षाबारे सोधपुछ गर्दै चिया खुवाएर पठाउनुभयो ।’ सिरहामा माओवादी केन्द्रका नेता तथा पूर्वशान्तिमन्त्री विश्वनाथप्रसाद साहसहित १० जना माओवादी नेतामाथि सरकारी कर्मचारीको अपहरण गरी जबर्जस्ती कागज गराएको जाहेरी दर्ता छ । जाहेरी दर्ता रहे पनि माओवादी केन्द्रका नेता पक्राउ परेका छैनन् । पर्सामा हुन्डी कारोबारीको अभियोग अनुसन्धानमा व्यापारी सन्तोष जैनको परिवार नै प्रहरी हिरासतमा छ ।

सात करोड खर्च भैसकेको क्रिकेट मैदानलाई १७ लाख अभाव, निर्माण कार्य तीन वर्षदेखि ठप्प

काठमाडौं ३, कात्तिक । नेपाल क्रिकेट संघ (क्यान)को आन्तरिक विवादका कारण काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान (माथिल्लो)को निर्माण कार्य तीन वर्षदेखि ठप्प छ । सात करोड निर्माण कार्यमा खर्च भइसकेको छ, थप १७ लाख खर्च भए मैदान सञ्चालनयोग्य बन्छ । तर, गत वैशाखमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले क्यानलाई निलम्बन गरेपछि निर्माण कार्य थप अन्योलतर्फ धकेलिएको समाचार बुधबारको नयाँ पत्रिका दैनिका दैनिकमा छापिएको छ । मूलपानी क्रिकेट मैदानको फाइल तस्बिर केकेमा खर्च भयो सात करोड ? मूलपानी मैदान निर्माणका लागि अहिलेसम्म झन्डै सात करोडभन्दा बढी खर्च भइसकेको छ । पेभिलियन निर्माणका लागि सरकारले क्यानलाई चार करोड उपलब्ध गराएको थियो । त्यसबाहेक मैदान सम्याउन ८० लाख, पिच निर्माणका लागि १५ लाख, पर्खाल निर्माणका लागि ६५ लाख, दोस्रोपटक मैदान सम्याउन तीन लाख खर्च भएको छ । सातमध्ये पाँच करोड सरकारले उपलब्ध गराएको हो । बाँकी रकम क्यानले आइसिसी विकास कार्यक्रमबाट खर्च गरेको हो । काम के भो ? क्यानले मूलपानीमा मैदान निर्माण कार्य सन् २००७ देखि थालेको हो । सरकारले मैदान सम्याउन एक करोड बजेट उपलब्ध गराएपछि निर्माण कार्य सुरु भएको थियो । लामा कन्ट्रक्सनले ०६४ मा ८० लाख रुपैयाँमा मैदान सम्याएको थियो । त्यही वर्ष गौरा कन्स्ट्रक्सनले चार करोडमा पेभिलियन निर्माण गर्ने ठेक्का पायो । गौराले तीन वर्षमा पेभिलियन निर्माण सक्दै क्यानलाई हस्तान्तरण गरिसकेको छ । ०६६ मा पाकिस्तानी क्युरेटरले मैदानको मध्यभागमा पिच बनाएका थिए । सातवटा पिच निर्माण गर्न १५ लाख लगानी लागेको थियो । ०६९ मा गौराले ६५ लाख रुपैयाँ लगानीमा पर्खाल बनाएपछि मैदान निर्माण कार्य रोकिएको छ । के–के काम बाँकी छ ? निर्माण कार्य रोकिए पनि मूलपानी मैदानले स्वरूप भने लिइसकेको छ । मैदानलाई खेल्नयोग्य बनाउन तीनवटा काम बाँकी रहेको क्यानका प्रमुख कार्यसञ्चालन अधिकृत छुम्बी लामाले जानकारी दिए । ‘पिचलाई पूर्णता, मैदानको सतह मिलाउने र तारबार लगाउन सके खेल्नयोग्य हुन्छ,’ लामाले भने, ‘त्यसका लागि बजेट पनि धेरै लाग्दैन । लगभग १७ लाख बजेट उपलब्ध भए ४५ दिनभित्र मैदानलाई खेल्नयोग्न बनाउन सकिन्छ ।’